Monday, June 6, 2011
जाजरकोटका प्रत्येक घरमा जीवनजल र पियुष वितरण गरिने
Saturday, June 4, 2011
डाबर र वैद्यनाथका आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया
प्रवीण ढकाल नयाँ पत्रिका काठमाडौं २० जेठ
भारतीय बहुराष्ट्रिय कम्पनीहरु डाबर इन्डिया र वैद्यनाथ प्रालिद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया फेलापरेको छ । डाबरका तीन र वैद्यनाथका चार किसिमका चूर्णमूलक औषधिमा ब्याक्टेरिया भेटिएको हो ।
औषधि व्यवस्था विभागले बजारमा गरेको निरीक्षणका क्रममा दुवै कम्पनीद्वारा उत्पादित औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने ब्याक्टेरिया फेलापारेको हो । दुवै कम्पनीका ब्याक्टेरिया भेटिएका औषधि बजारबाट फिर्ता ल्याउन ती कम्पनीका नेपालस्थित कार्यालयलाई निर्देशन दिइएको विभागका औषधि निरीक्षक श्याम अधिकारीले बताए ।
विभागको अनुगमनमा डाबरका ए ६००२० नम्बर ब्याचको प्युसामुग चूर्ण एएल ००४७ नम्बरको अभिपत्तिकर चूर्ण र एल ०९७५ नम्बर ब्याचको लावण भास्कर चूर्णमा कीटाणु भेटिएको हो । चि
कित्सकका अनुसार प्युसामुग चूर्ण महिलाको तल्लो पेट दुख्दा अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक र लावण भास्कर पाचन उपचारका लागि प्रयोग गरिन्छ ।
त्यसैगरी वैद्यनाथ कम्पनीको १४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण १ नम्बर ब्याचको चोपचिनियादी चूर्ण ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्ण र १७८ नम्बर ब्याचको सितोपलादी चूर्णमा मानव स्वास्थ्यलाई हानिकारक कीटाणु भेटिएको हो । चिकित्सकका अनुसार वैद्यनाथका अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी अश्वोगान्धी चूर्ण निद्रा तथा तनाव कम गर्न र सितोपलादी चूर्ण खोकीको उपचारमा प्रयोग गरिन्छ ।
विभागले आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने ब्याक्टेरिया भेटिएपछि करिब एक महिनाअघि दुवै कम्पनीका नेपालस्थित कार्यालयमा पत्र पठाएर ब्याक्टेरिया फेलापरेका ब्याच नम्बरका सम्पूर्ण चूर्ण
फिर्ता गर्न निर्देशनसहितको पत्र पठाएको थियो । तर पत्र पठाएको एक महिना बितिसक्दा पनि ती कम्पनीले औषधि फिर्ता मगाए-नमगाएकोबारे विभागलाई कुनै जानकारी दिएका छैनन् ।विभागले पत्र पठाएपछि अनिवार्य रुपमा उत्पादकले सम्बन्धित ब्याचका उत्पादन फिर्ता गरिएको परिमाणबारे जानकारी गराउनुपर्ने प्रावधान छ । डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तिनकुनेस्थित लुना ट्रेनिङ कम्पनी र वैद्यनाथको रौतहटको गौरस्थित राजेश मेडिसिन प्रालिले डिलरको अनुमति लिएका छन् ।
ुती आयुर्वेदिक औषधिले बिरामीको रोग निको हुनेभन्दा पनि थप इन्फेक्सन हुने देखियोु
विभागका औषधि निरीक्षक अधिकारीले भने ुत्यही कारण हामीले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौँ ।ु उनका अनुसार हानिकारक औषधि फिर्ता नगरिए डाबर र वैद्यनाथको नेपालमा दर्ता लाइसेन्स नै खारेज हुनेछ ।ुऔषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न किसिमका ब्याक्टेरिया फेलापरेपछि बजारमा भएका सम्बन्धित ब्याच नम्बरका सम्पूर्ण औषधि उठाएर फिर्ता लैजान पत्र पठाएका हौँु अधिकारीले भने ुकेही समयपछि हामी बजारमा फेरि अनुगमन गछौर्ं यदि फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रकि्रया अघि बढाउँछौँ ।ु दुवै कम्पनीका नेपालस्थित कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुनः बजार अनुगमन गरिने उनको भनाइ छ ।
Tuesday, May 31, 2011
जारको पानीमा लेउ, प्रहरीले वाणिज्य विभागलाई बुझायो विवरण
शान्ति मन्त्रालयका उपसचिव प्रेम सन्जेलको उजुरीमा प्रहरीले छापा मार्दा अरू जारमा पनि लेउ भेटियो
नयाँ पत्रिका
काठमाडौं, १६ जेठ
बजारमा बिक्री भइरहेको 'इभा' नाम गरेको प्रशोधित जारको पानीमा हरियो लेउ फेलापरेको छ । प्रहरीले पसलमा छापा मारेर लेउसहितको जार बरामद गरे पनि कम्पनीका मालिक भने सम्पर्कमा आएका छैनन् ।
