Pages

Friday, January 13, 2017

केही चिकित्सकले मविरुद्ध विभिन्न स्थानमा उजुरी हाले : कमला थापा

नेपालमा परिवार नियोजन क्षेत्रमा उल्लेखनीय योगदान पुर्या एबापत सरकारले हालै सुनौलो परिवार नेपाललाई सम्मान गरेको छ। सुनौलो परिवार नेपाल लामो समयदेखि नेपालमा परिवार नियोजनसँगै सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ। बीस वर्षअघि नेपालमा असुरक्षित गर्भपतनका कारण धेरै महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो।
तत्कालीन समयमा नेपाली सेना परिवारमा जन्मेर सैनिक परिवारमा नै विवाह गरेकी एक महिलाले असुरक्षित गर्भपतनका कारण ज्यान गुमाइरहेका नेपाली महिलाको ज्यान बचाउन गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने विषयमा आवाज उठाइन्। ती महिला थिइन्, कमला थापा। नेपाली सेनाका पूर्वप्रधान सेनापति प्यारजंग थापाकी श्रीमती थापा सुनौलो परिवार नेपालकी संस्थापक अध्यक्ष हुन्। थापाले मेरी स्टोप्स इन्टरनेसनल नेपालको राष्ट्रिय निर्देशकका रूपमा १५ वर्ष काम गरेकी छन्। गर्भपतनसम्बन्धी कानुन नै नभएको समयमा नेपाली आमाहरूको ज्यान बचाउन भन्दै गैरकानुनी भए पनि सुरक्षित गर्भपतन सेवा सुरु गर्न आँट गर्ने र गर्भपतनसम्बन्धी कानुन ल्याउन योगदान गर्ने थापासँग परिवार नियोजन, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य विषयमा प्रवीण ढकालले गरेको कुराकानी:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सम्मानलाई कसरी हेर्नुभएको छ?

एकजनाको प्रयासले खोलेको संस्थाले राष्ट्रियस्तरमा यत्रो सम्मान पाउँदा निकै खुसी लागेको छ। लगातारको मेहनत र टिमवर्कका कारण हामीले गरेको कामको सम्मान सरकारले ढिलै भए पनि गरेको छ। सम्मान पाएको दिन मेरो आँखाबाट खुसीको आँसु झरेको थियो। उक्त सम्मानले यो क्षेत्रमा काम गर्ने हामी सबैलाई गौरवान्वित बनाएको छ। साथै, यो क्षेत्रमा काम गर्ने अरुलाई थप राम्रो काम गर्न प्रोत्साहित गरेको छ। असुरक्षित गर्भपतका कारण बढिरहेको मातृ मृत्युदर घटाउन हामीले सुरु गरेको अभियानलाई सरकारले कानुनी मान्यता दिनुका साथै राष्ट्रिय कार्यक्रमसमेत बनाएको छ। सुरक्षित गर्भपतनसँगै परिवार नियोजनका क्षेत्रमा गरिएको कामकै कारण अहिले नेपालको मातृ मृत्युदरमा निकै कमी आएको छ। मातृ मृत्युदर घटाएवापत् नेपालले अन्तर्राष्ट्रिय अवार्डसमेत पाउन सकेको छ।

नेपालमा गर्भपतनसम्बन्धी कानुन नै नभएको समयमा सुनौलो परिवार नेपाल कसरी आयो र यसले कसरी सुरक्षित गर्भपतन क्लिनिकहरू सञ्चालनमा ल्याउन सक्यो?

