-प्रवीण ढकाल
काउन्सिलले डा. रावतको अनुमतिपत्र नवीकरण नगर्ने बताएपछि मन्त्रीले दबाब दिएर नयाँ दर्ता नम्बर दिने निर्णय गराएका हुन् । काउन्सिलको ऐनमा विदेशी डाक्टरको दर्ता नवीकरण नभएपछि पुन: नयाँ दर्ता नम्बर दिने व्यवस्था छैन ।
‘नवीकरण नभएकालाई नयाँ दर्ता गराउने कुरा ऐनमा छैन भनी मन्त्रीलाई जानकारी गराएका थियौँ,’ स्रोतले भन्यो, ‘तर मन्त्रीले पुरानो ऐन समयअनुसार परिवर्तन गर्नुपर्ने भन्दै दबाब दिनुभयो ।’
मन्त्री महतोले हस्तक्षेप गरेपछि काउन्सिलले डा. रावतको अन्तर्वार्ता नै नलिई नयाँ दर्ता नम्बर दिने निर्णय गरेको स्रोतले बतायो । नियमानुसार कुनै पनि विदेशी चिकित्सकलाई विदेशी संस्थाको आवश्यक कागजातपछि अन्तर्वार्ता लिएर मात्र दर्ता नम्बर दिइने प्रावधान छ । तर, काउन्सिलले पहिले निर्णय गरेर डा. रावतलाई आइतबार अन्तर्वार्ताका लागि बोलाएको छ ।
फुल हाउस बैठकमा मन्त्री आएको कुरा स्विकार्दै काउन्सिलका रजिस्ट्रार डा. नीलमणि उपाध्यायले भने, ‘मन्त्रीज्यू अरू नै कामले काउन्सिलमा आउनुभएको थियो, संयोगले त्यो दिन काउन्सिलको फुल हाउस परेको थियो ।’ उनले डा. रावतले दर्ता नवीकरणविना के आधारमा हालसम्म काम गरिरहेका हुन् भन्ने विषयमा काउन्सिलले आइतबार स्पष्टीकरण सोध्न लागेको दाबी गरे ।
काउन्सिलको विदेशी नागरिक चिकित्सक दर्ता समितिका अध्यक्ष डा. मोदनाथ मरहठ्ठाले नेपालमा चिकित्सकीय अभ्यास गर्न विदेशी नागरिकले हरेक वर्ष काउन्सिलबाट दर्ता नवीकरण गर्नुपर्ने बताए । डा. रावतको डेढ वर्षदेखि नवीकरण रोकिएको उनले स्विकारे । नयाँ दर्ता नम्बर दिने विषयमा मन्त्रीले दबाब दिएको विषयमा भने उनले कुरा गर्न चाहेनन् । ‘दर्ता नभएका चिकित्सकले नेपालमा एक दिन पनि काम गर्न पाउँदैनन्,’ उनले भने, ‘डा. रावतको नयाँ दर्ताको विषयमा अहिले कुनै कुरा भएको छैन ।’
नेपाल मेडिकल काउन्सिलमा डा. रावत पहिलोपटक सन् १९९९ जनवरी ३१ मा दर्ता भएका थिए । उनको काउन्सिल दर्ता नम्बर ९१४ हो । सुरुमा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर थापाथलीमा उनी एक वर्षका लागि दर्ता भएका थिए । डा. रावतको अन्तिम दर्ता म्याद ३१ जनवरी २०११ मा समाप्त भइसकेको छ । तर, उनले गैरकानुनी रूपमा अझै नर्भिकमा काम गरिरहेका छन् ।
करिब १४ वर्षअघि नेपाल आएका डा. रावतको यसअघि प्रत्येक वर्ष दर्ता नवीकरण हुँदै आएको थियो । यति लामो समयसम्म विदेशी चिकित्सकलाई अनुमति दिएका उदाहरण निकै कम छन् । स्वदेशी तथा विदेशी कुनै पनि चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकीय अभ्यास गर्न पाउँदैनन् । काउन्सिल नियमावली २०२४, नियम २१ ‘च’को उपनियम ४ बमोजिम विदेशी चिकित्सकको दर्ता बढीमा एक वर्षका लागि मात्र गरिने व्यवस्था छ । विदेशी चिकित्सकले मेडिकल काउन्सिलमा दर्ताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गर्नुपर्छ । काउन्सिलले आवश्यक देखेमा एकपटकमा बढीमा एक वर्ष ननाघ्नेगरी दर्ता नवीकरण गर्न सक्छ । तर, दर्ता नवीकरण पटक–पटक बढाइरहनका लागि नेपालमा अन्य विशेषज्ञ नभएको अवस्था हुनुपर्छ । (सबै भन्दा माथि भारतीय चिकित्सक डा.भारत रावत)
No comments:
Post a Comment