Pages

Thursday, March 22, 2012

उपत्यकामा फेरि बर्ड फ्लु

-प्रवीण ढकाल

काठमाडौ, ८ चैत । उपत्यकामा फेरि बर्ड फ्लु देखिएको छ । ललितपुरको सैंबु गाविसमा रहेको धीरेन गुरुङको कुखुरा फर्ममा बर्ड फ्लु देखिएको हो ।
गुरुङको कुखुरा फर्ममा रहेका कुखुराको प्रारम्भिक परीक्षणले बर्ड फ्लु पुष्टि भएपछि बुधबार नै विशेषज्ञ चिकित्सकसहितको टोलीले फर्ममा रहेका कुखुरा र अन्डा नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले भैसेपाटीलाई बर्ड ङ्खलु सङ्क्रमितक्षेत्र घोषणा गरी गुरुङको फर्ममा रहेका तीन सय ८० कुखुरा र एक हजार ६ सय ३० अन्डा नष्ट गरेको हो ।
फर्ममा रहेका कुखुरा चार दिनदेखि झोक्राउने, दाना नखाने तथा मर्नेलगायत समस्या आएपछि गुरुङले कुखुराको प्रारम्भिक परीक्षण गराएका थिए । परीक्षणले बर्ड फ्लु पुष्टि गर्दासम्म फर्ममा रहेका ६ हजार कुखुरामध्ये तीन सय ८० वटा मात्र जीवित थिए । बुधबार पशु स्वास्थ्य निर्देशनालयबाट गएको टोलीले जीवित सबै र पहिले नै मरिसकेका कुखुरालाई वैज्ञानिक तवरले नष्ट गरेको छ ।
निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नारायण घिमिरेका अनुसार सङ्क्रमित क्षेत्रमा चौबिस घन्टासम्म निगरानी गरिनेछ । ‘सबै कुखुरा तथा अन्डा विषादीको माध्यमबाट मारेर खाडल खनी पुर्दै नष्ट गरेकाछौं,’ उनले भने ।
बर्ड ङ्खलु रोग नियन्त्रण आदेश ०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरिन्छ । यसका लागि कुखुरा मार्न ‘र्‍यापिड रेस्पोन्स टिम’लाई तयारी अवस्थामा राखिन्छ । बुधबार सोही टिमले कुखुरा र अन्डा नष्ट गरेको हो ।
सरकारले नेपाललाई बर्ड फ्लु(एच५एन१) मुक्त राष्ट्र घोषणा गरेको पाच महिना नपुग्दै गत मङ्सिरमा उपत्यकामा पहिलोपटक बर्ड फ्लु देखिएको थियो । सरकारले गत २९ असारमा नेपाललाई बर्ड ङ्खलुमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, त्यसयता उपत्यकामा लगातार तीनपटक बर्ड फ्लु देखिएको छ । काठमाडौ उपत्यकामा पहिलोपटक लोकन्थलीस्थित मनोहरा खोलानजिकको सुकुम्बासी बस्तीमा चन्द्रबहादुर तामाङले पालेको कुखुरा र हासमा बर्ड फ्लु भेटिएको थियो । त्यसपछि फर्पिङ र डल्लुमा तथा कागमा समेत बर्ड फ्लु देखिएको छ ।
स्वास्थ्य सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, एभियन एन्फ्लुएन्जा नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा बर्ड फ्लु पटक–पटक देखिनुमा बसाइ–सराइ गरी आउने चरालाई शङ्का गरिएको छ । महाशाखाका एक कर्मचारीका अनुसार बर्डफ्लु मुक्त राष्ट्र घोषणा गरे पनि बसाइ सरेर आउने चरा तथा भारतसितको खुला सिमानाका कारण नेपालमा पटक–पटक बर्डफ्लुको समस्या आएको हो ।
सन् १९९७ मा हङकङमा यो रोग पंक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो । यो रोग युरोप हुदै विश्वव्यापी बनेको छ । नेपालमा भने पहिलोपटक सन् २००९ मा बर्ड ङ्खलु भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हास मारिएका थिए ।
बर्ड ङ्खलुका कारण मारिएका कुखुराका धनीलाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था छ । लेयर्स जातका कुखुराका निम्ति प्रतिकुखुरा पाच सय रुपैया, बोइलर्सलाई दुई सय ५० र अन्य जातकालाई सय रुपिया क्षतिपूर्ति दिने नियन्त्रण आदेशमा उल्लेख छ ।

