Pages

Wednesday, February 15, 2012

सडक दुर्घटनामा वाषिर्क ६० करोड क्षति

image


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २ माघ
सडक दुर्घटनाका कारण नेपालमा वाषिर्क ६० करोडभन्दा बढी आर्थिक क्षति हुने गरेको एक अध्ययनले देखाएको छ । सडक दुर्घटनाबाट हुने आर्थिक क्षतिसहित मानवीय क्षति पनि हरेक वर्ष बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको अध्ययनअनुसार आर्थिक क्षति मानिसको मृत्युबाहेकको हो । वाषिर्क हुने आर्थिक क्षतिमा दुर्घटनामा घाइते भएकाको उपचार र यातायातका साधनको खर्चसमेत समावेश गरिएको छ । सडक दुर्घटनाका कारण विश्वभर १८ करोड डलर अर्थात् करिब १३ अर्ब ५० करोड रुपैयाँ आर्थिक क्षति हुने गरेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हरेक वर्ष सडक दुर्घटनामा नौ सयले ज्यान गुमाउने र १२ हजार घाइते हुने गरेको प्रहरीको तथ्यांक छ । औसतमा सडक दुर्घटनामा दैनिक तीनजनाको मृत्यु र १० जना घाइते हुने गरेका छन् । सडक दुर्घटनामा मृत्युदर वाषिर्क ५.४१ प्रतिशत र घाइतेदर ६ प्रतिशतले वृद्धि भइरहेको तथ्यांक छ ।
सवारी दुर्घटना वृद्धि भइरहेकाले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले सवारी दुर्घटनाको संख्यामा कमी एवं क्षति न्यूनीकरणका लागि विश्वभर दशवर्षे सडक सुरक्षा कार्यक्रम एकैपटक सुरु गरेको छ । संयुक्त राष्ट्रसंघीय महासभाले घोषणा गरेको 'सडक सुरक्षा दशक २०११-२०२०' र विश्व स्वास्थ्य संगठनले विश्वभर एकैपटक लागू गरेको थियो । गत वैशाखबाट नेपालमा पनि सडक सुरक्षा दशकको सुरुवात गरिएको छ । तर, सडक दुर्घटनाका घटनामा भने कमी नआएको प्रहरीले जनाएको छ ।
'सडक दुर्घटना नेपालमा उत्पादनशील युवाको मृत्युको पहिलो कारण बनेको छ,' सडक दुर्घटनाबारे अध्ययन गरी तयार पारिएको प्रतिवेदनमा भनिएको छ, 'सन् २००४ मा विश्वमा मानव मृत्युको कारणमध्ये नौ नम्बर स्थानमा रहेको सडक दुर्घटना ऊर्जाशील युवाको मृत्युको पहिलो कारण बनेको छ ।' प्रतिवेदनअनुसार सन् २०३० मा मानव मृत्युको कारणहरूमा सडक दुर्घटना पाँच नम्बर स्थानमा आउने अनुमान पनि गरिएको छ ।
नेपालमा भने मानव मृत्युको कारणमध्ये सडक दुर्घटना चार नम्बर स्थानमा र मानिसलाई अपांग बनाउनेमा तीन नम्बर कारणमा छ । प्रतिवेदनअनुसार अहिलेकै गतिमा जाने हो भने सन् २०२० सम्ममा सडक दुर्घटना नेपालमा मानव मृत्युको तेस्रो कारणमा पर्नेछ ।
सडक दुर्घटनाका कारण हुने मृत्युहरूमध्ये ७० प्रतिशत ऊर्जाशील जनशक्ति हुने गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 'नेपालका १५ देखि ६४ वर्ष उमेरका ७० प्रतिशत ऊर्जाशील मानिसको मृत्युको कारण सडक दुर्घटना बनेको छ,' प्रतिवेदनमा भनिएको छ, 'अन्य देशमा विभिन्न रोग मृत्युका कारण बनेकोमा नेपालमा भने सडक दुर्घटना अग्रस्थानमा आउन लागेको छ ।'
नेपालमा हुने सडक दुर्घटनामध्ये सबैभन्दा बढी दुईपांग्रे साधन मोटरसाइकल, स्कुटर रहेको तथ्यांकले देखाएको छ । 'सडकमा हुने दुर्घटनामध्ये ४० प्रतिशतभन्दा माथि दुईपांग्रे सवारीसाधन पर्ने गर्छ, त्यसपछि मात्र अन्य सवारीसाधन पर्ने गर्छन्,' प्रतिवेदनमा भनिएको छ, 'दुईपांग्रे साधनमा दुर्घटनामा पर्नेमा अधिकांश १५ देखि २५ वर्ष उमेरका युवा छन् ।'
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष ०६६/६७ मा सात हजार चार सय ३७ सवारीसाधन दुर्घटना भएका थिए । ती दुर्घटनामा सबैभन्दा बढी चालकको लापरबाहीका कारण भएको पाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको प्रतिवेदनअनुसार ०६६/६७ मा भएका कुल दुर्घटनामध्ये चालकको लापरबाहीका कारण दुई हजार तीन सय १५, ओभरटेक गर्दा नौ सय ४७, तीव्र गतिका कारण एक हजार ६ सय दुई, मद्यपान सेवनका कारण पाँच सय पाँच, ओभरलोडका कारण चार सय ८४ दुर्घटना भएको थियो । त्यस्तै, मेसिनरी गडबढीका कारण पाँच सय २३, पैदलयात्रीका कारण एक हजार ११, पशुपक्षीका कारण ३९ र अन्य विविध कारणले ११ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था विभागको आर्थिक वर्ष ०६६/०६७ को तथ्यांकअनुसार नेपालमा कुल १० लाख १५ हजार दुई सय ७१ सवारीसाधन छन् । यीमध्ये सबैभन्दा धेरै सात लाख ४४ हजार सात सय २७ दुईपांग्रे साधन हुन् ।

