Pages

Monday, June 29, 2015

इन्टर्नलाई 'दोषी देखाउन' कलेज–अस्पताल बन्द, नोबेलको नयाँ निहुँ

अजित तिवारी
विराटनगर- इन्टर्न डाक्टरले नोबेल मेडिकल कलेजसँग दुइटा माग राखे। एउटा, इन्टर्न अवधिको तलब १२ हजार रुपैयाँ हुनुपर्ने। दोस्रो, भर्नाका बेला सुरक्षाबापत धरौटी राखेको ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने। कलेजले प्रशासनले इन्टर्नबापत मासिक ३ हजार ७ सय रुपैयाँभन्दा बढी नदिने अडान राख्यो। इन्टर्न डाक्टरलाई चित्त बुझेन, दुईटै माग पूरा गराउन आन्दोलनमा उत्रिए।
ओपिडी सेवा प्रभावित हुने गरी इन्टर्नले १४ दिनसम्म आन्दोलन गरे। कलेज सञ्चालक सुनील शर्मा आन्दोलन अवधिमा विराटनगर आएनन्। उनको अनुपस्थितिमा इन्टर्न डाक्टरको माग सुनुवाइ गर्ने हैसियत कलेजका अरू अधिकारीले राख्दैनन्। पटक–पटक वार्ता भयो, शर्मा काठमाडौंमै बसिरहे। काठमाडौं विश्वविद्यालय (केयु) ले इन्टर्नसिप गर्ने डाक्टरलाई मासिक न्यूनतम १० हजार रुपैयाँ दिनुपर्ने मापदण्ड तोकिदियो। आन्दोलनरत पक्षले नोबेलबाट त्यसको लिखित प्रतिबद्धता माग्यो।

'इन्टर्न डाक्टरको हकमा केयुले तलबको मापदण्ड तोकिसकेपछि कुरा लगभग मिलिसकेको थियो,' इन्टर्न डाक्टर गणेश फुलाराले सोमबार पत्रकार सम्मेलनमा भने, 'हामी आन्दोलनमा उत्रिएकाले मागका विषयमा लिखित प्रतिबद्धता माग्यौं तर कलेज प्रशासनले अचानक अस्पतालै बन्द गरिदियो।' इन्टर्न डाक्टरको आन्दोलनले मेडिकल कलेज र अस्पताल सञ्चालनमा समस्या परेको बताउँदै नोबेलले आइतबार उपचाररत बिरामीलाई अन्तै जान उर्दी जारी गरेको थियो। 'तोडफोड, हो–हल्ला र आकस्मिक सेवाबाहेक सबै अवरुद्ध पारेकाले अनिश्चित कालका लागि अस्पताल बन्द गरिएको छ,' नोबेलका निर्देशक राजेश नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'केयु र शिक्षा मन्त्रालयको पत्रअनुसार इन्टर्नहरूको निर्वाहभत्ता र विद्यार्थीहरूको सेक्युरिटी डिपोजिट सम्बन्धमा स्पष्ट समाधान दिइसक्दा पनि संस्थालाई गम्भीर क्षति पुर्यािउने क्रियाकलाप जारी राखेकोले कलेज र अस्पताल बन्द गर्नुपरेको हो।'
आन्दोलनरत इन्टर्न डाक्टरलाई 'तह' लगाउन नोबेल मेडिकल कलेजले गम्भीर बिरामीलाई समेत अस्पतालबाट निकालिदियो। जबर्जस्ती बेड छाड्न लगाएपछि २ सयभन्दा बढी बिरामी बिचल्लीमा छन्।
तर, इन्टर्न डाक्टरले केयुले तोकेको निर्वाहभत्ताको आधिकारिक पत्र प्राप्त नभएको र सेक्युरिटी डिपोजिटको हकमा स्पष्ट अभिव्यक्ति कलेजले नदिएकाले आन्दोलनलाई निरन्तरता दिनुपरेको बताएका छन्। 'वार्तामा भएका थुपै्र सहमति लुकाइयो, मौखिक आश्वासनलाई लिखित गरौ भने कलेजले मान्दै–मानेनन्,' फुलाराले भने, 'होस्टलबाट निकालेको तीन दिनमा कलेजले हामीलाई फेरि होस्टलमा राख्न तयार भए, हामीले लिखित माग्यौं, प्रिन्ट भएर पनि आयो, दोस्रो दिन त्यो सहमतिपत्र माग्दा हरायो भनियो।' इन्टर्न डाक्टरले पटक–पटक धोका दिएकाले कलेजसँग मागका विषयमा लिखितै प्रतिबद्धता मागेका थिए।

नोबेलले त्यसलाई नै निहुँ बनाएर कलेज र अस्पताल दुवै बन्द गरिदिए। आन्दोलनरत इन्टर्न डाक्टरलाई 'तह' लगाउन नोबेल मेडिकल कलेजले गम्भीर बिरामीलाई समेत अस्पतालबाट निकालिदियो। जबर्जस्ती बेड छाड्न लगाएपछि २ सयभन्दा बढी बिरामी बिचल्लीमा छन्।

नोबेलले भने सबै पक्षको सरसल्लाह र सुझावपछि कलेज र अस्पतालको सेवा नियमित गर्ने बताएको छ। 'कलेज सञ्चालक शर्मा आफू त वार्तामा आएनन्, वार्ता गरिरहेको प्रशासनमा समेत ताला लगाइदिए,' इन्टर्न डाक्टरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'वार्तामा समस्याको हल खोज्नुको साटो झुलाउने काम मात्र गरियो।'

प्रशासन बन्द गरेर वार्ताको ढोका थुनेपछि आन्दोलनरत इन्टर्न डाक्टर नोबेलको ओपिडी कक्षअगाडि धर्ना बसेका थिए। त्यसैलाई कारण देखाएर अस्पतालले आइतबारदेखि ओपिडीसमेत बन्द गरेको थियो। 'अस्पतालका सबै सेवा ठप्प पारेको र तोडफोड गरेको आरोप निराधार हो, हामीलाई फसाउन खोजेको मात्र हो,' फुलाराले भने, 'कलेज र अस्पताल नियमित हुनुपर्योो, हाम्रो भविष्यसँग खेलबाड गर्न भएन।' नोबेलले कलेज र अस्पतालको सेवा बन्द गरेपछि त्यहाँ कार्यरत फ्याकल्टी र इन्टर्न डाक्टरले सोमबार अस्पताल परिसरमै ओपिडी सेवा प्रारम्भ गरेका छन्। 'अस्पताल बन्द गर्नुको कुनै कारण नै थिएन,' पत्रकार सम्मेलनमा उपस्थित फ्याकल्टी डाक्टर सञ्जयकुमार साहले भने, 'त्यसैले हामी अस्पतालबाहिरै ओपिडी सेवा थालेका छौं।'