म सानैदेखि समाजसेवामा रूचि भएको मानिस हुँ। गरिब, दुःखमा परेकालाई सेवा गर्दा मलाई निकै आनन्द लाग्छ। त्यही भएर मेरो काम पनि सुरुदेखि नै सामाजिक सेवाका क्षेत्रमा नै भयो। मैले सबैभन्दा पहिला बालमन्दिरमा काम गरेकी थिएँ। त्यसपछि, बाल कल्याण समन्वय समिति हुँदै समाज कल्याण परिषद्मा गरेँ। व्यवस्थापन र प्रशासनिक काममा पनि म तानिन पुगेँ। यही क्रममा मेरी स्टोप्स इन्टरनेसनलले नेपालमा काम गर्ने मानिस खोजिरहेको रहेछ। मेरो इच्छासँग मेल खाने भएपछि मैले त्यहाँ काम गर्ने सोच बनाएँ र अगाडि बढेँ। हुन त म स्वास्थ्य क्षेत्रको मानिस होइन। नेपालमा त्यतिबेला मातृ मृत्युदर प्रति एक लाखमा ५ सय ३९ थियो। असुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यका विषयमा जानकारी नहुँदा धेरै आमाले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था थियो। त्यसले मलाई छोयो र नेपाली आमाहरूको ज्यान जोगाउन मेरी स्टोप्समा आबद्ध भएँ। तर, दाताको रकम सोझै खर्च गर्न पाउने व्यवस्था थिएन। त्यसपछि हरेक परिवारलाई सुनौलो भविष्य दिनुपर्छ भनेर संस्थाको नाम नै सुनौलो परिवार भनेर राखियो। यो संस्था सन् १९९४ मा आउँदा नेपालमा गर्भपतनसम्बन्धी कानुन नै थिएन। तर, मैले कानुन बनाउनुपर्छ भनेर आवाज उठाइरहेँ। गैरकानुनी भए पनि नेपाली महिला र आमाको ज्यान जोगाउन सुरक्षित गर्भपतन गर्ने क्लिनिकहरू खोलेँ। मैले क्लिनिकमा सुरक्षित गर्भपतन गरिएको विवरण सरकारलाई नै पठाउँथेँ। हाम्रो काम राम्रो हुँदै गएपछि सरकारले सन् २००३ मा गर्भपतनसम्बन्धी कानुन ल्यायो।

तपाईं सैनिक परिवारमा जन्मेको अनि विवाह पनि त्यस्तै परिवारमा भएको मानिस। फेरि स्वास्थ्य क्षेत्रको पनि पर्नुभएन, एक्कासी यसरी गर्भपतन र परिवार नियोजनका क्षेत्रमा काम गर्दा समस्या परेन?

सुरुआती अवस्थामा धेरै चुनौती सामना गर्नुपर्योि। घरपरिवार, छिमेकी, साथीभाइदेखि अन्यत्रसमेत आलोचना हुन्थ्यो। अधिकांशले नकारात्मक कुरामात्र गर्थे। मेरो आलोचना गर्नेले यस विषयमा राम्ररी कुरा बुझेका थिएनन्। त्यसले मलाई झन् काम गर्ने ऊर्जा थप्यो। सुरुमा त सुरक्षित गर्भपतनको कानुन नहुँदा घरबाट पनि गैरकानुनी काम किन गरेको भन्ने प्रश्न आउँथ्यो। हजारौँ महिलाको ज्यान जोगाउन अहिले नै काम अगाडि बढाउनुपर्छ भनेर सम्झाउँथेँ। साथै, कानुन बनाउने विषयमा पनि आवाज उठाइरहन्थेँ। म स्वास्थ्य क्षेत्रको मानिस नभए पनि मैले व्यवस्थापन र प्रशासनको काम गरेकी थिएँ। क्लिनिकहरूमा गुणस्तरीय सेवा प्रदान गर्न पूर्वाधार र पर्याप्त जनशक्तिको व्यवस्थापन गरेकी थिएँ। गुणस्तरीयरूपमा सेवा अगाडि बढेपछि त्यतिबेला केही निजी अभ्यास गर्ने चिकित्सकले मेरो काम रोक्न निकै प्रयास गरेका थिए। मविरुद्ध विभिन्न स्थानमा समेत उजुरी हालेका थिए। तर, पछि सबैतिरबाट हाम्रो कामको प्रशंसा भयो।

मेरी स्टोप्स सेन्टरहरूमा पछिल्ला वर्षमा गैरकानुनी र लिंग पहिचानपछिको गर्भपतन पनि गराइन्छ भन्ने आरोप छ नि?

