Pages

Wednesday, September 5, 2012

दुईतिर जागिर खांदै वीरका डाक्टर

-प्रवीण ढकाल
काठमाडौं, १८ भदौ । सरकारले वीर अस्पतालका वरिष्ठ सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई नियमविपरीत दोहोरो जागिर दिएको छ । उनलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण अस्पताल (मिर्गौला अस्पताल) का निर्देशकको जिम्मेवारी थपिएको हो ।
नियमानुसार सरकारी कर्मचारीले दुईतिर जागिर गर्न पाउँदैनन् । एक ठाउँमा काम गर्दागर्दै अर्को जिम्मेवारी पाए पहिलाको छाड्नुपर्ने हुन्छ । तर, डा. श्रेष्ठले ढुक्कसित फागुनदेखि नै दुवैतिर जागिर खाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. श्रेष्ठले वीर अस्पतालबाट प्रत्यारोपण सर्जनका रूपमा मासिक तलब खाइरहेका छन् भने मिर्गौला अस्पतालबाट गाडी सुविधा र भत्ता लिन्छन् । गत फागुन तेस्रो साता मिर्गौला अस्पतालको निर्देशकका रूपमा उनले थप जिम्मेवारी पाएका थिए ।
दोहोरो जिम्मेवारी पाएपछि उनी मिर्गौला अस्पतालको निर्देशकका रूपमा पाएको ल्यान्डक्रुजर गाडीमा हुइँकिरहेका छन् भने भत्ता पनि लिइरहेका छन् । पहिलेदेखि कार्यरत वीर अस्पतालबाट मासिक तलब बुझ्न पनि छाडेका छैनन् । उनी मिर्गौला अस्पतालमा सोमबार र बिहीबार अनि वीरमा शुक्रबार र आइतबार जान्छन् । दोहोरो जिम्मेवारी पाउनुअघि उनी वीरमा सातामा ६ दिन जाने गर्थे ।
मन्त्रालय स्रोतका अनुसार दोहोरो जिम्मेवारीपछि डा. श्रेष्ठको काम भने घटेको छ । ‘डा. श्रेष्ठ भक्तपुरमा दुई दिन जान्छन् अनि वीरमा दुई दिन,’ स्रोतले भन्यो, ‘वीरमा शुक्रबार डायलाइसिस गरेका बिरामीको अवस्था बुझेर फर्किन्छन् र आइतबार मिर्गौला प्रत्यारोपण गर्छन् । भक्तपुरमा भने ट्रान्सप्लान्टको सुविधा नभएकाले गएर मात्र फर्किन्छन् ।’
मन्त्रालयका सहप्रवक्ता कविराज खनाल स्वास्थ्य विशेष क्षेत्र भएकाले सरकारले डा. श्रेष्ठलाई दोहोरो जिम्मेवारी दिएको हुन सक्ने बताउँछन् । ‘स्वास्थ्य क्षेत्र विशेष भएकाले होला सरकारले नै उहाँलाई दुईतिरको जिम्मेवारी दिएको छ,’ उनले भने, ‘दोहोरो जिम्मेवारी दिइए पनि तलब सुविधा भने दोहोरो दिएको छैन ।’ उनले डा. श्रेष्ठले मिर्गौला अस्पतालबाट भत्ता लिने गरेको विषयमा कुनै जानकारी नभएको बताए ।
डा. श्रेष्ठले सरकारले नै आफूलाई दुईतिरको जिम्मेवारी दिएकाले सोहीअनुसार काम गरिरहेको प्रतिक्रिया दिए । आफूले अहिले वीर अस्पतालबाट मात्र सेवा–सुविधा लिएको र भक्तपुर मिर्गौला अस्पतालबाट एक रुपियाँ पनि नलिएको उनले दाबी गरे । गाडीको विषयमा भने उनले सरकारले नै दिएकाले चढेको बताए ।

