Pages

Friday, March 2, 2012

मन्त्रीपुत्रको अस्पतालमा सरकारीबाट बिरामी पठाइन्छ

-प्रवीण ढकाल

काठमाडौँ, १८ फागुन । मापदण्डविपरीत सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोका छोरा राघवेन्द्र महतोको शिवज्योति अस्पताल तथा रिसर्च सेन्टरमा राजधानीका ठूला सरकारी अस्पतालबाट बिरामी पठाइने गरेको खुलासा भएको छ । स्वास्थ्यमन्त्री महतो स्वयंले पदीय दुरुपयोग गरी छोराको अस्पताल पोस्न सरकारी अस्पताललाई प्रयोग गरेका हुन् ।
स्रोतका अनुसार उपचारका लागि सरकारी अस्पतालमा पुगेका थुप्रै बिरामीलाई त्यहाँ सेवा–सुविधा नभएको बहानामा शिवज्योति अस्पतालमा ‘रिफर’ गरिन्छ । शिवज्योतिमा सबैभन्दा धेरै वीर अस्पताल र त्यसपछि क्रमशः त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालबाट बिरामी पठाउने गरिएको स्रोतले बतायो ।
मन्त्री महतोको निर्देशनमा उनीनिकटका व्यक्तिले सरकारी अस्पतालको आकस्मिक कक्षमा कार्यरत ‘प्यारामेडिक्स’देखि चिकित्सकसम्मलाई शिवज्योतिमा बिरामी रिफर गर्न दबाब दिँदै आएका छन् । आइसियूका बिरामी शिवज्योतिमा नपठाए अन्यत्र सरुवा गर्ने धम्कीसमेत उनीहरूले चिकित्सक–कर्मचारीलाई दिने गरेको स्रोतको दाबी छ ।
‘केही अस्पतालमा मन्त्रीका आफ्नै मानिस कार्यरत छन्, उनीहरूले सोझै शिवज्योतिमा बिरामी पठाउँछन्,’ स्रोतले भन्यो, ‘आफ्ना मानिस नभएका सरकारी अस्पतालमा मन्त्रीनिकटका मानिस गएर दबाब दिन्छन् ।’
गत कात्तिकबाट सञ्चालनमा आएको शिवज्योति अस्पतालमा सुरुदेखि नै सरकारी अस्पतालबाट विभिन्न बहानामा बिरामी पठाउन थालिएको हो । ‘धेरैजसो आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी सरकारी अस्पतालबाट यहाँ आउने गरेका छन्,’ शिवज्योति अस्पताल स्रोत भन्छ, ‘मुटु, हाडजोर्नी, श्वासप्रश्वासका बिरामी तथा बालबालिका अत्यधिक सङ्ख्यामा पठाइन्छन् ।’

सम्पादकीय टिप्पणी
छोराले खोलेको अस्पताललाई आवश्यक पूर्वाधारबिना नै सञ्चालन अनुमति दिलाएर स्वास्थ्यमन्त्री राजेन्द्र महतोले पहिलो गल्ती गरेका थिए । गल्ती सच्याउनुको साटो सरकारी अस्पतालका बिरामीलाई समेत छोराकै अस्पतालमा पठाउने मेसो मिलाएर उनले आफ्नो पदीय हैसियतको हदैसम्म दुरुपयोग गरेका छन् । यस्ता मन्त्रीबाट देशले के अपेक्षा गर्ने ?

शिवज्योति अस्पतालमा सबैभन्दा बढी वीर अस्पतालको आकस्मिक उपचारकक्षमा कार्यरत अहेव अरुण महतोले बिरामी पठाउने गरेको स्रोतको भनाइ छ । अहेव महतोले वीरमा आएका बिरामीलाई अस्पतालमा आइसियू र भेन्टिलेटर खाली हुँदासमेत नभएको र बेडको पनि अभाव भएको भन्दै बिरामी पठाउने गरेका छन् । आफूलाई मन्त्री महतोको भतिजो बताउँदै अन्य कर्मचारीलाई दबाब दिएर पनि उनले बिरामी पठाउन लगाउने गरेको स्रोत बताउँछ ।
तर, अहेव महतो यो कुरा स्विकार्दैनन् । वीरको इमर्जेन्सीमा आफू एक्लो मधेसी कर्मचारी भएकाले सबैले हेपेको उनको भनाइ छ । ‘म यहाँको प्यारामेडिक्स हुँ, मलाई बिरामी पठाउने अधिकार छैन,’ उनले भने, ‘बरु पिजी पढिरहेका डाक्टरहरूले भने त्यहाँ बिरामी पठाउने गरेका छन् ।’
स्रोतका अनुसार महतोको अस्पतालमा हालै आगोले पोलेकी एक वृद्धालाई वीरबाट पठाइएको थियो । आगोले ४० प्रतिशत शरीर जलेकी ती वृद्धालाई शिवज्योति अस्पतालको आइसियूमा १० दिनदेखि राखिएको छ । जब कि अस्पतालमा आगोले पोलेको उपचार गर्ने विशेषज्ञ चिकित्सक नै छैनन् । अस्पतालकै एक कर्मचारीले आगोले पोलेको उपचार गर्ने ‘बर्न, प्लास्टिक’ विशेषज्ञ नरहेको स्वीकार गरेका छन् । ती कर्मचारीका अनुसार ६ बेड आइसियू भएको अस्पतालमा जम्मा चारवटा मात्र भेन्टिलेटर छन् ।
सरुवारोग अस्पतालमा कार्यरत एक कर्मचारीले पनि मन्त्रीको छोराको अस्पतालमा बिरामी पठाउने गरिएको नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘मन्त्रीको छोराको अस्पताल हो, बिरामी पठाउनुहोला भन्दै केही मानिस आएका थिए,’ ती कर्मचारीले भने, ‘बिरामी नपठाए सरुवा गराइदिन्छौँ भनेर गए ।’ उनका अनुसार अस्पतालबाट कात्तिकयता २० भन्दा बढी बिरामी पठाइएको छ ।
मन्त्री महतोका पिए उपेन्द्र महतोले भने शिवज्योति अस्पतालमा सरकारीबाट बिरामी पठाइएकोबारे आफू र मन्त्रीलाई कुनै जानकारी नभएको दाबी गरे ।

