Pages

Tuesday, May 31, 2011

जारको पानीमा लेउ, प्रहरीले वाणिज्य विभागलाई बुझायो विवरण

image

शान्ति मन्त्रालयका उपसचिव प्रेम सन्जेलको उजुरीमा प्रहरीले छापा मार्दा अरू जारमा पनि लेउ भेटियो

नयाँ पत्रिका

काठमाडौं, १६ जेठ

बजारमा बिक्री भइरहेको 'इभा' नाम गरेको प्रशोधित जारको पानीमा हरियो लेउ फेलापरेको छ । प्रहरीले पसलमा छापा मारेर लेउसहितको जार बरामद गरे पनि कम्पनीका मालिक भने सम्पर्कमा आएका छैनन् ।

भक्तपुर झौखेलमा कारखाना रहेको स्वस्तिक वेभरेज प्रालिले इभा ब्रान्डको पानी उत्पादन गर्दै आएको छ, तर जारमा ब्याच नम्बर र उत्पादन मिति नराखी उसले जार बजारमा पठाइरहेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव पे्रम सञ्जेलले प्रशोधित शुद्ध पिउने पानीको जारमा लेउ फेलापरेपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । सञ्जेलले काठमाडौंको ३५ नम्बर वडा नरेफाँटमा रहेको अर्चना श्रेष्ठको पसलबाट किनेर लगेको पानीमा लेउ फेलापरेपछि जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

'जारको पानी त शुद्ध होला नि भनेर किनेर लगेको त भित्र सानो लेउ पो रहेछ,' उनले भने, 'पानीजस्तो संवेदनशील पदार्थमा पनि लापरबाही गरेको पाइएपछि प्रहरीमा उजुरी दिएको हुँ ।' प्रहरी तथा उपभोक्ताले पसलमा छापा मार्दा पसलमा रहेका अन्य जारमा पनि लेउ फेलापरेको थियो ।

प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले पानीमा लेउ भेटिएपछि वाणिज्य विभागमा जानकारी गराएको बताए । 'पानीको जारमा लेउ फेलापरेपछि वाणिज्य विभागमा हामीले जारको पानी र कम्पनीको विवरण बुझाएका छौँ,' उनले भने, 'यस विषयमा वाणिज्य विभागले छानबिन गरेपछि उपभोक्ता कानुनका आधारमा कारबाही हुनेछ ।'

प्रहरीले जारको पानीमा लेउ बिक्री गर्ने पसले श्रेष्ठ तथा पानी उत्पादक कम्पनीका कर्मचारी चन्द्र चुँडालसँग सोधपुछ गरेको थियो । पसले श्रेष्ठले कम्पनीबाट नै पानी त्यस्तो आएकोले यसमा आफ्नो गल्ती नरहेको जानकारी दिएकी छिन् भने कम्पनीका कर्मचारी चुँडालले आफू यस विषयमा बोल्ने आधिकारिक व्यक्ति नभएकाले यस विषयमा कम्पनीका प्रमुखसँग कुरा गर्नुपर्ने बताएको प्रहरीले जनाएको छ । 'चुँडालले आफू कम्पनीको कर्मचारी भएको भन्दै कुरा गर्न नमानेपछि कम्पनीका जिम्मेवार व्यक्तिलाई बोलाएका थियौँ तर कम्पनीबाट कोही पनि सम्पर्कमा आएको छैन,' उपरीक्षक सिंहले नयाँ पत्रिकासित भने ।

जारको पानीमा लेउ फेलापरेको पसलमा प्रहरीसहित निरीक्षणका लागि गएका उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका सचिव जगन्नाथ मिश्रले आमउपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेमाथि कारबाही गर्नुपर्ने बताए । उनले पानीमा प्रस्ट रूपमा देखिने गरी लेउ बन्दा नदेखिने कीटाणु कति होलान् भन्ने प्रश्न गरे ।

वाणिज्य विभागले सो पानीको विषयमा विस्तृत अध्ययन गरेपछि मात्र जानकारी गराउने जनाएको छ । यसअघि पनि बजारमा बिक्रीका लागि राखिएका प्रशोधित पानीमा लेउ तथा अखाद्य पदार्थ फेलापर्ने गरेका थिए । वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार निरीक्षणका क्रममा हरेक वर्ष विभिन्न उत्पादकहरूले बिक्रीका लागि बजारमा पठाएका पानीमा समस्या फेलापार्ने गरेको छ । गत वर्षमात्र विभागले बजारमा बिक्रीका लागि राखिएका दैनिक उपभोग्य वस्तुहरूको परीक्षणका क्रममा अक्वा नाम जोडिएका सात थरी प्रशोधित पानी गुणस्तरहीन पाएको थियो । निरीक्षणका क्रममा पाइएका सबै पानीमा सरकारले तोकिएको मापदण्ड नपाएपछि विभागले ती पानी उत्पादन गर्ने संस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । तर, अखाद्य पानीको बिक्री रोकिएको छैन ।

No comments:

Post a Comment