पशु भिटामिन पानी बराबर रहेको पुष्टि

image
बजारमा बिक्री भइरहेको पशु भिटामिन पानीबराबर भएको र नष्ट गर्ने निर्णय


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २० पुस
नेपाली बजारमा बिक्री भइरहेका पशुको भिटामिन पानीबराबर रहेको सरकारले नै पुष्टि गरेको छ । तर, ती भिटामिन अझै बजारमा खुलेआम बिक्री भइरहेका छन् ।
नयाँ पत्रिकामा ५ मंसिरमा 'पशु भिटामिन पानीबराबर' शीर्षकमा समाचार प्रकाशित भएलगत्तै पशु सेवा विभागले पशु भिटामिनको गुणस्तर जाँच गर्न टोली गठन गरेको थियो । टोलीले नेपाली बजारमा बिक्री भएका दुई भारतीय कम्पनीका भिटामिन पानीबराबर रहेको पुष्टि गरेको हो । ती भिटामिन तत्काल बजारबाट फिर्ता गर्न वा विभागको रोहवरमा नष्ट गर्न सम्बन्धित कम्पनीका डिष्ट्रिब्युटर्सलाई निर्देशन दिइएको छ ।
विभागले निजी क्षेत्रका व्यवसायीको पहलमा केही भारतीय र नेपाली कम्पनीका भिटामिन एवं फिड सप्लिमेन्टको नमुना परीक्षण गरेको थियो । नमुना परीक्षण गरिएका भारतीय कम्पनी नेचुरल हब्स एन्ड फर्मुलेसनको उत्पादन हाइटोन, पिभिएस ल्याब्रोटोरिजको उत्पादन विन स्टे्रेस र भ्याक्सिन प्लस नामक पशु भिटामिन पानीबराबर रहेको भेटिएको हो ।
पशु भिटामिनको गुणस्तर जाँच गर्न गठित फिड सप्लिमेन्ट प्राविधिक समितिले नेचुरल र पिभिएस कम्पनीद्वारा उत्पादित भिटामिन पानीबराबर रहेकाले नेपालमा ती उत्पादन वितरण गर्ने कान्तिपुर भेट डिष्ट्रिब्युटर र बिग बी भेट डिष्ट्रिब्युटरलाई तत्काल बजारबाट ती भिटामिन फिर्ता गर्न वा विभागको रोहवरमा नष्ट गर्न १२ पुसमा निर्देशन दिएको थियो । तर, निर्देशन दिएको एक साता बितिसक्दा पनि ती भिटामिन फिर्ता गरिएको छैन । बजारमा अझै ती भिटामिनको बिक्री भइरहेको विभाग स्रोतले बतायो ।
विभागअन्तर्गतको लाइभस्टक गुण व्यवस्थापन कार्यालयका प्रमुख जितेन्द्रमान थिकेका अनुसार औषधि उत्पादन संघको पहलमा गत मंसिरमा केही भारतीय र नेपाली कम्पनीका उत्पादन नमुना संकलन गरेर छुट्टाछुट्टै मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गराउँदा भिटामिनको नाममा पानी बिक्री गरिरहेको सावित भएको हो । उनले न्यून गुणस्तरका र कामै नलाग्ने भिटामिन नेपालमा पठाउने ती दुवै कम्पनीको सिफारिस रद्द गरिएको र बजारमा भएका त्यस्ता भिटामिन फिर्ता गर्न सम्बन्धित डिष्ट्रिब्युटरलाई निर्देशन दिइसकेको जानकारी दिए । विभागले पनि कमसल पशु भिटामिन बिक्री-वितरण बन्द गर्न र बजारमा रहेको स्टक नष्ट गर्न निर्देशन दिएको छ ।
विभागको रिपोर्टअनुसार भारतीय कम्पनी पिभिएस ल्याब्रोटोरिजको उत्पादन भ्याक्सिन प्लसमा भिटामिन 'ए'को मात्रा दुई लाख ५० हजार आइयू दाबी गरिएकामा दुई दशमलव ४६ प्रतिशत मात्रै भेटिएको छ । त्यस्तै पिभिएसकै विन स्ट्रेस भिटामिन 'ए' पनि दुई लाख ५० हजार आइयू दाबी गरिएकोमा एक दशमलव ६४ प्रतिशत पाइएको छ ।
अर्को भारतीय कम्पनी नेचुरल हब्सको उत्पादन हाइटोन नामको भिटामिन 'ए'मा पनि दुई लाख ५० हजार आइयू रहेको दाबी गरिएको थियो । तर, परीक्षणमा जम्मा एक दशमलव ३१ प्रतिशत मात्रा भिटामिन रहेको देखिएको छ ।
यसअघि पनि नयाँ पत्रिकाले दुवै कम्पनीको भिटामिनको नेपाल रिसर्च फाउन्डेसन प्रालि -एनआरएफ)मा गरिएको परीक्षणका आधारमा भिटामिन 'ए' र 'ई' पानीबराबर रहेको समाचार प्रकाशित गरेको थियो । एनआरएफमा गरिएको परीक्षणले नेचुरल हब्सको हाइटोन भिटामिन 'ई'को बट्टामा भिटामिन 'ई'को मात्रा १५० एमजी उल्लेख गरिएको भए पनि ल्याब परीक्षणमा भिटामिनको मात्रा शून्य रहेको, नेचुरल हब्सकै उत्पादन हाइटोन भिटामिन 'ए'मा पनि भिटामिनको मात्रा तोकिएकोभन्दा ९३ दशमलव ३७ प्रतिशत कम रहेको थियो । पिभिएस ल्याब्रोटोरिजको विन स्ट्रेस नामको भिटामिन 'ई'मा तोकिएकोभन्दा ९९ दशमलव २६ प्रतिशत कम भिटामिन रहेको, विन स्ट्रेस भिटामिन 'ए'मा पनि तोकिएकोभन्दा ९८ दशमलव ३४ प्रतिशत कम भिटामिन राखिएको परीक्षणमा देखिएको थियो ।
यसैगरी, सोही कम्पनीले उत्पादन गरेको भ्याक्सिन प्लस नामको भिटामिन 'ए' र 'ई'मा पनि भिटामिनको मात्रा निकै कम रहेको परीक्षणले देखाएको थियो । भ्याक्सिन प्लस भिटामिन 'ए'मा तोकिएकोभन्दा ९७ दशमलव ९१ प्रतिशत कम र भिटामिन 'ई'मा तोकिएकोभन्दा ९७ दशमलव ९१ प्रतिशत कम रहेको परीक्षणले देखाएको थियो । विभागले गत महिनामात्र गरेको परीक्षणले पनि ती उत्पादनमा भिटामिनको मात्रा बढीमा पाँच प्रतिशत मात्र रहेको देखाएको छ ।
विभागको परीक्षणमा भारतीय उत्पादन कमसल देखिए पनि नेपाली उत्पादन भने निकै राम्रो देखिएको छ । परीक्षणमा नेपाली कम्पनी मेडिभेट फर्मास्युटिकल्स, क्युमेट, लाइफकेयर र र्फमुलेसनका उत्पादनमा ९७ देखि ९९ प्रतिशतसम्म भिटामिन भेटिएको छ ।
पशुको तौल तथा दूध बढाउन र रोग प्रतिरोध क्षमता बढाउन भारतबाट आयात गरिएका भिटामिनमा समस्या देखिएपछि आयातकर्ताले आफूहरूलाई कम्पनीले ठगिरहेको बताएका छन् । नेचुरल हब्सको उत्पादन बिक्री गर्दै आइरहेका कान्तिपुर भेट डिष्ट्रिब्युटर्सका सञ्चालक तथा नेपाल पशुपक्षी औषधि व्यवसायी संघका प्रथम अध्यक्ष ऋषि बडालले आइएसओ मान्यताप्राप्त कम्पनीको उत्पादन राम्रो नै होला भन्ने लागेकोमा परीक्षणले ठगिएको कुरा देखाएको बताए ।
'नेपालमा आउने पशु भिटामिनको यसअघि कुनै पनि परीक्षण हुने गरेको थिएन । त्यसकारण हामीलाई आइएसओ पाएको कम्पनीले राम्रै औषधि पठाएको होला भन्ने लागेको थियो,' बडालले भने, 'तर, हामी भ्रममा रहेछौँ, हामीलाई त कम्पनीले चिटिङ पो गरिरहेको रहेछ ।' उनले बजारमा गएका पानीबराबरको भिटामिन फिर्ता ल्याउने काम भइरहेको दाबीसमेत गरे ।
नेपाल औषधि उत्पादक संघका केन्द्रीय सदस्य दीपक दाहालले पशु भिटामिनको नाममा किसानलाई वषार्ंैदेखि ठग्दै आएका कम्पनीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा भिटामिन आयात सबै किसिमको परीक्षण गरेर मात्र गर्नुपर्ने बताए । 'पानीबराबरका भिटामिन बिक्री गर्नु सरासर ठगी हो,' दाहालले भने । उनका अनुसार नेपाली बजारमा वाषिर्क ९० करोडभन्दा बढी फिड सप्लिमेन्टको कारोबार हुने गरेको छ ।
आइएसओ ९००१ प्राप्त कम्पनीको उत्पादनमा नै समस्या देखिएपछि सरकारले अबदेखि विश्व स्वास्थ्य संगठनको जिएमपी प्रमाणपत्र पाएका कम्पनीलाई आधार मानेर मात्र नेपालमा भिटामिनको आयात गर्न अनुमति दिने भएको छ । साथै, नेपालमा आयात हुने सबै किसिमका भिटामिन तथा फिड सप्लिमेन्टको ल्याब परीक्षण गरेर मात्र आयात गर्नुपर्ने र नेपालमा पनि पुनः परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
पशु सेवा विभागले मातहतका कार्यालय र भारतीय कम्पनीलाई प्रतिवेदनबारे जानकारी गराइसकेको छ । विभागले भन्सार विभागलाई आगामी दिनमा भारतीय उत्पादन नेपाल भित्र्याउँदा अनिवार्य प्रयोगशाला विश्लेषण गर्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्न आग्रह गर्ने भएको छ ।

