Pages

Sunday, October 14, 2012

औषधिमा ब्याक्टेरिया बेचिरहेका छन् भारतीय कम्पनी

-प्रवीण ढकाल काठमाडौं, १५ असोज । बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने ब्याक्टेरियासमेत बिक्री गरिरहेको पाइएको छ । डाबर र वैद्यनाथले उत्पादन गरेका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया फेला परेपछि सरकारले दुवै कम्पनीका औषधिको आयातमा रोक लगाएको छ ।
औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरिया फेला परेको हो । रोग निको पार्ने औषधिमै ब्याक्टेरिया फेला परेपछि ती औषधिको आयातमा रोक लगाइएको औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए ।
डाबरका सात र वैद्यनाथका तीन किसिमका आयुर्वेदिक चूर्णमूलक औषधिमा ब्याक्टेरिया फेला परेपछि औषधि व्यवस्था विभागले सम्बन्धित ब्याचका ती उत्पादन बजारबाट फिर्ता उठाउनसमेत कम्पनीलाई निर्देशन दिएको छ । ती कम्पनीका नेपालमा रहेका कार्यालयमा पत्र पठाएर ब्याक्टेरिया फेला परेका ब्याचका सम्पूर्ण चूर्ण फिर्ता गर्न र फेला परेका औषधि नेपाल आयात नगर्न पत्र पठाएको हो ।
विभागले समस्या देखिएका औषधिको आयातमा रोक लगाए पनि बजारमा बिक्री भइरहेका ब्याक्टेरिया भएका औषधि भने कम्पनीले फिर्ता गरेको बारेमा अझै विभागमा जानकारी दिएको छैन । विभागले पत्र पठाएपछि अनिवार्य रूपमा उत्पादकले ती ब्याचका उत्पादक फिर्ता गरिएको परिणामबारे जानकारी गराउनुपर्ने नियम छ ।

 डाबरका सात र वैद्यनाथका तीन किसिमका आयुर्वेदिक चूर्णमूलक औषधिमा ब्याक्टेरिया फेला परेपछि औषधि व्यवस्था विभागले सम्बन्धित ब्याचका ती उत्पादन बजारबाट फिर्ता उठाउनसमेत कम्पनीलाई निर्देशन दिएको छ । ती कम्पनीका नेपालमा रहेका कार्यालयमा पत्र पठाएर ब्याक्टेरिया फेला परेका ब्याचका सम्पूर्ण चूर्ण फिर्ता गर्न र फेला परेका औषधि नेपाल आयात नगर्न पत्र पठाएको हो ।


विभागका अनुसार डाबरको एएल ०९२ ब्याचको त्रिफला चूर्ण, एएल ०७३३ नम्बर ब्याचको लवणभाष्कर चूर्ण, एएल ०००४ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण, एएल ००२७ नाम्बर ब्याचको सतवरयादि चूर्ण, एएल ००४ नम्बर ब्याचको अश्वगन्धा चूर्ण, एएल ००६६ नम्बरको पञ्चसकर चूर्ण र एएल ००३१ नम्बरको तल्लिसदि चूर्णमा ब्याक्टेरिया फेला परेको हो । त्यस्तै, वैद्यनाथको ब्याच नम्बर ४ को प्युशानुग चूर्ण, ब्याच नम्बर ३ को महासुदर्शन चूर्ण र ब्याच नम्बर ६ को चोपचिन्यादि चूर्णमा ब्याक्टेरिया फेला परेको छ ।
चिकित्सकका अनुसार प्युसानुग चूर्ण महिलाको तल्लो पेट दुख्दा, अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक र लावनभास्कर पाचनको उपचारका लागि प्रयोग गरिन्छ । त्यसैगरी, चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी, अश्वोगन्धा चूर्ण निद्राका लागि र तनाव कम तथा शीतोपलादी चूर्ण खोकीको उपचारमा प्रयोग गरिन्छ ।
ग्यास्ट्रिक, महिलाको तल्लो पेट दुख्दा खाने औषधि, पाचन प्रणालीको, छालासम्बन्धी एलर्जीको, निद्राको, तनाव कम गर्ने, खोकीको, खाना पचाउने तथा मिर्गाैलालगायत रोग उपचारमा प्रयोग गरिने औषधि मापदण्डविपरीत निम्नगुणस्तरको र मिसावटयुक्त पाएपछि औषधि व्यवस्था विभागले ती औषधि फिर्ता गरी तत्काल नष्ट गर्न औषधि उत्पादन कम्पनीलाई पत्र पठाएको छ । ‘आयुर्वेदिक ती औषधिले बिरामीको रोग निको हुने भन्दा पनि थप इन्फेक्सन हुने देखियो,’ औषधि निरीक्षक अधिकारीले भने, ‘त्यसैले हामीले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौा ।’ उनका अनुसार ती औषधि फिर्ता नगरिए ती उत्पादकको नेपालमा दर्ता लाइसेन्स नै खारेज हुनेछ ।
औषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न थरीका ब्याक्टेरिया फेला परेको विभागले जनाएको छ । निरीक्षण अधिकारीका अनुसार केही समयपछि विभागले पुन: बजार अनुगमन गर्नेछ । ‘हामी बजारमा फेरि अनुगमन गर्छौं, यदि फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रक्रिया अघि बढाउाछौा,’ उनले भने ।
डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तीनकुनेस्थित लुना ट्रेनिङ कम्पनीले डिलरको अनुमति लिएको छ भने वैद्यनाथको रौतहटको गौरमा रहेका राजेश मेडिसिन प्रालिले लिएको छ । विभागले ती दुवै कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुन: बजार अनुगमन गर्ने भएको छ ।

