Pages

Monday, August 10, 2015

एम्बुलेन्समा अपराधी


बिरामी बोक्ने एम्बुलेन्समा अवैध रक्तचन्दन, ब्राउन सुगर, गाँजा, मदिरा, भन्सार छुटका सामग्री, निजी गाडीसरह व्यक्तिगत प्रयोजनलगायत दुरुपयोग 

प्रवीण ढकाल
काठमाडौं, साउन २३-   हुइँहुइँहुइँ... हुइँहुइँहुइँइँइँइँ ...!
बा६च ८७८९ नम्बरको एम्बुलेन्स रातको १ बजे सुनसान सडकमा तीव्र गतिमा हुइँकिइरहेको थियो। साइरन सुन्नासाथ सडकमा रहेका एकाध सवारीले बाटो छाडिदिए।

एम्बुलेन्स गति नियन्त्रण नगरी गन्तव्यतिर लम्कियो।

काठमाडौंबाट भक्तपुर हुँदै काभ्रेतिर गइरहेको उक्त एम्बुलेन्स महानगरीय प्रहरी प्रभागको जाँच चौकी, भक्तपुर, जगातीमा घ्याच्च रोकियो। चौकीमा रहेका प्रहरीले एम्बुलेन्सभित्र सरसर्ती हेरे।

'कता जान लागेको?'

'बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेर घर लैजान लागेको,' चालकले प्रहरीलाई हत्तपत्त जवाफ दिए।

डिस्चार्ज भएका बिरामी आकस्मिक अवस्थामा नरहने अनुमान गर्दै प्रहरीले एम्बुलेन्समा शंकालु नजर दौडाए।

एम्बुलेन्सभित्रको बेड बिरामी सुताउने खालको थिएन। प्रभागका प्रमुख इन्स्पेक्टर केशव थेवेसहितको टोलीले बेड राम्ररी हेरे। बेडभित्र बाकसमा त प्रतिबन्धित दुर्लभ वनस्पति ४९ किलो रक्तचन्दन फेला पर्योत।

सिन्धुपाल्चोकको भैरवकुण्ड युवाक्लबले सञ्चालन गरेको उक्त एम्बुलेन्सले काठको बक्साजस्तो बेडभित्र प्रतिबन्धित रक्तचन्दन राखेर तस्करी गर्न लागेको भेटिएपछि थेवेले भक्तपुरका एसपी नारायणसिंह खड्कालाई खबर गरे। एसपी खड्का र प्रभावको टोलीले थप जाँचपडताल गर्दा एम्बुलेन्समा सुताइएको बिरामीसमेत नक्कली रहेको पत्ता लाग्यो। प्रहरीले एम्बुलेन्स, चालक सिन्धुपाल्चोक लिस्टी–४ का २३ वर्षीय साबु शेर्पा र नक्कली बिरामी लिस्टी–३ का स्याङ्बुलाई जिल्ला वन कार्यालयको जिम्मा लगायो। कार्यालयले वन ऐनअनुसार उनीहरुमाथि कारबाही अघि बढायो।

... ... ...

नेपाल–भारत मैत्री संघ, तुलसीपुरको रा१च २९० नम्बरको एम्बुलेन्स साइरनसहित नेपालगन्जबाट दाङ, तुल्सीपुर आउँदै थियो। इलाका प्रहरी कार्यालय, तुल्सीपुरले एम्बुलेन्सभित्र कोही बिरामी नदेखेपछि शंका लागेर सोधपुछ गर्योा। बिरामी नबोक्दा किन साइरन बजाएको भन्दै प्रहरीले सोधपुछ गर्न थालेपछि चालकछेउ रहेका राजन पुरी हडबडाए। शंका बढेपछि प्रहरीले थप जाँचपडताल गर्दा एम्बुलेन्समा २ सय ग्राम खैरो हेरोइन, फेला पर्यो । प्रहरीले पुरीसहित चालक र छवि केसीलाई पक्राउ गरी हिरासतमा लियो। लागुऔषध कारोबारमा मुद्दा चलायो।

०००

मोरङ, जोगबनीबाट विराटनगर आउँदै गरेको को१च ४९३२ नम्बरको एम्बुलेन्समा भन्सार छलेर ल्याउँदै गरेको लाखौं मूल्यका सामान प्रहरीले बरामद गर्यो । विराटनगरस्थित नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सर छलेर भित्याइएका विभिन्न महँगा उपकरण, सर्जिकल सामानसहित अन्य उपकरण फेला परेको थियो। प्रहरीले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया बढायो।

... ... ...

बिरामी बोक्ने एम्बुलेन्स आपराधिक क्रियाकलापमा प्रयोग भएको फेला पर्नेमा माथिका तीन घटनामध्ये नोबलको घटना केही महिनाअघिको मात्र हो। भक्तपुर र दाङको घटना भने तीन वर्षअघिको। चोरी, भन्सार छलीजस्ता साना अपराधमा एम्बुलेन्स दुरुप्रयोग भएका घटनामा भक्तपुरको रक्तचन्दन र दाङको ब्राउनसुगरका घटना प्रहरीकै लागि नौलो थियो। भन्सार छुटमा ल्याइएका बिरामी बोक्ने एम्बुलेन्स सामान्यदेखि ठूला अपराधमा प्रयोग हुन थालेपछि प्रहरी एम्बुलेन्सको जाँचपडतालमा कडाइ गरिरहेको छ।

अझै पनि देशका विभिन्न स्थानबाट तस्करी तथा आपराधिक गतिविधिमा एम्बुलेन्स प्रयोग गर्ने गरिएका घटना प्रहरीले फेला पारिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग बढ्दो क्रममा देखिन्छ।

'साइरनसहित आएका एम्बुलेन्समा गम्भीर अवस्थाका बिरामी मात्र होलान् भन्ने लाग्थ्यो,' उनले भने, 'तर देशका विभिन्न स्थानमा आपराधिक घटनामा एम्बुलेन्स प्रयोग भएको घटना आउन थालेपछि हामी पनि आश्चार्यमा परिरहेका छौं।' एम्बुलेन्समा बेइमानी हुन थालेपछि प्रहरीले एम्बुलेन्समा समेत जाँचपडताल बढाइएको उनले बताए।

उनका अनुसार केही समयअघि मात्र झापामा दुइटा गम्भीर प्रकृतिका आपराधिक घटनामा एम्बुलेन्स प्रयोग भएको थियो। बिर्तामोडका अलैंची व्यवसायी सुनीलकुमार बिन्दलको अपहरणमा अपहरणकारीले एम्बुलेन्सको प्रयोग गरेका थिए। बिन्दल अपहरणमा नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको मे१च १२३४ नम्बरका एम्बुलेन्स प्रयोग भएको हो। काँकरभिट्टाबाट अपहरणमा परेका व्यवसायी बिन्दललाई एम्बुलेन्समा हालेर झापाको धरमपुर पुर्या४इएको थियो।