Tuesday, February 14, 2012

किन हुन्छ एलर्जी ?

image

दुईजिउ हुँदा धेरै महिलाको शरीर चिलाउँछ, यौनांग, तल्लोपेट, स्तनवरिपरि एवं अन्य भागमा यो समस्याले सताउँछ । यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।

नयाँ पत्रिका

शरीरलाई कुनै चीज नफाप्नु एलर्जी हो । सबैलाई सबै चीज नफाप्ने भन्ने हुँदैन । कसैलाई धुलोले त कसैलाई खानेकुरा या पानीले एलर्जी हुन्छ । कसैलाई भने सिटामोल, ब्रुफिन वा अन्य कुनै औषधिले शरीर चिलाउँछ । कतिपयलाई लुगाबाट पनि एलर्जी भइदिन्छ । कसैलाई झारपात या बोटबिरुवाको एलर्जी हुन्छ भने कतिलाई त लामखुट्टे, भुसुना आदि कीटपतंगको टोकाइले पनि एलर्जी हुने गरेको पाइन्छ । त्यस्तै कसैलाई केरा, मासको दाल अन्डाले पनि एलर्जी गराएको हुन सक्छ । जुनसुकै चीजले, जोकसैलाई एलर्जी गराउन सक्ने बताउँछन् छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थ ।

पछिल्लो समयमा वातावरणीय प्रदूषण बढ्दो छ । कतिपयलाई यो पनि एलर्जीको समस्या बन्ने गरेको छ । हावापानीकै कारण एलर्जीको समस्या लिएर अस्पताल तथा क्लिनिक धाउने बिरामीको संख्या अचेल बढिरहेको कायस्थ बताउँछन् । खासगरी प्रदूषित पानीका कारण एलर्जी भएर देखाउन आउनेहरू प्रशस्तै रहेको कायस्थको अनुभव छ ।

एलर्जी मुख्यतया तीन किसिमका पाइएका छन् । मुखबाट भित्र गएको सास फोक्सोसम्म पुगेको छ र त्यसबाट एलर्जी भएको छ भने त्यस्ता मानिसलाई दम हुने गर्छ । तर, बूढाबूढीलाई हुने दम र एलर्जीका कारण हुने दम भने फरक हुन्छ । 'एलर्जीले सानै उमेरका मानिसलाई पनि दमको समस्या ल्याउँछ,' कायस्थ बताउँछन् । यसप्रकारको एलर्जी हावाबाट हुने एलर्जी हो । त्यस्तै नाकबाट हावा पसेर अर्को प्रकारको एलर्जी हुन्छ । यस्तो एलर्जीलाई 'राइनाइटिस' भनिन्छ । त्यस्तो एलर्जी हुँदा नाक बन्द भइरहने, नाकबाट पानी आइरहने हुन्छ ।

कुनै चीज खाँदा पनि कतिपयलाई एलर्जी हुने गर्छ । यस्तो एलर्जी हुँदा खानेकुरा पेटमा पुगेर रगत हुँदै छालामा फैलिएर असर गर्छ । त्यस्तोमा छालामा फोका वा बिबिरा देखिन्छ ।

छालामा सीधै स्पर्श भएर पनि एलर्जी हुन्छ । छालाले बोटबिरुवा, लुगा छोएपछि शरीरलाई नफाप्ने हुन्छ । कपालमा रंग लगाउँदा पनि एलर्जी हुन्छ । माटो या सिमेन्टको काम गर्नेलाई पनि एलर्जी हुने गर्छ । कपालमा कालो वा रातो रंग लगाउँदा एलर्जी भएर अस्पताल धाउनेको संख्या पनि उल्लेख्य रहेको चिकित्सक कायस्थको भनाइ छ ।

लामो समयसम्म एलर्जी भए कन्याउँदा-कन्याउँदै घाउसमेत हुन सक्छ । अर्को गम्भीर किसिमको एलर्जी भयो भने आगोले पोलेजस्तो फोका उठ्छ र पानी जम्छ । एलर्जी भयो भन्दै धेरै मानिस उपचारका लागि अस्पताल पुग्छन्, तर चिलाउने रोगका सबै कारण एलर्जी मात्र नभएको कायस्थ बताउँछन् । 'छालाको रोगले पनि एलर्जीले जस्तै चिलाउँछ, भित्री रोगले पनि एकदमै चिलाउँछ, तर सबै चिलाउने रोग एलर्जी होइन,' उनले भने ।

