Pages

Saturday, January 22, 2011

डिडिसीको दूध पानीबराबर

image

सीताराम र आधुनिक डेरीका दूध गुणस्तरहीन भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा हालेको छ । तर, सर्वसाधारणले बढी विश्वास गरेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले गुणस्तरीय दूध बिक्री गरिरहेको छैन । पानीजस्तो दूध बेचेर उपभोक्ता ठगेको भन्दै विभागले संस्थानविरुद्ध पनि जिल्ला प्रशासनमा मुद्दा हालेको छ ।

काठमाडौं, ७ माघ : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान -डिडिसी) को दूध नै गुणस्तरहीन भएको ठहर गर्दै सरकारी निकायले नै मुद्दा हालेको छ । डिडिसीको दूध र पानी उस्तैउस्तै भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालेको हो ।
डिडिसीले निलो रंगको पोलिथिनमा प्याक गरेको दूध खाद्य प्रविधि विभागले परीक्षण गर्दा न्यूनतम मात्रामा हुनुपर्ने चिल्लो पदार्थ र दुग्ध ठोस पदार्थ कम पाइएको थियो । चिल्लो र ठोस नभएको दूध पानीबराबर हुने विभागका सहप्रवक्ता नवराज दाहालले बताए । पानीलाई दूधको रूपमा बेचेर उपभोक्ता ठगेको भन्दै मुद्दा हालिएको हो ।
विभागले संस्थानविरुद्ध खाद्य ऐन ०२३ अनुसार कारबाही गर्न प्रशासनमा मुद्दा हालेको हो । सो ऐनअनुसार संस्थान तथा सञ्चालकलाई एकदेखि दुई हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र रिजालले विभागका खाद्य निरीक्षकले संस्थानद्वारा उत्पादन गरिएको 'डिडिसी'को आधा लिटरको दूध मापदण्डविपरीत पाएको भन्दै मुद्दा परेको बताए । उनले भने, 'संस्थानको उत्पादनमा तोकिएको मापदण्ड पूरा नगरेको पाइएकाले कानुनी कारबाहीका लागि विभागले मुद्दा हालेको छ ।'
विभागका अनुसार दूधमा चिल्लो पदार्थ तीन प्रतिशत र दुग्ध ठोस पदार्थ आठ प्रतिशत हुनुपर्छ । तर, विभागका खाद्य निरीक्षकले परीक्षण गर्दा डिडिसीको निलो प्याकेटको दूधमा चिल्लो पदार्थको मात्रा २.६७ प्रतिशत र ठोस पदार्थ ७.६३ प्रतिशत मात्र पाइएको थियो ।
विभागका सहप्रवक्ता दाहालका अनुसार डिडिसीको निलो प्याकेटको दूधमा फ्याट, भिटामिन र खनिज कम छ । 'दूधमा ती पदार्थको मात्रा कम छ भने त्यो दूधमा पानीको मात्रा अत्यधिक छ भन्ने प्रस्ट हुन्छ,' उनले भने, 'दूधमा हुनुपर्ने न्यूनतम मापदण्ड पनि नपुगेका त्यस्ता दूध पिउनु र पानी पिउनुमा खासै फरक पर्दैन । यो त सरासर आमजनतालाई ठग्ने काम भयो ।'
उनले दूधमा धेरै मात्रामा पानी मिसाएर दूध बिक्री गरेको आरोपमा संस्थानविरुद्ध प्रशासनमा मुद्दा हालिएको बताए । विभागका अनुसार प्रशोधित दूध भन्नाले आंशिक रूपमा दूधको चिल्लो झिकी वा नझिकी वा दूधको चिल्लोरहित दुग्ध ठोस पदार्थ घोली वा नघोली दूधको चिल्लो तीन प्रतिशत र दूधको चिल्लोबाहेक दुग्ध ठोस पदार्थ आठ प्रतिशतमा घटी नभएको तथा निरोगन प्रक्रिया वा जीवाणु हनन प्रक्रिया सम्पन्न भएको हुनुपर्छ ।
तर, संस्थानले सो मापदण्ड पूरा नगरी न्यून गुणस्तरको दूध बिक्री गरी आमजनतालाई पानीसरहको दूध बिक्री गरेकोले कारबाहीको माग गर्दै मुद्दा परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । 'संस्थानविरुद्धको मुद्दामा प्रशासनले अध्ययन गरिरहेको छ,' उनले भने ।
संस्थानविरुद्ध प्रशासनमा मुद्दा परेको कुरालाई स्वयं संस्थानका महाप्रबन्धक कृष्णगोपाल श्रेष्ठले पनि स्वीकार गरेका छन् । उनले संस्थानले उत्पादन गरेको दूध निम्न गुणस्तरको रहेको भन्दै विभागले प्रशासनमा मुद्दा हालेको बताए । 'मैले संस्थानमा जिम्मेवारी लिएको भर्खर एक महिनाजति भएको छ,' उनले भने, 'तर संस्थानविरुद्ध पहिले नै मुद्दा परेको रहेछ ।' उनले संस्थानमा अत्याधुनिक उपकरण र प्रयोगशाला हुँदाहुँदै पनि केही त्रुटिका कारण समस्या भएको हुन सक्ने बताए ।