Thursday, March 1, 2012

दस मिनेट तीन घन्टा हुँदा …

-प्रवीण ढकाल

माघ महिनाको अन्तिम साता स्वास्थ्य क्षेत्रमा केमिकल तथा मेडिकल उपकरण आपूर्ति गर्ने सङ्घसंस्थाको सङ्गठन केमिकल तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान)को सातौँ वार्षिक साधारणसभाको कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि थिए स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतो । मन्त्री महतोले ‘कार्यक्रममा बस्न समय छैन १० मिनेटभन्दा बढी बस्दिन’ भनेकाले आयोजकले कार्यक्रमलाई छिटो र छोटो बनाउने प्रयास गरिरहेका थिए ।
कुपन्डोलको होटल हिमालयमा भएको कार्यक्रममा केही स्वास्थ्य पत्रकार, अस्पतालका चिकित्सक र केमसानका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । कार्यक्रमको हलमा प्रवेश नगर्दै मन्त्री महतो ‘मलाई अर्को स्थानमा जानुपर्नेछ, कार्यक्रम छोटो बनाउनुहोला है’ भन्दै हलभित्र प्रवेश गरेका थिए । केमसानले पनि मन्त्रीको इच्छा अनुसार नै कार्यक्रमलाई हतारमा सञ्चालन गर्यो, तर जब कार्यक्रममा नेपालमा मेडिकल सामग्री तथा केमिकलको वार्षिक कारोबार १० अर्ब रुपियाँभन्दा बढी छ भन्ने कुरा आयो, मन्त्री महतोको समय बढ्दै गयो । हतार भएका मन्त्री महतो कार्यक्रममा तीन घन्टाभन्दा बढी बसे ।
केमसानका अध्यक्ष धीरज थपलियाले नेपालमा मेडिकल सामग्रीको कारोबार १० अर्ब रुपियाँभन्दा बढी रहेको र स्वास्थ्यका उपकरणमा लगाइएको मूल्य अभिवृद्धि कर अव्यावहारिक भएको भन्दै यसलाई व्यावहारिक बनाउन मन्त्रीसमक्ष माग गरे । अध्यक्ष थपलियाका माग र कारोबारको विषयमा जवाफ दिँदै मन्त्री महतोले भने ‘ए, मेडिकल उपकरण तथा सामग्रीको कारोबार त ठूलै रहेछ, यति धेरै होला भन्ने त मलाई लागेकै थिएन त ।’ मन्त्री महतोको कुरा सुनेर हलमा भएका सबै हाँसे । उनले पनि सबैको हाँसोमा हाँसो थप्दै यति धेरै कारोबार भएको यो व्यवसायमा किन चासो नदिएको त भन्दै छेवैमा रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवद्र्धन प्रधानलाई केमसानको विषयमा सबै बुझेर आफूलाई बताउन भनिहाले ।
मन्त्री महतोले पनि कारोबार रकमलाई बारम्बार जोड दिँदै भाषण गरेपछि हलमा बसेर कुरा सुनिरहेका मानिस भने ‘ठूलो कारोबार भएकाले होला मन्त्रीको पनि राम्रैसँग ध्यान खिंचेछ’ भन्दै कुरा गरिरहेका थिए । पत्रकारको कुर्सीमा बसेका म लगायत केही साथी पनि मन्त्रीको भाषणमाथि गफ गर्न बाध्य भयौँ ।


छोटो समय भएका मन्त्रीले झन्डै सात मिनेट जति भाषण नै गरे । उनको भाषणमा अधिकांश समय आर्थिक कुरा नै बढी आए । भाषण सकिएपछि ‘अब मन्त्री निस्कन्छन्’ भन्ने अड्कल काटेका मानिस मन्त्री पुनः कुर्सीमा गएर बसेपछि फेरि हाँसे । पुनः कार्यक्रम सञ्चालन भयो । सञ्चालकले मन्त्रीको भाषण सकिएलगत्तै एकदुई मानिसलाई भाषण गराई कार्यक्रम सके र ककटेल पार्र्टीको सुरुआत गरे । कार्यक्रम सकिएपछि ‘मन्त्री अबचाहिँ निस्कने भए’ भनेर आयोजकहरु मन्त्रीको पछाडि लाग्दै भ¥याङ छेउसम्म पनि पुगे तर मन्त्री सरासर ककटेल पार्र्टी भएको अर्को कक्षमा प्रवेश गरेपछि आयोजक लगायत हामी सञ्चारकर्मी छक्क पुराऔं । उनले ककटेल पार्र्टीमा तातोपानी मगाएर खाएपछि कार्यक्रम हलका केही साथीले ‘सायद मन्त्रीलाई भोक लागेछ क्यार खाएर मात्र जान खोजेछन्’ भन्ने ठानेर उनलाई खाना खान भने तर खाएनन् ।
पानी मात्र खाएर झन्डै तीन घन्टा बिताएका मन्त्रीले लामो समयसम्म मेडिकल सामग्री नेपालमा कसरी आउँछ, कस्ता सामग्री आउँछन्, खास कारोबार कस्तो हो भनेर केमिकल तथा मेडिकल सामग्री आयात गर्ने भनेर व्यापारीसित जिज्ञासा लिए । मानिसहरु ‘मन्त्रीको समय त लामै रहेछ नि’ भनेर अनेकथरी कुरा गरिरहेका थिए । हामीले मन्त्रीको घडी बन्द भएको त होइन भनेर ठट्टा गर्न भ्यायौँ । त्यो दस अर्ब, दस मिनेट र तीन घन्टाको अर्थ बुझ्न भने हामीलाई साह्रै गाह्रो भयो ।

Thursday, February 23, 2012

स्वास्थ्यमन्त्रीकै छोराको अस्पताल मापदण्डविपरीत

प्रवीण ढकाल, काठमाडौं, १० फागुन ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले पदको दुरुपयोग गरी आफ्नो छोराको अस्पताललाई आवश्यक पूर्वाधारविनै सञ्चालन अनुमति दिलाएका छन् । महतोका छोरा राघवेन्द्रका नाममा खोलिएको शिवज्योति अस्पताल तथा रिसर्च सेन्टर तोकिएको मापदण्ड पूरा नगरी गत कात्तिकदेखि सञ्चालनमा छ ।
बल्खुमा रहेको सो अस्पतालले ‘निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१’ मा उल्लेख भएअनुसार मापदण्ड पूरा नगरेको हो । ५० शैया क्षमताको अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागले पहिल्यै अनुगमन गरी अनुमति दिनुपर्ने हुन्छ । तर, सो अस्पतालको भवन अनुपयुक्त हुँदाहुँदै मन्त्रीको ठाडो आदेशमा अनुगमनविनै सञ्चालन अनुमति दिइएको थियो ।
निर्देशिकामा अस्पतालको भवनले चर्चेको जग्गाको एकतिहाइ भाग खाली हुनुपर्ने, भवनमा अनिवार्य रूपमा प्रवेशमार्ग र निकासमार्ग हुनुपर्ने, कोठामा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्ने उल्लेख छ । तर, शिवज्योति अस्पतालले चर्चेको जग्गामा कुनै पनि भाग खाली छैन । भवनमा एउटा मात्र बाटो छ भने अस्पतालका कुनै पनि कोठामा घाम छिर्दैन ।

