Pages

Tuesday, February 22, 2011

लिलामीका लागि राखिएका सामान चोरिए

image

अस्पतालले तीन महिनाअघि पुराना सामान लिलामीका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा करिब ८० लाखमा ती सामान उठाउने निवेदन परेको थियो ।

काठमाडौं, ९ फागुन

वीर अस्पताल परिसरबाटै लाखौँ मूल्यका पुराना सामान चोरी भएका छन् । अस्पतालको मुख्य भवनपछाडि राखिएका पुराना सामान कर्मचारी र बाहिरबाट आउनेहरूले चोरेका हुन् ।

अस्पतालका विभिन्न वार्डमा वर्षौँदेखि थुपि्रएका पुराना मेसिन तथा अन्य सामान लिलामीका लागि अस्पताल प्रशासनले मुख्य भवनपछाडि राखेको थियो । ती सामान दैनिक घट्दै गएको अस्पताल स्रोतले बतायो । सामानको थुप्रोबाट सामान्य मर्मतपछि काम लाग्नसक्ने, घरमा प्रयोग गर्न सकिने र अन्य प्रयोजनका लागि काम लाग्ने सामान चोरी भएका हुन् ।

सामान लिलामीका लागि अस्पताल प्रशासनले प्रक्रियासमेत सुरु गरिसकेको छ । तर, प्रक्रियाको टुंगो नलाग्दै सामान घट्दै गएको अस्पतालका निर्देशक डा. बुलन्द थापाले पनि स्विकारे । 'अस्पतालका वार्डमा थुपि्रँदा रोगको संक्रमण बढ्ने खतरा रहेकाले बाहिर निकालिएका पुराना सामान भटाभट चोरिन थालेछन्,' निर्देशक डा. थापाले भने, 'लिलामी प्रक्रियामा ढिला भएको फाइदा त चोरलाई पो भएछ ।' सामानको रेखदेख राम्रोसँग नभएकाले सामान चोरी भएको पनि उनले स्विकारे ।

अस्पतालले तीन महिनाअघि पुराना सामान लिलामीका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा करिब ८० लाखमा ती सामान उठाउने निवेदन परेको थियो । तर, अस्पतालसँग कवाडी सामानको लगत नहुँदा लिलामीमा समस्या भएको अस्पताल स्रोतले बतायो ।

आर्थिक कार्यविधि ऐन, ०५५ अनुसार सरकारी कार्यालयले जिन्सी सामान खरिद गर्दा लगत विवरण अनिवार्य राख्नुपर्छ । खरिद विवरण नभएमा कुनै पनि सरकारी कार्यालयले कवाडी सामान लिलाम गर्न नसक्ने प्रावधान छ । ऐनअनुसार खरिद विवरण नभएकाले विवाद बढेपछि पुराना सामान लिलामीमा समस्या भएको अस्पतालले जनाएको छ ।

'कानुनी अड्चनले समस्या परेपछि सामान बिक्री प्रक्रिया ढिला भयो,' निर्देशक थापाले भने, 'प्रक्रियाअनुसार जाँदा तीन महिनासम्म मूल भवनको पछाडि पुराना सामान थुपि्रएका थिए, यसबीचमा त्यहाँबाट काम लाग्ने धेरै सामान चोरी भएछन् ।'

अस्पतालको कार्यकारिणी परिषद्ले सोमबार मात्रै लागत नभए पनि पुराना सामान बिक्री गर्ने निर्णय गरेको छ । सबै सामानको लगत राखेर कवाडी समान लिलाम गर्न असम्भव हुने भन्दै परिषद्ले पुराना सामान बिक्री गर्ने निर्णय गरेको हो । निर्देशक थापाका अनुसार पछिल्ला समयमा खरिद गरिएका जिन्सी सामानको लगत राख्न भने सुरु गरिएको छ ।

अस्पताल स्रोतका अनुसार तीन महिनाअघि ८० लाखमा कवाडी सामान खरिद गर्न निवेदन दिएकोमा आहिले खरिद मूल्य ५९ लाखमा झरेको छ । तीन महिनामा धेरै सामान चोरी भएको भन्दै निवेदनकर्ताले रकम घटाएको स्रोतको दाबी छ । तर, निर्देशक थापाले केही सामान चोरिएको भए पनि बोलपत्र निवेदनमा धेरै रकम फरक नपरेको बताए ।

No comments:

Post a Comment