खानेकुरा, कपडा, बोटबिरुवाको एलर्जी हुँदा औषधि खानुपर्छ । त्यसबाहेक शरीरको भित्री कारणले हुने एलर्जी भने सामान्य एलर्जीको औषधिले निको हुँदैन । जन्डिस हुँदा, कलेजोमा सिरोसिस हुँदा, रक्तअल्पता वा रगत बढी हुनेहरूमा पनि एलर्जी हुन्छ । रगत बढी भएर हुने एलर्जी पोलिसाइथेमिया हो । गर्भवती अवस्थामा पनि एलर्जी हुने चिकित्सकको भनाइ छ । 'दुईजिउ हुँदा धेरै महिलाको शरीर र यौनांग चिलाउँछ,' उनले भने, 'क्यान्सरले पनि चिलाउँछ, ग्लान्डको क्यान्सरले पनि चिलाउँछ, यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।'

एलर्जीपछि उपचार गर्नभन्दा जुन-जुन चीजले एलर्जी भइरहेको छ, त्यसबाट बच्नु नै एलर्जीको उपचार हो । त्यसबाहेक धेरै चिलाएको छ भने चिलाउन कम हुने औषधि खानुपर्छ । डाबर आएको छ भने यो कम गर्न औषधि खानुपर्छ । चिकित्सकलाई देखाएर औषधि खानु राम्रो, तर चिकित्सक सहरमा त पुग्दैनन्, गाउँमा त झन् भन्नेबित्तिकै कहाँ भेटिन्छन् ? नपुगेको अवस्थामा चिलाउन कम गर्ने एभिललगायतको औषधि खाएर तत्काललाई चिलाउने समस्या कम गर्न सकिन्छ । त्यति गर्दा पनि निको नभए चिकित्सकलाई देखाउनु राम्रो हुन्छ ।

उपचार खोज्नुअघि के कारणले चिलाएको हो, पत्ता लगाउनुपर्ने हुन्छ । किनकि, चिलाउने लक्षणका रोग धेरैथरी हुन्छन् । लुतोले पनि चिलाएको हुन सक्छ । त्यस्तोमा एलर्जी भनेर नचिलाउने औषधि खाएर लुतो त निको हुँदैन, लुतोका कीटाणु पनि मर्दैन, चिलाउनचाहिँ कम हुन्छ । छालाका अन्य रोगले पनि चिलाउने समस्या आउने गर्छ । दाद आउँदा पनि चिलाउँछ, तर यो एलर्जी होइन । कास लाग्दा पनि चिलाउँछ, ढुसी पर्छ । त्यसलाई फङ्गस पनि भनिन्छ । यस्तोमा एलर्जीको औषधि खाएर पुग्दैन, कीरा नै मार्ने औषधि खानुपर्छ ।

एलर्जीको उपचार गर्दा सुरुमा त चिलाउन कम गर्ने औषधि खानुपर्छ । त्यसपछि एलर्जी के कारणले भएको हो, त्यसैको औषधि खानुपर्छ । कपालको रंग लगाउनेहरूमा घाँटीतिर फोका उठेर चिलाएको हुन्छ । त्यस्तो भएमा रंग लगाउन छाड्नुपर्छ । सिमेन्टको काम गर्दा एलर्जी भयो भने प्रत्येकचोटि एलर्जी हुँदा औषधि खाइरहन सम्भव हुँदैन । चिकित्सकलाई देखाउन पटक-पटक धाइरहन सम्भव नहुने हुँदा व्यवसाय नै परिवर्तन गर्नु राम्रो हुन्छ ।

कस्मेटिक सर्जरीको माग बढ्दो

image

नयाँ पत्रिका

नाक बांगो छ वा ओठ पातलो भएर लिपिस्टिक लगाउँदा पनि कतै केही नपुगेजस्तो लाग्छ तपाईंलाई ? वा स्तन सानो भएर कपडा लगाउँदा पनि सुहाएको छैन कि । स्तन ठूलो भएर झोलिएर घाँटी र गर्धनको दुखाइ पो छ कि ? त्यस्ता समस्या छन् भने पनि अब चिन्ता लिनु नपर्ने बताउँछन् मोडेल अस्पतालका प्लास्टिक सर्जन डा. शंकर राई । ँकस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध छ हामी आफैँले पनि गरिरहेका छौँ,’ चिकित्सक राई भन्छन् । कस्मेटिक सर्जरीले जवान र निकै राम्रो वा पातलो देखिन सहयोग पुर्‍याउने भएकाले पछिल्लो समयमा यसको माग बढ्दै गएको चिकित्सकको भनाइ छ ।

पहिलो विश्वयुद्धमा अंगभंग भएका सैनिकको मनोभावना उच्च बनाउनका लागि कस्मेटिक सर्जरी सुरु गरिएको यो सेवा पछिल्लो समयमा आफ्नो चाहनाअनुसारको शरीर बनाउन चाहनेका लागि समेत उपलब्ध छ । शल्यक्रियामार्फत आफूले चाहेअनुसारको नाक बनाउन, ओठको साइज घटाउन वा केही ठूलो बनाउन सकिने उनले जानकारी दिए । पछिल्लो समयमा कस्मेटिक सर्जरीको माग बढेको उनी बताउँछन् । अस्पतालमा निःशुल्क गरिने प्लास्टिक सर्जरीको अलावा महिनामा ४० भन्दा बढीले कस्मेटिक सर्जरीसमेत गराउने गरेको उनले जानकारी दिए । ँपछिल्लो समयमा कस्मेटिक सर्जरीको माग बढेको छ । हरेक महिना ४० भन्दा बढीले त सेवा लिइरहेका छन्,’ उनले भने ।

प्लास्टिक सर्जरीका लागि अस्पताल आउनेमा धेरैजसो स्तन ठूलो भएर सामाजिक रूपमै समस्या भएका महिला र सानो स्तनका कारण आफू आकर्षक भइनँ भन्ने हीन भावना विकास भएका महिला रहेको पनि उनी बताउँछन् । त्यस्तै नाक बनाउन, ओठ सानो वा ठूलो पार्ने र अनुहारमा रहेको दाग हटाउनका लागि सर्जरी गराउनेहरू रहेको पनि उनले जानकारी दिए । कस्मेटिक सर्जरीका लागि अस्पताल आउनेमा ओठ पातलो भएर लिपिस्टिकलगायतका सौन्दर्य सामग्री लगाउन नसुहाएका महिलाको संख्या पनि उल्लेख्य रहेको चिकित्सक बताउँछन् । त्यस्तै, कसैको ओठ निकै भद्दा पनि हुन सक्छ । त्यस्तो समस्याको समाधान पनि कस्मेटिक सर्जरीमार्फत गर्न सकिन्छ । त्यसैगरी, अनुहारको चाउरी परेको भाग हटाउन पनि कस्मेटिक सर्जरी गराउन चाहनेको संख्या उल्लेख्य रहेको चिकित्सक बताउँछन् । आफ्नो शरीरका अंग यस्तो हुनुपर्ने भएन भन्ने लागेको छ र पैसा खर्च गर्न सक्ने सामथ्र्य भए चाहेअनुसारको शरीरको अंग बनाउन सकिने चिकित्सक राई बताउँछन् । केही मानिसमा जन्मजातै शरीरको कुनै अंगमा खोट देखिन्छ । जन्मँदै दाग हुनु, अनुहारमा ठूलो कालो कोठी आएको छ भने पनि सामान्य खर्चमा हटाउन सकिन्छ । त्यस्ता समस्या महिलामा भए अझ बढी तनाब दिने गरेको पाइन्छ । उनीहरूलई सजिलै कस्मेटिक सर्जरीमार्फत ती समस्याबाट छुट्कारा दिन सकिन्छ ।