. मन्त्रीको ठाडो आदेशमा विनाअनुगमन दिइएको थियो अनुमति
. पूर्णकालीन विशेषज्ञ डाक्टर छैनन्, अध्यारो कोठामा हुन्छ उपचार
. नियमानुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन पनि गरिएन
. सबै सुविधा छ भन्दै बिरामी भर्ना गर्ने र बिरामीको पैसा सकिएपछि सरकारी अस्पतालमा रिफर गर्ने चलन छ
. स्वास्थ्यमन्त्री महतो भन्छन्, मधेसीको अस्पताल भएकाले विरोध भएको हो

मन्त्रालय स्रोतले सौर्य दैनिकसँग भन्यो, ‘मन्त्रीकै छोराको अस्पतालले मापदण्ड पूरा गरेको छैन भने अरू अस्पतालले के गर्लान् ?’ विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका एक कर्मचारीका अनुसार, नियमले ५० शैया क्षमताको अस्पताल सञ्चालनका लागि भूकम्प प्रतिरोधात्मक भवन हुनुपर्ने हो, तर अस्पतालको भवन भूकम्प प्रतिरोधात्मक हो वा होइन भन्ने पनि जानकारी गराइएको छैन । मन्त्रीको आदेशमा अस्पताललाई भूकम्प प्रतिरोधात्मक प्रमाणपत्र पछि लिने सर्तमा सञ्चालन गर्न दिइएको ती कर्मचारीले बताए ।
अस्पतालले निर्देशिकाविपरीत अँध्यारो कोठामा बिरामीको उपचार गराइरहेको छ । निर्देशिकाले अस्पतालको भवनछेउमा बगैचाको व्यवस्था हुनुपर्ने पनि भनेको छ । तर, अस्पतालमा त्यस्तो केही छैन । खाली जग्गाको नाममा छेवैमा रहेको सार्वजनिक सडक मात्र रहेको व्यवस्थापन महाशाखाका कर्मचारीले बताए ।
पूर्वाधार निर्माण क्रमसँगै वातावरण संरक्षण ऐन २०५३ तथा नियमावली २०५४ बमोजिमको प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधानलाई अस्पतालले पूर्णरूपमा बेवास्ता गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार अस्पतालले नियमानुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइई) गरेको छैन । अस्पतालले सङ्क्रमणजन्य फोहोर व्यवस्थापनसमेत नियमविपरीत गरिरहेको छ । एक कर्मचारीका अनुसार छेवैमा खोला भएकाले अस्पतालले केही फोहोर खोलामा फाल्ने र केही महानगरपालिकालाई दिने गरेको छ ।
‘हाम्रोमा फोहोर फाल्न सजिलो छ,’ ती कर्मचारीले भने, ‘छेवैमा खोला भएकाले केही फोहोर खोलामा फालिन्छ र केही महानगरपालिकाले लैजान्छ ।’ नियमानुसार अस्पतालजन्य सबै फोहोर सार्वजनिक स्थलमा वा महानगरपालिकामा दिन मिल्दैन । अस्पतालले फोहोरलाई सङ्क्रमणजन्य रहेको वा नरहेको छुट्ट्याएर मात्र वैज्ञानिक ढङ्गले व्यवस्थित गर्नुपर्छ । त्यसका लागि नियममा व्यवस्था भएअनुसारको ‘इन्सिनेटर’ अस्पतालमा छैन ।
पाँच शैयाबराबर एउटा शौचालय हुनुपर्ने नियम पनि अस्पतालले पूरा गरेको छैन । अस्पतालका प्रत्येक तलामा पुरुष र महिलाका एक, एकवटा शौचालय मात्र छन् । बिरामी कुरुवा बस्ने ठाउँ पनि अस्पतालमा छैन ।
शिवशक्ति अस्पतालमा जनशक्ति आवश्यक मात्रामा नरहेको पाइएको छ । अस्पतालमा पूर्णकालीन विशेषज्ञ चिकित्सक नभएको स्वयं अस्पतालका कर्मचारीले स्वीकार गरेका छन् ।
‘अस्पतालले विशेषज्ञ सेवा दिएको छ, तर विशेषज्ञ सेवा लिन बिहानको सात बजेदेखि ११ बजेसम्म र बेलुका चार बजेपछि सात बजेसम्म मात्र जानुपर्छ,’ अस्पतालकै एक कर्मचारीले भने । जबकि अस्पतालमा चौबीसै घन्टा पूर्णकालीन चिकित्सकको व्यवस्था हुनुपर्ने नियम छ ।
स्रोतका अनुसार अस्पतालमा मानिसलाई पोलेको वा जलेको अवस्थामा उपचार गर्ने चिकित्सक नै छैनन्, तर अस्पतालले त्यस्ता बिरामीलाई भर्ना गरिरहेको छ । ‘धेरैजसो रोगको उपचारका लागि अस्पतालमा विशेषज्ञ छैनन्,’ स्रोतले भन्यो, ‘तर अस्पतालले सबै सुविधा छ भन्दै बिरामी भर्ना गर्ने र बिरामीको पैसा सकिएपछि सरकारी अस्पतालमा रिफर गर्ने गरेको छ ।’
यसका साथै अस्पतालले मापदण्डअनुसार स्वास्थ्य सेवा लिएबापत लाग्ने शुल्कको विवरण, सेवा दिने चिकित्सकको नाम, उपलब्ध सेवा खुल्नेगरी चार्टबोर्ड व्यवस्था गरेको छैन । भवनमा आगो निभाउने संयन्त्र छैन भने ओपिडी क्षेत्रमा बिरामी तथा सहयोगीका लागि आवश्यक प्रतीक्षालयको व्यवस्था छैन ।

