Pages

Wednesday, February 15, 2012

स्वास्थ्यमन्त्रीले फाइल अड्काए

image

सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र राख्ने निर्देशिका तयार

निर्देशिकामा चुरोट, बिँडी, खैनी, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थको बट्टाको विभिन्न भागमा ७५ प्रतिशतले फोक्सो, मुख र घाँटीका क्यान्सर भएका र मृत बच्चाको चित्र राख्नुपर्ने व्यवस्था

प्रवीण ढकाल

नयाँ पत्रिका

काठमाडौं, २ कात्तिक

चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल र प्याकेजिङको ७५ प्रतिशत भागमा यसको सेवनबाट हुने घातक असरको चेतावनीमूलक रंगिन चित्रसहितको सन्देश राख्ने निर्देशिकाको मस्यौदा तयार भएको छ । तर, १८ कात्तिकदेखि लागू हुनुपर्ने निर्देशिकाको फाइल स्वास्थ्यमन्त्रीले अड्काएर राखेका छन् ।

मन्त्री महतोले विभिन्न चुरोट तथा सुर्ती उत्पादकसितको मिलेमतोमा निर्देशिकालाई निष्प्रभावी बनाउन फाइल अड्काएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो । 'निर्देशिकामा चित्र र सन्देश छनोट गरी पठाइएसकिएको छ,' स्रोतले भन्यो, 'तर निर्देशिका लागू हुने दिन नजिकिसक्दा पनि मन्त्रीले फाइललाई क्याबिनेटमा पठाएका छैनन् ।'

निर्देशिकामा भएको व्यवस्थाका आधारमा सुर्ती तथा चुरोट उत्पादक कम्पनीले बट्टा तथा र्‍यापर्समा चेतावनीमूलक चित्रसहितको सन्देश राख्नुपर्ने हुन्छ । मन्त्रीले फाइल अड्काउँदा १८ गतेबाट सो व्यवस्था लागू हुने सम्भावना न्यून बनेको छ । मन्त्रीनिकटका व्यक्तिले भने महतोकोमा निर्देशिकाको फाइल नआएको दाबी गरेका छन् ।

सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने) ऐन ०६८ अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा राख्ने चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका मस्यौदा तयार पारिएको हो । ऐनले चेतावनीका चित्रसहितको सन्देश नभएका चुरोट तथा सुर्तीजन्य वस्तुको बिक्री गर्न नपाइने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बालकृष्ण सुवेदीले बताए ।

'कसैले पनि ऐनको दफा ९ को उपदफा -१) बमोजिमको चेेतावनीमूलक सन्देश र चित्र नभएका सुर्तीजन्य पदार्थ कात्तिक १८ गतेदेखि उत्पादन, बिक्री, वितरण र खरिद गर्न पाउने छैन,' प्रवक्ता सुवेदीले भने, 'ऐनविपरीत गरेको पाइएमा त्यस्ता उत्पादक वा व्यक्तिलाई कारबाही हुनेछ ।' उनका अनुसार १८ कात्तिकपछि चेतावनीमूलक सन्देश र चित्र नभएका चुरोट तथा सुर्तीजन्य पदार्थ बजारमा पाइए जफत गरिनेछ ।

२२ साउनदेखि नै लागू भएको सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाउने व्यवस्थासमेत कार्यान्वयनमा आएको छैन । यसको कार्यान्वयनका लागि निरीक्षकको व्यवस्था गर्न तयार पारिएको नियमावली पनि स्वास्थ्यमन्त्री महतोले अड्काएर राखेको मन्त्रालय स्रोतले जनाएको छ । 'नियमावलीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुखको अध्यक्षतामा निरीक्षण टोली बनाउने व्यवस्था गरेको छ । तर, नियमावली नै मन्त्रीले अगाडि नबढाउँदा ऐन लागू लामो समयसम्म पनि कसैलाई सजाय भएको छैन,' स्रोतले बतायो ।

के छ मस्यौदा निर्देशिकामा ?

