Pages

Monday, August 13, 2012

किसानको रोग लेप्टोस्पाइरोसिस

-प्रवीण ढकाल


सन् २०१० मा लेप्टोस्पाइरोसिस पनि महामारीका रुपमा देखिएको थियो । महाशाखाको तथ्यांकअनुसार ६५ जना संक्रमित भेटिएका थिए । गत वर्ष पनि नेपालका ११ जनामा यो रोग देखियो ।
वर्षात्सँगै बढ्ने हिलो तथा प्रदूषित पानीका कारण विभिन्न रोगको संक्रमण देशभर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षात्लाई सरुवा रोग फैलने मौसमका रूपमा लिएको छ । हुन पनि गर्मी अनि वर्षात्को समयमा देशभरमा झाडाजन्य रोग, लामखुट्टेजन्य रोग तथा अन्य भाइरसका कारण हुने रोगले प्रकोपको रूप नै लिने गर्छ । वर्षात्को हिलो तथा प्रदूषित पानीकै कारण अहिले तराईका केही जिल्लामा लेप्टोस्पाइरोसिस रोग देखिन थालेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार लेप्टोस्पाइरोसिस विशेषगरी किसान वर्ग र ग्रामीण भेगका जनतामा बढी देखिन्छ । महाशाखाका निर्देशक डा. जिडी ठाकुरले लेप्टोस्पाइरोसिस मुख्य गरी जनावरमा हुने संक्रमण भए पनि यो जनावरहरूबाट मानिसमा सर्ने बताए । ‘यो संक्रमण विभिन्न सेरोटाइप्सका लेप्टोस्पाइरा ब्याक्टेरियाहरूले गराउँछन्,’ उनले भने, ‘विषेशगरी यो रोग संक्रमित जनावरको पिसाबबाट र पिसाब मिसिएको पानी पिउनाले हुने गर्दछ ।’
यो रोग लागेपछि मध्यम प्रकारको ज्वरो आउनेदेखि कलेजो मिर्गौलासम्म घातक असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगका बारेमा सर्वप्रथम सन् १९८६ मा एडल्फ वेल्सले वर्णन गरेकाले यसलाई वेल्स रोग पनि भनिन्छ । यो जनावरबाट मानिसमा सजिलै सर्ने रोग हो । यो रोग उच्च तापक्रम भएका देश तथा डुबान क्षेत्रहरूमा प्रकोपका रूपमा देखापर्ने संगठनले जनाएको छ । नेपालमा पनि यो रोग डुबान हुने क्षेत्र तथा हिलोमा काम गर्ने किसानहरूमा बढी देखिने गरेको सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार नेपालमा सन् २०१० मा फैलिएको डेंगुको समयमा यो रोग पनि मिश्रित रूपमा डेंगुसहित फैलिएको थियो । सन् २०१० मा लेप्टोस्पाइरोसिस पनि महामारीका रूपमा देखिएको थियो । महाशाखाको तथ्यांकअनुसार ६५ जना संक्रमित भेटिएका थिए । गत वर्ष पनि नेपालका ११ जनामा यो रोग देखियो । यस वर्ष पनि तराईका केही जिल्लामा बिरामी देखिएको महाशाखाले जनाएको छ । डा. ठाकुरका अनुसार ग्रामीण भेगका किसान वर्ग उपचारका लागि स्वास्थ्य संस्थामा नआउने भएकाले पनि देशभर कति बिरामी छन् भनेर तथ्यांक निकाल्न गाह्रो भएको छ ।
