Pages

Thursday, October 20, 2011

राजधानीमा रगत अभाव

प्रवीण ढकाल
image

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन्

नयाँ पत्रिका

काठमाडौं, २३ असोज

बिरामीलाई आवश्यक रगत जुनसुकै वेला उपलब्ध गराउने केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । रगत अभावका कारण राजधानीका विभिन्न अस्पतालमा ल्याइएका बिरामीको उपचारमा समेत असर परेको छ ।

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, प्रसूति गृहलगायतका अस्पतालमा दसैँ सुरु भएदेखि नै रगतको 'स्टक' सिद्धिएको छ ।

स्रोतका अनुसार रगत अभावका कारण केन्द्रले इमरजेन्सी पर्नेलाई तत्काल दाता खोजेर रगत उपलब्ध गराउने गरेको छ । तर, तत्काल कुनै दुर्घटना वा विपत्ति आइपरेमा भने केन्द्रले रगत उपलब्ध गराउन नसक्ने स्रेतले बतायो ।

'केन्द्रमा रगतको स्टक नै छैन,' स्रोतले भन्यो, 'जसोतसो हारगुहार गरेर दातालाई फकाएर रगत मिलाइरहेका छौँ । यही वेलामा कुनै दुर्घटना वा विपत्ति परेर रगतको आवश्यकता पर्‍यो भने केन्द्रले उपलब्ध गराउन सक्दैन ।'

स्रोतका अनुसार केन्द्रमा दुई महिनाअघिसम्म 'बी पोजेटिभ' समूहको रगत कमी थियो । केही समयअघिसम्म पाइएको 'बी' र 'एबी' पोजेटिभ समूहको रगत तथा अन्य समूहको रगत भण्डारण्ा पर्याप्त छैन । केन्द्रकी निर्देशक डा. मनिता राजकणिर्कारले भने केन्द्रमा रगतको अभाव नभएको दाबी गरिन् । 'दसैँका कारण दैनिक संकलन कम भएकाले रगतको भण्डारणमा केही कमी आएको पक्कै हो,' उनले भनिन्, 'तर रगत नै नभएको अवस्था भने होइन ।'

रक्तसञ्चार केन्द्रका अनुसार राजधानीमा दैनिक दुई सय ५० देखि तीन सय पिन्टसम्म रगतको माग छ । तर केन्द्रमा जम्मा एक सय ५० देखि दुई सय पिन्टसम्म मात्र रगत संकलन हुने गरेको छ । मागको अनुपातमा संकलन न्यून भएकाले बिरामीका आफन्त आफैँले दाता खोजेर रगत ल्याउनुपर्ने बाध्यता रहेको निर्देशक डा. राजकणिर्कारले बताइन् । उनका अनुसार दसैँको समयमा रगत दिने दाताहरू कम हुने तथा दसैँैपछि उपचार गराउन आउने बढी भएकाले पनि यो समयमा सधैँजसो रगतको केही समस्या आउने गरेको छ । स्रोतका अनुसार केन्द्रले संकलन कम भएकाले धेरै मानिसमा पाइने 'ए पोजेटिभ' समूहको रगत पनि उपलब्ध गराउन नसक्ने अवस्थामा पुगिसकेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले भने राजधानीमा रगतको अभाव भएको बताए । उनका अनुसार केन्द्रमा रगत अभाव भएपछि दसैँदेखि नै अस्पतालमा दाता नै गएर रगत दिइरहेका छन् । 'केन्द्रमा रगत नपाएपछि मानिसले हामी डोनरहरूलाई फोन गर्छन्,' उनले भने, 'हामीले दैनिक दशदेखि १५ जना डोनरलाई खोजेर रगत दिनुपरिरहेको छ ।'

कर्माचार्यका अनुसार राजधानीमा रक्तसञ्चार केन्द्रकै व्यवस्थापकीय कमजोरीका कारण रगतको अभाव देखिएको हो । 'केन्द्रकै व्यवस्थापन राम्रो नभएकाले रगतमा समस्या देखिएको हो,' उनले भने, 'केन्द्रको लापरबाहीका कारण रक्त व्यवस्थापन समिति देखाउने दाँत मात्र भएको छ । त्यसले केही व्यवस्थापन गर्न सकेको छैन ।' उनले केन्द्रले रक्तदानबारे जनचेतना जगाउने खासै काम नगरेको पनि उनको गुनासो थियो ।

१५ प्रकारका औषधि हानिकारक

image

डाबरका एएल ००२० नम्बर ब्याचको प्युसामुग चूर्ण, एएल ००४७ नम्बर ब्याचको अभिपत्तिकर र एल ०५७५ नम्बर ब्याचको लावण भास्कर, वैद्यनाथको १४७ नम्बर ब्याचको अभिपत्तिकर, १ नम्बर ब्याचको चोपचिनियादी, ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्णमा हानिकारक किटाणु

