Pages

Friday, March 2, 2012

मन्त्रीपुत्रको अस्पतालमा सरकारीबाट बिरामी पठाइन्छ

-प्रवीण ढकाल

काठमाडौँ, १८ फागुन । मापदण्डविपरीत सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोका छोरा राघवेन्द्र महतोको शिवज्योति अस्पताल तथा रिसर्च सेन्टरमा राजधानीका ठूला सरकारी अस्पतालबाट बिरामी पठाइने गरेको खुलासा भएको छ । स्वास्थ्यमन्त्री महतो स्वयंले पदीय दुरुपयोग गरी छोराको अस्पताल पोस्न सरकारी अस्पताललाई प्रयोग गरेका हुन् ।
स्रोतका अनुसार उपचारका लागि सरकारी अस्पतालमा पुगेका थुप्रै बिरामीलाई त्यहाँ सेवा–सुविधा नभएको बहानामा शिवज्योति अस्पतालमा ‘रिफर’ गरिन्छ । शिवज्योतिमा सबैभन्दा धेरै वीर अस्पताल र त्यसपछि क्रमशः त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालबाट बिरामी पठाउने गरिएको स्रोतले बतायो ।
मन्त्री महतोको निर्देशनमा उनीनिकटका व्यक्तिले सरकारी अस्पतालको आकस्मिक कक्षमा कार्यरत ‘प्यारामेडिक्स’देखि चिकित्सकसम्मलाई शिवज्योतिमा बिरामी रिफर गर्न दबाब दिँदै आएका छन् । आइसियूका बिरामी शिवज्योतिमा नपठाए अन्यत्र सरुवा गर्ने धम्कीसमेत उनीहरूले चिकित्सक–कर्मचारीलाई दिने गरेको स्रोतको दाबी छ ।
‘केही अस्पतालमा मन्त्रीका आफ्नै मानिस कार्यरत छन्, उनीहरूले सोझै शिवज्योतिमा बिरामी पठाउँछन्,’ स्रोतले भन्यो, ‘आफ्ना मानिस नभएका सरकारी अस्पतालमा मन्त्रीनिकटका मानिस गएर दबाब दिन्छन् ।’
गत कात्तिकबाट सञ्चालनमा आएको शिवज्योति अस्पतालमा सुरुदेखि नै सरकारी अस्पतालबाट विभिन्न बहानामा बिरामी पठाउन थालिएको हो । ‘धेरैजसो आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी सरकारी अस्पतालबाट यहाँ आउने गरेका छन्,’ शिवज्योति अस्पताल स्रोत भन्छ, ‘मुटु, हाडजोर्नी, श्वासप्रश्वासका बिरामी तथा बालबालिका अत्यधिक सङ्ख्यामा पठाइन्छन् ।’

सम्पादकीय टिप्पणी
छोराले खोलेको अस्पताललाई आवश्यक पूर्वाधारबिना नै सञ्चालन अनुमति दिलाएर स्वास्थ्यमन्त्री राजेन्द्र महतोले पहिलो गल्ती गरेका थिए । गल्ती सच्याउनुको साटो सरकारी अस्पतालका बिरामीलाई समेत छोराकै अस्पतालमा पठाउने मेसो मिलाएर उनले आफ्नो पदीय हैसियतको हदैसम्म दुरुपयोग गरेका छन् । यस्ता मन्त्रीबाट देशले के अपेक्षा गर्ने ?

