Pages

Wednesday, June 15, 2011

हानिकारक हुन सक्छ खुट्टा बाउँडिने समस्या

image

पिँडुला बाउँडिनसाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काई पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैताला थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले बाँध्नु सट्टा रबरको ब्यान्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुन्छ

चाबहिलको हेल्पिङ हेन्ड्स अस्पतालमा गत साता खुट्टाको पिँडुला फर्किने -खुट्टा बाउँडिने) समस्याको उपचार गर्न आएका सिन्धुपाल्चोकका श्यामकृष्ण आचार्य चिकित्सकले पिडुला फर्किएपछि बेस्सरी कसेर बाँध्न नहुने बताएपछि एकपटक झस्के । आचार्यले सधैँ पिडुला फर्किएपछि डोरी तथा कपडाले बेस्सरी पिडुलामा बाँधेर सुत्ने गरेका थिए । चिकित्सकले पिँडुला बाउँडिएपछि खुट्टा कसेर बाँध्नु भनेको झन् खतरा बढाउनु हो भनेपछि उनले अबदेखि कहिल्यै खुट्टा बाउँडिएपछि कसेर नबाँध्ने बताएका छन् । दिनभरि घर तथा खेतको काममा व्यस्त हुने आचार्यको पिँडुला सुत्नेवेला दुख्ने, कटकटी खाने तथा हप्तामा दुईपटक पिँडुलाको मांसपेशी फर्किएर पीडा हुन गरेपछि उनी उपचारका लागि अस्पताल आएका थिए । 'सुत्ने वेला पिँडुला कटकटी दुख्न थालेपछि डोरीले बाँध्दा दुखाइ कम हुने, नबाँध्दा त सुत्नै सकिँदैनथ्यो, तर पिँडुला बाँध्दा खुट्टाको रक्तसञ्चारमा अवरोध भएर अरू समस्या पो देखिने रहेछ,' उपचार गरी फर्किंदै गरेका आचार्यले भने, 'अबदेखि खुट्टा बाउँडियो भने माथितिर पैताला फर्काएर मालिस गर्न लगाउँछु, तर डोरीले कसेर बाँध्दिन ।'

अस्पतालका चिकित्सकहरूका अनुसार दिनभरिको व्यस्तता र आराम अभावमा खुट्टा बाउँडिने समस्याबाट पीडितको संख्या बढ्दै गइरहेको छ । अधिकांश व्यक्तिमा यो रोग राति देखापर्ने भएकाले यसलाई राति उत्पन्न पीडादायी रोग पनि भन्ने गरिन्छ । अस्पतालका अर्थोपेडिक सर्जन डा. हेम लिम्बूका अनुसार खुट्टा बाउँडिँदा पिँडुलाको मासु फर्किएर अगाडि आउँछ र पिँडुलाको मांसपेशी भित्र सिल्का हानेजस्तो हुने र कटकटी दुख्ने गर्छ । 'खुट्टाको पिँडुला बाउँडियो वा दुख्यो भने धेरैले दुखाइ कम गर्न डोरी वा कपडाले बाँध्ने गर्छन्,' डा. लिम्बू भन्छन्, 'यसो गर्दा उनीहरूलाई पीडा कम हुने र निदाउन सहज हुने भए पनि डोरी वा कपडाले बाँध्दा खुट्टाको औँलासम्म रगत प्रवाह हुन नपाई नीलो हुन सक्ने र खुट्टा काम नलाग्ने हुन सक्छ ।'

उनका अनुसार यस्तो समस्या भएकाले सावधानी नपुर्‍याउँदा खुट्टै काम नलाग्ने भई काट्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले पिँडुला बाउँडिने तथा फर्किने वा दुखेको वेला हल्का ढंगले पिँडुलामा मसाज गर्नु लाभदायी हुन्छ । मसाज गर्दा दुखाइमा कमी आउनुसाथै आराम महसुस हुने भएकाले बिस्तारै मसाज गर्ने वा दुखेको भागलाई पानीमा भिजाउने आदि गर्नुपर्छ ।

