Pages

Friday, August 3, 2012

गैरकानुनी रुपमा होटल र अस्पताल एउटै भवनमा

-प्रवीण ढकाल
काठमाडौं, १९ साउन । नियमानुसार अस्पताल र होटल एउटै भवनमा सञ्चालन गर्न पाइँदैन । तर राजधानीको धुमवाराही चोकमा रहेको एउटा भवनमा बकाइदा दुईवटा बोर्ड तेर्सिएका छन्– एउटा होटल र अर्को अस्पतालको ।
अनमोल अस्पताल एन्ड रिसर्च सेन्टरले सरकारी नियम तोडेर होटल भएको भवनमा अस्पताल सञ्चालन गर्न आँटेको हो । निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका– २०६१ मा कुनै पनि निजी अस्पताल सञ्चालनका लागि छुट्टै भवन हुनुपर्ने स्पष्ट व्यवस्था छ । तर अनमोल सो निर्देशिकाविपरीत होटल रहेको भवनमै अस्पताल सञ्चालनका लागि ठिक्क परेको छ ।
एक सय शय्या क्षमताको तयारी गरिरहेको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त्यस स्थानमा सञ्चालनको स्वीकृतिसमेत पाएको छैन । मन्त्रालयले अनुगमन गरेर सो स्थान उपयुक्त छ भनेपछि मात्र अस्पतालले सञ्चालन प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर अनमोलले मन्त्रालयको स्वीकृतिबेगर नै अस्पतालमा आवश्यक उपकरणलगायतका पूर्वाधारको निर्माणकार्य अगाडि बढाइरहेको छ । स्रोतका अनुसार सो अस्पतालले यसअघि राजधानीको बूढानीलकण्ठमा सञ्चालन स्वीकृति लिएको थियो ।
‘नियमअनुसार स्थान परिवर्तनको स्वीकृतिसहित भवनको उपयुक्ततालगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘तर अनमोलले मन्त्रालयको स्वीकृति नै नलिई अस्पतालको काम अगाडि बढाइरहेको छ ।’ नियमअनुसार अस्पतालले स्थान परिवर्तन गर्दा पनि नयाँ अस्पताल खोलेसरह सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख श्रीकृष्ण भट्टले पनि अनमोल अस्पताललाई धुमवाराहीमा सञ्चालन स्वीकृति नदिएको बताए । उनका अनुसार अस्पताल र होटल एकै भवनमा सञ्चालन गर्नु गैरकानुनी हो । ‘नियममा स्पष्टरूपमा अस्पताल सञ्चालनका लागि छुट्टै भवन हुनुपर्ने कुरा उल्लेख छ,’ उनले भने, ‘त्यसकारण एउटै भवनमा होटल र अस्पताल दुवै चलाउनु भनेको सरासर गलत काम हो ।’ उनले अनमोलले सञ्चालन गर्छु भनेको भवनका विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताए ।
नियमअनुसार अस्पताल भवन सञ्चालन गर्नुपूर्व पूर्वाधार निर्माणका लागि वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावलीबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (इआइई) गर्नुपर्ने हुन्छ । तर अस्पतालले सो प्रावधानलाई समेत पूर्णरूपमा बेवास्ता गरेको छ । अस्पतालले भवनको चौथो तलामा होटल सञ्चालन भएकाले इआइईमा पास नहुने डरले परीक्षण नगराएको मन्त्रालय स्रोतको भनाइ छ । धुमवाराहीमा सञ्चालन हुने भनिएको अस्पतालको सो पाँचतले भवनको चौथो तलामा भिवोर नामक होटल सञ्चालनमा रहेको छ ।
अस्पताललाई सो भवनमा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त नभएको अस्पतालका निर्देशक अबुल हसन अन्सारीले समेत स्वीकार गरे । उनले अस्पताललाई सो भवनमा सञ्चालन गर्न स्वीकृति दिन मन्त्रालयमा फाइल पठाइएकोमा अहिलेसम्म नआएको बताए ।
‘कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएकोले स्वास्थ्यले कहिले स्वीकृति दिन्छ भनेर कुरेर बस्ने हो भने त वर्षांैसम्म पनि अस्पताल सञ्चालनमा आउन सक्दैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्यको स्वीकृति आउनुपूर्व नै अस्पतालको काम अगाडि बढाइएको हो ।’ उनले स्वास्थ्यले सञ्चालन स्वीकृति दिनेमा आफू शतप्रतिशत विश्वस्त रहेको समेत बताए ।

ननिको निमोनिया

-प्रवीण ढकाल
मौसम परिवर्तनसँगै सामान्य रुघाखोकी देखिनु स्वाभाविकै हो । छिनमै चर्को गर्मी त छिनमै झरर पानी पर्ने अहिलेको मौसममा रुखाखोकीको सम्भावना बढिरहेको हुन्छ । तर, यो रुघाखोकीलाई बेवास्ता गरियो भने यसले निमोनियासम्मको डरलाग्दो अवस्था पनि निम्त्याइदिन सक्छ । अहिले यस्तै भएको छ, देशभरि निमोनियाका बिरामी बढेका छन् । विशेष गरी यसले पाँच वर्षमुनिका बालबालिकालाई बढी च्यापिरहेको हुन्छ । त्यसैले सामान्य रुघाखोकी देख्नासाथ बच्चालाई उचित स्याहार गर्न थालिहाल्नुपर्छ । वर्षातको चिसो शरीरमा गड्न दिनु हुँदैन ।
चिकित्सकका अनुसार निमोनिया श्वासप्रश्वाससम्बन्धी रोग हो । यो रोग लाग्दा शिशुलाई खोकी लाग्छ, ज्वरो आउँछ र सास फेर्न गाह्रो हुन्छ । छिटो–छिटो सास फेर्छ । एक मिनेटमा एकवर्षे शिशुले ५० देखि ६० पटकसम्म सास फेर्छ भने त्यो छिटो मानिन्छ । कान्ति बालअस्पतालका निर्देशक डा. आरपी बिच्छा प्रतिमिनेट ४० पटकभन्दा कम सास फेर्ने शिशु निरोगी हुने बताउँछन् । ‘आँखाले देख्न नसकिने किटाणुबाट श्वासप्रश्वाससम्बन्धी फोक्सो र त्यसका सहायक अंगमा संक्रमण भई सास फेर्न असजिलो भएपछि निमोनिया हुने गर्छ,’ उनले भने, ‘निमोनियाले फोक्सो र त्यससँग सम्बन्धित अन्य
अंगमा असर पार्छ ।’ रुघाखोकी हुनेबित्तिकै घरेलु उपचारमा ध्यान दिने हो भने निमोनिया हुनबाट जोगाउन सकिने उनले बताए ।
विज्ञका अनुसार नेपालमा बालमृत्युको प्रमुख कारण निमोनिया नै हो । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्यांकअनुसार श्वासप्रश्वाससम्बन्धी रोगबाट बर्सेनि २ लाख ८५ हजार बालबालिका पीडित हुने गरेका छन् । तीमध्ये १५ हजारको मृत्युको निमोनिया नै हुन्छ । पछिल्ला तीन वर्षयता निमोनियाबाट संक्रमित हुने बालबालिकाको संख्या बढिरहेकोप्रति महाशाखा चिन्तित छ ।
शिशुको कोखा हान्नुलाई पनि निमोनियाको लक्षण मानिन्छ । शिशुले सास लिँदा छातीको तल्लो भाग र पेटको माथिल्लो भागको छाला भित्र पसेमा कोखा हानेको हुन्छ । स्वस्थ शिशुले सास लिँदा छातीको तल्लो भागको छालाका साथै छातीको सम्पूर्ण भाग बाहिर आउने डा. बिच्छाले बताए । उनका अनुसार नङ तथा ओठ नीलो भएको अवस्थालाई गम्भीर रूपमा हेर्नुपर्छ, अक्सिजन दिनुपर्ने पनि हुन सक्छ । यी लक्षण देख्नासाथ एक मिनेट पनि ढिलो नगरी अस्पताल पुर्‍याउन उनी सुझाउँछन् । गम्भीर अवस्थामा पुगिसकेका बच्चामा ब्युँझाउन गाह्रो हुने, झोल कुरा तथा आमाको दूध राम्ररी पिउन नसक्ने, कडा कुपोषण देखिने, ज्वरो आउने, नाइटो पाक्ने, छालामा पिपले भरिएका फोका देखिने लक्षण पनि हुन सक्छ ।
कान्ति बाल अस्पताल रेकर्ड शाखाकी प्रमुख बिन्दु श्रेष्ठका अनुसार कान्तिमा श्वासप्रश्वाससम्बन्धी रोगबाट संक्रमित नौ सय बालबालिका हरेक महिना उपचारका लागि आउने गरेका छन् । तीमध्ये पाँच सयभन्दा बढीलाई निमोनिया हुन्छ । काठमाडौंमा वायु प्रदूषण र धुलो धुवाँका कारण छातीमा संक्रमण देखिनाले पनि पाँच वर्षमुनिका बालबालिकामा निमोनिया बढेको बालरोग विशेषज्ञ डा. रमेशचन्द्र अधिकारी बताउँछन् । उनका अनुसार बढी जनघनत्व, सरसफाइको कमी र हेरचाह अभावले पनि यो जोखिम बढाउन थप भूमिका खेलेको छ ।
निमोनियामा ज्वरो आयो भन्दैमा आफूखुसी सिटामोल अथवा अन्य औषधि खवाउन नहुने चिकित्सक बताउँछन् । साधारण रुघाखोकीमै औषधि प्रयोग गर्दा पनि शिशुमा नराम्रो असर पर्न सक्छ । निमोनिया औषधिबाट निको पार्न सकिन्छ तर त्यो औषधि चिकित्सकको परामर्शमा प्रयोग गरिएको हुनुपर्छ ।
घरेलु उपचार
निमोनिया औषधिले मात्र निको हुने होइन, यसको महत्त्वपूर्ण उपचार भनेको हेरचाहमा ध्यान दिनु नै हो । लक्षण देखिनासाथ बच्चालाई न्यानो पारेर राख्नुपर्छ, आमाको दूध पटक–पटक खुवाइराख्नुपर्छ । किनकि यस्तो बेला बच्चाले एकैपटक धेरै दूध चुस्न सक्दैन । बच्चालाई सास फेर्न असजिलो हुने भएकाले सफा कपडा नुनपानीमा चोबेर नाक सफा गरिरहनुपर्छ । खोकी बढी लागेमा घरेलु मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानीमा बेसार मिलाएर खुवाउनु राम्रो मानिन्छ । पीडित शिशुको उमेर ६ महिनाभन्दा बढी छ भने झोल पदार्थ र खानेकुरा पहिलेभन्दा बढी खुवाइरहनुपर्छ ।
लक्षण
बालबालिकालाई खोकी लाग्ने, सिँगान बग्ने र हल्का ज्वरो आउने गर्छ । छिटोछिटो सास फेर्ने, सास फेर्न असजिलो हुने, अत्यधिक ज्वरो आउने र कोखा हान्ने हुन्छ । कडा खालको निमोनिया भएमा बच्चा खान, पिउन नसक्ने, बेहोस हुने र आमाको दूधसमेत चुस्न नसक्ने हुन्छ । कुनै–कुनै बच्चाले सास फेर्दा पनि अस्वाभाविक आवाज निकाल्न सक्छन् ।
पूर्वसावधानी
- बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राख्नुपर्छ ।
- न्यानो लुगा लगाइदिनुपर्छ, सकभर भान्सा कोठामा राख्नुहुँदैन । धुवाँ, धुलो र मट्टीतेलको खारबाट जोगाउनुपर्छ ।
- जन्मेको एक वर्षभित्रै सम्पूर्ण खोपको मात्रा दिइसक्नुपर्छ ।
- जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि पोसिलो र ताजा खानेकुरा पनि थप्नुपर्छ ।
- धुलो र फोहोर वातावरणमा खेल्न दिनु हँुदैन ।
- चिसोपानीले नुहाइदिनु हुँदैन ।
- बालबालिका भएको ठाउँमा धूमपान गर्नु हँुदैन ।
- बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।

उफ् ग्यास्ट्रिक !

-प्रवीण ढकाल

सहरीकरणसँगै नेपालीको जीवनशैलीमा पनि परिवर्तन आइरहेको छ । तर, अधिकांश नेपालीको खानपिनशैली व्यवस्थित र नियमित हुन सकिरहेको छैन । खानपिनको अनियमितता र जे पायो त्यही खाने बानीका कारण अधिकांश मानिस ग्यास्ट्रिकको समस्याले पिरोलिँदै आएका छन् । खाना खानेबित्तिकै पेट दुख्ने, मुखबाट अमिलो पानी आउने, लामो समयसम्म खाना नखाँदा पेट दुख्ने, झुसिलो डकार आउनेलगायत समस्याको गुनासो अधिकांश नेपालीको छ । त्यसैले ग्यास्ट्रिक नेपालीको साझा समस्याका रूपमा परिचित हुँदै आएको छ ।
वीर अस्पतालका फिजिसियन डा. भुपेन्द्र बस्नेतका खानापानको अनियमितता, धुम्रपान तथा मद्यपानको लत, आफूखुसी पेनकिलरलगायत ग्यास्ट्रिकको औषधि सेवनका कारणले आमनागरिकमा ग्यास्ट्रिक समस्या दैनिक बढ्दो छ । पेटमा रहेका विभिन्न ग्रन्थीबाट आवश्यकताभन्दा बढी रसहरू तथा एसिडहरू निस्कनु, आमाशय सुन्निनु र त्यसैका कारण सानो आन्द्रा तथा पेटमा घाउ हुनु नै ग्यास्ट्रिक रहेको उनले बताए । ‘अहिले स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये २० प्रतिशतले पेटको समस्या बोकेका हुन्छन्, अधिकांशको समस्या ग्यास्ट्रिक नै हुन्छ,’ उनले भने, ‘रेस्टुरेन्ट तथा भोजभतेरको मसालेदार खाना अनि व्यस्तताका कारण खाना खाने समय नियमित गर्न नसक्दा मानिसमा यो समस्या तीव्र रूपले भित्रिरहेको छ ।’
चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. प्रदीपमान वैद्य पनि अव्यवस्थित खानपान, मद्यपान तथा धुम्रपान, बढी मात्रामा चिल्लो–पिरो र कफीको सेवनले आममानिसमा ग्यास्ट्रिकको समस्या बढिरहेको सुनाउँछन् । उनका अनुसार धुम्रपानको निकोटिनलगायत अधिकांश रसायनहरूमा ग्यास्ट्रिक गराउने तत्त्व हुन्छन् । चिल्लो र पीरोयुक्त खानाले ग्यास्ट्रिक गराउने विश्वास आममानिस रहे पनि खासमा यसले सोझै ग्यास्ट्रिक गराउने नभई पेटको अल्सरलाई निको हुन नदिने र अल्सरको जीवाणुलाई सक्रिय बनाउन सहयोग पुर्‍याउँछ । उनले मानसिक तनाबले पनि ग्यास्ट्रिक रोग निको हुन लामो समय लाग्ने बताए ।
खाली पेटमा लामो समय बस्दा पेटमा रहेका ग्रन्थीहरूबाट बढी निस्कने एसिडले ग्यास्ट्रिकको समस्या सुरु गर्छ । चिकित्सकहरूले ग्यास्ट्रिक गराउने प्रमुख तत्त्वका रूपमा हेलिकोब्याक्टर पाइलोलाई पनि लिएका छन् । शैचालय गएपछि तथा खाना खानुअघि र पछि राम्ररी साबुन पानीले हात नधुँदा, दूषित तथा खुला राखिएको खाना तथा बासी खानाबाट यो जीवाणुको संक्रमण हुने प्राध्यापक डा. वैद्यले बताए । हेलिकोब्याक्टर पाइलोले पेटका आन्द्रा तथा आमाशयमा असर गर्ने भएकाले मानिसले यसबाट बच्न सफासुग्घर र शुद्ध तथा सन्तुलित खानामा ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार ग्यास्ट्रिकबारे आममानिसमा गलत धारणा छ । अधिकांश मानिसले पेट दुखेकै भरमा ग्यास्ट्रिक भएको अनुमान गर्दै आफूखुसी औषधि किनेर सेवन गर्ने गरेका छन् । डा. बस्नेत चिकित्सको सिफारिसविना खाली पेटमा पनि पेनकिलरलगायत औषधि खाइदिने बानीले पेटको अल्सर बढाउने बताउँछन् ।
चिकित्सकहरूका अनुसार खानपिनमा नियमितता दिने र मद्यपान तथा धुम्रपान छाड्ने हो भने धेरैको समस्या आफैँ समाधान हुन्छ । आफूखुसी औषधि सेवन गर्ने बानीलाई हटाउन डा. बस्नेत सुझाउँछन् । उनका अनुसार लामो समयसम्म पेट दुखिरहे डाक्टरलाई देखाउनुपर्छ । ग्यास्ट्रिक भएर बसिरहेका धेरैमा अल्सरपछि क्यान्सरसम्म भएको पाइएकाले समयसमयमा चिकित्सकलाई देखाइरहनुपर्छ । उनले धेरै मात्रामा कफी तथा चुरोट नखान पनि सुझाब दिए ।
कारण
समयमा भोजन नगर्नु
अमिलो पीरो, नुनिलो, बासी खाना बढी खानु
लामो समयसम्म पेनकिलर (नदुख्ने औषधि) को सेवन गर्नु
अत्यधिक मसलादार खाना खानु
अत्यधिक मद्यपान तथा धुम्रपान गर्नु
मानसिक तनाब
आमाशयमा संक्रमण तथा अन्य रोग लाग्नु
हेलिकोब्याक्टर पाइलोले सताउनु

रोग बढाउने मौसम

-प्रवीण ढकाल
काठमाडौं, ७ साउन । उपत्यकामा टाइफाइड र हैजा । डोटीमा पनि हैजा । बुटवल, चितवन र झापामा डेंगु । जाजरकोट, पाल्पा, नुवाकोट, धादिङलगायत जिल्लामा झाडापखाला । बाँकेमा औलो । कालीकोटमा जन्डिस र झाडापखाला । वर्षातको सुरुआतसँगै देशका विभिन्न जिल्लामा एकैसाथ देखिएका रोग हुन् यी । वर्षातसँगै किसान परिवारमा रोपाइँको चटारो बढेजस्तै स्वास्थ्य कर्मचारीलाई भने रोग नियन्त्रणको चटारो पर्ने गर्छ ।
वर्षातमा एकैसाथ विभिन्न सरुवा रोगको महामारी फैलने भएकाले स्वास्थ्य मन्त्रालयले यो मौसमलाई सरुवा रोगको महामारी फैलने मौसमका रूपमा लिएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ‘वर्षातको मौसममा गर्मीबाट राहत मिले पनि सरुवा रोगको संक्रमण भने अत्यधिक बढी हुने गरेको छ,’ महाशाखाका निर्देशक डा. जिडी ठाकुरले भने, ‘त्यसकारण स्वास्थ्य क्षेत्रका व्यक्तिले वर्षातको मौसमलाई रोग बढाउने मौसम पनि भन्ने गरेका छन् ।’
निर्देशक डा. ठाकुरका अनुसार एक वर्षको अवधिमा देशभरमा देखिने सरुवा रोगको संख्या ८० प्रतिशतभन्दा बढी यही मौसममा हुने गरेको छ ।
चिकित्सकका अनुसार वर्षातको मौसममा पानी तथा खानेकुरा फोहोर हुने र हावामा ओस बढ्नुका साथै विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग छिट्टै फैलने गर्छ । बढी मात्रामा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आँउ, निमोनिया, औलो, डेंगु, कालाजार, रुघा, खोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्नेजस्ता रोग लिएर बिरामी उपचार गराउन आउने गरेको वीर अस्पतालका फिजिसियन डा. धु्रवप्रसाद सिंहले बताए ।
सिंहका अनुसार वर्षात समयमा भाइरस, झिँगा, लामखुट्टे, किरा–फट्यांग्रा र भुसुना बढी सक्रिय हुने गर्छन् र रोग लाग्ने गर्छ । ‘वर्षामा पानी पर्ने हुनाले खानेपानीका मुहानदेखि वरिपरिका वातवरण नै दूषित हुन्छ,’ उनले भने, ‘त्यही दूषित पानी र वातावरणका कारण कुनै न कुनै एक रोगले समातिहाल्छ ।’
वर्षातको समयमा देखिने सरुवा रोगमध्ये अधिकांश रोग सरसफाइको कमी, दूषित पानी र दूषित खाना नै भएको डा. ठाकुरको भनाइ छ । उनका अनुसार बासी, सडेगलेका, झिँगा भन्केका खाना एवं कुनै पनि कारणले दिसा–पिसाबको जीवाणु मिसिएका पानी पिउनले वा राम्रोसँग हात सफा नगरी खाना खाँदा यी रोग लाग्छन् । ‘साधारण सरसफाइ र खानपिनमा मात्र ध्यान दिने हो भने पनि यो मौसममा हुने अधिकांश रोगमा कमी ल्याउन सकिन्छ,’ उनले भने, ‘तर यो मौसममा मानिस आफैंले पनि खानपिन र सरसफाइमा ध्यान दिएको पाइँदैन ।’
वर्षातसँगै सरकारकै एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा यतिबेला झाडापखाला, हैजा, टाइफाइड, आउँ, जन्डिसका बिरामीको चाप बढिरहेको अस्पतालका चिकित्सक डा. राजेश शाहले जानकारी दिए । उनका अनुसार यतिबेला अस्पतालमा आउने बिरामीमध्ये अधिकांशमा दूषित खाना र पानीका कारण रोग लागेको देखिएको छ ।
झाडाजन्य रोग मात्र होइन, वर्षातको समयमा दूषित पानीका कारण छाला र आँखाको समस्या पनि बढिरहेको चिकित्सकको भनाइ छ । धुलोधुँवाले भरिएको काठमाडौंमा पानीले भिजेपछि घरमा गएर सफा पानीले नुहाँउदा छालाको समस्या लिएर आउने बिरामीको संख्या दैनिक बढिरहेको वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झाले बताए ।
वर्षातकै कारण पानीको स्रोत फोहोर भएकाले आँखा पाक्ने समस्या पनि देखिएको वरिष्ठ आँखारोग विशेषज्ञ डा. आनन्द शर्मा बताउँछन् । उनका अनुसार सफा पानीले दिनमा तीन/चारपटक यो मौसममा आँखा सफा नगर्ने हो भने धेरै मानिसको आँखामा समस्या आउँछ ।
चिकित्सकले वर्षातको समयमा देखिने अधिकांश रोग खाना र पानीमा ध्यान दिने हो भने निको हुने बताएका छन् । उनीहरूका अनुसार सफा पानी र शुद्ध खाना खाने, सरसफाइमा ध्यान दिने हो भने यो मौसममा लाग्ने धेरै रोग नियन्त्रणमा आउनेछ ।

