Pages

Sunday, August 19, 2012

कनिष्ठलाई डिन बनाइएपछि टिचिङमा तनाव

-प्रवीण ढकाल
काठमाडौं, ३१ साउन । अनशनमा बसेका डा.गोविन्द केसीको मागलाई बेवास्ता गर्दै त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा कनिष्ठलाई नियुक्त गरिएपछि त्रिवि शिक्षण अस्पतालमा तनाव बढेको छ । राजनीतिक आधारमा कनिष्ठलाई डिनमा नियुिक्त गरेको भन्दै संस्थानका चिकित्सकदेखि कर्मचारी त्रिवि शिक्षण अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बुधबारबाट बन्द गर्ने भएका छन् भने डा.केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने भएका छन् ।
सोमबारदेखि अनशनमा बसेका डा.केसीको मागलाई बेवास्ता गर्दै त्रिभुवन विश्वविद्यालयले मंगलबार डा.धर्मकान्त बास्कोटालाई डिनमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागवण्डाका आधारमा नभई वरिष्ठता वा प्रतिस्पर्धाका आधारमा योग्य र दक्ष पदाधिकारी नियुक्ति गर्नुपर्ने माग डा.केसीको छ । संस्थान र अस्पतालमा राजनीतिक गतविधि बढाएको र पदाधिकारी नियुक्ति दलगत भागवण्डामा गरिएको भन्दै अस्पतालका रेजिडेन्ट चिकित्सक र विभागीय प्रमुखहरूले मंगलबारबाट नै काम नगर्ने निर्णय गरेका छन् । डा.केसीको जायज मागलाई बेवास्ता गरेको भन्दै रेजिडेन्ट चिकित्सकहरूको संस्था र विभागीय प्रमुखहरूले मंगलबार साँझ घन्टाँै लामो बैठक बसी काम नगर्ने निर्णय गरेका हुन् । रेजिडेन्ट डाक्टरहरूले त अस्पतालमा काम गर्न नसकिने भनी अस्पतालका निर्देशक डा.केपी सिंहलाई पत्रसमेत बुझाइसकेका छन् ।
अनशनमा बसेका डा.केसीले अस्पताल र चिकित्सक उत्पादन गर्ने संस्थालाई राजनीतिबाट मुक्त गर्नुहोस्, भ्रष्टाचार हुनबाट जोगाउनुहोस् भनेर माग राख्दा बेवास्ता गरेकाले आफ्नो जायज माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताए । ‘बिरामीको उपचार गर्नुपर्ने संस्था राजनीतिक हानथापले धराशयी हुँदै जान लागेकोले अस्पताल र संस्थानमा राजनीति गर्नुहुन्न भन्ने मेरो माग हो,’ डा.केसीले भने, ‘दलगत आस्थाका आधारमा अयोग्य व्यक्तिलाई होइन योग्यता वा प्रतिस्पर्धाका आधारमा राम्रो व्यक्ति राखेर संस्थानको विकास गर भन्दा पनि नसुनेपछि अनशनमा बस्नुपरेको हो ।’ उनले त्रिविबाट हालै नियुक्ति भएका डा.बास्कोटालाई राजनीतिक आधारमा नै ल्याइएकोले आफ्नो अनशन नरोकिएको बताए । दुई दिनदेखि अनशनमा बसेका डा.केसीको स्वास्थ्यमा समेत समस्या देखिन थालेको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
त्रिवि प्राध्यापक संघ महाराजगन्ज चिकित्सा क्याम्पस इकाइका अध्यक्ष डा.दिनेशविक्रम पोखरेलले त्रिविले मागको बेवास्ता गरी पेलेरै योग्यता नपुगेका व्यक्तिलाई राजनीतिक आधारमा नियुक्ति दिएकोले बुधबार बिहानैबाट संस्थानसहित अस्पतालको काम रोकिने बताए । ‘भागवण्डा गर्नुहुँदैन भन्दाभन्दै पनि जबरजस्ती नियुक्ति गरिएको छ,’ उनले भने, ‘अनशनमा बसेका डा.केसीको स्वास्थ्य बिग्रँदै गएको छ तर त्यसको प्रवाह नगरी त्रिविले निर्णय गरेकोले काम रोक्नुपर्ने अवस्थामा पुगिएको हो ।’ त्रिविका उपकुलपति डा. महर्जनले रिक्त रहेको डिनको पदमा आफूले ऐनअनुसार नियुक्ति दिएको बताए । उनले डा.केसीले अनशन नछाड्ने विषयमा आफूले पनि जानकारी पाएकोले डा.केसीलाई अनशन छाड्न अनुरोध गर्ने जानकारी दिए । ‘डा.केसीलाई अनशन रोक्न अनुरोध गरिन्छ,’ उनले भने, ‘आज (मंगलबार) बेलुकासम्म हामीले उहाँसँग कुराकानी भने गरेका छैनौँ ।’
संस्थान र अस्पतालमा पदाधिकारी नियुक्ति गर्दा भागवण्डा गर्न नहुने, वरिष्ठताका आधारमा वा प्रतिस्पर्धाबाट योग्य प्रमाणित भएर आएकालाई मात्र पदाधिकारी नियुक्ति गर्नुपर्ने मागसहित प्रा.डा.गोविन्द केसी सोमबार अपराह्नदेखि पुन: अनशनमा बसेका थिए ।
त्रिविले संस्थानमा राजनीतिक भागवण्डाको आधारमा रिक्त रहेको पदाधिकारीहरूको नियुक्ति गर्ने तयारी गरिरहेको भन्दै डा.केसीले सोमबार दिउँसो २ बजेर १८ मिनेटदेखि आस्पताल हाताभित्रै अनशन सुरु गरेका हुन् । उनी गत २१ असारमा पनि यही माग लिएर अनशनमा बसेका थिए । आमरण अनशन बसेको चार दिनपछि त्रिविले वरिष्ठताको आधारमा प्रा.डा.कुमुदकुमार काफ्लेलाई डिन नियुक्त गरेको थियो । त्रिवि उपकुलपति कार्यालयले २४ असारमा संस्थानका डिनमा नियुक्त गरेका प्रा.डा.काफ्ले सोमबारदेखि सेवानिवृत्त भएका छन् । उनी संस्थानमा ३५ दिनसम्म डिनको रूपमा काम गर्न पाएका हुन् । त्रिविले असारमा डा.केसीको मागलाई सम्बोधन गर्दै रिटायर्ड हुन ३५ दिन मात्र बाँकी भएका डा.काफ्लेलाई डिन बनाएको थियो । सोमबार काफ्ले रिटायर्ड भएपछि मंगलबार नै उपकुलपति डा.महजर्ननले डा. बास्कोटालाई विशेषअधिकार प्रयोग गरी तीन महिनाका लागि डिनमा नियुक्त गरेका हुन् ।

No comments:

Post a Comment