स्तन सानो भएकाहरूले शल्यक्रियामार्फत भित्र बेलुन राखेर पनि ठूलो बनाउन सक्छन् । स्तनभित्र राखिने बेलुन प्लास्टिकबाट बनेको हुन्छ । त्यसलाई सिलिकोन भनिन्छ । स्तनभित्र राखिने सिलिकोन केही महँगो पनि छ । दुईवटालाई करिब डेढ लाख पर्ने चिकित्सक राई बताउँछन् ।

त्यस्तै, कुनै बच्चाको जन्मँदै कान काट्टएिको हुन्छ । दुर्घटनामा परेर पनि गुम्न सक्छ । कानको मासु कुर्कुरे हड्डीबाट बनेको हुँदा शरीरको अन्य भागको कुर्कुरे हड्डी लगेर प्रत्यारोपण गरिन्छ । अन्य भागबाट लगिने कुर्कुरे हड्डीलाई सिलाएर कानको आकारको बनाइने चिकित्सक राईले बताए । तर, प्लास्टिकको कान राखेर बाहिरबाट छालाले छोपेर पनि दुरुस्त पार्न सकिने उनले जानकारी दिए । 'कानजस्तै आकारको प्लास्टिक किन्न पाइन्छ, त्यसलाई माथिबाट छालाले छोपेर पनि कान बनाउँछौँ,' उनले भने । त्यसैगरी, बांगो र नेप्टो नाकका कारण सौन्दर्यमा समस्या भएको महसुस गरेकाहरूले पनि चाहेअनुसारको नाक बनाउन सक्ने चिकित्सक राई बताउँछन् । सो सेवा पनि नेपालमै उपलब्ध रहेको राईले स्पष्ट पारे ।

क्यान्सरका कारण अनुहार शरीरको ठूलो हिस्सा गुमाउन पुगेकाहरूले पनि प्लास्टिक सर्जरीमार्फत अनुहार पहिलेको जस्तै दुरुस्त बनाउन सक्छन् । त्यस्तो ठाउँमा शरीरको अन्य भागको ठूलो अंग झकिेर प्रत्यारोपण गरिन्छ । त्यस्तै, क्यान्सर भएर च्यापुको हड्डी नै फाल्नुपर्ने हुन सक्छ । त्यस्तो भएमा खुट्टा वा अन्य भागको हड्डी ल्याएर टाल्नुपर्छ ।

'हड्डी त्यत्तिकै राखेर बाँच्दैन, हड्डीसँगै नसा पनि ल्याएर सँगैको नसासँग जोड्नुपर्छ,' उनले भने । त्यस्तोलाई माइक्रो सर्जरी भनिन्छ, एउटै सर्जरी आठ/दस घन्टा लाग्ने उनले बताए । सो सर्जरी पनि नेपालमै गरिँदै आएको उनले बताए । दुर्घटनामा परी ठूलो घाउ भए शल्यचिकित्सकले पनि टाल्न सक्दैनन् । त्यस्तोमा प्लास्टिक सर्जरीमार्फत त्यस्तो भागलाई छोप्ने गरिन्छ । सुरुमा सोही प्रयोजनका लागि विकास गरिएको उपचार पद्धति हो, प्लास्टिक सर्जरी । प्लास्टिक सर्जरी सम्बन्धित बिरामीकै शरीरकै अन्य भाग लगेरको तन्तु लगेर जोडिन्छ । प्लास्टिक सर्जरीको अर्थ प्लास्टिक प्रयोग गर्ने भएर नभएको उनले स्पष्ट पारे । तर, कहिलेकाहीँ प्लास्टिक पनि प्रयोग गर्ने गरिएको उनले सुनाए ।

तर, कस्मेटिक वा प्लास्टिक सर्जरी जोखिममुक्त भने छैन । जोखिमविना त कुनै पनि शल्यक्रिया हुँदैन । कस्मेटिक सर्जरीमा दुईथरी जोखिम हुन्छन् । एउटा बेहोस गराउँदाको सर्जरी र अर्को शल्यक्रियाको जोखिम । 'शल्यक्रिया गराउँदा घाउमा संक्रमण हुन सक्छ, ब्लिडिङ हुन सक्छ,' चिकित्सक राईले भने, 'तर ज्यानै जाने किसिमको खतरा हुँदैन ।' तर बेहोस बनाउँदा -एनेस्थेसिया) को खतरा शल्यक्रियाको भन्दा पनि जोखिमपूर्ण हुने उनले बताए । एनेस्थेसियाले ज्यानै पनि जान सक्छ ।

पछिल्ल्ो समयमा काठमाडौं मोडल अस्पतालमा नाक, ओठ मिलाउनेहरू धेरै आइरहेका उनले बताए । 'स्तन ठूलो बनाउनेहरू पनि आइरहेका छन्,' उनले भने, 'तर ठूलोभन्दा पनि सानो बनाउने धेरै आएका छन् ।' धेरै ठूलो स्तन हुँदा सोसियल 'इम्ब्यारेस' हुन्छ । घाँटी र गर्धन दुख्ने समस्या पनि हुन्छ । अप्रेसनमार्फत सानो बनाइन्छ । सानो बनाउँदा केही दाग पनि हुन्छन् । ती दागलाई चिकित्सकले छोपिदिन्छन् । स्तन ज्यादै ठूलो भएर समस्यामा परेकी एक महिलाको स्तनबाट तीन किलो बोसो निकालिएको चिकित्सक राईले बताए । 'हामीले एकापट्टकिो साढे एक किलोसम्मको मासु निकालेका छौँ, दुई साइडको गर्दा झन्डै तीन किलो निकालेका छौँ,' उनले भने । तर, काठमाडौं मोडेल अस्पतालमा उपलब्ध प्लास्टिक सर्जरी सेवा मुख्य गरी अंगभंग भएका तालु काटिएका र खुँडेका लागि केन्दि्रत रहेको पनि उनले स्पष्ट पारे । त्यस्ताको उपचार मोडेल अस्पतालमा निःशुल्क उपलब्ध छ ।

प्लास्टिक सर्जरी गराउन शरीरमा एसिड परेर आउनेहरू पनि छन्, जसमा महिलाको संख्या बढी रहेको पनि उनले बताए । विशेषतः तराईका जिल्लामा दाइजोका कारण जिउँदै जलाउने र एसिड छर्कने घटना धेरै हुन्छन् । अनुहारै जलेकाहरूलाई शरीरको अन्य भागबाट मासु लगेर ट्रान्सप्लान्ट गर्नुपर्छ । कुनै अंगसँग गुनासो पालेर नबस्न उनको सुझाब छ । त्यस्तै, खुइलिएको तालुमा कपाल रोप्ने सर्जरी पनि गरिन्छ ।

