Pages

Tuesday, January 31, 2012

हाजिरमा रातो लागेपछि वीरका डाक्टरले फोडे प्रशासनको ढोका


image


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २७ पुस
सामान्यतः डाक्टरहरू बिरामीको उपचारमा तल्लीन हुन्छन् । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स), वीर अस्पतालका डाक्टर भने तोडफोडमा समेत उत्रेका छन् । त्यो पनि अनुपस्थित समयमा पनि उपस्थित भएको हाजिर गर्न पाउनुपर्ने अडानमा ।
वीर अस्पताल रेडियोलोजी विभागका डाक्टरले बुधबार अस्पताल प्रशासन कार्यालयको ढोका नै तोडफोड गरेका हुन् । तोडफोडमा उत्रनुको कारण थियो- समयमा उपस्थित नभएपछि हाजिरीमा लागेको रातो मसीले अनुपस्थित जनाइनु ।
अस्पताल प्रशासनले रेडियोलोजी विभागमा कार्यरत डाक्टर तथा कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको पाएपछि उनीहरूको हाजिरमा रातो लगाएको थियो । प्रशासन प्रमुख अर्जुन गौतमले मंगलबार गरेको छड्केमा लगातार चार/पाँच दिनसम्म कार्यालय समयमा अनुपस्थित भएका डाक्टर तथा कर्मचारीको हाजिरमा रातो लगाएको बताए ।
अनुपस्थित समयलाई पनि 'कार्यालयमा आएको' मानिनुपर्ने भन्दै डाक्टरले प्रशासनमा तोडफोड गरेको गौतमले जानकारी दिए । उनका अनुसार रेडियोलोजी विभागका डाक्टर तथा कर्मचारीले प्रशासनमा लगाइएको ढोका नै फुटाएका छन् ।
'अफिस समयमा लगातार अनुपस्थित हुने अनि एकै दिन आएर हाजिर गर्ने गुनासो आइरहेको थियो,' प्रशासन प्रमुख गौतमले भने, 'त्यही गुनासोका आधारमा छड्के गर्दा विभागीय प्रमुखसहित अन्य कर्मचारी अनुपस्थित देखेर हाजिरमा रातो लगाइएको थियो । तर, उनीहरूले त्यसैलाई निहुँ बनाएर प्रशासनको ढोका फुटाए ।' उनले प्रशासनले रेडियोलोजी विभागलाई पटक-पटक हाजिरका विषयमा जानकारीसमेत गराएको बताए ।
प्रशासनमा तोडफोड गर्नेमा रेडियोलोजी विभागका प्रमुख डा. केबी रावलसहितको टोली रहेको प्रशासनका कर्मचारीले बताए । उनीहरूले प्रशासनको ढोका पूर्ण रूपमा फुटाएका छन् । 'रेडियोलोजी विभागको छड्के गर्दा विभागीय प्रमुखसहित अन्य कर्मचारी अनुपस्थित भएकाले हाजिरमा रातो लगाइएको हो,' प्रशासन प्रमुख गौतमले भने, 'तर उनीहरूले हाम्रो हाजिरमा किन रातो लगाएको भन्दै उल्टै प्रशासनमा तोडफोड गरे ।'
अस्पतालको प्रशासनमा गरिएको तोडफोडबारे रेडियोलोजी विभागका चिकित्सक तथा कर्मचारीले विभागमा प्रशासनले हस्तक्षेप गरेकाले तोडफोडमा उत्रेको दाबी गरेका छन् । विभाग प्रमुख डा. रावलले उपस्थित भएका रेडियोलोजीका कर्मचारीको हाजिरमा समेत प्रशासनले रातो लगाएर हस्तक्षेप गरेकाले आक्रोशमा तोडफोड गरेको बताए । उनले विभागीय प्रमुखलाई नसोधी सोझै प्रशासनले हस्तक्षेप गरी हाजिरमा रातो लगाएको र कार्यालय समयमा प्रशासनमा ताला लगाएर बसेकाले तोडफोड गरेको दाबीसमेत गरे ।
'अस्पतालमा अन्य थुप्रै विभाग छन्, तर प्रशासनले हाम्रै विभागमा मात्र किन पटक-पटक हस्तक्षेप गरिरहेको छ ?' डा. रावलले भने, 'विभागीय प्रमुखलाई कुनै जानकारी नै नदिई सोझै हस्तक्षेप गर्ने अनि अफिस समयमा प्रशासनमा ताला लगाएको देखेर आक्रोशित मुडमा तोडफोड गरियो ।'
प्रशासनले विभागमा कुनै हस्तक्षेप नगरिएको जनाएको छ । ४३ जना कर्मचारी रहेको विभागमा जनशक्ति हुँदाहुँदै पनि बिरामीले समयमा नै एक्स-रेलगायतका सेवा पाउन नसक्ने, रिपोर्ट नपाउनेजस्ता गुनासा आइरहेकाले अधिकारभित्र रहेर नै छड्के गरिएको गौतमले बताए ।
अस्पतालका कर्मचारीका अनुसार डा. रावलले तोडफोडका विषयमा निर्देशकलाई स्पष्टीकरण लेखेर बिहीबार बुझाउने भएका छन् । प्रशासनमा कार्यरत कर्मचारीले तोडफोडमा संलग्न चिकित्सकलाई कारबाहीको मागसहित अस्पतालका निर्देशकलाई उजुरीसमेत दिएका छन् । रेडियोलोजी विभाग र प्रशासनबीच यसअघि पनि पटक-पटक विवाद भइरहने गरेको अस्पतालका कर्मचारीले बताएका छन् ।