तिजले बिगार्ला स्वास्थ्य

-प्रवीण ढकाल आज तिजको अघिल्लो दिन । अर्थात् दर खाने दिन । आज राति विभिन्न परिकार सेवन गरेपछि पर्सि बिहान पूजा नगरुन्जेल महिलाले अन्नपान गर्न नहुने परम्परा छ । भोलि दिनभर शिवपार्वतीको कठोर व्रत बस्छन् महिलाहरू ।
बढ्दो सहरीकरण र देखासिकीका कारण दरका नाममा अनेक खानेकुरा खाने चलन बढेको छ पछिल्लो समय । अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी पनि नखाई व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हुने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार केही दरको नाममा बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या निम्तिन्छ । भोको बस्दा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्दै उपचारका लागि अस्पताल आउने महिलाको संख्या पनि बढिरहेको छ । त्यसमाथि भोकोपेटमा नाचगान बढी गर्नाले पनि नाच्दा नाच्दै ढल्ने वा मूर्छा पर्ने समस्या आउने गरेको वीर अस्पतालका चिकित्सक डा. धु्रवप्रसाद सिंहले बताए । उनका अनुसार ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ ।
त्यसो त एउटा स्वस्थ व्यक्तिले एक दिन निराहार बस्न नसक्ने होइन । मानिसलाई दैनिक करिब दुई हजार दुई सय ७० क्यालोरी शक्ति चाहिन्छ । उक्त शक्ति खानाबाट प्राप्त हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो अवस्थामा उक्त शक्ति शरीरमा सञ्चित बोसोबाट प्राप्त हुन्छ । प्रोटिन र केही भिटामिनको कमी हुने भए पनि एकै दिनमा कुनै गम्भीर असर गर्ने सम्भावना कम हुन्छ । तर, पानीको मात्रा कम हुँदा डिहाइड्रेसनका कारण कमजोर भई मान्छे बेहोस हुने तथा पहिलेदेखि नै कमजोर एवं दीर्घरोगीहरूको मृत्युसमेत हुन सक्छ ।

पानीको मात्रा कम हुँदा डिहाइड्रेसनका कारण कमजोर भई मान्छे बेहोस हुने तथा पहिलेदेखि नै कमजोर एवं दीर्घरोगीहरूको मृत्युसमेत हुन सक्छ ।

डा. सिंह तिजको व्रतमा पानी पनि नखानुलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्न नसकिने बताउँछन् । उनका अनुसार मानव शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानी चाहिन्छ । ‘निराहार बसेका बेला अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई अझ बढी पानी चाहिन्छ,’ उनले भने, ‘त्यस कारण महिलाहरूले पानी नै नखाई व्रत बस्नु आफ्नै स्वास्थ्यलाई असर पुर्‍याउनु हो ।’ उनका अनुसार उपवासका बेला अन्न नखाए पनि पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । कोही महिला मूर्छा परेर ढलेमा पानी, ग्लुकोज पानी वा जीवनजल दिनु फाइदाजनक हुन्छ ।
तिजको रमाइलो पक्षमध्ये पर्छ अघिल्लो दिन दर खानु पनि । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । यसरी तयार पारिएका परिकार बनाउन प्रयोग गरिएको तेल, मसला आदिको गुणस्तरमा ध्यान पुर्‍याउनुपर्ने चिकित्सकहरू बताउँछन् । घरमा तयार गरिएका परिकार सुन्दर नभए पनि ताजा र स्वस्थकर हुन्छन् तर आजकल महिलाहरू घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाइ तथा अन्य परिकार खरिद गरी ल्याउने गर्छन् । बजारमा सजाइएका मिठाइ हेर्दा आकर्षक र खाऊँ–खाऊँ लाग्ने भए तिनलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रंग तथा ‘प्रिजरभेटिभ’ प्रयोग गरिएको हुन्छ । विश्वासिला मिठाइ पसलेहरूले समेत कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका हुन सक्छन् । यसले कसैलाई पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड पोइजनिङ आदि गराउन सक्छ ।
रंग तथा ‘प्रिजरभेटिभ’ ले मान्छेलाई विभिन्न खाले एलर्जी गराउँछ । मुख तथा जिब्रोमा घाउ, खटिरा आउन सक्छन् । दरमा विभिन्न किसिमका अचार पनि राखिन्छ । यस्ता अचारले खानामा रुचि बढाउने भए पनि अधिक चिल्लोपना र मसालाका कारण अपच हुने, एसिडिटी बढ्ने समस्या निम्तिन्छ । दरका अधिकांश खाने कुरा यसै पनि चिल्ला हुन्छन्, त्यसमाथि घिउ विशेष खाने चलन हुन्छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइन्छ भन्ने विश्वास छ । यसरी धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ । त्यसैले दरमा चिल्लो खानेकुराका तुलनामा दही, फलफूल, हरियो सलाद आदिमा बढी जोड दिन महिलाहरूलाई सुझाब दिन्छन् डा. सिंह ।