मधेसीको भनेर विरोध भएको होः महतो

स्वासथ्य मन्त्री राजेन्द्र महतोले भने मधेसीले खोलेको भनेर मात्र शिवज्योति अस्पतालको विरोध भएको प्रतिक्रिया दिए । अस्पतालले आफ्नो भवन भूकम्प प्रतिरोधक भएको प्रमाणपत्र नबुझाएको उनले स्विकारे ।


‘भूकम्पको प्रमाणपत्र पछि लिने सर्तमा सञ्चालनका लागि स्वीकृति दिइएको हो,’ उनले सौर्यसँग भने । ५० बेड क्षमताको अस्पताल सञ्चालनका लागि स्वीकृति दिने काम स्वास्थ्य सेवा विभागको भएकाले आफ्नो कुनै हात नरहेको उनको जिकिर छ । मन्त्री महतोले भने, ‘मधेसीले खोलेको भन्दैमा विरोध गर्नु आवश्यक छैन, अस्पताल सबैका लागि हो ।’

Wednesday, February 15, 2012

विदेशमा एमबिबीएस पढ्न नेपालको प्रवेश परीक्षा पास गर्नैपर्ने

साउन ४ -विदेशमा एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालय वा शिक्षामन्त्रालयले लिएको प्रवेश परीक्षा अनिवार्य पास गर्नुपर्ने भएको छ। निजी खर्चमा विदेशबाट एमबिबिएस गरेर फर्केका अधिकांश विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिने 'लाइसेन्सिङ' (अभ्यास अनुमति पत्र) परीक्षामा अत्यधिक फेल हुन थालेपछि सरकारले यो नियम लागू गरेको हो। काउन्सिलले लिने परीक्षामा फेल भएकामध्ये ९५ प्रतिशत विदेशमा एमबिबिएस पढेर आएका छन्। विदेश पढेर आएकामध्ये ८० प्रतिशत डाक्टर काउन्सिलको लाइसेन्सिङ परीक्षामा एकभन्दा बढी पटक फेल भएका छन्। काउन्सिलले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार ७ सयभन्दा बढी विद्यार्थी मेडिसिन अध्ययनका लागि विदेश जान्छन्। काउन्सिलका अनुसार पछिल्लोपटक सरकारले विदेशमा मेडिसिन पढ्न जान चाहने विद्यार्थीहरुका लागि 'प्लस टु' विज्ञानमा कम्तीमा ५० प्रतिशत ल्याए हुने प्रावधान बनाएको छ। त्यस्ता विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले योग्य भएको प्रमाणपत्र र त्यसैका आधारमा शिक्षा मन्त्रालयले 'नो अब्जेक्सन' पत्र दिँदै आएको छ। मेडिकल कलेजबारे अध्ययन गर्न गत वर्ष गठित समितिलाई नेपाल मेडिकल काउन्सिलले दिएको सुझावको आधारमा मन्त्रिपरिषद्ले विदेशमा पढ्न जान चाहने विद्यार्थीले नेपालमा प्रवेश परीक्षा पास गर्नैपर्ने नियम पारित गर्ने तयारी गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। नयाँ नियम लागू भएपछि विदेश पढ्न जान त्रिभुवन वा काठमाडौ विश्वविद्यालय, शिक्षा मन्त्रालयले लिएको एमबिबिएस प्रवेश परीक्षा पास हुनैपर्छ। अहिले त्रिवि, केयु, बिपी स्वास्थ्य विज्ञान धरान र पाटन अस्पतालमा एमबिबिएस अध्ययन गर्न सम्बन्धित कलेजकै प्रवेश परीक्षा पास गर्नुपर्छ। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले विदेशमा पढेर आउने डाक्टरहरू अझै दक्ष हुन् भन्न यस्तो व्यवस्था गर्न लागेको बताए। उनले भने, 'यसअघिका प्रावधानले गुणस्तरको न्यूनतम मापदण्ड कायम गर्न सकेन, काउन्सिलको लाइसेन्सिङ परीक्षाको परिणामले पनि यसको पुष्टि गरेको छ।' गत चैतमा काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा १ हजार ३६ जना सहभागीमध्ये ४ सय १४ फेल भएका थिए, जसमध्ये ३ सय ९५ विदेश पढेका तथा १९ जना मात्र नेपालका मेडिकल कलेज पढेका थिए। बाहिरबाट पढेर आएका चिकित्सकको गुणस्तर मापन गर्ने एक मात्र आधार लाइसेन्सिङ परीक्षा हो। चिकित्साशास्त्रको पाठ्यक्रममा ७० प्रतिशत सैद्धान्तिक ज्ञान विश्वभर एउटै भए पनि ३० प्रतिशत चाहिँ देशअनुसार फरक-फरक हुन्छ। विदेशमा पढेर आएका नेपाली विद्यार्थीले यहाँको स्वास्थ्य अवस्था, आर्थिक, समाजिक र वातावरणीय पक्षबारे जानकारी नराख्ने हुनाले बढी फेल हुने गरेको काउन्सिल अधिकारीहरूको भनाइ छ। काउन्सिलका पूर्व अध्यक्ष डा. सोमनाथ अर्यालले पछिल्ला दिनमा नेपालका मेडिकल कलेजको तुलनामा विदेशमा पढेर आएका डाक्टर निकै कमजोर देखिएकाले गुणस्तर ध्यान दिनुपर्ने अवस्था आएको बताए। उनले भने, 'विदेशमा भाषाका कारण बिरामीसँग दोहोरो संवाद हुन नपाउने भएकाले विद्यार्थी प्रयोगात्मक सिकाइबाट वञ्चित हुने गरेका छन्।' विदेशको भाषा सिकी त्यहीँका मानिससँग घुलमिल गरेर अध्ययन गरेका विदेशी चिकित्सक भने दक्ष रहेका जानकारहरुको भनाइ छ। पछिल्लो समयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी छात्रवृत्ति वा शुल्क तिरेर नेपालमै पढ्ने गरेका छन्। नेपालमा एमबिबीएस पढ्न नपाएका विद्यार्थी शुल्क तिरेर एमबिबीएस अध्ययनका लागि चीन, बंगलादेश, भारतलगायत मुलुक जाने गरेका छन्। तीन वर्षअघि काउन्सिलले विदेशमा मेडिकल पढ्न जाने विद्यार्थीका लागि योग्यता प्रमाणपत्र दिने नियम बनाएको थियो। नेपालमा अहिले एमबिबिएसको १ हजार ८ सय ६६ तथा बिडिएसको करिब २ सय सिट छ। ३ सय १८ जना नेपाली विद्यार्थीले एमबिबिएसमा छात्रवृत्ति पाउँछन्। २०६७ चैतमा भएको लाइसेन्सिङ परीक्षाको नतिजा देश सहभागी विद्यार्थी उत्तीर्ण अनुत्तीर्ण अर्मेनिया १० ७ ३ बंगलादेश १५ ७ ८ बेलारुस २ १ १ चीन ५९१ २५२ ३३९ भारत १४ १२ २ कजाकिस्तान १ १ ० किग्रिज रिपब्लिक ६ २ ४ मोल्डोभान २ ० २ पाकिस्तान १२ १० २ फिलिपिन्स ८ ३ ५ रसिया २७ १२ १५
स्रोतः नेपाल मेडिकल काउन्सिल