Tuesday, January 31, 2012

हाजिरमा रातो लागेपछि वीरका डाक्टरले फोडे प्रशासनको ढोका


image


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २७ पुस
सामान्यतः डाक्टरहरू बिरामीको उपचारमा तल्लीन हुन्छन् । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स), वीर अस्पतालका डाक्टर भने तोडफोडमा समेत उत्रेका छन् । त्यो पनि अनुपस्थित समयमा पनि उपस्थित भएको हाजिर गर्न पाउनुपर्ने अडानमा ।
वीर अस्पताल रेडियोलोजी विभागका डाक्टरले बुधबार अस्पताल प्रशासन कार्यालयको ढोका नै तोडफोड गरेका हुन् । तोडफोडमा उत्रनुको कारण थियो- समयमा उपस्थित नभएपछि हाजिरीमा लागेको रातो मसीले अनुपस्थित जनाइनु ।
अस्पताल प्रशासनले रेडियोलोजी विभागमा कार्यरत डाक्टर तथा कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको पाएपछि उनीहरूको हाजिरमा रातो लगाएको थियो । प्रशासन प्रमुख अर्जुन गौतमले मंगलबार गरेको छड्केमा लगातार चार/पाँच दिनसम्म कार्यालय समयमा अनुपस्थित भएका डाक्टर तथा कर्मचारीको हाजिरमा रातो लगाएको बताए ।
अनुपस्थित समयलाई पनि 'कार्यालयमा आएको' मानिनुपर्ने भन्दै डाक्टरले प्रशासनमा तोडफोड गरेको गौतमले जानकारी दिए । उनका अनुसार रेडियोलोजी विभागका डाक्टर तथा कर्मचारीले प्रशासनमा लगाइएको ढोका नै फुटाएका छन् ।
'अफिस समयमा लगातार अनुपस्थित हुने अनि एकै दिन आएर हाजिर गर्ने गुनासो आइरहेको थियो,' प्रशासन प्रमुख गौतमले भने, 'त्यही गुनासोका आधारमा छड्के गर्दा विभागीय प्रमुखसहित अन्य कर्मचारी अनुपस्थित देखेर हाजिरमा रातो लगाइएको थियो । तर, उनीहरूले त्यसैलाई निहुँ बनाएर प्रशासनको ढोका फुटाए ।' उनले प्रशासनले रेडियोलोजी विभागलाई पटक-पटक हाजिरका विषयमा जानकारीसमेत गराएको बताए ।
प्रशासनमा तोडफोड गर्नेमा रेडियोलोजी विभागका प्रमुख डा. केबी रावलसहितको टोली रहेको प्रशासनका कर्मचारीले बताए । उनीहरूले प्रशासनको ढोका पूर्ण रूपमा फुटाएका छन् । 'रेडियोलोजी विभागको छड्के गर्दा विभागीय प्रमुखसहित अन्य कर्मचारी अनुपस्थित भएकाले हाजिरमा रातो लगाइएको हो,' प्रशासन प्रमुख गौतमले भने, 'तर उनीहरूले हाम्रो हाजिरमा किन रातो लगाएको भन्दै उल्टै प्रशासनमा तोडफोड गरे ।'
अस्पतालको प्रशासनमा गरिएको तोडफोडबारे रेडियोलोजी विभागका चिकित्सक तथा कर्मचारीले विभागमा प्रशासनले हस्तक्षेप गरेकाले तोडफोडमा उत्रेको दाबी गरेका छन् । विभाग प्रमुख डा. रावलले उपस्थित भएका रेडियोलोजीका कर्मचारीको हाजिरमा समेत प्रशासनले रातो लगाएर हस्तक्षेप गरेकाले आक्रोशमा तोडफोड गरेको बताए । उनले विभागीय प्रमुखलाई नसोधी सोझै प्रशासनले हस्तक्षेप गरी हाजिरमा रातो लगाएको र कार्यालय समयमा प्रशासनमा ताला लगाएर बसेकाले तोडफोड गरेको दाबीसमेत गरे ।
'अस्पतालमा अन्य थुप्रै विभाग छन्, तर प्रशासनले हाम्रै विभागमा मात्र किन पटक-पटक हस्तक्षेप गरिरहेको छ ?' डा. रावलले भने, 'विभागीय प्रमुखलाई कुनै जानकारी नै नदिई सोझै हस्तक्षेप गर्ने अनि अफिस समयमा प्रशासनमा ताला लगाएको देखेर आक्रोशित मुडमा तोडफोड गरियो ।'
प्रशासनले विभागमा कुनै हस्तक्षेप नगरिएको जनाएको छ । ४३ जना कर्मचारी रहेको विभागमा जनशक्ति हुँदाहुँदै पनि बिरामीले समयमा नै एक्स-रेलगायतका सेवा पाउन नसक्ने, रिपोर्ट नपाउनेजस्ता गुनासा आइरहेकाले अधिकारभित्र रहेर नै छड्के गरिएको गौतमले बताए ।
अस्पतालका कर्मचारीका अनुसार डा. रावलले तोडफोडका विषयमा निर्देशकलाई स्पष्टीकरण लेखेर बिहीबार बुझाउने भएका छन् । प्रशासनमा कार्यरत कर्मचारीले तोडफोडमा संलग्न चिकित्सकलाई कारबाहीको मागसहित अस्पतालका निर्देशकलाई उजुरीसमेत दिएका छन् । रेडियोलोजी विभाग र प्रशासनबीच यसअघि पनि पटक-पटक विवाद भइरहने गरेको अस्पतालका कर्मचारीले बताएका छन् ।

Thursday, October 20, 2011

राजधानीमा रगत अभाव

प्रवीण ढकाल
image

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन्

नयाँ पत्रिका

काठमाडौं, २३ असोज

बिरामीलाई आवश्यक रगत जुनसुकै वेला उपलब्ध गराउने केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । रगत अभावका कारण राजधानीका विभिन्न अस्पतालमा ल्याइएका बिरामीको उपचारमा समेत असर परेको छ ।

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, प्रसूति गृहलगायतका अस्पतालमा दसैँ सुरु भएदेखि नै रगतको 'स्टक' सिद्धिएको छ ।

स्रोतका अनुसार रगत अभावका कारण केन्द्रले इमरजेन्सी पर्नेलाई तत्काल दाता खोजेर रगत उपलब्ध गराउने गरेको छ । तर, तत्काल कुनै दुर्घटना वा विपत्ति आइपरेमा भने केन्द्रले रगत उपलब्ध गराउन नसक्ने स्रेतले बतायो ।

