Pages

Monday, June 29, 2015

इन्टर्नलाई 'दोषी देखाउन' कलेज–अस्पताल बन्द, नोबेलको नयाँ निहुँ

अजित तिवारी
विराटनगर- इन्टर्न डाक्टरले नोबेल मेडिकल कलेजसँग दुइटा माग राखे। एउटा, इन्टर्न अवधिको तलब १२ हजार रुपैयाँ हुनुपर्ने। दोस्रो, भर्नाका बेला सुरक्षाबापत धरौटी राखेको ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने। कलेजले प्रशासनले इन्टर्नबापत मासिक ३ हजार ७ सय रुपैयाँभन्दा बढी नदिने अडान राख्यो। इन्टर्न डाक्टरलाई चित्त बुझेन, दुईटै माग पूरा गराउन आन्दोलनमा उत्रिए।
ओपिडी सेवा प्रभावित हुने गरी इन्टर्नले १४ दिनसम्म आन्दोलन गरे। कलेज सञ्चालक सुनील शर्मा आन्दोलन अवधिमा विराटनगर आएनन्। उनको अनुपस्थितिमा इन्टर्न डाक्टरको माग सुनुवाइ गर्ने हैसियत कलेजका अरू अधिकारीले राख्दैनन्। पटक–पटक वार्ता भयो, शर्मा काठमाडौंमै बसिरहे। काठमाडौं विश्वविद्यालय (केयु) ले इन्टर्नसिप गर्ने डाक्टरलाई मासिक न्यूनतम १० हजार रुपैयाँ दिनुपर्ने मापदण्ड तोकिदियो। आन्दोलनरत पक्षले नोबेलबाट त्यसको लिखित प्रतिबद्धता माग्यो।

'इन्टर्न डाक्टरको हकमा केयुले तलबको मापदण्ड तोकिसकेपछि कुरा लगभग मिलिसकेको थियो,' इन्टर्न डाक्टर गणेश फुलाराले सोमबार पत्रकार सम्मेलनमा भने, 'हामी आन्दोलनमा उत्रिएकाले मागका विषयमा लिखित प्रतिबद्धता माग्यौं तर कलेज प्रशासनले अचानक अस्पतालै बन्द गरिदियो।' इन्टर्न डाक्टरको आन्दोलनले मेडिकल कलेज र अस्पताल सञ्चालनमा समस्या परेको बताउँदै नोबेलले आइतबार उपचाररत बिरामीलाई अन्तै जान उर्दी जारी गरेको थियो। 'तोडफोड, हो–हल्ला र आकस्मिक सेवाबाहेक सबै अवरुद्ध पारेकाले अनिश्चित कालका लागि अस्पताल बन्द गरिएको छ,' नोबेलका निर्देशक राजेश नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'केयु र शिक्षा मन्त्रालयको पत्रअनुसार इन्टर्नहरूको निर्वाहभत्ता र विद्यार्थीहरूको सेक्युरिटी डिपोजिट सम्बन्धमा स्पष्ट समाधान दिइसक्दा पनि संस्थालाई गम्भीर क्षति पुर्यािउने क्रियाकलाप जारी राखेकोले कलेज र अस्पताल बन्द गर्नुपरेको हो।'
आन्दोलनरत इन्टर्न डाक्टरलाई 'तह' लगाउन नोबेल मेडिकल कलेजले गम्भीर बिरामीलाई समेत अस्पतालबाट निकालिदियो। जबर्जस्ती बेड छाड्न लगाएपछि २ सयभन्दा बढी बिरामी बिचल्लीमा छन्।
तर, इन्टर्न डाक्टरले केयुले तोकेको निर्वाहभत्ताको आधिकारिक पत्र प्राप्त नभएको र सेक्युरिटी डिपोजिटको हकमा स्पष्ट अभिव्यक्ति कलेजले नदिएकाले आन्दोलनलाई निरन्तरता दिनुपरेको बताएका छन्। 'वार्तामा भएका थुपै्र सहमति लुकाइयो, मौखिक आश्वासनलाई लिखित गरौ भने कलेजले मान्दै–मानेनन्,' फुलाराले भने, 'होस्टलबाट निकालेको तीन दिनमा कलेजले हामीलाई फेरि होस्टलमा राख्न तयार भए, हामीले लिखित माग्यौं, प्रिन्ट भएर पनि आयो, दोस्रो दिन त्यो सहमतिपत्र माग्दा हरायो भनियो।' इन्टर्न डाक्टरले पटक–पटक धोका दिएकाले कलेजसँग मागका विषयमा लिखितै प्रतिबद्धता मागेका थिए।