भक्तपुर झौखेलमा कारखाना रहेको स्वस्तिक वेभरेज प्रालिले इभा ब्रान्डको पानी उत्पादन गर्दै आएको छ, तर जारमा ब्याच नम्बर र उत्पादन मिति नराखी उसले जार बजारमा पठाइरहेको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव पे्रम सञ्जेलले प्रशोधित शुद्ध पिउने पानीको जारमा लेउ फेलापरेपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । सञ्जेलले काठमाडौंको ३५ नम्बर वडा नरेफाँटमा रहेको अर्चना श्रेष्ठको पसलबाट किनेर लगेको पानीमा लेउ फेलापरेपछि जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
'जारको पानी त शुद्ध होला नि भनेर किनेर लगेको त भित्र सानो लेउ पो रहेछ,' उनले भने, 'पानीजस्तो संवेदनशील पदार्थमा पनि लापरबाही गरेको पाइएपछि प्रहरीमा उजुरी दिएको हुँ ।' प्रहरी तथा उपभोक्ताले पसलमा छापा मार्दा पसलमा रहेका अन्य जारमा पनि लेउ फेलापरेको थियो ।
प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले पानीमा लेउ भेटिएपछि वाणिज्य विभागमा जानकारी गराएको बताए । 'पानीको जारमा लेउ फेलापरेपछि वाणिज्य विभागमा हामीले जारको पानी र कम्पनीको विवरण बुझाएका छौँ,' उनले भने, 'यस विषयमा वाणिज्य विभागले छानबिन गरेपछि उपभोक्ता कानुनका आधारमा कारबाही हुनेछ ।'
प्रहरीले जारको पानीमा लेउ बिक्री गर्ने पसले श्रेष्ठ तथा पानी उत्पादक कम्पनीका कर्मचारी चन्द्र चुँडालसँग सोधपुछ गरेको थियो । पसले श्रेष्ठले कम्पनीबाट नै पानी त्यस्तो आएकोले यसमा आफ्नो गल्ती नरहेको जानकारी दिएकी छिन् भने कम्पनीका कर्मचारी चुँडालले आफू यस विषयमा बोल्ने आधिकारिक व्यक्ति नभएकाले यस विषयमा कम्पनीका प्रमुखसँग कुरा गर्नुपर्ने बताएको प्रहरीले जनाएको छ । 'चुँडालले आफू कम्पनीको कर्मचारी भएको भन्दै कुरा गर्न नमानेपछि कम्पनीका जिम्मेवार व्यक्तिलाई बोलाएका थियौँ तर कम्पनीबाट कोही पनि सम्पर्कमा आएको छैन,' उपरीक्षक सिंहले नयाँ पत्रिकासित भने ।
जारको पानीमा लेउ फेलापरेको पसलमा प्रहरीसहित निरीक्षणका लागि गएका उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका सचिव जगन्नाथ मिश्रले आमउपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेमाथि कारबाही गर्नुपर्ने बताए । उनले पानीमा प्रस्ट रूपमा देखिने गरी लेउ बन्दा नदेखिने कीटाणु कति होलान् भन्ने प्रश्न गरे ।
वाणिज्य विभागले सो पानीको विषयमा विस्तृत अध्ययन गरेपछि मात्र जानकारी गराउने जनाएको छ । यसअघि पनि बजारमा बिक्रीका लागि राखिएका प्रशोधित पानीमा लेउ तथा अखाद्य पदार्थ फेलापर्ने गरेका थिए । वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार निरीक्षणका क्रममा हरेक वर्ष विभिन्न उत्पादकहरूले बिक्रीका लागि बजारमा पठाएका पानीमा समस्या फेलापार्ने गरेको छ । गत वर्षमात्र विभागले बजारमा बिक्रीका लागि राखिएका दैनिक उपभोग्य वस्तुहरूको परीक्षणका क्रममा अक्वा नाम जोडिएका सात थरी प्रशोधित पानी गुणस्तरहीन पाएको थियो । निरीक्षणका क्रममा पाइएका सबै पानीमा सरकारले तोकिएको मापदण्ड नपाएपछि विभागले ती पानी उत्पादन गर्ने संस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । तर, अखाद्य पानीको बिक्री रोकिएको छैन ।
Thursday, May 26, 2011
परिवार नियोजन संघको अनियमितता छानबिन गर: आइपिपिएफ
नयाँ पत्रिका
काठमाडौं, १० जेठ
संघले हालसम्म पनि आइपिपिएफको म्यान्डेट कार्यान्वयन नगर्दा आइपिपिएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय (सारो)ले पत्र पठाएर अनुदान रकम रोकिएको जानकारी गराएको छ
नेपाल परिवार नियोजन संघमा भएको अनियमितता सरकारीस्तरबाटै छानबिन नगरिए आफूले दिँदै आएको वाषिर्क एक अर्ब रुपैयाँ सहयोग नदिने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आइपिपिएफ)ले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री झलनाथ खनाल र स्वास्थ्यमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर आइपिपिएफका उच्च अधिकारीको टोलीले संघको अन्तर्राष्ट्रिय सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएको हो । आचारसंहिताको पालना नगरेको भन्दै आपिपिएफले अनुदान रोक्ने चेतावनी दिएपछि संघ अप्ठयारोमा परेको छ ।