खुट्टा बाउँडिने समस्या अकस्मात हुने गर्छ । यो समस्या दिनभरि काममा व्यस्त हुने, मांसपेशीको बढी प्रयोग, रगतको पर्याप्त प्रवाह नहुने वा नसामा समस्यालगायत कारणले हुने गरेको डा. लिम्बूले बताए । उनी भन्छन्, 'मांसपेशीको बढी व्यस्त हुने व्यक्ति जस्तै खेलाडी, हिमाल आरोही, दौडने व्यक्तिमा यस्तो समस्या देखिने गर्छ ।' उनका अनुसार मानिसको शरीरमा क्याल्सियम तथा इलेक्ट्रोलाइटसको मात्रा कम भएर तथा अन्य रोगका कारण पनि यो समस्या हुने गरेको छ ।

पिँडुला फकिर्ंदा तथा बाउँडिँदा अत्यधिक पीडा हुन्छ, तर त्यो केही क्षणका लागि मात्र हुन्छ । केही व्यक्तिमा एक वा दुई मिनेटसम्म हुन्छ भने केहीमा १० मिनेटसम्म हुने गर्छ । बाहिरबाट झट्ट हेर्दा केही नदेखिने, तर पीडितलाई भित्रभित्रै पीडा दिएर कमजोर तुल्याउने यो रोग उपचारका लागि हत्तपत्त अस्पताल जाने गरेको पाइँदैन । डा. लिम्बू भन्छन्, 'यस रोगको दुखाइ कसैलाई केही मिनेट हुने र बिस्तारै घट्दै जाने हुन्छ, तर कसैलाई भने लामो समयसम्मै सिल्का हानेजस्तो पिँडुला कटकटी दुख्ने हुन्छ । यसकिसिमको पीडाले विशेषगरी राति सुत्ने वेला सताउने र बिहान फेरि ठीक भएजस्तो महसुस हुने भएकाले बिरामी उपचार गर्न हेलचेक्य्राइँ गर्छन् ।' उनले दिनभरिको व्यस्ततापछि राति सुत्ने वेला खुट्टाको पिँडुला कटकटी दुखेको महसुस हुन्छ अथवा हातका तिघ्रा, औँला र पाखुरामा पनि दुखाइसँगै निद्रा बिथोलिन्छ भने हेलचेक्य्राइँ नगर्न सुझाव दिएका छन् । भन्छन्, 'यस्तो समस्या छ भने समयमै उपचार गर्नु आवश्यक छ अन्यथा यो समस्याले झन् जटिल रूप लिन सक्छ ।'

दुखाइका कारण

खुट्टाको पिँडुला फर्किएपछि अर्थात् बाउँडिएपछि त्यस क्षेत्रका मांशपेसी च्यातिन्छ । जसकारण्ा हात-खुट्टा दुख्नेलगायत विभिन्न समस्या देखापर्छन् । डा. लिम्बूका अनुसार काममा व्यस्त हुँदा शरीरलाई पर्याप्त पानी साथै अन्य खनिज पदार्थको कमी हुन पुग्छ । फलस्वरूप हात-खुट्टा कटकटी दुख्ने समस्या देखापर्ने गर्छ । यसकिसिमको दुखाइ अचानक हुन सक्छ । डा. लिम्बू भन्छन्, 'मांसपेशी आवश्यकताभन्दा बढी प्रयोग गर्ने व्यक्ति पीडित हुन्छन् ।' हात-खुट्टासँगै शरीरलाई पर्याप्त आरामको जरुरत पर्छ ।

सन्तुलित भोजनसँगै शरीरलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम आदिको आवश्यकता पर्छ । तर, काममा व्यस्त भइरहने व्यक्तिले स्वास्थ्यप्रति ध्यान दिन नपाउने भएकाले पनि यी विभिन्न समस्या देखापर्ने डा. लिम्बूले बताए । त्यस्तै, रगत प्रवाह हुने धमनीमा रोकावट आयो भने तथा ढाडको नसा च्यापियो भने पनि पिँडुला दुख्न सक्छ । खुट्टा झुन्ड्याएर वा खुम्च्याएर बस्दा तथा काम गर्दा रगत सुचारू रूपले प्रवाह हुन नपाई पिँडुला तथा तिघ्रा दुख्न सक्छ । यस्तो दुखाइ केही मिनेटपछि बिस्तारै कम हुँदै जान्छ । डा. लिम्बूले उच्च रक्तचाप भएका बिरामीले खाने औषधिले शरीरमा भएको पोटासियम मात्रामा कमी ल्याउने भएकाले यसकिसिमका बिरामीले पनि पिँडुला दुख्ने समस्या बेहोर्नुपरेको तथा मधुमेह, एनिमिया, थाइराइडबाट पीडितलाई पिँडुला दुखाइले सताउने गरेको बताए ।

