Pages

Thursday, September 1, 2011

केशरभोग र विश्रान्ती मिठाइ पसल कारबाहीमा

image

वाणिज्य विभागले बजार अनुगमनका क्रममा अस्वस्थ मिठाइ बिक्री गरेका दुई मिठाइ पसललाई समेत कारबाही गरेको छ

नयाँ पत्रिका

काठमाडौं, १४ भदौ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बजार अनुगमन तीव्र बनाएको छ । मंगलबार मिठाइ पसलहरूको निरीक्षण गर्दा जनावरको बोसो मिसाइएको घ्यू प्रयोग गर्ने, फोहोर ठाउँमा मिठाइ बनाएको भेटिएका केशरभोग र विश्रान्ती मिठाइ पसललाई कारबाही गरिएको जिप्रका काठमाडौंले जनाएको छ ।

वाणिज्य विभागले बजार अनुगमनका क्रममा अस्वस्थ मिठाइ बिक्री गरेका दुई मिठाइ पसललाई समेत कारबाही गरेको छ । विभागले सोमबार ढलमाथि भान्छा बनाएर अस्वस्थकर मिठाइ उत्पादन गरिरहेको नक्सालस्थित केशरभोग मिठाइ पसलको बिक्री बन्द गरी तीनदिने स्पष्टीकरण सोधेको छ भने मैतिदेविस्थित विश्रान्ति मिठाइ पसललाई स्पष्टीकरण सोधेको छ ।

विभागका अनुसार केशरभोगको सञ्चालकलाई तीनदिनभित्र स्पष्ट कारणसहित विभागमा बयानका लागि उपस्थित हुन पत्र पठाइएको छ भने अस्वस्थकर मिठाइ उत्पादन गरिरहेको भेटिएकाले विश्रान्तिलाई स्पष्टीकरण सोधेर सुधार गर्न सुझाब दिइएको छ ।

'बजार निरीक्षणका क्रममा अनमोलमा बिक्री गरिएका मिठाइमा अशुद्ध घ्यू र म्याद सकिएका मसला मिसाइएको पाइएको छ,' प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले भने, 'मिठाइ तथा अशुद्ध भेटिएका घ्यूको नमुना परीक्षणपछि कानुनअनुसार कारबाही गर्नेछौँ ।' उनका अनुसार अनमोलमा फेला परेका सबै अशुद्ध घ्यू प्रशासनले ल्याएर राखेको छ ।

प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, प्रहरी र उपभोक्तासित मिलेर गरेको अनुगमनमा सो पसलबाट एक सय ५० किलो अशुद्ध घ्यू र एक सय प्याकेट मिति सकिएको मसला फेला पारेको थियो ।

'अनुगमनका क्रममा पसलमा १५ किलो जाने टिनका १० टिन घ्यू फेलापरेको छ भने म्याद गुजि्रएका एक सय प्याकेट मसला,' प्रजिअ ढकालले भने, 'ति सबैलाई नियन्त्रणमा लिएर प्रशासन कार्यालयमा ल्याइएको छ ।' उनले अनमोलमा अशुद्ध घ्यू सप्लाई गर्ने एक कर्मचारीलाई नियन्त्रणमा लिएको बताए ।

अनमोलले कन्हैया घ्यू उद्योगबाट घ्यू खरिद गर्दै आएको टोलीलाई जनाएपछि टोलीले कन्हैयाको पुरानो बानेश्वरस्थित गोदाममा छानबिन गरेको थियो । कन्हैयाको गोदाममा त्यस्तो घ्यू नभेटिएपछि टोलीले कर्मचारीलाई नियन्त्रणमा लिएको प्रजिअ ढकालले बताए । 'नियन्त्रणमा लिइएको कर्मचारीको बयान लिने काम भइरहेको छ,' उनले भने, 'उसको बयान र खाद्य प्र्रविधिको प्रतिवेदन आएपछि घ्यू सप्लाई गर्ने र मिठाइ पसललाई कारबाही हुनेछ ।' उनले अनुगमनका क्रममा अनमोल स्विट्समा बिक्रीका लागि राखिएका गुणस्तरहीन मिठाइ नष्ट गरिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारीका अनुसार बजारमा बिक्री हुने अधिकांश घ्यूमा जनावरका बोसो मिसाइएकोे पाइएको छ । 'गाई, भैँसीको भनेर बिक्री गरिने अधिकांश घ्यूमा बोसो मिसाउने गरिएको पाइन्छ,' उनले भने, 'बजार अनुगमन र कारबाही फितलो भएकाले यस्तो समस्या सधैँ देखिन्छ ।' उनका अनुसार बजारमा बिक्री गरिने शुद्ध घ्यूको हालको मूल्य पाँच सयको हाराहारीमा छ, तर बोसो मिसाइएका अशुद्ध घ्यू डेढ सयदेखि तीन सय रुपैयाँसम्ममा पाइन्छ । प्रशासनले मंगलबार अनमोलमा फेला पारेको मिसावटयुक्त घ्यू पनि अनमोलले एक सय ८० रुपैयाँमा खरिद गरेको जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजारमा देखिएको समस्या समाधान गर्न केही समय अघिदेखि नियमित रूपमा बजारको निरीक्षण गरिरहेको ढकालले बताए । उनले नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनतालाई राहत हुने कार्यक्रम ल्याउन सबैलाई निर्देशन दिइएको वेला प्रशासनले नियमित रूपमा गरेको कार्यक्रम त्यसैअन्तर्गत पर्ने जनाए ।

'बजारमा खाद्य सामग्रीमा थुप्रै समस्या छन्,' उनले भने, 'नियमित अनुगमन गर्ने हो भने त्यस्ता समस्या हराउनेछन् ।' उनका अनुसार प्रशासनले केही समयअघिदेखि विभिन्न पाँच विधा बनाएर उपभोक्ताअधिकार सुरक्षित गर्न नियमित अनुगमन थालेको हो ।

तस्बिर : श्रीधर पौडेल/नयाँ पत्रिका

No comments:

Post a Comment