Pages

Wednesday, September 21, 2011

बिरामीले खाने खानामा झिँगा र भुसुना

प्रवीण ढकाल

image

भोजनालयको भान्छाघर असाध्यै फोहोर, अचारमा भुइँ पुछ्ने टालो, खोकनाको तोरीको तेलमा सस्र्यु

नयाँ पत्रिका

काठमाडौं, ३ असोज

दुई सातादेखि बजार अनुगमन तीव्र पारेको वाणिज्य विभागले मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल परिसरमा रहेको शिव भोजनालयमा अनुगमन गरेको छ । विभागले भोजनालयको भान्छाघरमा रहेको खानामा झिँगा र भुसुना भन्किरहेको फेला पारेको थियो ।

'अस्पतालको भोजनालय अनुगमन क्रममा बिरामीलाई खुवाइने जाउलोमा भुइँबाट चुहिएर चियाको थोपा खसिरहेको थियो,' विभागका खाद्य निरीक्षक कमलबहादुर थापाले भने, 'भोजनालयमा पाकेको खाना स्वस्थकर पाइएन ।'

अनुगमनमा हिँडेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले अस्पतालको भोजनालय हेर्दै बान्ता हुनेखालको रहेको बताए । उनका अनुसार भान्छामा जताततै फोहोर छरिएका, खाना बनाउने भाँडा असाध्यै फोहोर र दुर्गन्घित भेटिए । त्यस्तै, क्यान्टिनमा राखिएका अचारको भाँडोमा टेबुल तथा भान्छा पोछ्ने टालो फेला परेको थियो ।

विभागका निरीक्षक थापाका अनुसार भोजनालयवरिपरि ढलको पानी जमेको, बाहिरको फोहोर र गन्ध भान्छाघरसम्म आउने गरेको पाइएको थियो ।

यसैगरी, भोजनालयमा पकाइएका चाउचाउ, चाउमिन तथा खाना ५-६ पटकसम्म तताउने गरेको र बिहानदेखि बेलुकासम्म एउटै भाँडामा चिया पकाउने गरिएको पाइएको थियो ।

भोजनालयको खाना खाँदा चिकित्सकसमेत बिरामी परेपछि उनीहरूले भोजनालयमा खाना खान छोडेको अस्पताल कर्मचारी युनियनले जनाएको छ । खाना गुणस्तरहीन भयो भनी जानकारी गराउँदासमेत अस्पताल प्रशासनले बेवास्ता गरेको युनियनका सहसचिव नवराज धितालले बताए ।

क्यान्टिनमा फोहोर देखिएपछि विभागले अस्पतालका निर्देशक डा. बुलन्द थापासँग सोधपुछ गरेको थियो । तर, निर्देशक थापाले भोजनालयको कार्यक्षेत्र आफ्नो नभई न्याम्सको भन्दै पन्छिए । उनले कार्यक्षेत्र नभएको भनि पन्छिएपछि न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलसँग टोलीले सोधपुछ गरेको थियो ।

उपकुलपति पोखरेलले अस्पतालको क्यान्टिन तत्काल सफा गरी स्वस्थ र गुणस्तरीय खाना खुवाउने बताए । विभागले क्यान्टिनको विषयमा तीन दिनभित्र स्पष्ट जानकारीसहितको विवरण लिएर विभागमा आउन भोजनालय सञ्चालक शिव गौतम र दीनानाथ रेग्मीलाई पत्र काटेको छ ।

यसअघि टोलीले चाबहिलको ओम हस्पिटल तथा रिसर्च सेन्टर र मेडिकेयर अस्पतालको क्यान्टिनमा अनुगमन गरेको थियो । यसैगरी, जिल्ला प्रशासन कार्यालय ललितपुर अनुगमन टोलीले भैँसेपाटी र खोकनाको तेल मिलको अनुगमन गरेको छ । उसले भैँसेपाटीमा रहेको रुद्रायणी तेल मिल र खोकनास्थित सिकाली बहुउद्देश्यीय सहकारी तेल मिलको अनुगमनबाट तेलमा सस्र्यु मिसाइएको भेेटेको हो ।