गुणस्तर समितिबारे अध्यक्ष नै बेखबर

-प्रवीण ढकाल
काठमाडौं, १७ भदौ । स्वास्थ्य क्षेत्रमा सुधारका लागि गुणस्तर सुनिश्चितता निर्देशक समिति बनेको पाँच वर्ष पुग्न लागे पनि समितिकै अध्यक्ष र सदस्य–सचिव नै यसप्रति बेखबर रहेको पाइएको छ ।
गुणस्तरीय स्वास्थ्यसेवासम्बन्धी नीतिले व्यवस्था गरेको ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय गुणस्तर सुनिश्चितता निर्देशक समिति’मा अध्यक्ष, सदस्य–सचिवसहित ११ सदस्य छन् । तर, यस विषयमा पदाधिकारीले अनभिज्ञता जनाएका छन् । सरकारी, गैरसरकारी एवं निजी क्षेत्रबाट सञ्चालित समग्र स्वास्थ्य संस्थाको गुणस्तर सुधार गर्ने भन्दै सरकारले उक्त समिति बनाएको थियो ।
मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख अध्यक्ष रहने उक्त समितिमा अनुगमन मूल्यांकन, जनस्वास्थ्य प्रशासन महाशाखा प्रमुख सदस्य–सचिव रहन्छन् । सदस्यहरूमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, आयुर्वेद विभागका महानिर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट एक, चिकित्साशास्त्र अध्ययन परिषद्बाट दुई, उपभोक्ता मञ्चबाट एक र निजी स्वास्थ्य संस्थाका तर्फबाट एकजना सदस्य रहने व्यवस्था छ ।
समितिका सदस्य मात्र होइन, पदाधिकारी नै समितिबारे बेखबर पाइएको छ । अध्यक्ष र सदस्य–सचिवले त निर्देशक समितिबारे पहलोपटक सुनेको बताएका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्न, अस्पतालको गुणस्तर प्रमाणीकरण कार्यप्रणाली स्थापना गर्न भन्दै २८ कात्तिक ०६४ मा ‘गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी नीति’ ल्याएको थियो । सोही नीतिले व्यवस्था गरेको निर्देशक समितिको बैठक एकपटक पनि बस्न सकेको छैन । नीतिमा बैठक वर्षमा कम्तीमा एकपटक बस्नुपर्ने उल्लेख छ ।
समितिका अध्यक्ष रहेका चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले समितिबारे केही जानकारी नभएको बताए । ‘यस्तो समिति पनि छ र †’ अध्यक्ष बुर्लाकोटीले सौर्यसँग भने, ‘मैले त यो समिति छ भन्ने त तपाईं (सौर्यकर्मी)ले भनेपछि पो थाहा पाउँदै छु ।’
नीतिको अनुसूची १ को व्यवस्थाको प्रतिलिपि सौर्यले उपलब्ध गराएपछि बुर्लाकोटीले आश्चर्य व्यक्त गर्दै भने, ‘समितिको अध्यक्ष त मै रहेछु त † तर, मलाई आजसम्म पनि यसबारे कसैले जानकारी दिएनन् ।’
उनले महाशाखा प्रमुखको जिम्मेवारी फेरिनासाथ समितिका सदस्य–सचिवले जानकारी गराउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।
समितिका सदस्य–सचिव तथा अनुगमन मूल्यांकन, जनस्वास्थ्य प्रशासन महाशाखा प्रमुख श्रीकृष्ण भट्टले पनि समितिबारे पहिलोपटक सुनेको बताए । ‘समितिबारे सबैलाई जानकारी गराउने तथा कामकारबाही अगाडि बढाउने त सदस्य–सचिवले हो,’ सदस्य–सचिव भट्टले भने, ‘तर म आफू सदस्य–सचिव रहेको समितिबारे मलाई नै थाहा रहेनछ ।’
उनले महाशाखामा सरुवा आएको धेरै समय नभएको र महाशाखाले पनि कुनै जानकारी नगराउँदा समितिबारे बेखबर भएको बताए । उनीभन्दा अघि समितिका सदस्य–सचिवमा डा. पदमबहादुर चन्द थिए । चन्दले पनि कुनै जानकारी नपाएको बताए ।
समितिको काम अगाडि बढ्न नसक्दा स्वास्थ्य संस्थाको गुणस्तरसम्बन्धी नियमन, गुणस्तर निर्धारण शाखालाई गुणस्तरीय कार्यक्रम गर्न मार्गदर्शन, स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि राष्ट्रिय गुणस्तर निर्धारण नीति परिमार्जन तथा रणनीति निर्माणलगायत कार्य हुन सकेको छैन ।
नीतिले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाअन्तर्गत छुट्टै गुणस्तर निर्धारण शाखा रहने व्यवस्था गरेको छ । सोही शाखाले गुणस्तरका सबै काम गर्ने भनिएको छ । महाशाखाले १६ देखि ५० बेडसम्मको अस्पतालको स्वीकृति दिने शाखालाई गुणस्तर शाखा भनेको छ । महाशाखाले नै समितिबारे जानकारी गराउने र गुणस्तरका लागि आवश्यक कदम चाल्नुपर्ने भए पनि महाशाखा प्रमुखको बेवास्ताका कारण नीतिअनुसार काम हुन नसकेको मन्त्रालयले जनाएको छ ।
महाशाखा प्रमुख डा. सरोजप्रसाद राजेन्द्रले नीतिको पुस्तक नै बनाएर सबैलाई दिइएको दाबी गरिन् । उनले भनिन्, ‘पुस्तक दिइएकाले कसैले थाहा छैन भन्न मिल्दैन ।’
नीतिलाई पुस्ताकार बनाइए पनि महाशाखाभन्दा बाहिर नगएको महाशाखाकै कर्मचारी बताउँछन् । उनीहरूका अनुसार ती सबै पुस्तक स्टोरमा थन्किएका छन् ।

