Pages

Thursday, October 20, 2011

राजधानीमा रगत अभाव

प्रवीण ढकाल
image

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन्

नयाँ पत्रिका

काठमाडौं, २३ असोज

बिरामीलाई आवश्यक रगत जुनसुकै वेला उपलब्ध गराउने केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । रगत अभावका कारण राजधानीका विभिन्न अस्पतालमा ल्याइएका बिरामीको उपचारमा समेत असर परेको छ ।

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, प्रसूति गृहलगायतका अस्पतालमा दसैँ सुरु भएदेखि नै रगतको 'स्टक' सिद्धिएको छ ।

स्रोतका अनुसार रगत अभावका कारण केन्द्रले इमरजेन्सी पर्नेलाई तत्काल दाता खोजेर रगत उपलब्ध गराउने गरेको छ । तर, तत्काल कुनै दुर्घटना वा विपत्ति आइपरेमा भने केन्द्रले रगत उपलब्ध गराउन नसक्ने स्रेतले बतायो ।

'केन्द्रमा रगतको स्टक नै छैन,' स्रोतले भन्यो, 'जसोतसो हारगुहार गरेर दातालाई फकाएर रगत मिलाइरहेका छौँ । यही वेलामा कुनै दुर्घटना वा विपत्ति परेर रगतको आवश्यकता पर्‍यो भने केन्द्रले उपलब्ध गराउन सक्दैन ।'

स्रोतका अनुसार केन्द्रमा दुई महिनाअघिसम्म 'बी पोजेटिभ' समूहको रगत कमी थियो । केही समयअघिसम्म पाइएको 'बी' र 'एबी' पोजेटिभ समूहको रगत तथा अन्य समूहको रगत भण्डारण्ा पर्याप्त छैन । केन्द्रकी निर्देशक डा. मनिता राजकणिर्कारले भने केन्द्रमा रगतको अभाव नभएको दाबी गरिन् । 'दसैँका कारण दैनिक संकलन कम भएकाले रगतको भण्डारणमा केही कमी आएको पक्कै हो,' उनले भनिन्, 'तर रगत नै नभएको अवस्था भने होइन ।'

रक्तसञ्चार केन्द्रका अनुसार राजधानीमा दैनिक दुई सय ५० देखि तीन सय पिन्टसम्म रगतको माग छ । तर केन्द्रमा जम्मा एक सय ५० देखि दुई सय पिन्टसम्म मात्र रगत संकलन हुने गरेको छ । मागको अनुपातमा संकलन न्यून भएकाले बिरामीका आफन्त आफैँले दाता खोजेर रगत ल्याउनुपर्ने बाध्यता रहेको निर्देशक डा. राजकणिर्कारले बताइन् । उनका अनुसार दसैँको समयमा रगत दिने दाताहरू कम हुने तथा दसैँैपछि उपचार गराउन आउने बढी भएकाले पनि यो समयमा सधैँजसो रगतको केही समस्या आउने गरेको छ । स्रोतका अनुसार केन्द्रले संकलन कम भएकाले धेरै मानिसमा पाइने 'ए पोजेटिभ' समूहको रगत पनि उपलब्ध गराउन नसक्ने अवस्थामा पुगिसकेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले भने राजधानीमा रगतको अभाव भएको बताए । उनका अनुसार केन्द्रमा रगत अभाव भएपछि दसैँदेखि नै अस्पतालमा दाता नै गएर रगत दिइरहेका छन् । 'केन्द्रमा रगत नपाएपछि मानिसले हामी डोनरहरूलाई फोन गर्छन्,' उनले भने, 'हामीले दैनिक दशदेखि १५ जना डोनरलाई खोजेर रगत दिनुपरिरहेको छ ।'

कर्माचार्यका अनुसार राजधानीमा रक्तसञ्चार केन्द्रकै व्यवस्थापकीय कमजोरीका कारण रगतको अभाव देखिएको हो । 'केन्द्रकै व्यवस्थापन राम्रो नभएकाले रगतमा समस्या देखिएको हो,' उनले भने, 'केन्द्रको लापरबाहीका कारण रक्त व्यवस्थापन समिति देखाउने दाँत मात्र भएको छ । त्यसले केही व्यवस्थापन गर्न सकेको छैन ।' उनले केन्द्रले रक्तदानबारे जनचेतना जगाउने खासै काम नगरेको पनि उनको गुनासो थियो ।

No comments:

Post a Comment