भाइरल ज्वरोको हरेक वर्ष नयाँ भाइरस

-प्रवीण ढकाल
काठमाडौं, ३१ भदौ । देशभर देखा परेको भाइरल ज्वरोका कारण यस वर्ष २२ जनाको मृत्यु भइसकेको छ । हजारभन्दा बढी बिरामी परेका छन् । भाइरल ज्वरोले प्रकोपकै रूप लिनुमा ज्वरो गराउने भाइरस पत्ता लाग्न नसक्नु मुख्य कारण रहेको चिकित्सक बताउँछन् ।
भाइरल ज्वरो गराउने भाइरसले हरेक वर्ष रूप परिवर्तन गर्ने भएका कारण उपचारमा समस्या परेको चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार हजारौँ प्रकारमध्ये हरेक वर्ष नयाँ भाइरसले आक्रमण गर्दा बिरामी बढी हुने गरेको पाइएको छ ।
साधारण रूपमा लिइने यो रोगका भाइरस वर्षैपिच्छे छुट्टाछुट्टै हुने गरेकाले उपचार अभावमा धेरैले ज्यान गुमाउनुपरिरहेको सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेको भनाइ छ । ‘भाइरसका कारण हुने यो रोगबाट मानिसलाई हरेक वर्ष नयाँ–नयाँ भाइरसले सताउने गरेको छ,’ डा. पाण्डेले भने, ‘तर कुन भाइरसले सतायो र त्यो भाइरस कति खतरनाक छ भन्ने थाहा पाउन सकिन्न ।’ उनले यस वर्ष पनि देशका विभिन्न जिल्लामा भाइरल ज्वरोका कारण दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको जानकारी आएको बताए ।


साधारण रूपमा लिइने यो रोगका भाइरस वर्षैपिच्छे छुट्टाछुट्टै हुने गरेकाले उपचार अभावमा धेरैले ज्यान गुमाउनुपरिरहेको सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेको भनाइ छ । ‘भाइरसका कारण हुने यो रोगबाट मानिसलाई हरेक वर्ष नयाँ–नयाँ भाइरसले सताउने गरेको छ,’ डा. पाण्डेले भने, ‘तर कुन भाइरसले सतायो र त्यो भाइरस कति खतरनाक छ भन्ने थाहा पाउन सकिन्न ।’


