Pages

Tuesday, January 29, 2013

गर्भपतन गराउने औषधिको दुरुपयोग रोक्न नयाँ रणनीति बन्दै

-प्रवीण ढकाल
काठमाडौं, ७ माघ । शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन)को गलत प्रयोग बढ्दै गएपछि सरकार नयाँ रणनीति बनाउन लागिपरेको छ ।
मेडिकल एबर्सनका औषधिको गलत प्रयोगबाट महिलाको ज्यान जोखिममा परेको तथा युवायुवतीले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरी जोखिम बढाइरहेको पाइएपछि नयाँ रणनीति बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले यस्ता औषधिको नियमन तथा व्यवस्थापन गर्न नयाँ रणनीति बनाउन थालिएको जनाएको छ ।
औषधिको लापरवाहीपूर्ण प्रयोगबाट गर्भपतनपछि देखिने जटिलता (पोस्ट एबर्सन केयर अर्थात् ‘प्याक’)का समस्या बढिरहेको तथ्यांक आउन थालेपछि नयाँ रणनीति बनाउन लागिएको महाशाखाका निर्देशक डा. शेनेन्द्र उप्रेतीले बताए । उनका अनुसार उपभोक्ता र विक्रेतामा औषधिको प्रयोगबारे ज्ञानको अभावका साथै गर्भपतनसम्बन्धी जोखिमसमेत उच्च रहेको पाइएकाले औषधि प्रयोगलाई व्यवस्थित र जोखिमलाई कम गराउन नयाँ रणनीति बनाउन थालिएको हो ।
नयाँ रणनीतिमा सुरक्षित गर्भपतनबारे जनचेतना फैलाउने, गर्भपतनमा प्रयोग हुने औषधिको प्रयोग विधि, मात्रा र यसका असरबारे विस्तृत जानकारी गराएर मात्र सेवन गर्न दिने, तालिमप्राप्त नर्स वा चिकित्सकको प्रेस्किप्सनमा मात्र औषधि बिक्री गर्नुपर्ने, पसलेलाई तालिम दिने व्यवस्थासमेत गर्न लागिएको डा. उप्रेतीले बताए । ‘औषधिको गलत प्रयोग रोक्न औषधि व्यवस्था विभागले जिल्ला जनस्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई अनुगमनका लागि अख्तियारी दिनुपर्ने व्यवस्था बनाइनेछ,’ उनले भने, ‘यसका साथै तालिमप्राप्त औषधि पसलले स्टक बुक राख्नुपर्ने, प्रेस्क्रिप्सनविना बेचे र स्टक बुक नराखे लाइसेन्स खारेज गर्नसक्ने व्यवस्था अबको रणनीतिमा हुनेछ ।’
उनका अनुसार नयाँ रणनीतिले औषधि पसलेलाई तालिम दिई सशक्तीकरण गर्ने बाटो खुला गर्नेछ । मेडिकल एबर्सनका लागि दिइने तालिममा पोस्ट एबर्सन, परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलतालगायत विषय समावेश हुनेछन् ।
तालिमप्राप्त औषधि पसलले मेडिकल एबर्सनसम्बन्धी लोगो अनिवार्य राख्नुपर्नेछ । लोगोको नाम ‘सुरक्षित गर्भपतन परामर्श तथा औषधि केन्द्र’ रहने सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्दै आएको संस्था पपुलेसन सर्भिसेस इन्टरनेसनलका प्राविधिक सल्लाहकार डा. आशिष केसीले बताए ।
सर्जिकलभन्दा सुरक्षित मानिने मेडिकल एबर्सन असुरक्षित सावित हुनुमा औषधिको जथाभावी प्रयोग प्रमुख कारण भएको विज्ञहरू बताउँछन् । तालिमप्राप्त डाक्टर वा नर्सको सल्लाहमा उचित प्रयोग गरे मेडिकल एबर्सन ९८ प्रतिशतसम्म प्रभावकारी र सुरक्षित हुने उनीहरूको दाबी छ । औषधिको प्रयोगबाट नौ साताभन्दा कमको गर्भको बच्चाको मात्र गर्भपतन गराउन सकिन्छ । तर, त्यसभन्दा माथिकाको गर्भपतन गराउन पनि औषधिको प्रयोग भइरहेको डा. उप्रेती स्विकार्छन् ।
प्रजनन स्वास्थ्य अनुसन्धानविद् डा. श्याम थापाका अनुसार नेपालमा यस्ता औषधिको गलत प्रयोगका कारण गर्भपतन गराउनेमध्ये ७० प्रतिशतसम्म महिलामा जटिलता देखिएको छ । ‘जानकारी नै नगराई भटाभट सिटामोल दिएजसरी यस्ता औषधि बिक्री गरेको पाइएकाले धेरै जटिलता देखिएको छ,’ उनले भने, ‘त्यसकारण नीतिगत व्यवस्थाको आवश्यकता परेको हो ।’
आइपास नेपालले गत वैशाखदेखि मंसिरसम्म थापाथलीस्थित प्रसूतिगृहमा गर्भपतनपछिका जटिलता लिएर आएका एक सय तीन महिलाको अध्ययन गरेको थियो । यस्ता औषधि महिलाले परामर्श नगरी प्रयोग गर्ने प्रवृत्ति बढेको अध्ययनले देखाएको छ । प्याकको समस्या लिएर आएकामध्ये ४५ दशमलव ६ प्रतिशत महिलाले आफैँ औषधि किनेर प्रयोग गरेको बताएका थिए । बाँकी ३२ प्रतिशतले पुरुष साथीले दिएको, १७ दशमलव ५ प्रतिशतले पतिले दिएको र ४ दशमलव ९ प्रतिशतले साथी वा अन्यबाट लिएर औषधि प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागीमध्ये ५६ दशमलव ३ प्रतिशत महिलाले औषधि खरिद गर्न जाँदा विक्रेताले औषधि र प्रयोग गर्ने विधिबारे जानकारी गराएको बताएका छन् । उचित परामर्श पाएका यस्ता महिलामा प्याकको समस्या कम देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment