Pages

Tuesday, January 29, 2013

निवारणपछि झन् बढ्दै कुष्ठरोगी

Kustha-Rog -प्रवीण ढकाल
काठमाडौं, १४ माघ । सरकारले नेपाललाई कुष्ठरोग निवारण राष्ट्र घोषणा गरेको तीन वर्ष भइसकेको छ । तर, यो अवधिमा रोग कम हुँदै जानुपर्नेमा झन् नयाँ रोगीको संख्या बढ्दै गइरहेको पाइएको छ ।
सरकारले ०६६ माघ ५ गते नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गर्दा नेपालमा जम्मा २ हजार ४ सय ४५ नयाँ बिरामी थिए भने जम्मा १२ वटा जिल्लामा मात्र प्रति दश हजारमा एकभन्दा बढी बिरामी रहेका थिए । तर, निवारणको तीन वर्षपछि नयाँ कुष्ठरोगीको संख्या बढेर प्रति वर्ष तीन हजार चार सय ८१ जना पुगेको छ । त्यस्तै, प्रति दश हजार जनसंख्यामा एकभन्दा बढी कुष्ठरोग लागेका बिरामीको संख्या पनि १२ बाट बढेर १७ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम कुष्ठरोगी भएमा निवारणको अवस्था हुन्छ । सोहीअनुसार विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालले निवारण घोषणा गरेको हो । नेपालमा घोषणा गर्दाको अवस्थामा ० दशमलव ७९ जना कुष्ठरोगी थिए । तर, अहिले यो संख्या बढेर ०.९२ प्रतिशत पुगेको छ । राष्ट्रिय आँकडामा एक जना ननाघे पनि १७ जिल्लामा प्रति दश हजार जनसंख्यामा एक जनाभन्दा बढी रोगी भेटिएका छन् ।
निवारणको लक्ष्यअनुसार नयाँ बिरामीको दर घट्दै जानुपर्ने हो तर नेपालमा निवारणपछिका हरेक वर्ष नयाँ बिरामीको दर बढ्दै गइरहेको छ । तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले नेपाल कुष्ठरोग निवारण राष्ट्र घोषणा गर्दा २४ सय ४५ रहेका नयाँ बिरामी आर्थिक वर्ष ०६७/६८ मा बढेर ३१ सय ४२ मा, आर्थिक वर्ष ०६८/६९ मा ३४ सय ८१ मा पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ सय २१ नयाँ बिरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका कर्मचारी निवारणको अवस्थामा नपुगीकनै घोषण गर्नाले यस्तो अवस्था आएको हुन सक्ने बताइरहेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चूडामणि भण्डारीले घर–घरमा डुलेर नयाँ बिरामी पत्ता लगाउने कार्यक्रमले नयाँ बिरामी बढेर गएको बताए । उनले भारतीय बिरामीले नेपाली ठेगाना लेखाउने भएकाले पनि बिरामीको संख्या बढेको हुन सक्ने बताए ।
‘पर्याप्त मात्रामा बिरामीको खोजी नगरी निवारण गर्दा पनि समस्या आएको हुन सक्छ,’ उनले भने, ‘तथ्यांक हेर्दा निवारणअगाडि बिरामीको खोजपड्ताल पुगेको रहेनछ भन्ने देखाउँछ ।’ उनले पहिले खोजपड्ताल गर्न छुटेका बिरामीको संख्या धेरै हुन सक्ने भन्दै बिरामीको संख्या अझै बढ्न सक्ने बताए ।
महाशाखाका अनुसार निवारण हुन नसकेका १७ जिल्लामा बारा, झापा, बाँके, धनुषा, रौतहट, कैलाली, मोरङ, बार्दिया, सलार्ही, रुपन्देही, महोत्तरी चितवन, पर्सा, सुनसरी, नवलपरासी, सिरहा र जुम्ला छन् । महाशाखाले यी जिल्लामा अन्य जिल्लाको तुलनामा कार्यक्रम केन्द्रित गरेको जनाएको छ । पहिला हरेक जिल्लामा एकै खाले कार्यक्रम सञ्चालन हुने गरेका थिए । ‘यी जिल्लाको हरेक वडाका घर–घरमा स्वास्थ्य स्वयंसेविका पुगेर कुष्ठरोगसम्बन्धी पहिचान कार्ड देखाएर समस्याबारे जानकारी लिनेछन्,’ भण्डारीले भने, ‘समस्या देखिएमा तुरुन्त उपचार थालिन्छ ।’
