Pages

Thursday, May 31, 2012

मुगुमा पनि औलोरोगी भेटिए

-प्रवीण ढकाल
मुगु, १८ जेठ । तराईका साथै केही पहाडी जिल्लामा मात्र देखिएको औलोका बिरामी हिमाली जिल्ला मुगुमा पनि भेटिएका छन् । सरकारले औलोको जोखिम नरहेका १० जिल्लामा सूचीकृत गरेको मुगुमा गत वर्ष ६८ जनामा औलो देखिएको हो ।
जिल्ला सदरमुकाम गमगढीस्थित ढकाल मेडिकल हल एन्ड प्याथोलोजी सेन्टरमा रगत परीक्षण गराएका ६८ जनामा औलोको संक्रमण पाइएको थियो । मेडिकल हलका सञ्चालक तथा स्वास्थ्य सहायक सत्य मल्लका अनुसार सय जनाभन्दा बढीको रगत परीक्षणका क्रममा ती औलोरोगी भेटिएका हुन् । लामखुट्टे नै नपाइने ठाउँमा कसरी औलोका रोगी भेटिए भन्नेमा अध्ययन भइरहेको उनी बताउँछन् ।
‘यो वर्ष त औलोरोगी भेटिएका छैनन्,’ उनले भने, ‘औलोको सिजन आइनसकेकाले पनि यो वर्ष हालसम्म औलोका रोगी नभेटिएका होलान् ।’
सरकारले औलोको उच्च जोखिममा रहेका ३१ जिल्लामा औलो नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । मुगुमा पनि औलोका बिरामी बढ्दै जाने हो भने सरकारले हिमाली जिल्लाका तल्लो भेगमा समेत उक्त कार्यक्रम विस्तार गर्नुपर्ने मेडिकल सञ्चालक मल्लको ठम्याइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औलो नियन्त्रणका लागि ३१ जिल्लाका औलो प्रभावित क्षेत्रका बाासिन्दालाई कीटनाशक औषधिसहितको सुपानेट नामक झुल नि:शुल्क वितरण तथा औलोको जोखिममा रहेका अन्य जिल्लामा विषादी छर्कनेलगायत काम गरिरहेको छ ।
मन्त्रालयले हालसम्म मुगुसहित हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बु, भक्तपुर र काठमाडांैलाई औलोको संक्रमण नभएको जिल्लामा सूचीकृत गरी कार्यक्रम सञ्चालन गरेको छैन । मन्त्रालय स्रोतका अनुसार तापक्रम वृद्धिका कारण भक्तपुर र काठमाडौंमा पनि रोगी देखापरेका छन् भने बाँकी आठ हिमाली जिल्लाका तल्लो भेगमा फाट्टफुट्ट रोगको संक्रमण देखिन थालेको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरले हालसम्म मुगु जिल्ला जनस्वास्थ्य कार्यालयबाट औलो भेटिएको विषयमा कुनै जानकारी नआएको बताए । उनले मुगुमा देखिएको औलोको विषयमा चाँडै जानकारी लिइने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख वृषबहादुर शाहीले ढकाल मेडिकल हलमा औलोका बिरामी फेला परेको सुने पनि आधिकारिक जानकारी भने नपाएको बताए । उनले बाहिरी जिल्लाबाट बसाइँ सरी या काम गरी फर्केका व्यक्तिबाट औलो रोग सरेको हुन सक्ने आशंका गरे ।
सरकारले सन् २०१२ सम्म प्रत्येक हजार व्यक्तिमा औलोरोगीको संख्या दुईजनामा झार्ने उद्देश्यका साथ गत वर्षदेखि औलो नियन्त्रण कार्यक्रम थप गरेर ३१ जिल्लामा सञ्चालन गरेको हो । सन् २०१६ सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि ग्लोबल फन्डले आर्थिक सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