संक्रमित जनावरको पिसाबबाट लामो समयसम्म यसका ब्याक्टेरियाहरू निस्किरहन्छन् । मुसामा त यिनीहरू जीवनभर पनि रहन सक्छन् । विश्वभर नै जंगली एवं घरपालुवा दुवै जनावरलाई यसका ब्याक्टेरियाले संक्रमित गरेको पाइन्छ । ‘यो विशेषगरी मुसा तथा छुचुन्द्राहरूमा बढी पाइएको छ’ डा. पाण्डेले भने, ‘धेरैजसो घरपालुवा जनावरहरू गाईभैँसी, भेडाबाख्रा, सुँगुर, घोडा आदि संक्रमित जनावरको पिसाबबाट यो रोग सर्दछ ।’ जंगली जनावरबाट घरपालुवा पक्षीहरूमा समेत सर्न सक्छ । घस्रने र उभयचर भ्यागुतासमेत यसको संक्रमण बाहक हुन् । यो रोगको संक्रमण बालबालिकामा बढी हुने डा. ठाकुरको भनाइ छ । बालबालिका घरपालुवा जनावरको सम्पर्कमा बढी रहन्छन् त्यसैले छिट्टै सर्छ । अन्य मानिसमा यो रोग विशेषगरी पेसागत सम्पर्कका माध्यमबाट सर्छ । जस्तै: खेतमा काम गर्ने किसान, पशुस्वास्थ्य चिकित्सक, पशुपालक, ढल तथा फोहरमा काम गर्ने, माझीलगायतलाई बढी देखिन्छ । डा. पाण्डेका अनुसार लेप्टोस्पाइरा संक्रमित जनावरको पिसाब वा मासु मानिसको शरीरको सूक्ष्म झिल्ली हुँदै शरीरभित्र प्रवेश गर्दछ र रोगी बनाउँछ । मानिसको शरीरका घाउ तथा कोतरिएको छालामा संक्रमित जनावरको सम्पर्कमा आएका माटो, पानी, घाँस, बिरुवाको स्पर्शबाट पनि सर्न सक्छ । यो रोगको लक्षण संक्रमण भएको चारदेखि २० दिनसम्ममा मानिसमा देखा पर्छ ।
लक्षण
यसका लक्षण विभिन्न प्रकार एवं तहका छन् । कहिलेकाहीँ संक्रमित मानिसमा उपयुक्त लक्षण तथा चिह्नहरू नदेखिन सक्दछ । सुरुको अवस्थामा ज्वरो आउने, शरीर काम्ने, शरीर दुख्ने, टाउको धेरै दुख्ने हुन्छ र केही समयपछि निको हुन्छ । यो अवस्थामा रोग पहिचान गर्न गाह्रो हुन्छ । दोस्रो अवस्थामा मेनिनजाइटिस, कलेजो खराब, हेपाटाइटिस जन्डिस, उच्च ज्वरो, टाउको तथा शरीर धेरै दुख्ने, पेट दुख्ने, आँखा रातो हुने, शरीर पहेँलो हुने, पखाला लाग्ने र शरीरमा राता धर्सा देखा पर्छन् ।
जोगिने उपाय
मुसाको संक्रमणबाट जोगिने
मुसा नियन्त्रणका उपायहरू अपनाउने
संक्रमणको जोखिम हुने ठाँउमा काम गर्दा हातमा पन्जा एवं खुट्टामा बुट, जुत्ता लगाउने
दूषित पानीको सम्पर्कबाट बच्ने
संक्रमित घरपालुवा जनावरलाई अलग्गै राख्ने
लेप्टोस्पाइरोसिसविरुद्ध खोप लगाउने
साबुन पानीले हातखुट्टा धुने
सरसफाइमा विशेष जोड दिने

नियन्त्रणको जिम्मेवारी पाएका व्यक्ति विदेशमा मस्त

-प्रवीण ढकाल
काठमाडौँ, २७ साउन । वर्षातसँगै देशभरका अधिकांश जिल्लामा हैजा र झाडापखालाका बिरामीको संख्यामा वृद्धि भइरहेको छ । केही जिल्लामा त हैजा र झाडाको प्रकोपका कारण मृत्युसमेत भइरहेको छ । रोगको प्रकोप फैलिरहेको यस्तो बेला नियन्त्रणको जिम्मेवारी पाएको निकायका प्रमुख भने विदेश सयरमा मस्त छन् ।
हैजाका कारण डोटीमा १२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने नुवाकोट, गोरखालगायत जिल्लामा झाडापखलाका कारण बिरामी परेका व्यक्ति सिकिस्त बनिरहेका छन् । यस्तो अवस्थामा रोग नियन्त्रण गर्ने केन्द्रीय निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुर भने स्विट्जरल्यान्डको जेनेभा गएका छन् ।