प्रधानमन्त्री खनालसँगको भेटमा आइपिपिएफका उच्च अधिकारीहरूले संघमा देखिएको अनियमितता छानबिन र अहिलेको कार्यकारिणी समिति विघटनको माग राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी दिए । 'संघको अहिलेको कार्यकारिणी समिति विघटन गरिनुुपर्ने आइपिपिएफका उच्च अधिकारीहरूको माग छ,' तुलाधरले भने, 'अनियमितताबारे सरकारले अध्ययन गरोस् भन्ने उनीहरूले चाहेका हुन् ।'
संघमा देखिएको अनियमिततालाई सरकारले गम्भीर रूपमा लिएको भन्दै प्रधानमन्त्री खनालले यथाशीघ्र उच्चस्तरीय कार्यदल गठन हुने आश्वासन दिएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदीका अनुसार
प्रधानमन्त्रीकै निर्देशनमा स्वास्थ्य सचिव डा. सुधा शर्माको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको छ । कार्यदलमा प्रधानमन्त्री कार्यालय, गृह र कानुन मन्त्रालयका अधिकारीहरू प्रतिनिधि छन् ।
'उच्चस्तरीय कार्यदल गठन भइसकेको छ, यसले आगामी शुक्रबारसम्म मुख्यसचिव माधवप्रसाद घिमिरेमार्फत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनेछ,' सुवेदीले भने । कार्यदलले अध्ययन गरिरहेको भन्दै त्यसबारे धेरै बोल्न नमिल्ने उनको भनाइ थियो ।
आइपिपिएफले दिएको सुझाव तथा आचारसंहितको कार्यान्वयन नगरिँदा संघ बन्द हुने अवस्थामा पुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारी तथा स्वयंसेवकसमेत आन्दोलित छन् । गत डिसेम्बरमा गरिएको प्रमाणीकरणमा संघले आइपिपिएफको म्यान्डेटविपरीत काम गरेको पाइएपछि तत्काल नसच्चाए सहयोग रोक्ने उसको चेतावनी थियो । तर संघले हालसम्म पनि आइपिपिएफको म्यान्डेट कार्यान्वयन नगर्दा आइपिपिएफको दक्षण्िा एसियाली क्षेत्रीय कार्यालय -सारो)ले पत्र पठाएर अनुदान रकम रोकिएको जानकारी गराएको संघको निवर्तमान कार्यसमिति सदस्य अमुसिंह सिँजापतीले बताइन् ।
केन्द्रीय कार्यसमितिमा रहेका केही व्यक्तिका कारण संघको अस्तित्व समाप्त हुन लागेको भन्दै सिँजापतीले केही समयअघि सदस्यबाट राजीनामा दिएकी थिइन् । उनका अनुसार अनुदान रोकिएपछि संघको अस्तित्वमात्र नभएर देशभरिका शाखामा कार्यरत पाँच सयभन्दा बढी कर्मचारी अप्ठयारोमा परेका छन् भने प्रजनन् स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।
'केन्द्रीय कार्यसमितिकै दोषका कारण आइपिपिएफले संघलाई उपलब्ध गराउँदै आएको अनुदान कटौती गरेको छ,' सिँजापतीले भनिन्, 'आइपिपिएफले सोही कारण संघका केन्द्रीय अध्यक्ष सुवास प्रधानलाई सार्क क्षेत्रीय कोषाध्य
क्षबाट निलम्बन गरेको छ ।' उनका अनुसार तत्कालै केन्द्रीय र जिल्ला समिति विघटनसहित विधान संशोधन गरी नयाँ समिति गठन नगरे आइपिपिएफले अन्तर्राष्ट्रिय सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएको छ ।
आइपिपिएफको पछिल्लो आचारसंहिताअनुसार संघमा स्वयंसेवकका रूपमा रहने समितिका पदाधिकारीले बढीमा १५ वर्ष काम गर्न पाउने, संघको प्रमुख पाँच पदमा बढीमा १२ वर्ष र एउटै पदमा बढीमा ६ वर्षमात्र काम गर्न पाउछन् । तर, नेपालमा संघले केन्द्रबाहेक देशभरिका जिल्ला शाखामा यो प्रावधान लागू नभएको आइपिपिएफको प्रमाणीकरणमा पत्ता लागेको थियो । 'आइपिएफको म्यान्डेट पालना गर्नका लागि जिल्ला शाखाहरूको विधान नै परिवर्तन गर्नुपर्ने हुन्छ,' सिँजापतीले भनिन्, 'तर, केन्द्रीय समितिमा रहेका केही व्यक्ति तथा स्वयंसेवकको पदलोलुपताका कारण विधान नै संसोधन नगरी जिल्लामा चुनाव गर्न लागेपछि सारोले अनुदान रोक्का गरेको हो ।'
संकटमा परेपछि संघ जोगाउन अपिल गर्दै केही दिनअघि कर्मचारी एवं स्वयंसेवकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएका थिए । संघ बन्द हुने अवस्था आएकाले सरकारलाई गुहारेको बताउँदै सिँजापतीले भनिन्, 'केन्द्रीय पदाधिकारीको पदलोलुपता र गलत कामको मारमा संघका सबै कर्मचारी तथा स्वयंसेवक परेका छन् ।'