प्यारेन्टेरल ड्रगको ९ डिइएक्स १२४ ब्याचका इन्जेक्सन रिंगर ल्याक्टेट स्लाइन निर्मलीकरण नगरिएको, डेनिस केम ल्याबको १०१२१६२१ ब्याचको सोडियम क्लोराइड इन्जेक्सन स्लाइनमा बाहिरी पदार्थ, एग्लोमेड लिमिटेडको ६१००५१०१ एक्सडी ब्याचको एग्लुजाइम सिरपमा कालो पदार्थ

क्युरेक्सको पिसिएक्स ०३३ ब्याचको केफडक्स, ५० ड्राइ सिरपमा कालो पदार्थ, लोमसको एटिए ०१९ ब्याचको एटेन ँए’ ट्याब्लेट, जिडीको टिडी १५-१००४ ब्याचको टुसिनोल 'डी’ सिरपमा कालो पदार्थ र सुमी फर्मास्युटिकल्सको हाम्रो सिरप नामको भिटामिन 'बी’ कम्प्लेक्स गुणस्तरहीन

हानिकारक ब्याक्टेरिया र कालो पदार्थसमेत भेटिएका औषधिहरू बजारबाट फिर्ता गरी तत्काल नष्ट गर्न औषधि व्यवस्था विभागद्वारा उत्पादक कम्पनीहरूलाई पत्राचार, नष्ट नगरिए कम्पनी दर्ता खारेज गर्ने चेतावनी

नयाँ पत्रिका

काठमाडौं, १२ असोज

बजारमा खाद्यान्न तथा पेय पदार्थ मात्र नभएर औषधिसमेत मिसावटयुक्त र गुणस्तरहीन भेटिएको छ । बजारमा बिक्री गरिँदै आएका केही औषधिमा मानवस्वास्थ्यमा हानिकारक ब्याक्टेरिया र कालो पदार्थसमेत भेटिएका छन् । भारतीय औषधि उत्पादन कम्पनीका ११ र नेपाली कम्पनीका चार गरी १५ प्रकारका औषधि गुणस्तरहीन र मापदण्डविपरीत भेटिएका हुन् ।

औषधि व्यवस्था विभागले गत आर्थिक वर्षको असार मसान्तसम्ममा गरेको बजार अनुगमनका क्रममा स्लाइन, भिटामिन 'बी' कम्प्लेक्स, उच्च रक्तचापको औषधि, एन्टिबायोटिक, ग्यास्टि्रक, महिलाको तल्लो पेट दुख्दा खाने औषधि गुणस्तरहीन भेटिएका छन् । त्यस्तै, पाचन प्रणाली, छालासम्बन्धी एलर्जी, निद्रा, तनाव कम गर्ने, खोकी, खाना पचाउने तथा मृगौलालगायतका रोगको उपचारमा प्रयोग गरिने औषधि पनि मापदण्डविपरीत, निम्नगुणस्तर पाइएको विभागले जनाएको छ ।

रोग निको पार्न भन्दै बजारमा बेचिएका गुणस्तरहीन औषधि बजारबाट फिर्ता गरी तत्काल नष्ट गर्न निर्देशनसहितको पत्र औषधि व्यवस्था विभागले उत्पादक कम्पनीहरूलाई पठाएको छ । विभागका अनुसार भारतको बहुर्राष्ट्रिय कम्पनी डाबर इन्डिया लिमिटेडको आयुर्वेदिक औषधि र भारतकै श्री वैद्यनाथ प्रालिद्वारा उत्पादित औषधिमा बढी समस्या देखिएको छ । त्यस्तै, नेपालका क्युरेक्स फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, जिडी फर्मास्युटिकल्स र सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित औषधि मिसावटयुक्त भेटिएका छन् ।

विभागले अनुगमनका क्रममा डाबरका तीन र वैद्यनाथका पाँच प्रकारका औषधिमा मानवस्वास्थ्यलाई असर गर्ने ब्याक्टेरिया फेला पारेको छ । भारतकै प्यारेन्टेरल ड्रग इन्डिया, डेनिस केम ल्याब र एग्लुमेड लि. इन्डियाका एक/एक औषधि निम्नगुणस्तर र मिसावटयुक्त भेटिएको विभागले जनाएको छ ।

'बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ प्रालिले उत्पादन गरेका आयुर्वेदिक औषधि चूर्णमा मानवस्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया फेला परेको छ,' विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले नयाँ पत्रिकासँग भने, 'त्यस्तै स्लाइन, एन्टिबायोटिक, भिटामिन 'बी' कम्प्लेक्स, खानापचाउने औषधिमा समेत समस्या देखिएको छ ।' उनका अनुसार मापदण्डविपरीत निम्न गुणस्तर र मिसावटयुक्त औषधिलाई तत्काल बजारबाट फिर्ता गरी नष्ट गरेको विवरण विभागमा पठाउन सम्बन्धित उत्पादक कम्पनीलाई पत्र पठाइसकिएको छ ।