रोगको महामारी फैलिरहेको यो समयमा विदेश गएको खबर बाहिर आउने डरले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई समेत झुक्याएर निर्देशक डा. ठाकुर विदेश गएका हुन् । विभागका महानिर्देशक डा. मिङ्मार गेलजेन शेर्पाले डा. ठाकुरले दुई/चार दिन बिदामा बसेको बताए ।
‘उहाँले बिदा चाहियो भन्नुभएको थियो, त्यही भएर मैले बिदा मात्र दिएको छु,’ महानिर्देशक शेर्पाले भने, ‘तर अहिले मैले उहाँ विदेश गएको खबर सुनिरहेको छु । उहाँ कुन देशमा के कामले जानुभएको भन्ने मलाई थाहा छैन ।’
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. ठाकुर हेल्थ रिभ्यु कार्यक्रममा भाग लिन जेनेभा गएका हुन् । जेनेभामा भइरहेको सो कार्यक्रममा मन्त्रालयका सचिव र चिकित्सा महाशाखा प्रमुखका लागि कोटा आएको थियो । तर, मन्त्री राजेन्द्र महतोको सहयोगमा सो कोटा आफूलाई पारी उनी विदेश उडेको स्रोतको दाबी छ ।
‘चिकित्सा महाशाखा प्रमुखलाई सचिवको अनुपस्थितिमा निमित्त सचिवको जिम्मेवारी दिनुपर्ने भएकाले उहाँको कोटा खाली भएको थियो,’ स्रोतले भन्यो, ‘उहाँको स्थानमा विभागका अरू जुन निर्देशक पनि गए हुने भन्ने थियो तर डा. ठाकुरले कुरा मिलाएर जानुभएछ ।’
मन्त्रालयका अनुसार २२ गते जेनेभा गएका डा. ठाकुर आगामी आइतबार फर्किने कार्यक्रम छ । विभागमा खबरै नगरी गएका उनले आºनो महाशाखामा निमित्तको जिम्मेवारीसमेत कसैलाई दिएका छैनन् ।
‘बिदामा बसेको समयमा अन्य कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको भए जिल्लामा औषधि तथा कर्मचारीको अवस्थाअनुसार काम गर्न सहज हुने थियो,’ एक कर्मचारीले भने, ‘तर, डा. ठाकुरले कसैलाई पनि जिम्मेवारी नदिई गएकाले महाशाखाका कर्मचारी कहाँ के गर्ने भन्ने अन्योलमा छन् ।’
उनी ०६६ मा जाजरकोटलगायत मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लामा फैलिएको हैजा र झाडापखालाको समयमा पनि विदेश सयरमा थिए । मन्त्रालयले वर्षातको मौसममा एकैसाथ देशभर विभिन्न सरुवा रोगको महामारी फैलने भएकाले यो समयलाई सरुवा रोगको महामारी तथा प्रकोप फैलने मौसमका रूपमा लिएको छ । मन्त्रालयले जिल्लाका कर्मचारीलाई वर्षातको समयमा बिदा नबस्न निर्देशनसमेत दिइसकेको छ ।

हिलटेक विनादर्ता सञ्चालनमा

मुटुको उपचार भन्दै ठगी प्रकरण

-प्रवीण ढकाल
काठमाडौं, २५ साउन । अप्रेसनविना मुटुरोगको जादुगरी उपचार गर्ने भन्दै बिरामी ठग्दै आइरहेको हिलटेक साओल हेल्थ सेन्टर प्रालि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको छ । बिरामीको उपचार गर्न खोलिएका कुनै पनि संस्थाले स्वास्थ्य मन्त्रालय वा मातहतका निकायमा अनिवार्य दर्ता गर्नुपर्छ ।
