Pages

Wednesday, February 15, 2012

पशु भिटामिन पानी बराबर रहेको पुष्टि

image
बजारमा बिक्री भइरहेको पशु भिटामिन पानीबराबर भएको र नष्ट गर्ने निर्णय


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २० पुस
नेपाली बजारमा बिक्री भइरहेका पशुको भिटामिन पानीबराबर रहेको सरकारले नै पुष्टि गरेको छ । तर, ती भिटामिन अझै बजारमा खुलेआम बिक्री भइरहेका छन् ।
नयाँ पत्रिकामा ५ मंसिरमा 'पशु भिटामिन पानीबराबर' शीर्षकमा समाचार प्रकाशित भएलगत्तै पशु सेवा विभागले पशु भिटामिनको गुणस्तर जाँच गर्न टोली गठन गरेको थियो । टोलीले नेपाली बजारमा बिक्री भएका दुई भारतीय कम्पनीका भिटामिन पानीबराबर रहेको पुष्टि गरेको हो । ती भिटामिन तत्काल बजारबाट फिर्ता गर्न वा विभागको रोहवरमा नष्ट गर्न सम्बन्धित कम्पनीका डिष्ट्रिब्युटर्सलाई निर्देशन दिइएको छ ।
विभागले निजी क्षेत्रका व्यवसायीको पहलमा केही भारतीय र नेपाली कम्पनीका भिटामिन एवं फिड सप्लिमेन्टको नमुना परीक्षण गरेको थियो । नमुना परीक्षण गरिएका भारतीय कम्पनी नेचुरल हब्स एन्ड फर्मुलेसनको उत्पादन हाइटोन, पिभिएस ल्याब्रोटोरिजको उत्पादन विन स्टे्रेस र भ्याक्सिन प्लस नामक पशु भिटामिन पानीबराबर रहेको भेटिएको हो ।
पशु भिटामिनको गुणस्तर जाँच गर्न गठित फिड सप्लिमेन्ट प्राविधिक समितिले नेचुरल र पिभिएस कम्पनीद्वारा उत्पादित भिटामिन पानीबराबर रहेकाले नेपालमा ती उत्पादन वितरण गर्ने कान्तिपुर भेट डिष्ट्रिब्युटर र बिग बी भेट डिष्ट्रिब्युटरलाई तत्काल बजारबाट ती भिटामिन फिर्ता गर्न वा विभागको रोहवरमा नष्ट गर्न १२ पुसमा निर्देशन दिएको थियो । तर, निर्देशन दिएको एक साता बितिसक्दा पनि ती भिटामिन फिर्ता गरिएको छैन । बजारमा अझै ती भिटामिनको बिक्री भइरहेको विभाग स्रोतले बतायो ।
विभागअन्तर्गतको लाइभस्टक गुण व्यवस्थापन कार्यालयका प्रमुख जितेन्द्रमान थिकेका अनुसार औषधि उत्पादन संघको पहलमा गत मंसिरमा केही भारतीय र नेपाली कम्पनीका उत्पादन नमुना संकलन गरेर छुट्टाछुट्टै मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गराउँदा भिटामिनको नाममा पानी बिक्री गरिरहेको सावित भएको हो । उनले न्यून गुणस्तरका र कामै नलाग्ने भिटामिन नेपालमा पठाउने ती दुवै कम्पनीको सिफारिस रद्द गरिएको र बजारमा भएका त्यस्ता भिटामिन फिर्ता गर्न सम्बन्धित डिष्ट्रिब्युटरलाई निर्देशन दिइसकेको जानकारी दिए । विभागले पनि कमसल पशु भिटामिन बिक्री-वितरण बन्द गर्न र बजारमा रहेको स्टक नष्ट गर्न निर्देशन दिएको छ ।
विभागको रिपोर्टअनुसार भारतीय कम्पनी पिभिएस ल्याब्रोटोरिजको उत्पादन भ्याक्सिन प्लसमा भिटामिन 'ए'को मात्रा दुई लाख ५० हजार आइयू दाबी गरिएकामा दुई दशमलव ४६ प्रतिशत मात्रै भेटिएको छ । त्यस्तै पिभिएसकै विन स्ट्रेस भिटामिन 'ए' पनि दुई लाख ५० हजार आइयू दाबी गरिएकोमा एक दशमलव ६४ प्रतिशत पाइएको छ ।
अर्को भारतीय कम्पनी नेचुरल हब्सको उत्पादन हाइटोन नामको भिटामिन 'ए'मा पनि दुई लाख ५० हजार आइयू रहेको दाबी गरिएको थियो । तर, परीक्षणमा जम्मा एक दशमलव ३१ प्रतिशत मात्रा भिटामिन रहेको देखिएको छ ।