'केन्द्रमा रगतको स्टक नै छैन,' स्रोतले भन्यो, 'जसोतसो हारगुहार गरेर दातालाई फकाएर रगत मिलाइरहेका छौँ । यही वेलामा कुनै दुर्घटना वा विपत्ति परेर रगतको आवश्यकता पर्‍यो भने केन्द्रले उपलब्ध गराउन सक्दैन ।'

स्रोतका अनुसार केन्द्रमा दुई महिनाअघिसम्म 'बी पोजेटिभ' समूहको रगत कमी थियो । केही समयअघिसम्म पाइएको 'बी' र 'एबी' पोजेटिभ समूहको रगत तथा अन्य समूहको रगत भण्डारण्ा पर्याप्त छैन । केन्द्रकी निर्देशक डा. मनिता राजकणिर्कारले भने केन्द्रमा रगतको अभाव नभएको दाबी गरिन् । 'दसैँका कारण दैनिक संकलन कम भएकाले रगतको भण्डारणमा केही कमी आएको पक्कै हो,' उनले भनिन्, 'तर रगत नै नभएको अवस्था भने होइन ।'

रक्तसञ्चार केन्द्रका अनुसार राजधानीमा दैनिक दुई सय ५० देखि तीन सय पिन्टसम्म रगतको माग छ । तर केन्द्रमा जम्मा एक सय ५० देखि दुई सय पिन्टसम्म मात्र रगत संकलन हुने गरेको छ । मागको अनुपातमा संकलन न्यून भएकाले बिरामीका आफन्त आफैँले दाता खोजेर रगत ल्याउनुपर्ने बाध्यता रहेको निर्देशक डा. राजकणिर्कारले बताइन् । उनका अनुसार दसैँको समयमा रगत दिने दाताहरू कम हुने तथा दसैँैपछि उपचार गराउन आउने बढी भएकाले पनि यो समयमा सधैँजसो रगतको केही समस्या आउने गरेको छ । स्रोतका अनुसार केन्द्रले संकलन कम भएकाले धेरै मानिसमा पाइने 'ए पोजेटिभ' समूहको रगत पनि उपलब्ध गराउन नसक्ने अवस्थामा पुगिसकेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले भने राजधानीमा रगतको अभाव भएको बताए । उनका अनुसार केन्द्रमा रगत अभाव भएपछि दसैँदेखि नै अस्पतालमा दाता नै गएर रगत दिइरहेका छन् । 'केन्द्रमा रगत नपाएपछि मानिसले हामी डोनरहरूलाई फोन गर्छन्,' उनले भने, 'हामीले दैनिक दशदेखि १५ जना डोनरलाई खोजेर रगत दिनुपरिरहेको छ ।'

कर्माचार्यका अनुसार राजधानीमा रक्तसञ्चार केन्द्रकै व्यवस्थापकीय कमजोरीका कारण रगतको अभाव देखिएको हो । 'केन्द्रकै व्यवस्थापन राम्रो नभएकाले रगतमा समस्या देखिएको हो,' उनले भने, 'केन्द्रको लापरबाहीका कारण रक्त व्यवस्थापन समिति देखाउने दाँत मात्र भएको छ । त्यसले केही व्यवस्थापन गर्न सकेको छैन ।' उनले केन्द्रले रक्तदानबारे जनचेतना जगाउने खासै काम नगरेको पनि उनको गुनासो थियो ।

१५ प्रकारका औषधि हानिकारक

image

डाबरका एएल ००२० नम्बर ब्याचको प्युसामुग चूर्ण, एएल ००४७ नम्बर ब्याचको अभिपत्तिकर र एल ०५७५ नम्बर ब्याचको लावण भास्कर, वैद्यनाथको १४७ नम्बर ब्याचको अभिपत्तिकर, १ नम्बर ब्याचको चोपचिनियादी, ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्णमा हानिकारक किटाणु

प्यारेन्टेरल ड्रगको ९ डिइएक्स १२४ ब्याचका इन्जेक्सन रिंगर ल्याक्टेट स्लाइन निर्मलीकरण नगरिएको, डेनिस केम ल्याबको १०१२१६२१ ब्याचको सोडियम क्लोराइड इन्जेक्सन स्लाइनमा बाहिरी पदार्थ, एग्लोमेड लिमिटेडको ६१००५१०१ एक्सडी ब्याचको एग्लुजाइम सिरपमा कालो पदार्थ

क्युरेक्सको पिसिएक्स ०३३ ब्याचको केफडक्स, ५० ड्राइ सिरपमा कालो पदार्थ, लोमसको एटिए ०१९ ब्याचको एटेन ँए’ ट्याब्लेट, जिडीको टिडी १५-१००४ ब्याचको टुसिनोल 'डी’ सिरपमा कालो पदार्थ र सुमी फर्मास्युटिकल्सको हाम्रो सिरप नामको भिटामिन 'बी’ कम्प्लेक्स गुणस्तरहीन

हानिकारक ब्याक्टेरिया र कालो पदार्थसमेत भेटिएका औषधिहरू बजारबाट फिर्ता गरी तत्काल नष्ट गर्न औषधि व्यवस्था विभागद्वारा उत्पादक कम्पनीहरूलाई पत्राचार, नष्ट नगरिए कम्पनी दर्ता खारेज गर्ने चेतावनी

नयाँ पत्रिका

काठमाडौं, १२ असोज

बजारमा खाद्यान्न तथा पेय पदार्थ मात्र नभएर औषधिसमेत मिसावटयुक्त र गुणस्तरहीन भेटिएको छ । बजारमा बिक्री गरिँदै आएका केही औषधिमा मानवस्वास्थ्यमा हानिकारक ब्याक्टेरिया र कालो पदार्थसमेत भेटिएका छन् । भारतीय औषधि उत्पादन कम्पनीका ११ र नेपाली कम्पनीका चार गरी १५ प्रकारका औषधि गुणस्तरहीन र मापदण्डविपरीत भेटिएका हुन् ।

औषधि व्यवस्था विभागले गत आर्थिक वर्षको असार मसान्तसम्ममा गरेको बजार अनुगमनका क्रममा स्लाइन, भिटामिन 'बी' कम्प्लेक्स, उच्च रक्तचापको औषधि, एन्टिबायोटिक, ग्यास्टि्रक, महिलाको तल्लो पेट दुख्दा खाने औषधि गुणस्तरहीन भेटिएका छन् । त्यस्तै, पाचन प्रणाली, छालासम्बन्धी एलर्जी, निद्रा, तनाव कम गर्ने, खोकी, खाना पचाउने तथा मृगौलालगायतका रोगको उपचारमा प्रयोग गरिने औषधि पनि मापदण्डविपरीत, निम्नगुणस्तर पाइएको विभागले जनाएको छ ।

