Pages

Tuesday, February 14, 2012

किन हुन्छ एलर्जी ?

image

दुईजिउ हुँदा धेरै महिलाको शरीर चिलाउँछ, यौनांग, तल्लोपेट, स्तनवरिपरि एवं अन्य भागमा यो समस्याले सताउँछ । यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।

नयाँ पत्रिका

शरीरलाई कुनै चीज नफाप्नु एलर्जी हो । सबैलाई सबै चीज नफाप्ने भन्ने हुँदैन । कसैलाई धुलोले त कसैलाई खानेकुरा या पानीले एलर्जी हुन्छ । कसैलाई भने सिटामोल, ब्रुफिन वा अन्य कुनै औषधिले शरीर चिलाउँछ । कतिपयलाई लुगाबाट पनि एलर्जी भइदिन्छ । कसैलाई झारपात या बोटबिरुवाको एलर्जी हुन्छ भने कतिलाई त लामखुट्टे, भुसुना आदि कीटपतंगको टोकाइले पनि एलर्जी हुने गरेको पाइन्छ । त्यस्तै कसैलाई केरा, मासको दाल अन्डाले पनि एलर्जी गराएको हुन सक्छ । जुनसुकै चीजले, जोकसैलाई एलर्जी गराउन सक्ने बताउँछन् छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थ 

पछिल्लो समयमा वातावरणीय प्रदूषण बढ्दो छ । कतिपयलाई यो पनि एलर्जीको समस्या बन्ने गरेको छ । हावापानीकै कारण एलर्जीको समस्या लिएर अस्पताल तथा क्लिनिक धाउने बिरामीको संख्या अचेल बढिरहेको कायस्थ बताउँछन् । खासगरी प्रदूषित पानीका कारण एलर्जी भएर देखाउन आउनेहरू प्रशस्तै रहेको कायस्थको अनुभव छ 

एलर्जी मुख्यतया तीन किसिमका पाइएका छन् । मुखबाट भित्र गएको सास फोक्सोसम्म पुगेको छ र त्यसबाट एलर्जी भएको छ भने त्यस्ता मानिसलाई दम हुने गर्छ । तर, बूढाबूढीलाई हुने दम र एलर्जीका कारण हुने दम भने फरक हुन्छ । 'एलर्जीले सानै उमेरका मानिसलाई पनि दमको समस्या ल्याउँछ,' कायस्थ बताउँछन् । यसप्रकारको एलर्जी हावाबाट हुने एलर्जी हो । त्यस्तै नाकबाट हावा पसेर अर्को प्रकारको एलर्जी हुन्छ । यस्तो एलर्जीलाई 'राइनाइटिस' भनिन्छ । त्यस्तो एलर्जी हुँदा नाक बन्द भइरहने, नाकबाट पानी आइरहने हुन्छ 

कुनै चीज खाँदा पनि कतिपयलाई एलर्जी हुने गर्छ । यस्तो एलर्जी हुँदा खानेकुरा पेटमा पुगेर रगत हुँदै छालामा फैलिएर असर गर्छ । त्यस्तोमा छालामा फोका वा बिबिरा देखिन्छ 

छालामा सीधै स्पर्श भएर पनि एलर्जी हुन्छ । छालाले बोटबिरुवा, लुगा छोएपछि शरीरलाई नफाप्ने हुन्छ । कपालमा रंग लगाउँदा पनि एलर्जी हुन्छ । माटो या सिमेन्टको काम गर्नेलाई पनि एलर्जी हुने गर्छ । कपालमा कालो वा रातो रंग लगाउँदा एलर्जी भएर अस्पताल धाउनेको संख्या पनि उल्लेख्य रहेको चिकित्सक कायस्थको भनाइ छ 

