Pages

Tuesday, January 18, 2011

जाडोलाई शत्रु ठान्छन् दमरोगी


image

सानै उमेरदेखि दमको रोगबाट पीडित नुवाकोटका हरिकृष्ण तामाङ चिसो मौसम सुरु भएलगत्तै अत्यधिक खोकी लागेको र सास फेर्न गाह्रो भएको भन्दै उपचारका लागि राजधानीको वीर अस्पतालमा आए । चिकित्सकले उनको श्वासनली खुकुलो पार्ने औषधि ब्रोनकोडाइल र सास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउन प्रयोग गरिने इन्हेलर्स प्रयोग गर्ने सुझाब दिएपछि उनी ती औषधि किनेर बुधबार घरतिर लागेका छन् ।

वीर अस्पतालमा औषधि किनिरहेको अवस्थामा फेलापरेका तामाङले भने, 'चिसोको एलर्जी र धेरै चुरोट पिएको कारण दम भएको रहेछ । डाक्टरले धुम्रपान नगर्न र चिसोबाट बच्न साथै औषधि खान सल्लाह दिनुभएको छ । डाक्टरले भनेअनुसार नै गर्छु ।'

उनका अनुसार झन्डै चार वर्षदेखि उनी यो रोगबाट बढी पीडित बनेका छन् । यो वर्ष विगतका वर्षभन्दा बढी खोकी लागेको र सास फेर्न धेरै गाह्रो भएपछि उनीले थप उपचारको लागि राजधानी आएको जानकारी दिए ।

चिसो मौसम सुरु भएलगत्तै अस्पतालमा दमको उपचारका लागि धेरै बिरामी आउन थालेको अस्पतालले जनाएको छ । अस्पतालको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार दैनिक ३० देखि ४५ जनासम्म दमका रोगी उपचारका लागि आएका छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमका अनुसार दम चिसोको एलर्जी, धुलो, धुवाँ तथा प्रदूषणको कारण हुने भएकाले जाडो मौसममा दमको समस्या बढी देखिने गरेको छ । 'चिसोका कारण हुने एलर्जीले गर्दा मानिसको श्वास नली खुम्चने गर्छ, जसका कारण मानिसलाई सास फेर्न अत्यधिक गाह्रो हुन्छ,' उनले भने, 'सो समयमा मानिसले तुरुन्त अक्सिजनको मात्रा बढाउने इन्हेलर्सको प्रयोग नगरेमा मृत्युसमेत हुन सक्छ ।' उनका अनुसार जाडो मौसममा अत्यधिक चिसो हुने तथा धुलो, धुवाँसमेत बढी हुने भएकाले दमका रोगी बढी देखिने गर्छन् ।

श्वासप्रश्वासमा बढी समस्या उत्पन्न हुने तथा खोकीले बढी सताउने भएकाले जाडो मौसमलाई दमका रोगीले शत्रुका रूपमा लिने गरेको चिकित्सकहरू बताउँछन् । 'यो मौसममा दमका रोगीले आफूलाई चिसोबाट बचाउन न्यानो लुगा लगाउने, तातो तथा तरल पदार्थ बढी खाने र धुलो धुवाँबाट बचाउने गर्नुपर्छ,' डा. बमले नयाँ पत्रिकासित भने । उनका अनुसार दम श्वासप्रश्वास प्रणालीमा हुने एउटा दीर्घ रोग हो । यो रोग लागेमा सास भित्र-बाहिर गर्ने नलीमा असर पर्छ र सास फेर्न अत्यधिक गाह्रो हुन्छ । धुलो, धुवाँ तथा चिसोको एलर्जीका कारण श्वास नली खुम्चने हुनाले दमका रोगी तथा अन्य साधारण मानिसले पनि यी कुराबाट जोगिनु पर्छ । 'एलर्जीका कारण श्वास नली बिस्तारै खुम्चँदै जान्छ,' बमले भने, 'जति बढी श्वास नली खुम्चने गर्छ, त्यति नै सास फेर्न गाह्रो हँुदै जान्छ र मानिसलाई खतरा हुन्छ ।'