ऐनले व्यवस्था गरेअनुसार मस्यौदा निर्देशिकामा चुरोट तथा बिडीका बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य भाग, माथिल्लो मुख्य भागमा क्रमशः फोक्सोको क्यान्सर भएको, मृत बच्चा भएको चित्र ७५ प्रतिशत राख्नुपर्ने उल्लेख छ । खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको ७५ प्रतिशत माथिल्लो मुख्य भागमा मुख र घाँटीको क्यान्सर भएको चित्र राख्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयले तयार पारेको मस्यौदाअनुसार उत्पादकले चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'धूम्रपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर हुन्छ भन्ने लेख्नुपर्नेछ । सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश, सहायक दायाँ भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश लेख्नुपर्नेछ । सहायक बायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश राख्नुपर्ने निर्देशिका मन्त्रालयले तयार गरेको छ ।

निर्देशिकाअनुसार सबै सन्देश देवनागरी पि्रती फन्टमा २० प्वाइन्टको आकारमा र सहायक सन्देशहरू १२ प्वाइन्टको आकारमा हुनुपर्नेछ । 'सन्देश लेखिने अक्षरको रंग सेतो हुनेछ,' निर्देशिकामा भनिएको छ, 'त्यस्तै सन्देश लेखिने पृष्ठभूमिको रंग रातो हुनेछ ।'

निर्देशिकामा बिडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि रातो पृष्ठभूमिमा सेतो अक्षरमा चेतावनीमूलक सन्देश लेख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार आयातकार बिडीको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'तपाईंले गरेको धूम्रपान तथा सुर्तीसेवनले कम तौल भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ' भन्ने सन्देश लेख्नुपर्ने छ । सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' सहायक दायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्ने निर्देशिकामा जनाइएको छ ।

यसैगरी, सोली आकारको बिडीको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'तपाईंले गरेको धूम्रपान तथा सुर्तीसेवनले कम तौल भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ' तल्लोे भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश छाप्नुपर्नेछ । निर्देशिकाले सन्देशको अक्षर अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा १४ प्वाइन्ट र सहायक भागमा १२ प्वाइन्टको आकार हुनुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तीजन्य पदार्थ सेवनलेे ज्यान लिन्छ' र अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य तल्लो भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । गोलाकार खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टाको बिर्कोकोे मुख्य माथिल्लो बाहिरी भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । बट्टाको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तीजन्य पदार्थ सेवनलेे ज्यान लिन्छ' भन्ने सन्देश र बट्टाकोे अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य तल्लो भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । 'सन्देश लेखिने अक्षरको नाम देवनागरी पि्रती फन्ट हुनेछ,' निर्देशिकामा भनिएको छ, 'सन्देश लेखिने अक्षरको आकार अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा १८ प्वाइन्ट, तल्लो भागमा १२ प्वाइन्ट आकारमा सेतो रंगमा रातो पृष्ठभूमिमा हुनेछ ।'

निर्देशिकाले सुर्तीजन्य पदार्थको प्याकेजिङ, पेटी र पार्सलको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'धूम्रपान तथा सुर्तीसेवनले फोक्सोको क्यान्सर हुन्छ' भन्ने सन्देश, सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश छाप्नुपर्ने पनि व्यवस्था गरेको छ । सहायक दायाँ भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छाडौँ' र सहायक बायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्ने व्यवस्थासमेत गरिएको छ । निर्देशिकाले यसमा लेखिने अक्षरको आकार अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा ४० प्वाइन्ट र सहायक भागमा ३० प्वाइन्ट रातो पृष्ठभूमिमा सेतो अक्षरमा हुनुपर्ने व्यवस्था गरेको छ ।

नोटः चुरोट तथा सुर्तीका बट्टामा राखिने चित्र र सन्देशको फोटोहरू छन् ।

No comments:

Post a Comment