नोबेलका फ्याकल्टी डाक्टरले पनि समयमै तलब माग गर्दै आन्दोलन गरिरहेका छन्। 'तीन–तीन महिनासम्म तलब दिँदैनन्,' डा. साहले भने, 'हामीले समयमै तलब दिनुपर्ने, नागरिक लगानी कोष र कर कार्यालयमा तलबबाट काटिएको प्रतिशत लगत्तै जम्मा हुनुपर्ने माग राखेका छौं।'

नोबेलको नयाँ निहुँ

नोबेल मेडिकल कलेजले इन्टर्न डाक्टरको आन्दोलनमा सहभागी शिक्षा मन्त्रालयको कोटामा पढेका विद्यार्थीलाई 'कारबाही' गराउन निहुँ झिकेको छ। शिक्षाको कोटामा कलेजको पाँचौं ब्याचमा २४ विद्यार्थी अध्ययनरत छन्। इन्टर्न डाक्टरसँगै कोटामा आएका विद्यार्थी पनि आन्दोलनमा सहभागी भएका छन्।

नोबेलले जारी गरेको विज्ञप्तिमा छात्रवृत्तिमा मनोनयन भई इन्टर्नसिप गरिरहेका विद्यार्थीले उठाएका मागप्रति छलफल गर्न शिक्षासचिवले दुईज ना विद्यार्थी बोलाए पनि उपस्थित नभएको उल्लेख छ। 'शिक्षासचिवको संयोजकत्वमा वार्ताका लागि बोलाउँदा पनि विद्यार्थी प्रतिनिधि आएनन्, त्यसपछि शिक्षामन्त्रीस्तरीय निर्णय भएकाले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई माग सम्बोधन निमित्त वार्तामा आउन सूचित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ। यता, आन्दोलनरत इन्टर्न डाक्टरले असार ११ गतेको बैठकमा उपस्थित हुन नसकेको शिक्षा मन्त्रालयलाई जानकारी गराइसकेको बताउँदै अर्को बैठकमा उपस्थित हुने पत्रकार सम्मेलनमा बताए।

'शिक्षा मन्त्रालयको कोटामा पढेका इन्टर्न डाक्टरलाई अप्ठ्यारोमा पार्न खोजिएको हो,' फुलाराले भने, 'कोटामा पनि पढ्ने, अनि आन्दोलन पनि गर्ने, देखाइदिन्छु भनेर नोबेलका अधिकारीहरूले छात्रवृत्ति पाएका विद्यार्थीलाई धम्क्याइरहेका छन्।'


उपत्यकामा नयाँ मेडिकल कलेज नखुल्ने : माथेमा प्रतिवेदन (प्रतिवेदनको संक्षेपसहित)

प्रधानमन्त्री सुशील कोइरालालाई स्वास्थ्य शिक्षासम्बन्धी
राष्ट्रिय नीति तर्जुमाका लागि उच्चस्तरीय कार्यदलको
प्रतिवेदन बुझाउँदै संयोजक केदारभक्त माथेमा। तस्बिर : रासस
नागरिक 
काठमाडौं- स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलले आगामी दिनमा उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था खोल्ने अनुमति नदिन सुझाएको छ। त्यस्ता कलेज साना सहर तथा नयाँ बस्तीतर्फ केन्द्रित गर्न कार्यदलको सिफारिस छ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा. केदारभक्त माथेमा संयोजकत्वको उक्त कार्यदलले ६ महिनापछि सोमबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य शिक्षाबारे समग्र नीतिगत सुझाव दिइएको छ।

कार्यदलको प्रतिवेदनमा मेडिकल कलेजलाई सयभन्दा बढी सिट संख्या दिन नहुने र पूर्वाधारलगायत सर्त पूरा नगर्ने कलेजको सम्बन्धन खोस्न सकिने नीति लिनसमेत सुझाइएको छ।

सहज आयआर्जन र व्यवस्थापनका कारण धेरै स्वास्थ्य शिक्षण संस्था (मेडिकल, नर्सिङ र अन्य सामान्य चिकित्सक कलेज, प्रतिष्ठान) हरु काठमाडौं केन्द्रित हुन पुगेको ठहर गर्दै प्रतिवेदनमा यसैकारण बाहिरी सहर तथा ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याषउन कठिन भएको निष्कर्षसमेत निकालिएको छ।

केन्द्रीकृत प्रवृत्तिले देशको सन्तुलित विकासमा बाधासमेत पुगेकाले अबउप्रान्त उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था नखोल्ने, बरु तिनलाई साना सहर र नयाँ बस्तीमा लैजान प्रोत्साहन गर्ने नीति प्रस्ताव गरिएको संयोजक डा. माथेमाले जानकारी दिए।

माथेमा कार्यदलको सिफारिससँगै सम्बन्धनको पर्खाईमा रहेका चार मेडिकल कलेजले उपत्यकाभित्र नयाँ सम्बन्धन पाउने सम्भावना लगभग सकिएको छ।

माथेमा कार्यदलका सुझाव

– ठूला मेडिकल कलेज उपत्यकाबाहिर साना सहर र ग्रामीण क्षेत्रमा चलाऊ
– समग्र मेडिकल शिक्षा हेर्न 'चिकित्सा शिक्षा आयोग' गठन
– मेडिकल काउन्सिलको पुनःसंरचना
– एमबिबिएसको शिक्षण शुल्क ३५ लाख भन्दा बढी लिन नपाउने
– सय सिटभन्दा बढी नदिने, पूर्वाधार नपुर्या उनेको सम्बन्धन खोस्ने

त्रिवि र काठमाडौंलगायत विश्वविद्यालयमार्फत विभिन्न मेडिकल कलेजलाई सम्बन्धननिम्ति दबाब बढेपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसी नीति नबन्दासम्म सम्बन्धन दिन नहुने माग राख्दै पटकपटक सत्याग्रहमा बसेका थिए। सोही आधारमा पछिल्लोपटक पुस १८ गते सरकारले माथेमा संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो।

केसीको पाँचौं अनशन टुंग्याउँदा सरकारले माथेमा कार्यदलले बुझाएको प्रतिवेदअनुसार ऐन नबन्दासम्म नयाँ कलेज सम्बन्धन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

कार्यदल सदस्य डा. भगवान कोइरालाले सहरी क्षेत्रमा नयाँ कलेज खोल्न निरुत्साहित गर्ने र ग्रामीण क्षेत्रमा खोल्न प्रोत्साहित गर्ने नीति समानान्तर रुपमा अगाडि बढाउन सुझाइएको जानकारी दिए।

