Pages

Wednesday, September 14, 2011

मदिरामा मिसावट, पानी दूषित, किरा परेका पीठोबाट केक


image

बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ


प्रहरीले सिन्धु डिलर्स एन्ड सप्लायर्सबाट मंगलबार बरामद गरेका मिसावटयुक्त र राजस्व छलिएका मदिराका बोतल । वाणिज्य विभागले अक्वा त्रिशूली मिनलर वाटरको कम्पनीमा भेटिएको दूषित पानीको जार (अन्तिम) । तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २७ भदौ

किरा परेको पीठोबाट दुनोट र केक, खिया लागेको टयांकीबाट 'मिनरल वाटर' । बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ ।

विभागको टोलीले अक्वा त्रिशूली नामको 'मिनरल वाटर'को बोतल र जारमा दूषित पानी फेला परेको छ । विभाग र उपभोक्ता अधिकारवादीहरूसितको संयुक्त टोलीले त्रिशूली पानीको उत्पादन 'प्रोसेसिङ' नपुर्‍याई गरिएको, पानी प्रशोधन गर्ने फिल्टरमा प्वाल परेको, पानी राख्ने टयांकीमा खिया लागेको तथा टयांकी पूरै पहेँलो भएको फेला पारेको छ । त्यस्तै पानीका बोतलमा ब्याच नम्बर नै नराखी बिक्री गर्ने गरेको, राखेको मिति पनि गलत भएको र २० लिटरको पानीको जारमा परालको त्यान्द्रोजस्तो लामो अखाद्य वस्तु भेट्टाएको छ । विभागले कम्पनी तत्कालै बन्द गरेको छ ।

विभागका उपसचिव टीकाप्रसाद भण्डारीले पानीको उत्पादनमा समस्या देखिएको र पानी उत्पादन गर्ने स्थान र पानी फोहोर भेटिएपछि कम्पनीमा सिलबन्दी गरेको बताए । उनले पानीको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने र विभागले दिएको रिपोर्टका आधारमा कम्पनीलाई कारबाही गरिने जनाए ।

अनुगमनमा नै गएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कम्पनीमा पानीको गुणस्तर जाँच्ने ल्याब पनि नभएको बताए । 'नियमअनुसार कम्पनीमा आफ्नै ल्याब हुनुपर्ने हो,' उनले भने, 'तर त्यो कम्पनीले परीक्षण नै नगरी दूषित पानी बिक्री गर्ने गरेको पाइयो ।' कम्पनीका कर्मचारीहरूले भने पानीको उत्पादन गरेपछि बानेश्वरमा रहेको एउटा ल्याबमा परीक्षण गर्ने गरेको जनाएका छन्, तर उनीहरूले ल्याबको नाम भने भनेनन् ।

यसैगरी, सोही टोलीले नयाँबजारमा रहेको सिद्धार्थ बेकरी एन्ड कन्फेक्सनरीमा पीठोमा किरा र झिँगा फेला पारेको छ । बेकरी सामग्रीहरू दुनोट, केक उत्पादन गर्ने पीठोमा सिलेसा (सेतो किरा), झिँगा र अखाद्य रङ फेला परेपछि विभागले सो पसललाई बन्द गरेको छ ।

'राजधानीका झन्डै ५० भन्दा बढी पसलमा बेकरी सामग्री बिक्री गर्दै आएको सो होलसेल पसलले किरा परेका, झिँगा, र भुसुना भएका र फोहोर पानीले बनाइएका दुनोट, केकलगायतका सामग्री बिक्री गर्ने गरेको पाइएको छ,' मञ्चका अध्यक्ष तिमल्सिनाले भने, 'बेकरी सामग्री उत्पादन गर्नेको किचेन देख्दै घिन लाग्दोे थियो ।'

विभागका उपनिर्देशक भण्डारीले सो पसलले अनुज्ञापत्र पनि नलिईकन गैरकानुनी रूपमा पसल सञ्चालन गरेको बताए । उनका अनुसार पसलका सञ्चालकलाई अनुज्ञापत्र तुरुन्त लिन र आवश्यक कागजपत्र लिएर विभागमा पाँच दिनभित्र उपस्थित हुन भनिएको छ । यस्तै पसलबाट उत्पादित सामग्रीको परीक्षणपछि थप कारबाही अगाडि बढाइनेछ । पसलका सञ्चालक गणेशप्रसाद पाण्डेले गल्ती स्वीकार्दै अबदेखि यस्तो नगर्ने बताएका छन् ।

टोलीले कमलपोखरीस्थित राजन ग्यास डिपोमा पनि निरीक्षण गरेको छ । डिपोमा लुकाइएर राखिएका ७० वटा भरिएका ग्यास फेला परेको छ । यसैगरी डिपोमा व्यवसाय दर्ताको प्रमाणपत्र नभएको, अनुगमनमा गएको टोलीलाई झुटो बोलेको र नापतौलका प्रमाणपत्र नभएकाले तीन दिनभित्र प्रमाण लिएर स्पष्टीकरण दिन बोलाएको छ ।

बिएमसी मसला नक्कली उत्पादन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बबरमहलमा रहेको एक घरमा बिएमसी नाम गरेको नक्कली मसला उत्पादन गरिरहेको फेला पारेको छ । भारतको बाबा मसला कम्पनीले उत्पादन गर्ने बिएमसी मसलाको प्याकेटमा नक्कली मसला उत्पादन गरिरहेको अवस्थामा विभागले फेला पारेको हो ।

विभागका प्रवक्ता प्रमोद कोइरालाले नक्कली मसला उत्पादन गरेको घरमा सिलबन्दी गरेको बताए । उनका अनुसार जिल्ला प्रशासन, प्रहरी र उपभोक्तावादी संघसंस्थाहरूको सहयोगमा गरिएको अनुगमनमा नक्कली मसला उत्पादन गरिरहेको फेला परेको हो । गोदाम नै बनाई नक्कली उत्पादन गरेको आरोपमा विभागले अनुगमन गरेको थियो ।

No comments:

Post a Comment