Tuesday, July 31, 2012

१५ शय्यासम्मका अस्पताल निजीलाई चलाउन नदिइने

-प्रवीण ढकाल
काठमाडौं, ३  साउन । सरकारले १५ शय्यासम्मको अस्पताल सञ्चालन अनुमति निजी क्षेत्रलाई नदिने भएको छ । निजी क्षेत्रबाट हालसम्म सञ्चालित १५ शय्या क्षमताका अधिकांश अस्पतालको सेवा खराब भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता अस्पताल सञ्चालनमा रोक लगाउने तयारी गरेको हो ।
देशभरका अस्पतालको अनुगमनका क्रममा १५ शय्यासम्मका अधिकांश निजी अस्पतालले मापदण्ड पूरा नगरेको तथा अस्पतालको सेवासुविधा गुणस्तरीय नभएको फेला परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश अस्पताल भाडाका घरमा सञ्चालन भएको, आफ्नै भवन बनाउनेतर्फ पहल नभएको, गुणस्तर नभएका भवनमा सञ्चालन गरिएका, सरकारी सेवाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीबाट काम लिई सरकारी स्वास्थ्य संस्थाको कार्यप्रति वितृष्णा फैलाएको, पूर्णकालीन स्वास्थ्यकर्मी नराखी करारमा काम गराइएको, आम्दानी तथा खर्च नदेखाउने र करसमेत छली गर्ने गरेको पाइएको छ ।
यसरी, अधिकांश अस्पतालको सेवा खराब भेटिएपछि मन्त्रालयले अब १५ शय्यासम्मका अस्पताललाई स्वीकृति दिन बन्द गरी कम्तीमा ३० शय्याको बनाई सञ्चालन गर्ने योजना बनाइरहेको मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्द बताउँछन् । प्रवक्ता चन्दका अनुसार हालसम्म सञ्चालनमा रहेका १५ शय्या क्षमताका अस्पताललाई शय्या विस्तार गरी मापदण्ड पूरा गर्न लगाइनेछ ।
‘१५ शय्यासम्मका अस्पतालमा सेवा असाध्यै खराब भेटिएको छ,’ उनले भने, ‘त्यसकारण सबैले राम्रो सेवा दिन सकून् भनेर कम्तीमा ३० शय्याको अस्पताल हुनुपर्ने भनेर नयाँ व्यवस्था गर्न लागिएको हो ।’
मन्त्रालयले गत वर्ष सबै अञ्चलमा एक/एकजना सहसचिव नेतृत्वको टोली पठाएर अस्पतालहरूको अनुगमन गरेको थियो । गत कात्तिकदेखि पुससम्म विभिन्न स्थानमा स्वास्थ्य संस्थाहरूको निरीक्षण गरी प्रत्येक अनुसन्धान टोलीले बुझाएको प्रतिवेदनले १५ शय्याका अस्पतालको सेवा निराशाजनक पाइएको देखाएका थिए । १४ वटै टोलीले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले अहिले देशभरका अस्पतालको अवस्थाको प्रतिवेदनसमेत तयार पारिरहेको छ । अब निजी क्षेत्रले कम्तीमा ३० शय्या क्षमताको अस्पताल मात्र सञ्चालन गर्न पाउने व्यवस्था बनाउन लागिएको डा. चन्दले बताए ।
मन्त्रालयका अनुसार देशभरमा अहिले दुई सय ५० वटा निजी अस्पताल छन् । तीमध्ये १५ शय्या क्षमताको अस्पताल कति छ भन्ने तथ्यांक मन्त्रालयसँग छैन । मन्त्रालयले त्यसको तथ्यांक संकलन गरी शय्या विस्तार गर्न पत्राचारसमेत गर्ने तयारी गरेको छ ।
‘१५ शय्याको मात्र होइन, केही ठूला निजी अस्पतालको सेवामा पनि समस्या देखिएकाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई वर्षमा कम्तीमा दुईपटक सुपरीवेक्षण गर्ने व्यवस्था गर्न लागिएको छ,’ प्रवक्ता डा. चन्दले भने, ‘नियमित अनुगमन गरी नराम्रो गर्नेको दर्ता खारेजसम्म गर्ने कडा व्यवस्था गर्न लागेका छौँ ।’
उनले स्वीकृति नलिएका, गुणस्तरीय सेवाका लागि पूर्वाधार तथा आवश्यक स्वास्थ्यकर्मी नभएका अस्पताल र स्वास्थ्य संस्थालाई प्रथमपटक निश्चित अवधि तोकी सुधारका लागि सुझाब दिने, दोस्रोमा चेतावनी र तेस्रोपटक खारेज गर्न सिफारिस गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीलाई दिने तयारी भइरहेको बताए ।
प्राइभेट हस्पिटल एन्ड नर्सिङ होम एसोसिएसनका महासचिव गोपी न्यौपानेले सरकारले अनुगमन गर्न अप्ठेरो भयो भन्दै १५ शय्या क्षमताका अस्पताललाई स्वीकृति नदिने तयारी गरेको आरोप लगाए । १५ शय्या क्षमताका अस्पतालले स्वास्थ्यको पहुँच नभएका स्थानमा सेवा दिइरहेकाले सञ्चालन स्वीकृति नै नदिने भन्नु गलत रहेको महासचिव न्यौपानेले बताए ।
‘अनुगमनमा समस्या भयो भनेर अस्पताल नै सञ्चालन गर्न नदिने भन्न त मिलेन नि †’ उनले भने, ‘गल्ती गर्नेलाई सरकारले कारबाही गर्नुपर्‍यो, सरकारले कानुनविपरीत जानेलाई कारबाही गर्न सक्छ ।’