वीर अस्पतालका फिजिसियन डा. धु्रवप्रसाद सिंहका अनुसार कुनै पनि व्यक्तिलाई एकपटक भाइरल भएको छ भने अर्कोपटक अर्कै भाइरसले आक्रमण गर्छ । ‘श्वासप्रश्वासमा आक्रमण गर्ने यो रोगका भाइरसका प्रकार हरेकपटक छुट्टाछुट्टै हुने गरेको छ,’ डा. सिंहले भने, ‘त्यही भएर जोखिम समूहमा रहेका गर्भवती, बालबालिका तथा अन्य रोग लागेकालाई उपचार गर्न समस्या पर्ने गरेको छ ।’ उनका अनुसार भाइरसको प्रकार हरेकपटक परिवर्तन हुने भएकाले यो रोगको रोकथामका लागि अन्तर्राष्ट्रियस्तरमा फैलिएको भाइरसको प्रकृति हेरेर औषधि दिनुपर्छ ।
चिकित्सकका अनुसार एकपटक आक्रमण गरिसकेको भाइरसले पुन: आक्रमण गर्न नसक्ने भएकाले प्रत्येकपटक भाइरसका प्रकारमा परिवर्तन आउँछ । भाइरसका प्रकारमा परिवर्तन आइरहने भएकाले चिकित्सकले उच्च जोखिममा रहेका व्यक्तिलाई रोग लाग्ने सम्भावित भिडमा नजान, मास्क लगाउन, हाच्छयँु गर्दा रुमालले छोप्न, हात राम्रोसँग साबुनपानीले धुन र विनाकाम नाक, आँखा, मुख नछुन सुझाव दिँदै आएका छन् ।
हरेक वर्ष भाइरल ज्वरोले हजारौँलाई बिरामी बनाउने गरेकाले यसको उपचार तथा नियन्त्रणमा सहयोग पुर्‍याउन भाइरोलोजिकल सेन्टरको आवश्यकता परेको चिकित्सकको ठम्याइ छ । डा. पाण्डेले बर्सेनि भाइरल ज्वरोले देशका विभिन्न स्थानमा प्रकोपकै रूप लिने गरेकाले प्रकोप न्यूनीकरणका लागि सेन्टरको आवश्यकता परेको बताए । ‘भाइरसमा परिवर्तनका कारण उपचारमा समस्या परिरहेको छ,’ उनले भने, ‘त्यसकारण धेरै व्यक्ति ज्यान गुमाउन बाध्य भएका हुन् ।’ भाइरोलोजिकल सेन्टर भए बिरामीको नमुना परीक्षण गरी उपचारमा जान सजिलो हुने उनको भनाइ छ ।
डा. सिंहका अनुसार भाइरल ज्वरो गराउने भाइरस घाँटीमा सुषुप्त अवस्थामा हुने भएकाले मौसम परिवर्तन हुँदा, चिसोपानी, खाना, दही वा आइसक्रिमजस्ता चिसो खानेकुरा खाँदा यी भाइरस सक्रिय भई रोग प्रतिरोधात्मक क्षमतामा असर गर्ने भएकाले बिरामी गराउँछ । भाइरल ज्वरो भएका मानिसको शरीरको तापमान १ सयदेखि १ सय ३ डिग्री फरेनहाइटसम्म हुन सक्छ । यो संक्रमणको असर १० देखि १२ दिनसम्मको हुने भए पनि यसपटक बिरामीमा लामो समयसम्म ज्वरो आउने, बेस्सरी टाउको तथा जिउ दुख्ने, रुघाखोकी लाग्ने चाँडै अरूमा सर्नेजस्ता समस्या बढी देखिएको डा. सिंहले बताए ।
मौसम परिवर्तनको समयमा हुने यो रोगलाई साधारण रूपमा लिने गरिन्छ । चिकित्सकहरू भने रोग प्रतिरोधक क्षमता कम भएकामा यो रोग घातक हुने बताउँछन् । उनीहरूका अनुसार यो रोगको अति जोखिममा पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दमका रोगी तथा छाती र श्वासप्रश्वास, मुटु र मिर्गाैलासम्बन्धी रोग लागेका व्यक्ति छन् । उनीहरूलाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ । त्यसैगरी, मधुमेह तथा एचआइभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ । यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूले सतर्कता अपनाउनुपर्ने डा. पाण्डेले बताए ।