गर्भवतीलाई बढी खतरा

पिँडुला कटकटी दुख्ने तथा फर्किने समस्याबाट गर्भवती महिला बढी पीडित भएको पाइएको छ । चिकित्सकहरूका अनुसार गर्भवती महिलामा हर्मोन उत्पादन बढी भइरहेको हुन्छ । जसले गर्दा शरीरमा थकान गराउने तथा मांसपेशीलाई तन्काउने गरेको हुन्छ । डा. लिम्बू भन्छन्, 'गर्भवती महिलामा प्रोजेस्टेरोन हर्मोन बढी उत्पन्न भइरहेको हुन्छ, त्यसले महिलाको मासंपेशी तन्काउने तथा कमजोर बनाउने भएकाले पिँडुला फर्किन सक्छ ।' उनले यस्तो वेला महिलाले मांसपेशीको मसाज गर्नुपर्ने सुझाव दिए । त्यस्तै, खुट्टा तुर्लुंग झुन्ड्याएर बस्ने वा उभिएर काम गर्ने व्यक्ति पिँडुला दुखाइबाट बढी पीडित हुने उनले बताए । उनका अनुसार यीबाहेक पिँडुला कटकटी दुख्ने, हातको पाखुरा-औँला दुख्ने आदि समस्याबाट पीडित र स्वास्थ्यको ख्याल नगरी काममा व्यस्त हुने व्यक्ति यो समस्याबाट पीडित छन् । बिहानदेखि साँझसम्म काममा व्यस्त हुने गृहिण्ाी र खेलाडी बढी हिँडडुल गर्नुपर्ने व्यक्ति पिँडुला दुख्ने समस्याबाट बढी पीडित छन् ।

यसो गर्दा राम्रो

पिँडुला तथा तिघ्राको मांसपेशी बाउँडिएर फर्किनासाथ डोरी तथा कपडाले बाँध्नु हँुदैन । यस्तो समस्या हुनासाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काएर पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैतालामा थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले कसेर बाँध्नु सट्टा रबरको ब्यन्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुने डा. लिम्बूले बताए । यसैगरी, कहिलेकाहीँ मात्र दुख्ने पिँडुला तथा तिघ्राको पनि के उपचार गर्न जानु भनी यत्तिकै बस्नु हुँदैन । यसकिसिमको समस्याबाट पीडितले वेलैमा सम्बन्धित चिकित्सकसँग उपचार गराएर सावधानी अपनाउनु आवश्यक छ । यसका साथै दैनिक प्रशस्त पानी पिउने, मांसपेशीलाई आराम दिने, भिटामिन खाने, जुस तथा खनिज पदार्थको सेवन गर्दा पनि यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

अनिवार्य फिजियोथेरापी गरौँ

खुट्टाको मांसपेशी दुखेर बाउँडिनु तथा फर्किनु भनेको त्यस आसपासका मांसपेशी च्यातिनु हो । एकपटक समस्या भएपछि बारम्बार समस्या देखिने तथा च्यातिएको मांसपेशीका कारण थप जटिल समस्या आउने भएकाले चिकित्सकहरूले यस्तो समस्याबाट पीडितलाई अनिवार्य रूपमा फिजियोथेरापी गर्न भनेका छन् । डा. लिम्बूका अनुसार पिँडुला बाउँडिएर र्फकनु भनेकै त्यस आसपासका मांसपेशी तन्किएको तथा च्यातिएको अवस्थामा हुनु भएकाले तुरुन्त फिजियोथेरापी गर्न आवश्यक छ । उनले एकपटक फर्किएको पिँडुलाको मांसपेशी कमजोर अवस्थामा रहिरहने भएकाले सचेत रहन सुझाव दिएका छन् ।

No comments:

Post a Comment