स्वास्थ्य राज्यमन्त्रीको गफ “एक महिनादेखि पिएकै छैन”

प्रधानमन्त्रीले थर्काए, राज्यमन्त्री काँपे

-प्रवीण ढकाल, रामहरि पाण्डे

स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव

मदिरा पिएर किन अस्पताल जानुभो ?
मैले हिजो मदिरा पिएकै थिइनँ । यो मिडियाले गरेको अनावश्यक प्रचारबाजी मात्र हो । सासूको ब्रेन ह्याम्ब्रेज भएकाले वीरगन्जबाट उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तर, डाक्टरले राम्रो उपचार नगरेको थाहा पाएपछि त्यसबारे बुझ्न वीरमा गएको हुँ । बिरामीको उपचार गरेको नपाएपछि ड्युटीमा रहेका डाक्टरहरूसँग नम्र भएरै कुरा गरिरहेको थिएँ । त्यत्तिकैमा मिडियाका मान्छे आएर अनावश्यक प्रश्न गर्न थाले । मलाई रिस उठ्यो । यद्यपि, मैले मिडियाका मान्छेलाई ‘तपार्इंहरूको यहाँ काम छैन जानुस्’ भनेर रामै्र मुखले भनेको थिएँ ।
जाड नखाएको भन्नुहुन्छ तर तपाईंको बोली लर्बराएको र सास गन्हाएको सबैले थाहा पाए नि ?
होइन, मेरो बोली नै त्यस्तै हो । एउटा मन्त्रीजस्तो मान्छे अस्पतालजस्तो संवेदनशील ठाउँमा रक्सी खाएर जान्छ ?
तपाईंले पत्रकारलाई पनि अपशब्द बोल्दै आक्रमण गर्नुभएको होइन र ?
कहाँ हुनु, मैले कसैलाई कुटेको छैन । अस्पतालमा आफन्तलाई भेट्न गएको मान्छेले कतै सञ्चारकर्मीलाई कुट्दै हिँड्छ ? मैले त त्यहाँ आएका पत्रकारले मेरो फोटो खिच्न लागेकाले फोटो नखिच भन्दै रोकेको मात्र हुँ ।

मैले कसैलाई कुटेको छैन र अपशब्द बोलेको पनि छैन ।
तपार्इंले सञ्चारकर्मीलाई कुट्दा हामी त्यही थियौ, एकजनालई गतिलो झापड हान्नुभएको होइन ?
त्यो झापड होइन, रिसको झोकमा क्यामेरा तान्न जाँदा हल्का लागेको हुन सक्छ ।
प्रधानमन्त्रीले तपाईंसित स्पष्टीकरण पनि लिनुभयो नि ?
हो, मलाई प्रधानमन्त्रीले बोलाएर म बालुवाटार गएको थिएँ । तर, उहाँ सिंहदरबार निस्किसकेकाले सिंहदरबारमै गएर घटनाबारे सबै जानकारी गराएँ । उहाँले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्छु भन्नुभएको छ ।
उहाले त तपाईंलाई नै दोषी देखाउनुभएको छक्यारे नि ?
यो छानबिनका क्रममा पत्ता लाग्ने कुरा हो, को दोषी छ भनेर ।
प्रधानमन्त्रीले तपाईंसग के–के सोध्नुभयो ?
धेरै कुरा सोध्नुभएको थियो, त्यो सबै कुरा किन तपाईंलाई भन्ने !
तपार्इं मदिरा नपिई बोल्नै सक्नुहुन्न भन्ने पनि सुनिन्छ, के हो ?
यो सरासर गलत हो । म मदिरा नपिउँदा पनि राम्रोसँग बोल्छु । मैले मदिरा छाडेकै एक महिनाभन्दा बढी भइसक्यो । गत शिवरात्रिमा ब्लड प्रेसर चेक गर्दा बढी पाएकाले खान छाडेको हुँ । तर, एक महिनाअघि ट्रमा सेन्टरको बैठकमा सहभागी हुँदा दुई पेग पिएको थिएँ, त्यसयता खाएको छैन ।
तपाईंमाथि वीरका कर्मचारीले उजुरी हाल्दै छन् रे नि ?
उजुरी त वीरका कर्मचारी र डाक्टरलाई हाल्नुपर्छ । उनीहरूले त्यहाँ राम्रो सेवा नै दिएका छैनन् ।