विद्यार्थीलाई आएको पैसामा रेक्टरको रजाइँ

-प्रवीण ढकाल
काठमाडौं, १४ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका शिक्षाध्यक्ष (रेक्टर) डा.श्रीकृष्ण गिरीले विद्यार्थीका लागि आएको करिब एक लाख अमेरिकी डलरमा आफै विद्यार्थी बनेर मस्ती गरेका छन् । पाँच जना विद्यार्थीलाई विदेशमा तालिम दिन आएको रकम उनी एक्लै चार देश घुमेर सकेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरूलाई ‘जुनियर डाक्टर ट्रेनिङ’ शीर्षकमा ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्ेरनिङ’ शीर्षकमा वार्षिक १९ हजार युरो दिने गरेको छ । डा.गिरीले विद्यार्थीका तर्फबाट कोही पनि तालिममा जान नमानेको भन्दै गत आर्थिक वर्ष डब्लुएचओले दिएको रकममा रजाइँ गरेका थिए ।
सो रकममा अध्ययनका लागि पठाउने नामको छनोट न्याम्सको एकेडेमी काउन्सिलले गर्छ, जसको अध्यक्ष डा.गिरी स्वयं हुन् । ११ सदस्यीय काउन्सिलमा डेढ वर्षदेखि ६ जना मात्रै छन् । उनीहरू पनि प्राय: गिरीले नै नियुक्ति गरेका भएकाले उनलाई निर्णय गराउन कुनै समस्या भएन । डब्लुएचओको पैसामा उनी एक्लैले अस्ट्रेलिया, श्रीलंका, स्विजरल्यान्ड र अस्ट्रिया भ्रमण गरेका थिए ।
डब्लुएचओले पोस्ट ग्रयाजुएट गरिरहेका चिकित्सकहरूलाई थेसिस लेख्न सिकाउने तथा रिसर्च गर्न सिकाउने उद्देश्यले विदेशमा अध्ययन गर्नका लागि उक्त शीर्षकमा रकम उपलब्ध गराउने गर्छ । गत आर्थिक वर्षमा कुनै पनि विद्यार्थी जान नमानेकाले आफू गएको डा.गिरीको दाबी छ । डब्लुएचओको पैसामा विदेशमा गएको कुरा गत ७ भदौमा न्याम्समा भएको छलफलमा उनले स्वीकार गरेका थिए ।
छलफलका एक सहभागीका अनुसार रेसिडेन्ट डाक्टरहरूले डब्लुएचओको पैसाको विषयमा कुरा उठाएपछि डा.गिरीले रेसिडेन्ट चिकित्सकहरूलाई अध्ययनका लागि जाने भनेर सोधेको तर कोही पनि जान नमानेपछि आफै गएको दाबी गरे । तर, उनले त्यस विषयमा कसैलाई नसोधी सुटुक्क निर्णय गराएको स्रोतले बतायो ।
विद्यार्थीको पैसामा शिक्षाध्यक्ष आफै अध्ययनका लागि जानुभएछ नि † भन्ने प्रश्न राख्दा डा.गिरीले अरू कोही जान नमानेकाले आफू गएको बताए । ‘वास्तवमा त्यो रकम विद्यार्थीका लागि भनेर नै तोकेर आएको थिएन । रकम आएपछि मैले अरूलाई जाने कोही छ भनेर सोधेको हुँ’, उनले सौर्यसँग भने, ‘तर अध्ययनका लागि जाने कोही नदेखिएपछि म गएको हुँ ।’ संगठनले जुन विषयमा अध्ययनका लागि रकम दिन्छ त्यो विषय निकै गाह्रो हुने भएकोले कसैले पनि आँट नगरेको उनको भनाइ छ ।
सो शीर्षकको रकममा तीन वर्षअगाडि न्याम्सको सहमतिमा युरोलोजीका डा.यौवनचन्द्र शिवाकोटी गएका थिए भने दुई वर्षअगाडि प्लास्टिक सर्जन डा.पीयूष दाहाल गएका थिए । तर, गत वर्ष भने रेक्टरले कसैलाई खबर नगरी आफै गएको थाहा पाएपछि वीर अस्पतालको हाडजोर्नी विभागका चिकित्सक र न्याम्समा अध्ययनरत आवासीय चिकित्सकहरूले भदौ पहिलो साता विरोध जनाएका थिए ।
यस विषयमा रेक्टर डा.गिरीसँग ६ गते कुरा गर्न खोज्दा ग्यास्ट्रो विभागका डा.जैनेन्द्र चौधरीसँग उनको भनाभन नै भएको थियो । संगठनको रकम र न्याम्सले ३ भदौमा एमडी, एमएस, एमसिएच, बिएन र स्टाफ नर्सको भर्ना खोलेको विषयमा छलफल हुँदा डा.गिरीले आक्रामक रूपमा कुरा गरेपछि झन्डै हातहालाहालको स्थिति आएको डा.चौधरीले बताए । डा.चौधरीले रेक्टरले आफूमाथि हातपात गरेको र सुरक्षाको अवस्था नरहेको भन्दै न्याम्स उपकुलपति डा.दामोदर पोखरेलसमक्ष उजुरी दिएका छन् । रेक्टर डा.गिरीले पनि चिकित्सकले आफूलाई हातपात गरेको भनी सुरक्षाको माग गर्दै उपकुलपतिसमक्ष उजुरी दिएका छन् ।
दुवैपक्षबाट आएको उजुरीलाई समाधान गर्न उपकुलपति डा.पोखरेलले छानबिन समिति बनाएका थिए तर छानबिन समितिले उपकुलपतिसमक्ष प्रतिवेदन बुझाउन नपाउँदै रेक्टर डा.गिरीले आफूनिकटका कर्मचारी संगठनलाई प्रयोग गरी न्याम्समा तालाबन्दी गराएका छन् । डा.गिरीले उपकुलपतिले चासो नदिएपछि कर्मचारीहरूले आफ्नो समस्या बुझेर आफै ताला लगाएको बताएका छन् ।
‘कर्मचारीहरूले मप्रति अन्याय भएको बुझेर नै यसो गरेका हुन्’ उनले भने तर न्याम्सका आवासीय चिकित्सकहरू भने डा.गिरीले छानबिन समितिमार्फत पोल खुल्ने डरले न्याम्समा ताला लगाउन लगाएको बताउँछन् । डा.गिरीको रेक्टरको पदावधि आगामी पुसबाट समाप्त हुँदै छ ।