म भर्खर आएको छु, सुधार हुँदै छ
महाप्रबन्धक, कृष्णगोपाल श्रेष्ठ, दुग्ध विकास संस्थान


निम्न गुणस्तरको दूध उत्पादन गरेको आरोपमा संस्थानविरुद्ध जिल्ला प्रशासनमा मुद्दा परेको छ, सरकारी स्वामित्वकै संस्थानबाटै सर्वसाधारणमाथि ठगी किन भइरहेको छ ?
यो त पाँच/६ महिना अगाडिको कुरा हो । म संस्थानमा महाप्रबन्धक भएर आउनुभन्दा पहिले त्यस्तै जेठ-असारमा यो मुद्दा परेको रहेछ । सुधारका लागि के गर्न सकिन्छ, हामी हेर्दै छौँ ।
संस्थानद्वारा उत्पादन हुने दूध निम्न गुणस्तरको भएको भन्दै हरेक वर्ष जिल्ला प्रशासनमा मुद्दा पर्ने गरेको छ, यस्तो किन भइरहेको छ ?
हरेक वर्ष त होइन । कहिलेकाहीँ काम गर्दा समस्या त भइहाल्छ नि । संस्थानको दूध परीक्षणमा त्रुटि भएर समस्या आएको हुन सक्छ ।
संस्थानको उपकरण तथा प्रयोगशालामा नै त खराबी छैन ?
हामी नेपालमा गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्न समर्पित छौँ । हामीसँग अत्याधुनिक उपकरण र आधुनिक प्रयोगशाला छ । साथै दक्ष जनशक्तिको पनि व्यवस्था छ । तर, त्यति हुँदाहँुदै पनि कहिलेकाहीँ त्रुटि हुन सक्ने कुरा म स्विकार्छु । हामी आगामी दिनमा त्यसतर्फ अझ सचेत भई काम गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु । त्यसकारण संस्थानको उपकरण तथा प्रयोगशालामा खराबी छ भन्न मिल्दैन ।
संस्थानको दूध खानु र पानी खानुमा फरक छैन भन्ने विज्ञहरूकै भनाइ छ, तपाईं के भन्नुहुन्छ ?
त्यो संस्थानविरुद्ध लगाइएको गलत आरोप हो । दूध खानु र पानी खानुमा त धेरै फरक पर्छ नि । एकपटक दूधमा कम फ्याट र दुग्ध ठोस पदार्थ कम आयो भनेर दूधलाई पानीसँग तुलना गर्न मिल्दैन ।

No comments:

Post a Comment