गर्मीमा एलर्जीको हैरानी

-प्रवीण ढकाल
गर्मीको सुरुआतसँगै मानिसलाई छालाको एलर्जीले सताउने गर्छ । बढ्दो वातावरणीय प्रदूषणका कारण एलर्जीको जोखिम झनै बढेको चिकित्सकहरू बताउँछन् । चिकित्सकीय भाषामा शरीरलाई कुनै चीज नफाप्नु नै एलर्जी हो । कसैलाई धूलो फाप्दैन त कसैलाई खानेकुरा वा पानी । यसै कारण एलर्जीका प्रकार र रूप थुप्रै हुन सक्छन् । कसैकसैलाई सिटामोल, ब्रुफिन वा अन्य कुनै औषधिले शरीर चिलाउने हुन्छ ।
चर्मरोग विशेषज्ञहरूका अनुसार कतिपय मानिसलाई लुगाबाट त कतिलाई झारपात या बोटबिरुवाको पनि एलर्जी हुन्छ । वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झा लामखुट्टे, भुसुना आदिको टोकाइबाट तथा कसैलाई केरा, मासको दाल, अन्डाले पनि एलर्जी गराउन सक्ने बताउँछन् । उनका अनुसार विशेष गरी गर्मी, धुलो, धुवाँको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । ‘पछिल्लो समयमा वातावरणीय प्रदूषण बढ्दो छ,’ उनले भने, ‘यसको एलर्जिक प्रभाव मानिसमा देखिन सुरु गरिसकेको छ ।’ यतिखेर यिनै कारणले एलर्जीको समस्या लिएर अस्पताल आउनेको संख्या ह्वात्तै बढेको उनले सुनाए ।
एलर्जी मुख्यतया तीन किसिमका हुन्छन् । मुखबाट भित्र पसेको श्वास फोक्सोसम्म पुग्दा पनि एलर्जी निम्तिन सक्छ । यस्तो एलर्जीपीडितहरूलाई दम हुने गर्छ । बूढाबूढीलाई हुने दम र एलर्जीका कारण हुने दममा फरक रहने र यसले सानै उमेरका मानिसमा पनि दमको समस्या ल्याउने डा. झा बताउँछन् । यो हावाबाट हुने एलर्जी हो । त्यस्तै नाकबाट हावा पसेर अर्को प्रकारको एलर्जी हुन्छ, जसलाई राइनाइटिस भनिन्छ । यसमा नाक बन्द भइरहने, नाकबाट पानी आइरहने हुन्छ । तेस्रो प्रकारको एलर्जी खानाका कारण हुने हो । यसमा कसैकसैलाई कुनैकुनै खानेकुराले पेटमा पुगेर रगत हुँदै छालामा फैलिएर असर गर्छ । छालामा फोका वा बिबिरा देखिन्छ ।
छालामा सिधै स्पर्श भएर पनि एलर्जी हुन्छ । कतिपय अवस्थामा छालाले बोटबिरुवा, लुगा छुँदा शरीरलाई नफाप्ने हुन्छ । कपालमा रंग लगाउँदा एलर्जी भएर अस्पताल धाउनेको संख्या पनि निकै हुने चिकित्सक झा बताउँछन् । माटो या सिमेन्टको काम गर्नेलाई पनि एलर्जी हुने गर्छ । लामो समयसम्म एलर्जी भए कन्याउँदा–कन्याउँदै घाउ नै हुन्छ । डा. झाका अनुसार गम्भीर किसिमको एलर्जीमा आगोले पोलेजस्तो फोका उठ्छन् र त्यहाँ पानी जम्छ । यसो भन्दैमा सबै चिलाउने रोगहरू एलर्जी नहुने उनी बताउँछन् । ‘छाला तथा अन्य भित्री रोगले पनि शरीर चिलाउने हुन सक्छ,’ उनले भने । उनका अनुसार खानेकुरा, कपडा, बोटबिरुवाको एलर्जी हुँदा औषधि खानुपर्छ । त्यसबाहेक शरीरको भित्री कारणले हुने एलर्जी भने सामान्य औषधिले निको हुँदैन ।
जन्डिस, कलेजोमा सिरोसिस, रक्तअल्पता वा रगत बढी हुनेहरूमा पनि एलर्जी हुन्छ । रगत बढी भएर हुने एलर्जी पोलिसाइथेमिया हो । गर्भवती अवस्थामा थुप्रै महिलालाई शरीर र यौनांग चिलाउने एलर्जीले सताउने डा. झाको भनाइ छ । उनका अनुसार ग्लान्डको क्यान्सरले पनि चिलाउँछ, यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।
विशेषज्ञहरूका अनुसार एलर्जीपछि उपचार गर्नभन्दा जुन–जुन चिजले एलर्जी भइरहेको छ, त्यसबाट बच्नु नै सबैभन्दा राम्रो हो । धेरै चिलाएको छ भने कम हुने औषधि खानुपर्ने हुन्छ । ‘डाबर आएको छ भनेचाहिँ औषधि खानुपर्छ,’ डा. झाले भने । उनका अनुसार उपचार खोज्नुअघि के कारणले चिलाएको हो, पत्ता लगाउनुपर्ने हुन्छ । लुतोले गर्दा चिलाएको हो भने त्यसलाई एलर्जीको औषधिले ठीक गर्दैन । यो औषधिले लुतोका किटाणु मर्दैनन्, चिलाउन कमचाहिँ हुन सक्छ । दादले चिलाउनु एलर्जी होइन । कास लाग्दा चिलाउनु ढुसी पर्ने फंग्स हो । यी समस्यामा एलर्जीको औषधि प्रभावकारी हुँदैन ।
उनका अनुसार गर्मीका कारण हुने एलर्जीबाट बच्न प्रशस्त पानी पिइरहने, चिसो पदार्थ खाने, चिसो तथा छाया परेको स्थानमा बस्ने गर्नुपर्छ । धुलो, धुवाँ तथा प्रदूषणका कारण एलर्जी हुनेहरूले त्यसबाट बच्नुपर्छ, शरीरलाई सफासुग्घर बनाइराख्नुपर्छ । एलर्जीले कडा रूप लिइसकेको अवस्थामा सुरुमा चिलाउन कम गर्ने औषधि खाने र त्यसपछि घाउको उपचारतर्फ लाग्नुपर्ने चिकित्सकहरू सुझाउँछन् ।