झापाकै बिर्तामोडमा ल्यापटप चोरीमा एम्बुलेन्स प्रयोग भएको उनले जानकारी दिए। युवा स्वर्णतारा, क्लब खैरनी चितवनको ना२च ४०५२ नम्बरको एम्बुलेन्स ३० हजार रुपैयाँ भाडामा लिएर चोरीका ४१ वटा ल्यापटप ओसारेको फेला परेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएका उजुरी तथा मन्त्रालयले नै गरेको अध्ययनले समेत देशका विभिन्न स्थानमा एम्बुलेन्स दुरुपयोग भएको देखाएको छ। मन्त्रालयमा आएका सूचना र अनुसन्धानले बिरामी बोक्ने एम्बुलेन्समा अवैध रक्तचन्दन, ब्राउन सुगर, गाँजा, मदिरा, भन्सार छुटका सामग्री, निजी गाडीसरह व्यक्तिगत प्रयोजनलगायत दुरुपयोग गरेको पाइएको छ।

एम्बुलेन्स सेवा सञ्चालन नीति– ०६० मा एम्बुलेन्सको प्रयोग बिरामीलाई बिरामी परेको ठाउँ, घटनास्थलबाट अस्पताल वा उपचारस्थलसम्म र चिकित्सकले सिफारिस गरेबमोजिम स्थानमा पुर्याोउन मात्र हुनेछ भन्ने स्पष्ट लेखिएको छ। त्यसबाहेक अन्य प्रयोजनमा एम्बुलेन्स प्रयोगलाई गैरकानुनी मानिन्छ।

मन्त्रालयले 'भन्सार छुट दिइएका एम्बुलेन्सहरुको प्रभावकारिता' अध्ययन क्रममा निजी तथा संघसंस्थाले चलाएका एम्बुलेन्समा मात्र नभई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका एम्बुलेन्सले समेत धेरै मात्रामा दुरुपयोग भइरहेको फेला परेको छ। अनुसन्धान क्रममा रौतहटको पिपरिया गाविसस्थित प्राथमिक स्वास्थ्य केन्›को ना१झ ९६७ नम्बरको सरकारी एम्बुलेन्सले बिरामीभन्दा बढी अवैध मदिरा ओसारपसार गर्ने गरेको पाइएको थियो। एम्बुलेन्समा घरेलु मदिरा बोक्ने गरेको गुनासोका आधारमा शिवनगर इलाकामा प्रहरी टोलीले ३० लिटर अवैध मदिरासहित चालक नवलकिशोर यादवलाई नियन्त्रणमा लिएको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

मदिरा ओसारपसारमै प्राथमिक स्वास्थ्य केन्›, देउलेक बझाङको सरकारी एम्बुलेन्ससमेत समातिएको थियो। बिरामी धनगढी पुर्यााएर फर्कने क्रममा केन्द्रको एम्बुलेन्सले भारी मात्रामा मदिरा, तरकारी र यात्रु बोकेको पाइएको थियो। दुरुपयोग गर्ने चालकलाई प्रहरीले नियनत्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

एम्बुलेन्स दुरुपयोग गर्नेमा सञ्चालक तथा चालक मात्र नभई विभिन्न राजनीतिक दलका नेतासमेत भेटिएका छन्। मन्त्रालयमा आएको उजुरीअनुसार ०७० सालमा भएको संविधानसभाको चुनावमा चन्›निगाहपुरका दलित जनजाति पार्टीका समानुपातिक उम्मेदवार विश्वेन्› पासवानले एम्बुलेन्सलाई घोषणापत्र ओसार्ने साधन बनाएका थिए। सर्लाहीको लालबन्दीस्थित पिपुल्स हेल्पफुल सेवा समाजका नाममा रहेको ज१च ८४२ नम्बरको एम्बुलेन्समा पासवानले पार्टीको घोषणापत्र राखेर प्रचारप्रसारमा निस्केका थिए।

एम्बुलेन्स प्रयोग गरेर अवैध धन्दा चलिरहँदा पनि सरकारले चालकबाहेक एम्बुलेन्स सञ्चालकलाई कारबाही गर्न सकेको छैन न अहिलेसम्म त्यस्ता एम्बुलेन्सका अनुमति नै खारेज गरिएको छ।

एम्बुलेन्स दुरुपयोग गर्ने संस्थालाई किन कारबाही हुन्न त? मन्त्रालयका उपसचिव राजिव पोखरेल भन्छन्, 'चालकलाई उसले गरेको अपराधका आधारमा प्रहरीले कारबाही गरिरहेको हुन्छ तर सञ्चालक तथा एम्बुलेन्सको स्वीकृति खारेज गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिलाई हुन्छ।'

उनले समितिले अनुगमन गर्ने र कारबाही गर्ने काम प्रभावकारी रुपमा नहुँदा चालकबाहेक कसैलाई कारबाही नगरिएको स्विकारे। उनका अनुसार मन्त्रालयले अहिलेसम्म अपराधमा संलग्न कुनै पनि एम्बुलेन्स सञ्चालन स्वीकृति खारेज गर्न सकेको छैन।

'समितिले भन्सार छुटका लागि सिफारिस गर्नेबाहेक अन्य कुनै पनि काम गर्न नसक्दा विकृति बढेको हो,' उनले भने।

समिति निष्क्रिय


एम्बुलेन्स सेवा प्रभावकारी र व्यवस्थित ढंगबाट सञ्चालन गर्न प्रत्येक जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन समिति हुन्छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख, अञ्चल अस्पताल भएका जिल्लाको हकमा उक्त अस्पतालका प्रमुख, रेडक्रसको स्थानीय शाखाका सदस्यसचिव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिको व्यवस्था छ तर उक्त समिति निष्त्रि्कय छ।

समितिले सक्रिय रुपमा काम गर्न नसकेको स्विकार्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल भन्छन्, 'एम्बुलेन्सको अनुगमन र मूल्यांकन तथा शुल्क निर्धारणको काम गर्ने जिम्मेवारी यो समितीमा छ तर हामीले त्यो काम पूरा गर्न सकेका छैनौं।' उनले एम्बुलेन्स मापदण्ड बाहिर रहेका र दुरुपयोग भएको उजुरी आए नियमअनुसार कारबाही गरिने जानकारी दिए।

नियमानुसार दर्ता भएका कुनै संस्थाको विधानमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने भन्ने उद्देश्य उल्लिखित भए तिनले समितिमा निवेदन दिन सक्ने र समितिले मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ। यही समितिले जिल्ला तहमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था पनि छ तर यो समिति कुनै पनि जिल्लामा सक्रिय छैन।

समितिको काम शून्यप्राय हुँदा नै भन्सार छुटका एम्बुलेन्सलाई लुटको छुट मिलेको प्रहरी बताउँछन्। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार एम्बुलेन्स दुरुपयोग बढीजसो भारतसँग सिमाना जोडिएका जिल्लामा रहेको छ। धेरैजसो एम्बुलेन्सले साइरन बजाउँदै भन्सर छलेका सामान भित्याउने गरेको प्रहरीले हालसम्म पक्राउ गरेको एम्बुलेन्सको तथ्यांकले देखाएको छ।

एम्बुलेन्समा गाँजा तथा अन्य लागुऔषधसमेत तस्करी गरिएको भेटिने गरेका छन्। प्रहरीले नागरिकलाई उपलब्ध गराएको विवरणअनुसार बारा, सिमराबाट ना२च६७८० नम्बरको एम्बुलेन्सबाट १ सय ८० केजी गाँजा फेला परेको छ। यस्तै, गत साउनमा हेटौंडामै बा५च ५१९१ नम्बरको एम्बुलेन्समा १ सय ५३ केजी गाँजा फेला परेको थियो। काठमाडौंको चुच्चेपाटीस्थित ग्रेस अस्पतालको नाममा दर्ता रहेको उक्त एम्बुलेन्सले गाँजा व्यापारीसँग मिलेमतोमा वीरगन्जतर्फ गाँजा लैजाने गरेको फेला परेको प्रहरी विवरणमा उल्लेख छ।

