Pages

Thursday, September 15, 2011

दूधमा ढुसी परेको पाउडर

प्रवीण ढकाल
image

दूधको पोकामा उत्पादन र उपभोगयोग्य मिति नै छैन

बन्द गर्न भनिएको पानी कम्पनीबाट उत्पादन जारी

औषधि भण्डारण नियमविपरीत

गुनासो गर्न गृह मन्त्रालयको हटलाइन ४२११२०८

१. सैँजु डेरीले अमृत र कान्तिपुर दूधमा मिसाउन राखेको ढुसी परेको पाउडर । २. केडिसी दूध उत्पादन गर्ने कालिका डेरीको मेसिनमा खिया हेर्दै अनुगमनकर्ता । ३. एक महिनाअघि नै बन्द गर्न भनिएको इभा पानीमा लेऊ । ४. हिमाल हस्पिटलको मेडिकलमा नियमविपरीत हावा नचल्ने कुनामा राखिएका औषधि । तस्बिरहरूः श्रीधर पौडेल, ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २८ भदौ

वाणिज्य विभागको अनुगमन जारी छ, बुधबारको अनुगमनले पुष्टि भएको छ- दूधमा ढुसी परेको पाउडर पनि मिसाइएको हुन्छ, धाराबाट सोझै जारमा पानी थापेर 'मिनरल वाटर' भन्दै बजारमा बेचिन्छ ।

विभागको टोलीले बुधबार केडिसी दूध उत्पादन गर्ने कालिका डेरी र कान्तिपुर तथा अमृत दूध उत्पादन गर्ने सैंजु डेरीमा छापा मारेको थियो । दूधका नाममा सैंजु डेरीले पाउडर मिसाउने गरेको पुष्टि भएको छ । विडम्बना, पाउडरमा पनि ढुसी परेको थियो । टोलीले ढुसी परेको चार बोरा पाउडर नष्ट गरेको छ ।

त्यस्तै भक्तपुरको कालिका डेरीले त दूधमा उत्पादन र उपभोगयोग्य मिति नराखी दूध प्याकिङ गर्दै आएको थियो । जनस्वास्थ्यमाथि खेडबाड गरेको भन्दै सैंजु र कालिका दुवै डेरीमा सिलबन्दी गरिएको छ । विभागले अमृत र कान्तिपुर दूधका प्याकेट परीक्षणका लागि खाद्य प्रविधिमा पठाएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्तावादी संघ-संस्थाका प्रतिनिधि थिए । टोलीले 'इभा' नामक जारको पानी धाराबाट भर्दै बजार पठाउने गरेको भेटाएको छ । पानी फिल्टरसमेत प्रशोधित भनेर बजारमा पठाउने गरिएको पुष्टि भएको छ ।

इभा ब्रान्डको मिनरल वाटर उत्पादन गर्ने स्वस्तिक वेभरेजले गुणस्तरहीन पानी उत्पादन गरेको केन्द्रीय खाद्य प्रयोगशालाले एक महिनाअघि नै पुष्टि गरेको थियो । विभागले एक महिनाअघि नै बन्द गर्न भनेको कम्पनीले पानी उत्पादन गरिरहे पनि प्रशासनले अहिलेसम्म कारबाही गरेको थिएन ।

गत जेठमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव पे्रम सञ्जेलले इभा पानीमा अखाद्य पदार्थ र लेउ फेलापारेका थिए । जारमा लेउ फेलापरेपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको सहयोगमा कम्पनीविरुद्ध वाणिज्य विभागमा उजुरी दिइएको थियो । वाणिज्यले सो पानीको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो । विभागले पानीको नमुना परीक्षणमा पनि दूषित र मापदण्डविपरीत रहेको पुष्टि गरेको थियो ।

कम्पनीले दुई वर्षदेखि पानीको परीक्षण नै नगरी बेच्ने गरेको खुलेको थियो । उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका सचिव जगन्नाथ मिश्रले इभा गुणस्तरहीन भएकाले सो कम्पनी बन्द गर्न माग गदर्ैै मञ्चले महिना दिनअघि पत्र पठाएको बताए । बुधबार अनुगमनका क्रममा फिल्टर नगरी धाराबाट जारमा भर्दै पानी बेचेको पाइए पनि सो कम्पनी सिलबन्दी गरिएको छैन । प्रशासनले मापदण्ड पूरा नगरी पानी उत्पादन गरेको भन्दै स्वस्तिकका सञ्चालक कृष्णराम जाकी गोन्जारलाई बिहीबार जिल्ला प्रशासन कार्यालय उपस्थित हुन पत्र मात्र काटेको छ ।