होटलका टेबलमा एस्ट्रे, लाइटर र सलाई राख्न नपाइने

-प्रवीण ढकाल
काठमाडौं, १३ जेठ । सार्वजनिक स्थलमा धूमपान गर्नेलाई कारबाही गर्न ऐन ल्याइए पनि हालसम्म कार्यान्वयन हुन नसकेपछि सरकारले नयाँ व्यवस्था गरेको छ । त्यस्तो कार्य रोक्न अबदेखि कुनै पनि होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृहले ग्राहक बस्ने टेबलमा सुर्ती सेवनका क्रममा प्रयोग हुने एस्ट्रे, लाइटर तथा सलाई राख्न नपाउने व्यवस्था सरकारले ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनकि गरेको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावलीमा यस्तो व्यवस्था गरिएको छ । कुनै पनि होटल तथा रेस्टुरेन्ट वा भोजनालयका व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवनका लागि प्रयोग हुने एस्ट्रे, लाइटर तथा सलाईलगायत सामग्री राख्न नपाउने व्यवस्था नियमावलीमा छ ।
एक वर्षअघि नै सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई कारबाही गर्ने ऐन ल्याइए पनि ऐन निष्प्रभावी भएकाले नियमावली ल्याइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यसचिव डा. प्रवीण मिश्रले सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन कार्यलाई नियमन र नियन्त्रण गर्न नियमावलीको व्यवस्था गरिएको बताए । उनले नियमावलीमा भएको व्यवस्थाविपरीत कसैले पनि होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह तथा अन्य सार्वजनिक स्थलमा एस्ट्रे, लाइटर तथा सलाईलगायत सामग्री भेटिए कारबाही गरिने जानकारी दिए ।
‘कसैले पनि नियमावलीविपरीत कार्य गरे पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुनेछ,’ सचिव डा. मिश्रले भने, ‘नियमावलीमा भएको व्यवस्थाअनुसारको काम भए/नभएको अनुगमनका क्रममा दोषी देखिएकालाई तुरुन्त जरिवानासहित सार्वजनिक बहिष्कारसम्मको कारबाहीसमेत हुनेछ ।’
उनका अनुसार सरकारले गत २२ असारमा सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई एक सय रुपियाँदेखि विभागीय कारबाहीसम्म वा सार्वजनिक स्थलबाट बहिष्कार गर्नेसम्मको कारबाही गर्न सक्ने ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ लागू गरेको थियो ।
ऐनमा परिभाषित सार्वजनिक स्थलमा राज्य तथा सरकारका निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेना गृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल तथा सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर छन् ।
नियमावलीले होटल तथा रेस्टुरेन्ट वा सार्वजनिक स्थलमा धूमपान गर्न सम्बन्धित स्थानका व्यवस्थापकले निश्चित एउटा ठाउँ तोक्न सक्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार ती होटल तथा रेस्टुरेन्टले मानिसको आवत–जावत कम हुने र धूमपान तथा सुर्ती सेवन नगर्ने व्यक्तिलाई असर नपर्ने गरी होटलबाहिरको ठाउँ धूमपानको प्रयोजनका लागि तोक्न सक्नेछन् । त्यो ठाउँ होटलको झ्याल तथा होटलमा प्रवेश गर्ने ढोकाभन्दा टाढा हुनुपर्ने र त्यस्तो ठाउँमा धूमपान गर्दा उत्पन्न हुने धुवाँ तथा गन्ध होटलभित्र नपस्ने व्यवस्था हुनुपर्नेछ ।
नियमावलीले १८ वर्ष उमेर नपुगेका बालबालिका र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा नि:शुल्क उपलब्ध गराउन नपाउने व्यवस्था गरेको छ । कसैले ऐनविपरीत सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरे वा नि:शुल्क उपलब्ध गराए १० हजार रुपियाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । सार्वजनिक स्थानभन्दा कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाउने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