यसअघि पनि नयाँ पत्रिकाले दुवै कम्पनीको भिटामिनको नेपाल रिसर्च फाउन्डेसन प्रालि -एनआरएफ)मा गरिएको परीक्षणका आधारमा भिटामिन 'ए' र 'ई' पानीबराबर रहेको समाचार प्रकाशित गरेको थियो । एनआरएफमा गरिएको परीक्षणले नेचुरल हब्सको हाइटोन भिटामिन 'ई'को बट्टामा भिटामिन 'ई'को मात्रा १५० एमजी उल्लेख गरिएको भए पनि ल्याब परीक्षणमा भिटामिनको मात्रा शून्य रहेको, नेचुरल हब्सकै उत्पादन हाइटोन भिटामिन 'ए'मा पनि भिटामिनको मात्रा तोकिएकोभन्दा ९३ दशमलव ३७ प्रतिशत कम रहेको थियो । पिभिएस ल्याब्रोटोरिजको विन स्ट्रेस नामको भिटामिन 'ई'मा तोकिएकोभन्दा ९९ दशमलव २६ प्रतिशत कम भिटामिन रहेको, विन स्ट्रेस भिटामिन 'ए'मा पनि तोकिएकोभन्दा ९८ दशमलव ३४ प्रतिशत कम भिटामिन राखिएको परीक्षणमा देखिएको थियो ।
यसैगरी, सोही कम्पनीले उत्पादन गरेको भ्याक्सिन प्लस नामको भिटामिन 'ए' र 'ई'मा पनि भिटामिनको मात्रा निकै कम रहेको परीक्षणले देखाएको थियो । भ्याक्सिन प्लस भिटामिन 'ए'मा तोकिएकोभन्दा ९७ दशमलव ९१ प्रतिशत कम र भिटामिन 'ई'मा तोकिएकोभन्दा ९७ दशमलव ९१ प्रतिशत कम रहेको परीक्षणले देखाएको थियो । विभागले गत महिनामात्र गरेको परीक्षणले पनि ती उत्पादनमा भिटामिनको मात्रा बढीमा पाँच प्रतिशत मात्र रहेको देखाएको छ ।
विभागको परीक्षणमा भारतीय उत्पादन कमसल देखिए पनि नेपाली उत्पादन भने निकै राम्रो देखिएको छ । परीक्षणमा नेपाली कम्पनी मेडिभेट फर्मास्युटिकल्स, क्युमेट, लाइफकेयर र र्फमुलेसनका उत्पादनमा ९७ देखि ९९ प्रतिशतसम्म भिटामिन भेटिएको छ ।
पशुको तौल तथा दूध बढाउन र रोग प्रतिरोध क्षमता बढाउन भारतबाट आयात गरिएका भिटामिनमा समस्या देखिएपछि आयातकर्ताले आफूहरूलाई कम्पनीले ठगिरहेको बताएका छन् । नेचुरल हब्सको उत्पादन बिक्री गर्दै आइरहेका कान्तिपुर भेट डिष्ट्रिब्युटर्सका सञ्चालक तथा नेपाल पशुपक्षी औषधि व्यवसायी संघका प्रथम अध्यक्ष ऋषि बडालले आइएसओ मान्यताप्राप्त कम्पनीको उत्पादन राम्रो नै होला भन्ने लागेकोमा परीक्षणले ठगिएको कुरा देखाएको बताए ।
'नेपालमा आउने पशु भिटामिनको यसअघि कुनै पनि परीक्षण हुने गरेको थिएन । त्यसकारण हामीलाई आइएसओ पाएको कम्पनीले राम्रै औषधि पठाएको होला भन्ने लागेको थियो,' बडालले भने, 'तर, हामी भ्रममा रहेछौँ, हामीलाई त कम्पनीले चिटिङ पो गरिरहेको रहेछ ।' उनले बजारमा गएका पानीबराबरको भिटामिन फिर्ता ल्याउने काम भइरहेको दाबीसमेत गरे ।
नेपाल औषधि उत्पादक संघका केन्द्रीय सदस्य दीपक दाहालले पशु भिटामिनको नाममा किसानलाई वषार्ंैदेखि ठग्दै आएका कम्पनीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा भिटामिन आयात सबै किसिमको परीक्षण गरेर मात्र गर्नुपर्ने बताए । 'पानीबराबरका भिटामिन बिक्री गर्नु सरासर ठगी हो,' दाहालले भने । उनका अनुसार नेपाली बजारमा वाषिर्क ९० करोडभन्दा बढी फिड सप्लिमेन्टको कारोबार हुने गरेको छ ।
आइएसओ ९००१ प्राप्त कम्पनीको उत्पादनमा नै समस्या देखिएपछि सरकारले अबदेखि विश्व स्वास्थ्य संगठनको जिएमपी प्रमाणपत्र पाएका कम्पनीलाई आधार मानेर मात्र नेपालमा भिटामिनको आयात गर्न अनुमति दिने भएको छ । साथै, नेपालमा आयात हुने सबै किसिमका भिटामिन तथा फिड सप्लिमेन्टको ल्याब परीक्षण गरेर मात्र आयात गर्नुपर्ने र नेपालमा पनि पुनः परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
पशु सेवा विभागले मातहतका कार्यालय र भारतीय कम्पनीलाई प्रतिवेदनबारे जानकारी गराइसकेको छ । विभागले भन्सार विभागलाई आगामी दिनमा भारतीय उत्पादन नेपाल भित्र्याउँदा अनिवार्य प्रयोगशाला विश्लेषण गर्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्न आग्रह गर्ने भएको छ ।

No comments:

Post a Comment