तत्काल संघले सरकारीस्तरबाट विश्वसनीय ढंगमा अर्को समिति गठन गर्नुपर्ने शर्त आइपिपिएफले अघि सारेको छ । संघको सम्पूर्ण अधिकार हुने सो समितिमा स्वास्थ्य मन्त्रालयका एक अधिकारी आगामी चुनावमा भाग लिन इच्छुक नभएका एक स्वयंसेवक र तीनजना विशेषज्ञ रहनुपर्ने व्यवस्था गरेको छ । समितिले संघको विधान संशोधन गरी आगामी कार्यकालका लागि केन्द्रीय र जिल्ला पदाधिकारी नियुक्त गरेपछि मात्र सदस्यता निलम्बन प्रक्रिया रोक्ने र अनुदान फुकुवा गर्ने आइपिपिएफले जनाएको छ ।
'आइपिपिएफले संघमा आवद्ध रहेका स्वयंसेवकले बढीमा १५ वर्षसम्म मात्र काम गर्न पाउने कुरा विधानमा उल्लेख गर्नुपर्ने स्पष्ट पारेको छ,' संघअन्तर्गत रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव रोहितबहादुर रेग्मीले भने, 'तर, केही स्वयंसेवकले आजीवन संघमा आवद्ध रहन तथा पदलोलुपताका कारण विधान नै संशोधन नगरी चुनाव गर्न लागेकाले आइपिपिएफले अनुदान रोकिदिएको हो ।' उनका अनुसार विधान संशोधनका लागि संघले गत १४ फागुनमा विशेष अधिवेशन आह्वान गरेको थियो । तर, धनुषा जिल्लाका सभापति नथुनीलाल दास र कास्कीका सभापति दिवसमान प्रधानांगले पाटन जिल्ला अदालतमा रिट हालेपछि विशेष अधिवेशन हुन सकेको छैन ।
आइपिपिएफले प्रत्येक पाँच वर्षमा संघको प्रमाणीकरण गर्दै आएको छ । आइपिपिएफको एक सदस्य संस्था भएकाले उसका सुझाव कार्यान्वयन गर्नु संघका लागि बाध्यात्मक हुन्छ । उसका सुझाव कार्ययोजनाअनुसार कार्यान्वयन नभएमा आइपिपिएफले दिँदै आएको अनुदान रोक्नसक्ने अधिकार पाएको हुन्छ । साथै, संघ र दातृसंस्थाबीच वाषिर्क सहयोग सम्झौतासमेत कोष कार्यान्वयन गर्न सर्तनामा राखिएका हुन्छन् । ती सर्तनामा कार्यान्वयन नभएमा आइपिपिएफले अनुदान रोक्नसक्ने तथा संघलाई नै निलम्बन गर्नसक्ने, अनुदान घटाउन सक्ने र अनुदान नै रद्द गर्न सक्ने प्रावधान छ ।
देशभरि संघका ३८ जिल्ला शाखा छन् भने गैरसरकारी संस्थासँगको साझेदारीमा थप चार जिल्लामा काम भइरहेको छ । यसअन्तर्गत एक हजार दुई सय क्लिनिक तथा गैरक्लिनिक सेवा केन्द्र, पाँच सय पूर्णकालीन कर्मचारी, एक हजार सामुदायिक परामर्शदाता, चार हजार साथी शिक्षक र ११ हजार स्वयंसेवक परिचालित छन् । नेपालामा सन् १९५९ मा स्थापना भएको संघले सन् १९६० मा आइपिपिएफको सहसदस्यता र सन् १९६९ मा पूर्णसदस्यता प्राप्त गरेको थियो ।
सुर्ती नियन्त्रण ऐन कार्यान्वयनको विकल्प छैन

शान्तलाल मुल्मी
कार्यकारी निर्देशक, प्राथमिक
स्वास्थ्य सेवा स्रोत केन्द्र
दशक लामो प्रयासपछि सुर्ती नियन्त्रण ऐन ल्याइए पनि केही व्यापारी विशेषगरी सुर्ती उत्पादक कम्पनीले यसको विरोध गरेका छन् । यो विरोध कुनै पनि हालतमा जायज छैन । आमनागरिकलाई स्वस्थ बनाउने यो ऐन कार्यान्वयन गर्न सरकारले कुनै कन्जुस्याइँ गर्नु हुन्न ।
नेपाल सरकारले हालै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ल्याएको छ । झन्डै दशकभन्दा लामो प्रयासपछि राजनीतिक दलको सर्वसम्मतबाट संसद् पास भएर आएको सो ऐनले सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने तथा बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने जस्ता व्यवस्था गरेको छ । नेपालमा सर्वप्रथम विद्युतीय सञ्चारमाध्यममा धुम्रपान तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था लागू गर्नका लागि अग्रणी भूमिका खेलेका तथा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सन् १९९६ देखि आवाज उठाउँदै आएका प्रथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीसँग यसै साता विश्वभर मनाइन लागिएको 'नो टुबाको डे' अर्थात् सुर्तीजन्य पदार्थविरुद्धको दिवसको सन्दर्भमा नेपालको ऐनको विषयमा गरिएको कुराकानीः