'चिकित्सा शिक्षा आयोग' गठन प्रस्ताव

कार्यदलले हाल सञ्चालित मेडिकल तथा सामान्य चिकित्सासम्बन्धी कलेज सुधारका लागि 'चिकित्सा शिक्षा आयोग' गठन प्रस्तावसमेत अघि सारेको छ। हाल विकृत देखिएका प्रवेश परीक्षा, शुल्क, लाइसेन्सिङ परीक्षा, पाठ्यक्रमलगायत विषय सुधारका लागि नयाँ नीतिगत व्यवस्था गर्न प्रतिवेदनमा औंल्याइएको छ।

एमबिबिएस तहको शुल्क ३५ लाख 

समितिले एमबिबिएस तहको शुल्क ३५ लाख रुपैयाँभन्दा बढी नहुने गरी तोक्न र त्यसभन्दा माथिल्लो तहको अध्ययन शुल्क नलिने व्यवस्था गर्न सरकारलाई नीतिगत व्यवस्थाका निम्ति सुझाव दिएको सदस्य डा. कोइरालाले जानकारी दिए।

एमबिबिएस तहको निश्चित शुल्क नहुँदा कलेजहरुले ५२ लाख रुपैयाँसम्म र स्नातकोत्तर तहमा त सवा करोडसम्म असुल्दै आएका छन्। चिकित्सा विज्ञान पढाउने सरकारी संस्थामा स्नातकोत्तर तह निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयले यसअघि नै कार्यविधि बनाएर प्रक्रिया बढाइसकेको छ।

'स्नातक तहको शुल्क वैज्ञानिक विश्लेषणका आधारमा तय गर्ने र स्नातकोत्तर तहमा शिक्षण शुल्क नलिने व्यवस्थाको सुरुआत गर्न प्रस्ताव गरिएको छ,' प्रतिवेदनमा छ।

कार्यदलले चार दशकयता स्वास्थ्य जनशक्ति उत्पादन क्षेत्रमा अभूतपूर्व विकास गरे पनि दीर्घकालीन सोच र योजनाबिनै चिकित्सा शिक्षा क्षेत्रमा मुनाफामूलक निजी क्षेत्रलाई ढोका खोलिदिँदा विसंगति भित्रिएको ठहरसमेत गरेको छ ।

योग्यताका आधारमा विद्यार्थी छनोट र भर्ना सुनिश्चितता सबैभन्दा महत्वपूर्ण हुने भन्दै साझा प्रवेश, प्राज्ञिक परीक्षा र डाक्टरी पढ्नसमेत विद्यार्थीको पूर्वयोग्यताका सम्बन्धमा नयाँ परिपाटी सुरु गर्ने कार्यदलको प्रस्ताव छ। सैद्धान्तिक ज्ञानका आधारमा मात्र लाइसेन्सिङ परीक्षामा मूल्यांकन गर्ने परिपाटी रहेकामा कार्यदलले सीपमूलक तथा व्यावहारिकतामा आधारित परीक्षा सञ्चालन गर्न सुझाएको छ।

नेपाल मेडिकल काउन्सिलको पुनःसंरचना

कार्यदलले चिकित्सा शिक्षामा प्रक्षेपण गरिएको सुधार वर्तमान संरचनाबाट सम्भव नहुने भन्दै यसलाई सम्बोधन गर्न विद्यमान कानुनी तथा नीतिगत व्यवस्थामा समेत परिवर्तन गर्नुपर्ने औंल्याएको छ। नेपाल मेडिकल काउन्सिलको पुनःसंरचनाको आधार र आवश्यकतासमेत सुझाइएको प्रतिवेदनमा समग्र क्षेत्र हेर्ने चिकित्सा शिक्षा आयोग गठन प्रस्ताव गरिएको छ।

'करिब २ सय विभिन्न विषय, तह र विधा समेट्ने चिकित्सा शिक्षा क्षेत्रको उचित व्यवस्थापन, अनुगमन गर्न सक्ने, सबै विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद तथा स्वास्थ्य शिक्षण संस्थालाई समेत संयोजन गर्न सक्ने किसिमको नयाँ संरचनाका रुपमा चिकित्सा शिक्षा आयोग प्रस्ताव गरिएको छ,' डा. माथेमा जानकारी दिए।

उनका अनुसार प्रस्तवित आयोग अध्यक्ष प्रधानमन्त्री हुनेछन् भने कार्यकारी अधिकारसहितको उपाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको छ। आयोगमा ६ जना वरिष्ठ चिकित्सक सदस्य रहनेछन्। ६ वटा निर्देशनालयसहितको आयोगले एकद्वार परीक्षा, पाठ्यक्रम र नयाँ सम्बन्धनसमेत हेर्नेछ। कार्यदलले अहिलेको अवस्थामा छुट्टै मेडिकल विश्वविद्यालयको सम्भावना नरहेको भन्दै हाल भएका अधिकारसम्पन्न निकायलाई संयोजन गर्न उच्चस्तरीय आयोग सिफारिस गरिएको कोइरालाले बताए।

अधिकार क्षेत्रमा चिकित्सक संघको आपत्ति

नयाँ प्रस्तावित व्यवस्थाको अधिकार क्षेत्रमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघका अध्यक्ष डा. अञ्जनी झाले प्रतिवेदन हस्तान्तण गर्न आयोजित प्रधानमन्त्री उपस्थित उच्चस्तरीय बैठकमै हाल सम्बन्धन प्रक्रिया नै झन्झटिलो भएको अवस्थामा आयोगलाई यस्तो अधिकार दिन नहुने बताए। 'अहिले नै पाँचवटा निकायमा अधिकार हुँदा झन् समस्या भएको छ,' झाले भने, 'आयोगलाई परीक्षा र पाठ्यक्रमको मात्र अधिकार दिनुपर्छ।'

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालासहित प्रमुख दलका शीर्ष नेता पुष्पकमल दाहाल, विजय गच्छदार, स्वास्थ्यमन्त्री खगराज अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव, योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल, मुख्य सचिव लीलामणि पौडेल र शिक्षा तथा स्वस्थ्या क्षेत्रका उच्च अधिकारी थिए।

प्रतिवेदन बुझेपछि पनि प्रधानमन्त्रीले विभिन्न विश्वविद्यालयका उपकुलपति, डिन, मेडिकल काउन्सिल, एसोसिएसनका पदाधिकारी बोलाएर प्रतिवेदनप्रति टिप्पणी गर्न भन्दै कार्यान्वयन प्रतिबद्धता र निर्देशन दिएका थिए।

कार्यदलमा केयुका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा. मदन उपाध्याय र डा. रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. भगवान कोइराला, शिक्षा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य थिए। कार्यदलले करिब ६ महिनामा ३ हजार घन्टा छलफलपछि प्रतिवेदन तयार पारेको माथेमाले जनाए।

