Pages

Sunday, August 14, 2011

वीरका निर्देशकबाट तीन करोड ८५ लाख उठाउन निर्देशन

प्रवीण ढकाल
image

निर्देशक डा. बुलन्द थापाले विभिन्न पदमा नियमविपरीत नियुक्ति गरेको र अधिकार बाहिर गएर पूर्वाधार निर्माण गरी व्ययभार थपेको भन्दै पैसा तिराउन सतर्कता केन्द्रको निर्देशन

नयाँ पत्रिका

काठमाडौं, २८ साउन

राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालका निर्देशक डा. बुलन्दबाट तीन करोड ८५ लाख ७९ हजार चार सय रुपैयाँ असुल गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स)का उपकुलपतिलाई निर्देशन दिएको छ । थापाले गत आर्थिक वर्षमा सो रकम नियमिविपरीत खर्च गरेको केन्द्रको ठहर छ ।

अस्पतालका निर्देशक डा. थापाले नियमविपरीत विभिन्न पदमा नियुक्ति गरेको तथा आफ्नो अधिकार क्षेत्र बाहिर गएर भौतिक पूर्वाधार निर्माण गरी अस्पताललाई ठूलो व्ययभार थपेको केन्द्रले ठहर गरेको छ । केन्द्रले न्याम्सका उपकुलपति डा. दामोदर पोखरेललाई कानुनबमोजिम निर्देशक थापाबाट सो रकम असुल गर्न निर्देशन दिएको हो ।

'अस्पतालको निर्देशकबाट विभिन्न पदमा नियमविपरीत ज्यालादारी वा इन्सेन्टिभमा कर्मचारी भर्ना गर्दा अस्पताललाई ठूलो व्ययभार थपिएको र यसरी कानुनी आधारविना भएको खर्च कानुनबमोजिम असुलउपर गरी आइन्दा हचुवाको भरमा कर्मचारी भर्ना गर्ने कार्य बन्द गर्नुपर्नेछ,' केन्द्रद्वारा जारी निर्देशनमा भनिएको छ । यसअघि निर्देशक थापाले अनियमितता गरेको आरोपसहित कर्मचारीले केन्द्रमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सतर्कता केन्द्रले २ देखि ८ साउनसम्म अस्पतालको स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदनले अस्पतालमा नियमविपरीत कार्य भइरहेकाले उपकुलपतिले नियमअनुसार कारबाही अगाडि बढाउन सक्रिय भूमिका खेल्न भनेको छ । बिहीबार उपकुलपति पोखरेललाई बुझाइएको प्रतिवेदनको बोधार्थ स्वास्थ्य सचिव डा. सुधा शर्मालाई पनि दिइएको छ ।

प्रतिवेदनमा अस्पताल सुधारका लागि ३१ बुँदे निर्देशन र १० वटा सुझाब दिइएको छ । अधिकांश निर्देशन र सुझाब अस्पतालमा नियमविपरीत गरिएको कर्मचारी भर्ना, भौतिक पूर्वाधार निर्माण र खरिद प्रक्रियामा केन्दि्रत छन् ।

अस्पतालको आइसियुमा सित्तैमा बिरामी राख्ने गरेको तथा प्रहरीद्वारा खोजी भइरहेका व्यक्तिलाई आइसियुमा राखेर निःशुल्क सेवा दिने गरेकाले नियमअनुसार गर्न पनि निर्देशन दिएको छ । अस्पतालले चार वर्षदेखि आर्थिक प्रतिवेदन नबुझाएकाले तीन महिनाभित्र प्रतिवेदन पेस गर्न, मेडिकल स्टोरमा म्याद नाघेका औषधि रहेको र नियमपूर्वक ती औषधिको टुंगो लगाउन, आर्थिक प्रशासनलाई चुस्त पार्न, उपकुलपतिलाई आफ्नो अधिकार पूर्ण रूपमा प्रयोग गर्न पनि केन्द्रले निर्देशन दिएको छ । आवास सुविधालाई व्यवस्थित बनाउन, बिरामीलाई बेहोस बनाउने औषधि र अक्सिजनका लागि टेन्डरबाट गर्न, अस्पताल स्थापना भएको एक सय २२ वर्षसम्म जिन्सी खाता निरीक्षण नगरेकाले त्यसको विवरण तत्काल अद्यावधिक गर्न, अस्पतालको नाममा काठमाडौंको दुई हजार एक सय रोपनी जग्गासहित देशभरमा रहेका कुल तीन हजार पाँच सय रोपनी जग्गाको हिसाब राख्न निर्देशन दिएको छ ।

अस्पताल कर्मचारी युनियनले निर्देशक डा. बुलन्द थापाले अनियमित ढंगले एक सय ५८ जना कर्मचारी नियुक्ति गरेको तथा निर्माण कार्यमा आफ्नो अधिकार बाहिर गएर लाखौँ खर्च गरी अस्पताललाई करोडौँ क्षति पुर्‍याएकाले असुल गराउन केन्द्रमा उजुरी दिएको थियो । निर्देशकले नियम कानुन मिची अस्पतालमा कर्मचारी भर्ती गरेपछि बाध्य भएर छानबिनका लागि गुहार्नुपरेको युनियनका सचिव दीपक मुडभरीले बताए । 'निर्देशकले जथाभावी कर्मचारी नियुक्ति गरेकाले असारमा वीरका कर्मचारीलाई तलब खुवाउन झन्डै एक करोड ४० लाख अपुग भयो,' मुडभरीले भने ।

निर्देशक थापाले भने आफूले थोरै पारिश्रमिक दिएर भोलेन्टियर नियुक्त गरेको बताए । विधानतः स्थायी नियुक्ति गर्ने अधिकार सेवा अयोगलाई र बढीमा ६ महिनाका लागि करार नियुक्तिको अधिकार उपकुलपतिलाई मात्र छ । यसका साथै निर्देशकले अस्पतालमा बढीमा एक लाखसम्मको मात्र खर्च गर्न पाउने अधिकार छ । निर्देशक थापाले स्याम्पल ब्लड कलेक्सन सेन्टर, बायोडाजेस्टर प्लान्ट र न्युक्लियर मेडिसिन युनिटलगायतका भौतिक पूर्वाधारहरू निर्माण गरेका थिए ।