रोग निको पार्न भन्दै बजारमा बेचिएका गुणस्तरहीन औषधि बजारबाट फिर्ता गरी तत्काल नष्ट गर्न निर्देशनसहितको पत्र औषधि व्यवस्था विभागले उत्पादक कम्पनीहरूलाई पठाएको छ । विभागका अनुसार भारतको बहुर्राष्ट्रिय कम्पनी डाबर इन्डिया लिमिटेडको आयुर्वेदिक औषधि र भारतकै श्री वैद्यनाथ प्रालिद्वारा उत्पादित औषधिमा बढी समस्या देखिएको छ । त्यस्तै, नेपालका क्युरेक्स फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, जिडी फर्मास्युटिकल्स र सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित औषधि मिसावटयुक्त भेटिएका छन् ।

विभागले अनुगमनका क्रममा डाबरका तीन र वैद्यनाथका पाँच प्रकारका औषधिमा मानवस्वास्थ्यलाई असर गर्ने ब्याक्टेरिया फेला पारेको छ । भारतकै प्यारेन्टेरल ड्रग इन्डिया, डेनिस केम ल्याब र एग्लुमेड लि. इन्डियाका एक/एक औषधि निम्नगुणस्तर र मिसावटयुक्त भेटिएको विभागले जनाएको छ ।

'बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ प्रालिले उत्पादन गरेका आयुर्वेदिक औषधि चूर्णमा मानवस्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया फेला परेको छ,' विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले नयाँ पत्रिकासँग भने, 'त्यस्तै स्लाइन, एन्टिबायोटिक, भिटामिन 'बी' कम्प्लेक्स, खानापचाउने औषधिमा समेत समस्या देखिएको छ ।' उनका अनुसार मापदण्डविपरीत निम्न गुणस्तर र मिसावटयुक्त औषधिलाई तत्काल बजारबाट फिर्ता गरी नष्ट गरेको विवरण विभागमा पठाउन सम्बन्धित उत्पादक कम्पनीलाई पत्र पठाइसकिएको छ ।

विभागले गरेको अनुगमनका क्रममा डाबरका एएल ००२० नम्बर ब्याचको प्युसामुग चूर्ण, एएल ००४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण र एल ०५७५ नम्बर ब्याचको लावण भास्कर चूर्णमा मानवस्वास्थ्यमा हानिकारक किटाणु भेटिएको हो । चिकित्सकहरूका अनुसार प्युसामुग चूर्ण महिलाको तल्लो पेट दुख्दा, अभिपत्तिकर चूर्ण ग्यास्टि्रक र लावनभास्कर पाचनको उपचारका लागि प्रयोग गरिन्छ । त्यसैगरी वैद्यनाथ कम्पनीको पाँच किसिमको चूर्णमा पनि किटाणु देखिएको विभागका औषधि निरीक्षक अधिकारीले बताए ।

निरीक्षक अधिकारीका अनुसार वैद्यनाथको १४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण, १ नम्बर ब्याचको चोपचिनियादी चूर्ण, ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्ण, १७८ नम्बर ब्याचको सितोपलादी चूर्ण र २१२ नम्बरको त्रिफला चूर्णमा पनि किटाणु पाइएको छ । चिकित्सकका अनुसार वैद्यनाथका अभिपत्ता चूर्ण ग्यास्टि्रक, चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी, अश्वोगान्धी चूर्ण निद्राका लागि र तनाव कम, सितोपलादी चूर्ण खोकीका लागि र त्रिफला पाचनप्रणालीसहित मृगौलालगायतका रोगको उपचारमा प्रयोग गरिन्छ ।

यसैगरी, प्यारेन्टेरल ड्रगको ९ डिइएक्स १२४ ब्याचका इन्जेक्सन रिंगर ल्याक्टेट स्लाइन निर्मलीकरण नगरिएको, डेनिस केम ल्याबको १०१२१६२१ ब्याचको सोडियम क्लोराइड इन्जेक्सन स्लाइनमा स्वास्थ्यलाई असर गर्ने बाहिरी पदार्थ रहेको र एग्लोमेड लिमिटेडको ६१००५१०१ एक्सडी ब्याचको खाना पचाउने औषधि एग्लुजाइम सिरपमा कालो पदार्थ फेला परेको छ । चिकित्सकका अनुसार निर्मलीकरण नगरेका स्लाइनले बिरामीलाई थप रोगी बनाउने, स्लाइनमा अन्य पदार्थ हुँदा बिरामीमा थप समस्या आउनसक्छ ।

अनुगमनका क्रममा नेापली कम्पनी क्युरेक्सको पिसिएक्स ०३३ ब्याचको केफडक्स, ५० ड्राइ सिरप एन्टिबायोटिकमा कालो पदार्थ, लोमस फर्मास्युटिकल्सको एटिए ०१९ ब्याचको एटेन 'ए' ट्याब्लेट उच्च रक्तचापको औषधिमा मात्रा पूरा नभएको, जिडी फर्मास्युटिकल्सको टिडी १५-१००४ ब्याचको टुसिनोल 'डी' सिरप नामको खोकीको औषधिमा कालो पदार्थ र सुमी फर्मास्युटिकल्सको एचएम-३७ ब्याचको हाम्रो सिरप नामको भिटामिन 'बी' कम्प्लेक्स न्यून गुणस्तरको पाइएको छ । 'बजारमा पाइएका ती औषधिले बिरामीको रोग निको हुनेभन्दा पनि थप इन्फेक्सन हुनेदेखियो,' निरीक्षक अधिकारीले भने, 'त्यसैले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौँ ।' उनका अनुसार ती औषधि फिर्ता नगरिए ती उत्पादकको दर्ता लाइसेन्स नै खारेज हुनेछ ।

विभागले बजारमा निरीक्षणका क्रममा डाबर र वैद्यनाथद्वारा उत्पादित औषधिमा मानवस्वास्थ्यलाई हानी गर्ने ब्याक्टेरिया फेला परेपछि गत जेठमा नै औषधि फिर्ता गरी नष्ट गर्न पत्र पठाएको थियो । तर, ती दुवै कम्पनीले अझैसम्म के कति औषधि फिर्ता लगिएको र कति नष्ट गरिएको भन्ने विभागलाई जानकारी दिएको छैन । नियमअनुसार विभागले पत्र पठाएपछि अनिवार्य रूपमा उत्पादकले ती ब्याचका उत्पादन फिर्ता गरिएको परिणामबारे तत्काल जानकारी गराउनुपर्ने हुन्छ ।

'औषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानवस्वास्थ्यलाई हानी गर्ने विभिन्न प्रकारका ब्याक्टेरिया फेला परेपछि बजारमा भएका ती ब्याच नम्बरका सम्पूर्ण औषधि उठाएर फिर्ता लैजान पत्र पठाएका हौँ,' निरीक्षक अधिकारीले भने, 'केही समयपछि हामी बजारमा फेरि अनुगमन गछौर्ं, फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रक्रिया अघि बढाउछौँ ।' डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तीनकुनेस्थित लुना ट्रेनिङ कम्पनीले डिलरको अनुमति लिएको छ भने वैद्यनाथको रौतहटको गौरमा रहेका राजेश मेडिसिन प्रालिले । विभागले ती दुवै कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुनः बजार अनुगमन गर्ने भएको छ ।