कार्यदलले नेपालका सरोकारवालाका साथै अमेरिकाको हावर्ड, कोलम्बिया विश्वविद्यालयका मेडिकल शिक्षाविद र इन्डियन मेडिकल काउन्सिल प्रथम गभर्निङ बोर्डका सदस्य, पूर्वउपकूलपति, डिन पदाधिकारी लगायतलाई बोलाएर सुझाव लिएको थियो। कार्यदलले सर्वसाधारणबाट समेत सुझाव मागेको थियो।

प्रधानमन्त्री कोइरालाले माथेमा कार्यदलले दिएको सुझाव महत्वपूर्ण भएको बताए। प्रतिवेदनले नेपालको चिकित्सा शिक्षाको स्वस्थ, दिगो, गुणस्तरीय विकासमा सहयोग पुर्याोउने विश्वास व्यक्त गरे। 'यसले चिकित्सा शिक्षा र समग्र शिक्षा क्षेत्रका लागि अनुकरणीय सुझाव दिएको छ,' प्रधानमन्त्री कोइरालाले भने, 'यसले गुणस्तरीय शिक्षाका लागि सहयोग गरेको छ।'

प्रतिवेदन सही कार्यान्वयन भए नेपालीको सरदर आयु बढ्ने र प्रत्येक वर्ष करिब १५ लाख व्यक्तिलाई अकाल मृत्युबाट बचाउन सकिने ठहर समेत कार्यदलको छ।


बारुले कम्मरका लागि...

कम्मर र पेटतिर बोसो जम्मा हुनु राम्रो हो। यसले पेट, आन्द्रा र त्यस क्षेत्रका अन्य संवेदनशील अंगको रक्षा गर्ने गर्छ। तर, कम्मरतिर बोसो बढी नै लाग्यो भने यसले स्वास्थ्य त बिगार्छ नै, सुन्दरतामा पनि ह्रास ल्याउँछ। कम्मरको बोसो घटाउन यसो गर्नुपर्छ:

प्रसन्न रहनुपर्छ
रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अध्ययनले डिप्रेसन भएका अथवा हुन लागेका महिलाको कम्मरमा बोसो बढी लाग्ने तथ्य पत्ता लगाएको थियो। अप्रसन्न रहने महिलाले शारीरिक काम कम गर्छन् र उनीहरूको भोजन पनि सामान्य अवस्थामा जस्तो स्वास्थ्यकर र व्यवस्थित हुँदैन। जसले गर्दा कम्मरमा बढी बोसो जम्मा हुने गर्छ। बारुले कम्मर चाहने हो भने प्रसन्न रहनुपर्छ।

व्यायाम गर्नुपर्छ
नियमित व्यायाम गर्नाले मानिसको दिमागमा एकखालको रसायन उत्पन्न हुन्छ, जसले शरीरमा रहेको बोसोलाई अन्य ऊर्जामा रूपान्तरण गराउन मद्दत गर्छ। कम्मर छरितो बनाउने हो भने नियमित व्यायाम गर्नुपर्छ।


जंकफुड घटाउनुपर्छ
चिप्सजस्ता फास्टफुडमा कार्बोहाइड्रेट बढी हुन्छ भने कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ। चिप्स, कोल्ड ड्रिंक्स खानाले रगतमा चिनीको मात्रा ह्वात्तै बढ्छ र सँगसँगै शरीरमा इन्सुलिनको मात्रा पनि बढ्न पुग्छ। इन्सुलिनले कलेजोलाई शरीरको मध्य भागमा बोसो जम्मा गराउन मद्दत गर्छ। तसर्थ कम्मरलाई छरितो र आकर्षक बनाउने हो भने जंकफुडको मात्रा घटाउनुपर्छ र भोजनमा हरियो तरकारी र सलादको मात्रा बढाउने गर्नुपर्छ।

म्याग्नेसियमयुक्त खाना खानुपर्छ
सन् २०१३ मा गरिएको एक अनुसन्धानले म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने तथ्य फेला पारेको थियो। त्यसैले दिनमा दुईपटक हरियो सागसब्जी, केरा र सोयाबिन खाने गर्नुपर्छ। यी खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ।

रातो कम खानुपर्छ

पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड (पीयूएफए) युक्त खाना खानाले कम्मरमा बढी बोसो लाग्दैन। सालमन, ट्राउट अथवा अन्य खाले माछामा पीयूएफए प्रशस्त पाइने भएकाले मांसाहारीले मासुको सट्टा माछा खानुपर्छ। मासु नखाई नहुने छ भने स्याचुरेटेड फ्याट प्रशस्त पाइने रातो मासुको सट्टा कुखुराको मासु खानुपर्छ। यसो गर्नाले कम्मरमा अनावश्यक बोसो लाग्न पाउँदैन र कम्मर छिनेको देखिँदै जान्छ।

मदिरा घटाउनुपर्छ
सन् २०१३ मा डेनमार्कमा गरिएको एउटा अध्ययनले महिलाले जति बढी मदिराजन्य पदार्थ सेवन गर्छन्, शरीरमा बोसो उति नै बढी लाग्ने तथ्य पत्ता लगाएको थियो। त्यसैले कम्मरको अनावश्यक बोसो हटाई आकर्षक देखिने हो भने मदिराजन्य पदार्थ सेवन छोड्नुपर्छ अथवा कम गर्नुपर्छ।

फ्याट बढाउनुपर्छ
कम्मरमा रहेको बोसो घटाउन बोसोजन्य खानाको मात्रा बढाउनुपर्छ। तर, यसरी बढाइने फ्याटजन्य खानामा 'मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड (एमयूएफए) बाहेक अर्को खालको फ्याट हुनु हुँदैन। क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने महिलाको कम्मर एक महिनामै एकतिहाइले घटेको एउटा अनुसन्धानका क्रममा पाइएको थियो। भोजनमा एमयूएफए सुनिश्चित गर्न हरेक दिन एक अँजुली ड्राई फुडमा एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर खानुपर्छ।


पसिना निकाल्नुपर्छ
पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ। साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै नष्ट हुन्छ। पसिना निकाल्ने सबैभन्दा उपयुक्त उपाय भनेको जगिङ हो। त्यसैले हरेक बिहान जगिङ गर्नुपर्छ।

पराकम्पन र मुटुको धड्कन

प्रवीण ढकाल
काठमाडौं ।
सामाखुसीका कृष्णगोपाल श्रेष्ठ वैशाख १२ गतेको भूकम्पअघि स्वस्थ थिए। तर, भूकम्प र त्यसपछिका लगातारका कम्पनले उनी अस्वस्थ भए। भूकम्पपछि मुटु चस्केजस्तो हुने, ढुकढुकी बढ्ने र चक्कर लाग्ने समस्या आएपछि उनी उपचारका लागि अस्पताल पुगेका हुन्। अहिले उनी शहीद गंगालाल हृदयकेन्द्रमा मुटुको उपचार गराइरहेका छन्।
लाजिम्पाटका गोकुल नेपाल (बिरामीको आग्रहमा नाम परिवर्तन) पहिलेदेखि नै उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। भूकम्पपछिको तनाव र बस्ने ठेगान नहुँदा उनले औषधि सेवन गर्न पाएनन्। दुई साताअघि उनलाई हृदयाघात भयो। तत्कालै अस्पताल पुर्याेएकाले उनको ज्यान जोगियो। उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर, थेरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो।

श्रेष्ठ र नेपालमात्र होइनन्, भूकम्पपछि अत्यधिक तनावका कारण मुटुका बिरामी बढेका छन्। अझ यो बीचमा भूकम्पअघिदेखि नै उच्च रक्तचाप र मुटु रोगको औषधि सेवन गरिरहेका केही बिरामीलेे हृदयाघातका कारण ज्यानै गुमाउनुसमेत परेको छ। चिकित्सकका अनुसार तनावका कारण नयाँ रोगीको संख्या बढिरहेको र पुराना बिरामीको समस्या थप जटिल बन्दै गइरहेको छ।

गंगालाल अस्पतालका निर्देशक डा. मनबहादुर केसीका अनुसार भूकम्पपछि धेरै मानिसहरू मुटु हल्लिरहेको भन्दै अस्पतालमा उपचारका लागि आइरहेका छन्। 'अधिकांश बिरामीमा तनावका कारण मुटु हल्लिरहेको भान हुने समस्या देखिएको छ,' उनले भने, 'त्यस्तै, पहिला नै उच्च रक्तचाप र मुटु रोगको औषधि सेवन गरिरहेका बिरामीमा भने समयमा नै औषधि सेवन नगर्दा समस्या थप जटिल बन्दै गएको भेटिएको छ।'

भूकम्पपछि र लगातारको पराकम्पनका कारण गंगालालमा मुटु जाँच गराउन आउनेको संख्यासमेत बढेको डा. केसी बताउँछन्। उनका अनुसार वैशाख १२ गतेपछि मात्र अस्पतालमा करिब पाँच हजार नयाँ बिरामीले ओपीडीमा टिकट लिएर उपचार गरेका छन्। यस्तै यो बीचमा करिब ३० जना आकस्मिक कक्षमा आएका थिए। वैशाख २९ गतेको भूकम्पपछि त पाँचजना बिरामीको हृदयाघातका कारण बाटैमा मृत्यु भएको डा. केसी बताउँछन्। यसरी मृत्यु हुनेमा मुटु रोगको औषधि खाइरहेका र रक्तचापको बोर्डरलाइनमा रहेका बिरामीहरू थिए।

अत्यधिक मात्रामा डर मान्ने र तनावमा बस्दा मुटुको चालमा परिवर्तन आउने मनमोहन कार्डियोभास्कुलर थेरासिक ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्। 'एक्कासि हुने तनावका कारण मानिसको हेमाटोक्रिट बढ्छ। जसले रगतलाई बाक्लो बनाउँछ,' उनले भने, उनी भन्छन्, 'रगत बाक्लो हुनु भनेको हृदयाघात र स्ट्रोकका लागि वातावरण बन्नु हो।' उनका अनुसार यस्तो समयमा विगतदेखि नै औषधि खाइरहेका, मुटुको धड्कन बढेका वा मुटुको चालमा समस्या भएकाले विशेष ख्याल गर्नुपर्छ। उनीहरूले तनाव नलिई विशेषज्ञलाई देखाउनुपर्ने उनको सुझाव छ।

डा. भट्टराईका अनुसार भूकम्पपछि इटली, अमेरिका र ग्रिसमा भएको अध्ययनले समेत करिब ८० प्रतिशतको मुटुको चालमा परिवर्तन भएको देखाएको थियो। त्यस्तै मानिसहरूको सिस्टोलिक प्रेसर (मुटुको तल्लो चाप) २० प्रतिशतले बढेको र डायस्टोलिक प्रेसर (माथिल्लो चाप) ४६ प्रतिशतले बढेको देखाएको थियो।

'संसारका विभिन्न देशमा गएका भूकम्पपश्चात् गरिएका अनुसन्धानहरूले भूकम्पपछि मुटुसम्बन्धी (कार्डियोभास्कुलर) रोगीहरू बढेको देखाएको छ,' डा. भट्टराईले भने, 'भूकम्पपछिको अवस्था मानव शरीरको लागि पनि निकै तनावको अवस्था हो। जसमा शरीरको सिम्पाथेटिक नर्भस सिस्टम सक्रिय हुन्छ। मुटुको चाल एवं धड्कन सक्रिय हुन्छ र रक्तचाप बढ्न जान्छ।'

सन् २०११ मा जापानमा गएको भूकम्पपछि गरिएको अनुसन्धानले पनि हृदयाघात र मुटुका बिरामीको संख्या बढेको देखाएको थियो। जापानमा शहरमा भूकम्प जानुभन्दा चार हप्ताअघिको तथ्यांक र भूकम्पपछिको १६ हप्ताको तथ्यांक दाँजेर अनुसन्धान गरिएको थियो। यस्तै सन् १९९९ मा अमेरिकाको हार्ट जर्नलमा प्रकाशित हृदयाघात र अप्रत्याशित मृत्यसम्बन्धी विवरणमा पनि भूकम्पपछि मुटुका रोगी बढेको देखाएको छ। ती अनुसन्धानले भूकम्पपश्चात् मानिसको रगतको बाक्लोपना बढ्ने, फिब्रिनोजेन बढ्ने हुँदा मुटुको समस्या आउने गरेको देखाएका छन्। प्राकृतिक विपत्तिले उत्पन्न तनावमा मुटु र रक्तनली दुवैलाई ठूलो असर पुर्या उने भएकाले मानिसहरूले यस्तो समयमा आत्मबल बलियो बनाउनुपर्ने चिकित्सकको सुझाव छ।

मुटुरोग विशेषज्ञका अनुसार भूकम्प र पराकम्पनका समयमा मानिसले मन मस्तिष्कलाई तनावबाट टाढा राख्न अत्यन्त जरुरी छ। जति धेरै मानिसको आत्मबल बढी हुन्छ, त्यति धेरै समस्याबाट जोगिन सकिन्छ। मुटुरोगीहरूले सेवन गरिरहेका सम्पूर्ण औषधि नछुटाईकन सेवन गर्ने, मुटुसम्बन्धी समस्या देखिएको शंका लागेमा, मुटुको ढुकढुकी धेरै छिटो चलेको अनुभव भएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ।


Friday, June 26, 2015

हिमाली क्षेत्रमा पनि औलोका बिरामी

नागरिक संवाददाता
काठमाडौं– अहिले धेरैले औलोलाई तराईको रोग भन्ने ठान्छन्। तापक्रम वृद्धिसँगै तराईमा बढी भेटिने औलोका बिरामी पहाडी र हिमाली क्षेत्रमा समेत देखिन थालेका छन्। 'पहाडको माथिल्लो भाग र केही हिमाली क्षेत्रमा समेत औलोका बिरामी भेटिन थालेका छन्, ' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरले भने, 'तापक्रम बढ्दै गएकाले असोज अन्तिमसम्म पनि औलो देखिन थालेको छ।'

महाशाखाका अनुसार विगत वर्षहरूमा औलो चैतदेखि भदौसम्म धेरै मात्रामा देखिने गरेका थियो। औलो सार्ने परजीवी नभेटिएका जिल्लामा पनि संक्रमित भेटिनुले रोगको दायरा बढ्दै गएको देखिएको छ। प्रयोगशालाबाट प्रमाणित औलो रोगीको संख्या ३ हजार हाराहारीमा रहेको र शंकास्पद औलो रोगीको संख्या अप्रत्याशित रूपमा बढ्दै गएको ठाकुरले बताए। 
महाशाखाका अनुसार समुद्र सतहबाट १ हजार ५ सय मिटरमाथिका १० जिल्लाबाहेक ६५ वटा जिल्लामा औलोको संक्रमण छ। यही आधारमा नेपालको करिब असी प्रतिशत जनसंख्या औलोका जोखिममा रहेको सरकारी अनुमान छ। हालसम्म हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बु, भक्तपुर र काठमाडांैमा औलोको संक्रमण देखापरेको छैन। अहिले ती जिल्लामा लामखुट्टे भेटिए पनि औलो सार्ने प्यारासाइट भने भेटिएका छैनन्। भक्तपुर र काठमाडौंमा चाहिँ रोगी भेटिइसकेका छन्। 
सरकारले अहिले औलोका उच्चजोखिम रहेका ३१ जिल्लामा गर्मी मौसमको सुरूआतसँगै विषादीयुक्त झुल वितरण र विषादी छर्ने कार्यक्रम राखेको छ। 'हामी उच्चजोखिम भएका भन्दै तराईमाकेन्द्रित छौं, औलो पहाड र हिमाल चढ्दैछ,' महाशाखाका एक अधिकारीले भने। सरकारले रणनीतिक योजना तर्जुमा गरेर औलोका प्रमुख सूचक मानिने वार्षिक परजीवी दर प्रति हजारमा एकभन्दा कमबाट बढ्न नदिने लक्ष्य लिएको ठाकुरले बताए।
सन् २०१६ सम्ममा नेपालका औलोग्रस्त क्षेत्रका कम्तीमा ९० प्रतिशत स्थानमा लामखुट्टे नियन्त्रणका उपाय अवलम्वन गरिने उनले बताए। '९० प्रतिशत शंकास्पद औलो रोगीहरूको प्रयोगशालाबाट यकिन निदान गरी शतप्रतिशतलाई प्रभावकारी उपचार गरिनेछ,' निर्देशक ठाकुरले भने।
६५ जिल्लामा औलोको जोखिम भए पनि तीमध्ये सरकारले भारतीय सिमानास"ग जोडिएका तराईका १३ जिल्लालाई औलोको उच्चजोखिममा राखेको छ, जसमा झापा, इलाम, मोरङ, महोत्तरी, धनकुटा, सिन्धुली, काभ्रे, नवलपरासी, बर्दिया कैलाली, कन्चनपुर, डडेलधुरा र बा"के छन्। यो रोग लामखुट्टेको टोकाइबाट मात्रै सर्ने भएकोले औलो सम्भावित ठाउँमा झुल प्रयोग, लामखुट्टेले टोक्न नसक्ने क्रीम प्रयोग, घर वरिपरि सरसफाइ, विषादी छरेर रोगको जोखिमबाट बच्न सकिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २००८ मा विश्वव्यापी रूपमा २४ करोड ७० लाख औलो रोगी देखिएकामा १० लाखको मृत्यु भएको थियो।

यसरी सर्छ औलो

बोलचालको भाषामा कामज्वरो भनिने औलो पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइले सर्छ। औलो सर्न दुई वटा चक्र पूरा हुनुपर्छ। पहिलो चक्रअनुसार संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेपछि र्याईलस"गै व्यक्तिको रगतमा औलाकोे परजीवीलाई पुग्छ। संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलोको लक्षण देखापर्छ। दोस्रो चक्रअनुसार औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले पनि स्वस्थ व्यक्तिमा औलो सार्न सक्छ। यस्तो लामखुट्टेले औलो रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टले बिरामीको रगतस"गै औलोको परजीवीलाई समेत लिन्छ। त्यसको १२ देखि १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सक्षम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ उनीहरूलाई औलो सार्दै जान्छ। 
चार किसिमका परजीवीले औलो गराउने भए पनि नेपालमा प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिफेरमले औलो सार्छ। यी दुई परजीवीमध्ये भाइभेक्सभन्दा फाल्सिफेरमले कडा खालको औलो गराउँछ। कडा खालको औलो रोग लाग्यो भने बिरामीको अवस्था गम्भीर हुने र मस्तिष्कमा रक्तस्राव भई मृत्यु पनि हुनसक्ने ठाकुर बताउँछन्। 

औलोको लक्षण

लामखुट्टेले टोकेका दसदेखि १२ दिनभित्र एक्कासि कामज्वरो आउने, अगाडि टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्पन छुट्ने र नरम वा मन्द ज्वरो आउने लक्षण देखिन्छ। सुरुमा जाडो हुने, ज्वरो आउने र पसिना छुट्ने तीन चरण औलोको पहिचान गर्न सकिने प्रमुख लक्षण हो। यसले असर बढाउँदै जाँदा रक्तअल्पता भई अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने, ठूलो हुने र थिच्दा दुख्ने हुन्छ। महाशाखाकै अर्का चिकित्सक विश्वराज खनालका अनुसार औलो हुँदा निश्चित समयसम्म जाडो हुने, गर्मी हुने र पसिनापछि केही हल्का र कम्जोर भएको महसुस हुन्छ। खासगरी बालबालिका र गर्भवती महिलालाई औलोरोग लागेमा अवस्था जटिल भई मृत्यु हुने सम्भावना बढी हुन्छ। 'रोग प्रतिरोधात्मक क्षमता अन्य उमेरका व्यक्तिमा भन्दा कम हुने भएकाले मृत्युको सम्भावना बढी हुन्छ,' उनले भने।

