Pages

Tuesday, January 18, 2011

वैदेशिक रोजगारीमा जानेका छोराछोरीलाई छात्रवृत्ति

प्रवीण ढकाल/काठमाडौं

वैदेशिक रोजगारमा गएका व्यक्तिका छोराछोरीलाई आगामी आर्थिक वर्षवाट छात्रवृत्ति प्रदान गरिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारका लागि विदेशिएका वा विदेशिएर फर्किएका व्यक्तिका छोराछोरी शिक्षा लिनबाट वन्चित हुनुनपरोस् भनेर यस्तो व्यवस्था गरेको हो ।

यसबाट आर्थिक अवस्था कमजोर भएर रोजगारीका लागि दुबई, कतार, मलेसियालगायतका खाडी मुलुकमा गएका व्यक्तिका छोराछोरीले अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । विदेशिएका व्यक्तिका छोराछोरीको अध्ययनमा सहयोग पुर्‍याउन गरिएको यो व्यवस्था पहिलो हो ।

बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाका अनुसार आगामी आर्थिक वर्षमा देशभरका नौ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । देवकोटाका अनुसार 'आर्थिक रूपले विपन्न भएका परिवारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम उपलब्ध गराएर छात्रवृत्ति दिइनेछ ।' उनले वैदेशिक रोजगारमा गएका व्यक्तिमध्ये पनि मृतक परिवार वा अंगभंग भएका परिवारका छोराछोरीलाई पहिलो प्राथमिकतामा राखेको बताए । विद्यार्थी छनोटको काम प्रत्येक जिल्लाका शिक्षा समितिले गर्नेछन् । बोर्डले समितिले सिफारिस गरेको विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्नेछ ।

सरकारी विद्यालयमा पढ्नेहरूलाई मात्र प्रदान गरिने यस्तो छात्रवृत्तिमा माध्यमिक तहका विद्यार्थीलाई वाषिर्क सात हजार, निम्न माध्यमिक तहकालाई चार हजार र प्राथमिक तहकालाई साढे दुई हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिनेछ । बोर्डका निर्देशक मुकुन्द अधिकारीले यस्तो छात्रवृत्तिका लागि जिल्लाहरूमा कोटा निर्धारण कार्य भैरहेको बताए । उनका अनुसार सबैभन्दा बढी कामदार विदेशिएका जिल्लामा बढी कोटा र कम विदेशिएका जिल्लामा कम कोटा दिने तयारी गरिएको छ । निर्देशक अधिकारी भन्छन्-'सबै जिल्लामा छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ । एउटा जिल्लामा १६ देखि २२ वटासम्म कोटाको व्यवस्था गरिएको छ ।'

No comments:

Post a Comment