Pages

Thursday, February 10, 2011

कान्ति अस्पतालको नयाँ भवन सञ्चालनमा नआउँदै चर्कियो

image

सहरी विकास तथा भवन निर्माण विभागले भवनको प्राविधिक पक्षको अध्ययन गरेर प्रतिवेदन दिने भनेको नै १० महिना पुग्न लागिसक्यो, तर आजसम्म प्रतिवेदन आएको छैन

काठमाडौं, २६ माघ

कान्ति बाल अस्पतालको नवनिर्मित दुई सय शय्याको भवन सञ्चालनमा नआईकनै चर्केको छ । निर्माण कम्पनीले एक वर्षअघि अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको भवनका हरेक तलाका भित्ताहरू अस्पताल सञ्चालन आउनुअघि नै चर्कन सुरु भएको हो ।

साकुरा निर्माण सेवाद्वारा चार करोड २० लाखको लागतमा निर्मित सो भवन तीन वर्षअघि बनिसकेको भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनीले अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको केही दिनपछि नै भवनका भित्ताहरू चर्कन सुरु भएपछि सेवा सञ्चालन हुन नसकेको अस्पतालका निर्देशक डा. तीर्थराज बुर्लाकोटीले बताए । 'नयाँ भवनमा थप शय्या विस्तार गर्नेक्रममा सफासुग्घर गर्दा हरेक तलाका भित्ता चर्केको पाएपछि सुरक्षाको कारण सेवा सञ्चालन गर्न नसकिएको हो,' उनले भने ।

नयाँ भवनका भित्ता चर्केको पाइएपछि अस्पताल प्रशासनले त्यसबारे सहरी विकास तथा भवन निर्माण विभागलाई लिखित जानकारी गराएको थियो । अस्पतालको जानकारीपछि विभागका इन्जिनियरले भवनको प्राविधिक परीक्षण गरे पनि विभागले त्यसको प्रतिवेदन अझै नदिएको निर्देशक बुर्लाकोटीले बताए ।

'भवनका भित्ताहरू चर्किन थालेलगत्तै विभागका इन्जिनियरलाई बोलाएर जानकारी गराएका थियौँ,' बुर्लाकोटीले भने, 'उनीहरूले भवनको प्राविधिक पक्षको अध्ययन गरेर प्रतिवेदन दिन्छौँ भनेको नै १० महिना पुग्न लागिसक्यो, तर आजसम्म प्रतिवेदन आएन ।' उनले भवन सञ्चालनका लागि सुरक्षित छ वा छैन भन्ने प्रतिवेदन पठाउन पटकपटक ताकेता गर्दा पनि विभागले कुनै चासो नदिएको गुनासो गरे । 'हामीले भवन सञ्चालनयोग्य छ कि छैन भनेर प्रतिवेदन दिन माग गरे पनि विभागले १० महिनादेखि हरेकपटक अर्को हप्ता प्रतिवेदन आउँछ भन्दै टारिरहेको छ,' उनले भने ।

अधिकांश भित्ता चर्केको नयाँ भवन सुरक्षित भए/नभएको प्राविधिक प्रतिवेदन नआएकाले वार्ड सञ्चालन गर्न नसकिएको निर्देशक बुर्लाकोटीले बताए । उनले यति लामो समयसम्म विभागले प्रतिवेदन नदिनुमा केही रहस्य हुन सक्ने आशंका व्यक्त गरे ।

विभागले समयमै प्रतिवेदन नदिँदा भवन निर्माणको जिम्मा पाएको कम्पनीसँग कुरा गर्नसमेत अप्ठ्यारो भएको अस्पताल प्रशासनले जनाएको छ । भवनका भित्तामा बाहिरको प्लास्टर मात्र चर्केको हो वा भित्रैदेखि चर्केको हो भन्ने थाहा नभई कम्पनीसित कुरा गर्नुको अर्थ नहुने भएकाले कुरा गर्न नपाइएको पनि अस्पतालले जनाएको छ । 'निर्माण कम्पनीलाई दोष दिनुअघि हामी भवनको वास्तविक अवस्था जान्न चाहन्छौँ,' प्रशासनका एक कर्मचारीले भने, 'तर विभागलाई पटकपटक पत्र पठाउँदा पनि कुनै प्रतिक्रिया आएको छैन ।'

kanti-hospital-nepalअस्पतालको पत्र पाएपछि विभागका तर्फबाट निरीक्षणमा गएका सिनियर डिभिजन इन्जिनियर सागरकृष्ण जोशीले भने भवन चर्केको गुनासो आएपछि अनौपचारिक रूपमा निरीक्षण गर्न गए पनि अस्पतालबाट निरीक्षणका लागि त्यस्तो कुनै पत्र नै नआएको दाबी गरे । 'अनअफिसियल रूपमा अस्पतालको भवन निरीक्षण गर्न गएको थिएँ,' उनले भने, 'तर मलाई त्यसको निरीक्षण गर भनेर पत्र नआएकाले त्यस विषयमा के भइरहेको छ भन्ने कुनै जानकारी भएन ।'