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको सुर्तीजन्य पदार्थको प्रयोगबाट अकालमा मृत्यु भैरहेको छ । यदि यस्तै रहेमा सन् २०२० सम्म ८४ लाख र सन् २०३० सम्म यो बढेर १ करोड पुग्ने संगठनको अनुमान छ । नेपालमा पछिल्ला वर्षमा हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गैरहेको छ । विशेषगरी युवाको सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनमा वृद्धि हुँदै गैरहेको अवस्था छ । तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको झन्डै ३७ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । पछिल्लो तथ्यांकअनुसार ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले चुरोटमात्र पिउने गरेको देखाएको छ । यसमा पनि ग्रामीण क्षेत्रका ३२.९ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको पाइन्छ ।
०००
हामीले सुर्ती नियन्त्रण ऐन ल्याउन धेरै लामो समय कुर्नुपर्यो । झन्डै एक दशक लामो प्रयासपछि सरकारले ऐन ल्याएको छ । ढिलै भएपनि सरकारले निकै नै राम्रोसँग ऐन पास गरेको छ । ऐन पास हुन समय लाग्नुमा देशको राजनीतिक अवस्था तथा केही सुर्ती उत्पादक कम्पनीको चलखेलका कारण भएको हो । विश्वमा सुर्ती सेवनका कारण मानव मृत्युको दरमा भैरहेको वृद्धिलाई रोक्न विश्व स्वस्थ्य संगठनको पहलमा सन् २००३ मा सुर्तीविरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धि -एफसिटिसी) पारित भयो । त्यही वर्ष डिसेम्बरमा नेपालले पानि सो अभिसन्धिमा हस्ताक्षर गरेको थियो । सोही अभिसन्धिअनुरूप सरकारले पहिले नै ऐन ल्याउनुपर्ने थियो तर लामो समयपछि सरकारका तर्फबाट सकारात्मक निर्णय भएकाले यसको कार्यान्वयनतर्फ सबै लाग्नुपर्छ ।
पछिल्ला समयमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गएकाले उनीहरूको संख्यामा कमी ल्याउन, नेपाली जनतालाई सुर्ती सेवनजस्तो कुलतबाट बचाई स्वस्थ्य जीवन बाँच्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूति गर्न, क्यान्सर, हृदयाघात, नपुंसकता, दम, छालाको रोगजस्ता असंख्य विभिन्न रोगबाट बचाउन, गरिबलाई कुलतबाट हुने अझ बढी गरिबीबाट बचाउन, हानिकारक सुर्तीखेतीको सट्टा अन्नबाली तथा तरकारी बालीको लागि प्रोत्साहन गर्न र भावि सन्ततिलाई स्वच्छ र स्वस्थ वातावरण प्रदान गर्न सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न ऐनको आवश्यकता परेको हो । सरकारले सोहीअनुरूप ऐन ल्याएको छ ।
०००
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा राष्ट्रपतिबाट लालमोहर लागेलगत्तै यो ऐनलाई ढिलो लागू गर्न र यसको प्रभावकारीतालाई चुनौती दिन व्यापारी वर्ग विशेषगरी सुर्ती उत्पादक कम्पनीहरू बढी सशक्त रूपमा अगाडि बढिरहेका छन् । संसारभर नै सुर्ती नियन्त्रण ऐन आउँदा विरोध भएका छन् त्यसकारण यसमा हामी अड्किनु हँुदैन । नेपाललाई स्वस्थ राष्ट्र बनाउन तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि यो ऐन निकै नै राम्रो छ । केही उत्पादक कानुन लागू हुन लागेपछि चलमलाएका हुन् । उनीहरूको बेतुकको हौवालाई चिर्न सरकारी तथा अन्य संघसंस्थाबाट यसको पूर्ण कार्यान्वयनतर्फ लाग्न आवश्यक छ ।
०००
सबैको सहयोग भएमा यो ऐन पूर्ण रूपमा कार्यान्वयन हुन्छ । राजनीतिक दलको सर्वसम्मत मत तथा विभिन्न गैरसकारी संस्थाको सहयोगमा
आएको यो ऐन कार्यान्वयनमा समस्या छैन । यसको कार्यान्वयनका लागि सरकारसहित सञ्चार जगत्, क्षयरोग निवारण केन्द्र, हृदयरोग प्रतिष्ठान, प्रोपब्लिक, सिविन, नेपाल अर्बुद रोग निवारण संस्थालगायतका थुपै्र संघसस्था लागिपरेका छन् । ती सम्पूर्ण संस्थाको सञ्जाल देशव्यापी भएकाले ऐनको कार्यान्वयनमा समस्या आउँदैन । यसका साथै सन् १९९६ देखि सुर्ती नियन्त्रणका लागि कार्य गर्दै आएको हाम्रो संस्थाको देशभर ५२ जिल्लामा 'स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल' क्रियाशील छ । त्यसले ऐनलाई कार्यान्वयनमा ल्याउन कार्य गर्नेछ । यसअघि कानुन नभएर समस्या परेको थियो तर अब समस्या हुनेछैन ।