उच्च रक्तचाप छ? कारण पत्ता लगाउनुस्

काठमाडौं ।
तीन वर्षदेखि उच्च रक्तचापको औषधी सेवन गरिरहेका एक युवक केही दिनअघि खुट्टा सुन्निएको अवस्थामा राजधानीको वीर अस्पताल पुगे। मुटुरोग विशेषज्ञको निगरानीमा औषधी खाइरहेका उनी उच्च रक्तचापले मिर्गौला हानिसकेको आशंकामा अस्पताल पुगेका थिए।
मिर्गौलाको वायस्पी (टुक्राको जाँच) गर्दा मिर्गौलामा खराबी देखियो। तर, त्यो खराबी उच्च रक्तचापले गर्दा भएको थिएन। परीक्षणबाट पत्ता लागेको मेम्ब्रेन नेफ्रोप्याथी भनिने रोगको कारणले पो उच्च रक्तचाप देखिएको रहेछ। मिर्गौलासम्बन्धी रोगको उपचारसँगै उनले उच्च रक्तचापको औषधी छाड्न पाउनेछन्। तर, मिर्गौलासम्बन्धी रोगको औषधि भने जीवनभर खानुपर्ने अवस्था छ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. अनिल बरालका अनुभवमा लामो समयदेखि रक्तचापको औषधी खाइरहेकाहरूमा पनि पछि मात्र उच्च रक्तचापको कारण अन्य नै भएको पाइएको छ। जाँचका क्रममा उच्चरक्तचाप एकदमै बढेको पाइएपछि चिकित्सकले पनि तत्कालै औषधी सुरु गरिदिने प्रवृत्ति हाबी छ। उच्चरक्तचापको कारण नै पत्ता नलगाई औषधी सुरु गर्नाले समस्या बढ्दै गएको छ।
डा. बरालका अनुसार पछिल्ला दिनमा अस्पताल आउने अधिकांश युवाहरूमा उच्च रक्तचापको समस्या देखिएको छ।
त्यसको प्रमुख कारण अन्य कारणले रक्तचाप बढ्ने (सेकेन्डरी हाइपरटेन्सन) हो। तर, अधिकांश अवस्थामा बिरामी पनि मुटुरोग विशेषज्ञकहाँ जाने र विशेषज्ञले पनि रक्तचापले गर्ने असरबाट बचाउन तत्काल औषधी चलाइहाल्छन् ।
मुटुको मुख्य नसा एर्आेटा साँघुरिने समस्या, ग्रन्थीका रोगहरू (कुसिन सिम्ड्रोम) मधुमेह, इन्डोक्राइन, थाइरोइड, स्टेरोयड औषधी, ग्रोथहर्मन वृद्धि, पेनकिलर, मिगौलीसम्बन्धी समस्यामा पिसाबबाट पोट्रीन खेर जाने रोग, मिर्गौलामा फोका देखिने रोग र मिर्गौलाको रगतको नसा सानो हुनेरोग र क्रोनिक मिर्गौला फेलियरले पनि रक्तचाप बढ्न सक्छ।
धेरैजसो युवामा हुने उच्च रक्तचाप स्वयंमा रोग नभई अन्य रोगका कारण उत्पन्न भएको समस्या हो। यस्तो अवस्थामा अन्य रोगको सही परीक्षण र उपचारले रक्तचाप घट्छ। अन्य कारणले रक्तचाप भए पनि ती रोग पालेरै उच्च रक्तचापको औषधी खाइरहेका बिरामी अहिले वीरमा सातामा २-३ जना भेटिने गरेका छन् । 
मुटुको मुख्य नसा एर्आेटा साँघुरिने समस्या, ग्रन्थीका रोगहरू (कुसिन सिम्ड्रोम) मधुमेह, इन्डोक्राइन, थाइरोइड, स्टेरोयड औषधी, ग्रोथहर्मन वृद्धि, पेनकिलर, मिगौलीसम्बन्धी समस्यामा पिसाबबाट पोट्रीन खेर जाने रोग, मिर्गौलामा फोका देखिने रोग र मिर्गौलाको रगतको नसा सानो हुनेरोग र क्रोनिक मिर्गौला फेलियरले पनि रक्तचाप बढ्न सक्छ।
मिर्गौलासम्बन्धी विषयमा सुपरस्पेसियालिटी अध्ययनरत डा. बरालका अनुसार अधिकांश अवस्थामा उच्च रक्तचापको कारण यकिन गर्न नसकिए पनि उच्च रक्तचापका प्राइमरी कारणमा शरीरमा नुनको मात्रा बढी भएपछि नुनको भार घटाउन मिर्गौला पूरै फाल्नुपर्ने र त्यसका लागि रक्तचाप बढाउनुपर्छ। प्राइमरी रक्तचापको अर्को कारण शरीरमा एक प्रकारको मिर्गौलाबाट उत्पादन हुने रेनिन हर्मोनले कलेजोबाट उत्पादन हुने एन्जियोटेन्सिन सक्रिया गराइदिन्छ, जसले एड्रिनल ग्रन्थीबाट उत्पादन हुने अल्डोस्टेरोन नामक हर्मोनलाई सक्रिय बनाउँछ। उक्त हर्मोनले मिर्गौलाबाट नुन र पानी शरीरमा सोसेर राख्छ र रगतमा मात्रा बढाउँछ, जसले गर्दा रक्तचाप पनि बढ्छ। सिम्प्याथेटिक सिस्टमले एड्रिनलिन र नरएड्रिनलिन नामक हर्मोन उत्पादन गर्छ, जसले गर्दा मुटको गति बढाउँछ र रगतको नसा साँघुरो बनाइदिन्छ। यसले गर्दा प्रेसर बढ्छ। यी तीनवटै अवस्थामा औषधी खानुपर्छ।
संसारभर नेफ्रोप्याथी एन्ड हाइरपटेन्सन भनेर उच्चरक्तचापमा मिर्गौला रोग विशेषज्ञबाट जाँच सुरु गरे पनि नेपालमा मुटुरोग विशेषज्ञलाई देखाइन्छ। चिकित्सकहरूसमेत अन्य कारणको खोजी नगरी औषधि सुरु गर्न हतारिने गरेको डा. बराल सुनाउँछन्। 'तीन वर्षदेखि उच्च रक्तचापको औषधी खाइरहेका मानिसले बीचमा खुट्टा सुन्नियो भनेर जाँदा पनि ती मुटुरोग विशेषज्ञले किड्नीको जाँच नगराई औषधीले होला भनेर औषधि चेन्ज गरेर पठाएछन्,' डा.बराल भन्छन्, '८० प्रतिशतभन्दा बढी रक्तचापको सम्बन्ध मिर्गौलासँग हुन्छ, तर बिरामी रक्तनसा पनि जोडिने र मुटुमा असर गर्ला भन्ने डरले कार्डियोलोजिस्टलाई देखाउँछन्।' 

