Pages

Monday, June 29, 2015

पराकम्पन र मुटुको धड्कन

प्रवीण ढकाल
काठमाडौं ।
सामाखुसीका कृष्णगोपाल श्रेष्ठ वैशाख १२ गतेको भूकम्पअघि स्वस्थ थिए। तर, भूकम्प र त्यसपछिका लगातारका कम्पनले उनी अस्वस्थ भए। भूकम्पपछि मुटु चस्केजस्तो हुने, ढुकढुकी बढ्ने र चक्कर लाग्ने समस्या आएपछि उनी उपचारका लागि अस्पताल पुगेका हुन्। अहिले उनी शहीद गंगालाल हृदयकेन्द्रमा मुटुको उपचार गराइरहेका छन्।
लाजिम्पाटका गोकुल नेपाल (बिरामीको आग्रहमा नाम परिवर्तन) पहिलेदेखि नै उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए। भूकम्पपछिको तनाव र बस्ने ठेगान नहुँदा उनले औषधि सेवन गर्न पाएनन्। दुई साताअघि उनलाई हृदयाघात भयो। तत्कालै अस्पताल पुर्याेएकाले उनको ज्यान जोगियो। उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर, थेरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो।

श्रेष्ठ र नेपालमात्र होइनन्, भूकम्पपछि अत्यधिक तनावका कारण मुटुका बिरामी बढेका छन्। अझ यो बीचमा भूकम्पअघिदेखि नै उच्च रक्तचाप र मुटु रोगको औषधि सेवन गरिरहेका केही बिरामीलेे हृदयाघातका कारण ज्यानै गुमाउनुसमेत परेको छ। चिकित्सकका अनुसार तनावका कारण नयाँ रोगीको संख्या बढिरहेको र पुराना बिरामीको समस्या थप जटिल बन्दै गइरहेको छ।

गंगालाल अस्पतालका निर्देशक डा. मनबहादुर केसीका अनुसार भूकम्पपछि धेरै मानिसहरू मुटु हल्लिरहेको भन्दै अस्पतालमा उपचारका लागि आइरहेका छन्। 'अधिकांश बिरामीमा तनावका कारण मुटु हल्लिरहेको भान हुने समस्या देखिएको छ,' उनले भने, 'त्यस्तै, पहिला नै उच्च रक्तचाप र मुटु रोगको औषधि सेवन गरिरहेका बिरामीमा भने समयमा नै औषधि सेवन नगर्दा समस्या थप जटिल बन्दै गएको भेटिएको छ।'

भूकम्पपछि र लगातारको पराकम्पनका कारण गंगालालमा मुटु जाँच गराउन आउनेको संख्यासमेत बढेको डा. केसी बताउँछन्। उनका अनुसार वैशाख १२ गतेपछि मात्र अस्पतालमा करिब पाँच हजार नयाँ बिरामीले ओपीडीमा टिकट लिएर उपचार गरेका छन्। यस्तै यो बीचमा करिब ३० जना आकस्मिक कक्षमा आएका थिए। वैशाख २९ गतेको भूकम्पपछि त पाँचजना बिरामीको हृदयाघातका कारण बाटैमा मृत्यु भएको डा. केसी बताउँछन्। यसरी मृत्यु हुनेमा मुटु रोगको औषधि खाइरहेका र रक्तचापको बोर्डरलाइनमा रहेका बिरामीहरू थिए।

अत्यधिक मात्रामा डर मान्ने र तनावमा बस्दा मुटुको चालमा परिवर्तन आउने मनमोहन कार्डियोभास्कुलर थेरासिक ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्। 'एक्कासि हुने तनावका कारण मानिसको हेमाटोक्रिट बढ्छ। जसले रगतलाई बाक्लो बनाउँछ,' उनले भने, उनी भन्छन्, 'रगत बाक्लो हुनु भनेको हृदयाघात र स्ट्रोकका लागि वातावरण बन्नु हो।' उनका अनुसार यस्तो समयमा विगतदेखि नै औषधि खाइरहेका, मुटुको धड्कन बढेका वा मुटुको चालमा समस्या भएकाले विशेष ख्याल गर्नुपर्छ। उनीहरूले तनाव नलिई विशेषज्ञलाई देखाउनुपर्ने उनको सुझाव छ।

डा. भट्टराईका अनुसार भूकम्पपछि इटली, अमेरिका र ग्रिसमा भएको अध्ययनले समेत करिब ८० प्रतिशतको मुटुको चालमा परिवर्तन भएको देखाएको थियो। त्यस्तै मानिसहरूको सिस्टोलिक प्रेसर (मुटुको तल्लो चाप) २० प्रतिशतले बढेको र डायस्टोलिक प्रेसर (माथिल्लो चाप) ४६ प्रतिशतले बढेको देखाएको थियो।

'संसारका विभिन्न देशमा गएका भूकम्पपश्चात् गरिएका अनुसन्धानहरूले भूकम्पपछि मुटुसम्बन्धी (कार्डियोभास्कुलर) रोगीहरू बढेको देखाएको छ,' डा. भट्टराईले भने, 'भूकम्पपछिको अवस्था मानव शरीरको लागि पनि निकै तनावको अवस्था हो। जसमा शरीरको सिम्पाथेटिक नर्भस सिस्टम सक्रिय हुन्छ। मुटुको चाल एवं धड्कन सक्रिय हुन्छ र रक्तचाप बढ्न जान्छ।'

सन् २०११ मा जापानमा गएको भूकम्पपछि गरिएको अनुसन्धानले पनि हृदयाघात र मुटुका बिरामीको संख्या बढेको देखाएको थियो। जापानमा शहरमा भूकम्प जानुभन्दा चार हप्ताअघिको तथ्यांक र भूकम्पपछिको १६ हप्ताको तथ्यांक दाँजेर अनुसन्धान गरिएको थियो। यस्तै सन् १९९९ मा अमेरिकाको हार्ट जर्नलमा प्रकाशित हृदयाघात र अप्रत्याशित मृत्यसम्बन्धी विवरणमा पनि भूकम्पपछि मुटुका रोगी बढेको देखाएको छ। ती अनुसन्धानले भूकम्पपश्चात् मानिसको रगतको बाक्लोपना बढ्ने, फिब्रिनोजेन बढ्ने हुँदा मुटुको समस्या आउने गरेको देखाएका छन्। प्राकृतिक विपत्तिले उत्पन्न तनावमा मुटु र रक्तनली दुवैलाई ठूलो असर पुर्या उने भएकाले मानिसहरूले यस्तो समयमा आत्मबल बलियो बनाउनुपर्ने चिकित्सकको सुझाव छ।

मुटुरोग विशेषज्ञका अनुसार भूकम्प र पराकम्पनका समयमा मानिसले मन मस्तिष्कलाई तनावबाट टाढा राख्न अत्यन्त जरुरी छ। जति धेरै मानिसको आत्मबल बढी हुन्छ, त्यति धेरै समस्याबाट जोगिन सकिन्छ। मुटुरोगीहरूले सेवन गरिरहेका सम्पूर्ण औषधि नछुटाईकन सेवन गर्ने, मुटुसम्बन्धी समस्या देखिएको शंका लागेमा, मुटुको ढुकढुकी धेरै छिटो चलेको अनुभव भएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ।


No comments:

Post a Comment