Pages

Saturday, May 14, 2011

सरुवा रोग अस्पताल आइसियुविहीन

प्रवीण ढकाल
image

काठमाडौं, ३० वैशाख : सरुवा रोगसम्बन्धी देशकै एकमात्र रेफरल अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सघन उपचार कक्ष -आइसियु) छैन । आइसियु नभएकाले त्यस्ता बिरामीलाई राजधानीका अन्य अस्पतालहरूमा पठाउने गरिएको छ ।

अस्पतालका चिकित्सकका अनुसार सरुवा रोग उपचारका लागि आइसियु अत्यन्त आवश्यक हुन्छ । अस्पतालमा सघन उपचार सुविधा नहुँदा सरुवा रोगको पूर्ण उपचार हुन सकिरहेको छैन भने वेलावेलामा उपचारमा समस्या आउने गरेको छ ।

'नेपालमा जुनसुकै मौसममा पनि स्वाइनफ्ल्यु, झाडापखाला, हैजा, डेंगु, टाइफाइड जस्ता सरुवा रोगको महामारी फैलिन सक्छ' अस्पतालका निर्देशक डा. मिथिला शर्माले भने 'त्यस्तो समयमा सिकिस्त बिरामीलाई आइसियुमा नराखी हुन्न । तर अस्पतालमा आइसियु नभएकाले हामी बिरामीलाई अन्य अस्पतालमा पठाउन बाध्य छौँ ।' उनका अनुसार सिकिस्त बिरामीलाई तत्काल आइसियुमा राखेर उपचार नगर्दा बिरामीको मृत्युसमेत हुनसक्छ ।

अस्पतालमा झन्डै सात वर्ष अगाडिसम्म आइसियुको व्यवस्था थियो । तर पर्याप्त स्रोत र जनशक्ति अभावमा अस्पतालका सो आइसियु बन्द भएको थियो । आइसियु बन्द भएकाले सात वर्षदेखि आइसियुमा जडान गरिएका उपचार तथा अन्य सामग्री थन्काइएका छन् । 'आइसियु सञ्चालन गर्ने विषयमा केही पहल हुन सकेको छैन' अस्पतालका एक कर्मचारीले भने 'सघन उपचार कक्षका करोडौँ मूल्य पर्ने उपकरण स्टोरमा थन्किएका छन् । तिनलाई प्रयोगमा ल्याउन व्यवस्थापन पनि उदासिन छ ।' उनका अनुसार लामो समयसम्म ति महँगा उपकरणहरू प्रयोगमा नल्याइएकाले ति उपकरण अब काम नलाग्ने भइसकेका छन् ।

अस्पतालका वरिष्ठ डा. वासुदेव पाण्डेले अस्पतालमा आइसियु नहुँदा गत वर्ष महामारीको रूपमा फैलिएको डेंगुका सिकिस्त केही बिरामीलाई वीर अस्पताल तथा पाटनलगायत अन्यत्र अस्पतालमा पठाउनुपरेको बताए । 'गत वर्षमात्र होइन हामीले अस्पतालमा आएका आइसियुमा राख्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा सिफारिस गर्दै आएको छौँ,' उनले भने, 'राजधानीमा नै रहेको देशकै एकमात्र रेफरल सेन्टरको यो हालत छ भने राजधानी बाहिरका अस्पतालमा कस्तो होला ?'

जनशक्ति तथा विज्ञ चिकित्सकको अभावका कारण सघन उपचार सेवा सञ्चालनमा आउन नसकेको निर्देशक डा. शर्माले बताइन् । 'स्वास्थ्य मन्त्रालयमा यो विषयमा वर्षौंदेखि कुरा भइरहेको थियो तर अस्पतालमा आवश्यक जनशक्ति नपठाउँदा समस्या आइरहेको हो,' उनले भने, 'तर अहिले हामीले अस्पतालका केही चिकित्सकलाई तालिममा पठाएका छौँ । सम्भवत यो वर्ष अस्पतालमा आइसियु हुनेछ ।' उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अस्पतालमा आइसियु राख्न अर्थ मन्त्रालयसँग रकम माग गरेको छ । अर्थ मन्त्रालयले आउने आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा आइसियु सञ्चालनमा रकम निकासा गर्ने सहमति गरिसकेकाले अस्पतालले मंसिरभित्र अस्पतालमा आइसियु ल्याउने तयारी गरेको उनले बताए ।