सरकारले घटायो, व्यापारीले घटाएनन्

-प्रवीण ढकाल
काठमाडौं, ३० भदौ । सरकारले दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य घटाए पनि व्यापारीले मूल्य नघटाएपछि उपभोक्ता महूगै मूल्यमा उपभोग्यवस्तु किन्न बाध्य छन् । चाडपर्व नजिकिएको समयमा खाद्यवस्तुको मूल्य महूगिएको भन्दै सरकारले चामल, दाल, गेडागुडीलगायत १५ उपभोग्यवस्तुको भाउ घटाएको छ । तर, व्यापारीले पुरानै मूल्यमा बेचिरहेका छन् ।
सरकारले बिहीबार अत्यावश्यक १५ खाद्य पदार्थको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको थियो । मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा चेम्बर अफ कमर्सका अध्यक्ष, थोक विक्रेतासमेत सहभागी बैठकले खाद्यवस्तुको एमआरपी तोकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चामल, दाल, केराउ, बोडी र आटाको एमआरपी पहिलोपटक तोकेको भए पनि पुरानो मूल्यभन्दा खासै फरक छैन । तर, विक्रेताले भने घटेको मूल्यमा सामान विक्रि गर्दा घाटा पर्ने भन्दै पुरानै मुल्यमा बिक्रि गरीरहेका छन् । सरकारले अपर्झट खाद्यवस्तुको मूल्य घटाएकाले आफूले किनेको मूल्यभन्दा सस्तोमा बिक्री गर्न नसकिने व्यापारीको भनाइ छ ।
कोटेश्वरमा रहेको गौतम किराना पसलका सञ्चालक दिनेश गौतमले आफूले होलसेलमा महूगोमा सामान किनेर ल्याएकाले घटेको मूल्यमा बेच्दा घाटा हुने बताए । ‘हिजो दिउूसो मात्र होलसेलबाट बढी पैसा तिरेर सामान ल्याइयो,’ उनले भने, ‘सरकारले रातारात मूल्य घटायो, तोकेको मूल्यमा बिक्री गर्दा त हामी घाटामा पर्छांै नि †’ उनले शुक्रबारबाट सस्तो मूल्यमा ल्याइएका अन्य सामग्रीमा भने घटेकै मूल्यमा बिक्री गरेको जानकारी दिए । सरकारले भाउ घटाएको भने पनि आफूले भने १ सय ८ रुपियाूमा नै ठूलो गेडा मुसुरो दाल किनेर ल्याएको बानेश्वर शंखमूलनिवासी शान्ति अधिकारीले
बताइन् । शान्ति मात्र होइन, सरकारले गरेको हतारको निर्णयका कारण धेरै स्थानमा व्यापारीले शुक्रबार पुरानै मूल्यमा उपभोग्यवस्तुको बिक्री गरिरहेको पाइएको छ । सौर्यले शुक्रबार उपत्यकाका चाबहिल, नयाूबानेश्वर, कोटेश्वर, गौशाला, कलंकी, गोगंबु र जोरपाटीका पसलमा व्यापारीहरूको मूल्यबारे जानकारी लिएको थियो । ती स्थानाका अधिकांश पसलले आइतबारबाट मात्र घटेको मूल्य लागू गर्न सकिने बताएका छन् । तर, सरकारले भने शुक्रबारदेखि नै घटेको मूल्यमा ती सामग्री बिक्री गर्नुपर्ने बताएको छ ।नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले अपर्झट निर्णय भएकाले केही व्यापारीले पुरानो मूल्यमा सामान बिक्री गरेको बताए । ‘समस्यामा परेको भन्दै केही साथीले पुरानै मूल्यमा सामान बिक्री गरेको पाइएको छ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा भएकालाई हामीले नयाू मूल्यअनुसार बिक्री गर्न भनेका छाूै ।’ वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले पुरानो मूल्यमा सामान बिक्री गर्ने व्यापारीमाथि कारबाही गरिने बताए । उनले व्यापारी प्रतिनिधिसित छलफल गरेर नै मूल्य निर्धारण गरेकाले घटेको मूल्यमा सामान बिक्री गर्न आनाकानी गर्न नमिल्ने जानकारी दिए ।
मञ्चको आपत्ति
केही उपभोग्यवस्तुको अधिकतम खुद्रा मूल्य तोकिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले विरोध जनाएको छ । मञ्चले व्यापारीहरूको कडा दबाबका अगाडि झुकेर उपभोक्तालाई मारमा पर्न गरी मूल्य निर्धारण गरेको आरोप लगाएको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार आफूै कालाबजारियाको चंगुलमा फस्ने डर देखिएको भन्दै बिहीबारको मूल्य निर्धारण नीतिमा आमूल परिवर्तन गर्नसमेत आग्रह गरेको छ । सरकारी नियमन निकायहरूको आधिकारिक सूचकांकका आधारमा उपभोक्ता हितका लागि मूल्य निर्धारण गर्ने व्यवस्था गर्न मञ्चले मुख्यसचिवको ध्यानाकर्षणसमेत गराएको छ ।

