Pages

Wednesday, February 15, 2012

सडक दुर्घटनामा वाषिर्क ६० करोड क्षति

image


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २ माघ
सडक दुर्घटनाका कारण नेपालमा वाषिर्क ६० करोडभन्दा बढी आर्थिक क्षति हुने गरेको एक अध्ययनले देखाएको छ । सडक दुर्घटनाबाट हुने आर्थिक क्षतिसहित मानवीय क्षति पनि हरेक वर्ष बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको अध्ययनअनुसार आर्थिक क्षति मानिसको मृत्युबाहेकको हो । वाषिर्क हुने आर्थिक क्षतिमा दुर्घटनामा घाइते भएकाको उपचार र यातायातका साधनको खर्चसमेत समावेश गरिएको छ । सडक दुर्घटनाका कारण विश्वभर १८ करोड डलर अर्थात् करिब १३ अर्ब ५० करोड रुपैयाँ आर्थिक क्षति हुने गरेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हरेक वर्ष सडक दुर्घटनामा नौ सयले ज्यान गुमाउने र १२ हजार घाइते हुने गरेको प्रहरीको तथ्यांक छ । औसतमा सडक दुर्घटनामा दैनिक तीनजनाको मृत्यु र १० जना घाइते हुने गरेका छन् । सडक दुर्घटनामा मृत्युदर वाषिर्क ५.४१ प्रतिशत र घाइतेदर ६ प्रतिशतले वृद्धि भइरहेको तथ्यांक छ ।
सवारी दुर्घटना वृद्धि भइरहेकाले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले सवारी दुर्घटनाको संख्यामा कमी एवं क्षति न्यूनीकरणका लागि विश्वभर दशवर्षे सडक सुरक्षा कार्यक्रम एकैपटक सुरु गरेको छ । संयुक्त राष्ट्रसंघीय महासभाले घोषणा गरेको 'सडक सुरक्षा दशक २०११-२०२०' र विश्व स्वास्थ्य संगठनले विश्वभर एकैपटक लागू गरेको थियो । गत वैशाखबाट नेपालमा पनि सडक सुरक्षा दशकको सुरुवात गरिएको छ । तर, सडक दुर्घटनाका घटनामा भने कमी नआएको प्रहरीले जनाएको छ ।
'सडक दुर्घटना नेपालमा उत्पादनशील युवाको मृत्युको पहिलो कारण बनेको छ,' सडक दुर्घटनाबारे अध्ययन गरी तयार पारिएको प्रतिवेदनमा भनिएको छ, 'सन् २००४ मा विश्वमा मानव मृत्युको कारणमध्ये नौ नम्बर स्थानमा रहेको सडक दुर्घटना ऊर्जाशील युवाको मृत्युको पहिलो कारण बनेको छ ।' प्रतिवेदनअनुसार सन् २०३० मा मानव मृत्युको कारणहरूमा सडक दुर्घटना पाँच नम्बर स्थानमा आउने अनुमान पनि गरिएको छ ।
नेपालमा भने मानव मृत्युको कारणमध्ये सडक दुर्घटना चार नम्बर स्थानमा र मानिसलाई अपांग बनाउनेमा तीन नम्बर कारणमा छ । प्रतिवेदनअनुसार अहिलेकै गतिमा जाने हो भने सन् २०२० सम्ममा सडक दुर्घटना नेपालमा मानव मृत्युको तेस्रो कारणमा पर्नेछ ।
सडक दुर्घटनाका कारण हुने मृत्युहरूमध्ये ७० प्रतिशत ऊर्जाशील जनशक्ति हुने गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 'नेपालका १५ देखि ६४ वर्ष उमेरका ७० प्रतिशत ऊर्जाशील मानिसको मृत्युको कारण सडक दुर्घटना बनेको छ,' प्रतिवेदनमा भनिएको छ, 'अन्य देशमा विभिन्न रोग मृत्युका कारण बनेकोमा नेपालमा भने सडक दुर्घटना अग्रस्थानमा आउन लागेको छ ।'
नेपालमा हुने सडक दुर्घटनामध्ये सबैभन्दा बढी दुईपांग्रे साधन मोटरसाइकल, स्कुटर रहेको तथ्यांकले देखाएको छ । 'सडकमा हुने दुर्घटनामध्ये ४० प्रतिशतभन्दा माथि दुईपांग्रे सवारीसाधन पर्ने गर्छ, त्यसपछि मात्र अन्य सवारीसाधन पर्ने गर्छन्,' प्रतिवेदनमा भनिएको छ, 'दुईपांग्रे साधनमा दुर्घटनामा पर्नेमा अधिकांश १५ देखि २५ वर्ष उमेरका युवा छन् ।'
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष ०६६/६७ मा सात हजार चार सय ३७ सवारीसाधन दुर्घटना भएका थिए । ती दुर्घटनामा सबैभन्दा बढी चालकको लापरबाहीका कारण भएको पाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको प्रतिवेदनअनुसार ०६६/६७ मा भएका कुल दुर्घटनामध्ये चालकको लापरबाहीका कारण दुई हजार तीन सय १५, ओभरटेक गर्दा नौ सय ४७, तीव्र गतिका कारण एक हजार ६ सय दुई, मद्यपान सेवनका कारण पाँच सय पाँच, ओभरलोडका कारण चार सय ८४ दुर्घटना भएको थियो । त्यस्तै, मेसिनरी गडबढीका कारण पाँच सय २३, पैदलयात्रीका कारण एक हजार ११, पशुपक्षीका कारण ३९ र अन्य विविध कारणले ११ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था विभागको आर्थिक वर्ष ०६६/०६७ को तथ्यांकअनुसार नेपालमा कुल १० लाख १५ हजार दुई सय ७१ सवारीसाधन छन् । यीमध्ये सबैभन्दा धेरै सात लाख ४४ हजार सात सय २७ दुईपांग्रे साधन हुन् ।

No comments:

Post a Comment