हाम्रा क्लिनिकमा त्यस्तो कुनै पनि अवैध काम हुँदैन। लिंग पहिचान गरेर गर्भपतन त झन् हुने कुनै पनि सम्भावना छैन। किनभने, हाम्रा क्लिनिकमा अल्ट्रासाउन्ड नै छैन। अल्ट्रासाउन्ड नै नभएको ठाउँमा लिंग पहिचान हुन्छ भन्नु सरासर गलत हो। हाम्रा संस्थालाई अरु कसैले फसाउन यस्ता हल्ला चलाएको हुनुपर्छ। हामीले कहिल्यै गुणस्तरमा सम्झौता गरेका छैनौँ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रका लागि केही योगदान गर्न खोलिएको यस्ता संस्थाले त्यस्ता गलत कार्य गर्नै सक्दैन।

मेरी स्टोप्स भन्नेबित्तिकै गर्भपतन गर्ने क्लिनिकमात्र भन्ने बुझिन्छ। यसको काम त्यतिमात्र हो?

होइन। हामीले सुरक्षित गर्भपतनसँगै प्रजनन् स्वास्थ्यका क्षेत्रमा धेरै कार्यक्रम गरिरहेका छौँ। असुरक्षित गर्भपतन भइरहेको समयमा सुरक्षित गर्भपतन सेवा सुरु गरेको र गर्भपतनसम्बन्धी कानुन ल्याउन विशेष योगदान गरेकाले त्यस्तो सन्देस गएको हुनसक्छ। हामीले सुरक्षित गर्भपतन सेवाबाहेक परिवार नियोजन क्षेत्रमा, यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रमा समेत काम गरिरहेका छौँ। परिवार नियोजनका क्षेत्रमा गरेको कामको त सरकारले हालै कदर पनि गरेको छ। सन् २००५ देखि अहिलेसम्मको अवधिमा हामीले दुई लाख ८६ हजारभन्दा बढीको मिनिल्याप, ५५ हजारभन्दा बढीको भ्यासेक्टोमी गरिसकेका छौँ। साथै, परिवार नियोजनका अस्थायी साधन लाखौँ वितरण गरेका छौं।

सुनौलो परिवार नेपाललाई अब कुनरूपमा अगाडि बढेको हेर्न चाहनुहुन्छ?

सुनौलो परिवार नेपाल सुरु गर्दा नै मैले देशका ७५ वटै जिल्लामा यसका क्लिनिक स्थापना गर्ने लक्ष्य लिएकी थिएँ। तर, त्यो लक्ष्य पूरा गर्न सकिएको छैन। मैले त्यहाँबाट छाडेको पनि ५ वर्ष भइसकेको छ। रिटायर्ड लाइफ बिताउँछु भनेर अलि छिटो संस्था छाडेको हो कि जस्तो लागिरहेछ। सुगमदेखि दुर्गम जिल्लामा हाम्रा क्लिनिक क्रमशः विस्तार भएका थिए। तर, अहिले केही सुस्तता आएको छ। अब छिट्टै नै मैले सुरुमा देखेको उक्त लक्ष्य पूरा हुन्छ भन्ने विश्वास लिएकी छु। दूरदराजका महिलाले सेवा दिने संस्था अभावमा ज्यान गुमाउन नपरोस् भन्ने नै मेरो चाहना हो। यो संस्थाले आफूलाई विस्तार गरेर सबैतिर सेवा प्रदान गर्छ भन्ने मलाई लागेको छ।शुक्रबार ११ मंसिर, २०७२
-नागरिक

No comments:

Post a Comment