तर, विभागको स्वास्थ्य भवन इकाईप्रमुख काशिनाथ गुप्ताले भने अस्पतालबाट भवन निरीक्षण गर्न भनेर नौ महिनाअगाडि पत्र आएको स्वीकार गरे । उनले भने, 'त्यतिखेर अस्पतालबाट पत्र आएपछि निरीक्षण गरिएको थियो । तर, पछि अस्पतालबाट कुनै जानकारी नआएकाले यस विषयमा कुनै निर्णय भएको छैन ।' उनले तत्काल त्यस विषयमा निरीक्षण टोली गठन गरेर काम अगाडि बढाएको भए तुरुन्तै काम सम्पन्न हुने जानकारी दिए ।

नयाँ भवन सञ्चालनमा आउन नसक्दा उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्न बाध्य भएको निर्देशक बुर्लाकोटीले बताए । नयाँ भवनमा समस्या आएपछि थप दुई सय शय्या विस्तार कार्यक्रम स्थगित भएको छ । एकमात्र सरकारी बाल अस्पतालमा बेड नपाएपछि बिरामीका आफन्तले निजी स्वास्थ्य संस्थामा पाँच गुनासम्म महँगो शुल्क तिर्नुपरिरहेको उनले बताए । 'के गर्नु बिरामीका आफन्त निजी स्वास्थ्य संस्थामा यहाँभन्दा पाँच गुनासम्म महँगो शुल्क तिर्न बाध्य छन्,' उनले भने, 'सेवा थप्न निर्माण गराइएको भवनको हालत त्यस्तो छ । भवन अभावमा सेवा थप गर्न सकिएको छैन ।'

अस्पतालमा दैनिक चार सयका हाराहारीमा बिरामी आउने गरेका छन् । गर्मीयाम र वषर्ातको समयमा दैनिक साढे पाँच सयसम्म बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 'हामीसँग तीन सय शय्या सञ्चालनमा छन्, बेड थप हुन नसक्दा बिरामीलाई बाहिर रिफर गर्न बाध्य छौँ,' बुर्लाकोटीले भने । विशेष गरी सर्जरी र आइसियुका बिरामीलाई बेड अभावमा फर्काउनुपरेको उनले बताए ।

सरकारले नयाँ भवन बनाउन र उपकरण राख्न बजेट दिए पनि दरबन्दी थप्न स्वीकृति नदिँदा थप समस्या रहेको अस्पतालले जनाएको छ । 'केही उपकरण छन्, नपुगेका उपकरण थप्दै जाने हो । तर, हामीसँग जनशक्ति अभाव छ,' निर्देशक बुर्लाकोटीले भने । जनशक्ति थप गर्न पटकपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । हाल अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको पनि उनले बताए । 'पुरानै दरबन्दीको पनि १७ जना डाक्टर छैनन्, बिरामीको चाप बढ्दो छ,' उनले भने, 'यही दरबन्दीमा नयाँ भवनमा जसोतसो नयाँ शय्या सञ्चालन गर्ने योजना थियो, त्यो पनि कार्यान्वयनमा आउन सकेन ।' अस्पतालमा सर्जरी, एनेस्थेसिया, रेडियोलोजी र मेडिसिनका विशेषज्ञ चिकित्सक नरहेको उनले स्वीकारे ।

स्वास्थ्यसचिव डा. सुधा शर्मालेे बाल अस्पतालको नयाँ भवनको विषयमा निर्माण विभागले प्रतिवेदन दिएपछि सञ्चालनका लागि आवश्यक दरबन्दी थप गर्नेगरी तयारी भइरहेको बताइन् । 'हामी अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट सर्भेको प्रक्रियामा छौँ, उनले भनिन्, 'फाइल अघि बढिसकेको छ ।' विभागको प्रतिवेदन आएपछि अर्थ र सामान्य प्रशासन मन्त्रालय तथा लोक सेवाको अनुमति लिएर दरबन्दी थप्ने प्र्रक्रिया अघि बढाइने उनले बताइन् । उनले अस्पतालको भवन चर्किनुमा निर्माण कम्पनीको लापरबाही हुन सक्ने संकेत गरिन् ।

No comments:

Post a Comment