विभागले गरेको अनुगमनका क्रममा डाबरका एएल ००२० नम्बर ब्याचको प्युसामुग चूर्ण, एएल ००४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण र एल ०५७५ नम्बर ब्याचको लावण भास्कर चूर्णमा मानवस्वास्थ्यमा हानिकारक किटाणु भेटिएको हो । चिकित्सकहरूका अनुसार प्युसामुग चूर्ण महिलाको तल्लो पेट दुख्दा, अभिपत्तिकर चूर्ण ग्यास्टि्रक र लावनभास्कर पाचनको उपचारका लागि प्रयोग गरिन्छ । त्यसैगरी वैद्यनाथ कम्पनीको पाँच किसिमको चूर्णमा पनि किटाणु देखिएको विभागका औषधि निरीक्षक अधिकारीले बताए ।

निरीक्षक अधिकारीका अनुसार वैद्यनाथको १४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण, १ नम्बर ब्याचको चोपचिनियादी चूर्ण, ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्ण, १७८ नम्बर ब्याचको सितोपलादी चूर्ण र २१२ नम्बरको त्रिफला चूर्णमा पनि किटाणु पाइएको छ । चिकित्सकका अनुसार वैद्यनाथका अभिपत्ता चूर्ण ग्यास्टि्रक, चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी, अश्वोगान्धी चूर्ण निद्राका लागि र तनाव कम, सितोपलादी चूर्ण खोकीका लागि र त्रिफला पाचनप्रणालीसहित मृगौलालगायतका रोगको उपचारमा प्रयोग गरिन्छ ।

यसैगरी, प्यारेन्टेरल ड्रगको ९ डिइएक्स १२४ ब्याचका इन्जेक्सन रिंगर ल्याक्टेट स्लाइन निर्मलीकरण नगरिएको, डेनिस केम ल्याबको १०१२१६२१ ब्याचको सोडियम क्लोराइड इन्जेक्सन स्लाइनमा स्वास्थ्यलाई असर गर्ने बाहिरी पदार्थ रहेको र एग्लोमेड लिमिटेडको ६१००५१०१ एक्सडी ब्याचको खाना पचाउने औषधि एग्लुजाइम सिरपमा कालो पदार्थ फेला परेको छ । चिकित्सकका अनुसार निर्मलीकरण नगरेका स्लाइनले बिरामीलाई थप रोगी बनाउने, स्लाइनमा अन्य पदार्थ हुँदा बिरामीमा थप समस्या आउनसक्छ ।

अनुगमनका क्रममा नेापली कम्पनी क्युरेक्सको पिसिएक्स ०३३ ब्याचको केफडक्स, ५० ड्राइ सिरप एन्टिबायोटिकमा कालो पदार्थ, लोमस फर्मास्युटिकल्सको एटिए ०१९ ब्याचको एटेन 'ए' ट्याब्लेट उच्च रक्तचापको औषधिमा मात्रा पूरा नभएको, जिडी फर्मास्युटिकल्सको टिडी १५-१००४ ब्याचको टुसिनोल 'डी' सिरप नामको खोकीको औषधिमा कालो पदार्थ र सुमी फर्मास्युटिकल्सको एचएम-३७ ब्याचको हाम्रो सिरप नामको भिटामिन 'बी' कम्प्लेक्स न्यून गुणस्तरको पाइएको छ । 'बजारमा पाइएका ती औषधिले बिरामीको रोग निको हुनेभन्दा पनि थप इन्फेक्सन हुनेदेखियो,' निरीक्षक अधिकारीले भने, 'त्यसैले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौँ ।' उनका अनुसार ती औषधि फिर्ता नगरिए ती उत्पादकको दर्ता लाइसेन्स नै खारेज हुनेछ ।

विभागले बजारमा निरीक्षणका क्रममा डाबर र वैद्यनाथद्वारा उत्पादित औषधिमा मानवस्वास्थ्यलाई हानी गर्ने ब्याक्टेरिया फेला परेपछि गत जेठमा नै औषधि फिर्ता गरी नष्ट गर्न पत्र पठाएको थियो । तर, ती दुवै कम्पनीले अझैसम्म के कति औषधि फिर्ता लगिएको र कति नष्ट गरिएको भन्ने विभागलाई जानकारी दिएको छैन । नियमअनुसार विभागले पत्र पठाएपछि अनिवार्य रूपमा उत्पादकले ती ब्याचका उत्पादन फिर्ता गरिएको परिणामबारे तत्काल जानकारी गराउनुपर्ने हुन्छ ।

'औषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानवस्वास्थ्यलाई हानी गर्ने विभिन्न प्रकारका ब्याक्टेरिया फेला परेपछि बजारमा भएका ती ब्याच नम्बरका सम्पूर्ण औषधि उठाएर फिर्ता लैजान पत्र पठाएका हौँ,' निरीक्षक अधिकारीले भने, 'केही समयपछि हामी बजारमा फेरि अनुगमन गछौर्ं, फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रक्रिया अघि बढाउछौँ ।' डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तीनकुनेस्थित लुना ट्रेनिङ कम्पनीले डिलरको अनुमति लिएको छ भने वैद्यनाथको रौतहटको गौरमा रहेका राजेश मेडिसिन प्रालिले । विभागले ती दुवै कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुनः बजार अनुगमन गर्ने भएको छ ।