-प्रवीण ढकाल
दुई वर्षअघि मध्यपश्चिम र सुदूरपश्चिमका १८ जिल्लामा फैलिएको हैजाको महामारीका कारण तीन सयभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष विगतका वर्षको जस्तो हैजाको प्रकोप आउन नदिन पूर्ण सतर्कता अपनाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको दाबी छ । तर, विभिन्न जिल्लामा हैजाका बिरामी देखिन थालिसकेका छन् । महाशाखाका निर्देशक डा. जिडी ठाकुरले मौसम परिवर्तन तथा वर्षात्को सुरुआत भएलगत्तै फाट्टफुट्ट हैजा देखिएका स्थानमा उपचारका सबै सेवा पुर्याइएको बताए । भन्छन्, ‘अन्य क्षेत्रमा पनि फैलन नदिन उच्च सतर्कता अपनाइएको छ ।’
सरकारले वैशाखको पहिलो सातादेखि असोजको अन्तिम सातासम्मलाई झाडापखाला र हैजाको खतराको महिनाको सूचीमा राखेको छ । त्यसमा पनि सबैभन्दा बढी खतरा असारदेखि भदौको पहिलो हप्तासम्म वर्षा हुने समयलाई लिएको छ । यो समयमा खानेपानी, खानेकुरा तथा जताततै फोहोर हुने भएकाले हैजाका रोगी बढ्ने गरेको पाइन्छ । ‘यो समयमा गत वर्ष हैजाको महामारी देखिएका १८ वटा जिल्लामा फेरि पनि महामारी आउन सक्छ,’ निर्देशक डा. ठाकुरले भने, ‘ती जिल्लालाई उच्च जोखिमका जिल्लाका रूपमा लिएर सतर्कता अपनाइएको छ ।’ महाशाखा जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुरलाई उच्च जोखिमा राखेको छ । उपत्यकामा पनि हैजाका रोगी बढ्न थालेकाले उपत्यकालाई पनि जोखिम क्षेत्रका रूपमा हेरिएको छ । राजधानीको टेकुमा रहेको सहिद शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा हैजाका बिरामी आउन थालेपछि चिकित्सकले उच्च सतर्कताको सल्लाह दिएका छन् ।
अस्पतालका अनुसार यो झाडापखाला तथा हैजाको जोखिमको बेला हो । डा. ठाकुरले वर्षात्पछि दूषित बनेको पानी पिउने तथा दूषित खाना खानाले हैजाको महामारी फैलन सहयोग पुर्याइरहेको बताए । नेपालमा हैजाको समस्या हरेक वर्ष बढ्दो रूपमा देखिएको छ । डा. ठाकुर भन्छन्, ‘विशेषगरी गरिब बस्ती रहेको र साधारण स्वास्थ्य शिक्षाको ज्ञान नभएका नेपालका दुर्गम क्षेत्रमा विगत दस वर्षदेखि लगातार हैजको बिरामीहरू देखिएका छन् ।’ एक दशकदेखि हैजाको प्रकोप देखिँदै आएकाले यसलाई रोकथाम गर्न यसपटक पूर्ण तयारी गर्दा गर्दै पनि मानिसहरूको आºनै अज्ञानताका कारण रोग देखिएको उनको भनाइ छ ।
के हो हैजा ?
चिकित्सकहरूका अनुसार हैजा सरुवा रोग हो । यो भिब्रियो कलेरा नामक ब्याक्टेरियाका कारण हुने गर्छ । गर्मी र वर्षायाममा बढी यो रोग देखिन्छ । यसलाई तीव्र गतिमा फैलिने संक्रामक रोगका रूपमा पनि लिइन्छ । छोटो तथा सानो समयमा व्यापक क्षेत्रमा फैलिए व्यापक जनधनको क्षति हुने खतरा रहन्छ, यो रोगबाट ।
भिब्रियो कोलेराले आन्द्रामा संक्रमण गर्दा मानिसलाई हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता लागिरहन्छ । तीव्र गतिमा जलहरण हुँदा बिरामी शिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा पुग्छ । हैजाको संक्रमण फैलने प्रमुख कारक भनेको नै दूषित पानी हो । दूषित पानीको सेवनबाट बचे यो रोग नलाग्ने डा. ठाकुर बताउँछन् । उनका अनुसार हैजा मानिसबाट मानिसमा सर्ने सम्भावना जम्मा तीन प्रतिशत मात्र हुन्छ । हैजा रोग संक्रमित व्यक्तिको मलमूत्र र बान्ताबाट अरूमा सर्छ । यो रोग सर्नुमा व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छता पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।
वर्षात्को मौसम तथा गर्मीमा पानीका मुहान फोहोर हुने र पकाइएको खाद्यवस्तु केही घन्टामै कुहिने, बेस्वाद र बेरङ हुने समस्या हुन्छ । किनभने गर्मीमा सूक्ष्म जीवहरू छिटो एवं बढी सक्रिय हुन्छन् । यस्तो बेलामा पिउने पानी र खाद्य पदार्थ छिट्टै विषाक्त बन्छन् । यसकारण यस्ता पानी र खाद्यपदार्थ खानुअगाडि राम्रोसँग हेरेर वा खानयोग्य छ कि छैन ? बुझेर मात्र खानुपर्छ । वर्षात् तथा गर्मीमा पानीको स्रोत दूषित हुने र अन्य स्थानमा पनि फोहोर हुने गर्छ । यो समयमा सरसफाइको कमी, सडेगलेका फलफूल, जथाभाबी खाना र पानीमा ध्यान नदिँदा हैजा तथा अन्य रोगले आक्रमण गर्छन् । बासी, सडेगलेका वा फोहोर खानेकुरा र फोहोर पानीको प्रयोग नै हैजा रोगको मुख्य कारण हो ।
No comments:
Post a Comment