खाद्य ऐनअनुसार बर्सेनि पानी परीक्षण गराउनुपर्छ भने अनुमतिपत्रसमेत नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । तर, सो कम्पनीले हालसम्म पानी परीक्षण नगराएको र कम्पनीको नवीकरणसमेत नभएको पनि पुष्टि भएको छ । प्रशासन कार्यालयका शाखा अधिकृत बलराम हाछेथूले कम्पनीद्वारा उत्पादित पानी नमुना परीक्षणका लागि खाद्य प्रविधिमा पठाइएकाले परीक्षणबाट आएको रिपोर्टका आधारमा कारबाही गरिने बताए ।

यसैगरी, ओके मिनरल वाटर प्रालिको अनुगमनक्रममा टोलीले फिल्टर उपकरणमै खिया लागेको भेटाएको छ । ओके नामक पानी उत्पादन गर्ने सो कम्पनीले आठ वर्षदेखि एउटै फिल्टर प्रयोग गर्दै आएको पुष्टि भएपछि सञ्चालकलाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै तलेजु ब्रान्डको पानी उत्पादन गर्ने जयछुमा गणेश शुद्ध खानेपानी प्रालि र अक्वा प|mेस नामक पानी उत्पादन गर्ने कम्पनी जिआर प्रालिमा पानीको गुणस्तर जाँच्ने ल्याब नै भेटिएन । नियमअनुसार पानी उत्पादन गर्ने सबै कम्पनीमा आफ्नै ल्याब हुनुपर्छ भने केन्द्रीय ल्याबमा पनि पानीको परीक्षण गर्नुपर्छ । अनुगमनक्रममा कुनै पनि पानी उत्पादकले ल्याब परीक्षण नगरेको पाएपछि सबैलाई स्पष्टीकरणका लागि जिल्ला प्रशासन बोलाइएको छ ।

औषधिको भण्डारणमा समस्या

दूध र पानी मात्र होइन, औषधिको गुणस्तरमा पनि समस्या देखिएको छ । शिक्षण अस्पतालपरिसरको हाम्रो फार्मेसी र हिमाल अस्पतालपरिसरमा रहेको हिमाल मेडिकलले मापदण्डविपरीत औषधि भण्डारण गरेको पुष्टि भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र उपभोक्तावादी संस्थाको संयुक्त टोलीले बुधबार हिमाल मेडिकल र हाम्रो फार्मेसीमा अनुगमन गरेको थियो । सरकारी मापदण्डअनुसार औषधिलाई हावा आउने खुला कोठामा भित्तामा नछुने गरी राखेको हुनुपर्दछ । तर, हिमाल मेडिकल हलले टिनको छानामुनि सानो अँध्यारो कोठामा कतैबाट पनि हावा नजाने गरी गुम्साएर राखेको पाइएको छ ।

विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले मापदण्डविपरीत औषधि भण्डारण गरेको मेडिकल हललाई एक साताभित्र विभागका निरीक्षकको उपस्थितिमा राम्रो स्थानमा औषधि भण्डारण गर्न निर्देशन दिएको बताए । उनका अनुसार हिमाल मेडिकल हलमा भण्डारण गरिएको औषधि हेर्दा धेरै औषधि बिगि्रएको हुनसक्छ ।

'नियमअनुसार भित्तामा छुने गरी वा सीधै भुइँमा औषधि भण्डारण गर्नुहुँदैन । तर, हिमाल मेडिकलले भित्तामा र भुइँ सीधै छुने र गुम्सिएको कोठामा निमयविपरीत औषधि भण्डारण गरेको पाइयो,' उनले भण्डारणमा फेलापरेका बिगि्रएका औषधि सबै विभागले जफत गर्ने बताए ।

यसैगरी सोही टोलीले शिक्षण अस्पतालपरिसरको हाम्रो फार्मेसीले मानसिक रोगीका लागि आवश्यक लागू तथा मनोदिपक औषधिको रेकर्ड राख्ने नगरेको भेटिएको छ । ती औषधि छुट्टै स्थानमा राख्नुपर्नेमा अन्य औषधिहरू भएकै स्थानमा नै राखेको तथा मूल्य नै नभएका सर्जिकल सामग्रीहरू बिक्रीका लागि राखिएको पाएको छ ।