'अस्वस्थ परिवर्तनले मधुमेह'


image

डा. ज्योति भट्टराईमधुमेह तथा हर्मोन रोग विशेषज्ञ
मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनीरोग पनि भनिन्छ । यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् । 'मधुमेहका लागि आजै काम थालौँ' भन्ने नाराका साथ सोमबार नेपाललगायत विश्वभरि मधुमेह दिवस मनाइएको छ । मधुमेह रोगबारे मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. ज्योति भट्टराईको विश्लेषण उनकै शब्दमा :\


मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनीरोग पनि भन्ने गरिन्छ । यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनीरोग वा मधुमेहको नामबाट परिचित हुन पुगेको छ ।

मधुमेह शरीर गल्ने दीर्घरोग हो । एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन असाध्यै गाह्रो छ । यद्यपि यसप्रति सचेत हुनसके सामान्य जीवन बिताउन सकिन्छ । हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ । इन्सुलिनले हामीले खाएका कुराबाट प्राप्त ग्लुकोजलाई कोशमा प्रवेश गराउन चाबीको काम गर्छ, तर ग्लुकोज कोशमा प्रवेश गर्न नपाए शरीरमा समस्या हुन्छ । त्यसबाट देखापर्ने समस्यालाई मधुमेह भनिन्छ ।
चिकित्साशास्त्रमा डाइबिटिजलाई दुई भागमा वर्गीकरण्ा गरिएको छ । शरीरमा इन्सुलिनको उत्पादन नै नहुने 'टाइप वान डाइबिटिज' हो । यस्तो समस्या बालबालिकामा हुने गर्छ । त्यस्तै, उत्पादित इन्सुलिनले काम नगर्ने समस्यालाई 'टाइप टु डाइबिटिज' भनिन्छ । डाइबिटिज भएपछि जिन्दगीभरि इन्सुलिन लगाउनुपर्ने हुन्छ । इन्सुलिनसँगै खाना पनि दिनुपर्ने र खाना नखाइदिए बच्चा बेहोस हुनेलगायतका समस्या हुन्छन् । बिरामीलाई इन्सुलिन नियमित नदिए बिरामीको मृत्यु हुन सक्छ । त्यसैले टाइप वान डाइबिटिज भएका बालबालिकालाई हरेक दिन दुईपटक इन्जेक्सनमार्फत इन्सुलिन दिनुपर्छ । डाइबिटिज भएपछि जीवनभरि औषधि प्रयोग गर्नुपर्छ । र, त्यो पनि मुखबाट खाने होइन, इन्जेक्सनमार्फत लगाउनुपर्छ । लामो समय डाइबिटिज हुँदा आँखा, किड्नी र नसामा असर गर्न सक्छ । खुट्टाको नसामा असर गरेर खुट्टै काट्नुपर्ने अवस्थासमेत आउन सक्ने हुन्छ । त्यसैले डाइबिटिजका बिरामीले पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन परीक्षण्ा गराउँदै गर्नुपर्छ । पिसाबबाट प्रोटिन लिक भए कालान्तरमा किड्नीले काम नै नगर्ने हुन्छ । विश्वमै किड्नी फेल हुने मुख्य कारण्ा डाइबिटिज हो । पश्चिमा मुलुकमा कमाउने, खाने उमेरमै मान्छे अन्धो हुने मुख्य कारण्ा पनि डाइबिटिज हो । डाइबिटिजले रगतको नसामा असर गर्छ, आँखामा पनि असर गर्छ ।

डाइबिटिज भएको मान्छेको रगतमा कोलेस्ट्रोल जम्छ, जसका कारण्ा नसाबाट रगत बग्न सक्दैन, खुट्टामा रगत सञ्चार नभएपछि सामान्य चोटपटक लागे पनि घाउ बढ्दै गएर निको नहुने र खुट्टा नै काट्नुपर्ने अवस्थासमेत आउँछ ।

डाइबिटिजले स्नायुप्रण्ाालीमा समेत असर गर्छ । डाइबिटिजले निम्त्याउने समस्याको मूल्य चर्को हुने हुँदा रोग लाग्नुअघि नै सचेत हुन आवश्यक छ । डाइबिटिज भइसकेको भए चिकित्सकको सल्लाहअनुसार औषधि सेवन नियमित गर्नु, पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन परीक्षण्ा गराउनु र रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रा नियमित जाँच्नुपर्छ । आँखाको नियमित परीक्षण्ा गराउनुपर्छ ।

खानपानमा ध्यान पुर्‍याउन सके, नियमित व्यायाम गर्ने, चुरोट, रक्सी नखाने, धेरै चिल्लो, रेस्टुरेन्टको खाना तथा तारेको खाना नखाए डाइबिटिजबाट धेरै हदसम्म बच्न सकिन्छ । मधुमेह भएकाको शरीरमा पहिल्यै चिनी हुने हुँदा थप गुलियो खाँदा समस्या बढ्छ । त्यसैले चिकित्सकको सल्लाहमा नियन्त्रित मात्रामा मात्र गुलियो खानुपर्छ । केही वर्ष अघिसम्म बूढाबूढी तथा धनीको रोगका रूपमा चिनिएको मधुमेह रोग अहिले बालबालिका तथा युवा-युवतीमा पनि देखापर्न थालेको छ । भर्खर जन्मिएका बच्चादेखि बूढाबूढी सबैलाई यो रोगले समाउन थालेको छ । आधुनिक सभ्यता, औद्योगीकरण्ा, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण्ा आजका मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । मानिसको जीवनशैलीमा आएको यस्तो अस्वस्थकर परिवर्तनले गर्दा अहिले मधुमेह रोगले विश्वका हरेक मानिसमा चिन्ता थपेको छ ।