कारबाहीको माग चर्कियो

काठमाडौँ । वीर अस्पतालका कर्मचारीले स्वास्थ्य राज्यमन्त्री सरोज यादवले आकस्मिक कक्षमा आएर माफी नमागे कडा अन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले आइतबार राति रक्सीले मातेर वीर अस्पताल पसी स्वाथ्यकर्मी–कर्मचारीलाई तथानाम गाली गर्नुका साथै पत्रकारमाथि हातपातसमेत गरेका थिए ।
अस्पतालमा कार्यरत १५ सङ्घ÷सङ्गठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै २४ घन्टाभित्र राज्यमन्त्रीलाई कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । सोमबार बसेको १५ वटै युनियनको संयुक्त बैठकले मङ्गलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्ने र २४ घन्टाभित्र कारबाही नभए कडा आन्दोलन गर्ने निर्णय लिएको कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए ।
‘राज्यमन्त्रीजस्तो पदमा बसेका व्यक्तिले मदिरा सेवन गरी अस्पतालको आकस्मिक कक्षमा आई हुलहुज्जत र हातपात गरेर सार्वजनिक अपराध गरेका छन्,’ सचिव मुडभरीले भने, ‘उनलाई आकस्मिक कक्षमा ल्याएर माफी मगाउनुपर्छ ।’ सरकारले राज्यमन्त्रीलाई कारबाही नगरे अस्पतालका कर्मचारी सङ्घ÷सङ्गठनले राज्यमन्त्रीविरुद्ध सार्वजनिक अपराधको उजुरी दिने तयारी गरेको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी खुवराज आचार्यले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीलाई कारबाही गर्न अन्य विभिन्न सङ्घ÷सङ्गठनले पनि माग गरेका छन् । चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले राज्यमन्त्री यादवले वीर अस्पतालमा आइतबार राति देखाएको अभद्र व्यवहारप्रति खेद व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ ।
‘यस प्रकारका घटनाले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रभावित हुन सक्ने तथा आमनागरिकको स्वास्थ्य सेवा उपयोग गर्ने नैसर्गिक अधिकारसमेत हनन हुने हुँदा यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीउपर कारबाही गर्न सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । (सौस)
नेपाल पत्रकार महासङ्घले राज्यमन्त्री यादवले मादकपदार्थ सेवन गरी पत्रकारलाई दुव्र्यवहार गरेकोमा खेद व्यक्त गरेको छ । राज्यमन्त्रीको दुव्र्यवहारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय पनि महासङ्घको छ । फोटो पत्रकारहरूको समूह पिजे क्लबले पनि सौर्य दैनिकका फोटो पत्रकार ज्ञानेन्द्र कार्कीमाथि राज्यमन्त्रीले गरेको दुव्र्यवहार तथा हातपातको भत्र्सना गरेको छ ।
यसैगरी, नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र नेपाल स्वास्थ्य प्राविधिक सङ्घले पनि सोमबार विज्ञप्ति जारी गरी यादवले गरेको अमर्यादित घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । वीर अस्पताल व्यवस्थापन समितिले पनि राज्यमन्त्री यादवले अस्पतालको आकस्मिक कक्षमा गरेको आपत्तिजनक व्यवहारको भत्र्सना गरेको छ ।
प्रधानमन्त्रीले थर्काए, राज्यमन्त्री काँपे