चिकित्सा विज्ञानमा हालसम्म सम्भव नै नभएको उपचार सेवाको नाममा बिरामीबाट लाखाँै रुपियाँ ठगी गरिरहेको हिलटेक स्वास्थ्यका कुनै पनि निकायमा दर्ता नभएको स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले बताए । उनका अनुसार हिलटेक हेल्थको नाममा कतै दर्ता गरिएको छैन ।
दर्ता नै नगरी गैरकानुनी रूपमा सञ्चालित हिलटेक हेल्थ भारतका डा. विमल छाडेरले साओल भनेर भारतमा सञ्चालन गरेको उपचार पद्धतिलाई नेपालमा पनि विस्तार गरिएको हो । हिलटेकले उनकै फोटो राखेर प्रचार गरी स्वास्थ्यको नाममा अवैध व्यापार गरिरहेको छ । छाडेरले बेला–बेलामा नेपालमा प्रवचन पनि दिँदै आएका छन् । हिलटेक भारतमा रहेको सेन्टरको शाखाका रूपमा नेपालमा खोलिएको हो । यस्तो सेन्टर सञ्चालनका लागि स्वास्थ्य ऐनअनुसार अनिवार्य रूपमा दर्ता हुनुपर्ने हुन्छ । तर, हिलटेकले दर्ताविना नै सार्वजनिक रूपमा भ्रामक विज्ञापन गरी उपचारको नाममा ठगी गर्दा पनि स्वास्थ्य मन्त्रालय मौन छ ।
चिकित्सा महाशाखा प्रमुख डा. बुर्लाकोटीले हिलटेकले दर्ता नै नगरी सञ्चालन गरेको खबर आएकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा सो संस्था सञ्चालनमा बन्द गर्ने तयारी गरिएको बताए । ‘हिलटेक हेल्थ भनेर स्वास्थ्यमा कहीँ पनि दर्ता गरिएको रहेनछ,’ उनले भने, ‘अब हामी स्वास्थ्य ऐनअनुसार सो संस्था सञ्चालनमा रोक लगाउँछौँ र गैरकानुनी रूपमा संस्था चलाएको भन्दै प्रशासनको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले हिलटेकलाई उपभोक्ता संरक्षण ऐनअनुसार पाँच वर्ष कैद, एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने बताए । यस्तै प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐनअन्तर्गत हिलटेकले झुटा प्रचार गरी हालसम्म के–कति ठगी गरेको छ, सो अध्ययन गरी बिगो, जरिवानासमेत हुने उनले जानकारी दिए । हिलटेकको ठगीका विषयमा विभागले अनुसन्धान सुरु गरिसकेको बिडारीको भनाइ छ ।
हिलटेकले केही सञ्चारमाध्यममा र होर्डिङ बोर्डमा राखेको विज्ञापनमा उल्लेख गरेजस्तो बायोकेमिकल एन्जियोप्लास्टी भन्ने कहीँ पनि प्रमाणित नभएको मुटुरोग विशेषज्ञहरूको भनाइ छ । सामान्य रिसर्चबाट निकालेका बायोकेमिकल एन्जियोप्लास्टिलाई एलोपेथी उपचारले अनुमति नदिएको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए ।
हिलटेकले दुईजना एमबिबिएस चिकित्सकको भरमा इइसिपी पद्धतिबाट उपचार गराइरहेको छ । स्वास्थ्य मन्त्रालयको निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका ०६१ अनुसार हार्ट सेन्टर नाम दिएपछि सामान्यत: मुटुरोग विशेषज्ञ हुनैपर्छ । एउटा हार्ट सेन्टर सञ्चालनका लागि चाहिने अन्य मापदण्ड तथा पूर्वाधार कुनै पनि यस सेन्टरमा छैनन् ।