कारबाही गर्ने अख्तियारी पाएको समितिले प्रभावकारी काम नगर्दा एम्बुलेन्सलाई जिल्लामा वनभोज तथा पिकनिकमा जाने साधनका रुपमा समेत प्रयोग गरिएको पाइन्छ। स्वास्थ्य मन्त्रालयको अध्ययनले पनि सन् २०१४ को पहिलो दिन सिरहाको बडहरामाल–३, बन्दीपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स१च ७४२ नम्बरको एम्बुलेन्सले वनभोज जाने मानिस ओसारेको पाएको छ। 'क्लिनिकले दिनभरि बिरामी ओसार्नेभन्दा पनि क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मी लाई वनभोजस्थल ओसार्न प्रयोग गरिएको देखियो,' अध्ययन प्रतिवेदनमा भनिएको छ।

अधिकांश एम्बुलेन्स मापदण्डविपरीत


देशभर सञ्चालनमा रहेकामध्ये अधिकांश एम्बुलेन्सले तोकिएको मापदण्ड पूरा गरेका छैनन्। मन्त्रालयले आठ जिल्लामा नमुनाका रुपमा गरेको अनुसन्धानमा धेरैजसो एम्बुलेन्सले सरकारले तोकेको मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको भेटिएको छ।

काठमाडांै, भक्तपुर, ललितपुर, काभ्रे, झापा, नवलपरासी, रुपन्देही र चितवन जिल्लामा गरिएको अनुसन्धानमा अधिकांश एम्बुलेन्स 'ग' वर्गमा रहेका र केही मात्र 'ख' वर्गका रुपमा सञ्चालनमा रहेका थिए। ती एम्बुलेन्समा सरकारले तोकेअनुसारको जीवनरक्षा प्रणाली अर्थात् 'कमन लाइफ सपोर्ट (सिएलएस)' का लागि अत्यावश्यक औषधि तथा उपकरण अभाव रहेको पाइएको थियो। न्यूनतम मापदण्डअनुसार सुविधा नरहे पनि यस्ता एम्बुलेन्सले सेवाबापत शुल्क भने पूरै लिने गरेको अध्ययनले औंल्याएको छ।

मन्त्रालयका उपसचिव राजिव पोखरेलले अनुसन्धानबाट धेरै एम्बुलेन्स मापदण्डबिनै सञ्चालनमा देखिएकाले सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।

'हाम्रो अनुसन्धानले एम्बुलेन्समा हुनुपर्ने न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालनमा रहेका धेरै एम्बुलेन्स भेटेका छौं,' उनले भने, 'हामीले भेटेकाजतिलाई तत्काल आफ्नो वर्गअनुसार मापदण्ड पूरा गर्न निर्देशन दिइसकेका छौं भने अरू एम्बुलेन्समा पनि समस्या हुन सक्ने भएकाले सबैलाई वर्गअनुसार तोकिएका मापदण्ड पूरा गर्न भनेका छौं।'

मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभर १ हजार २ सय ४ वटा एम्बुलेन्स सञ्चालनमा छन्। जसमध्ये 'क' वर्गका मुस्किलले पाँचवटा मात्र छन्। त्यस्तै, 'ख' वर्गको एम्बुलेन्स १० प्रतिशत हाराहारी रहेको र बाँकी सबै 'ग' वर्गका रहेको मन्त्रालयको तथ्यांक छ। यीमध्ये झन्डै ७५ प्रतिशत एम्बुलेन्समा सरकारले तोकेको मापदण्ड पूरा नभएको अध्ययनले देखाएको छ।

सरकारी विभाजनअनुसार जीवनरक्षाका अत्यावश्यक सेवासुविधा भएका एम्बुलेन्सलाई 'क', आधारभूत सुविधा भएकालाई 'ख' र सामान्य सुविधा भएकालाई एम्बुलेन्स 'ग' वर्गमा मानिन्छन्। सञ्चालकहरूले एम्बुलेन्स भित्याउनुअघि वर्ग छनोट गर्नुपर्ने नियम छ।

'क' वर्गको एम्बुलेन्स खासगरी मुटुका रोगी र जोखिममा रहेका बिरामीका लागि आवश्यक हुन्छ। 'ख' वर्गको मध्यम रूपमा जोखिममा रहेका बिरामीका लागि चाहिन्छ भने कम जोखिममा रहेका बिरामीका लागि 'ग' वर्गको एम्बुलेन्स प्रयोग गर्न सकिन्छ।

एम्बुलेन्स सञ्चालन नीति– २०६० अनुसार 'क' वर्गको एम्बुलेन्समा अत्यावश्यक उपकरण र औषधि मात्रै नभई चिकित्सकसमेत उपलब्ध हुनुपर्छ। त्यसमा औषधि र उपकरणसहित एडभान्स लाइफ सपोर्टका लागि इसिजी, कार्डियाक मोनिटर, डेफिब्रिलेटर, इन्क्युवेसन साधन, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन सुविधा, क्याथटेरिजेसन सेट, लेन्स (वाइड वेज्ड चेस्ट फर पेडियाटि्रक), पल्स अक्स मिटर, रेडियो कम्युनिकेसन सिस्टम, डाक्टर वा तालिमप्राप्त प्यारामेडिक एक जना हुनुपर्छ।

'ख' वर्गका एम्बुलेन्समा औषधि तथा उपकरणसहित बेसिक लाइफ सपोर्टका लागि प्राथमिक उपचार तथा लाइफ सेभिङ ड्रग्स, अक्सिजन मास्क, फ्लोमिटर, आइभी इन्जेक्सन दिने साधन, सक्सन भेसिल, फ्याक्चर स्लिपन्ट, कामिर्कल कोलार, स्पाइन सपोर्ट, एयर वे, पेसन्ट टेस्टेरन्ट स्टेप र तालिमप्राप्त प्यारामेडिक एक जना।

त्यस्तै, 'ग' वर्गका लागि कमन लाइफ सपोर्टसहित, प्राथमिक उपचारका औषधि तथा उपकरण, अक्सिजन सिलिन्डर, फ्लोमिटर र मास्क, आइभी इन्जेक्सन दिन सकिने व्यवस्था, स्टेथेस्कोप, बिपी एपाराटुस, टर्चलाइट र स्ट्रेचर अनिवार्य हुनुपर्छ।

मन्त्रालयको अध्ययनले भने अधिकांश एम्बुलेन्समा सबै सामग्री भएका एम्बुलेन्स नगण्य पाइएका थिए।

उपसचिव पोखरेलका अनुसार कतिपय एम्बुलेन्समा त ट्याक्सीमा जति पनि सुविधा पाइएन। अध्ययनमा स्ट्रेचर मात्र रहेका एम्बुलेन्ससमेत सञ्चालनमा भेटिएको उनले जनाए।