काठमाडौँ, ६ चैत । ‘हिजो बेलुका मदिरा पिएर वीर अस्पताल पुगी वितण्डा मञ्चाउने व्यक्ति तपार्इं नै होइन त ?’ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवलाई सोधे । उनले राज्यमन्त्री यादवलाई स्पष्टीकरणका लागि सोमबार आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाएका थिए ।
राज्यमन्त्रीले जवाफ दिन नपाई प्रधानमन्त्री कड्किए, ‘तपार्इंको के तरिका हो यो ? राज्यमन्त्रीजस्तो जिम्मेवार मान्छेले जाँड खाएर अस्पतालजस्तो ठाउँमा जथाभावी गर्न मिल्छ ? यस्तो अक्षम्य गल्तीलाई म माफ गर्न सक्दिनँ ।’
प्रधानमन्त्रीको एकोहोरो खप्की खाएर राज्यमन्त्री यादव निकै अत्तालिएका थिए । उनले नम्र हुँदै झुट बोले, ‘प्रधानमन्त्रीज्यू, मैले हिजो (आइतबार) जाँड खाएकै थिइनँ, यो मिडियावालाले गरेका अनावश्यक हल्ला मात्र हो । मैले वीर अस्पतालमा कसैमाथि पनि अभद्र व्यवहार गरेको छैन । तपार्इं मेरो विश्वास गर्नुस् ।’
प्रधानमन्त्रीलाई आश्वस्त पार्न यादवले थपे, ‘मेरो सासूको ब्रेन ह्याम्ब्रेज भएकाले उपचारका लागि वीरगन्जबाट वीर अस्पताल ल्याइएको थियो, तर त्यहाँ
(वीर)का डाक्टरले राम्रो उपचार नगरेको जानकारी पाएपछि त्यसबारे बुझ्न मात्र अस्पताल गएको हुँ ।’
राज्यमन्त्रीको जवाफले प्रधानमन्त्रीको आक्रोश शान्त भएन । उनले भने, ‘आइतबार बेलुका भएको घटनाबारे मैले सबै जानकारी पाइसकेको छु, ढाँटिरहनुपर्दैन । मैले भिडियो रेकर्ड नै हेरेको छु । त्यसैले यस घटनाबारे म आफँै छानबिन गर्छु र त्यसबाट निस्केको निष्कर्षका आधारमा निर्णय लिन्छु ।’ स्रोतका अनुसार प्रधानमन्त्रीले सोमबार बिहानै वीर अस्पतालका पदाधिकारीसँग घटनाको सम्पूर्ण विवरण मगाएर अध्ययन गरेका थिए ।
प्रधानमन्त्रीले घटनाको छानबिन गर्ने भनेपछि राज्यमन्त्रीको तनाब बढ्यो । उनले एकपटकलाई माफ गर्न आग्रह गरे, प्रधानमन्त्रीसित । ‘मैले कुनै गल्ती गरेजस्तो लाग्दैन, यदि साँच्चै मबाट कमजोरी भएको रहेछ भने एकपटकलाई माफ गरिदिनुस्, आगामी दिनमा यस्तो कमजोरी हुँदैन,’ राज्यमन्त्री यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । त्यसपछि राज्यमन्त्री यादवले वीर अस्पतालका कर्मचारीले कामै नगरी पैसा खाएको आरोप प्रधानमन्त्रीसमक्ष लगाए । ‘वीरका कर्मचारी तथा डाक्टरले राम्रो काम गरेको भए हिजो यो लफडा नै आउने थिएन,’ उनले भने ।
राज्यमन्त्रीले वीर अस्पतालका चिकित्सक तथा कर्मचारी र मिडियालाई दोष लगाएर पन्छिन खोजेपछि प्रधानमन्त्री भट्टराईले ‘काम गर्ने भए राम्रोसँग गर्नुहोस्, होइन भने राजीनामा दिएर जानुहोस्’सम्म भने । ‘तपार्इंहरूकै कारण मेरो निकै बदनाम भयो, अब म सहन सक्दिनँ,’ प्रधानमन्त्रीले यादवलाई भने, ‘मन्त्रीले आफ्नो गति छाडेपछि मुलुकको के हविगत हुन्छ ?’
प्रधानमन्त्री भट्टराईले राज्यमन्त्री यादवसँग आइतबार राति नै फोन सम्पर्क गरी घटनाबारे जानकारी लिन खोजेका थिए । प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘राति फोन सम्पर्क हुन नसकेपछि बिहानै पुनः फोन गरी यादवलाई निवासमै बोलाइएको हो ।’ तर, राज्यमन्त्री यादवलाई निवासमा १० बजे बोलाएर प्रधानमन्त्री भट्टराई त्यसअघि नै सिंहदरबार गएका थिए । स्पष्टीकरण दिन बालुवाटार पुगेका राज्यमन्त्री यादव प्रधानमन्त्री सिंहदरबार गइसकेको जानकारी पाएपछि हतार–हतार सिंहदरबारतिरै हानिए ।
प्रधानमन्त्री कार्यालयका कर्मचारीका अनुसार बिहान पौने ११ बजे सिंहदरबार पुगेका राज्यन्त्री यादवलाई प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा आधा घन्टा कुराएका थिए । वेटिङ कक्षमा आधा घन्टा कुराएपछि मात्र प्रधानमन्त्रीले आफ्नो कक्षमा बोलाएर आक्रोशित हँुदै प्रश्नको झटारो तेस्र्याएका थिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव फणिन्द्र देवकोटाका अनुसार भट्टराईले राज्यमन्त्री यादवसँग २० मिनेट लामो स्पष्टीकरण लिए । ‘वीरको घटनाबारे जानकारी लिन बोलाउनुभएको हो,’ स्वकीय सचिव देवकोटाले भने, ‘राज्यमन्त्री निकै राता भएर फर्किएका थिए ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले सोधेको प्रश्नको जवाफ दिँदा राज्यमन्त्री काँपिरहेका थिए भने अनुहार निकै रातो थियो ।
प्रधानमन्त्रीले सोमबार नै श्रममन्त्री सरिता गिरी र भूमिसुधार राज्यमन्त्री ज्वाला शाहसित पनि स्पष्टीकरण सोधेका थिए । गिरीले श्रम विभागका महानिर्देशक सरुवा गरेको र शाहले विभागीय मन्त्रीविरुद्ध अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधेका हुन् ।