भारतीय डाक्टरलाई अवैध अनुमतिपत्र दिलाउन मन्त्री नै भिडे

-प्रवीण ढकाल काठमाडौं, २१ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले नियमविपरीत नेपाल मेडिकल काउन्सिलमा ठाडो हस्तक्षेप गरी एक भारतीय चिकित्सकको चिकित्सकीय अभ्यास अनुमतिपत्र (काउन्सिल दर्ता नम्बर) दर्ता गर्ने निर्णय गराएका छन् । मेडिकल काउन्सिलको मंगलबार भएको फुल हाउसको छलफलमा मन्त्री महतो आफँै गएर नर्भिक इन्टरनेसनल अस्पतालमा डेढ वर्षदेखि गैरकानुनी रूपमा कार्यरत मुटुरोग विशेषज्ञ डा. भारत रावतलाई नयाँ काउन्सिल दर्ता नम्बर दिने निर्णय गराएका हुन् ।
मेडिकल काउन्सिलको फुल हाउस बैठकमा मन्त्री बस्न पाउँदैनन् । तर, मन्त्री महतोले काउन्सिलमै गएर दबाब दिएपछि काउन्सिल फुल हाउसले डा. रावतलाई ऐनविपरीत नयाँ दर्ता नम्बर दिने भएको छ । नर्भिकले प्रक्रिया नपुर्‍याएकाले काउन्सिलले डेढ वर्षदेखि डा. रावतको अनुमतिपत्र नवीकरण गरेको थिएन । ऐनमा विदेशी चिकित्सकले सुरुमा एक वर्षका लागि नेपालमा अभ्यास गर्न पाउने र त्यसपछि एक वर्ष समय थप्न सकिने व्यवस्था भएकाले डा. रावतले नेपालमा अब काम गर्न नपाउने अडान काउन्सिलको थियो ।
काउन्सिलले डा. रावतको अनुमतिपत्र नवीकरण नगर्ने बताएपछि मन्त्रीले दबाब दिएर नयाँ दर्ता नम्बर दिने निर्णय गराएका हुन् । काउन्सिलको ऐनमा विदेशी डाक्टरको दर्ता नवीकरण नभएपछि पुन: नयाँ दर्ता नम्बर दिने व्यवस्था छैन ।
‘नवीकरण नभएकालाई नयाँ दर्ता गराउने कुरा ऐनमा छैन भनी मन्त्रीलाई जानकारी गराएका थियौँ,’ स्रोतले भन्यो, ‘तर मन्त्रीले पुरानो ऐन समयअनुसार परिवर्तन गर्नुपर्ने भन्दै दबाब दिनुभयो ।’
मन्त्री महतोले हस्तक्षेप गरेपछि काउन्सिलले डा. रावतको अन्तर्वार्ता नै नलिई नयाँ दर्ता नम्बर दिने निर्णय गरेको स्रोतले बतायो । नियमानुसार कुनै पनि विदेशी चिकित्सकलाई विदेशी संस्थाको आवश्यक कागजातपछि अन्तर्वार्ता लिएर मात्र दर्ता नम्बर दिइने प्रावधान छ । तर, काउन्सिलले पहिले निर्णय गरेर डा. रावतलाई आइतबार अन्तर्वार्ताका लागि बोलाएको छ ।
फुल हाउस बैठकमा मन्त्री आएको कुरा स्विकार्दै काउन्सिलका रजिस्ट्रार डा. नीलमणि उपाध्यायले भने, ‘मन्त्रीज्यू अरू नै कामले काउन्सिलमा आउनुभएको थियो, संयोगले त्यो दिन काउन्सिलको फुल हाउस परेको थियो ।’ उनले डा. रावतले दर्ता नवीकरणविना के आधारमा हालसम्म काम गरिरहेका हुन् भन्ने विषयमा काउन्सिलले आइतबार स्पष्टीकरण सोध्न लागेको दाबी गरे ।
काउन्सिलको विदेशी नागरिक चिकित्सक दर्ता समितिका अध्यक्ष डा. मोदनाथ मरहठ्ठाले नेपालमा चिकित्सकीय अभ्यास गर्न विदेशी नागरिकले हरेक वर्ष काउन्सिलबाट दर्ता नवीकरण गर्नुपर्ने बताए । डा. रावतको डेढ वर्षदेखि नवीकरण रोकिएको उनले स्विकारे । नयाँ दर्ता नम्बर दिने विषयमा मन्त्रीले दबाब दिएको विषयमा भने उनले कुरा गर्न चाहेनन् । ‘दर्ता नभएका चिकित्सकले नेपालमा एक दिन पनि काम गर्न पाउँदैनन्,’ उनले भने, ‘डा. रावतको नयाँ दर्ताको विषयमा अहिले कुनै कुरा भएको छैन ।’
नेपाल मेडिकल काउन्सिलमा डा. रावत पहिलोपटक सन् १९९९ जनवरी ३१ मा दर्ता भएका थिए । उनको काउन्सिल दर्ता नम्बर ९१४ हो । सुरुमा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर थापाथलीमा उनी एक वर्षका लागि दर्ता भएका थिए । डा. रावतको अन्तिम दर्ता म्याद ३१ जनवरी २०११ मा समाप्त भइसकेको छ । तर, उनले गैरकानुनी रूपमा अझै नर्भिकमा काम गरिरहेका छन् ।
करिब १४ वर्षअघि नेपाल आएका डा. रावतको यसअघि प्रत्येक वर्ष दर्ता नवीकरण हुँदै आएको थियो । यति लामो समयसम्म विदेशी चिकित्सकलाई अनुमति दिएका उदाहरण निकै कम छन् । स्वदेशी तथा विदेशी कुनै पनि चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकीय अभ्यास गर्न पाउँदैनन् । काउन्सिल नियमावली २०२४, नियम २१ ‘च’को उपनियम ४ बमोजिम विदेशी चिकित्सकको दर्ता बढीमा एक वर्षका लागि मात्र गरिने व्यवस्था छ । विदेशी चिकित्सकले मेडिकल काउन्सिलमा दर्ताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गर्नुपर्छ । काउन्सिलले आवश्यक देखेमा एकपटकमा बढीमा एक वर्ष ननाघ्नेगरी दर्ता नवीकरण गर्न सक्छ । तर, दर्ता नवीकरण पटक–पटक बढाइरहनका लागि नेपालमा अन्य विशेषज्ञ नभएको अवस्था हुनुपर्छ । (सबै भन्दा माथि भारतीय चिकित्सक डा.भारत रावत)

विष बन्न सक्छ खाना

-डा. विप्लव सापकोटा जुम्ला अञ्चल अस्पताल
बदलिँदो जीवनशैली र खानपिनका कारण गर्मी तथा वर्षात्को समयमा धेरैमा फुड पोइजनको समस्या देखिन थालेको छ । स्वच्छ खानेपानी र सफा खानेकुराको कमी एकातिर छ भने अर्कातिर नेपाली समाजका धेरै मानिस घरबाहिरको खानालाई बढी प्राथमिकता दिन थालेका छन् । घरबाहिरका खाना हेर्दा अकर्षक हुन्छन् तर ती बासी तथा अस्वस्थ हुन सक्छन् । पिउने पानी पनि भरपर्दो हुँदैन । सोही कारण मानिस बिरामी हुने क्रम बढिरहेको छ ।
अस्पतालमा पेट बटारिने, शरीरको तापक्रम बढ्दै पूरै शरीर झमझमाउनेजस्ता समस्या लिएर आउनेमध्ये धेरैमा अहिले फुड पोइजनको समस्या देखिएको छ । यसैका कारण केही मानिसमा पाचन प्रणालीको खतरासमेत देखिने गरेको छ । खानाबाट पाचन प्रणालीमा देखा पर्ने रोग नै फुड पोइजन हो । बासी खानेकुरा, दूषित पानीमा पाइने साल्मोनेला, सिगेला, भिब्रिओकलेराजस्ता जीवाण्ले फुड पोइजन गराउँछ । यो जीवाण्ुाले ठूलो महामारीसमेत फैलाउन सक्छ । असुरक्षित खानेकुरा, फोहोर भान्छाकोठा, भान्छाकोठामा प्रयोग भएका फोहर सामग्री, अस्वस्थ पानीसँगको प्रत्यक्ष सम्बन्ध यो रोगका कारण हुन् ।
वर्षात्मा पानीको स्रोत धेरै फोहर हुन्छन्, गर्मीमा खानेकुरा बिग्रिहाल्छ । दूषित खानामा पाइने ई कोलाई, स्टेफाइलोकोकस जीवाण्ुा पनि फुड पोइजनलाई जिम्मेवार छन् । बासी खाना, पुराना दुग्धजन्य पदार्थ, दूषित माछामासु, काँचो मासु, राम्रोसँग नपाकेको मासु आदिमा यस्ता जीवाण्ुा रहन्छन् । राम्रोसँग धोइपखाली नगरी काटेको सलाद पनि फुड पोइजन बढाउने कारण हुन् । पछिल्ला समयमा विवाहको भोजभतेर, होटल, क्यान्टिन, पिकनिकमा खाइने अशुद्ध खानाले फुड पोइजन बढाएको अस्पतालमा आउने बिरामीको संख्याले देखाउँछ ।
यसले युवा तथा वयस्कका तुलनामा बालक, वृद्धवृद्धा र गर्भवती महिलालाई बढी सताउँछ । बालक, वृद्धवृद्धा तथा गर्भवती महिलाको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । एन्टासिडको बढी प्रयोग गर्ने महिलालाई फुड पोइजनको सम्भावना बढी हुन्छ । कुनैकुनै समयमा झाडापखाला नरोकिनाले, रिंगटा लाग्ने, पेट बटारिनेजस्ता लक्षणले गर्भवती महिलालाई मात्र नभएर पेटमा भएको बच्चालाई समेत प्रतिकूल असर पर्ने गरेको पाइन्छ । समयमै उपचार गर्न नसके गर्भ तुहिन सक्छ ।
सुरुसुरुमा झाडाबान्ता हुने, ज्वरो आउनेजस्ता सामान्य लक्षण देखा परे पनि फुड पोइजन निकै जटिल र गम्भीर रोग हो । समयमै निराकरण हुन नसके बिरामीको मृत्यु पनि हुन सक्छ । ज्वरो आउने, पूरै शरीर झमझमाउने, मुटुको धड्कन तीव्र हुँदै गए जोखिम निम्तिइहाल्छ । हातखुट्टा झमझमाउँदा मांसपेशीले काम गर्न छाड्छन् र प्यारालाइसिस हुने खतरा रहन्छ । उपचारमा ढिलो भए शरीरमा पानीको मात्रा घट्छ र मिर्गौला काम गर्न नसक्ने अवस्थामा पुग्छ । कान सुन्न नसक्ने र आँखा नदेख्ने समस्यासमेत आउन सक्छ । झाडाबान्ता रोकिँदै नरोकिएका कारण कतिपयको मृत्यु हुन्छ । त्यस कारण बिरामीमा सामान्य लक्षण देखा पर्दा पनि तत्काल नजिकको स्वास्थ्यसंस्थामा गएर उपचार गराउनुपर्छ ।
बच्ने उपाय
सरसफाइमा बढी ध्यान दिने
भान्छाकोठा वा त्यहाँ प्रयोग भएका सामग्री सफासुग्घर राख्ने
दूषित माछामासु नखाने
दुग्धजन्य पदार्थबाट बनेका पुराना खानेकुरा नखाने
काँचो माछामासु, राम्ररी नपाकेको खानेकुरा नखाने
हरिया तरकारी तथा सलाद राम्रोसँग शुद्ध पानीले पखालेर मात्र खाने
खाली पेटमा गुलिया र बोसोयुक्त खानेकुरा सकभर नखाने
बासी खानेकुरा नखाने
शुद्ध पानी पिउने
साबुनपानीले हात धुन नबिर्सने
प्रस्तुति : प्रवीण ढकाल

नियम मिचेर वीरका निर्देशकको म्याद थप

-प्रवीण ढकाल
काठमाडौं, १५ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले नियम मिचेर वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाको कार्यकाल दुई वर्ष थप गरिदिएका छन् । दुई वर्षदेखि निर्देशक रहेका डा. थापाको पदावधि बुधबार सकिएको थियो ।
नियमावली अनुसार न्याम्सका उपकुलपतिले नाम सिफरिस गरेका व्यक्तिलाई मात्र सहकुलपतिले निर्देशक बनाउन र पदावधी थप्न सक्छन् । न्याम्सको बैठक सञ्चालन, पदाधिकारीको काम, कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधासम्बन्धी नियमावली २०६४ को नियम ११ मा निर्देशक नियुक्ति गर्दा वा पदावधि थप गर्दा उपकुलपतिको सिफारिस चाहिने उल्लेख छ ।
तर, मन्त्री महतोले नियमावलीको ठाडो उल्लंघन गरी आफूखुशी डा. थापाको म्याद थप गरिदिएका हुन् । न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलको सिफारिसविनै गरिएको म्याद थपका विषयमा कर्मचारीमा समेत असन्तुष्टी उत्पन्न भएको छ ।
उपकुलपति डा. पोखरेलले पदावधि थपका लागि आफूले सिफारिस नगरेको बताए । उनले डा. थापाको पदावधि सकिएकाले अर्को व्यवस्था नहुन्जेल डा. राजेन्द्र अग्रवाललाई निमित्त निर्देशकको जिम्मेवारी मात्र दिएको जानकारी दिए ।
‘डा. थापाको पदावधि थप गर्ने सिफारिस न्याम्सले मन्त्रालयमा पठाएको छैन,’ उनले भने, ‘सिफारिस नै नभएका व्यक्ति निर्देशक हुनु नियमविपरीत हो ।’
न्याम्सको नियमविपरीत मन्त्रीले डा. थापालाई निर्देशक पदमा म्याद थपको पत्र दिँदा मन्त्रालयबाट अर्को त्रुटिसमेत हुन गएको छ । मन्त्रीको ठाडो आदेशमा बुधबार डा. थापालाई दिएको म्याद थपको पत्रमा मिति नै गलत लेखिएको छ । पत्र संख्या ०६८/०६९ र चलानी नम्बर २/७८४८ नम्बरको पत्र दुई वर्ष अगाडिको मिति राखेर काटिएको छ । चालु आर्थिक वर्षको पत्र संख्या लेखिएको सो पत्रमा मिति भने २०६७ साल असार १३ गते लेखिएको छ । ‘नियमविपरीत हतारमा काम गर्दा मन्त्रालयले मितिमा गल्ती गर्न पुगेछ,’ मन्त्रालय स्रोतले सौर्यसँग भन्यो ।
‘निर्देशकका रूपमा कार्यरत रहँदा विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार धाइरहेका डा. थापालाई न्याम्सले पुन: निर्देशक पदमा काम गर्न दिन नहुने भनेको थियो,’ न्याम्स स्रोतले भन्यो, ‘तर, मन्त्रीले एक्लौटी हिसाबले प्रक्रिया नै नपुर्‍याई डा. थापालाई पुन: म्याद थपेर अस्पतालमा पुन: भ्रष्टाचार गर्न छुट दिएका छन् ।’
अस्पतालमा निमविपरीत एक सयभन्दा बढी कर्मचारी भर्ना गरेको तथा अधिकार बाहिर गएर विभिन्न भौतिक पूर्वाधार निर्माण गरी अस्पतालमा आर्थिक भार थपेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले गत वर्ष डा. थापाबाट दुई करोड रकम उठाउन र नियमविपरीत राखिएका कर्मचारी हटाउन न्याम्सलाई निर्देशन दिएको थियो । उनले नियमिविपरित भर्ना गरिएका सबै कर्मचारी हटाए पनि रकम भने हालसम्म तिरेका छैनन् ।
डा. थापाले आफू दुई वर्षअघि सिफारिसकै आधारमा निर्देशक पदमा नियुक्त भएको भन्दै पटकपटक एउटै पदका लागि सिफारिस गरिरहनु नपर्ने जिकिर गरे । ‘यो नयाँ नियुक्ति होइन, त्यसकारण म्याद थपका लागि न्याम्सको सिफारिस आवश्यक छैन,’ उनले भने, ‘विगतमा भएका विवादलाई बिर्सेर अब म अस्पतालको विकासमा लागिपर्छु ।’
उपकुलपतिको सिफारिसविना २०६६ सालमा पनि तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले निर्देशक डा. दीर्घराज आरसीलाई हटाएर डा. यज्ञबहादुर भण्डारीलाई नियुक्त गर्दा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अदालतले उपकुलपतिको सिफारिसविना नियमिवपरीत डा. भण्डारीलाई नियुक्ति दिएको भन्दै तत्काल डा. आरसीलाई नै काम गर्न आदेश दिएको थियो । वीरका कर्मचारीले अहिले मन्त्री महतोले पनि पुन: त्यस्तै कार्य गरेको भन्दै अदालत जाने तयारी गरेका छन् ।

यसरी हट्छ हैजा

-प्रवीण ढकाल
असार पहिलो सातादेखि देशैभर वर्षात् भइरहेको छ । गएका वर्षहरूमा जस्तै गरी यो वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको सम्भावित प्रकोप रोक्न उच्च सतर्कता बढाइसकेको छ । मौसम परिवर्तन र लगातारको वर्षात्का कारण नेपालमा एक दशकअघिदेखि हैजाले महामारीको रूप लिँदै आएको छ । तर, रोकथामका लागि ठोस र प्रभावकारी कदम नचाल्दा बर्सेनि धेरै नेपालीहरूले ज्यान गुमाइरहेका छन् । वर्षात्सँगै फैलिने हैजाको न्यूनीकरण लागि सरकारले यस वर्ष भने जोखिममा रहेका जिल्लामा औषधिसहित आवश्यक तयारी पूरा गरेको जनाएको छ । मन्त्रालय भन्छ, ‘हैजाबाट सर्वसाधारणलाई बचाउन सबै तयारी पूरा भएको छ ।’
दुई वर्षअघि मध्यपश्चिम र सुदूरपश्चिमका १८ जिल्लामा फैलिएको हैजाको महामारीका कारण तीन सयभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष विगतका वर्षको जस्तो हैजाको प्रकोप आउन नदिन पूर्ण सतर्कता अपनाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको दाबी छ । तर, विभिन्न जिल्लामा हैजाका बिरामी देखिन थालिसकेका छन् । महाशाखाका निर्देशक डा. जिडी ठाकुरले मौसम परिवर्तन तथा वर्षात्को सुरुआत भएलगत्तै फाट्टफुट्ट हैजा देखिएका स्थानमा उपचारका सबै सेवा पुर्‍याइएको बताए । भन्छन्, ‘अन्य क्षेत्रमा पनि फैलन नदिन उच्च सतर्कता अपनाइएको छ ।’
सरकारले वैशाखको पहिलो सातादेखि असोजको अन्तिम सातासम्मलाई झाडापखाला र हैजाको खतराको महिनाको सूचीमा राखेको छ । त्यसमा पनि सबैभन्दा बढी खतरा असारदेखि भदौको पहिलो हप्तासम्म वर्षा हुने समयलाई लिएको छ । यो समयमा खानेपानी, खानेकुरा तथा जताततै फोहोर हुने भएकाले हैजाका रोगी बढ्ने गरेको पाइन्छ । ‘यो समयमा गत वर्ष हैजाको महामारी देखिएका १८ वटा जिल्लामा फेरि पनि महामारी आउन सक्छ,’ निर्देशक डा. ठाकुरले भने, ‘ती जिल्लालाई उच्च जोखिमका जिल्लाका रूपमा लिएर सतर्कता अपनाइएको छ ।’ महाशाखा जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुरलाई उच्च जोखिमा राखेको छ । उपत्यकामा पनि हैजाका रोगी बढ्न थालेकाले उपत्यकालाई पनि जोखिम क्षेत्रका रूपमा हेरिएको छ । राजधानीको टेकुमा रहेको सहिद शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा हैजाका बिरामी आउन थालेपछि चिकित्सकले उच्च सतर्कताको सल्लाह दिएका छन् ।
अस्पतालका अनुसार यो झाडापखाला तथा हैजाको जोखिमको बेला हो । डा. ठाकुरले वर्षात्पछि दूषित बनेको पानी पिउने तथा दूषित खाना खानाले हैजाको महामारी फैलन सहयोग पुर्‍याइरहेको बताए । नेपालमा हैजाको समस्या हरेक वर्ष बढ्दो रूपमा देखिएको छ । डा. ठाकुर भन्छन्, ‘विशेषगरी गरिब बस्ती रहेको र साधारण स्वास्थ्य शिक्षाको ज्ञान नभएका नेपालका दुर्गम क्षेत्रमा विगत दस वर्षदेखि लगातार हैजको बिरामीहरू देखिएका छन् ।’ एक दशकदेखि हैजाको प्रकोप देखिँदै आएकाले यसलाई रोकथाम गर्न यसपटक पूर्ण तयारी गर्दा गर्दै पनि मानिसहरूको आºनै अज्ञानताका कारण रोग देखिएको उनको भनाइ छ ।
के हो हैजा ?
चिकित्सकहरूका अनुसार हैजा सरुवा रोग हो । यो भिब्रियो कलेरा नामक ब्याक्टेरियाका कारण हुने गर्छ । गर्मी र वर्षायाममा बढी यो रोग देखिन्छ । यसलाई तीव्र गतिमा फैलिने संक्रामक रोगका रूपमा पनि लिइन्छ । छोटो तथा सानो समयमा व्यापक क्षेत्रमा फैलिए व्यापक जनधनको क्षति हुने खतरा रहन्छ, यो रोगबाट ।
भिब्रियो कोलेराले आन्द्रामा संक्रमण गर्दा मानिसलाई हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता लागिरहन्छ । तीव्र गतिमा जलहरण हुँदा बिरामी शिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा पुग्छ । हैजाको संक्रमण फैलने प्रमुख कारक भनेको नै दूषित पानी हो । दूषित पानीको सेवनबाट बचे यो रोग नलाग्ने डा. ठाकुर बताउँछन् । उनका अनुसार हैजा मानिसबाट मानिसमा सर्ने सम्भावना जम्मा तीन प्रतिशत मात्र हुन्छ । हैजा रोग संक्रमित व्यक्तिको मलमूत्र र बान्ताबाट अरूमा सर्छ । यो रोग सर्नुमा व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छता पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।
वर्षात्को मौसम तथा गर्मीमा पानीका मुहान फोहोर हुने र पकाइएको खाद्यवस्तु केही घन्टामै कुहिने, बेस्वाद र बेरङ हुने समस्या हुन्छ । किनभने गर्मीमा सूक्ष्म जीवहरू छिटो एवं बढी सक्रिय हुन्छन् । यस्तो बेलामा पिउने पानी र खाद्य पदार्थ छिट्टै विषाक्त बन्छन् । यसकारण यस्ता पानी र खाद्यपदार्थ खानुअगाडि राम्रोसँग हेरेर वा खानयोग्य छ कि छैन ? बुझेर मात्र खानुपर्छ । वर्षात् तथा गर्मीमा पानीको स्रोत दूषित हुने र अन्य स्थानमा पनि फोहोर हुने गर्छ । यो समयमा सरसफाइको कमी, सडेगलेका फलफूल, जथाभाबी खाना र पानीमा ध्यान नदिँदा हैजा तथा अन्य रोगले आक्रमण गर्छन्  । बासी, सडेगलेका वा फोहोर खानेकुरा र फोहोर पानीको प्रयोग नै हैजा रोगको मुख्य कारण हो ।