यस्तै अनुगमनमा बिलमा खरिदकर्ताको नाम नलेख्ने, तथा नियमअनुसार बिलमा उल्लेख गर्नुपर्ने ब्याच नम्बर र म्याद सकिने मिति पनि उल्लेख नगरेको पाएको छ । विभागले फार्मेसीलाई विभागमा प्रमाणपत्र र आवश्यक कागजातसहित विभागमा उपस्थित हुने भनेको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा बजार अनुगमन संयन्त्र

सरकारले बजार अनुगमनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा स्थायी संयन्त्र बनाउने भएको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता गणेश ढकालले बजार अनुगमनलाई तीव्रता दिन दुई सय ४० निर्वाचन क्षेत्रमै अनुगमन संयन्त्र स्थापना गर्ने र मूल्यवृद्धि नियन्त्रण गर्न सुपथमूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । त्यसका लागि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक जनशक्ति र अर्थ मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गर्न आग्रहसमेत गरिसकेको बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता ढकालले उपभोक्ताको हित संरक्षणका लागि उपभोक्ता अदालत गठन गर्ने र कडा कारबाहीको व्यवस्था गर्न ऐन संशोधनको मस्यौदा कानुन मन्त्रालयमा पठाइसकेको बताए । उनका अनुसार बजारमा देखिएको कृत्रिम अभाव र कालोबजारीलाई नियन्त्रण गर्न आगामी ६ असोजबाट राजधानीमा सातवटा स्थायी र पाँचवटा घुम्ती पसल सञ्चालन गर्ने मन्त्रालयले तयारी गरेको छ । जसमा साल्ट टे्रडिङ, नेसनल टे्रडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले बिक्री गर्दै आएका सामग्रीहरू राखिनेछ ।

गृहसचिव लीलामणि पौडेलले बजार अनुगमनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक वा अरू कुनै दबाबको भरमा दोषीले उन्मुक्ति पाउन नहुने बताए । 'म जति दिन गृह मन्त्रालयमा बस्छु, सशक्त कारबाही गर्न पछि पर्दिनँ,' उनले भने 'कसैको दबाबको अगाडि झुक्दिनँ र कसैले दबाब दिएर केही हुनेवाला छैन दोषीमाथि कारबाही गर्न अगाडि बढ्नेछु ।' उनले आफूले सबै सिडियोलाई अनुगमनको काम गरेको मासिक प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिएको बताए ।

गृहसचिव पौडेलले उपभोक्ताको गुनासो सुन्न मन्त्रालयले ४२११२०८ नम्बरको टेलिफोनको व्यवस्था गरेको र छिट्टै उपभोक्ताको गुनासो एसएमएसबाट समेत सुन्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

Wednesday, September 14, 2011

मदिरामा मिसावट, पानी दूषित, किरा परेका पीठोबाट केक


image

बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ


प्रहरीले सिन्धु डिलर्स एन्ड सप्लायर्सबाट मंगलबार बरामद गरेका मिसावटयुक्त र राजस्व छलिएका मदिराका बोतल । वाणिज्य विभागले अक्वा त्रिशूली मिनलर वाटरको कम्पनीमा भेटिएको दूषित पानीको जार (अन्तिम) । तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २७ भदौ

किरा परेको पीठोबाट दुनोट र केक, खिया लागेको टयांकीबाट 'मिनरल वाटर' । बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ ।

विभागको टोलीले अक्वा त्रिशूली नामको 'मिनरल वाटर'को बोतल र जारमा दूषित पानी फेला परेको छ । विभाग र उपभोक्ता अधिकारवादीहरूसितको संयुक्त टोलीले त्रिशूली पानीको उत्पादन 'प्रोसेसिङ' नपुर्‍याई गरिएको, पानी प्रशोधन गर्ने फिल्टरमा प्वाल परेको, पानी राख्ने टयांकीमा खिया लागेको तथा टयांकी पूरै पहेँलो भएको फेला पारेको छ । त्यस्तै पानीका बोतलमा ब्याच नम्बर नै नराखी बिक्री गर्ने गरेको, राखेको मिति पनि गलत भएको र २० लिटरको पानीको जारमा परालको त्यान्द्रोजस्तो लामो अखाद्य वस्तु भेट्टाएको छ । विभागले कम्पनी तत्कालै बन्द गरेको छ ।