शिवज्योति अस्पतालमा सबैभन्दा बढी वीर अस्पतालको आकस्मिक उपचारकक्षमा कार्यरत अहेव अरुण महतोले बिरामी पठाउने गरेको स्रोतको भनाइ छ । अहेव महतोले वीरमा आएका बिरामीलाई अस्पतालमा आइसियू र भेन्टिलेटर खाली हुँदासमेत नभएको र बेडको पनि अभाव भएको भन्दै बिरामी पठाउने गरेका छन् । आफूलाई मन्त्री महतोको भतिजो बताउँदै अन्य कर्मचारीलाई दबाब दिएर पनि उनले बिरामी पठाउन लगाउने गरेको स्रोत बताउँछ ।
तर, अहेव महतो यो कुरा स्विकार्दैनन् । वीरको इमर्जेन्सीमा आफू एक्लो मधेसी कर्मचारी भएकाले सबैले हेपेको उनको भनाइ छ । ‘म यहाँको प्यारामेडिक्स हुँ, मलाई बिरामी पठाउने अधिकार छैन,’ उनले भने, ‘बरु पिजी पढिरहेका डाक्टरहरूले भने त्यहाँ बिरामी पठाउने गरेका छन् ।’
स्रोतका अनुसार महतोको अस्पतालमा हालै आगोले पोलेकी एक वृद्धालाई वीरबाट पठाइएको थियो । आगोले ४० प्रतिशत शरीर जलेकी ती वृद्धालाई शिवज्योति अस्पतालको आइसियूमा १० दिनदेखि राखिएको छ । जब कि अस्पतालमा आगोले पोलेको उपचार गर्ने विशेषज्ञ चिकित्सक नै छैनन् । अस्पतालकै एक कर्मचारीले आगोले पोलेको उपचार गर्ने ‘बर्न, प्लास्टिक’ विशेषज्ञ नरहेको स्वीकार गरेका छन् । ती कर्मचारीका अनुसार ६ बेड आइसियू भएको अस्पतालमा जम्मा चारवटा मात्र भेन्टिलेटर छन् ।
सरुवारोग अस्पतालमा कार्यरत एक कर्मचारीले पनि मन्त्रीको छोराको अस्पतालमा बिरामी पठाउने गरिएको नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘मन्त्रीको छोराको अस्पताल हो, बिरामी पठाउनुहोला भन्दै केही मानिस आएका थिए,’ ती कर्मचारीले भने, ‘बिरामी नपठाए सरुवा गराइदिन्छौँ भनेर गए ।’ उनका अनुसार अस्पतालबाट कात्तिकयता २० भन्दा बढी बिरामी पठाइएको छ ।
मन्त्री महतोका पिए उपेन्द्र महतोले भने शिवज्योति अस्पतालमा सरकारीबाट बिरामी पठाइएकोबारे आफू र मन्त्रीलाई कुनै जानकारी नभएको दाबी गरे ।