जीवनजल नै पाइन छाड्यो

-प्रवीण ढकाल
काठमाडौं, ११ असार । वर्षासँगै विभिन्न जिल्लामा झाडापखालाका बिरामी बढिरहेका छन् । तर, स्वास्थ्य संस्थामा भने बिरामीका लागि आवश्यक औषधिको अभाव हुन थालेको छ ।
वर्षात्का लागि आवश्यक दुई करोड रकमबराबरको औषधि समयमै खरिद गर्न नसक्दा देशभरका स्वास्थ्य संस्थामा झाडाका लागि आवश्यक औषधि जीवनजल र मेन्ट्रोनको अभाव भएको हो । स्वास्थ्य मन्त्रालयले असारअगावै झाडा–पखालाका लागि छुट्टयाइएको दुई करोड रुपियाँको औषधि खरिद गरी जिल्लामा पठाइसक्नुपर्ने थियो । तर, असारको पहिलो सातासम्म पनि औषधि खरिद हुन सकेको छैन । समयमै औषधि खरिद गर्न नसकेपछि यो वर्ष झाडापखालाको जोखिम बढी हुने समय असारदेखि भदौसम्म औषधि अभाव हुने देखिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुर खरिद प्रक्रियामा भएको ढिलाइका कारण यो वर्ष झाडापखाला प्रकोपको सिजनभर औषधि अभाव हुने बताउँछन् । ‘बल्ल औषधि खरिद गर्ने निर्णय भएको छ,’ निर्देशक डा. ठाकुरले भने, ‘अब यो निर्णयअनुसार खरिद गर्ने हो भने पनि औषधि आउन अझै तीन महिना लाग्छ ।’
नियमानुसार औषधि खरिदको निर्णय विश्व बैंकमा सहमतिका लागि पठाइन्छ । विश्व बैंकले सहमति जनाएपछि टेन्डरलगायत प्रक्रियाबाट औषधि खरिद गर्दा कम्तीमा पनि तीन महिना लाग्छ । यस हिसाबले असार दोस्रो साता औषधि खरिदका लागि सम्झौता भए पनि असोज दोस्रो साता नभई औषधि आउने छाँटकाँट छैन ।
मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष सकिन लागेकाले विभागले रकम फ्रिज हुनबाट जोगाउन हतारमा ७ असारमा औषधि खरिद गर्ने निर्णय गरेको छ । बजेट फ्रिज हुनुभन्दा ढिलै भए पनि खरिद प्रक्रियामा गएर रकम काममा लगाउन बिहीबार बसेको औषधि खरिद समितिको बैठकले उक्त निर्णय गरेको स्रोतको दाबी छ । ‘विभिन्न विवाद निकालेर औषधि खरिद गर्न ढिला गरे,’ स्रोतले भन्यो, ‘अहिले औषधि अभाव भएको चिन्ताले भन्दा पनि रकम नै फ्रिज हुने डरले औषधि खरिद गर्न लागेका छन् ।’
‘जिल्लाका अस्पतालमा मात्र होइन, धेरै स्वास्थ्य तथा उपस्वास्थ्यचौकीमा अहिले झाडाका बिरामीको लाइन लाग्न सुरु भएको छ तर उनीहरूका लागि औषधि जीवनजल र मेन्ट्रोनसमेत सकिने अवस्थामा पुगेको छ,’ डा. ठाकुरले भने, ‘कतिपय जिल्लाबाट त औषधि सकिएको गुनासोसमेत आइसकेको छ ।’
दुई वर्षअघि झाडापखालाकै कारण मध्यपश्चिम र सुदूरपश्चिममा तीन सयभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष पनि त्यस्तो अवस्था अउन सक्ने भएकाले सरकारले झाडापखालाको महामारी देखिएका १८ जिल्लालाई उच्च जोखिमका जिल्लाका रूपमा लिएर सतर्कता अपनाइएको निर्देशक डा. ठाकुरले बताए । उनका अनुसार उच्च जोखिममा राखिएका जिल्लामा जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेलधुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुर छन् । काठमाडौं उपत्यकालाई समेत जोखिम क्षेत्रका रूपमा हेरिएको छ ।

मानसिक रोगीलाई छैन एम्बुलेन्स

-प्रवीण ढकाल

काठमाडौं, १० असार । ललितपुरको लगनखेलस्थित एक मात्र सरकारी मानसिक अस्पतालमा एउटा पनि एम्बुलेन्स छैन । मानसिक रोगीको उपचार हुने केन्द्रीय अस्पताल स्थापनाकालदेखि नै एम्बुलेन्सविहीन छ ।
उपचारका लागि बिरामी ओसार–पसार गर्न जुनसुकै अस्पतालमा पनि एम्बुलेन्स सेवा अनिवार्य हुनुपर्ने सरकारी नियम छ । तर, सरकारकै एक मात्र मानसिक अस्पताल २९ वर्षदेखि एम्बुलेन्सविहीन छ । अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनका अनुसार मानसिक बिरामीको आकस्मिक उद्धारका लागि एम्बुलेन्स आवश्यक छ । तर, अस्पतालमा एम्बुलेन्स नहुँदा अन्य अस्पतालका एम्बुलेन्स वा ट्याक्सीले काम चलाउनुपरिरहेको छ ।
‘एम्बुलेन्स सेवा कुनै पनि अस्पतालको अभिन्न अंग हो,’ उनले भने, ‘तर, सरकारी बेवास्ताका कारण हालसम्म अस्पतालले एम्बुलेन्स पाउन सकेको छैन ।’ उनका अनुसार अस्पतालले एम्बुलेन्स उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक–पटक मागपत्र पठाए पनि मागको सुनुवाइ भएको छैन ।
अस्पतालमा एम्बुलेन्स नभएकाले सडकमा भेटिएका मानसिक बिरामीलाई अस्पतालमा ल्याएर उपचार गर्न समस्या भएको डा. शेरचनको भनाइ छ । ‘सडक तथा गल्लीमा मानसिक समस्या भएका बिरामी हिँडिरहेका देखिन्छन्,’ उनी भन्छन्, ‘त्यस्ता बिरामीलाई उठाएर ल्याउने साधन एम्बुलेन्स नहुँदा त्यसै छाड्नुपरिरहेको छ ।’ उनले सरकारले उपयुक्त एम्बुलेन्स दिए उपचार अभावमा सडकमा भौंतारिएका मानसिक रोगीको उपचार सम्भव हुने बताए ।
अस्पतालमा दैनिक सात/आठजनाले ‘एम्बुलेन्स चाहियो’ भन्दै फोन गरे पनि अस्पतालले बिरामीका आफन्तलाई ‘एम्बुलेन्स सेवा छैन आफैँ व्यवस्था गरेर अस्पतालमा बिरामी ल्याउनू’ भन्ने जवाफ दिइरहेको उनले बताए । उनले भने, ‘मानसिक बिरामीलाई साधारण एम्बुलेन्स वा ट्याक्सीमा ल्याउन गाह्रो हुन्छ तापनि हामी केही गर्न सक्ने अवस्थामा छैनौँ ।’
उनका अनुसार मानसिक रोगीका लागि ठूलो ठाउँ भएको र सबै औषधि तथा उपकरण भएको एम्बुलेन्स चाहिन्छ । आकस्मिक समयमा मात्र होइन उपचाररत बिरामीलाई पुन:स्थापना केन्द्रमा लैजानुपर्दा वा बिरामी निको भएर फर्काउन पनि एम्बुलेन्स सेवा चाहिन्छ ।
०४० सालमा स्थापित सो अस्पतालमा अहिलेसम्म पनि एम्बुलेन्स सेवा उपलब्ध गराउन नसक्नु कमजोरी भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । ‘अस्पतालमा एम्बुलेन्स अनिवार्य हुनुपर्छ भनेर अन्य अस्पताललाई नियमले च्याप्ने सरकारले आºनैमा चाहिँ तीन दशकदेखि एम्बुलेन्स नै नदिई बस्न नमिल्ने हो,’ ती कर्मचारीले भने ।
मन्त्रालयका प्रवक्ता डा. पदमबहादुर चन्द मानसिक अस्पतालमा एम्बुलेन्स दिने विषयमा छलफल भइरहेको बताउँछन् । आगामी आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराइने उनको भनाइ छ । अस्पतालमा दैनिक सयभन्दा बढी मानसिक बिरामी उपचारका लागि आउने गरेको निर्देशक शेरचनले जानकारी दिए ।