नोबेलले त्यसलाई नै निहुँ बनाएर कलेज र अस्पताल दुवै बन्द गरिदिए। आन्दोलनरत इन्टर्न डाक्टरलाई 'तह' लगाउन नोबेल मेडिकल कलेजले गम्भीर बिरामीलाई समेत अस्पतालबाट निकालिदियो। जबर्जस्ती बेड छाड्न लगाएपछि २ सयभन्दा बढी बिरामी बिचल्लीमा छन्।

नोबेलले भने सबै पक्षको सरसल्लाह र सुझावपछि कलेज र अस्पतालको सेवा नियमित गर्ने बताएको छ। 'कलेज सञ्चालक शर्मा आफू त वार्तामा आएनन्, वार्ता गरिरहेको प्रशासनमा समेत ताला लगाइदिए,' इन्टर्न डाक्टरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'वार्तामा समस्याको हल खोज्नुको साटो झुलाउने काम मात्र गरियो।'

प्रशासन बन्द गरेर वार्ताको ढोका थुनेपछि आन्दोलनरत इन्टर्न डाक्टर नोबेलको ओपिडी कक्षअगाडि धर्ना बसेका थिए। त्यसैलाई कारण देखाएर अस्पतालले आइतबारदेखि ओपिडीसमेत बन्द गरेको थियो। 'अस्पतालका सबै सेवा ठप्प पारेको र तोडफोड गरेको आरोप निराधार हो, हामीलाई फसाउन खोजेको मात्र हो,' फुलाराले भने, 'कलेज र अस्पताल नियमित हुनुपर्योो, हाम्रो भविष्यसँग खेलबाड गर्न भएन।' नोबेलले कलेज र अस्पतालको सेवा बन्द गरेपछि त्यहाँ कार्यरत फ्याकल्टी र इन्टर्न डाक्टरले सोमबार अस्पताल परिसरमै ओपिडी सेवा प्रारम्भ गरेका छन्। 'अस्पताल बन्द गर्नुको कुनै कारण नै थिएन,' पत्रकार सम्मेलनमा उपस्थित फ्याकल्टी डाक्टर सञ्जयकुमार साहले भने, 'त्यसैले हामी अस्पतालबाहिरै ओपिडी सेवा थालेका छौं।'

नोबेलका फ्याकल्टी डाक्टरले पनि समयमै तलब माग गर्दै आन्दोलन गरिरहेका छन्। 'तीन–तीन महिनासम्म तलब दिँदैनन्,' डा. साहले भने, 'हामीले समयमै तलब दिनुपर्ने, नागरिक लगानी कोष र कर कार्यालयमा तलबबाट काटिएको प्रतिशत लगत्तै जम्मा हुनुपर्ने माग राखेका छौं।'

नोबेलको नयाँ निहुँ

नोबेल मेडिकल कलेजले इन्टर्न डाक्टरको आन्दोलनमा सहभागी शिक्षा मन्त्रालयको कोटामा पढेका विद्यार्थीलाई 'कारबाही' गराउन निहुँ झिकेको छ। शिक्षाको कोटामा कलेजको पाँचौं ब्याचमा २४ विद्यार्थी अध्ययनरत छन्। इन्टर्न डाक्टरसँगै कोटामा आएका विद्यार्थी पनि आन्दोलनमा सहभागी भएका छन्।

नोबेलले जारी गरेको विज्ञप्तिमा छात्रवृत्तिमा मनोनयन भई इन्टर्नसिप गरिरहेका विद्यार्थीले उठाएका मागप्रति छलफल गर्न शिक्षासचिवले दुईज ना विद्यार्थी बोलाए पनि उपस्थित नभएको उल्लेख छ। 'शिक्षासचिवको संयोजकत्वमा वार्ताका लागि बोलाउँदा पनि विद्यार्थी प्रतिनिधि आएनन्, त्यसपछि शिक्षामन्त्रीस्तरीय निर्णय भएकाले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई माग सम्बोधन निमित्त वार्तामा आउन सूचित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ। यता, आन्दोलनरत इन्टर्न डाक्टरले असार ११ गतेको बैठकमा उपस्थित हुन नसकेको शिक्षा मन्त्रालयलाई जानकारी गराइसकेको बताउँदै अर्को बैठकमा उपस्थित हुने पत्रकार सम्मेलनमा बताए।

'शिक्षा मन्त्रालयको कोटामा पढेका इन्टर्न डाक्टरलाई अप्ठ्यारोमा पार्न खोजिएको हो,' फुलाराले भने, 'कोटामा पनि पढ्ने, अनि आन्दोलन पनि गर्ने, देखाइदिन्छु भनेर नोबेलका अधिकारीहरूले छात्रवृत्ति पाएका विद्यार्थीलाई धम्क्याइरहेका छन्।'


No comments:

Post a Comment