Thursday, March 1, 2012

दस मिनेट तीन घन्टा हुँदा …

-प्रवीण ढकाल

माघ महिनाको अन्तिम साता स्वास्थ्य क्षेत्रमा केमिकल तथा मेडिकल उपकरण आपूर्ति गर्ने सङ्घसंस्थाको सङ्गठन केमिकल तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान)को सातौँ वार्षिक साधारणसभाको कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि थिए स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतो । मन्त्री महतोले ‘कार्यक्रममा बस्न समय छैन १० मिनेटभन्दा बढी बस्दिन’ भनेकाले आयोजकले कार्यक्रमलाई छिटो र छोटो बनाउने प्रयास गरिरहेका थिए ।
कुपन्डोलको होटल हिमालयमा भएको कार्यक्रममा केही स्वास्थ्य पत्रकार, अस्पतालका चिकित्सक र केमसानका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । कार्यक्रमको हलमा प्रवेश नगर्दै मन्त्री महतो ‘मलाई अर्को स्थानमा जानुपर्नेछ, कार्यक्रम छोटो बनाउनुहोला है’ भन्दै हलभित्र प्रवेश गरेका थिए । केमसानले पनि मन्त्रीको इच्छा अनुसार नै कार्यक्रमलाई हतारमा सञ्चालन गर्यो, तर जब कार्यक्रममा नेपालमा मेडिकल सामग्री तथा केमिकलको वार्षिक कारोबार १० अर्ब रुपियाँभन्दा बढी छ भन्ने कुरा आयो, मन्त्री महतोको समय बढ्दै गयो । हतार भएका मन्त्री महतो कार्यक्रममा तीन घन्टाभन्दा बढी बसे ।
केमसानका अध्यक्ष धीरज थपलियाले नेपालमा मेडिकल सामग्रीको कारोबार १० अर्ब रुपियाँभन्दा बढी रहेको र स्वास्थ्यका उपकरणमा लगाइएको मूल्य अभिवृद्धि कर अव्यावहारिक भएको भन्दै यसलाई व्यावहारिक बनाउन मन्त्रीसमक्ष माग गरे । अध्यक्ष थपलियाका माग र कारोबारको विषयमा जवाफ दिँदै मन्त्री महतोले भने ‘ए, मेडिकल उपकरण तथा सामग्रीको कारोबार त ठूलै रहेछ, यति धेरै होला भन्ने त मलाई लागेकै थिएन त ।’ मन्त्री महतोको कुरा सुनेर हलमा भएका सबै हाँसे । उनले पनि सबैको हाँसोमा हाँसो थप्दै यति धेरै कारोबार भएको यो व्यवसायमा किन चासो नदिएको त भन्दै छेवैमा रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवद्र्धन प्रधानलाई केमसानको विषयमा सबै बुझेर आफूलाई बताउन भनिहाले ।
मन्त्री महतोले पनि कारोबार रकमलाई बारम्बार जोड दिँदै भाषण गरेपछि हलमा बसेर कुरा सुनिरहेका मानिस भने ‘ठूलो कारोबार भएकाले होला मन्त्रीको पनि राम्रैसँग ध्यान खिंचेछ’ भन्दै कुरा गरिरहेका थिए । पत्रकारको कुर्सीमा बसेका म लगायत केही साथी पनि मन्त्रीको भाषणमाथि गफ गर्न बाध्य भयौँ ।


छोटो समय भएका मन्त्रीले झन्डै सात मिनेट जति भाषण नै गरे । उनको भाषणमा अधिकांश समय आर्थिक कुरा नै बढी आए । भाषण सकिएपछि ‘अब मन्त्री निस्कन्छन्’ भन्ने अड्कल काटेका मानिस मन्त्री पुनः कुर्सीमा गएर बसेपछि फेरि हाँसे । पुनः कार्यक्रम सञ्चालन भयो । सञ्चालकले मन्त्रीको भाषण सकिएलगत्तै एकदुई मानिसलाई भाषण गराई कार्यक्रम सके र ककटेल पार्र्टीको सुरुआत गरे । कार्यक्रम सकिएपछि ‘मन्त्री अबचाहिँ निस्कने भए’ भनेर आयोजकहरु मन्त्रीको पछाडि लाग्दै भ¥याङ छेउसम्म पनि पुगे तर मन्त्री सरासर ककटेल पार्र्टी भएको अर्को कक्षमा प्रवेश गरेपछि आयोजक लगायत हामी सञ्चारकर्मी छक्क पुराऔं । उनले ककटेल पार्र्टीमा तातोपानी मगाएर खाएपछि कार्यक्रम हलका केही साथीले ‘सायद मन्त्रीलाई भोक लागेछ क्यार खाएर मात्र जान खोजेछन्’ भन्ने ठानेर उनलाई खाना खान भने तर खाएनन् ।
पानी मात्र खाएर झन्डै तीन घन्टा बिताएका मन्त्रीले लामो समयसम्म मेडिकल सामग्री नेपालमा कसरी आउँछ, कस्ता सामग्री आउँछन्, खास कारोबार कस्तो हो भनेर केमिकल तथा मेडिकल सामग्री आयात गर्ने भनेर व्यापारीसित जिज्ञासा लिए । मानिसहरु ‘मन्त्रीको समय त लामै रहेछ नि’ भनेर अनेकथरी कुरा गरिरहेका थिए । हामीले मन्त्रीको घडी बन्द भएको त होइन भनेर ठट्टा गर्न भ्यायौँ । त्यो दस अर्ब, दस मिनेट र तीन घन्टाको अर्थ बुझ्न भने हामीलाई साह्रै गाह्रो भयो ।