Wednesday, September 5, 2012

दुईतिर जागिर खांदै वीरका डाक्टर

-प्रवीण ढकाल
काठमाडौं, १८ भदौ । सरकारले वीर अस्पतालका वरिष्ठ सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई नियमविपरीत दोहोरो जागिर दिएको छ । उनलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण अस्पताल (मिर्गौला अस्पताल) का निर्देशकको जिम्मेवारी थपिएको हो ।
नियमानुसार सरकारी कर्मचारीले दुईतिर जागिर गर्न पाउँदैनन् । एक ठाउँमा काम गर्दागर्दै अर्को जिम्मेवारी पाए पहिलाको छाड्नुपर्ने हुन्छ । तर, डा. श्रेष्ठले ढुक्कसित फागुनदेखि नै दुवैतिर जागिर खाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. श्रेष्ठले वीर अस्पतालबाट प्रत्यारोपण सर्जनका रूपमा मासिक तलब खाइरहेका छन् भने मिर्गौला अस्पतालबाट गाडी सुविधा र भत्ता लिन्छन् । गत फागुन तेस्रो साता मिर्गौला अस्पतालको निर्देशकका रूपमा उनले थप जिम्मेवारी पाएका थिए ।
दोहोरो जिम्मेवारी पाएपछि उनी मिर्गौला अस्पतालको निर्देशकका रूपमा पाएको ल्यान्डक्रुजर गाडीमा हुइँकिरहेका छन् भने भत्ता पनि लिइरहेका छन् । पहिलेदेखि कार्यरत वीर अस्पतालबाट मासिक तलब बुझ्न पनि छाडेका छैनन् । उनी मिर्गौला अस्पतालमा सोमबार र बिहीबार अनि वीरमा शुक्रबार र आइतबार जान्छन् । दोहोरो जिम्मेवारी पाउनुअघि उनी वीरमा सातामा ६ दिन जाने गर्थे ।
मन्त्रालय स्रोतका अनुसार दोहोरो जिम्मेवारीपछि डा. श्रेष्ठको काम भने घटेको छ । ‘डा. श्रेष्ठ भक्तपुरमा दुई दिन जान्छन् अनि वीरमा दुई दिन,’ स्रोतले भन्यो, ‘वीरमा शुक्रबार डायलाइसिस गरेका बिरामीको अवस्था बुझेर फर्किन्छन् र आइतबार मिर्गौला प्रत्यारोपण गर्छन् । भक्तपुरमा भने ट्रान्सप्लान्टको सुविधा नभएकाले गएर मात्र फर्किन्छन् ।’
मन्त्रालयका सहप्रवक्ता कविराज खनाल स्वास्थ्य विशेष क्षेत्र भएकाले सरकारले डा. श्रेष्ठलाई दोहोरो जिम्मेवारी दिएको हुन सक्ने बताउँछन् । ‘स्वास्थ्य क्षेत्र विशेष भएकाले होला सरकारले नै उहाँलाई दुईतिरको जिम्मेवारी दिएको छ,’ उनले भने, ‘दोहोरो जिम्मेवारी दिइए पनि तलब सुविधा भने दोहोरो दिएको छैन ।’ उनले डा. श्रेष्ठले मिर्गौला अस्पतालबाट भत्ता लिने गरेको विषयमा कुनै जानकारी नभएको बताए ।
डा. श्रेष्ठले सरकारले नै आफूलाई दुईतिरको जिम्मेवारी दिएकाले सोहीअनुसार काम गरिरहेको प्रतिक्रिया दिए । आफूले अहिले वीर अस्पतालबाट मात्र सेवा–सुविधा लिएको र भक्तपुर मिर्गौला अस्पतालबाट एक रुपियाँ पनि नलिएको उनले दाबी गरे । गाडीको विषयमा भने उनले सरकारले नै दिएकाले चढेको बताए ।

