Pages

Monday, August 10, 2015

भरपर्दो साथीबाटै धोका हुने डर

प्रवीण ढकाल
काठमाडौं, ८ जेष्ठ - अनिच्छित गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ? सावधान! भरपर्दो साथीबाटै धोका पाउनुहोला।
सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा महिलाका लागि निःशुल्क उपलब्ध हुने पिल्स (खाने चक्की) सेवन गरेकाले गर्भ रहँदैन भनेर ढुक्क हुन नसकिने सरकारी प्रयोगशालाकै अध्ययनले पुष्टि गरेको हो।
औषधिको गुणस्तर परीक्षण गर्ने सरकारी निकाय औषधि व्यवस्था विभागको प्रयोगशाला परीक्षणमा सरकारले देशभर वितरण गरेको ‘पिल्स' मापदण्डविपरीत र कमसल फेला परेको छ। विभागले देशभर वितरित औषधिको नमुना संकलन गरेर परीक्षण गरेको थियो। तिनै औषधि अहिले पनि देशभरका स्वास्थ्य संस्थामा वितरण भइरहेका छन्।
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ।

पिल्सलाई परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन मानिन्छ। छोटो गर्भान्तर चाहने महिलालाई यो निकै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरे गर्भ रह“दैन। तर यो चक्की खान छाडे महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छन्।
चिकित्सकका अनुसार कम डोजका औषधिले पर्याप्त मात्रामा काम नगर्ने भएकाले यस्ता औषधि सेवन गर्ने धेरैमा गर्भ रहने सम्भावना अत्यधिक हुन्छ। मापदण्डविपरीत र कम डोजका औषधिले पूर्ण रूपमा काम नगर्ने भएकाले यस्ता औषधिमा भर पर्न नहुने चिकित्सकको भनाइ छ।
विभागले विभिन्न सातवटा ब्याचका औषधिको नमुना परीक्षण गरेको थियो। मापदण्डअनुसार औषधि नपाएपछि विभागले तुरुन्त त्यस्ता औषधि फिर्ता ल्याउन स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिसकेको छ।
विभागका महानिर्देशक गजेन्द्रप्रसाद भुजूका अनुसार स्वास्थ्य संस्थामा वितरित औषधिका धेरै ब्याचमा खराबी पाइएको छ। ‘हामीले नमुना परीक्षण गर्दा औषधि गुणस्तरीय पाइएन,' उनले भने, ‘मापदण्ड नै पूरा नभएका यस्ता औषधि वितरण गर्नुहुँदैन भनेर स्वास्थ्य विभागलाई पत्राचार गरेका हौं।' 
विश्व स्वास्थ्य संगठनले औषधिमा हुनुपर्ने गुण र मात्राको मापदण्ड तोकेको छ। परीक्षित औषधिमा हुनुपर्ने डोज (मात्रा) पनि नरहेको पाइएको छ। कतिपय चक्कीमा त लेभलसमेत औषधिअनुसार भेटिएन। 
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ।
सन् २०११ उत्पादन मिति रहेका ती औषधि भारतस्थित फार्म एसिया लिमिटेडद्वारा उत्पादित हुन् जसमा ब्रान्डसमेत उल्लेख छैन। कम्पनीले ‘ओरल कन्ट्रासेप्टिभ पिल्स' नाम राखेरै सरकारलाई यस्तो औषधि उपलब्ध गराउँदै आएको छ। औषधि उत्पादक कम्पनीले नै कम गुणस्तरका औषधि नेपाल पठाएको विभागका कर्मचारी बताउँछन्। 
‘भारतबाट आएका औषधिको मात्रा यहाँ घटाउन मिल्दैन,' विभागका कर्मचारी भन्छन्, ‘ल्याब परीक्षणका क्रममा औषधि कम डोजका पाइनु र चक्कीहरूको मात्रा पनि फरक–फरक हुनुमा कम्पनीले नै बद्मासी गरेको स्पष्ट हुन्छ।' विभागले अन्य ब्याचका औषधिमा समेत मापदण्ड नपुगेको आशंकामा परीक्षण गरिरहेको जनाएको छ।
पिल्स एक साइकल (एक पुरिया) जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। तीमध्ये सातवटा खेरो चक्की आइरन हो भने बाँकी हर्मोनल। खैरो चक्की महिलाले महिनावारी भएको दिनदेखि सात दिनसम्म खानुपर्छ भने बाँकी २१ वटा सेतो चक्की अन्य दिन। महिलालाई गर्भ राख्न मन लागे औषधि खान छाडे पुनः उनको प्रजनन् शक्ति फर्किने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्।

उक्त औषधि विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले भारतबाट खरिद गरी ल्याएको हो। परिवार स्वास्थ्य महाशाखाले यसलाई देशभर वितरण व्यवस्था मिलाउँछ। परीक्षणमा खराब देखिएका औषधि ल्याउँदा आपूर्ति महाशाखामा मिङ्मार ग्याल्जेन शेर्पा निर्देशक थिए। शेर्पा हाल भ्रष्टाचार आरोपमा अख्तियार हिरासतमा छन्। उनले केही महिनाअघि मात्र स्वास्थ्य सेवाबाट अवकास लिएका थिए। सुत्केरी गराउँदा प्रयोग हुने मिसोप्रोस्टल खरिदमा अनियमितता देखिएपछि शेर्पालाई अख्तियारले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। मिसोप्रोस्टल ४० जिल्लामा निःशुल्क वितरण गरिँदै आएको छ।
शेर्पाले १३ करोड २२ लाख ६४ हजार रुपैयाँ (भन्सार शुल्क, करलगायत शुल्कबाहेक) बराबरको औषधि खरिद गर्न उक्त कम्पनीसँग तीनवर्षे खरिद सम्झौता गरेका थिए। सन् २०११ जनवरी २३ मा भएको उक्त सम्झौतामा तीन वर्षभित्र कम्पनीले ७२ लाख साइकल (पुरिया) औषधि नेपाल पठाउनुपर्छ। सम्झौताअनुसार नै कम्पनीले प्रत्येक वर्ष २४ लाखका दरले औषधि पठाइसकेको छ। पहिलो र दोस्रो वर्षका अधिकांश औषधि महिलाले सेवन गरीसकेका छन् भने तेस्रो वर्ष नेपाल भित्त्याइएको औषधि भने धमाधम वितरण भइरहेको छ। 
औषधिको नेपाल डिस्ट्रिब्युटर हस्पिटेक इन्टरप्राइजेज हो। इन्टरप्राइजेजले औषधिमा समस्या देखिएको जानकारी पाएलगत्तै साट्न तयार भएको पत्र विभागमा पठाइसकेको छ। 
पिल्स एक साइकल (एक पुरिया) जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। तीमध्ये सातवटा खेरो चक्की आइरन हो भने बाँकी हर्मोनल। खैरो चक्की महिलाले महिनावारी भएको दिनदेखि सात दिनसम्म खानुपर्छ भने बाँकी २१ वटा सेतो चक्की अन्य दिन। महिलालाई गर्भ राख्न मन लागे औषधि खान छाडे पुनः उनको प्रजनन् शक्ति फर्किने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्।

-बिहीबार ८ जेष्ठ, २०७१


No comments:

Post a Comment