Sunday, August 19, 2012

जोखिम सर्पदंशको

-प्रवीण ढकाल
गर्मी र वर्षासँगै देशका विभिन्न भागमा विषालु सर्पको टोकाइले मृत्यु हुनेको संख्या बर्सेनि बढिरहेको छ । सरकारले सर्पदंशविरुद्धको औषधि ‘एन्टी स्नेक भेनम’ देशभर नि:शुल्क उपलब्ध गराउने नीति लिए पनि सर्पदंशको प्रभाव घटेको छैन ।
स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले यस वर्ष भने समयमै जिल्लामा एन्टी स्नेक भेनम पुर्‍याउन नसकिएको जानकारी गराएको छ । महाशाखाका अनुसार यो मौसममा तराईका जिल्लामा सर्पदंश बढेका छन् । गर्मी र वर्षात्मा सर्पको चलखेल बढ्ने महाशाखाको जुनोटिक रोग नियन्त्रण अधिकृत लटनारायण शाहाले बताए । रोपाइ ँको समयमा र मकैबारी तथा खेतीपातीका काम गर्दा मानिस बढी सर्पदंशको चपेटामा पर्ने गरेका छन् ।
‘यस मौसममा सर्प शीतनिद्राबाट निस्कने र प्रजननसमेत हुने भएकाले बढी सक्रिय हुन्छन्,’ शाहले भने, ‘खाना खोज्नलगायत अन्य विविध कारणले सर्प बाहिर निस्कने गर्छन्, आमव्यक्तिसँग सहजै सम्पर्कमा आउने भएकाले सर्पले डस्ने क्रम बढ्छ ।’ उनका अनुसार तराईको तुलनामा उपत्यकालगायत पहाडी जिल्लाका सर्प कम विषालु हुन्छन् । तराईका गोमन र करेत अधिक विषालु हुन्छन्, तुलनात्मक रूपमा पहाडी क्षेत्रका आँदो र ग्रिनविट वाइपर सर्प उति धेरै विषालु हुँदैनन् ।
महाशाखाका अनुसार कम विषालु सर्पले टोकेमा टोकेको ठाउँमा सुन्निने, पोल्ने, पिसाबमा अलिअलि रगत देखिने, रगत जम्न समय लाग्नेलगायत लक्षण देखिन्छन् । यस्तो अवस्थामा चिकित्सकले लाक्षणिक उपचारले निको पारिदिन्छन् । अधिकृत शाहका अनुसार सर्पले टोकेको ठाउँमा जथाभाबी लामो समयसम्म बाँध्नु हँुदैन । यसो गर्दा सर्पले टोकेको अंग नै गुमाउनुपर्ने पनि हुन सक्छ,’ उनले भने ।
महाशाखाको तथ्यांकअनुसार तराई क्षेत्रमा मानिस मात्र होइन, घरपालुवा जनावर पनि सर्पबाट पीडित छन् । नेपालमा ७९ प्रजातिका सर्प पाइन्छन्, तीमध्ये २१ प्रजातिका मात्र बिषालु हुन्छन् । तीमध्ये पनि तीन प्रजातिका सर्पको प्रभाव बढी देखिएको छ– करेत, गोमन र भाइपर । नेपालका २६ जिल्ला विशेषगरी सर्प प्रभावित छन् । प्रभावित जिल्लाका करिब एक हजार मानिस बिषालु सर्पको टोकाइबाट बर्सेनि पीडित हुन्छन् । तीमध्ये ८ प्रतिशतको मृत्यु हुने गरेको अनुमान छ । जिल्ला तथा अञ्चल अस्पतालले सर्पले टोकेको उपचार नि:शुल्क गर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि ५० लाख व्यक्ति सर्पदंशको सिकार हुन्छन् । तीमध्ये २५ लाखमा घातक विषको प्रभाव देखिन्छ । विश्वमा प्रभावितमध्ये बर्सेनि एक लाखको मृत्यु हुने गरेको छ । बर्सेनि करिब तीन लाख व्यक्तिले सर्पदंशका कारण हातखुट्टा गुमाउनु परेको तथ्यांक भेटिन्छ ।
चिकित्सकहरूका अनुसार सर्पले टोक्दा तुरुन्त अस्पतालमा गइहाल्नुपर्छ । विषको प्रकृति हेरी एन्टि स्नेक भेनम दिन्छन् चिकित्सकले । सर्प विषालु नभए पनि चिकित्सकले लक्षणका आधारमा बिरामीको उपचार गराउँछन् । टोकेलगत्तै प्राथमिक उपचारपश्चात् बिरामीलाई नहिँडाईकन अर्थात् कुनै सवारीसाधनमा राखेर छिटोभन्दा छिटो अस्पताल पुर्‍याउन सक्नु नै यसको प्रभावबाट बच्ने प्रमुख उपाय हो ।
सर्पले टोकेपछि
त्र टोक्नासाथ बिरामीलाई जिल्ला तथा अञ्चल अस्पताल वा एन्टी स्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्‍याइहाल्नुपर्छ ।
त्र गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले प्रेसर बेन्डेज वा कपडाको प्रयोग गर्नु पर्दछ ।
त्र बेन्डेज वा कपडालले ट्याप्प हुने गरी बाँध्नुपर्छ तर धेरै कस्नुचाहिँ हुँदैन ।
त्र बेन्डेज हातखुट्टा मर्केको बेलामा जस्तै गरी लगाउनुपर्छ । तर, रक्तसञ्चारप्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी वा नाडी महसुस नहुने गरी बाँध्नु हाुदैन । बेन्डेजको पत्रहरूका बीचमा कान्छी औँला छिराउन सक्ने गरी खुकुलो हुनुपर्छ ।
त्र सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षासाथ लैजानुपर्दछ ।
त्र सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्ने गर्नु हुँदैन । यसो गर्दा घाउको संक्रमण बढ्छ । घाउमा विषको फैलिने गति बढ्छ र अत्यधिक रक्तस्राव हुन सक्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र साबित हुन सक्छ ।
पूर्वसावधानी
- घरआँगन र खेल्ने चौर वरिपरिका नचाहिने झाङ, ढुंगोमाटो, पातको थुप्रो, कसिंगर तथा धमिराको ढिस्कोलाई हटाउने ।
- अँध्यारोमा दाउरा संकलन नगर्ने वा बाहिर थुपारेको दाउरा राम्ररी नहेरी घरभित्र नलाने ।
- घरभित्र मुसा, छेपारा, भ्यागुतालाई पस्न नदिने ।
- जिउँदो सर्पलाई कहिल्यै पनि नचलाउने । बढी सर्प पाइने क्षेत्रमा एक्लै नहिँड्ने
- रूखको टोड्का तथा जमिनमा रहेका प्वालहरूमा जथाभाबी हात नहाल्ने, खुट्टा नपसाउने ।
- सर्प बढी पाइने क्षेत्रमा केटाकेटीहरूलाई खेल्न नदिने । त्यस्ता क्षेत्रमा हिँडडुल गर्नुपर्‍यो भने छालाको जुत्ता वा घुँडासम्म आउने रबरका बुट, बाक्लो पाइन्ट लगाउन नबिर्सने ।
- सुकेको काठ, ढुंगा वा पर्खालमाथि विचार गरेर मात्र बस्ने, काठ–मुढा उचाल्दा वा पल्टाउँदा सुरक्षित भाग समात्ने ।
- घरभित्र वा बाहिर भरसक जमिनमा नसुत्ने, त्यस्तै काठ थुपारेको ठाउँ, गुफा तथा सिमसार क्षेत्रनजिक सुत्नु पनि खतरनाक हुन्छ ।
- सिमसार क्षेत्रमा सावधानीपूर्वक हिँड्ने किनभने विषालु सर्प घामतापेर बसिरहेका भेटिन सक्छन् ।
- तराई क्षेत्रमा खाटमाथि सुतेका बखत पनि सर्पले टोकेका घटना भएका छन् । त्यसकारण विशेष गरी कच्ची घर वा खुला आकाशमा खाटैमाथि सुते पनि राम्रोसँग झुल लगाउनुपर्छ ।