एम्बुलेन्स सञ्चालन नीति, २०६० ले हरेक एम्बुलेन्समा वर्गअनुसार जीवन रक्षाका लागि अत्यावश्यक औषधि, उपकरण, डाक्टर वा तालिमप्राप्त स्वास्थ्यकर्मी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको भए पनि धेरैजसो एम्बुलेन्सले नीतिको पालना नगरेका मन्त्रालयको अनुसन्धानले देखाएको छ।

'सामान्य प्रकृतिका बिरामी बोक्ने एम्बुलेन्सले पनि गम्भीर प्रवृत्तिका बिरामी उठाउने गरेका कारण पनि धेरैजसो जोखिम उत्पन्न हुने गरेको छ' अनुसन्धानमा भनिएको छ 'देशभर सञ्चालनमा आएका हरेक एम्बुलेन्समा कम्तीमा जीवनरक्षाका लागि आधारभूत सुविधा हुनैपर्छ तर अधिकांशमा त्यस्तो व्यवस्था छैन।'

गम्भीर प्रकृतिका धेरै जसो बिरामीको बाटैमा मृत्यु हुनुलाई एम्बुलेन्ससमेत दोषी रहेको चिकित्सक औंल्याउँछन्।

तत्काल अस्पतालमा पुर्यासउनुपर्ने बिरामी खासगरी दुर्घटनामा परेका, हृदयघात भएका, विषादी सेवन गरेका र अन्य यस्तै गम्भीर प्रकृतिका बिरामीको मृत्यु अस्पताल पुर्यादउँदा हुने ढिलाइ र लापरबाहीका कारण बढी हुने गरेको चिकित्सकको भनाइ छ। उनीहरुका अनुसार यस्ता बिरामीलाई अस्पतालमा नपुर्याुएसम्म वर्गअनुसार एम्बुलेन्सभित्रै उपचार हुनुपर्छ तर कुनै पनि एम्बुलेन्समा वर्गअनुसारकै सुविधा नहुने हुँदा उनीहरुको अस्पताल नपुर्यालउँदै मृत्यु हुने गर्छ।

मनपरी शुल्क


मन्त्रालयका उपसचिव पोखरेलका अनुसार एम्बुलेन्सले वर्गअनुसार के कति शुल्क लिन पाउने भनेर जिल्लाको समितिले शुल्क निर्धारण गर्ने व्यवस्था छ। तर, काठमाडौंलगायत देशका प्रायः सबै जिल्लामा एम्बुलेन्स सञ्चालक आफैंले शुल्क तोकेर बिरामीबाट असुल्ने गरेको पाइएको छ। उनका अनुसार कतिपय एम्बुलेन्सले प्रतिकिलोमिटर दरमा शुल्क तोकेका छन् भने कतिपयले एकमुष्ठ न्यूनतम शुल्क लिने गरेका छन्। कसैले बिरामी पर्या्उने दुरी हेरेर रकम तोक्ने गरेका छन्।

'कतिपय जिल्लामा त एम्बुलेन्सले बिरामी पुर्यालएर एम्बुलेन्स फर्कंदा भाडामा यात्रुसमेत ओसार्ने गरेको पाइन्छ,' उनले भने, 'नियमविपरीत पैसाको लोभमा यस्ता घटना विशेषगरी ग्रामीण क्षेत्रमा बढी हुन्छन्।'

एम्बुलेन्स शुल्क निर्धारण, अनुगमन तथा मूल्यांकन गर्न जिल्लामा बनाइएका समितिले यस्ता कुरामा अनुगमन गरेर कारबाही गर्नुपर्छ।

चिकित्सकका अनुसार सरकारले वर्गअनुसार एम्बुलेन्सको शुल्क निर्धारण नगर्दा 'ग' वर्गका एम्बुलेन्सले फाइदा उठाइरहेका छन्। ती एम्बुलेन्सले 'ग' वर्गको सुविधा नदिएरै 'क' वर्गको शुल्क असुल गरिरहेका छन्।

बिरामीको व्यापार


कमजोर अनुगमनको फाइदा उठाउँदै कतिपय एम्बुलेन्स चालकले बिरामीको व्यापारसमेत गर्दै आएका छन्। आकस्मिक अवस्थामा रहेका बिरामीलाई चालकले केही निजी अस्पतालको कमिसन लोभमा आफ्ना छनोटमा रहेका अस्पतालमा लैजाने गरेका छन्। मन्त्रालयले गरेको अध्ययनले पनि सरकारी अस्पतालका एम्बुलेन्सले निजी अस्पतालले दिने कमिसनका आधारमा बिरामीलाई उपचारका लागि लैजाने गरेको देखाएको छ।

दुर्घटनामा परेका बिरामीलाई त झन् राजमार्ग छेउछाउका अस्पतालले आफूतर्फ तान्न एम्बुलेन्स चालकलाई बिरामीको उपचारबापत लागेको खर्चको केही प्रतिशत कमिसनसमेत दिने गरेको पाइन्छ। मन्त्रालयका उपसचिव यस्ता विकृतिबारे गुनासा आइरहेकाले नीति परिवर्तन गरेर व्यवस्थित गर्न लागिएको बताउँछन्।

'एम्बुलेन्सका विषयमा धेरै गुनासा आइरहेका छन्,' उनले भने, 'त्यसकारण हामीले यसलाई व्यवस्थित गर्न नयाँ नीति बनाइरहेका छौं।' उनले नयाँ नीतिले एम्बुलेन्स दुरुपयोगलाई धेरै हदसम्म हटाउन मद्यत गर्ने बताए।

राजस्व छुटको प्लेट राख्दैनन्


सरकारले राजस्व छुट दिई सञ्चालनमा आउने एम्बुलेन्सले अनिवार्य रुपमा सबैले देख्ने गरी 'सरकारी राजस्व छुट प्राप्त' भनी लेख्नुपर्ने व्यवस्था गरेको छ। तर अधिकांश एम्बुलेन्समा त्यस्तो लेखिएको देखिएको छैन। सरकारले चार वर्षअघि यस्तो व्यवस्था गरेको हो।

सरकारी नियमअनुसार एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थालाई एक प्रतिशत भन्सार शुल्कमा एम्बुलेन्स बनाइने गाडी आयात गर्न छुट दिएको छ। साथै, सवारी कर र पार्किङ शुल्क पनि मिनाहा गरिएको छ। एम्बुलेन्स व्यक्तिले नभई मुनाफाको उद्देश्य नभएका सामाजिक संस्थाले मात्र आयात गर्न पाउँछन्।

भरपर्दो साथीबाटै धोका हुने डर

प्रवीण ढकाल
काठमाडौं, ८ जेष्ठ - अनिच्छित गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ? सावधान! भरपर्दो साथीबाटै धोका पाउनुहोला।
सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा महिलाका लागि निःशुल्क उपलब्ध हुने पिल्स (खाने चक्की) सेवन गरेकाले गर्भ रहँदैन भनेर ढुक्क हुन नसकिने सरकारी प्रयोगशालाकै अध्ययनले पुष्टि गरेको हो।
औषधिको गुणस्तर परीक्षण गर्ने सरकारी निकाय औषधि व्यवस्था विभागको प्रयोगशाला परीक्षणमा सरकारले देशभर वितरण गरेको ‘पिल्स' मापदण्डविपरीत र कमसल फेला परेको छ। विभागले देशभर वितरित औषधिको नमुना संकलन गरेर परीक्षण गरेको थियो। तिनै औषधि अहिले पनि देशभरका स्वास्थ्य संस्थामा वितरण भइरहेका छन्।
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ।