सरकारी मापदण्डअनुसार हार्ट सेन्टरका लागि इसिजी, इकोकार्डियो, हल्टर, टिएमटी, मेसिन, कार्डियाक मनिटर, डाइगोनोस्टिक सेट, आकस्मिक सेवाका लागि आवश्यक उपकरण अनिवार्य चाहिन्छ । साथै, मुटुरोगका विशेषज्ञ डाक्टरहरूमा कार्डियोलोजिस्ट, कार्डियोथेरासिक, एनेस्थेसियोलिजिस्ट, मेडिकल अफिसर, नर्स, बायोमेडिकल टेक्निसियन अनिवार्य हुनुपर्छ । तर, हिलटेकले इइसिपी मेसिन र एमबिबिएस गरेका दुईजना डाक्टरकै भरमा सेन्टर चलाइरहेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले दर्ता नै नभएका र भ्रामक प्रचार गरी उपभोक्ता तथा बिरामी ठगी रहेको थाहा पाउँदासमेत कारबाही गर्न नसक्नु स्वास्थ्य मन्त्रालयको कमजोरी रहेको बताए । उनले बिरामीको जीवनमाथि भ्रम फैलाएर ठगी गर्नेलाई सोझै जेल पठाउन सकिने व्यवस्था रहेको जानकारी दिए । ‘यस विषयमा हामीलाई सूचना नै थिएन,’ उनले भने, ‘अब हामी उपभोक्तावादी संस्था मिलेर यसविरुद्ध लाग्नेछौँ ।’ उनले बिरामीको ज्यानमाथि खेलवाड गर्नु ठूलो अपराध भएको बताए ।

विनाअप्रेसन मुटुको उपचार भन्दै ठगी

-प्रवीण ढकाल
काठमाडौं, २४ साउन । स्वास्थ विज्ञानमा अहिलेसम्म सम्भव नै नदेखिएको ‘विनाअप्रेसन सम्पूर्ण मुटुरोगको उपचार’ भन्दै भ्रामक प्रचार गरेर एक संस्थाले सर्वसाधारणलाई ठगी गरिरहेको छ । दरबारमार्गस्थित शेर्पा मलमा सञ्चालित हिलटेक साओल हेल्थ सेन्टर प्रालिले स्वास्थ्यजस्तो संवेदनशील विषयमा एक वर्षदेखि ठगीको धन्दा चलाउँदा पनि सम्बन्धित निकाय भने मौन छ ।
‘सम्पूर्ण मुटुरोगको जादुगरी उपचार’ भन्दै हिलटेकले भ्रामक प्रचार–प्रसार गरिरहेको छ । होर्डिङ बोर्डदेखि पत्रपत्रिकासम्ममा उसले हृदय रोगबाट मुक्ति, हार्ट अटयाक, बाइपास सर्जरी, एन्जिओप्लास्टी र ब्लाकेजको विनाअप्रेसन उपचार भनेर प्रचार गरिरहेको छ । त्यसबापत उसले एक बिरामीबाट एक लाख २५ हजार रुपियाँसम्म असुलिरहेको छ ।
स्वास्थ्य मन्त्रालयको निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ मा मुटु उपचारको सेन्टरका लागि विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक उपकरण हुनुपर्ने व्यवस्था गरिएको छ । तर, हिलटेकमा दुईजना एमबिबिएस चिकित्सक र इन्ह्यान्स एक्स्ट्रनल काउन्टर पल्सेसन (इइसिपी) नामको एउटा सामान्य मेसिन मात्रै छ ।
चिकित्सकहरूका अनुसार हिलटेकले दिने इइसिपीको उपचार पद्धतिले छातीको दु:खाइ मात्रै कम गर्ने हो । शारीरिक अवस्थाका कारण मुटुको शल्यक्रिया गर्न सम्भव नहुने, नसामा स्टेन्ट राख्न नमिल्ने वा सर्जरीपश्चात् एन्जाइनाका कारणले छाती दुख्ने बिरामीका लागि विकल्पको रूपमा मात्रै इइसिपी पद्धतिबाट उपचार गरिन्छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले इइसिपी पद्धति बाइपास सर्जरीको विकल्प नभएको बताए । ‘यो पद्धतिले रोग निर्मूल हुने नभई बिरामीको छातीको दु:खाइ मात्रै कम गर्न सहयोग पुर्‍याउने हो,’ उनले सौर्यसँग भने । उनका अनुसार यो पद्धति अपनाउनै परे पनि मुटुरोग विशेषज्ञको निगरानीमा मात्रै गरिन्छ । तर, हिलटेकमा एमबिबिएस पास गरेका चिकित्सक मात्रै छन् ।