जन्डिसको जोखिम


सामान्यतया नेपालमा जन्डिसलाई रोगकै रूपमा चिनिन्छ । तर, यो कुनै रोग नभई एउटा लक्षण मात्र हो । जन्डिसलाई कमलपित्त वा पहेँलो रोग पनि भनिन्छ । शरीरका प्याङ्क्रियाज वा पित्तथैली, कलेजो आदिमा लाग्ने रोगहरूको लक्षण नै जन्डिस हो । जन्डिस भएपछि आँखा र जिब्रोको तल्लो भागका साथै बिस्तारै शरीरको छाला पहेँलिन थाल्छ ।
जन्डिस हेमोग्लोबिनमा मेटाबोलिज्मको मात्रा बढेपछि देखिन्छ । रक्तकोशिकाभित्रको हेमोग्लोबिन हेमो र ग्लोबिन गरी दुई भागमा टुक्रिन्छ । यसरी आएको हेमो बिलिरुबिनमा परिणत हुन्छ । अत्याधिक रूपमा हुने रक्तकोशिकाको हानिले मेटाबोलिज्ममा पनि तीव्रता आउँछ । हेमो बिलिरुबिनमा परिणत भएपछि त्यो रगतको माध्यमबाट कलेजोमा जान्छ । कलेजोको बाटो हुँदै बिलिरुबिन पित्तथैलीमा संकलित हुन्छ । कुनै कारणवश अत्याधिक मात्रामा रक्तकोशिकाको क्षति अथवा बिलिरुबिन प्रवाहित हुने मार्गमा कुनै किसिमको अवरोध उत्पन्न भएको खण्डमा रगतमा बिलिरुबिनको मात्रा बढ्न जान्छ । सामान्यभन्दा बढी नाघेको खण्डमा बिलिरुबिन छाला, टिस्यु आँखा आदिमा गएर मिसिने हुँदा शरीर पहेँलो हुन्छ । सामान्यतया बिलिरुबिनको मात्रा मानिसमा १ देखि १.५ मिलिग्राम प्रतिडेसिलिटर हुने गर्छ । त्यो मात्रा प्रतिडेसिलिटर २ मिलिग्रामभन्दा बढी भएमा जन्डिस भएको बुझ्नुपर्छ । २ मिलिग्रामभन्दा माथि हुनेबित्तिकै पहेँलोपन देखिन सुरु हुन्छ ।
जन्डिसलाई मुख्य गरी प्री हेपाटिक, हेपाटोसेलुलर र पोस्ट हेपाटिक गरी तीन भागमा बाँड्न सकिन्छ । प्री हेपाटिक शरीरमा रातो रक्तकोशिका छिटोछिटो नष्ट भएमा हुन्छ । हेपाटोसेलुलर सबैभन्दा बढी पाइने जन्डिस हो । योचाहिँ कलेजोमा उत्पन्न हुने समस्याले निम्त्याउँछ । पोस्ट हेपाटिक भने सर्जिक जन्डिस हो ।
कलेजोमा हुने रोगले बिलिरुबिनको उत्पादन प्रक्रियामा अवरोध सिर्जना गराउँछ । कुनै किसिमको संक्रमण, औषधिको प्रयोग, हेपाटाइटिस सिरोसिसजस्ता कलेजोका असामान्य अवस्थाले हेपाटिक जन्डिस गराउँछ । पित्तथैलीमा पत्थरी, क्यान्सर, जुकाको समस्याले पोस्ट हेपाटिक जन्डिस हुन्छ ।
