Pages

Tuesday, April 5, 2011

क्षयरोगीका लागि आवासीय सुविधासहितको उपचार केन्द्र

काठमाडौं, २१ चैत

image

सरकारले क्षयरोगका बिरामीको प्रतिरोधी उपचारका लागि देशका १० स्थानमा आवासीय सेवासहित सुरक्षित उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । क्षयरोगको बहुऔषधि सेवन गरीरहेका जीर्णखालका क्षयरोगीहरूलाई राष्ट्रिय क्षयरोग केन्द्रले ग्लोबल फन्डको आर्थिक सहयोगमा आवासीय उपचार केन्द्रमा राखेर विशेष उपचार सुविधा दिन लागिएको हो ।

त्यस्ता केन्द्रमा उपचार गर्ने बिरामीहरूलाई निःशुल्क रूपमा खानेबस्ने सुविधासमेत दिने व्यवस्था सरकारले गर्नेछ । राष्ट्रिय क्षयरोग केन्द्र तथा सार्क क्षयरोग एवं एचआइभी एड्स केन्द्रका निर्देशक डा. काशीकान्त झाले बहुऔषधि सेवन गर्ने तिरस्कृतहरूको सुरक्षा र हितका लागि देशका १० स्थानमा आवासीय उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको बताए ।

'बहुऔषधि सेवन गरिरहेकाहरूलाई छरछिमेक तथा स्वयं घरमा समेत नराम्रो व्यवहार गर्ने तथा तिरस्कार गर्ने गरेको पाइएको छ,' उनले भने, 'त्यस्ता बिरामीहरूका लागि आवासीय व्यवस्थासहित सुरक्षित उपचार गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।'

क्षयरोगको जटिल उपचार गराइरहेका त्यस्ता बिरामीहरूको सुविधाका लागि सरकारले हरेक विकास क्षेत्रमा दुई/दुई वटा आवास गृह स्थापना गर्न लागेको निर्देशक झाले बताए । 'केन्द्रले हरेक क्षेत्रीय कार्यालयलाई दुईवटा आवासीय गृह बनाएर उपचार गर्ने व्यवस्था मिलाउन आवश्यक सहयोग गर्नेछ' उनले नयाँ पत्रिकासित भने 'क्षेत्रले बिरामीको चाप बढी भएको क्षेत्रमा वा औषधिलगायतका उपचार सेवा पुर्‍याउन सहज हुने स्थानमा आवसीय सेवासहितको केन्द्र स्थापना हुनेछ ।' उनका अनुसार बहुऔषधि लिइरहेका क्षयरोगीको संख्या बढी भएको नेपालगन्जमा इन्टरनेसलन नेपाल फेलोसिप नामक संस्थाले आवासीय सेवासहितको उपचार केन्द्र खोलिसकेको छ ।

सन् २०१५ सम्ममा नेपालबाट क्षयरोग उन्मूलन गर्ने विश्व स्वास्थ्य संगठन र सरकारको घोषित नीतिअनुरूप क्षयरोग उपचार पद्धतिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारले यस्तो व्यवस्था गरेको केन्द्रले जनाएको छ । चिकित्सकहरूका अनुसार बहुऔषधि लिनुपर्ने अवस्थाका क्षयरोगी जटिल अवस्थामा हुन्छन् । पहिला सामन्य क्षयरोग लाग्दा समयमा औषधि नलिदा, अन्य गलत औषधि खाँदा, खाइरहेको औषधिलाई बीचमै छाड्दा वा कमजोर गुणस्तरको औषधि खाँदा समस्या जटिल हुने गर्दछ । 'बहुऔषधि लिनुपर्ने बिरामीहरूलाई स्वास्थ्यकर्मी वा चिकित्सकहरूको निगरानिमा समय मिलाएर औषधि दिनुपर्ने हुन्छ' निर्देशक झाले भने 'त्यस्ता बिरामीलाई घरपरिवारमा समेत हेला गर्ने भएकाले आवासीय केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानिमा उपचार गर्न सरकारले नयाँ व्यवस्था गरेको हो ।'

सरकारी तथ्यांकअनुसार देशभरका ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य तथा उप-स्वास्थ्य चौकीमा डट्स क्लिनिक सञ्चालनमा ल्याई निःशुल्क औषधि वितरण भइरहेको छ । मुलुकका ४ हजार २ सय २० स्वास्थ्य संस्थामा १ हजार १ सय २२ डट्स उपचार केन्द्र तथा ३ हजार ९८ उपकेन्द्रमा क्षयरोगको औषधि पुगिरहेको छ । ति सम्पूर्ण केन्द्रहरूमा उपचार गर्न आइरहेका बिरामीहरूमध्ये झन्डै तीन प्रतिशतमा जीर्णखालको क्षयरोग देखिएको छ । साथै १५ हजार ४ सय ६८ जनाको खकारमा क्षयरोगको सर्ने खालको किटाणु देखिएको तथ्यांकले देखाएको छ ।

'विस्तारै जीर्णखालका नयाँ क्षयरोगीको संख्यामा वृद्धि भइरहेको छ,' निर्देशक झाले भने 'यदि उनीहरूलाई समयमा नै समुदायबाट छुट्टै स्थानमा लगेर उपचार गरिएन भने थप समस्या उत्पन्न हुनसक्ने भएकाले आवासीय केन्द्रको आवश्यकता परेको हो ।' उनका अनुसार यदि देशभरमा रहेका सम्पूर्ण त्यस्ता बिरामीलाई ति केन्द्रमा ल्याएर उपचार गर्न सक्ने हो भने सन २०१५ सम्ममा नेपालबाट पूर्णरूपमा क्षयरोग उन्मूलन हुनेछ । उनले देशभरमा लगभग दुई सयको हाराहारीमा यस्ता बिरामी रहेको बताए ।