स्वास्थ्यजस्तो संवेदनशील विषयमा
हिलटेकले सर्वसाधारणलाई ठगी गरिरहेको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउँदासमेत कुनै सुनवाइ नभएको डा. रेग्मीले बताए । ‘हिलटेकले विनाशल्यक्रिया एन्जियोप्लास्टी गर्ने प्रचार गरी नेपाली बिरामीहरूलाई भ्रममा पारेर अर्थोपार्जन गर्ने काम गरिरहेको छ,’ डा. रेग्मीले भने, ‘यसको हामीले पहिलेदेखि नै विरोध गरिरहेका थियौँ तर स्वास्थ्य मन्त्रालय अहिलेसम्म चुप लागेर बसेको छ ।’
नेपालमा मुटुरोग उपचारका लागि ख्याति कमाएको गंगालाल अस्पतालका निर्देशक डा. मनबहादुर केसीले पनि इइसिपी पद्धतिबाट छातीको दु:खाइ मात्रै कम हुने बताए । उनका अनुसार बाइपास सर्जरीको कुनै विकल्प नै नभएका मानिसलाई दु:खाइ कम गर्न यो उपचार विधि अपनाइन्छ । गंगालालमा पनि इइसिपी मेसिन छ । एकजना बिरामीबाट १४ हजार रुपियाँ लिएर गंगालालले उपचार गर्छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. तीर्थराज बुर्लाकोटीले विनाअप्रेसन मुटुको उपचारका नाममा ठगी गरिरहेको विषयमा आफूले पनि सुनेको र सो संस्थाको खोजी भइरहेको बताए । ‘शल्यक्रिया नै नगरी मुटुको सम्पूर्ण उपचार गर्छु भन्ने सेवा अहिलेसम्म विश्वमा नै सम्भव भएको छैन,’ उनले सौर्यसँग भने । सर्वसाधारणलाई झुक्याएर ठगी गर्ने त्यस्ता संस्थालाई जिल्ला प्रशासन कार्यालयको सहयोगमा कारबाही गरिने बुर्लाकोटीले बताए । ‘सम्भव नै नभएको विषयमा झुठो प्रचार गरेर काम गर्नु सरासरी ठगी हो । यस्ता संस्थालाई तुरुन्त कारबाही गरिन्छ,’ उनले भने ।
कुनै पनि उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपभोग र प्रभावकारिताको विषयमा भ्रमपूर्ण प्रचार–प्रसार वा विज्ञापन गरी अनुचित व्यापारिक क्रियाकलाप गरेमा उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कसुर मानी कारबाही हुन्छ । ऐनको दफा १० मा यस्ता क्रियाकलाप गर्नेलाई पाँच वर्ष कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसका साथै मानिसको ज्यान र उपचारसम्बन्धी सेवा भएकाले स्वास्थ्य ऐनअनुसार यसरी ठगी गर्ने संस्थालाई ज्यान मुद्दासमेत लाग्छ ।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिँडारीका अनुसार कुनै उपभोग्य वस्तु वा सेवालाई अर्को उपभोग्य वस्तु वा सेवा हो भनी वा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्रीवितरण गर्नेलाई ऐनअनुसार जेलसजाय र जरिवाना हुन्छ ।
