Pages

Saturday, January 22, 2011

भियग्रा र आकस्मिक गर्भनिरोधक चक्की बजारमा छ्याप्छ्याप्ती

image

'अवैध रूपमा भित्र्याएका औषधि कसरी बनेका छन् भन्ने थाहा नहुने भएकाले सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै जोखिमपूर्ण छन्’

काठमाडौं, ४ माघ

नेपालमा दर्ता नै नभएका यौन उत्तेजक औषधि र आकस्मिक गर्भनिरोधक चक्कीहरू गैरकानुनी रूपमा औषधिपसलहरूले बिक्रीवितरण गर्दै आएका छन् ।

अनुसन्धानका क्रममा अवैध रूपमा भित्र्याइएका औषधि राजधानीमा छ्याप्छ्याप्ती भेटिएको औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक श्यामकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार ठूला र नाम चलेका अस्पताल तथा क्लिनिक नजिकका सहित अन्य औषधिपसलमा गैरकानुनी रूपमा भित्रिएका यौन उत्तेजक र आकस्मिक गर्भनिरोधक चक्की बढी बिक्रीवितरण भएका छन् ।

'नेपालमा त्यस्तै किसमिका अन्य औषधिहरू दर्ता भएका छन्,' निरीक्षक अधिकारीले भने, 'तर, व्यापारीहरूले सस्तोमा पाइने भनेर नेपालमा दर्ता नै नभएका औषधिहरू अवैध रूपमा भित्र्याएर बिक्री गरिरहेका छन् ।'

अनुसन्धानका क्रममा भियग्राको नामले चिनिने यौन उत्तेजक औषधिहरूमा पेनेग्रा, भिस्टाग्रा हन्ड्रेड, डिएक्स हन्डे्रड, भेग्रा, जेनेग्रा नाम गरेका औषधि अवैध रूपमा बजारमा बिक्रीवितरण गरेको पाइएको फार्मेसी निरीक्षक अधिकारीले जानकारी दिए । उनका अनुसार ७२ घन्टेका रूपमा चिनिने आकस्मिक गर्भ निरोधक चक्कीहरूमा आई पिल, ई पिल, अनवान्टेड ७२ नाम गरेका औषधि पनि औषधिपसलेहरूले बिक्रीवितरण गर्दै आएका छन् ।

विभागले अनुसन्धानका क्रममा भेटिएका भियग्रा र गर्भ निरोधक चक्कीलाई विभागमा ल्याएर डिस्पोज गर्ने तयारी गरेको छ । ती औषधि मानव स्वास्थ्यका लागि जोखिमपूर्ण भएको पनि विभागले जनाएको छ ।

'दर्ता नै नभएका ती औषधिहरू स्वास्थ्यका लागि खतरानाक पनि हुनसक्ने भएकाले डिस्पोज गर्न लागिएको हो,' विभागका फार्मेसी निरीक्षक अधिकारीले भने, 'त्यस्ता औषधिहरू कस्ता प्रकृतिका छन् तथा औषधि कुन रूपमा बनेका छन् भन्ने थाहा नहुने भएकाले सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै नै जोखिमपूर्ण छन् ।'

औषधि व्यवस्था विभागमा औषधि उत्पादन कम्पनीहरूले दर्ता गरेपछि मात्र नेपालमा औषधि बिक्रीवितरण गर्न पाइने प्रावधान छ । तर, अस्पतालहरूले सस्तोमा पाइने तथा बढी कमिसन पाउने लोभमा दर्ता नभएका औषधिहरू प्रयोगमा ल्याउने गरेको निरीक्षक अधिकारीको भनाइ छ ।

हरेक वर्ष औषधिपसल निरीक्षण गर्ने क्रममा गैरकानुनी रूपमा भित्र्याइएका औषधि फेला पर्ने गरेको विभागले जनाएको छ । यस वर्षदेखि त्यस्ता औषधि खरिद गरेर बिक्रीवितरण गर्ने औषधिपसललाई कडा कारबाही गर्ने पनि विभागले जनाएको छ ।

'अस्पताल, स्वास्थ्य संस्था तथा औषधि पसलहरूले सस्तोमा औषधि पाइने लोभमा प्रतिबन्धित औषधि किनेर प्रयोगमा ल्याएका हुन सक्छन्,' निरीक्षक अधिकारीले भने, 'हामीले पटक-पटक दर्ता नभएका त्यस्ता औषधि प्रयोगमा नल्याउन सार्वजनिक सूचना जारी गर्दा पनि मानिरहेका छैनन् । अबदेखि निर्देशन नमान्ने औषधिपसललाई दर्ता खारेजसम्मको कारबाही गर्ने तयारी गरेका छौँ ।'

विभागका अनुसार भियग्रा र गर्भनिरोधक चक्की धेरै मात्रामा कलेज पढ्ने किशोर-किशोरीले खरिद गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ । तर, त्यसबाट हुने जोखिमबार उनीहरू अनभिज्ञ रहेको हुनसक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार हाल बजारमा बिक्री भएका भियग्राले मानिसको नसा फूलाएर रगतको चाप बढाउने भएकाले त्यसको सेवनपछि मुटु बन्द हुनसक्ने जोखिम रहन्छ । औषधिको 'साइड इफेक्ट'बाट अनुहार सुनिने, लामो समयसम्म टाउको दुख्ने, आँखा धमिलो देख्ने तथा कतिपयमा यौन क्रियाकलाप गर्दागर्दै मर्नसक्ने जोखिमसमेत हुने चिकित्सकहरू बताउँछन् ।

आपतकालीन अवस्थामा मात्र प्रयोग गर्ने भनिएको गर्भनिरोधक चक्कीको पनि महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको विभागले जनाएको छ । यस्ता चक्कीको गलत प्रयोगले महिलाको प्रजनन शक्ति ह्रास हुने, महिनावारी गडबडी हुने, बढी रक्तश्राव हुने, वाकवाकी लाग्ने, शरीरमा रगतको मात्रा कम हुँदै गएर मृत्युसमेत हुने समस्या देखिने चिकित्सकहरू बताउँछन् ।

No comments:

Post a Comment