जाँड धोकेका मन्त्रीले पत्रकार कुटे

सौर्य सहकर्मीमाथि हातपात

-प्रवीण ढकाल

काठमाडौँ, ५ चैत । रक्सीले मातेका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले आइतबार राति वीर अस्पतालभित्र वितण्डा मच्चाएका छन् । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तलाई गालीगलौज र दुव्र्यवहार गरे भने समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई हातपात नै गरे ।
रक्सीले टिल्ल भएका राज्यमन्त्री यादव राति साढे आठ बजे दलबलसहित उपचाररत आफ्नी सासूलाई भेट्न भन्दै अस्पताल पुगेका थिए । आकस्मिक कक्षको गेटमा खटिएका सुरक्षा गार्डलाई गालीगलौज गर्दै भित्र छिरेका उनले करिब ४५ मिनेट वितण्डा मच्चाए । ‘आकस्मिक कक्षमा प्रवेश गर्नेबित्तिकै मन्त्रीले तथानाम गाली गर्न थाले,’ ड्युटीमा रहेकी डा. विनिता जोशीले भनिन् ।
डा. जोशीले ‘अहिले यहाँ हेर्ने मै हुँ’ भनेर जवाफ दिएपछि राज्यमन्त्री यादव थप कड्किए । उनले १५ मिनेटभित्र उपकुलपति, रजिस्ट्रार, निर्देशक सबैलाई उपस्थित नगराए जागिर खानेसम्मको धम्की दिए । ‘यहाँका उपकुलपति, रजिस्ट्रार, निर्देशकलगायत सिनियर कर्मचारीलाई फोन गर, १५ मिनेटभित्र उपस्थित नभए सबैलाई लात हानेर निकालिदिन्छु भनेर धम्क्याए,’ डा. जोशीले भनिन् । विभागीय मन्त्रीको धम्कीबाट तर्सिएका कर्मचारीले तुरुन्तै अस्पतालका पदाधिकारीलाई फोन गरे । तर, फोन लागेन । अस्पतालबाट फोन नलागेपछि यादवले आफ्ना सहयोगीलाई फोन गर्न अह्राए । उनीहरूले गरेको फोन पनि नलागेको प्रत्यक्षदर्शी कर्मचारीले बताए । त्यसपछि राज्यमन्त्री यादव अस्पतालको कर्मचारी सङ्गठनका पदाधिकारीमाथि जाइलागे । ‘तिमीहरूलाई पनि लात हानेर अस्पतालबाट निकाल्छु, सबै बिगार्ने यस्ता युनियनको काम छैन,’ राज्यमन्त्री यादवको भनाइ उद्धृत गर्दै कर्मचारी युनियनका सचिव दीपक मुडभरीले भने ।
युनियनका सहसचिव नवराज धितालका अनुसार राज्यमन्त्री र उनका सहयोगीले चिकित्सक, कर्मचारी, बिरामी र बिरामीका कुरुवालाई पनि आमाचकारी गाली गरे । ‘मन्त्रीजस्तो व्यक्तिले अस्पतालको आकस्मिक कक्षमा आएर तथानाम गाली गर्नु लाजमर्दो कुरा हो,’ धितालले भने ।
न्युरोसम्बन्धी समस्या भएकी ५५ वर्षीया राजकुमारी देवीलाई राज्यमन्त्री यादवले आफ्नी सासू बताइरहेका थिए । आकस्मिक कक्षमा बेड खाली नभएपछि वैकल्पिक बेडमा सुताइएकी राजकुमारीलाई ‘राम्रो उपचार गर’ भन्दै उनले ड्युटीमा रहेका कर्मचारीलाई गाली गरिरहेका थिए ।
रक्सीले टिल्ल भएका राज्यमन्त्रीले वितण्डा मच्चाइरहेको थाहा पाएपछि केही पत्रकार समाचार सङ्कलनका लागि अस्पताल पुगेका थिए । तर, यादव पत्रकारमाथि समेत जाइलागे । पत्रकारको सङ्ख्या बढ्दै गएपछि राज्यमन्त्री यादव पछाडिको ढोकाबाट कुलेलम ठोके ।
राज्यमन्त्री यादवले दुव्र्यवहार गरेको घटनाप्रति अस्पताल कर्मचारी युनियनले आपत्ति जनाएको छ । यसअघि हात भाँचिएको छोराको उपचार गर्न आउँदा र आफन्त बिरामी भएर ल्याउँदा पनि यादवले डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुव्र्यवहार गरेको युनियनले जनाएको छ । युनियनले राज्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गरेको छ । ‘राज्यमन्त्री यादवले अहिलेसम्म तीनपटक यस्तै व्यवहार प्रदर्शन गरिसकेका छन्,’ युनियनका सचिव मुडभरीले सौर्यसँग भने । यादवलाई सरकारले कारबाही नगरे कडा आन्दोलन गर्ने उनले बताए ।
यता, राज्यमन्त्री यादवको दुव्र्यवहारविरुद्ध बोलेका एक बिरामीका आफन्तलाई उल्टै प्रहरीले भ्यानमा कोचेको थियो । उपचाररत हजुरबालाई कुर्न बसेका यादव जिसीलाई प्रहरीले राज्यमन्त्रीविरुद्ध बोलेको भन्दै भ्यानमा लगेर कोचेको हो । पछि अस्पतालका कर्मचारी र चिकित्सकले जँड्याहा र रक्सीले मातिएका मन्त्रीविरुद्ध बोल्नेलाई किन भ्यानमा हालेको भनेर प्रतिरोध गरेपछि प्रहरीले उनलाई छाडेको थियो । ‘जँड्याहा मन्त्रीलाई केही गर्नु छैन, उल्टै कुरुवालाई लगेर भ्यानमा हालेका थिए,’ आकस्मिक कक्षमा कार्यरत खुवराज आचार्यले भने ।