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३० करेाडभन्दा बढी मानिस दमबाट ग्रसित छन्, जसमा अधिकांश अविकसित र विकासोन्मुख राष्ट्रका छन् । दक्षिण एसियामा पछिल्लो समयमा मुटु रोगपछि मृत्यु हुने रोगमा दम नै पर्ने गरेको तथ्यांकले दोखाएको छ । नेपालमा पनि कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस श्वासप्रश्वास तथा फोक्सोको समस्याबाट ग्रसित छन् । जसमा २५ देखि ३० प्रतिशत मानिसमा दमको समस्या रहेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदनअनुसार पनि नेपालको अस्पतालमा भर्ना भएका बिरामीमा दमका कारण मृत्यु हुने मानिसको संख्यामा अत्यधिक वृद्धि भएको छ । डा. बमका अनुसार पनि नेपालका अस्पतालमा उपचारका लागि आउनेमध्ये दमका रोगी धेरै नै रहने गरेका छन् ।

चिकित्सकका अनुसार कुनै पनि मानिसलाई एक वा दुईपटक खोकी लाग्यो तथा श्वासप्रश्वासमा केही समस्या देखियो भन्दैमा उसलाई दम नै भएको छ भन्न मिल्दैन । दम लागेको हो भनी प्रमाणित गर्न सर्वप्रथम रोगीलाई वर्षभरिमा दुईदेखि तीन महिनासम्म लगातार खकार निस्कने गरी खोकी लागेको हुनुपर्छ । रोगीलाई दुई वर्षसम्म लगातार खोकी र श्वासप्रश्वासको समस्या देखिइरहेको हुनुपर्छ । तर, लगातार खोकीको समस्या र सास फेर्न समस्या भइरहेको छ भने उसलाई दम लाग्न सुरु भइसकेको हुनसक्छ । डा. बमका अनुसार मानिसको फोक्सोभित्रका स-साना श्वास नली साँगुरिएर श्वासप्रश्वास कार्यमा असर गरी स्याँस्याँ हुने, राति सुत्न अफ्टेरो हुने, लगातार खोकी लागिरहने समस्या हुनु भनेको दम हुनु हो । 'श्वासनली खुम्चिँदा मानिसलाई चाहिने आवश्यक अक्सिजन शरीरभित्र जान सक्दैन,' उनले भने, 'जसका कारण शरीरलाई चाहिने मात्रामा अक्सिजन रगतमा पुग्न सक्दैन र लामो समयसम्म सो समस्या रहिरहेर उपचार नगराएमा त्यस्ता मानिसको मृत्यु हुने सम्भावना बढी हुने गर्छ ।'

दम रुघाखोकी, फोक्सोको रोग, औषधिको एलर्जी, भाइरस, ब्याक्टेरिया तथा विभिन्न जीवाणुको संक्रमणबाट हुने एलर्जी रोग हो । यसलाई श्वासनलीको कोमल मांशपेसीमा हुने एलर्जी रोगसमेत भन्ने गरिन्छ । यसको मुख्य कारण धुवाँ तथा अत्यधिक चिसो नै हो । 'लामो समयसम्म धुवाँ, धुलो तथा चिसोका सम्पर्कमा रहँदा त्यसले मानिसको श्वासनलीको कोमल मांशपेसीमा एलर्जी गराउँछ,' डा. बमले भने, 'एलर्जीका कारण ती कोमल मांशपेसी साँगुरो भई सास फेर्न निकै नै गाह्रो हुन्छ, जसले मानिसलाई अत्यधिक पीडा गराउने गर्छ ।' उनका अनुसार दम वंशानुगत पनि हुने गर्छ । परिवारको कुनै एक व्यक्तिमा यो रोग लागेको छ भने उसको छोराछोरी तथा आफन्तलाई यो रोग हुने सम्भावना बढी हुने गर्छ ।

दम के हो ?

मानिसको श्वासप्रश्वासमा देखिने समस्या अर्थात् सास फेर्दा स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने समस्या देखिने रोग नै दम हो । खासगरी दमको अवस्था देखिनको लागि पटकपटक वा लामो समयसम्म धुलो, धुवाँ वा चिसोको सम्पर्कमा आउनुपर्छ ।

नेपालमा उमेर ढल्किसकेका मानिसलाई र विशेषगरी महिलालाई बढी मात्रामा यो रोग लागेको पाइन्छ । खाना पकाउने काम गर्दा आउने दाउराको धुवाँको सम्पर्कमा बढी महिला आउने भएकाले महिलालाई यो रोगले छिटो समात्न सक्छ । यसका अलावा बिँडी, चुरोट, तमाखु आफैँ खानु वा परिवारमा कसैले खाने बानी भएमा यो रोग लाग्नु स्वाभाविकै हो ।

निको हुँदैन

एकपटक दमको रोगबाट ग्रसित मानिस सो रोगबाट जीवनभर मुक्त हुन सक्दैन । त्यसकारण पनि यसलाई दीर्घ रोग भन्ने गरेको डा. बमले जानकारी दिए । निको नहुने रोग भए पनि यसलाई औषधिको प्रयोगबाट नियन्त्रणमा ल्याउन तथा कम गर्न सकिन्छ ।

दमबाट ग्रसित मानिसको श्वासनली खुम्चिएको हुने भएकाले विभिन्न औषधिको माध्यमबाट सो नली फुलाउने गरिन्छ तर पहिलेको जस्तो अवस्थामा ल्याउन भने सकिन्न । औषधोपचारका माध्यमबाट रोगीलाई दमका कारण सास फेर्न अप्ठेरो भएकोमा सहज पार्न मात्र सकिन्छ ।

दमका १० तथ्य

  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा दमबाट ३० करोड मानिस ग्रसित छन् । दमका कारण नै बर्सेनी २५ लाख मानिसले ज्यान गुमाउनु परेको छ ।
  • तत्कालै दम नियन्त्रणका लागि कार्ययोजना बनाएर नलाग्ने हो भने आगामी १० वर्षमा यो रोगबाट मर्नेको संख्यामा अत्यधिक
  • वृद्धि हुनेछ ।
  • विकासको क्रमभन्दा बढी दमका रोगी हरेक देशमा बढिरहेका छन् । दमका कारण मृत्यु हुनेमा झन्डै ८० प्रतिशत गरिब तथा विकासोन्मुख राष्ट्रका छन् ।
  • दम श्वासनलीमा हुने दीर्घ रोग हो । यसले मानिसलाई श्वासनली साँघुरो बनाएर सास फेर्न नै आप्ठेरो पार्छ ।
  • दमको लक्षण एकै दिनमा धेरैपटक देखिने गर्छ । केही व्यक्तिलाई भने राति सुतेका वेलामा सास फेर्न अत्यधिक गाह्रो बनाउने तथा अत्यधिक खोकी लाग्ने गर्छ ।
  • दमको आवश्यक र पर्याप्त उपचार पुगेको स्थानमा यसका कारण हुने मृत्युमा कमी आएको छ ।
  • दम समान्यतया बच्चाहरुमा निकै नै बढी देखिने रोग हो ।
  • धुलो, धुवाँ र चिसोसँग बढी सम्पर्क हुने व्यक्तिलाई दम हुने गरेको छ ।
  • दम निको नहुने दीर्घ रोग हो । तर, उचित उपचार र औषधिको प्रयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।
  • दमका रोगी गरिब र विकासोन्मुख राष्ट्रमा बढी भएकाले यसको नियन्त्रणका लागि ती राष्ट्रमा सहज र कम शुल्कमा औषधि तथा उपचारको व्यवस्था गरिनुपर्छ ।

दमका लक्षण

  • सास फेर्न असजिलो हुन्छ, सुक्खा खोकी लाग्छ र लगातार खकारसहितको खोकी लाग्छ
  • सुत्न अप्ठेरो भएर रातभरि बसिरहनुपर्ने हुन्छ
  • दमको सुरुवातमा रोगी छट्पटिन थाल्छ
  • रुघाखोकीको लक्षण देखिन सक्छ
  • मुटुको घड्कन बढेर जान्छ
  • छाती कस्सिएको महसुस हुन्छ र दुख्छ
  • सास लिनभन्दा बाहिर फाल्न अप्ठेरो हुन्छ
  • सास फेर्दा बाँसुरी बजेको जस्तो आवाज निस्कने तथा स्याँस्याँ हुने गर्छ
  • सुतेको वेलामा सास फेर्न गाह्रो हुन्छ
  • दम अत्यधिक भएको अवस्थामा हातखुट्टाको औंला तथा आँखामा निलो देखिन्छ

No comments:

Post a Comment