पिल्सलाई परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन मानिन्छ। छोटो गर्भान्तर चाहने महिलालाई यो निकै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरे गर्भ रह“दैन। तर यो चक्की खान छाडे महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छन्।
चिकित्सकका अनुसार कम डोजका औषधिले पर्याप्त मात्रामा काम नगर्ने भएकाले यस्ता औषधि सेवन गर्ने धेरैमा गर्भ रहने सम्भावना अत्यधिक हुन्छ। मापदण्डविपरीत र कम डोजका औषधिले पूर्ण रूपमा काम नगर्ने भएकाले यस्ता औषधिमा भर पर्न नहुने चिकित्सकको भनाइ छ।
विभागले विभिन्न सातवटा ब्याचका औषधिको नमुना परीक्षण गरेको थियो। मापदण्डअनुसार औषधि नपाएपछि विभागले तुरुन्त त्यस्ता औषधि फिर्ता ल्याउन स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिसकेको छ।
विभागका महानिर्देशक गजेन्द्रप्रसाद भुजूका अनुसार स्वास्थ्य संस्थामा वितरित औषधिका धेरै ब्याचमा खराबी पाइएको छ। ‘हामीले नमुना परीक्षण गर्दा औषधि गुणस्तरीय पाइएन,' उनले भने, ‘मापदण्ड नै पूरा नभएका यस्ता औषधि वितरण गर्नुहुँदैन भनेर स्वास्थ्य विभागलाई पत्राचार गरेका हौं।' 
विश्व स्वास्थ्य संगठनले औषधिमा हुनुपर्ने गुण र मात्राको मापदण्ड तोकेको छ। परीक्षित औषधिमा हुनुपर्ने डोज (मात्रा) पनि नरहेको पाइएको छ। कतिपय चक्कीमा त लेभलसमेत औषधिअनुसार भेटिएन। 
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ।
सन् २०११ उत्पादन मिति रहेका ती औषधि भारतस्थित फार्म एसिया लिमिटेडद्वारा उत्पादित हुन् जसमा ब्रान्डसमेत उल्लेख छैन। कम्पनीले ‘ओरल कन्ट्रासेप्टिभ पिल्स' नाम राखेरै सरकारलाई यस्तो औषधि उपलब्ध गराउँदै आएको छ। औषधि उत्पादक कम्पनीले नै कम गुणस्तरका औषधि नेपाल पठाएको विभागका कर्मचारी बताउँछन्। 
‘भारतबाट आएका औषधिको मात्रा यहाँ घटाउन मिल्दैन,' विभागका कर्मचारी भन्छन्, ‘ल्याब परीक्षणका क्रममा औषधि कम डोजका पाइनु र चक्कीहरूको मात्रा पनि फरक–फरक हुनुमा कम्पनीले नै बद्मासी गरेको स्पष्ट हुन्छ।' विभागले अन्य ब्याचका औषधिमा समेत मापदण्ड नपुगेको आशंकामा परीक्षण गरिरहेको जनाएको छ।
पिल्स एक साइकल (एक पुरिया) जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। तीमध्ये सातवटा खेरो चक्की आइरन हो भने बाँकी हर्मोनल। खैरो चक्की महिलाले महिनावारी भएको दिनदेखि सात दिनसम्म खानुपर्छ भने बाँकी २१ वटा सेतो चक्की अन्य दिन। महिलालाई गर्भ राख्न मन लागे औषधि खान छाडे पुनः उनको प्रजनन् शक्ति फर्किने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्।

उक्त औषधि विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले भारतबाट खरिद गरी ल्याएको हो। परिवार स्वास्थ्य महाशाखाले यसलाई देशभर वितरण व्यवस्था मिलाउँछ। परीक्षणमा खराब देखिएका औषधि ल्याउँदा आपूर्ति महाशाखामा मिङ्मार ग्याल्जेन शेर्पा निर्देशक थिए। शेर्पा हाल भ्रष्टाचार आरोपमा अख्तियार हिरासतमा छन्। उनले केही महिनाअघि मात्र स्वास्थ्य सेवाबाट अवकास लिएका थिए। सुत्केरी गराउँदा प्रयोग हुने मिसोप्रोस्टल खरिदमा अनियमितता देखिएपछि शेर्पालाई अख्तियारले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। मिसोप्रोस्टल ४० जिल्लामा निःशुल्क वितरण गरिँदै आएको छ।
शेर्पाले १३ करोड २२ लाख ६४ हजार रुपैयाँ (भन्सार शुल्क, करलगायत शुल्कबाहेक) बराबरको औषधि खरिद गर्न उक्त कम्पनीसँग तीनवर्षे खरिद सम्झौता गरेका थिए। सन् २०११ जनवरी २३ मा भएको उक्त सम्झौतामा तीन वर्षभित्र कम्पनीले ७२ लाख साइकल (पुरिया) औषधि नेपाल पठाउनुपर्छ। सम्झौताअनुसार नै कम्पनीले प्रत्येक वर्ष २४ लाखका दरले औषधि पठाइसकेको छ। पहिलो र दोस्रो वर्षका अधिकांश औषधि महिलाले सेवन गरीसकेका छन् भने तेस्रो वर्ष नेपाल भित्त्याइएको औषधि भने धमाधम वितरण भइरहेको छ। 
औषधिको नेपाल डिस्ट्रिब्युटर हस्पिटेक इन्टरप्राइजेज हो। इन्टरप्राइजेजले औषधिमा समस्या देखिएको जानकारी पाएलगत्तै साट्न तयार भएको पत्र विभागमा पठाइसकेको छ। 
पिल्स एक साइकल (एक पुरिया) जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। तीमध्ये सातवटा खेरो चक्की आइरन हो भने बाँकी हर्मोनल। खैरो चक्की महिलाले महिनावारी भएको दिनदेखि सात दिनसम्म खानुपर्छ भने बाँकी २१ वटा सेतो चक्की अन्य दिन। महिलालाई गर्भ राख्न मन लागे औषधि खान छाडे पुनः उनको प्रजनन् शक्ति फर्किने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्।

-बिहीबार ८ जेष्ठ, २०७१


यस्ता बन्दैछन् जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी भवन


प्रवीण ढकाल
काठमाडौं, साउन २२ - सरकारले देशभरका सरकारी जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाको भवन एउटै मापदण्ड अनुसारका बनाउन नयाँ डिजाइन तयार पारेको छ। स्वास्थ्य सेवा विभागले अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको भवन टाढैबाट सजिलै चिन्न सकिने र आधुनिक बनाउन नयाँ डिजाइन तयार पारेको हो।

अस्पताल तथा स्वास्थ्य संस्थाको भवन अरु भन्दा भिन्न, सुरक्षित र बिरामीमैत्री बनाउने उद्देश्यले आधुनिक डिजाइन तयार पारिएको विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. भिम आचार्यले जानकारी दिए।



'देशभर निर्माण हुने सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी भवनको मापदण्ड एउटै ढंगको बनाइएको छ,' उनले भने, 'तर भवनका संरचना भने भौगोलिक क्षेत्र अनुसार केही फरक हुने छन्।'
डा. आचार्यका अनुसार नयाँ बन्ने सबै अस्पताल तथा स्वास्थ्य संरचना अस्पताल इन्जिनियरिङका आधारमा भूकम्पप्रतिरोधी बनाउन र भवनमा एकरुपता ल्याउन भूगोल अनुसार नयाँ डिजाइन तयार पारिएको हो। उनले जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्म सबै भवन नयाँ डिजाइनका आधारमा बन्ने जानकारी दिए।



