Pages

Friday, May 6, 2011

चुरोट र सुर्तीका प्याकेटमा अब भयानक चित्र

image

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर चुरोटको बट्टाको ०.२ प्रतिशतमा मात्रै चेतावनी लेखिँदै आएकोमा अब ७५ प्रतिशत भागमा चित्र र सन्देश लेखिने भएको छ । ७५ प्रतिशत भागमा सन्देश र चित्र लेखिएपछि नेपाली चुरोटको बट्टा माथिको भन्दा पनि भयानक हुनेछ ।

काठमाडौं, १३ वैशाख

अब चुरोट तथा सुर्तीको प्याकेटको ७५ प्रतिशत भागमा चेतावनीमूलक रंगीन चित्र र सन्देश छापिने भएको छ । हालसम्म चुरोट तथा सुर्तीजन्य पदार्थ 'हानिकारक छ' भनेर बट्टाको ०.२ प्रतिशत भागमा मात्र लेखिने गरिएको छ ।

सरकारले चुरोट र सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने चेतावनीमूलक रंगीन चित्रसहितको सन्देश राख्नुपर्ने नियम बनाएको छ । सरकारले हालैमात्र पास गरेको सुर्तीजन्य पदार्थ

-नियन्त्रण र नियमन गर्ने) ऐन-०६८ मा त्यस्तो व्यवस्था गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुधा शर्माले नयाँ ऐन कार्यान्वयनमा आउन अझै ६ महिना लाग्ने बताइन् । 'संसदबाट ऐन पास भएपनि ऐनको प्रमाणीकरण गर्न बाँकी छ,' उनले भनिन्, 'नियमअनुसार राष्ट्रपतिबाट ऐनको प्रमाणीकरण भएर आएपछि मात्र औपचारिक रूपमा लागू गर्न सकिन्छ ।'

उनका अनुसार ऐन प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष गएको छ । राष्ट्रपतिबाट ऐन प्रमाणित भएको मितिले १८०औँ दिनदेखि मात्र यो नियम लागू हुनेछ ।

स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक लक्ष्मीरमण वनले हालै पास भएको ऐनले आगामी दिनमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन कार्यमा न्यूनीकरण हुने बताए । 'बट्टा हेर्दैमा मानिसलाई त्यस्ता कुरा खानुहुन्न भन्ने चेतना आउने भएकाले यसले धेरै हदसम्म चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउनेछ,' उनले भने, 'यसका साथै यस्ता चित्र नभएका चुरोट तथा सुर्तीजन्य पदार्थ बजारमा देखिए सरकारले जफत गरेर नष्ट गर्ने भएकाले विदेशबाट हुने चुरोट तथा सुर्तीजन्य पदार्थको आयातमा पनि कमी आउनेछ ।'

उनका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टाको ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देशसहितको रंगीन चित्र राख्ने देशहरूमा नेपाल विश्वको दोस्रो नम्बरमा पर्दछ । नेपालभन्दा बढी चेतावनीमूलक सन्देशसहितको चित्र राख्ने उरुग्वेले बट्टाको ८० प्रतिशत भागमा यस्ता सन्देश राख्ने गरेको छ ।

'चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी कुल भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोराको चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नु पर्नेछ,' ऐनमा भनिएको छ, 'यदि उत्पादकले सो बमोजिमको कार्य नगरेमा त्यस्ता चुरोट तथा सुर्तीजन्य पदार्थ जफत गरी उत्पादकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।'

सचिव डा. शर्माले उत्पादकहरूलाई ती उत्पादनमा उल्लेख गर्नुपर्ने चेतावनीमूलक चित्रात्मक सन्देश मन्त्रालयले तोकिदिने बताइन् । 'उत्पादकहरूले मन्त्रालयले तोकेबमोजिमको चेतावनीमूलक सन्देश र चित्र राख्नुपर्छ,' उनले भनिन्, 'मन्त्रालयले चेतावनीमूलक सन्देश तथा चित्र समय-समयमा थप गर्न सक्नेछ ।' उनका अनुसार आयातकर्ताले तोकिएको मापदण्ड पूरा नभएका सुर्तीजन्य पदार्थ आयातसमेत गर्न पाउनेछैन ।

यसैगरी, ऐनले उत्पादकले सुर्तीजन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा चुरोट तथा सुर्तीजन्य पदार्थमा रहेको निकोटिनलगायत कार्बनमोनोअक्साइड, लिड, टार, नाइट्रोसोमाइनजस्ता तोकिएका अन्य हानिकारक तत्त्व एवं उत्पादकको नाम र ठेगानालाई प्रस्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

'उत्पादकले प्रचलित कानुनबमोजिम दर्ता गराइएका लेबल तथा ट्रेडमार्क चिह्नसहित उत्पादकको नाम, ठेगाना र सुर्तीजन्य पदार्थमा रहेको निकोटिनलगायतका हानिकारक तत्त्वको मात्राको विवरण उल्लेख गर्नुपर्छ,' ऐनको दफा ७ मा भनिएको छ, 'उत्पादकले सुर्तीजन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा नाबालकलाई आकर्षण गर्ने कुनै किसिमको लोगो, शब्द र चित्र राख्न पाउनेछैन ।' ऐनको सो नियमविपरीत कार्य गर्ने उत्पादकलाई ५० हजार जरिवानासहित बजारमा रहेका त्यस्ता उत्पादन सरकारले जफत गर्ने व्यवस्था गरिएको छ ।

ऐनले धुम्रपान वा सुर्ती सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीलगायतका पदार्थलाई सुर्तीजन्य पदार्थ भनेको छ । यस्तै, धुम्रपानको परिभाषामा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम भनी उल्लेख गरेको छ भने सुर्ती सेवन भन्नाले खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने कार्य भनी उल्लेख गरेको छ ।

No comments:

Post a Comment