भाइरसले कलेजोमा संक्रमण गर्दा हेपाटाइटिस हुन्छ । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ र ‘ई’ विषाणु यसका कारण हुन् । हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमण त्यति खतरनाक हुँदैन । यसमा साधारण जन्डिसका लक्षण देखा पर्छन् । तर, ‘बी’ र ‘सी’ भने घातक हुन्छ । रक्सीका कारणले पनि हेपाटाइटिस हुन्छ ।
भाइरल हेपाटाइटिस वा जन्डिस धेरै नै सूक्ष्म विषाणुले गर्दा हुन्छ । हेपाटाइटिस भनेको संक्रमण वा गैरसंक्रमणको कारणले कलेजो सुन्निनु हो । बोलचालको भाषामा हेपाटाइटिसलाई पनि जन्डिस भनिन्छ  । तर, हेपाटाइटिस जन्डिसको कारण मात्र हो । हेपाटाइटिस धेरै कारणले हुन सक्छ । हेपाटाइटिसका भाइरसमध्ये विश्वव्यापी रूपमा पाइने हेपाटाइटिस ‘ए’ र ‘ई’ का भाइरस संक्रमित व्यक्तिको दिसाबाट प्रदूषित पानी र खाद्यपदार्थको माध्यमले स्वस्थ व्यक्तिमा सर्छ । विशेष गरी यस्तो हेपाटाइटिस गर्मी र वर्षात्को मौसममा बढी हुन्छ । त्यस कारण भाइरसका कारणले हुने जन्डिस यो मौसममा बढी देखिने गर्छ ।
हेपाटाइटिस ‘ए’ र ‘ई’ लागेको बेला प्रशस्त रसिलो पदार्थ, कार्बोहाइड्रेडयुक्त भोजन, केही भिटामिन र पर्याप्त आरामको खाँचो पर्छ । नेपालमा वर्षायामसँगै सरसफाइमा ध्यान नदिँदा ‘ए र ‘ई’ को संक्रमण बर्सेनि बढिरहेको पाइन्छ । तसर्थ खानेकुरा राम्ररी पकाएर, पानी भकभकी उमालेर मात्र सेवन गर्नुपर्छ । जन्डिसको उपचारपद्धति यो के कारणले लागेको हो भन्नेमा भर पर्छ । सामान्य लक्षण देखिनासाथ चिकित्सकीय सल्लाह लिनु उचित हुन्छ । यसका लागि हेपाटाइटिस भ्याक्सिन पनि निकै फलदायी हुन सक्छ  । तर, रोग पूरै फैलिइसकेको अवस्थामा भने महँगा औषधि प्रयोग गर्नुपर्ने हुन्छ । क्यान्सर, लिभर सिरोसिस घातक हुन्छन्, त्यसैले उचित समय एवं स्थानमा उपचार गराइहाल्नुपर्छ । पत्थरी भएको अवस्थामा शल्यक्रियाबाट ढुंगा निकाल्नुपर्छ । असुरक्षित यौनसम्पर्क, लागुपदार्थको दुव्र्यवसन र मद्यपानले पनि जन्डिस लाग्ने भएकाले यस्ता चिजको लत छाड्नुपर्छ ।
जन्डिस भएको समयमा तेल, नुन, बेसार खान हुँदैन भन्ने चलन छ, यो बिल्कुलै गलत हो । यत्ति हो, अरू बेलाको तुलनामा कम मात्रामा खाँदा हुन्छ । यस्तो बेला कलेजोलाई आराम दिनुपर्छ, प्रशस्त मात्रामा चिनीपानी खुवाउनु राम्रो हुन्छ । पौष्टिक खानेकुराहरू खानुपर्छ तर धेरैचाहिँ होइन । उखुको रस, मेवा, काँक्रो, सागसब्जी र प्रशस्त तरकारीको सेवन गर्नुपर्दछ ।
प्रस्तुति : प्रवीण ढकाल