विभागका उपसचिव टीकाप्रसाद भण्डारीले पानीको उत्पादनमा समस्या देखिएको र पानी उत्पादन गर्ने स्थान र पानी फोहोर भेटिएपछि कम्पनीमा सिलबन्दी गरेको बताए । उनले पानीको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने र विभागले दिएको रिपोर्टका आधारमा कम्पनीलाई कारबाही गरिने जनाए ।

अनुगमनमा नै गएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कम्पनीमा पानीको गुणस्तर जाँच्ने ल्याब पनि नभएको बताए । 'नियमअनुसार कम्पनीमा आफ्नै ल्याब हुनुपर्ने हो,' उनले भने, 'तर त्यो कम्पनीले परीक्षण नै नगरी दूषित पानी बिक्री गर्ने गरेको पाइयो ।' कम्पनीका कर्मचारीहरूले भने पानीको उत्पादन गरेपछि बानेश्वरमा रहेको एउटा ल्याबमा परीक्षण गर्ने गरेको जनाएका छन्, तर उनीहरूले ल्याबको नाम भने भनेनन् ।

यसैगरी, सोही टोलीले नयाँबजारमा रहेको सिद्धार्थ बेकरी एन्ड कन्फेक्सनरीमा पीठोमा किरा र झिँगा फेला पारेको छ । बेकरी सामग्रीहरू दुनोट, केक उत्पादन गर्ने पीठोमा सिलेसा (सेतो किरा), झिँगा र अखाद्य रङ फेला परेपछि विभागले सो पसललाई बन्द गरेको छ ।

'राजधानीका झन्डै ५० भन्दा बढी पसलमा बेकरी सामग्री बिक्री गर्दै आएको सो होलसेल पसलले किरा परेका, झिँगा, र भुसुना भएका र फोहोर पानीले बनाइएका दुनोट, केकलगायतका सामग्री बिक्री गर्ने गरेको पाइएको छ,' मञ्चका अध्यक्ष तिमल्सिनाले भने, 'बेकरी सामग्री उत्पादन गर्नेको किचेन देख्दै घिन लाग्दोे थियो ।'

विभागका उपनिर्देशक भण्डारीले सो पसलले अनुज्ञापत्र पनि नलिईकन गैरकानुनी रूपमा पसल सञ्चालन गरेको बताए । उनका अनुसार पसलका सञ्चालकलाई अनुज्ञापत्र तुरुन्त लिन र आवश्यक कागजपत्र लिएर विभागमा पाँच दिनभित्र उपस्थित हुन भनिएको छ । यस्तै पसलबाट उत्पादित सामग्रीको परीक्षणपछि थप कारबाही अगाडि बढाइनेछ । पसलका सञ्चालक गणेशप्रसाद पाण्डेले गल्ती स्वीकार्दै अबदेखि यस्तो नगर्ने बताएका छन् ।

टोलीले कमलपोखरीस्थित राजन ग्यास डिपोमा पनि निरीक्षण गरेको छ । डिपोमा लुकाइएर राखिएका ७० वटा भरिएका ग्यास फेला परेको छ । यसैगरी डिपोमा व्यवसाय दर्ताको प्रमाणपत्र नभएको, अनुगमनमा गएको टोलीलाई झुटो बोलेको र नापतौलका प्रमाणपत्र नभएकाले तीन दिनभित्र प्रमाण लिएर स्पष्टीकरण दिन बोलाएको छ ।

बिएमसी मसला नक्कली उत्पादन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बबरमहलमा रहेको एक घरमा बिएमसी नाम गरेको नक्कली मसला उत्पादन गरिरहेको फेला पारेको छ । भारतको बाबा मसला कम्पनीले उत्पादन गर्ने बिएमसी मसलाको प्याकेटमा नक्कली मसला उत्पादन गरिरहेको अवस्थामा विभागले फेला पारेको हो ।

विभागका प्रवक्ता प्रमोद कोइरालाले नक्कली मसला उत्पादन गरेको घरमा सिलबन्दी गरेको बताए । उनका अनुसार जिल्ला प्रशासन, प्रहरी र उपभोक्तावादी संघसंस्थाहरूको सहयोगमा गरिएको अनुगमनमा नक्कली मसला उत्पादन गरिरहेको फेला परेको हो । गोदाम नै बनाई नक्कली उत्पादन गरेको आरोपमा विभागले अनुगमन गरेको थियो ।