गुणस्तर समितिबारे अध्यक्ष नै बेखबर

-प्रवीण ढकाल
काठमाडौं, १७ भदौ । स्वास्थ्य क्षेत्रमा सुधारका लागि गुणस्तर सुनिश्चितता निर्देशक समिति बनेको पाँच वर्ष पुग्न लागे पनि समितिकै अध्यक्ष र सदस्य–सचिव नै यसप्रति बेखबर रहेको पाइएको छ ।
गुणस्तरीय स्वास्थ्यसेवासम्बन्धी नीतिले व्यवस्था गरेको ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय गुणस्तर सुनिश्चितता निर्देशक समिति’मा अध्यक्ष, सदस्य–सचिवसहित ११ सदस्य छन् । तर, यस विषयमा पदाधिकारीले अनभिज्ञता जनाएका छन् । सरकारी, गैरसरकारी एवं निजी क्षेत्रबाट सञ्चालित समग्र स्वास्थ्य संस्थाको गुणस्तर सुधार गर्ने भन्दै सरकारले उक्त समिति बनाएको थियो ।
मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख अध्यक्ष रहने उक्त समितिमा अनुगमन मूल्यांकन, जनस्वास्थ्य प्रशासन महाशाखा प्रमुख सदस्य–सचिव रहन्छन् । सदस्यहरूमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, आयुर्वेद विभागका महानिर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट एक, चिकित्साशास्त्र अध्ययन परिषद्बाट दुई, उपभोक्ता मञ्चबाट एक र निजी स्वास्थ्य संस्थाका तर्फबाट एकजना सदस्य रहने व्यवस्था छ ।
समितिका सदस्य मात्र होइन, पदाधिकारी नै समितिबारे बेखबर पाइएको छ । अध्यक्ष र सदस्य–सचिवले त निर्देशक समितिबारे पहलोपटक सुनेको बताएका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्न, अस्पतालको गुणस्तर प्रमाणीकरण कार्यप्रणाली स्थापना गर्न भन्दै २८ कात्तिक ०६४ मा ‘गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी नीति’ ल्याएको थियो । सोही नीतिले व्यवस्था गरेको निर्देशक समितिको बैठक एकपटक पनि बस्न सकेको छैन । नीतिमा बैठक वर्षमा कम्तीमा एकपटक बस्नुपर्ने उल्लेख छ ।
समितिका अध्यक्ष रहेका चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले समितिबारे केही जानकारी नभएको बताए । ‘यस्तो समिति पनि छ र †’ अध्यक्ष बुर्लाकोटीले सौर्यसँग भने, ‘मैले त यो समिति छ भन्ने त तपाईं (सौर्यकर्मी)ले भनेपछि पो थाहा पाउँदै छु ।’
नीतिको अनुसूची १ को व्यवस्थाको प्रतिलिपि सौर्यले उपलब्ध गराएपछि बुर्लाकोटीले आश्चर्य व्यक्त गर्दै भने, ‘समितिको अध्यक्ष त मै रहेछु त † तर, मलाई आजसम्म पनि यसबारे कसैले जानकारी दिएनन् ।’
उनले महाशाखा प्रमुखको जिम्मेवारी फेरिनासाथ समितिका सदस्य–सचिवले जानकारी गराउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।
समितिका सदस्य–सचिव तथा अनुगमन मूल्यांकन, जनस्वास्थ्य प्रशासन महाशाखा प्रमुख श्रीकृष्ण भट्टले पनि समितिबारे पहिलोपटक सुनेको बताए । ‘समितिबारे सबैलाई जानकारी गराउने तथा कामकारबाही अगाडि बढाउने त सदस्य–सचिवले हो,’ सदस्य–सचिव भट्टले भने, ‘तर म आफू सदस्य–सचिव रहेको समितिबारे मलाई नै थाहा रहेनछ ।’
उनले महाशाखामा सरुवा आएको धेरै समय नभएको र महाशाखाले पनि कुनै जानकारी नगराउँदा समितिबारे बेखबर भएको बताए । उनीभन्दा अघि समितिका सदस्य–सचिवमा डा. पदमबहादुर चन्द थिए । चन्दले पनि कुनै जानकारी नपाएको बताए ।
समितिको काम अगाडि बढ्न नसक्दा स्वास्थ्य संस्थाको गुणस्तरसम्बन्धी नियमन, गुणस्तर निर्धारण शाखालाई गुणस्तरीय कार्यक्रम गर्न मार्गदर्शन, स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि राष्ट्रिय गुणस्तर निर्धारण नीति परिमार्जन तथा रणनीति निर्माणलगायत कार्य हुन सकेको छैन ।
नीतिले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाअन्तर्गत छुट्टै गुणस्तर निर्धारण शाखा रहने व्यवस्था गरेको छ । सोही शाखाले गुणस्तरका सबै काम गर्ने भनिएको छ । महाशाखाले १६ देखि ५० बेडसम्मको अस्पतालको स्वीकृति दिने शाखालाई गुणस्तर शाखा भनेको छ । महाशाखाले नै समितिबारे जानकारी गराउने र गुणस्तरका लागि आवश्यक कदम चाल्नुपर्ने भए पनि महाशाखा प्रमुखको बेवास्ताका कारण नीतिअनुसार काम हुन नसकेको मन्त्रालयले जनाएको छ ।
महाशाखा प्रमुख डा. सरोजप्रसाद राजेन्द्रले नीतिको पुस्तक नै बनाएर सबैलाई दिइएको दाबी गरिन् । उनले भनिन्, ‘पुस्तक दिइएकाले कसैले थाहा छैन भन्न मिल्दैन ।’
नीतिलाई पुस्ताकार बनाइए पनि महाशाखाभन्दा बाहिर नगएको महाशाखाकै कर्मचारी बताउँछन् । उनीहरूका अनुसार ती सबै पुस्तक स्टोरमा थन्किएका छन् ।