मोटोपना, शारीरिक निष्त्रिmयता, असन्तुलित खानपान, मानसिक तनावलगायतका कारणले अहिले मानिसमा मधुमेहको संक्रमण धमाधम देखापर्न थालेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार अहिले विश्वभर करिब २५ करोडभन्दा बढी मधुमेहका रोगी छन् । यो संख्या सन् २०२५ सम्ममा बढ्दै गएर ३८ करोड पुग्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा करिब ७० लाख नयाँ मधुमेहका रोगी थपिँदै गइरहेका छन् भने ३० लाख मानिस प्रतिवर्ष मधुमेहसम्बद्ध रोगका कारण्ा मर्ने गरेका छन् । नेपालमा पनि कुल जनसंख्याको झन्डै २५ प्रतिशतमा मधुमेह रोग रहेको तथ्यांक आइरहेको छ ।

मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालका सहरबजारमा यो रोग अत्यधिक मात्रामा रहेको र यसको वृद्धिदर पनि दैनिक रूपमा बढिरहेको छ । त्यसकारण सरकारले अब तत्काल यो रोगको नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ । नसर्ने रोगहरूमा यो रोगका लागि छुट्टै कार्यक्रम बनाएर नियन्त्रणतर्फ जानुपर्छ । विकसित राष्ट्रहरूको खानपिनमा आएको परिवर्तनका कारण पाको मानिसका रूपमा परिचित मधुमेह बिस्तारै युवा वर्गमा सर्दै जानु भनेको ठूलो समस्या आउनु हो । हाम्रोजस्ता विकासोन्मुख देशहरूमा यो रोग महामारीका रूपमा फैलँदै छ । अहिले नै यो रोगबारे सचेत नहुने हो भने भोलिका दिनमा हरेक घरमा यो रोगका बिरामी फेलापर्ने छन् । यो रोग अहिले स-साना बालबालिकामा पनि धेरै मात्रामा देखिन थालेको छ ।

बढी पिसाब लाग्नु, छाला सुक्खा हुनु, पिसाबमा कमिला लाग्नु, खाना धेरै रुच्नु, दुब्लाउँदै जानु, श्वास फेर्न गाह्रो हुनु डाइबिटिजका लक्षण्ा हुन् । बच्चा त कहिलेकाहीँ बेहोसै पनि हुन सक्छन् । डाइबिटिज वंशाण्ाुगत कारण्ाले पनि हुने गर्छ । परिवारमा कसैलाई छ भने उनीहरूको बच्चामा डाइबिटिज हुने वा दाजुदिदीमा समस्या भए अन्य दाजुभाइ तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ । पेटमा बोसो जम्मा भएको मान्छेलाई डाइबिटिज हुने सम्भावना बढी हुन्छ । मुख सुक्ने, भोक लाग्ने, पिसाब बढी लाग्ने, पिसाबमा कमिला आउने, हातगोडा पोल्ने, झमझम गर्ने निदाउने, रगतमा सुगर बढी भए आँखा धमिलो देख्न थाल्छ, छाला सुक्खा हुने टाढाको कुरा नचिन्ने सुगर बढी भएको लक्षण्ा हुन् । त्यस्तै, शरीरमा पानीको मात्रा कम भएर मान्छे लर्बराउन पनि थाल्छ । बेसुरमा कुरा गर्न थाल्छ । तनावले पनि डाइबिटिज बढाउँछ । तर, तनावले डाइबिटिज निम्त्याउने नभई भएको डाइबिटिज बढाउने हो ।


मधुमेहका लक्षण
अत्यधिक भोक लाग्नु, पिसाब लाग्नु, हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा लाग्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु, आँखाको ज्योतिमा कमी आउनु, छाला धेरै सुक्खा हुनु, कहिलेकाहीँ एक्कासि केहीबेरका लागि आँखा नदेख्नु, रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंला बाउँडिनु, पिँडौला धेरै दुख्नु, लामो समय थकाइ अथवा कमजोरी महसुस हुनु, घाउहरू अथवा रोगहरू चाँडै निको नुहुनु, विनाकारण्ा दुब्लाउँदै जानु, यौनक्षमता घट्नु आदि डाइबिटिजका लक्षण्ा हुन् ।

यी खाना नखाऊँ
मधुमेह लागेकाहरूले चिनी, मिठाई, आँप, अंगुर, भुइँकटहर, आइसक्रिम, केक खानुहुँदैन । त्यस्तै कोक, फ्यान्टा, प|mुट जुसजस्ता गुलिया पेयपदार्थ खान हुँदैन । तेलघ्यूमा तारेको पुरी, पुलाउ, समोसा, आलुचप आदि पनि खान हुँदैन ।

थोरै मात्रामा खाँदा हु पदार्थहरू
चामल, गहुँ, मकै, चिउराजस्ता अन्नहरू थोरै मात्रामा खान हुने पदार्थहरू हुन् । त्यस्तै चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घ्यू, आलु, पिँडालु, मधुमेह रोगीका लागि भनी बनाइएका 'डाइट' खाद्यपदार्थहरू पनि थोरै मात्रामा खाए हुन्छ । यसैगरी चना, रहर, केराउ, भटमास, मुगी, मासजस्ता गेडागुडीहरू, दूध र यसबाट बनेका पदार्थहरू, मेवा, मौसम, स्याउजस्ता फलफूलहरू, मासु, माछा, अण्डा आदि साधारण्ा मात्रामा खान हुन्छ ।

धेरै खानुपर्ने पदार्थहरू
हरियो तरकारी र सागसब्जी तथा काँक्रो, गोलभेंडा, गाँजर, मूला आदिको सलाद अन्य खानाको तुलनामा धेरै खानुपर्छ ।

प्रस्तुतिः प्रवीण ढकाल
dhakalprabin@gmail.com

स्वास्थ्यमन्त्रीले फाइल अड्काए

image

सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र राख्ने निर्देशिका तयार

निर्देशिकामा चुरोट, बिँडी, खैनी, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थको बट्टाको विभिन्न भागमा ७५ प्रतिशतले फोक्सो, मुख र घाँटीका क्यान्सर भएका र मृत बच्चाको चित्र राख्नुपर्ने व्यवस्था

प्रवीण ढकाल

नयाँ पत्रिका

काठमाडौं, २ कात्तिक

चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल र प्याकेजिङको ७५ प्रतिशत भागमा यसको सेवनबाट हुने घातक असरको चेतावनीमूलक रंगिन चित्रसहितको सन्देश राख्ने निर्देशिकाको मस्यौदा तयार भएको छ । तर, १८ कात्तिकदेखि लागू हुनुपर्ने निर्देशिकाको फाइल स्वास्थ्यमन्त्रीले अड्काएर राखेका छन् ।

