Pages

Monday, June 6, 2011

जाजरकोटका प्रत्येक घरमा जीवनजल र पियुष वितरण गरिने

देशैभरिका स्वास्थ्य स्वयंसेवकको झोलामा १० वटा जीवनजल, पियुष र जिंक चक्की अनिवार्य रूपमा बोक्नुपर्ने निर्देशन
प्रवीण ढकाल
काठमाडौं, २१ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखालाको उच्च जोखिममा रहेको जाजरकोटका प्रत्येक घरमा जीवनजल र पानी शुद्ध पार्ने औषधि निःशुल्क वितरण गर्ने भएको छ ।
जिल्लामा झाडापखालाका बिरामी देखिन थालेकाले महामारी फैलन नदिन सरकारले जीवनजल र पानि शुद्ध पार्ने औषधि वितरण गर्ने कार्यक्रम ल्याएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवर्द्धन प्रधानले बताए । उनका अनुसार जाजरकोटका प्रत्येक घरमा चार/चार वटा जीवनजल र एक/एकवटा पानी शुद्ध पार्ने औषधि पियुष वितरण गर्न लागिएको छ ।
'२६ जेठबाट जिल्लामा जीवनजल र पियुष वितरण गर्ने काम सुरु हुनेछ,' उनले भने, 'जिल्लामा रहेका स्वास्थ्य स्वयंसेवक र स्वास्थ्यकर्मीले प्रत्येक घरमा जीवनजल र पियुष निःशुल्क वितरण गर्ने छन् ।' मन्त्रालयले ति जिल्लाका प्रत्येक स्वयंसेवकलाई झोलामा २० वटासम्म जीवनजल र केही पियुष अनिवार्य बोक्न निर्देशन दिइसकेको छ । मन्त्रालयले जाजरकोटका लागि आवश्यक जीवनजल र पियुष पठाउने काम सुरु गरिसकेको महानिर्देशक प्रधानले बताए ।
वषर्ा लाग्नवित्तिकै जाजरकोटमा मात्र नभई देशैभरि झाडापखालाको प्रकोप देखिन थालेकाले सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सर्तक गराइसकिएको छ । महानिर्देशक प्रधान भन्छन्, 'अस्पतालमा झडापखालाका बिरामी आउने क्रम बढ्दै गएकाले स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई सतर्क गराउँदै बिदासमेत नबसी जुनसुकै अवस्थामा बिरामीको उपचार गर्न निर्देशन दिइसकिएको छ ।' उनका अनुसार दुई वर्ष अगाडिको जस्तै महामारी फैलन सक्ने सम्भावना रहेकाले जाजरकोटलगायत अन्य जिल्लामा रहेका र्‍यापिड रेस्पोन्स टिमलाई सक्रिय बनाइएको छ ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विश्वराज खनालले दुई वर्षअघिको जस्तो अवस्था आउन नदिन विशेष तयारी गरेको र जिल्ला-जिल्लामा स्वास्थ्यकर्मी तथा औषधि पठाइसकेको बताए । भन्छन्, 'यो झाडापखालाको प्रकोप रोक्न सबैले खानपान तथा सफासुग्घरमा विशेष ध्यान दिनुपर्छ ।' उनका अनुसार देशभरमै उच्च सतर्कता अपनाउँदै देशभरिका प्रत्येक गाविसका स्वास्थ्य स्वयंसेवकले झोलामा १० वटा जीवनजल, केही पियुष र जिंक चक्की अनिवार्य बोक्न निर्देशन दिइसकिएको छ ।
सरकारले वैशाखदेखि असोजसम्मलाई झाडापखाला खतराको महिनाको सूचीमा राखेको छ । यो समयमा खानेपानी, खानेकुरा तथा जताततै फोहोर हुने भएकाले झाडापखालाका रोगी बढ्ने गरेको पाइन्छ । डा. खनालका अनुसार दुईवर्ष अगाडि महामारी देखिएका १८ जिल्लामा पुनः महामारी आउनसक्ने भएकाले ति जिल्लामा सर्तकता अपनाइएको छ । महाशाखाले जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुरलाई उच्च जोखिममा राखेको छ । काठमाडौं उपत्यकालाई समेत जोखिम क्षेत्रका रूपमा हेरिएको छ ।
'वषर्ायाममा पानीका मुहान फोहोर हुने, गर्मीका कारण दुग्ध र दुग्धजन्य पदार्थ, अन्डा तथा अन्य खानेकुरा चाँडै बिग्रने भएकाले यो समयमा झाडापखालाका रोगी बढी देखिन्छन्,' डा. खनालले भने, 'त्यसकारण सधैं पानी उमालेर वा शुद्धीकरण गरेको पिउने गर्नुपर्छ । घरबाहिर जथाभावी खानुहँुदैन ।'
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि २० अर्ब मानिस झाडापखालाबाट संक्रमित हुन्छन् । तिमध्ये नेपालमा बर्सेनि १० लाखभन्दा बढी संक्रमित हुने गरेको बताइन्छ । नेपालका दुर्गम क्षेत्रमा झाडापखालाले महामारीको रूप लिनुमा त्यस क्षेत्रमा चर्पीको व्यवस्था नहुनु, स्वच्छ खानेपानी अभाव, कुपोषण, सरसफाइसम्बन्धी चेतनाको कमी नै प्रमुख कारण रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

No comments:

Post a Comment