ऐन लागू भएपछि उद्योग बन्द हुन्छ र बेरोजगारी बढ्छ भन्दै केही उद्योग सञ्चालकले ऐनको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ऐनलाई ढिला लागू गर्न तथा जनतामा भ्रम सृजना गराउन त्यस्तो हल्ला गरेका हुन् । ऐन लागू भएपछि उद्योग बन्द हुन्छ र बेरोजगारी बढ्छ भन्नु बिल्कुल गलत कुरा हो । यो कानुनको पहिलो प्रयास सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने हो, बन्द गर्ने होइन । नेपालले बनाएको कानुनले नेपालका सुर्ती उद्योग नै बन्द गर्ने होइन, केही हदसम्म कडाइमात्र गरेको हो । यसले सुर्ती कम्पनीलाई निरुत्साहित गर्न खोजेको पक्कै हो तर उद्योग नै बन्द हुन्छ भन्ने होइन । केही उत्पादकले सुर्ती उत्पादक कृषकले सुर्ती उत्पादन गर्न नपाउने हुँदा कृषक भोकभोकै मर्ने कुरा गरेका छन् । त्यो एकदमै गलत कुरा हो । नेपाल सरकारले सुर्ती नियन्त्रणसम्बन्धी अभिसन्धिलाई अनुमोदन
गरिसकेकाले सरकारले त्यसैअनुसार सुर्ती खेती गर्ने किसानका लागि वैकल्पिक खेती -अन्नबाली/तरकारी बाली) का लागि आवश्यक सहुलियत प्रदान गर्नुपर्ने प्रावधान रहेको छ । सुर्ती उद्योगको सट्टा वैकल्पिक स्थानीय सिप साधनको उद्योग सञ्चालन गर्नुपर्ने दायित्व सरकारको रहने हुँदा बेरोजगार बढ्छ भन्ने तर्क युक्तिसंगत छैन ।
०००
सुर्ती कम्पनीले सरकारलाई करोडौँ राजस्व दिइरहेका छन् । यो ऐन लागू भएपछि देशको राजस्व घट्छ र देशको वाषिर्क बजेटमा असर पर्छ भन्ने भ्रम सबैमा रहेको पाइन्छ । तर, वास्तमा यो ऐन लागू भएपछि राजस्व घट्ने होइन झन् बढ्छ । अहिलेसम्मको विश्वको तथ्यांकलाई अध्ययन गर्दा सुर्ती नियन्त्रण कानुनले प्रस्ताव गरेको 'प्रगतिशील कर' बाट सरदर सरकारी राजस्वमा ७ प्रतिशतले वृद्धि भएको छ । यो कानुन लागू गर्दा कुनै पनि देशको राजस्व घटेको छैन । नेपालले पनि सोहीअनुरूप कर उठाउने भएकाले राजस्व घट्ने सम्भावना छैन ।
०००
नेपाली उत्पादकले यो ऐन विदेशी सुर्ती कम्पनीलाई प्रोत्साहन दिने चाल भन्दै नचाहिँदो ह
ल्ला गरिरहेका छन् । यो ऐनले त झन् नेपली उत्पादकलाई फाइदा पुर्याउनेछ । नेपालमा केही सशक्त व्यापारी/उद्योगपतिले यो कानुन विदेशीको इसारामा लागू गर्न लागेको र यसले विदेशी सुर्ती कम्पनीलाई लाभ मिल्छ भन्ने भ्रम फैलाइरहेका छन् । बास्तवमा त्यस्तो होइन । यो ऐन स्वदेशी र विदेशी सबै कम्पनीलाई लागू हुनेछ । यति मात्र होइन सुर्ती सेवनबाट हुने हानीसम्बन्धी चित्रात्मक सन्देश नेपाली भाषामा लेख्नुपर्ने हुँदा वास्तवमा विदेशी सुर्तीजन्य पदार्थको नेपालमा बिक्रीवितरणमा ह्रास आउने कुरा स्पष्ट छ । चित्रात्मक सन्देश नेपालीमा प्रस्ट रूपमा लेख्नुपर्ने भएपछि कुनैपनि विदेशी उत्पादकले नेपाललाई मात्र भनेर यस्ता वस्तु उत्पादन नगर्ने तथा विदेशी उत्पादक नेपालमा हाम्रो ऐनविपरीत पाइए गैरकानुनी हुने भएकाले यो नियमले विदेशी उत्पादकलाई भन्दा नेपाली उत्पादकलाई फाइदा हुने प्रस्ट देखिन्छ ।
०००
सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत भाग ओगट्ने गरी चित्र र सन्देश राख्ने व्यवस्था अव्यावहारिक छ भन्ने तर्क पनि सुनिएको छ । तर, यसलाई अव्यावहारिक भन्न मिल्दैन । युरुग्वेले ८० प्रतिशत, होन्डुरसले ८० प्रतिशत, टर्कीले ६५ प्रतिशत, फिलिपिन्स, पाराग्वेले ६० प्रतिशत, मरिससले अगाडि ६० प्रतिशत र पछाडि ७० प्रतिशत, त्यस्तै अस्ट्रेलियाले पछाडि सय प्रतिशत, न्युजिल्यान्डले ९० प्रतिशत, कुक आइलैन्डले ९० प्रतिशत र त्यस्तै अरू धेरै राष्ट्रले सुर्ती सेवनबाट हानी हुने कुराको जानकारी शब्द र चित्रद्वारा दिँदै आएका छन् । अस्ट्रेलियामा त चुरोटको बट्टालाई 'सोकेस' मा सर्वसाधारणलाई देखाएर राख्नै पाइन्न भित्र लुकाएर मात्र राख्नुपर्छ । यस्तै परिस्थितिमा नेपालले गरेको ७५ प्रतिशत चित्रात्मक सन्देशको व्यवस्था अरू देशको तुलनामा निकै नै व्यावहारिक र तर्कसंगत छ र यसले नेपालको प्रतिष्ठा वृद्धि गर्नेछ ।
०००