विद्यार्थीलाई आएको पैसामा रेक्टरको रजाइँ

-प्रवीण ढकाल
काठमाडौं, १४ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका शिक्षाध्यक्ष (रेक्टर) डा.श्रीकृष्ण गिरीले विद्यार्थीका लागि आएको करिब एक लाख अमेरिकी डलरमा आफै विद्यार्थी बनेर मस्ती गरेका छन् । पाँच जना विद्यार्थीलाई विदेशमा तालिम दिन आएको रकम उनी एक्लै चार देश घुमेर सकेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरूलाई ‘जुनियर डाक्टर ट्रेनिङ’ शीर्षकमा ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्ेरनिङ’ शीर्षकमा वार्षिक १९ हजार युरो दिने गरेको छ । डा.गिरीले विद्यार्थीका तर्फबाट कोही पनि तालिममा जान नमानेको भन्दै गत आर्थिक वर्ष डब्लुएचओले दिएको रकममा रजाइँ गरेका थिए ।
सो रकममा अध्ययनका लागि पठाउने नामको छनोट न्याम्सको एकेडेमी काउन्सिलले गर्छ, जसको अध्यक्ष डा.गिरी स्वयं हुन् । ११ सदस्यीय काउन्सिलमा डेढ वर्षदेखि ६ जना मात्रै छन् । उनीहरू पनि प्राय: गिरीले नै नियुक्ति गरेका भएकाले उनलाई निर्णय गराउन कुनै समस्या भएन । डब्लुएचओको पैसामा उनी एक्लैले अस्ट्रेलिया, श्रीलंका, स्विजरल्यान्ड र अस्ट्रिया भ्रमण गरेका थिए ।
डब्लुएचओले पोस्ट ग्रयाजुएट गरिरहेका चिकित्सकहरूलाई थेसिस लेख्न सिकाउने तथा रिसर्च गर्न सिकाउने उद्देश्यले विदेशमा अध्ययन गर्नका लागि उक्त शीर्षकमा रकम उपलब्ध गराउने गर्छ । गत आर्थिक वर्षमा कुनै पनि विद्यार्थी जान नमानेकाले आफू गएको डा.गिरीको दाबी छ । डब्लुएचओको पैसामा विदेशमा गएको कुरा गत ७ भदौमा न्याम्समा भएको छलफलमा उनले स्वीकार गरेका थिए ।
छलफलका एक सहभागीका अनुसार रेसिडेन्ट डाक्टरहरूले डब्लुएचओको पैसाको विषयमा कुरा उठाएपछि डा.गिरीले रेसिडेन्ट चिकित्सकहरूलाई अध्ययनका लागि जाने भनेर सोधेको तर कोही पनि जान नमानेपछि आफै गएको दाबी गरे । तर, उनले त्यस विषयमा कसैलाई नसोधी सुटुक्क निर्णय गराएको स्रोतले बतायो ।
विद्यार्थीको पैसामा शिक्षाध्यक्ष आफै अध्ययनका लागि जानुभएछ नि † भन्ने प्रश्न राख्दा डा.गिरीले अरू कोही जान नमानेकाले आफू गएको बताए । ‘वास्तवमा त्यो रकम विद्यार्थीका लागि भनेर नै तोकेर आएको थिएन । रकम आएपछि मैले अरूलाई जाने कोही छ भनेर सोधेको हुँ’, उनले सौर्यसँग भने, ‘तर अध्ययनका लागि जाने कोही नदेखिएपछि म गएको हुँ ।’ संगठनले जुन विषयमा अध्ययनका लागि रकम दिन्छ त्यो विषय निकै गाह्रो हुने भएकोले कसैले पनि आँट नगरेको उनको भनाइ छ ।
सो शीर्षकको रकममा तीन वर्षअगाडि न्याम्सको सहमतिमा युरोलोजीका डा.यौवनचन्द्र शिवाकोटी गएका थिए भने दुई वर्षअगाडि प्लास्टिक सर्जन डा.पीयूष दाहाल गएका थिए । तर, गत वर्ष भने रेक्टरले कसैलाई खबर नगरी आफै गएको थाहा पाएपछि वीर अस्पतालको हाडजोर्नी विभागका चिकित्सक र न्याम्समा अध्ययनरत आवासीय चिकित्सकहरूले भदौ पहिलो साता विरोध जनाएका थिए ।
यस विषयमा रेक्टर डा.गिरीसँग ६ गते कुरा गर्न खोज्दा ग्यास्ट्रो विभागका डा.जैनेन्द्र चौधरीसँग उनको भनाभन नै भएको थियो । संगठनको रकम र न्याम्सले ३ भदौमा एमडी, एमएस, एमसिएच, बिएन र स्टाफ नर्सको भर्ना खोलेको विषयमा छलफल हुँदा डा.गिरीले आक्रामक रूपमा कुरा गरेपछि झन्डै हातहालाहालको स्थिति आएको डा.चौधरीले बताए । डा.चौधरीले रेक्टरले आफूमाथि हातपात गरेको र सुरक्षाको अवस्था नरहेको भन्दै न्याम्स उपकुलपति डा.दामोदर पोखरेलसमक्ष उजुरी दिएका छन् । रेक्टर डा.गिरीले पनि चिकित्सकले आफूलाई हातपात गरेको भनी सुरक्षाको माग गर्दै उपकुलपतिसमक्ष उजुरी दिएका छन् ।
दुवैपक्षबाट आएको उजुरीलाई समाधान गर्न उपकुलपति डा.पोखरेलले छानबिन समिति बनाएका थिए तर छानबिन समितिले उपकुलपतिसमक्ष प्रतिवेदन बुझाउन नपाउँदै रेक्टर डा.गिरीले आफूनिकटका कर्मचारी संगठनलाई प्रयोग गरी न्याम्समा तालाबन्दी गराएका छन् । डा.गिरीले उपकुलपतिले चासो नदिएपछि कर्मचारीहरूले आफ्नो समस्या बुझेर आफै ताला लगाएको बताएका छन् ।
‘कर्मचारीहरूले मप्रति अन्याय भएको बुझेर नै यसो गरेका हुन्’ उनले भने तर न्याम्सका आवासीय चिकित्सकहरू भने डा.गिरीले छानबिन समितिमार्फत पोल खुल्ने डरले न्याम्समा ताला लगाउन लगाएको बताउँछन् । डा.गिरीको रेक्टरको पदावधि आगामी पुसबाट समाप्त हुँदै छ ।