सर्पदंशबाट जोगिने औषधिको अभाव

-प्रवीण ढकाल
काठमाडौं, ९ असार । सर्पदंशका कारण मृत्युको मुखमा पुगेका व्यक्तिको उपचारका लागि सरकारले नि:शुल्क उपलब्ध गराउँदै आएको औषधिको अभाव भएको छ । ‘एन्टी स्नेक भेनम सेरम’ (एएसभिएस) नामक औषधिको कुनै पनि स्टक अहिले सरकारसँग छैन ।
सरकारले समयमै औषधि खरिद गर्न नसक्दा देशका विभिन्न ठाउँमा रहेका एसएसभिएस केन्द्रमा औषधि सकिएको छ । औषधि अभावका कारण सर्पको टोकाइबाट तराई तथा केही पहाडी जिल्लामा केही व्यक्तिको मृत्यु भएको जानकारी पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
औषधि पुर्‍याउने जिम्मा पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एसएसभिएस केन्द्रमा तीन महिनादेखि नै औषधिको समस्या उत्पन्न भएको थियो । महाशाखाका निर्देशक डा. जिडी ठाकुरले अहिले कुनै पनि केन्द्रमा औषधि नरहेको जानकारी गराएका छन् । ‘सर्पको टोकाइका कारण मानिसको मृत्यु भएको जानकारी जिल्लाबाट आइरहेको छ,’ उनले भने, ‘तर, हामीसँग औषधि एउटा पनि छैन ।’ उनका अनुसार एक वर्षका लागि देशभरमा ३० हजार भाइल औषधि आवश्यक पर्छ ।
महाशाखाले सर्पको टोकाइ बढी हुने २६ जिल्लामा एएसभिएस उपलब्ध गराउँदै आएको छ । २६ जिल्लाका ५० भन्दा बढी केन्द्रबाट नि:शुल्क उपचार दिइरहेको महाशाखाले कुनै पनि केन्द्रमा औषधि पठाउन सकेको छैन । आकस्मिक अवस्थामा क्षेत्रीय मेडिकल स्टोरबाट औषधि व्यवस्था गर्ने गरिएको भए पनि अहिले क्षेत्रीय स्टोरमा समेत औषधि नभएको निर्देशक ठाकुर स्विकार्छन् । उनका अनुसार औषधि खरिदका लागि तीन महिनाअघि नै थालिएको प्रक्रिया विभिन्न विवादका कारण रोकिएकाले औषधि अभाव हुन गएको हो ।
औषधि खरिदको जिम्मा पाएको आपूर्ति व्यवस्था महाशाखा स्रोतका अनुसार औषधि खरिदका क्रममा कमिसनको कुरा आएको र खरिद प्रक्रिया पनि नियमसंगत नभएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि औषधि खरिद प्रक्रिया रोकिएको हो । ‘नियमविपरीत औषधि खरिद गर्न लागेकाले अख्तिायारले खरिद प्रक्रिया रोकेको हो,’ स्रोत भन्छ, ‘आर्थिक वर्ष सकिने समयमा हतारमा नियमपूर्वक औषधि खरिद गर्न खोज्दा औषधिको समस्या भएको हो ।’
महाशाखाको अनुमानअनुसार बर्सेनि १५ हजारभन्दा बढीलाई सर्पले डस्ने गरेको छ । गर्मीसँगै मुलुकका विभिन्न भागमा सर्पदंशमा वृद्धि भए पनि औषधि अभावका कारण धेरैको ज्यान जोखिममा रहेकाले तत्काल औषधि खरिद प्रक्रियामा जानुपर्ने निर्देशक ठाकुर बताउँछन् । अख्तियारले तत्काल यो विषयमा छानबिन गरी औषधि खरिदका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
इपिडिमियोलोजी महाशाखाका अनुसार देशभरका एक करोडभन्दा बढी जनता सर्पदंशको जोखिममा छन् । सर्पको टोकाइका कारण सन् २००६ देखि २०१० सम्म स्वास्थ्य संस्थामा आएका आठ हजार ६ सय ६६ जनामध्ये तीन सय नौको मृत्यु भएको महाशाखाको तथ्यांकले देखाएको छ ।

गर्मीमा ‘लु’ को खतरा

-डा. धुव्रप्रसाद सिंह फेमिली फिजिसियन, वीर अस्पताल
काठमाडौंमै अहिले प्रचण्ड गर्मी छ । तराईको अवस्था त झन् कस्तो होला ? सञ्चारमाध्यममा आएका खबरअनुसार तराईका केही क्षेत्रमा अहिले ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । अत्यन्तै गर्मी हुने जिल्लामा अहिले लु लागेका बिरामी धेरै भेटिन थालेका छन् । कतिपय स्थानमा त लु लागेकै कारण मानसिहरूले ज्यानसमेत गुमाइसकेका छन् । गर्मी बढी हुने स्थानमा सन स्ट्रोक अर्थात् लु लाग्ने सम्भावना अत्यन्तै बढी हुन्छ ।
गर्मी स्थानहरूमा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मुच्र्छा पर्ने वा बेहोस हुने हुन्छ । यसलाई लु लाग्नु भनिन्छ । लु लागे शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ । गर्मीका कारण लगातार शरीरबाट पसिना आउँछ र शरीरमा पानी–नुनको कमी गराउँछ, जसकारण मानिसलाई डिहाइड्रेसन पनि हुन सक्छ । गर्मीकै कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर एवं मन हडबडाउने बनाइदिन्छ ।
तातो हावाको असरले घरमै बस्दा पनि मानिस बिरामी पर्छ । लु लागेको अवस्थामा बिरामीको शरीरको तापक्रम ज्यादै बढ्छ र अचेत हुन्छ । नेपालको तराई भेगमा यो घटना बराबर घटिरहेको पाइन्छ । गर्मीयाममा लु लागेको बिरामीको रोग पत्ता लगाउन निकै सजिलो छ । यस्ता व्यक्ति एकदम हड्बडाउनुको साथै अचानक लड्ने हुन्छन् । शरीर तातो भए पनि हात गोडा चिसो हुन्छ । रोगीलाई टाउको दुख्छ । उसको ओठ, आँखा तथा मुख सुख्खा हुन्छ । यसका साथै चिडचिडापन र थकान महसुस हुनु, ज्वरो आउनु, पसिना आउन बन्द हुनु, ७–८ घन्टासम्म पिसाब पास नहुनु, टाउको एवं पेट दुख्नु, आँखामा जलन, लगातार उल्टी हुनु वा पखाला लाग्नु, मुटुको धड्कन तेज हुनुका साथै स्थिति अझ खराब भए बेहोसीको अनुभूति हुने लक्षणहरू देखिन्छ ।
खास गरी चैतदेखि असारसम्म सूर्य पृथ्वीको नजिक हुन्छ । त्यही कारण तापक्रप बढेर अत्यधिक गर्मीको अनुभव हुन्छ । वायुमण्डलले पनि तातो हावा फाल्छ । तातो घामले मानिसको शरीरको ऊर्जालाई कम गरिदिँदा शरीरको जलीय अंशमा पनि कमी ल्याइदिन्छ । मानिसको शरीरमा ३७ डिग्री सेल्सियस तापक्रम हुन्छ । त्योभन्दा बढी तापक्रम शरीरमा हुनु लु लाग्नु हो । यस्तो बेलामा शरीर एकदमै तात्छ । मानिसको शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुन्छ । यसअलावा शरीरका अन्य सिस्टम पनि बिग्रन जान्छ र मानिसको मृत्युसमेत हुन्छ ।
लुबाट बालबालिका तथा बूढापाका बढी प्रभावित हुन्छन् । यसका साथै गर्मीमा शरीरको लुगा खोलेर काम गर्नेहरू पनि बढी जोखिममा हुन्छन् । हामीकामा जति गर्मी भयो उति लुगा खोल्ने चलन छ । वास्तवमा त्यो सरासर गलत हो । शरीरलाई घाममा काम गर्दा वा हिँड्दा सकेसम्म ढाकेर नै राख्नुपर्छ । लु लाग्नबाट जोगिन सबैभन्दा पहिला त चर्को घाममा बस्नु हुँदैन । गर्मीमा बस्नेले प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।
प्रस्तुति : प्रवीण ढकाल

८० लाख बालबालिकाले खोप नपाउने

मन्त्रीदेखि कर्मचारीसम्म कमिसनको खेलमा

-प्रवीण ढकाल
काठमाडौं, २९ जेठ । असी लाख बालबालिकाले यो वर्ष दादुरा र रुबेलाविरुद्धको खोप लाउन नपाउने भएका छन् । स्वास्थ्यमन्त्रीदेखि कर्मचारीसम्मले औषधि कम्पनीसित कमिसन खोज्न थालेपछि खोप कार्यक्रम अवरुद्ध भएको छ ।
स्रोतका अनुसार स्वास्थ्यमन्त्री राजेन्द्र महतो, भ्याक्सिन खरिद गर्ने आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. नरेशप्रताप केसी र अभियान सञ्चालन गर्ने बालस्वास्थ्य महाशाखाका प्रमुख डा. श्यामराज उप्रेतीले औषधि कम्पनीसित छुट्टाछुट्टै कमिसन मागिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौदेखि १५ वर्षमुनिका देशभरका एक करोड बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप दिने उद्देश्यले चालु आर्थिक वर्षलाई सघन खोप वर्षका रूपमा मनाउने कार्यक्रम अघि सारेको थियो ।
कार्यक्रमका लागि एक अर्ब रुपियाँ बजेट छुट्टयाइएकामा स्वास्थ्यमन्त्री महतोसहित केसी र उप्रेतीले छुट्टाछुट्टै कमिसन माग गरेपछि यो वर्ष भ्याक्सिन खरिद नहुने पक्का भएको छ ।
सरकारले सन् २००८ को सुरुमा देशभरका बालबालिकालाई अभियान नै चलाएर दादुराको खोप दिएको थियो भने रुबेलाको खोप पहिलोपटक दिन लागिएको हो । विज्ञहरूका अनुसार दादुराको खोप पाँच वर्षको अन्तरालमा पुन: दिनुपर्ने हुन्छ । सोहीअनुसार सरकारले यो वर्ष देशभरका बालबालिकालाई खोप दिन अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान सञ्चालनको घोषणा गरेको हो । तर, मन्त्रीदेखि कर्मचारीको बार्गेनिङका कारण खोप नआउने भएपछि दादुराको महामारी पुन: फैलन सक्ने भन्दै मन्त्रालयका कर्मचारी चिन्तित भएका छन् । बालस्वास्थ्य महाशाखाका अनुसार देशका केही जिल्लामा दादुराका बिरामी देखिन सुरु भएका छन् । ‘केही जिल्लामा दादुराका बिरामी देखिन थालिसकेका छन्,’ खोप शाखाका एक कर्मचारीले सौर्यसँग भने, ‘यदि यो वर्ष खोप अभियान नचलाउने हो भने दादुराको महामारी नै फैलन सक्छ ।’ उनले मन्त्रीदेखि कर्मचारीको बार्गेनिङले देशभरका ८० लाख बालबालिकाको स्वास्थ्य जोखिममा रहेको बताए ।
मन्त्रालयले दादुराको महामारी आउन सक्ने भन्दै गत माघमा अभियान घोषणा गरेको थियो । अभियान घोषणा गरेलगत्तै दादुरा रुबेलाको भ्याक्सिन (एमआर) उत्पादन गर्ने सिरम इन्डिया इन्स्टिच्युटले सरकारलाई १० करोड रुपियाँ बराबरको नि:शुल्क एमआर भ्याक्सिन उपलब्ध गराएको थियो । सोही भ्याक्सिनबाट बालस्वास्थ्यले अभियानको पहिलो चरणका रूपमा सुदूरपश्चिम र मध्यपश्चिमका १५ जिल्लाका २० लाख बालबालिकालाई खोप दिएको थियो । देशका अन्य ६० जिल्लामा सञ्चालन गरिने अभियानका लागि आवश्यक भ्याक्सिन खरिदका लागि मन्त्री र विभागीय प्रमुखहरूले कम्पनीसँग बार्गेनिङ गर्न थालेपछि कम्पनीले यो वर्ष भ्याक्सिन दिन नसक्ने जनाएको छ । मन्त्रालय स्रोतका अनुसार कम्पनीले पहिला नै १० करोड बराबरको नि:शुल्क भ्याक्सिन दिइसकेकाले थप कमिसन दिन नसक्ने उल्लेख गरेको छ । तर, मन्त्री र कर्मचारीले आफूहरूलाई छुट्टै कमिसन आउनुपर्ने अडान छाडेका छैनन् ।
मन्त्री महतोले आफूले कमिसनको बार्गेनिङ नगरेको र आफूलाई असफल पार्न केही कर्मचारीले प्रायोजित आरोप लगाएको बताएका छन् । ‘मलाई त कुन कम्पनीले भ्याक्सिन दिँदै छ भन्ने पनि थाहा छैन,’ उनले भने, ‘केही कर्मचारीले चलखेल गरेर मेरो नाम जबर्जस्ती मुछेको हुन सक्छ ।’ उनले यो वर्ष जुनसुकै हालतमा पनि अभियान चल्ने दाबी गर्दै चलखेल गर्नेलाई छानबिन गरी कारबाही गर्न आफू तयार रहेको बताए ।
आपूर्तिका प्रमुख केसीले पहिला भ्याक्सिन खरिदका लागि गरिएको टेन्डर रद्द हुनुमा आर्थिक समस्या रहेको दाबी गरे । ‘आपूर्ति तथा बालस्वास्थ्य र विभाग तथा माथिसम्मको तालमेल मिल्न नसक्दा भ्याक्सिन खरिद हुन सकेको छैन ।’ उनले यो वर्ष कुनै पनि हालतमा अभियान चलाइनुपर्नेमा जोड दिए ।
बालस्वास्थ्यका प्रमुख डा. उप्रेती भने भ्याक्सिन खरिदलगायत विषयमा आफूलाई कुनै जानकारी नहुने बताउँछन् । ‘भ्याक्सिन खरिदको जिम्मा अरू नै निकायको हो,’ उनले भने ‘हामीले त भ्याक्सिन आएपछि कार्यक्रमलाई सही ढंगले चलाउने हो ।’ उनले यो वर्ष बालबालिकालाई अनिवार्य भ्याक्सिन दिनुपर्ने अहिलेसम्म भ्याक्सिन आउन नसकेकामा आफैँ अचम्ममा परेको बताए । अभियान घोषणाको समयमै स्वास्थ्य मन्त्रालयका केही कर्मचारीले तयारीविना हालसम्मकै ठूलो खोप अभियान घोषणा गरेकामा आपत्ति जनाएका थिए । खोप पनि नभएको र खोपका लागि आवश्यक प्रक्रियासमेत नचाली मन्त्रालयले हचुवाका भरमा अभियान घोषणा गरेको भनी केही कर्मचारीले विरोध गरेका थिए ।
मन्त्रालयले नि:शुल्क पाएको भ्याक्सिन सुदूरपश्चिमका अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला, डोटी, कैलाली र कञ्चनपुर एवं मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेत, प्युठान र रोल्पाका बालबालिकालाई लगाएर पहिलो चरणको कार्यक्रम सञ्चालन गरेको थियो । सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा अभियान चलाएलगत्तै मन्त्रालयले अन्य जिल्लाका ८० लाख बालबालिकाका लागि औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । तर, बार्गेनिङलगयत समस्या आएपछि सो टेन्डर रद्द भएको छ ।
अहिलेसम्म टेन्डरको प्रक्रिया सुरु नभएको र टेन्डर परिहाले पनि अध्ययन प्रक्रिया पूरा हुन कम्तीमा चारदेखि पाँच महिना लाग्ने भएकाले चालु आवमा अभियान चल्न नसक्ने पक्का भएको मन्त्रालयका एक उच्च कर्मचारीले सौर्यलाई बताए । ‘विनाअवरोध प्रक्रिया अगाडि बढ्दा पनि चार महिना लाग्छ,’ उनले भने, ‘त्यसकारण यस वर्ष भ्याक्सिन आउन सक्दैन ।’
के हो दादुरा र रुबेला ?
दादुरा र रुबेला ज्यादै छिटो सर्ने भाइरसबाट लाग्ने संक्रामक रोग हो । बालबालिकाको मृत्यु हुने प्रमुख कारण दादुरा पनि हो । दादुरा लागेका बिरामीको नाक, घाँटीमा भाइरस पाइन्छ । त्यसैले बिरामीको खकार, सिँगानसँग प्रत्यक्ष सम्पर्कमा आउँदा हावाद्वारा यो रोग एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ ।
दादुरा रोगको पहिलो लक्षण भनेको उच्च ज्वरो आउनु हो । बिरामीलाई रुघाखोकी लाग्ने, आँखा राता हुने, आँसु बग्ने र गालाको भित्री भागमा मसिना, सेता दाग देखा पर्छन् । दादुरा भइसकेपछि केही दिनमा अनुहार र घाँटीको माथिल्लो भागमा राता बिमिरा देखा पर्छन् । त्यसपछि छाती, पेट, हातखुट्टासम्म फैलिन्छन् । दादुरा भइसकेपछिको खास उपचार नभएको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार दादुरा रोगको उपचार भनेको यसबाट भएका जटिलता जस्तै– पखाला, ज्वरो, निमोनियाको उपचार गर्नु नै हो ।
रुबेलाको लक्षण दादुराको जस्तै हुन्छ । यो रोग पनि भाइरसबाट लाग्ने भएकाले छिट्टै एक व्यक्तिबाट अर्कोमा सर्छ । रुबेला संक्रमण भएको व्यक्तिले हाछ्यँु गर्दा, खोक्दा अरूमा सर्ने हुन्छ । रुबेलाका बिमिरा देखापर्नुभन्दा सात दिनअगाडिदेखि र बिमिरा आएको सात दिनपछिसम्म अरूलाई सर्न सक्छ । गर्भवतीलाई रुबेला लागेमा यसका भाइरस गर्भमा रहेको शिशुमा पनि सर्छन् भने रुबेला लागेर जन्मेका बच्चाले एक वर्षसम्म अरूलाई यो रोग सार्न सक्छन् । रुबेलाको पनि खासै उपचार छैन ।

आठ वर्षदेखि कान्तिको अक्सिजन प्लान्ट बन्द

-प्रवीण ढकाल
काठमाडौं, २१ जेठ । एक मात्र सरकारी बाल अस्पताल कान्ति बाल अस्पतालमा आठ वर्षदेखि अक्सिजन प्लान्ट बन्द छ । अस्पतालको मूल भवन पछाडि रहेको अक्सिजन प्लान्ट मर्मतसम्भार नहुँदा अलपत्र परेको हो ।
पुरानो अक्सिजन प्लान्ट सञ्चालन गर्न अस्पताल व्यवस्थापन उदासीन देखिएपछि प्लान्ट बन्द भएको कर्मचारीले बताए । अस्पताल परिसरमै अक्सिजन प्लान्ट भए पनि अस्पतालका लागि आवश्यक पर्ने अक्सिजन बाहिरबाट किनेर काम चलाइँदै आएको छ ।
प्लान्ट बन्द भएदेखि नै दैनिक आवश्यक पर्ने ४० देखि ५० सिलिन्डर अक्सिजन बाहिरबाट किन्ने गरेको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए । उनका अनुसार अस्प्तालमै प्लान्ट भए पनि बन्द भएका कारण दैनिक अक्सिजनका खरिदका लागि २५ हजार रुपियाँको हाराहारीमा रकम बाहिरिने गरेको छ । अक्सिजनको मूल्य प्रतिसिलिन्डर करिब पाँच सय रुपियाँ छ ।
कान्ति अस्पतालमा सन १९८६ मा जापान सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । बजेट अभावका कारण मर्मतसम्भार हुन नसकेपछि ०६१ देखि प्लान्ट बन्द छ । प्लान्ट बन्द भएदेखि प्लान्टका लागि कुनै कार्य नगरेकाले प्लान्टमा भएका अन्य सामग्री पनि लामो समयसम्म नचलाउँदा बिग्रिसकेको निर्देशक बिच्छाले जानकारी दिए ।
‘मर्मतका लागि आवश्यक बजेट उपलब्ध गराइदिन अस्पतालबाट पटक पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ,’ निर्देशक बिच्छाले भने, ‘तर देशकै पुरानो प्लान्ट बनाउन मन्त्रालयले चासो नदेखाएपछि प्लान्ट बन्द गर्नुपरेको हो ।’ उनले सरकारले बजेट उपलब्ध गराए प्लान्ट पुन: सञ्चालनमा आउने बताए ।
सुरुमा साधारण मर्मतसम्भार गरे पनि हुने मेसिन लामो समयसम्म नचलाउँदा खिया लाग्ने तथा अन्य कारणले अरु मेसिन पनि बिग्रँदै गएको कर्मचारीले बताए । प्लान्टको मेसिन बिग्रिएका कारण तीन वर्ष अघिसम्म परीक्षण गर्दा ६० प्रतिशत मात्र शुद्ध अक्सिजन फिल्टर गर्ने क्षमतामा रहेको थियो तर पछिल्लो समय मेसिनले त्यति परिमाणमा फिल्टर गर्न नसक्ने अवस्था रहेको निर्देशक बिच्छाले बताए । ६० प्रतिशत शुद्ध अक्सिजन बिरामीका स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकको भनाइ छ ।
अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन हुँदा अस्पतालले अन्य अस्पतालमा समेत अक्सिजन आपूर्ति गर्ने गरेको निर्देशक बिच्छाले जानकारी दिए । ‘पहिले यही प्लान्टबाट प्रसूतिगृह र प्रहरी अस्पतालमा अक्सिजन आपूर्ति गरिन्थ्यो’ उनले भने ‘अहिले हामीले नै बाहिरबाट अक्सिजन किन्नुपरेको छ ।’ उनले समयमा नै मर्मतसम्भार नगर्दा प्लान्टको मर्मत खर्च पनि बढ्दै गएको जानकारी दिए ।
‘सरकारले अक्सिजन प्लान्ट मर्मत सुधारका लागि चासो नदेखाएपछि मेसिन बिगँ्रदै गएकाले अब मर्मत खर्च नै महँगो हुने देखिन्छ’ उनले भने ‘यसको मर्मतका लागि हामीले बजेट माग गरेका छौँ, सरकारले बजेट दिए पुन: प्लान्ट सञ्चालनमा आउने छ ।’ उनले आगामी आर्थिक वर्षको बजेटमा प्लान्टका लागि बजेट आएमा अन्य अस्पतालमा समेत अक्सिजन वितरण गर्ने गरी योजना बनाइएको बताए ।