सुर्ती कानुनकै कारण भुटानले सुर्तीमुक्त राष्ट्र भनेर घोषणा गरेको छ । हाम्रोमा भर्खर मात्र ऐन पास भएर आएको छ, त्यसकारण अहिले नै नेपाललाई सुर्तीमुक्त राष्ट्र बनाइहाल्न सकिन्छ भन्न सकिन्न । ऐन पास भएर सुर्तीजन्य पदार्थ नियन्त्रणतर्फ बामे सरिरहेको अवस्थामा तत्कालै सुर्तीमुक्त राष्ट्र हुन्छ भन्न गाह्रो छ । सर्वप्रथम ऐनलाई नै लागू गर्नतर्फ लाग्नुपर्छ ।
प्रस्तुती:प्रवीण ढकाल
dhakalprabin@gmail.com
Saturday, May 21, 2011
परिवार नियोजन संघ 'बन्द हुने अवस्थामा’
प्रवीण ढकालकाठमाडौं, ६ जेठ :
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ -आइपिपिएफ)ले नेपाल परिवार नियोजन संघलाई प्रदान गर्दै आएको अनुदान रकम रोक्का गरेपछि संघको भविष्य संकटमा परेको छ । संघ बन्द हुने अवस्थामा आएको भन्दै कर्मचारी तथा स्वयंसेवकले संघको अस्तित्व जोगाउन आन्दोलन गर्दै आएका छन् ।
संघको केन्द्रीय कार्यसमितिको लापरबाहीका कारण आइपिपिएफले दिएको सुझाव तथा आचारसंहिताको कार्यान्वयन नभएकाले सहयोग रोकिएको कर्मचारीको भनाइ छ । नेपालमा बर्सेनि एक अर्बभन्दा बढी अनुदान दिँदै आएको आइपिपिएफले गत डिसेम्बरमा गरेको प्रमाण्ाीकरण्ाका क्रममा संघले आइपिपिएफको म्यान्डेटविपरीत कार्य गरेको पाएपछि तत्काल नसच्चाए सहयोग बन्द गर्ने चेतावनी दिएको थियो । तर संघले हालसम्म पनि आइपिपिएफको म्यान्डेट कार्यान्वयन नगरेकाले आइपिपिएफको दक्षण्िा एसियाली क्षेत्रीय कार्यालय -सारो)ले पत्र पठाएर अनुदान रकम रोकिएको जानकारी गराएको संघका निवर्तमान कार्यसमिति सदस्य अमुसिंह सिँजापतीले बताइन् ।
केन्द्रीय कार्यसमितिमा रहेका केही व्यक्तिका कारण संघको अस्तित्व समाप्त हुन लागेको भन्दै उनले केही समयअगाडि मात्र सदस्यबाट राजीनामा दिएकी थिइन् । उनका अनुसार अनुदान रोकिएपछि संघको अस्तित्व मात्र होइन देशभरका शाखामा कार्यरत ५ सयभन्दा बढी कर्मचारीको जागिर धरापमा परेको छ भने प्रजनन् स्वास्थ्य सेवा पाइरहेका लाखौँ नेपालीले पनि सेवा नपाउने सम्भावना बढेको छ ।
आइपिपिएफले संघका केन्द्रीय अध्यक्ष सुवास प्रधानलाई सार्क क्षेत्रीय कोषाध्यक्षबाट समेत निलम्बन गरेको छ । सिँजापतीका अनुसार तत्कालै केन्द्रीय र जिल्ला समिति विघटनसहित विधान संसोधन गरी नयाँ समिति गठन नगरे आइपिपिएफले अन्तर्राष्ट्रिय सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएको छ ।
आइपिपिएफको पछिल्लो आचारसंहिताअनुसार संघमा स्वयंसेवकका रूपमा रहने समितिका पदाधिकारीले बढीमा १५ वर्ष काम गर्न पाउने, संघको प्रमुख पाँच पदमा बढीमा १२ वर्ष र एउटै पदमा बढीमा ६ वर्ष मात्र काम गर्न पाउने प्रावधान छ । नेपालमा भने संघले केन्द्रबाहेक देशभरका
जिल्ला शाखाहरूमा यो म्यान्डेट पालना नगरेको आइपिपिएफले गरेको प्रमाण्ाीकरण्ामा पत्ता लागेपछि अनुदान रोक्का गरेको हो । 'आइपिएफको म्यान्डेट पालना गर्नका लागि जिल्ला शाखाहरूको विधान नै परिवर्तन गर्नुपर्ने हुन्छ' सिँजापतीले भनिन्, 'तर केन्द्रीय समितिमा रहेका केही व्यक्ति तथा स्वयंसेवकहरूको पद लोलुपताका कारण विधानै संसोधन नगरी जिल्लामा चुनाव गर्न लागेपछि अनुदान रोक्का गरेको हो ।'
संघको भविष्यमा संकटमा परेपछि संघ जोगाउन अपिल गर्दै बिहीबार कर्मचारी एवं स्वयंसेवकहरूले उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्ण्ाबहादुर महरालाई ज्ञापन बुझाएका छन् । आइपिपिएफले संघको तत्कालै सरकारीस्तरबाट विश्वसनीय ढंगमा अर्को समिति गठन गर्नुपर्ने शर्त अघि सारेको छ । समितिमा स्वास्थ्य मन्त्रालयका एक अधिकारी, आगामी चुनावमा भाग लिन इच्छुक नभएका एक स्वयंसेवक र तीनजना विशेषज्ञ रहनुपर्ने व्यवस्था छ । सो समितिले संघको विधान संशोधन गरी आगामी कार्यकालका लागि केन्द्रीय र जिल्ला पदाधिकारी नियुक्त गरेपछि मात्र सदस्यता निलम्बन प्रक्रिया रोक्ने र अनुदान फुकुवा गर्ने आइपिपिएफले बताएको छ ।