मुगु जिल्ला अस्पतालमा नाम मात्रको प्रयोगशाला

-प्रवीण ढकाल
मुगु, १२ जेठ । चिकित्सकहरूले बिरामीको उपचार रोगको लक्षण र प्रयोगशाला (ल्याब) परीक्षण प्रतिवेदनका आधारमा गर्छन् । बिरामीको उपचारका लागि अस्पतालमा प्रयोगशाला महत्त्वपूर्ण रहे पनि मुगु जिल्ला अस्पतालको प्रयोगशाला भने रक्तसमूह छुट्टयाउन सक्ने क्षमताको पनि छैन । जिल्ला अस्पतालको प्रयोगशालामा आवश्यक उपकरण तथा ‘रिएजेन्ट्स’ नहुँदा रगतको समूहदेखि अन्य रोगको परीक्षण हुन नसक्ने अवस्था आएको हो ।
भाइरस, ब्याक्टेरिया, फङ्स तथा अन्य कारणले भएका अधिकांश रोगमा ल्याबपरीक्षण गरी बिरामीको उपचार गर्नुपर्ने हुन्छ । तर, अस्पतालको ल्याबमा दिसा, सुगर, बिलुरुविन र युरिक एसिडको मात्रा परीक्षण गर्न सक्ने क्षमता मात्र भएकोले बिरामीको उपचार हुन नसकेको ल्याब असिस्टेन्ट शंकर पोखरेलले बताए । उनका अनुसार ल्याबको व्यवस्थापन हुन नसक्दा दिसा, सुगर तथा युरिक एसिडको रिपोर्ट पनि शतप्रतिशत सही आउन नसक्ने भएको छ ।
जिल्लाको एक मात्र अस्पतालको ल्याबको व्यवस्थापन हुन नसक्दा परीक्षण कार्य नै रोकिएको अस्पतालका एक मात्र चिकित्सक डा. किशोर परियारले बताए । उनका अनुसार ल्याब परीक्षण हुन नसक्दा बिरामीलाई नेपालगन्ज रिफर गर्नुपर्ने अवस्था छ । रक्तसमूहको पहिचान हुन नसक्दा बिरामीलाई आवश्यक रगतसमेत दिन नसकिएको उनले बताए ।
अस्पतालको ल्याब कोठामा परीक्षणकार्य हुन नसकेपछि सोही कोठामा ल्याब व्यवस्थापन मापदण्डविपरीत जथाभावी रिएजेन्ट्स तथा अन्य सामग्रीका बाकससमेत भण्डारण गरिएको छ । मापदण्डअनुसार ल्याबमा कुनै पनि सामग्री भण्डारण गर्न पाइँदैन । ल्याबमा कुनै पनि बाहिरी संक्रमण नहोस् भनेर पूर्णरूपमा सफासुग्घर राख्नुपर्ने हुन्छ । तर, अस्पतालको ल्याबमा प्रवेश गर्नेबित्तिकै भिँmगा तथा फोहोरको डंगुर देखिन्छ । ‘ल्याबलाई चौबिसै घन्टा संक्रमणबाट मुक्त राख्नुपर्ने भए पनि व्यवस्थापकीय कमजोरीका कारण बनाउन सकिएको छैन,’ ल्याब असिस्टेन्ट पोखरेलले भने, ‘ल्याबमा प्रवेश गर्ने नै रोगी हुने वातावरण छ ।’
उनका अनुसार ल्याबमा विगत लामो समयदेखि परीक्षण गरिएका रगत, दिसा र पिसाबका नमुनालाई जथाभावी राखिएको छ । ल्याबमा अन्य मानिसका रगत, दिसा, पिसाब तथा खकारलाई जथाभावी राख्न पाइँदैन । ल्याब मापदण्डअनुसार यी वस्तुलाई वैज्ञानिक ढंगले व्यवस्थित बनाएर राख्नुपर्ने हुन्छ ।
अस्पतालको ल्याबमा मापदण्डविपरीत इन्भर्टरलाई पनि अव्यवस्थित रूपमा राखिएको छ । ल्याबमा यसरी अव्यवस्थित रूपमा इन्भर्टर तथा अन्य विद्युतीय उपकरण राख्दा संक्रमण फैलन सक्छ । पोखरेलले ल्याबमा बसेर काम गर्दा आफू स्वयं रोगी हुने त्रासले काम गर्न पनि डर लागिरहेको बताए । उनले ल्याबको व्यवस्थापन राम्रो बनाउन र ल्याबमा आवश्यक उपकरणको व्यवस्थापन गर्न पटकपटक स्वास्थ्य मन्त्रालयमा जानकारी गराए पनि हालसम्म सुनुवाइ हुन नसकेको बताए ।
अस्पतालको ल्याबको अव्यवस्थाका कारण काम गर्न नै लाज लाग्ने अवस्था रहेको अस्पतालका तथ्यांक सहयोगी विनोदराज पन्तले बताए । उनका अनुसार १५ शय्या क्षमताको जिल्ला अस्पतालमा सरकारले ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरण उपलब्ध गराउनुपर्ने भए पनि कुनै सहयोग नगर्दा ल्याबको अवस्था नाजुक बन्न पुगेको हो ।
महत्त्वपूर्ण औषधि मात्रै होइन, ओपिडीमा कुनै घाउ भएर आएका बिरामीलाई तत्काल उपचारका लागि आवश्यक ड्रेसिङ गर्न सामानसमेत अस्पतालमा छैन । अस्पतालमा सुचर सेट (सिलाउने सामग्री) पनि छैन, राति त्यस्ता बिरामी आए औषधि पसलसमेत नजिकमा नभएकाले बिरामीले दु:ख भोग्नुपरेको अस्पतालकै कर्मचारीले बताए ।