‘कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामक प्रचारप्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गर्न पाइँदैन,’ उनले भने, ‘यस्तो कार्य गर्ने जुनसुकै संस्था वा व्यक्तिलाई हामीले प्रशासनमा मुद्दा हाली कारबाही गर्छा ।’
सौर्यले जानकारी लिन मंगलबार हिलटेकको ४२२५४६७ नम्बरमा फोन गर्दा जिम्मेवार व्यक्ति कोही भेटिएनन् । फोन उठाउने महिला कर्मचारीका अनुसार ‘जिम्मेवार व्यक्तिहरू एक साताका लागि बाहिर गएका’ छन् । उनले हिलटेकले दिने सेवाबापत एकजनाबाट एक लाख २५ हजार रुपियाँ लिने गरेको बताइन् । ‘हामीकहाँ डा. प्रवीण र अमिना दुईजना डाक्टर हुनुहुन्छ, उहाँहरूले नै बिरामीको उपचार गर्नुहुन्छ,’ उनले भनिन्, ‘एकजना बिरामीको उपचार ३५ दिनको प्याकेजमा हुन्छ र एक लाख २५ हजार रुपियाँ लाग्छ ।’

सहरभरि भुस्याहा कुकुर रेबिजको जोखिम बढ्यो

-प्रवीण ढकाल
सहरीकरणसँगै बढ्दो अव्यवस्थाबीच भुस्याहा कुकुरको संख्या पनि वृद्धि हुँदै गइरहेको छ । बेवारिसे कुकुरहरूको सन्त्रासले बटुवाहरूलाई हरबखत तर्साइरहेको हुन्छ । यसै पनि फोहोर व्यवस्थापन राम्रो हुने नसकेकोमा वर्षातको मौसममा दुर्गन्ध झन् बढेको छ । जथाभावी छाडा छोडिएका भुस्याहा कुकुर र फोहरमैलाको समुचित व्यवस्थापन हुन नसक्दा वर्षेनि रेबिज रोगको प्रकोप बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
अन्य समयमा भन्दा वर्षात्का बेला राजधानीको टेकु अस्पतालमा रेविजबिरुद्धको खोप लगाउन धेरै मानिस आउने गरेको पाइन्छ । अन्य मौसममा दैनिक डेढ सय देखि दुई सयजनासम्म खोप लाउन आउने गरेकोमा वर्षात्को समयमा भने त्यो संख्या बढ्ने अस्पताल बताउँछ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार राजधानीमा भुस्याह कुकुरहरूको संख्या बढ्दै गएपछि टेकु अस्पतालमा रेबिजको सुई लगाउन आउनेको संख्या बढेको हो ।
रेबिज लागिसकेपछि मानिसको मृत्यु हुने भएकाले यसलाई प्राणघातक रोग भनिन्छ । डा. पाण्डेका अनुसार रेबिज रोग बहुला कुकुर र अन्य रेबिज भाइरस भएका जनावरले टोकेमा मानिसमा सजिलै सर्छ । रेबिजको लक्षण देखिएको मानिसले टोकेमा वा आखाँमा पर्ने गरी थुकेमा पनि यो रोग सर्छ । रेबिजविरुद्धको खोप लगाउन अस्पतालमा आउनेमा अधिकांशलाई भुस्याहा कुकुरले टोकेको छ भने घरेलु कुकुर, मुसा, चमेरा र बाँदरले टोकेका केही मात्र छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअुनसार विश्वमा वार्षिक करिब साठी हजार मानिसको रेबिजका कारण अकाल मृत्यु हुने गर्छ । तीमध्ये ९० प्रतिशतको हाराहारी एसियाका छन् । नेपालमा करिब एक सयभन्दा बढीको यही रोगबाट मृत्यु हुने गर्छ । अधिकांश मृतक सहरी क्षेत्रमा बसोबास गर्ने रहेका छन् । नेपालको सहरी क्षेत्रमा बढी भुस्याहा कुकुर पाइने भएकाले