परिवार नियोजन संघअन्तर्गत रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव रोहितबहादुर रेग्मीका अनुसार विधान संसोधनका लागि संघले गत १४ फागुनमा विशेष अधिवेशन आह्वान गरेको थियो । तर, धनुषा जिल्लाका सभापति नथुनीलाल दास र कास्कीका सभापति दिवसमान प्रधानांगले पाटन जिल्ला अदालतमा विशेष अधिवेशनविरुद्ध रिट हालेपछि विशेष अधिवेशन हुन सकेको छैन ।
आइपिपिएफले हरेक ५ वर्षमा संघको प्रमाण्ाीकरण्ा गर्दै आएको छ । आइपिपिएफको एक सदस्य संस्था भएको नाताले उसका सुझावहरू कार्यान्वयन गर्नु संघका लागि बाध्यात्मक हुन्छ । उसका सुझावहरू कार्ययोजनाअनुसार कार्यान्वयन नभएको खण्डमा आइपिपिएफले दिँदै आएको अनुदान रोक्नसक्ने अधिकार पाएको हुन्छ । साथै संघ र दातृसंस्थाबीच प्रत्येक वर्ष हुने फन्डिङ एगि्रमेन्टमा समेत फन्ड कार्यान्वयन गर्न शर्तनामाहरू राखिएका हुन्छन् । ती शर्तनामाहरू कार्यान्यन नभएको खण्डमा आइपिपिएफले अनुदान रोक्नसक्ने तथा संघलाई नै निलम्बन गर्नसक्ने, अनुदान घटाउन सक्ने तथा अनुदाननै रद्द गर्नसक्ने प्रावधान छ ।
Saturday, May 14, 2011
सरुवा रोग अस्पताल आइसियुविहीन
काठमाडौं, ३० वैशाख : सरुवा रोगसम्बन्धी देशकै एकमात्र रेफरल अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सघन उपचार कक्ष -आइसियु) छैन । आइसियु नभएकाले त्यस्ता बिरामीलाई राजधानीका अन्य अस्पतालहरूमा पठाउने गरिएको छ ।
अस्पतालका चिकित्सकका अनुसार सरुवा रोग उपचारका लागि आइसियु अत्यन्त आवश्यक हुन्छ । अस्पतालमा सघन उपचार सुविधा नहुँदा सरुवा रोगको पूर्ण उपचार हुन सकिरहेको छैन भने वेलावेलामा उपचारमा समस्या आउने गरेको छ ।
'नेपालमा जुनसुकै मौसममा पनि स्वाइनफ्ल्यु, झाडापखाला, हैजा, डेंगु, टाइफाइड जस्ता सरुवा रोगको महामारी फैलिन सक्छ' अस्पतालका निर्देशक डा. मिथिला शर्माले भने 'त्यस्तो समयमा सिकिस्त बिरामीलाई आइसियुमा नराखी हुन्न । तर अस्पतालमा आइसियु नभएकाले हामी बिरामीलाई अन्य अस्पतालमा पठाउन बाध्य छौँ ।' उनका अनुसार सिकिस्त बिरामीलाई तत्काल आइसियुमा राखेर उपचार नगर्दा बिरामीको मृत्युसमेत हुनसक्छ ।
अस्पतालमा झन्डै सात वर्ष अगाडिसम्म आइसियुको व्यवस्था थियो । तर पर्याप्त स्रोत र जनशक्ति अभावमा अस्पतालका सो आइसियु बन्द भएको थियो । आइसियु बन्द भएकाले सात वर्षदेखि आइसियुमा जडान गरिएका उपचार तथा अन्य सामग्री थन्काइएका छन् । 'आइसियु सञ्चालन गर्ने विषयमा केही पहल हुन सकेको छैन' अस्पतालका एक कर्मचारीले भने 'सघन उपचार कक्षका करोडौँ मूल्य पर्ने उपकरण स्टोरमा थन्किएका छन् । तिनलाई प्रयोगमा ल्याउन व्यवस्थापन पनि उदासिन छ ।' उनका अनुसार लामो समयसम्म ति महँगा उपकरणहरू प्रयोगमा नल्याइएकाले ति उपकरण अब काम नलाग्ने भइसकेका छन् ।
अस्पतालका वरिष्ठ डा. वासुदेव पाण्डेले अस्पतालमा आइसियु नहुँदा गत वर्ष महामारीको रूपमा फैलिएको डेंगुका सिकिस्त केही बिरामीलाई वीर अस्पताल तथा पाटनलगायत अन्यत्र अस्पतालमा पठाउनुपरेको बताए । 'गत वर्षमात्र होइन हामीले अस्पतालमा आएका आइसियुमा राख्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा सिफारिस गर्दै आएको छौँ,' उनले भने, 'राजधानीमा नै रहेको देशकै एकमात्र रेफरल सेन्टरको यो हालत छ भने राजधानी बाहिरका अस्पतालमा कस्तो होला ?'
जनशक्ति तथा विज्ञ चिकित्सकको अभावका कारण सघन उपचार सेवा सञ्चालनमा आउन नसकेको निर्देशक डा. शर्माले बताइन् । 'स्वास्थ्य मन्त्रालयमा यो विषयमा वर्षौंदेखि कुरा भइरहेको थियो तर अस्पतालमा आवश्यक जनशक्ति नपठाउँदा समस्या आइरहेको हो,' उनले भने, 'तर अहिले हामीले अस्पतालका केही चिकित्सकलाई तालिममा पठाएका छौँ । सम्भवत यो वर्ष अस्पतालमा आइसियु हुनेछ ।' उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अस्पतालमा आइसियु राख्न अर्थ मन्त्रालयसँग रकम माग गरेको छ । अर्थ मन्त्रालयले आउने आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा आइसियु सञ्चालनमा रकम निकासा गर्ने सहमति गरिसकेकाले अस्पतालले मंसिरभित्र अस्पतालमा आइसियु ल्याउने तयारी गरेको उनले बताए ।