लामो समयसम्म एलर्जी भए कन्याउँदा-कन्याउँदै घाउसमेत हुन सक्छ । अर्को गम्भीर किसिमको एलर्जी भयो भने आगोले पोलेजस्तो फोका उठ्छ र पानी जम्छ । एलर्जी भयो भन्दै धेरै मानिस उपचारका लागि अस्पताल पुग्छन्, तर चिलाउने रोगका सबै कारण एलर्जी मात्र नभएको कायस्थ बताउँछन् । 'छालाको रोगले पनि एलर्जीले जस्तै चिलाउँछ, भित्री रोगले पनि एकदमै चिलाउँछ, तर सबै चिलाउने रोग एलर्जी होइन,' उनले भने 

खानेकुरा, कपडा, बोटबिरुवाको एलर्जी हुँदा औषधि खानुपर्छ । त्यसबाहेक शरीरको भित्री कारणले हुने एलर्जी भने सामान्य एलर्जीको औषधिले निको हुँदैन । जन्डिस हुँदा, कलेजोमा सिरोसिस हुँदा, रक्तअल्पता वा रगत बढी हुनेहरूमा पनि एलर्जी हुन्छ । रगत बढी भएर हुने एलर्जी पोलिसाइथेमिया हो । गर्भवती अवस्थामा पनि एलर्जी हुने चिकित्सकको भनाइ छ । 'दुईजिउ हुँदा धेरै महिलाको शरीर र यौनांग चिलाउँछ,' उनले भने, 'क्यान्सरले पनि चिलाउँछ, ग्लान्डको क्यान्सरले पनि चिलाउँछ, यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।'

एलर्जीपछि उपचार गर्नभन्दा जुन-जुन चीजले एलर्जी भइरहेको छ, त्यसबाट बच्नु नै एलर्जीको उपचार हो । त्यसबाहेक धेरै चिलाएको छ भने चिलाउन कम हुने औषधि खानुपर्छ । डाबर आएको छ भने यो कम गर्न औषधि खानुपर्छ । चिकित्सकलाई देखाएर औषधि खानु राम्रो, तर चिकित्सक सहरमा त पुग्दैनन्, गाउँमा त झन् भन्नेबित्तिकै कहाँ भेटिन्छन् ? नपुगेको अवस्थामा चिलाउन कम गर्ने एभिललगायतको औषधि खाएर तत्काललाई चिलाउने समस्या कम गर्न सकिन्छ । त्यति गर्दा पनि निको नभए चिकित्सकलाई देखाउनु राम्रो हुन्छ 

उपचार खोज्नुअघि के कारणले चिलाएको हो, पत्ता लगाउनुपर्ने हुन्छ । किनकि, चिलाउने लक्षणका रोग धेरैथरी हुन्छन् । लुतोले पनि चिलाएको हुन सक्छ । त्यस्तोमा एलर्जी भनेर नचिलाउने औषधि खाएर लुतो त निको हुँदैन, लुतोका कीटाणु पनि मर्दैन, चिलाउनचाहिँ कम हुन्छ । छालाका अन्य रोगले पनि चिलाउने समस्या आउने गर्छ । दाद आउँदा पनि चिलाउँछ, तर यो एलर्जी होइन । कास लाग्दा पनि चिलाउँछ, ढुसी पर्छ । त्यसलाई फङ्गस पनि भनिन्छ । यस्तोमा एलर्जीको औषधि खाएर पुग्दैन, कीरा नै मार्ने औषधि खानुपर्छ 

एलर्जीको उपचार गर्दा सुरुमा त चिलाउन कम गर्ने औषधि खानुपर्छ । त्यसपछि एलर्जी के कारणले भएको हो, त्यसैको औषधि खानुपर्छ । कपालको रंग लगाउनेहरूमा घाँटीतिर फोका उठेर चिलाएको हुन्छ । त्यस्तो भएमा रंग लगाउन छाड्नुपर्छ । सिमेन्टको काम गर्दा एलर्जी भयो भने प्रत्येकचोटि एलर्जी हुँदा औषधि खाइरहन सम्भव हुँदैन । चिकित्सकलाई देखाउन पटक-पटक धाइरहन सम्भव नहुने हुँदा व्यवसाय नै परिवर्तन गर्नु राम्रो हुन्छ 

No comments:

Post a Comment