मन्त्री महतोले विभिन्न चुरोट तथा सुर्ती उत्पादकसितको मिलेमतोमा निर्देशिकालाई निष्प्रभावी बनाउन फाइल अड्काएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो । 'निर्देशिकामा चित्र र सन्देश छनोट गरी पठाइएसकिएको छ,' स्रोतले भन्यो, 'तर निर्देशिका लागू हुने दिन नजिकिसक्दा पनि मन्त्रीले फाइललाई क्याबिनेटमा पठाएका छैनन् ।'

निर्देशिकामा भएको व्यवस्थाका आधारमा सुर्ती तथा चुरोट उत्पादक कम्पनीले बट्टा तथा र्‍यापर्समा चेतावनीमूलक चित्रसहितको सन्देश राख्नुपर्ने हुन्छ । मन्त्रीले फाइल अड्काउँदा १८ गतेबाट सो व्यवस्था लागू हुने सम्भावना न्यून बनेको छ । मन्त्रीनिकटका व्यक्तिले भने महतोकोमा निर्देशिकाको फाइल नआएको दाबी गरेका छन् ।

सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने) ऐन ०६८ अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा राख्ने चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका मस्यौदा तयार पारिएको हो । ऐनले चेतावनीका चित्रसहितको सन्देश नभएका चुरोट तथा सुर्तीजन्य वस्तुको बिक्री गर्न नपाइने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बालकृष्ण सुवेदीले बताए ।

'कसैले पनि ऐनको दफा ९ को उपदफा -१) बमोजिमको चेेतावनीमूलक सन्देश र चित्र नभएका सुर्तीजन्य पदार्थ कात्तिक १८ गतेदेखि उत्पादन, बिक्री, वितरण र खरिद गर्न पाउने छैन,' प्रवक्ता सुवेदीले भने, 'ऐनविपरीत गरेको पाइएमा त्यस्ता उत्पादक वा व्यक्तिलाई कारबाही हुनेछ ।' उनका अनुसार १८ कात्तिकपछि चेतावनीमूलक सन्देश र चित्र नभएका चुरोट तथा सुर्तीजन्य पदार्थ बजारमा पाइए जफत गरिनेछ ।

२२ साउनदेखि नै लागू भएको सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाउने व्यवस्थासमेत कार्यान्वयनमा आएको छैन । यसको कार्यान्वयनका लागि निरीक्षकको व्यवस्था गर्न तयार पारिएको नियमावली पनि स्वास्थ्यमन्त्री महतोले अड्काएर राखेको मन्त्रालय स्रोतले जनाएको छ । 'नियमावलीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुखको अध्यक्षतामा निरीक्षण टोली बनाउने व्यवस्था गरेको छ । तर, नियमावली नै मन्त्रीले अगाडि नबढाउँदा ऐन लागू लामो समयसम्म पनि कसैलाई सजाय भएको छैन,' स्रोतले बतायो ।

के छ मस्यौदा निर्देशिकामा ?

ऐनले व्यवस्था गरेअनुसार मस्यौदा निर्देशिकामा चुरोट तथा बिडीका बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य भाग, माथिल्लो मुख्य भागमा क्रमशः फोक्सोको क्यान्सर भएको, मृत बच्चा भएको चित्र ७५ प्रतिशत राख्नुपर्ने उल्लेख छ । खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको ७५ प्रतिशत माथिल्लो मुख्य भागमा मुख र घाँटीको क्यान्सर भएको चित्र राख्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयले तयार पारेको मस्यौदाअनुसार उत्पादकले चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'धूम्रपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर हुन्छ भन्ने लेख्नुपर्नेछ । सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश, सहायक दायाँ भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश लेख्नुपर्नेछ । सहायक बायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश राख्नुपर्ने निर्देशिका मन्त्रालयले तयार गरेको छ ।

निर्देशिकाअनुसार सबै सन्देश देवनागरी पि्रती फन्टमा २० प्वाइन्टको आकारमा र सहायक सन्देशहरू १२ प्वाइन्टको आकारमा हुनुपर्नेछ । 'सन्देश लेखिने अक्षरको रंग सेतो हुनेछ,' निर्देशिकामा भनिएको छ, 'त्यस्तै सन्देश लेखिने पृष्ठभूमिको रंग रातो हुनेछ ।'

निर्देशिकामा बिडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि रातो पृष्ठभूमिमा सेतो अक्षरमा चेतावनीमूलक सन्देश लेख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार आयातकार बिडीको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'तपाईंले गरेको धूम्रपान तथा सुर्तीसेवनले कम तौल भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ' भन्ने सन्देश लेख्नुपर्ने छ । सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' सहायक दायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्ने निर्देशिकामा जनाइएको छ ।

यसैगरी, सोली आकारको बिडीको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'तपाईंले गरेको धूम्रपान तथा सुर्तीसेवनले कम तौल भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ' तल्लोे भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश छाप्नुपर्नेछ । निर्देशिकाले सन्देशको अक्षर अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा १४ प्वाइन्ट र सहायक भागमा १२ प्वाइन्टको आकार हुनुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तीजन्य पदार्थ सेवनलेे ज्यान लिन्छ' र अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य तल्लो भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । गोलाकार खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टाको बिर्कोकोे मुख्य माथिल्लो बाहिरी भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । बट्टाको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तीजन्य पदार्थ सेवनलेे ज्यान लिन्छ' भन्ने सन्देश र बट्टाकोे अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य तल्लो भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । 'सन्देश लेखिने अक्षरको नाम देवनागरी पि्रती फन्ट हुनेछ,' निर्देशिकामा भनिएको छ, 'सन्देश लेखिने अक्षरको आकार अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा १८ प्वाइन्ट, तल्लो भागमा १२ प्वाइन्ट आकारमा सेतो रंगमा रातो पृष्ठभूमिमा हुनेछ ।'

निर्देशिकाले सुर्तीजन्य पदार्थको प्याकेजिङ, पेटी र पार्सलको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'धूम्रपान तथा सुर्तीसेवनले फोक्सोको क्यान्सर हुन्छ' भन्ने सन्देश, सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश छाप्नुपर्ने पनि व्यवस्था गरेको छ । सहायक दायाँ भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छाडौँ' र सहायक बायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्ने व्यवस्थासमेत गरिएको छ । निर्देशिकाले यसमा लेखिने अक्षरको आकार अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा ४० प्वाइन्ट र सहायक भागमा ३० प्वाइन्ट रातो पृष्ठभूमिमा सेतो अक्षरमा हुनुपर्ने व्यवस्था गरेको छ ।