सौर्य सहकर्मीमाथि हातपात
राज्यमन्त्री यादवले समाचार संकलन गर्न गएका पत्रकारहरूमाथि पनि दुब्र्यवहार गरेका छन् । अस्पतालको इमरजेन्सीमा डाक्टर, नर्स र कर्मचारीलाई गाली गरिरहेका यादवको फोटो खिच्न खोज्दा उनले सौर्य सहकर्मी ज्ञानेन्द्र कार्कीमाथि हातपात नै गरे ।
राज्यमन्त्रीले वितण्डा मच्चाएको सूचना पाएपछि पत्रकार समाचार संकलनका लागि वीर अस्पताल पुगेका थिए । तर, इमरजेन्सी गेटमा रहेका पाले र प्रहरीलाई मन्त्री यादवले गाली गर्दै पत्रकारलाई भित्र पस्न नदिन निर्देशन दिए । ठेलमठेल गर्दै पत्रकार भित्र पसेका थिए ।
अस्पतालका कर्मचारीलाई गाली गर्दै धम्क्याइरहेका राज्यमन्त्री यादवले पत्रकारलाई भित्र देखेपछि थप जंगिए । ‘ओई यी मा….. हरूलाई बाहिर पठा’ भन्दै कर्मचारीलाई गाली गरे । फोटो खिचिरहेका सौर्य सहकर्मी कार्कीमाथि त उनी आफँै झम्टिए । मन्त्री यादवले कार्कीलाई तीन झापड हिर्काउनुका साथै क्यामेरा खोसेर फाल्ने प्रयास गरे ।
आफूहरू पत्रकार भएको र समाचार संकलन गर्न आएकाले हातपात नगर्न पटक–पटक आग्रह गर्दासमेत उनी पत्रकारमाथि पनि खनिइरहे । राज्यमन्त्री यादव र उनका सहयोगीले कार्कीसँगै सौर्य सहकर्मी प्रवीण ढकाल, एभिन्युज टेलिभिजनका श्रीहरि थापा र राम तामाङलाई गाली गर्नुका साथै हातपात गर्ने प्रयास गरे ।