भूकम्प प्रभावित १४ जिल्लामा तत्काल उपचार सेवा दिने प्रिफ्याब संरचना भने नयाँ डिजाइन अनुसार हुने छैनन्। तर, दिर्घकालका लागि बनाइने भवन भने नयाँ डिजाइन अनुसार नै हुने छन्। 'भूकम्प प्रभावित जिल्लामा बिरामीको ज्यान जोगाउन तत्कालै उपचार सेवा प्रदान गर्नुपर्ने अवस्था रहेकोले तुरुन्तै निर्माण गर्न सकिने प्रविधिमार्फत संरचना बनाउनु पर्ने हुन्छ,' उनले भने, 'प्रिफ्याब संरचना तत्काल समस्या समाधानका लागि मात्र हो। ती जिल्लामा पनि पक्की भवन भने नयाँ डिजाइन अनुसार नै बनाइने छ।'

विगतमा सरकार, स्थानीय सहयोगी र दाताले आफूखुसी डिजाइनमा अस्पताल भवनहरू बनाउँदै आएका थिए। भवन निर्माण विभागको स्वीकृतिमा फरक–फरक डिजाइनमा बनाउँदा अस्पताल तथा स्वास्थ्य संस्थाको भवनको स्वरुप एकै ठाँउमा पनि फरक देखिन्थे। तर, अब अस्पतालको स्तर, शऒ्ढया संख्या र अन्य पूर्वाधार सबैमा एकरुपता आउने भएको छ।



भवनको बाहिरी र भित्री संरचनासँगै नयाँ डिजाइमा भवनका लागि आवश्यक जमिनलगायत अन्य पूर्वाधारबारे पनि स्पष्ट मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिने भएको छ। नयाँ डिजाइन अनुसार बनाइने सबै जिल्ला अस्पताल र स्वास्थ्य चौकी अपांगमैत्री हुने, बिरामी ओहोरदोहोर सहजता पार्न र्यािम्पको निर्माण गरिनुपर्ने, प्रयोगशाला तथा कर्मचारी कक्षलगायत कुरुवाका लागि समेत पर्याप्त ठाउँ हुने छ।

डा. आचार्यका अनुसार नयाँ डिजाइन अनुसार निर्माण हुने संरचनाको गुणस्तरको अनुगमन पनि हुने छ। विभागले जिल्ला अस्पतालको शऒ्ढया संख्या हिमाल, पहाड र तराइको फरक हुने भएकाले शऒ्ढया संख्याकै आधारमा अस्पताल भवनको डिजाइन तयार पारेको छ।

हिमाली क्षेत्रका लागि ३१ देखि ५० शऒ्ढयाको डिजाइन बनाएको छ भने पहाड र तराइमा ५१ देखि ७० शऒ्ढयाको डिजाइन गरेको छ। यसैगरी, १५ शऒ्ढयासम्मको अस्पतालका लागि पनि छुट्टै डिजाइन बनाइएको छ। १५ शऒ्ढयाका अस्पतालको डिजाइन अंग्रेजी अक्षर एल आकारको हुने छ।



पहाड र तराइमा बनाइने जिल्ला अस्पतालको डिजाइन हाल त्रिवि शिक्षण अस्पतालको मूल भवनको जस्तै छ। यस्ता क्षेत्रमा बनाइने अस्पताल भुईं तलासहित दुई तला अग्ला र चौडा हुने छ। हिमाली क्षेत्रका अस्पताल भने अंग्रेजी अक्षर टी आकारको एकातिर चौडा र अर्को तर्फ लामो हुने छ। अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको डिजाइन हिमाल र पहाडमा एउटै छ भने स्वास्थ्य चौकीको डिजाइन हिमाल, पहाड र तराइमा फरक छ।

प्राथमिक स्वास्थ्य केन्द्रहरूको डिजाइन भौगोलिक क्षेत्र अनुसार फरक फरक रहेको छ। हिमाल र पहाडमा १० शऒ्ढयासम्मका यस्ता केन्द्रका भवनको डिजाइन एउटै हुने छ भने र तराइमा फरक डिजाइनको हुने छ। हिमाल र पहाडमा बढी चौडा भवन बनाउन जग्गा उपलब्ध हुने सम्भावना कम हुने भएकाले थोरै चौडा तर लम्बाइ बढी भएको डिजाइन तयार गरिएको छ। तराइमा भने १५ शऒ्ढयाको भवन हुने छ।


यस्तै, स्वास्थ्य चौकीको डिजाइन पनि हिमाल पहाड र तराइ अनुसार फरक छ। अस्पताल र स्वास्थ्य केन्द्रभन्दा चौकी सानो हुने छ।

डा. आचार्यका अनुसार भूकम्पमा क्षतिग्रस्त जिल्लामा क्षति र आवश्यकताका आधारमा नयाँ संरचना निर्माण अघि बढ्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले विभिन्न जिल्लाका गरी कुल १ हजार ३८ स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन्। तीमध्ये ३ सय ५८ संस्था ध्वस्त छन् भने ६ सय ८० मा आंशिक क्षति भएको छ। भूकम्पबाट सर्वाधिक प्रभावित १४ जिल्लाका मात्र ३ सय २ वटा स्वास्थ्य संस्था ध्वस्त छन् भने ३ सय ७६ वटा क्षतिग्रस्त। क्षतिग्रस्त स्वास्थ्य संस्था पनि काम नलाग्ने गरी चर्किएका छन्।




माथेमा प्रतिवेदन पन्छाउन तीन अर्बको खेल

-तुफान न्यौपाने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको ‘चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ ले ६ महीना लगाएर तयार पारेको प्रतिवेदन १४ असार २०७२ मा प्रधानमन्त्री सुशील कोइरालालाई बुझायो ।
तत्काल सार्वजनिक गरेर कार्यान्वयनमा लैजानुको साटो प्रतिवेदन ३७ दिनसम्म मन्त्रिपरिषद्को सामाजिक समितिमा थन्क्याइयो । त्यसपछि अध्ययनका लागि भन्दै २० साउनमा ३० दिन समय दिएर राष्ट्रिय योजना आयोगका शिक्षा तथा स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ, स्वास्थ्य र शिक्षा सचिव रहेको उपसमिति बनाएर प्रतिवेदन जिम्मा लगाइएको छ । विना कारण एक महीना थन्क्याएर फेरि अर्को उपसमितिमा पन्छाउनुको एक मात्र उद्देश्य यो शैक्षिक सत्रमा प्रतिवेदन कार्यान्वयन नगर्नु रहेको देखिन्छ । 
चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि तथा काठमाडौं विश्वविद्यालय (केयू) का आंगिक तथा सम्बन्धनमा एमबीबीएस अध्ययन गराइरहेका १६ कलेजमध्ये केहीले प्रवेश परीक्षा (इन्ट्रान्स) शुरू गरिसकेका छन् । ढिलोमा दशैंसम्ममा सबै कलेजमा अध्ययन शुरू भइसक्छ । पुरानै कोटा र शुल्कमा नयाँ शैक्षिक सत्र थाल्दा कलेजहरूले विद्यार्थीबाट तीन अर्ब रुपैयाँभन्दा बढी असुल्न पाउँछन् । “अनेक बहाना गर्दै प्रतिवेदन पन्छाउनुमा यो बाहेक अरू कारण देखिएन”, कार्यदलका एक सदस्य भन्छन् । 