नोटः चुरोट तथा सुर्तीका बट्टामा राखिने चित्र र सन्देशको फोटोहरू छन् ।

क्षयरोगीका लागि आवासीय सुविधासहितको उपचार केन्द्र

पाँचै विकास क्षेत्रमा स्थापना गरिने दुई/दुईवटा केन्द्रमा उपचार गर्ने बिरामीहरूलाई निःशुल्क रूपमा खानेबस्ने सुविधासमेत दिने व्यवस्था सरकारले गर्नेछ
प्रवीण ढकाल काठमाडौं, २२ चैत
सरकारले क्षयरोगका बिरामीको प्रतिरोधी उपचारका लागि देशका १० स्थानमा आवासीय सेवासहित सुरक्षित उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । क्षयरोगको बहुऔषधि सेवन गरीरहेका जीर्णखालका क्षयरोगीहरूलाई राष्ट्रिय क्षयरोग केन्द्रले ग्लोबल फन्डको आर्थिक सहयोगमा आवासीय उपचार केन्द्रमा राखेर विशेष उपचार सुविधा दिन लागिएको हो ।
त्यस्ता केन्द्रमा उपचार गर्ने बिरामीहरूलाई निःशुल्क रूपमा खानेबस्ने सुविधासमेत दिने व्यवस्था सरकारले गर्नेछ । राष्ट्रिय क्षयरोग केन्द्र तथा सार्क क्षयरोग एवं एचआइभी एड्स केन्द्रका निर्देशक डा. काशीकान्त झाले बहुऔषधि सेवन गर्ने तिरस्कृतहरूको सुरक्षा र हितका लागि देशका १० स्थानमा आवासीय उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको बताए ।
'बहुऔषधि सेवन गरिरहेकाहरूलाई छरछिमेक तथा स्वयं घरमा समेत नराम्रो व्यवहार गर्ने तथा तिरस्कार गर्ने गरेको पाइएको छ,' उनले भने, 'त्यस्ता बिरामीहरूका लागि आवासीय व्यवस्थासहित सुरक्षित उपचार गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।'
क्षयरोगको जटिल उपचार गराइरहेका त्यस्ता बिरामीहरूको सुविधाका लागि सरकारले हरेक विकास क्षेत्रमा दुई/दुई वटा आवास गृह स्थापना गर्न लागेको निर्देशक झाले बताए । 'केन्द्रले हरेक क्षेत्रीय कार्यालयलाई दुईवटा आवासीय गृह बनाएर उपचार गर्ने व्यवस्था मिलाउन आवश्यक सहयोग गर्नेछ' उनले नयाँ पत्रिकासित भने 'क्षेत्रले बिरामीको चाप बढी भएको क्षेत्रमा वा औषधिलगायतका उपचार सेवा पुर्‍याउन सहज हुने स्थानमा आवसीय सेवासहितको केन्द्र स्थापना हुनेछ ।' उनका अनुसार बहुऔषधि लिइरहेका क्षयरोगीको संख्या बढी भएको नेपालगन्जमा इन्टरनेसलन नेपाल फेलोसिप नामक संस्थाले आवासीय सेवासहितको उपचार केन्द्र खोलिसकेको छ ।
सन् २०१५ सम्ममा नेपालबाट क्षयरोग उन्मूलन गर्ने विश्व स्वास्थ्य संगठन र सरकारको घोषित नीतिअनुरूप क्षयरोग उपचार पद्धतिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारले यस्तो व्यवस्था गरेको केन्द्रले जनाएको छ । चिकित्सकहरूका अनुसार बहुऔषधि लिनुपर्ने अवस्थाका क्षयरोगी जटिल अवस्थामा हुन्छन् । पहिला सामन्य क्षयरोग लाग्दा समयमा औषधि नलिदा, अन्य गलत औषधि खाँदा, खाइरहेको औषधिलाई बीचमै छाड्दा वा कमजोर गुणस्तरको औषधि खाँदा समस्या जटिल हुने गर्दछ । 'बहुऔषधि लिनुपर्ने बिरामीहरूलाई स्वास्थ्यकर्मी वा चिकित्सकहरूको निगरानिमा समय मिलाएर औषधि दिनुपर्ने हुन्छ' निर्देशक झाले भने 'त्यस्ता बिरामीलाई घरपरिवारमा समेत हेला गर्ने भएकाले आवासीय केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानिमा उपचार गर्न सरकारले नयाँ व्यवस्था गरेको हो ।'
सरकारी तथ्यांकअनुसार देशभरका ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य तथा उप-स्वास्थ्य चौकीमा डट्स क्लिनिक सञ्चालनमा ल्याई निःशुल्क औषधि वितरण भइरहेको छ । मुलुकका ४ हजार २ सय २० स्वास्थ्य संस्थामा १ हजार १ सय २२ डट्स उपचार केन्द्र तथा ३ हजार ९८ उपकेन्द्रमा क्षयरोगको औषधि पुगिरहेको छ । ति सम्पूर्ण केन्द्रहरूमा उपचार गर्न आइरहेका बिरामीहरूमध्ये झन्डै तीन प्रतिशतमा जीर्णखालको क्षयरोग देखिएको छ । साथै १५ हजार ४ सय ६८ जनाको खकारमा क्षयरोगको सर्ने खालको किटाणु देखिएको तथ्यांकले देखाएको छ ।

'विस्तारै जीर्णखालका नयाँ क्षयरोगीको संख्यामा वृद्धि भइरहेको छ,' निर्देशक झाले भने 'यदि उनीहरूलाई समयमा नै समुदायबाट छुट्टै स्थानमा लगेर उपचार गरिएन भने थप समस्या उत्पन्न हुनसक्ने भएकाले आवासीय केन्द्रको आवश्यकता परेको हो ।' उनका अनुसार यदि देशभरमा रहेका सम्पूर्ण त्यस्ता बिरामीलाई ति केन्द्रमा ल्याएर उपचार गर्न सक्ने हो भने सन २०१५ सम्ममा नेपालबाट पूर्णरूपमा क्षयरोग उन्मूलन हुनेछ । उनले देशभरमा लगभग दुई सयको हाराहारीमा यस्ता बिरामी रहेको बताए ।