Pages

Thursday, August 11, 2011

यस वर्षको भाइरल ज्वरो कडा

image

चितवनमा भाइरल ज्वरोका बिरामीको संख्या एक्कासी बढेपछि भरतपुर अस्पतालमा शय्याको अभावमा भुइँमै राखेर उपचार गराइँदै ।

नयाँ पत्रिका

काठमाडौं, २५ साउन

देशका अधिकांश स्थानमा फैलिएको भाइरल ज्वरो यसपटक नयाँ र कडा खालको रहेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले सतर्क गराएका छन् । भाइरलका बिरामीको चाप अस्पतालमा बढेलगत्तै चिकित्सक तथा स्वास्थ्यकर्मी नै बिरामी पर्न थालेको पाइएको छ ।

वीर अस्पतालका फिजिसियन डा. भुपेन्द्र बस्नेतका अनुसार मौसम परीवर्तनसँगै देखिएको भाइरल ज्वरोले बिरामीमा थप संक्रमण उत्पन्न गराउने, लामो समयसम्म निको नहुनेजस्ता समस्या देखिन थालेको छ । 'यो वर्षको भाइरल ज्वरो विगतको तुलनामा कडा खालको र नयाँ छ,' उनले भने, 'समान्यतया भाइरल ज्वरो दस दिनमा निको हुनेगर्छ । तर, यसपटकको भाइरल २० दिनदेखि एक महिनासम्म निको नभएका, ज्वरो बढी आउने, टाउको धेरै दुख्नेलगायतका थप समस्याहरू देखिएका छन् ।'

उनले अस्पतालमा आएका कडा खालका भाइरलका बिरामीको उपचारमा संलग्न केही स्वास्थ्यकर्मी र चिकित्सकहरू नै बिरामी हुन थालेको बताए । उनका अनुसार अस्पतालमा दैनिकजसो एक सयभन्दा बढी ज्वरोका बिरामी आउने गरेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. वासुदेव पाण्डेले अस्पतालमा आएका बिरामीको लक्षणका आधारमा यसपटक जटिल समस्या देखिएको बताए । 'अस्पतालमा दैनिकजसो आउने ६० देखि ७० जना ज्वरोको बिरामीमा जटिल समस्या देखिएको छ,' उनले भने, 'यसपटक नयाँ खालको भाइरस देखिएकाले अहिलेको अवस्था हेर्दा डरलाग्दो स्थिति छ ।' उनले देशका अधिकांश जिल्लामा फैलिरहेको नयाँ भाइरल ज्वरो कुन भाइरसका कारण हो भन्ने अझै पनि पत्ता लाग्न नसकेको बताए ।

वीर अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा. ध्रुवप्रसाद सिंहले वषर्ात्को समय र मौसममा आएको परिवर्तनले गर्दा यो समयमा भाइरल ज्वरोका भाइरसहरू धेरै सक्रिय हुने गर्दा छिट्टै रोग लाग्ने गरेको बताए । 'यो मौसममा अस्पतालमा भाइरलका बिरामीका कारण घुइँचो नै हुनेगर्छ,' उनले भने । सिंहका अनुसार भाइरल ज्वरो भएका मानिसको शरीरको तापमान एक सयदेखि एक सय तीन डिग्री फरेनहाइटसम्म हुनसक्छ । यो संक्रमणको असर दसदेखि १२ दिनसम्मको हुने भए पनि यसपटक बिरामीहरूमा लामो समयसम्म ज्वरो आउने, बेस्सरी टाउको तथा शरीर दुख्ने, रूघाखोकी लाग्ने, चाँडै अरूमा सर्ने जस्ता समस्या बढी देखिएको डा. सिंहले बताए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पनि साउन महिनाको सुरुदेखि नै भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको अस्पतालका मेडिकल रेकर्ड शाखाका कुमार केसीले बताए । उनका अनुसार अस्पतालमा एक सातायता दैनिक तीन सयभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचार गराउन आउने गरेका छन् ।

भाइरसका कारण स्वास्थ्यमा देखिने समस्यालाई भाइरल ज्वरो भन्ने गरिन्छ । मौसम परिवर्तनको कारणले भाइरसबाट संक्रमण भएमा टाउको दुख्ने, शरीर दुख्ने, घाँटी खसखस हुने, नाकबाट पानी बग्नुका साथै अचानक ज्वरो आउने समस्या देखिन्छ । यो ज्वरो एक व्यक्तिबाट अर्काे व्यक्तिमा एकदम छिटो सर्ने गर्दछ ।

टेकु अस्पतालका डा. पाण्डेका अनुसार भाइरल संक्रमण श्वास, खाना, शारीरिक सम्पर्क, कीरा वा परिजीवीको टोकाइबाट मान्छेमा सर्छ । तर, सामान्यतया भाइरल संक्रमणले नाक, घाँटी र फोक्सोको माथिल्लो भागलाई समात्छ । उनका अनुसार भाइरल ज्वरो साधारण आराम तथा घरेलु उपचारबाट नै निको हुने गर्दछ । प्रशस्तमात्रामा तरल पदार्थ सेवन गर्नु र आराम गर्नु नै यसको उत्तम उपचार भएको डा. पाण्डेले बताए ।

'भाइरोलोजिकल सेन्टर आवश्यक’

नेपालमा हरेक वर्ष भाइरल ज्वरोले हजारौँ मानिसलाई बिरामी बनाउने गरेकाले यसको उपचार तथा नियन्त्रणका लागि भाइरोलोजिकल सेन्टरको आवश्यकता रहेको चिकित्सकहरूले औँल्याएका छन् । टेकु अस्पतालका डा. वासुदेव पाण्डेले बर्सेनि भाइरल ज्वरोले देशका विभिन्न स्थानमा प्रकोपकै रूप लिने गरेकाले आगामी दिनमा भाइरलको प्रकोपलाई कम गर्न सेन्टरको आवश्यकता रहेको बताए ।

'बर्सेनि भाइरसमा आउने गरेको परिवर्तनका कारण उपचारमा समस्या परिरहेको छ,' उनले भने, 'यदि सेन्टर हुने हो भने भाइरलका बिरामीको नमुना परीक्षण गरी उपचारमा जान सहज हुनेथियो ।' उनका अनुसार सेन्टर नहुँदा नयाँ खालका भाइरल ज्वरोका भाइरस पत्ता लगाउन समस्या भइरहेको छ ।

No comments:

Post a Comment