ग्रामीण क्षेत्रमा २० प्रतिशत, सहरी क्षेत्रमा ३५ प्रतिशत पीडित

विभिन्न अध्ययनले नेपालमा १८ वर्षमाथिका जनसंख्यामध्ये ग्रामीण क्षेत्रमा २० प्रतिशत र सहरी क्षेत्रमा ३५ प्रतिशत उच्च रक्तचापबाट पीडित छन्। एक अध्ययनअनुसार काठमाडौंमा ३० वर्षमाथिका सम्पूर्ण जनसंख्याको १० प्रतिशतमा उच्च रक्तचाप छ। शहिद गंगालाल हृृदय केन्द्रको अध्ययन अनुसार १८ वर्ष माथिका वयस्कमा उच्च रक्तचाप २० प्रतिशत पाइएको छ। डा. बरालका अनुसार युवा अवस्थामा देखिने उच्च रक्तचापको कारण जहिले पनि 'सेकेन्डरी' हुन्छ।
बिनालक्षण शरीरका विभिन्न अंगमा गम्भीर असर पार्नसक्ने भएकाले उच्च रक्तचापलाई सुषुप्त हत्यारा (साइलेन्स किलर) भनिन्छ। जीवनशैली उच्च रक्तचापको प्रमुख कारण हो। सामान्य अवस्था रक्तचाप उच्च हुनेबित्तिकै औषधि सेवन थालिहाल्नुभन्दा पहिले सकेसम्म कारण पत्ता लगाउन खोज्ने र जीवनशैली परिवर्तन गरेर हेर्न चिकित्सकहरू सल्लाह दिन्छन्। 'नुन कम खाने, मोटोपन घटाउने, रक्सी, चुरोट सेवन नगर्ने, तनाव कम गर्दा रक्तचाप नियन्त्रणमा आउन सक्छ,' डा.बराल भन्छन्, 'माथि १५० सम्म औषधी थालिहाल्नु पर्दैन, तर औषधि थाल्ने र छाड्ने निर्णय डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ।'

मष्तिस्कघातको जोखिम

अधिकांश अवस्थामा औषधी खान थालेपछि छाड्न नहुने भएकाले होसियारीपूर्वक जाँच गराउनुपर्छ। उच्च रक्तचाप घट्यो भनेर औषधि छाड्दा ब्रेनको नसा फुटेर हुने स्ट्रोक (मष्तिस्कघात) को जोखिम हुन्छ।
आधुनिक जीवनशैली, मानसिक तनाव, धुम्रपान उच्च रक्तचापको प्रमुख कारण हो। मधुमेह बुढ्यौली, नुनको अतिसेवन र वंशाणुगत पनि उच्च रक्तचापको कारण हुने चिकित्सक बताउँछन्। जे कारणले भए पनि रक्तचाप नियन्त्रणमा नराखे हृदयघात, मिर्गौला फेलियर, मष्तिस्कघात (स्ट्रोक), आँखाको ज्योति गुम्ने पक्षघातको जोखिम हुन्छ।
स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मिमिदेखि १४० मिमिसम्म र डायस्टोलिक रक्तचाप ६० मिमि देखि ९० मिमिसम्म हुन्छ। विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १६० मिमि (माथि) वा बढी भएमा र डायस्टोलिक रक्तचाप (तल) ९५ मिमि वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप मानिन्छ।।

कारक तत्व
मानसिक तनाव
वंशानुगत तत्व
मोटोपन
अत्यधिक नुनको सेवन
रक्तनलीमा आउने कडापन

रक्तचाप बढेको लक्षण
टाउको दुख्नु र चक्कर लाग्नु
छाती दुख्नु
दम फुल्नु
नाथ्री फुट्नु (नाकबाट रगत आउनु)

--नागरिक

कुर्सीमा धेरै बस्ने काम छ, कोलेस्टोरेल र युरिक एसिड बढ्यो, के गर्ने ?

मेरो कोलेस्टोरेल र युरिक एसिड बढेको छ। म बिहान ७ बजेदेखि राति ९ बजेसम्म व्यस्त हुन्छु। बैंकमा काम गर्ने भएकाले कुर्सीमै बढी बस्नुपर्छ। मेरो परिवारमा कसैलाई यस्तो समस्या छैन्। यो समस्या कसरी घटाउन सकिएला? -अमितकुमार 

- युरिक एसिड बढेको छ मात्रै भन्नु भएको छ। कति बढेको हो? युरिक एसिडको कारण प्रोटीनयुक्त खाना बढी हुँदा बढ्छ। गेडागुडी रातो मासुको मात्रा कम गर्नु युरिक एसिड घटाउने उपयुक्त विधि हो। अरु लक्षण कस्तो छ भन्ने खुलेको छैन। अतिदुखाइ छ भने औषधी खानुपर्छ। उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीसेवन, पिसाब बढी लगाउने औषधी प्रयोगजस्ता कारणले असर पर्न सक्छ। युरिक एसिडको मात्रा रगतमा उच्च हुनेले माछा-मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाइ मिल्दोजुल्दो मात्र राख्नुपर्छ। मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्त्याउने समस्याबाट जोगिनु हो।
यूरिक एसिडजस्तै कालेस्टेरोल पनि शरीरका लागि निकै हानिकारक हुन्छ। खानाको सन्तुलन मिलाएर खाने र कोलेस्टोरेल धेरै बढेको छ भने औषधी नै खानुपर्छ। सामान्यतः हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने, चिल्लो र मासु कम प्रयोग गर्नाले तौलका साथै कोलेस्टेरोल पनि घट्छ।

पोलिस्यचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक ) राम्रो मानिन्छ। यद्यपि काँचै खान मिल्ने तरकारी खानेतेल, घिउ, मखन, मासुको बोसो कम गर्ने, घिउमा बनाइएका खाना कम खाने, लसुन सेवन गर्ने, कलेजो, गिदी, मिर्गौला, चकलेट तथा आइसक्रीम नखाने, बढी नुन­चिनी भएका खाना नखाने, रातो मासु नखाने, मकै, भटमास एवं जैतुनको तेल सेवन गर्नाले कोलेस्टेरोल घट्छ।
-डा.ध्रुवप्रसाद सिंह, फेमेली फिजिसियन एवं विभागीय प्रमुख, आकस्मिक विभाग, वीर अस्पतालको जवाफ

-नागरिक