मेडिकल कलेजहरूको छटपटी 

एमबीबीएस संचालन गरेका १६ वटा मेडिकल कलेजमा २०७१ सालमा १९८१ विद्यार्थी थिए । यीमध्ये एक वर्षमा १०० भन्दा बढी विद्यार्थी भर्ना गर्ने कलेज ११ वटा छन् । अध्ययन शुल्क कलेजैपिच्छे फरक छ । उनीहरूले प्रति विद्यार्थी न्यूनतम रु.४० लाखदेखि अधिकतम रु.५५ लाखसम्म असुल्दै आएका छन् । कार्यदलको प्रतिवेदन लागू भए एउटा कलेजले बढीमा १०० विद्यार्थी र बढीमा रु.३५ लाख मात्र शुल्क लिनुपर्ने हुन्छ । त्यो अवस्थामा सयभन्दा बढी विद्यार्थी भर्ना गर्दै आएका ११ कलेजले ४९५ विद्यार्थी पनि गुमाउने छन् । 
अहिले असुलिरहेको न्यूनतम शुल्क रु.४० लाखकै दरमा हिसाब गर्दा पनि ४९५ विद्यार्थीबाट आउने रु.१ अर्ब ९८ करोड गुम्नेछ । बाँकी १४८६ विद्यार्थीलाई बढीमा रु.३५ लाखमा पढाउनुपर्दा थप रु.७४ करोड ३० लाख गुम्नेछ । दुवै रकम जोड्दा रु.२ अर्ब ७२ करोड ३० लाख हुन आउँछ । त्यसबाहेक, कलेजहरूले भर्ना, परीक्षा, काउन्सिल, पुस्तकालय, प्रयोगशाला आदिका नाममा असुल्दै आएको लाखौं रकम पनि विद्यार्थीले बुझउनुपर्ने छैन ।
“यो प्रतिवेदनलाई सधैंका लागि पन्छाउन त कसैले नसक्ला”, कार्यदलका एक सदस्य भन्छन्, “विभिन्न बहानामा एकाध महीना ढिलो गरेर दुई हजार विद्यार्थीलाई दुहुनो बनाउन चाहिं सक्ने देखियो ।” काठमाडौंमा मेडिकल कलेज सञ्चालन गर्न ठिक्क परेकाहरूको हितको लागि पनि प्रतिवेदन पन्छाउने चलखेल बढेको छ । 

काठमाडौंमा चार मेडिकल कलेज (मनमोहन मेमोरियल, नेपाल प्रहरी, पिपल्स डेन्टल र काठमाडौं नेशनल कलेज) सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा छन् । उता, कार्यदलले अबको १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ मेडिकल कलेज नखोल्न र एलओआई लिएकाहरू जिल्ला जान प्रोत्साहन गर्न लिजमा जग्गा वा कर छूट गरिदिनुपर्ने भनेको छ । त्यो नचाहनेलाई सरकारले उचित मुआब्जा दिएर तयार भएको पूर्वाधार किनिदिनुपर्ने सिफारिश गरेको छ । तर, कुनै पनि हालतमा काठमाडौं बाहिर जान नचाहने यी चार कलेज तत्काल सञ्चालन अनुमति लिने दौडमा छन् । यीमध्ये मनमोहन मेडिकल कलेजमा नेकपा एमालेका राजेन्द्र पाण्डेसहित अधिकांश केन्द्रीय नेताको सेयर छ । 
“मनमोहनलाई अनुमतिको बाटो खोलिदिएको भए यतिवेला प्रतिवेदन कार्यान्वयनको चरणमा पुग्थ्यो”, कार्यदलका एक सदस्य भन्छन्, “तर, कसैलाई फरक व्यवस्था नगर्दा प्रतिवेदन पन्छाउने दबाब बढेको देखिन्छ ।” 


सस्तोमा गुणस्तरीय शिक्षा 


‘विद्यार्थी भर्नामा शुल्क बुझउन सक्नेहरूका लागि योग्यताक्रम निर्धारण नहुँदै सीट सुरक्षित गरी राख्ने प्रवृत्तिका कारण क्षमतावान् र जेहेन्दार विद्यार्थी भर्नाबाट वञ्चित हुनुपर्ने अवस्था छ । सरकारले उपलब्ध गराएको सीमित सीटमा बाहेक महँगो शुल्क तिर्न असमर्थ बहुसंख्यक योग्य विद्यार्थीको लागि चिकित्सा शिक्षा दूरको विषय बन्दै गएको छ ।’
माथेमा प्रतिवेदनमा परेको यो वाक्यले पैसा हुनेहरू क्षमताविनै डाक्टर बन्न सक्ने मेडिकल शिक्षाको सबभन्दा खतरनाक विकृतिबारे बोलेको छ । गुणस्तरीय मेडिकल शिक्षाको प्रमुख बाधकको रूपमा औंल्याइएको यस्तो प्रवृत्ति रोक्न शुल्क र विद्यार्थी कोटा तोकिएको कार्यदल संयोजक डा. माथेमा बताउँछन् । उनका अनुसार, गुणस्तर कायम गर्न र मेडिकल शिक्षालाई सर्वसाधारणको पहुँचमा राख्न कार्यदलले तीन विधि सुझएको छ– साझ राष्ट्रिय प्रवेश परीक्षा, एक कलेजमा एक व्याचमा अधिकतम १०० विद्यार्थी र अधिकतम रु.३५ लाख शुल्क । एमबीबीएस र डेन्टल स्नातक तहको प्रवेश परीक्षाका लागि प्रस्तावित चिकित्सा शिक्षा आयोगले साझ प्रवेश परीक्षा सञ्चालन गर्नेछ । परीक्षाको उत्तीर्णाङ्क प्रतिशत ६० तोकिएको छ । 
स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिलाई निरन्तरता दिंदै सार्वजनिक मेडिकल कलेजले ५० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने व्यवस्थाले गरीब तर जेहेन्दार विद्यार्थीलाई वर्षेनि चिकित्साशास्त्र पढ्न अवसर दिनेछ । प्रवेश परीक्षा पास हुनेवित्तिकै एकमुष्ट रकम बुझउन सक्नेलाई भर्ना लिने तर राम्रो अंक ल्याए पनि एकमुष्ट रकम बुझाउन नसक्नेहरूको सीटमा अन्यले भर्ना पाइरहेको वेला अध्ययन अवधिभरमा अधिकतम रु.३५ लाख शुल्क तिर्न पाउने व्यवस्थाले पनि ठूलो राहत पुग्नेछ । कलेजहरूले मनपरी शुल्क असुल्दा विश्वविद्यालय र सीटीईभीटी जस्ता निकायले नियमन गर्न नसक्नुलाई कार्यदलले ‘गुणस्तरीय र समतामूलक चिकित्सा शिक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिने शुल्कको विषयमा हालसम्म औचित्यपूर्ण व्यवस्था गर्न नसकेको दुर्भाग्यपूर्ण अवस्था’ भनेको छ । 
प्रतिवेदनले न्यून आय भएका योग्य विद्यार्थीलाई चिकित्सा शिक्षामा अध्ययनको अवसर जुराउन विना धितो ब्यांक मार्फत सहुलियतपूर्ण ऋण दिन शैक्षिक कोष स्थापनाको सुझाव पनि दिएको छ । डेन्टल कलेजमा पनि बढीमा ५० जना विद्यार्थी भर्ना गर्नुपर्ने सिफारिशले गुणस्तर कायम गर्ने विश्वास गरिएको छ । मेडिकल कलेजहरू भने कार्यदलको सिफारिश कार्यान्वयन भए धेरै विद्यार्थी र थुप्रै रकम विदेशिने दाबी गर्दै आएका छन् । तर, प्रतिवेदन लागू भए विदेशिने विद्यार्थी बढ्ने होइन, घट्ने देखिन्छ ।
प्रतिवेदनले नेपालमै लिइने साझ प्रवेश परीक्षामा ६० प्रतिशत अंक अनिवार्य गरेको छ, विदेश पढ्न जानेका लागि पनि । “जान पनि यति कडा परीक्षा पास गर्नै पर्नेछ”, नाम उल्लेख गर्न नचाहने कार्यदलका ती सदस्य भन्छन्, “स्वदेशमै सस्तोमा गुणस्तरीय शिक्षा पाउने भएपछि विदेशिने कुरा पनि आउँदैन ।” 