रोग सुरुमै पत्ता लगाएर अरूलाई सर्न नदिने, उपचार गरी रोग निको पार्ने तथा अपांग हुनबाट जोगाउन यो अभियान चलाएको महाशाखाको भनाइ छ । महाशाखाले कुनै नयाँ केस भेटिएमा ५० घर वरपरका सबैमा रोग परीक्षण गर्ने रणनीति लिएको छ ।
पछिल्लो तथ्यांकअनुसार नयाँ बिरामी पूर्वाञ्चलमा ८ सय ६६, मध्यमाञ्चलमा १२ सय ९५, पश्चिमाञ्चलमा ५ सय ४८, मध्यपश्चिमाञ्चलमा ४ सय २४ र सुदूरपश्चिमाञ्चलमा ३ सय ४८ थपिएका छन् । हालसम्म १ लाख ६८ जनाले उपचार पाएर रोगमुक्त भएका छन् ।
नेपालमा सन् १९५४ देखि नै निवारण थालिएको थियो । सन् १९८२ मा प्रति दश हजार जनसंख्यामा २१ जनामा यो रोग थियो । पहिलोपटक सन् १९९६ मा २००३ सम्ममा कुष्ठरोग निवारण गर्ने घोषणा गरिएको थियो । पहिला निवारण गर्ने भनिएको मितिमा निवारण गर्न नसकेपछि सरकारले सन् २००५, २००७, २००८ सम्ममा निवारण गर्ने बताएको थियो । तर, तोकिएका चारवटै मितिमा निवारणको अवस्थामा आएन । नेपालमा कुष्ठरोग नियन्त्रणका कार्यक्रम सुरु भएको ४६ वर्षपछि भएको सन् ००९ को अन्तिममा गरिएको घोषणा पनि अपरिपक्व रहेको स्वास्थ्य मन्त्रालयले नै जनाएको छ ।
के हो कुष्ठरोग ?
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो । यो सरुवा रोग नै हो तर अरु सरुवा रोगको तुलनामा यो कम सर्छ । क्षयरोग र यस रोगका कीटाणु उस्तै प्रकारका छन् । तर, क्षयरोगको तुलनामा यो कम सर्छ । सरुवा रोग भएकाले यो पनि श्वासप्रश्वासकै माध्यमबाट सर्छ ।
यो रोगले छाला र नशामा असर गर्छ । छालामा दाग, गिर्खा देखिने र छाला बाक्लो हुन्छ भने स्नायुका कारण हातगोडा चलाउन नसक्ने हुन्छ । यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ । उपचार नगरेको कुष्ठरोगीसाग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट यो रोग अर्कोमा सर्ने गर्छ । यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्र कुष्ठरोगको चिह्न र लक्षण देखा पर्न सक्छ । तर, बुझ्नै पर्ने कुरा के छ भने यो रोग किरा, लामखुट्टे, झिँगा, उडुस आदिबाट भने सर्दैन । शरीरको कुनै भागमा लाटो–फुस्रो दाग देखा पर्नु, विस्तारै ती दागमा पसिना नआउनु, नचिलाउनु र रौँ झर्दै जानु यसको प्रमुख लक्षण हो ।
अर्को कुरा रोगले स्नायुमा असर गरेको छ भने हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु जस्ता समस्या हुन्छ । यसबाहेक अनुहार र कानको लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुने तथा आँखीभौँ झर्न थालेको छ भने कुष्ठरोग लागेको हुन सक्छ । विस्तारै रोग बढ्दै जाँदा हातखुट्टाका औँला लाटो हुने, कमजोर हुने र खुम्चिँदै गएर अंगभंगसमेत हुन सक्छ । त्यसैले शंका लाग्नेबित्तिकै उपचारतर्फ लाग्नु नै बुद्धिमानी हुने चिकित्सकको भनाइ छ ।

No comments:

Post a Comment