उपत्यकाको खानेपानीमा दिसाको जीवाणु

-प्रवीण ढकाल
काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौं उपत्यकामा वितरित खानेपानीमा दिसामा पाइने कोलिफर्म नामक जीवाणु फेला परेको छ ।
उपत्यकामा हैजा, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या ह्वात्तै बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकामा वितरण भएका धाराको पानीको नमुना परीक्षण गर्दा अत्यधिक मात्रामा कोलिफर्म फेला परेको हो । दिसामा पाइने कोलिफर्म मानव स्वास्थ्यमा गम्भीर असर गर्ने जीवाणु हो । चिकित्सकका अनुसार पानी पिउँदा खाइने कोलिफर्मले झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ए, जन्डिस, पेटमा समस्या उत्पन्न गराउन सक्छ ।
जिल्ला जन स्वास्थ्य कार्यालयले गत साउनमा काठमाडौंका १० स्थानबाट धाराको पानीको नमुना परीक्षण गर्दा सात ठाउँका पानीमा अत्यधिक मात्रामा कोलिफर्म फेला परेको थियो । ‘पानीजन्य रोगका बिरामीको संख्या बढेपछि धारामा आउने पानीको नमुना संकलन गरिएको थियो,’ प्रमुख जिल्ला जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘पानीमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफर्मको मात्रा अत्यधिक पाइएपछि त्यो पानी सेवन नगर्न भनेका छौँ ।’
उनका अनुसार पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर, उपत्यकामा वितरित पानीमा प्रतिसय एमएलमा एक सय ८० फेइकल कोलिफर्म फेला परेको छ ।
कार्यालयले टेकु, भीमसेनस्थान, कालिमाटी, स्वयम्भू, गौशाला र छाउनीका १० घरबाट पानीको नमुना संकलन गरी ‘ब्याक्टेरियोलोजिक अवस्था’ अध्ययन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । प्रयोगशालामा सूक्ष्म अध्ययन गरिएको पानीको नमुनापछि उपत्यकामा वितरित पानी पिउन योग्य नरहेको फेला परेको हो ।
श्रेष्ठका अनुसार प्रशोधन नगरी सोझै त्यस्तो पानी पिउनु रोग निम्त्याउनु हो । उनले उपत्यकामा वितरित धाराको पानी उमालेर मात्र सेवन गर्न सुझाव दिएका छन् । ‘कोलिफर्म पानी तताउँदा र वा क्लोरिन राख्दा सहजै मर्ने गर्छ,’ उनले भने, ‘त्यसकारण उपत्यकाको पानी पिउनुअघि उमालेर वा क्लोरिन राखेर मात्र पिउनु उपयुक्त हुन्छ ।’
पानीमा कोलिफर्म देखिनुले काठमाडांै उपत्यकाभित्र वितरित पानी विश्व स्वास्थ्य संगठन र नेपालकै मापदण्डविपरीत रहेको र यस्तो पानी सोझै पिउन नहुने विज्ञको भनाइ छ । कोलिफर्मका साथै पानीमा केही मात्रामा एमोनिया, आइरन, म्याग्नेट, अर्गानिक पदार्थ र कडापनसमेत फेला परेको प्रयोगशालाले जनाएको छ । हाल वितरित धाराको पानीले झाडाजन्य रोग मात्र होइन शरीरमा नीला दाग देखा पर्ने, छालाजन्य रोग, दाँत कालो बनाउने, कब्जियत गराउनेजस्ता समस्या पनि निम्त्याउने चिकित्सकको भनाइ छ ।
केही समयअघि जाइकाले गरेको अध्ययनले पनि उपत्यकाको पानीमा कोलिफर्मका साथै एमोनिया, आइरन, म्याग्नेट, अर्गानिक पदार्थ र कडापन बढिरहेको देखाएको थियो । मापदण्डअनुसार एमोनियाको मात्रा १ दशमलव ५ मिलिग्राम प्रतिलिटर भएको पानी खानयोग्य हुन्छ । जाइकाले गरेको अध्ययनले भने केयुकेएलले वितरण गरेको पानीमा यसको मात्रा प्रतिलिटर १ सय २० देखि १ सय ३० मिलिग्रामसम्म पाएको थियो । यस्तै, आइरनको मात्रा शून्य दशमलव ३ मिलिग्राम प्रतिलिटर हुनुपर्नेमा आठदेखि २० मिलिग्रामसम्म पाइएको छ ।
उपत्यकामा यस्तो पानीका कारण गम्भीर प्रकृतिका स्वास्थ्य समस्या निम्तिरहेको चिकित्सकको भनाइ छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएका हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ‘ए’लगायत पेटसम्बन्धी बिरामीमध्ये अधिकांश प्रदूषित पानी सेवनका कारण भएको अस्पतालले जनाएको छ । सरुवा रोग विशेषज्ञ डा.वासुदेव पाण्डेले कोलिफर्मभन्दा पनि पानीमा एमोनिया बढी भए ठूलो समस्या आउने बताए । उनका अनुसार एमोनिया भएको पानी पिउनाले मिर्गौलासम्बन्धी रोग लाग्छ । ८० प्रतिशत रोगको कारण पानी भएकाले शुद्ध पानी मात्र प्रयोग गर्नुपर्ने उनले बताए ।

डा. केसीलाई बचाऊ

दुई दिन देशभरिका अस्पताल ठप्प पारिने

-प्रवीण ढकाल
काठमाडौं, २ भदौ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिलाई लिएर शनिबार र आइतबार देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । योग्यता र वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने माग गर्दै अनशन बसेका डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सक संघले स्वास्थ्य संस्था बन्द गर्ने निर्णय लिएको हो ।
डा.प्रकाश सायमीलाई डिन नियुक्त गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार नाम सिफारिस गरे पनि त्रिवि कार्यकारी परिषद्ले मानेन । पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. केसीको मागलाई समर्थन गर्दै प्रधानमन्त्रीले योग्यताका आधारमा डा. केसीले उपलब्ध गराएको लिस्टमध्येका डा. सायमीलाई डिन नियुक्त गर्न त्रिवि परिषद्लाई निर्देशन दिएका थिए । तर, त्यसलाई परिषद्ले अटेर गर्‍यो ।
नेपाल चिकित्सक संघको शुक्रबार बसेको आकस्मिक बैठकले शनिबार र आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकले सम्पूर्ण सरकारी, निजी, प्राइभेट, क्लिनिक तथा मेडिकल कलेजका इमरजेन्सी तथा अन्तरंग सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको संघका महासचिव डा. भूपेन्द्र बस्नेतले बताए ।
यसैबीच, संघले डा. केसीको जीवनरक्षाका लागि अभियान सुरु गरेको छ । शनिबार बिहान ९ बजे ‘त्रिवि शिक्षण अस्पताल जाऊँ, प्रा.डा.गोविन्द केसीलाई बचाउँm’ भन्ने नारासहित देशभरका चिकित्सक र नागरिकलाई अस्पतालमा उपस्थित हुन संघले आह्वान गरेको छ । संघको बैठकले अस्पताल बन्द गर्ने र केसीको जीवनरक्षाको अभियान थाल्ने निर्णय गरेपछि प्रधानमन्त्री डा. भट्टराईले डा. केसीले दिएको १२ जना चिकित्सकको लिस्टबाट डा. सायमीलाई नियुक्ति गर्न परिषद्लाई निर्देशन दिएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री डा. भट्टराईले ‘डा. केसीको ज्यान जोगाउन डा. सायमीलाई नियुक्त नगरे तपार्इंहरू पनि पदबाट हट्न सक्ने’ चेतावनी परिषद्का सदस्यहरूलाई दिएका थिए । तर, परिषद्का सदस्यले प्रधानमन्त्रीको चेतावनीको समेत बेवास्ता गर्दै डिन नियुक्ति गरेनन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री डा. भट्टराईले त्रिविका सम्पूर्ण पदाधिकारीलाई सात बजे बिहान प्रधानमन्त्री कार्यालयमा बोलाएका छन् । कार्यालयले दिएको जानकारीअनुसार शनिबार बिहानै डिनको निर्णय हुनेछ ।
आफूअनुकूल डिन नियुक्तिका लागि मेडिकल कलेजहरूले त्रिवि परिषद्का सदस्यहरूलाई ३० करोडभन्दा बढी रकम बुझाएको स्रोतको दाबी छ । ‘मेडिकल कलेजहरूबाट सदस्यहरूले ३० करोडभन्दा बढी रकम लिइसकेकाले प्रधानमन्त्रीको निर्देशनसमेत बेवास्ता गरेका हन्,’ स्रोतले भन्यो, ‘उनीहरू पैसा गुम्ने डरले डा. केसीको ज्यानमाथि खेलबाड गरिरहेका छन् ।’
यता, पाँच दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गइरहेको छ । डा. केसीको ज्यान जोखिममा पर्दासमेत त्रिविका पदाधिकारीले निर्णय दिन नसकेको भन्दै टिचिङका डाक्टरले अस्पतालको आकस्मिकबाहेकका सेवा तीन दिनदेखि बन्द गरिरहेका छन् । माग सम्बोधन नभएको र डा. केसीको स्वास्थ्य बिग्रँदै गएकाले टिचिङका डाक्टर आकस्मिक सेवासमेत बन्द गर्ने योजनामा छन् ।
त्रिविका उपकुलपति डा. हीराबहादुर महर्जनले परिषद्को बैठकमा डिन नियुक्तिका लागि बनाइएको छनोट समितिले नाम सिफारिस गरेर नदिएकाले प्रधानमन्त्रीले दिएको नाममा निर्णय हुन नसकेको बताए । उनले सिफारिस समितिले नाम सिफारिस गरेपछि मात्र डिनको नाम टुंगो लाग्ने बताए । त्रिविले बुधबार डा. ऋतुप्रसाद गड्तौलाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा डा. सुरेश बास्तोला र डा. हरिदर्शन श्रेष्ठ रहेका छन् ।
समितिका संयोजक डा. गड्तौलाले तीनवटा पार्टीका डाक्टरको नाम शनिबारसम्म आउने र त्यसपछि कार्यकारी समितिमा बुझाइने बताए । त्रिवि ऐनमै राजनीतिक आधारमा डिन नियुक्ति गर्ने भन्ने भएकाले राजनीतिक आधारमा नाम मागिएको उनको भनाइ छ । स्रोतका अनुसार सिफारिस समितिले सोमबार नै उपकुलपति महर्जनको एकल निर्णयले नियुक्ति दिएका निमित्त डिन डा. धर्मकान्त बास्कोटालाई पुन: सिफारिस गरेको छ । यसैगरी, डा. करविरनाथ योगी र डा. रतेन्द्र श्रेष्ठको नाम सिफारिस गर्न लागेको छ । यी सबै योग्यता र दक्षताका आधारमा नभई राजनीतिक आधारमा गरिएका हुन् ।
चिकित्सकले डा. केसीको स्वास्थ्य २४ घन्टाभित्र जे पनि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । चिकित्सकहरूले डा. केसीको इच्छाविपरीत शुक्रबार स्लाइन चढाएर राखेका छन् । उनको मुटुको चाल ‘कार्डियाक मोनिटर’मा हेरिरहेका छन् । आमरण अनशन थालेको पाँचाँै दिनमा डा. केसी उठ्न पनि नसक्ने भएका छन् । आइसियुमा जान नमानेपछि चिकित्सकहरूले अनशनस्थलमै आइसियु तयारी अवस्थामा राखेका छन् । लगातारको अनशनका कारण उनको शरीरभित्र एसिडको उत्पादन अत्यधिक भइरहेको र त्यसले शरीरलाई भित्रभित्र कमजोर बनाइरहेको उपचारमा संलग्न चिकित्सक डा. विकास दलीले बताए । डा. केसी जस्तोसुकै परिणाम आए पनि माग पूरा नभएसम्म अनशन नछाड्ने अडानमा छन् ।
डा. केसीले उठाएको मागलाई नेपाल बार एसोसिएसन, पेसाकर्मीहरूको संगठन पापड, मानवअधिकार आयोग तथा नागरिक समाजले समेत ऐक्यबद्धता जनाएको छ । तत्काल माग पूरा गर्न भन्दै बिहीबार टिचिङका ५० भन्दा बढी चिकित्सकले राष्ट्रपतिलाई भेटेका थिए । बिहीबार नै राष्ट्रपति डा. यादवले प्रधानमन्त्री भट्टराईलाई अनशनमा बसेका डा. केसीको ज्यान बचाउन र संस्थाको हितका लागि तत्काल समस्या समाधान गर्न निर्देशनात्मक ध्यानाकर्षण गराएका थिए ।
चिकित्सकले तीन दिनदेखि टिचिङ अस्पतालको सेवा ठप्प पारेपछि अस्पतालमा दैनिक उपचार गर्न जाने बिरामी भने समस्यामा परेका छन् । टिचिङमा दैनिक दुई हजारदेखि २५ सय हाराहारीमा बिरामी उपचारका लागि जाने गर्छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले विशेषाधिकार प्रयोग गरी सोमबार साँझ आºनो एकल निर्णयबाट संस्थानमा वरिष्ठताका आधारमा ५० जना चिकित्सकभन्दा तल रहेका डा. धर्मकान्त बास्कोटालाई निमित्त डिनमा नियुक्त गरेका थिए ।