ग्रामीण क्षेत्रमा रेबिज रोगको समस्या कम छ । चिकित्सकहरूका अनुसार रेबिज रोगलाई हाइड्रोफोबिया पनि भन्ने गरिन्छ । यो रोग लागेपछि पानीबाट डराउने भएकाले यसलाई ‘पानीदेखि डराउने रोग’ समेत भनिन्छ । यो रेबिज भइरसका कारण हुने रोग हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरका अनुसार रेबिज लागेपछि मानिसको केन्द्रीय स्नायुप्रणालीमा असर गर्छ । ‘रेबिज भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि यसले बिस्तारै दिमागमा असर गर्छ,’ डा. ठाकुरले भने, ‘कुकुर तथा अन्य जनावरले टोकेको स्थानबाट दैनिक एक मिलिमिटरका दरले भाइरस मानिसको दिमागमा जाने गर्छ । त्यसैले मानिसको मृत्यु गराउँछ ।’ उनका अनुसार नेपालका अधिकांश रेबिजपीडित कुकुरबाट संक्रमित भएका छन् । त्यसकारण यसबाट बच्न कुकुरदेखि टाढा रहनुपर्छ । कुकुर तथा रेबिज भाइरस लागेका जनावरले टोकेपछि अवस्था हेरेर तीनदेखि पाँचवटासम्म रेबिजको सुई लगाउनुपर्ने हुन्छ ।
रेबिज नियन्त्रणका लागि सबैभन्दा पहिला सहरी क्षेत्रका छाडा तथा बहुला कुकुरलाई नियन्त्रण गर्ने आवश्यक रहेको चिकित्सक बताउँछन् । डा. पाण्डेका अनुसार सहरका भुस्याह कुकुरलाई नियन्त्रणमा नलिई काठमाडौं तथा अन्य क्षेत्रमा रेबिजको रोकथाम गर्न असम्भव छ । त्यस्तै, मन्दिर छेउछाउमा देखिने बाँदरलाई नजिस्काउने तथा सकेसम्म बादरहरूको छेउछाउमा नै नपर्ने गर्दा पनि केही समस्या समाधान हुन सक्छ । पाल्तु कुकुरलाई नियमित रूपमा रेबिजविरुद्ध खोप लगाउनु, रेबिजको विषयमा सबैलाई जानकार बनाउनु आवश्यक छ । रेबिजबाट बढीजसो बच्चाहरू प्रभावित हुने भएकाले उनीहरूलाई कुकुर तथा अन्य पाल्तु जनावरको छेउछाउमा सकेसम्म नराख्नु नै राम्रो हुन्छ ।
कुकुर तथा अन्य जनावरले टोकेलगत्तै वा कोतरेलगत्तै रेबिजविरुद्धको खोप लगाइहाल्नु राम्रो हो । डा. पाण्डेका अनुसार टोकेको वा कोतरेको स्थानमा रेबिजविरुद्धको खोप लगाउनुपूर्व मजाले साबुनपानीले १० मिनेटसम्म सफा गर्नुपर्छ । अवस्था हेरेर मानिसलाई तीनदेखि पाँचवटासम्म खोप लगाइन्छ । खोप पाखुरा तथा शरीरका अन्य भागमा लगाउने गरिन्छ । रेबिजको खोप टेकु अस्पतालमा नि:शुल्क पाइन्छ । साथै, बहुला कुकुरले नै टोकेको छ र सो कुकुर पूर्णरूपमा भाइरसग्रस्त हो भने त्यस्ता व्यक्तिलाई इन्डलोविलियन दिनुपर्छ । यो कुकुरले मानिसको जुन ठाउँमा टोकेको छ, ठीक त्यहीँ लगाइने खोप हो ।
लक्षण
– कुकुर तथा जनावरले टोकेको स्थानमा झमझमाउन थाल्छ
– रुघाखोकीसहित ज्वरो आउने, टाउको दुख्ने तथा थकाइ लाग्ने हुन्छ
– पीडित व्यक्ति पानीदेखि असाध्यै डराउन थाल्छन्
– घाम तथा हावासँग पनि डराउन थाल्छन्
– रेबिज रोगको जोखिमपूर्ण अवस्थामा मानिसलाई प्यारालाइसिस तथा श्वासप्रश्वासको समस्या आउने गर्छ ।