निजीको जिम्मामा हुँदैन 

प्रतिवेदनले औंल्याएको गुदी कुरा हो– मेडिकल शिक्षा निजी क्षेत्रको मात्रै भरमा छाड्नुहुँदैन । कार्यदलले प्रतिवेदनको दर्जनौं ठाउँमा मेडिकल शिक्षामा सरकारी दायित्व स्मरण गराएको छ । जस्तो, ‘राज्यले उदार बजारमुखी अर्थतन्त्र अवलम्बन गरेदेखि स्वास्थ्य शिक्षण संस्थाहरूको संख्या र उत्पादनमा वृद्धि भए पनि आवश्यक नियन्त्रणको अभावमा चिकित्सा शिक्षाको गुणस्तरमा ह्रास आउने क्रम जारी छ ।’ प्रतिवेदनको अर्को एक ठाउँमा भनिएको छ– ‘चिकित्सा शिक्षामा निजी क्षेत्रको सहभागिताबारे थुप्रै अस्पष्टता र अन्योल छन्, यसमा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्दा त्यसको मार विद्यार्थी र गरीब बिरामीहरूलाई नै परेको छ ।’ 
कार्यदलमा सदस्य रहेका डा. भगवान कोइराला स्वास्थ्य शिक्षामा निजी क्षेत्रको भूमिकालाई नजरअन्दाज नगरी सरकारी योजना, संयोजन र अनुगमनको आवश्यकता औंल्याएको बताउँछन् । उनको बुझइमा, स्वास्थ्य सेवा र शिक्षाको योजनामा सरकारकै भूमिका अहम् हुनुपर्छ । चिकित्सा शिक्षामा सरकारले आफ्नो दायित्व स्पष्ट नगरेकोले पनि यो बढी आवश्यक भएको छ । पछिल्लो दशकमा यस क्षेत्रमा सरकारी लगानी र पहल दुवै घटेको छ । सरकार सञ्चालित मेडिकल कलेजहरूले पनि आफ्नो खर्च धान्न विद्यार्थीबाट असुल्ने शुल्कमै निर्भर हुँदै चर्को शुल्क तिर्न सक्नेका लागि सीट बढाउँदै ल्याएका छन् । 
कार्यदलले सरकारी शिक्षण संस्था विद्यार्थीको शुल्कबाटै आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भन्ने अवधारणालाई ‘प्रकारान्तरले सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने संवैधानिक व्यवस्था विपरीत र घातक’ भनेको छ । कार्यदल संयोजक माथेमा चिकित्सा शिक्षाको ड्राइभिङ सीटमा सरकार नै हुनुपर्ने बताउँछन् । “यो क्षेत्रमा निजी क्षेत्रको योगदानलाई कदर गर्नुपर्छ”, उनी भन्छन्, “तर, उनीहरूलाई साइड सीटमै बसाउनुपर्छ, हामीकहाँ भने उल्टो भइरहेको छ ।”
नेपालमा मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार विकास र अन्य खर्च गरी औसतमा करीब रु.१.५ अर्ब लगानी भएको हुन्छ । सञ्चालकहरूले बढीमा रु.५० करोड आफ्नै लगानी र बाँकी ब्यांकबाट ऋण लिन्छन् । वर्षमा १५० विद्यार्थी पढाएर ५० लाखका दरले शुल्क असुल्दा पाँच वर्षमा ३.५ अर्ब उठाउँछन् । यसरी नेपालका मेडिकल कलेज संचालकहरू व्यापार गरिरहेको कार्यदलका एक सदस्य बताउँछन् । उनका अनुसार रु.३५ लाख शुल्कमा वर्षमा १०० विद्यार्थी पढाउँदा पनि १० वर्षमा लगानी उठ्छ । यसबारे पनि कार्यदल बोलेको छ । उसको प्रतिवेदन भन्छ– ‘लगानीकर्ताहरूले सानो रकमबाट व्यवसाय शुरू गरी विद्यार्थीकै पैसाबाट छिटो र धेरै नाफा कमाउने उद्देश्य राख्यो भने त्यो कलेजले कहिल्यै गुणस्तर दिन सक्दैन ।’ 

२० हजार डाक्टरलाई के गर्ने ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, एक हजार जनसंख्यालाई एक चिकित्सक भए पुग्छ । अहिले नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ छ भने वृद्धिदर वार्षिक १.५ प्रतिशत । यस हिसाबले नेपालको जनसंख्या सन् २०३१ सम्ममा तीन करोड ५५ लाख ३८ हजार २५२ पुग्छ । त्यो जनसंख्याका लागि ३५ हजार ५३८ चिकित्सक चाहिन्छन् । जुलाई २०१५ सम्ममा नेपाल मेडिकल काउन्सिलमा १५ हजार ६६६ चिकित्सक दर्ता छन् । वार्षिक दुई हजार चिकित्सक देशभित्रै उत्पादन भइरहेको हिसाबले आगामी १६ वर्षमा थप ३२ हजार चिकित्सक बन्नेछन् । 
नयाँ मेडिकल कलेजहरूबाट थप ८ हजार र विदेश अध्ययन गरेर १० हजार चिकित्सक आउने अनुमान छ । त्यसबीचमा करीब एक हजार सेवा निवृत्त, १० हजार जना विदेश पलायन हुने अनुमान गर्दा पनि नेपालमा ५४ हजार ६६६ चिकित्सक हुनेछन् । आवश्यकता भने ३५ हजार ५३८ जनाको मात्र । त्यो वेला बाँकी करीब २० हजारलाई के गर्ने ? “आगामी १५—१६ वर्षमा लाखौं लगानी गरेर डाक्टर बनेका हजारौंलाई बेरोजगार राख्नुभन्दा अहिलेदेखि नै गुणस्तरीय डाक्टर उत्पादन गर्नु बुद्धिमानी हुन्छ”, कार्यदल सदस्य कोइराला भन्छन् ।