कनिष्ठलाई डिन बनाइएपछि टिचिङमा तनाव

-प्रवीण ढकाल
काठमाडौं, ३१ साउन । अनशनमा बसेका डा.गोविन्द केसीको मागलाई बेवास्ता गर्दै त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा कनिष्ठलाई नियुक्त गरिएपछि त्रिवि शिक्षण अस्पतालमा तनाव बढेको छ । राजनीतिक आधारमा कनिष्ठलाई डिनमा नियुिक्त गरेको भन्दै संस्थानका चिकित्सकदेखि कर्मचारी त्रिवि शिक्षण अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बुधबारबाट बन्द गर्ने भएका छन् भने डा.केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने भएका छन् ।
सोमबारदेखि अनशनमा बसेका डा.केसीको मागलाई बेवास्ता गर्दै त्रिभुवन विश्वविद्यालयले मंगलबार डा.धर्मकान्त बास्कोटालाई डिनमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागवण्डाका आधारमा नभई वरिष्ठता वा प्रतिस्पर्धाका आधारमा योग्य र दक्ष पदाधिकारी नियुक्ति गर्नुपर्ने माग डा.केसीको छ । संस्थान र अस्पतालमा राजनीतिक गतविधि बढाएको र पदाधिकारी नियुक्ति दलगत भागवण्डामा गरिएको भन्दै अस्पतालका रेजिडेन्ट चिकित्सक र विभागीय प्रमुखहरूले मंगलबारबाट नै काम नगर्ने निर्णय गरेका छन् । डा.केसीको जायज मागलाई बेवास्ता गरेको भन्दै रेजिडेन्ट चिकित्सकहरूको संस्था र विभागीय प्रमुखहरूले मंगलबार साँझ घन्टाँै लामो बैठक बसी काम नगर्ने निर्णय गरेका हुन् । रेजिडेन्ट डाक्टरहरूले त अस्पतालमा काम गर्न नसकिने भनी अस्पतालका निर्देशक डा.केपी सिंहलाई पत्रसमेत बुझाइसकेका छन् ।
अनशनमा बसेका डा.केसीले अस्पताल र चिकित्सक उत्पादन गर्ने संस्थालाई राजनीतिबाट मुक्त गर्नुहोस्, भ्रष्टाचार हुनबाट जोगाउनुहोस् भनेर माग राख्दा बेवास्ता गरेकाले आफ्नो जायज माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताए । ‘बिरामीको उपचार गर्नुपर्ने संस्था राजनीतिक हानथापले धराशयी हुँदै जान लागेकोले अस्पताल र संस्थानमा राजनीति गर्नुहुन्न भन्ने मेरो माग हो,’ डा.केसीले भने, ‘दलगत आस्थाका आधारमा अयोग्य व्यक्तिलाई होइन योग्यता वा प्रतिस्पर्धाका आधारमा राम्रो व्यक्ति राखेर संस्थानको विकास गर भन्दा पनि नसुनेपछि अनशनमा बस्नुपरेको हो ।’ उनले त्रिविबाट हालै नियुक्ति भएका डा.बास्कोटालाई राजनीतिक आधारमा नै ल्याइएकोले आफ्नो अनशन नरोकिएको बताए । दुई दिनदेखि अनशनमा बसेका डा.केसीको स्वास्थ्यमा समेत समस्या देखिन थालेको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
त्रिवि प्राध्यापक संघ महाराजगन्ज चिकित्सा क्याम्पस इकाइका अध्यक्ष डा.दिनेशविक्रम पोखरेलले त्रिविले मागको बेवास्ता गरी पेलेरै योग्यता नपुगेका व्यक्तिलाई राजनीतिक आधारमा नियुक्ति दिएकोले बुधबार बिहानैबाट संस्थानसहित अस्पतालको काम रोकिने बताए । ‘भागवण्डा गर्नुहुँदैन भन्दाभन्दै पनि जबरजस्ती नियुक्ति गरिएको छ,’ उनले भने, ‘अनशनमा बसेका डा.केसीको स्वास्थ्य बिग्रँदै गएको छ तर त्यसको प्रवाह नगरी त्रिविले निर्णय गरेकोले काम रोक्नुपर्ने अवस्थामा पुगिएको हो ।’ त्रिविका उपकुलपति डा. महर्जनले रिक्त रहेको डिनको पदमा आफूले ऐनअनुसार नियुक्ति दिएको बताए । उनले डा.केसीले अनशन नछाड्ने विषयमा आफूले पनि जानकारी पाएकोले डा.केसीलाई अनशन छाड्न अनुरोध गर्ने जानकारी दिए । ‘डा.केसीलाई अनशन रोक्न अनुरोध गरिन्छ,’ उनले भने, ‘आज (मंगलबार) बेलुकासम्म हामीले उहाँसँग कुराकानी भने गरेका छैनौँ ।’
संस्थान र अस्पतालमा पदाधिकारी नियुक्ति गर्दा भागवण्डा गर्न नहुने, वरिष्ठताका आधारमा वा प्रतिस्पर्धाबाट योग्य प्रमाणित भएर आएकालाई मात्र पदाधिकारी नियुक्ति गर्नुपर्ने मागसहित प्रा.डा.गोविन्द केसी सोमबार अपराह्नदेखि पुन: अनशनमा बसेका थिए ।
त्रिविले संस्थानमा राजनीतिक भागवण्डाको आधारमा रिक्त रहेको पदाधिकारीहरूको नियुक्ति गर्ने तयारी गरिरहेको भन्दै डा.केसीले सोमबार दिउँसो २ बजेर १८ मिनेटदेखि आस्पताल हाताभित्रै अनशन सुरु गरेका हुन् । उनी गत २१ असारमा पनि यही माग लिएर अनशनमा बसेका थिए । आमरण अनशन बसेको चार दिनपछि त्रिविले वरिष्ठताको आधारमा प्रा.डा.कुमुदकुमार काफ्लेलाई डिन नियुक्त गरेको थियो । त्रिवि उपकुलपति कार्यालयले २४ असारमा संस्थानका डिनमा नियुक्त गरेका प्रा.डा.काफ्ले सोमबारदेखि सेवानिवृत्त भएका छन् । उनी संस्थानमा ३५ दिनसम्म डिनको रूपमा काम गर्न पाएका हुन् । त्रिविले असारमा डा.केसीको मागलाई सम्बोधन गर्दै रिटायर्ड हुन ३५ दिन मात्र बाँकी भएका डा.काफ्लेलाई डिन बनाएको थियो । सोमबार काफ्ले रिटायर्ड भएपछि मंगलबार नै उपकुलपति डा.महजर्ननले डा. बास्कोटालाई विशेषअधिकार प्रयोग गरी तीन महिनाका लागि डिनमा नियुक्त गरेका हुन् ।