Pages

Tuesday, January 18, 2011

प्राध्यापकलाई लाइसेन्स अनिवार्य

प्रवीण ढकाल/काठमाडौं

प्राध्यापकहरूले पनि अनिवार्य रूपमा प्राध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय तथा आंगिक र सम्बन्धनप्राप्त शिक्षण संस्थामा प्राध्यापन गर्न योग्य र दक्ष उपप्राध्यापकको व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

विश्वविद्यालय अनुदान आयोगले देशभरका विश्वविद्यालय तथा अन्तर्गतका शिक्षण संस्थामा प्राध्यापन सेवामा प्रवेश गर्नुअघि लाइसेन्स परीक्षा अनिवार्य पास गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । आयोगले प्राध्यापन लाइसेन्सलाई नेसनल इलिजिबिलिटी टेस्ट (नेट) परीक्षा नाम दिएको छ ।

'प्राध्यापन सेवामा प्रवेश गर्नुअघि अनिवार्य रूपमा नेट परीक्षा दिनुपर्नेछ,' आयोगका अध्यक्ष कमलकृष्ण जोशीले भने, 'नेट परीक्षामा उत्तीर्ण भएका मात्र क्याम्पसका लागि योग्य प्राध्यापक हुनेछन् ।' उनका अनुसार स्नातकोत्तर तह उत्तीर्ण जोसुकैले पनि विश्वविद्यालय तथा अन्तर्गतका शिक्षण संस्थामा अध्यापन गर्न थालेपछि शैक्षिक गुणस्तर खस्कँदै गएकाले योग्य व्यक्तिको छनोटका लागि लाइसेन्सको प्रावधान लागू गर्न लागिएको हो ।

अनुदान आयोगले लाइसेन्स प्रक्रियाका लागि प्रा. सुन्दरश्यामभक्त माथेमाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रा. रञ्जितभक्त प्रधानांग र प्रा. कनकविक्रम थापा सदस्य रहेका छन् । कार्यदलले ४५ दिनभित्र प्रतिवेदन आयोगमा बुझाउनेछ । सो प्रतिवेदनका आधारमा प्राध्यापन लाइसेन्सको परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । आयोगका अनुसार कार्यदलले नेपालमा नेटको औचित्यता र यसलाई लागू गर्ने विधि, प्रक्रियाको खाका तथा कानुनी आधारसमेत तयार गर्नेछ ।

नयाँ व्यवस्था लागू भएपछि विश्वविद्यालयमा अध्यापन सेवामा प्रवेशका लागि सबैखाले स्थायी, अस्थायी, आंशिक वा करारका अध्यापकले अनिवार्य रूपमा नेट परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ । आयोगका अध्यक्ष जोशीले भने, 'आधारभूत योग्यता परीक्षा उत्तीर्ण गरेकाले मात्रै अबदेखि विश्वविद्यालयमा प्राध्यापन गर्न पाऊन् भनेर नेट परीक्षाको व्यवस्था गरिएको हो ।'

नेपालमा विश्वविद्यालयका प्राध्यापकका लागि पहिलोपटक गर्न लागिएको लाइसेन्स परीक्षाको सञ्चालन आयोगले नै गर्ने भएको छ । लाइसेन्सको लिखित परीक्षा उत्तीर्ण गरेका व्यक्तिले मात्र विभिन्न विश्वविद्यालयले खुला गर्ने सेवा आयोगको परीक्षा दिन पाउने प्रावधान आयोगले बनाउँदै छ । 'नेटको अभ्यास अधिकांश मुलुकमा गरिँदै आएको भए पनि नेपालका लागि यो नयाँ व्यवस्था हुनेछ ।' आयोग अध्यक्ष जोशीले भने, 'यो परीक्षा नदिएका वा अनुत्तीर्ण भएका व्यक्ति विश्वविद्यालय सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने छैनन् ।' तर, हाल विश्वविद्यालयमा स्थायी भएकाले भने नेट परीक्षा दिनु नपर्ने आयोगले जनाएको छ ।

No comments:

Post a Comment