प्रसूति सेवामा रगत पनि नि:शुल्क

-प्रवीण ढकाल
काठमाडौं, २६ वैशाख । सरकारले आगामी आर्थिक वर्षबाट सरकारी स्वास्थ्य संस्थामा र सूचीकृत निजी स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई रगत नि:शुल्क उपलब्ध गराउने भएको छ ।
चार वर्षअगाडि नै नि:शुल्क प्रसूति सेवाको सुरुआत गरेको भए पनि सुत्केरी भएका महिलालाई आवश्यक पर्ने रगत दिइएको थिएन । स्वास्थ्य सेवा विभागअन्तर्गतका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. शेनेन्द्रराज उप्रेतीले नि:शुल्क प्रसूति सेवा लागू भए पनि स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलालाई अहिलेसम्म रगत दिने व्यवस्था नभएकाले नयाँ व्यवस्था गर्न लागिएको बताए । ‘आगामी वर्षदेखि सुत्केरीका समयमा रगत चाहिने महिलालाई नि:शुल्क रगत दिने कार्यक्रम ल्याउन लागिएको छ,’ उनले भने, ‘यसका लागि बजेटको व्यवस्था भइसकेको छ ।’
महाशाखाको सुरक्षित मातृत्व शाखा प्रमुख डा. शिलु अर्यालले आमा सुरक्षा कार्यक्रमअन्तर्गत नि:शुल्क प्रसूति सेवा सञ्चालन भइरहेकाले त्यही कार्यक्रमअन्तर्गत नि:शुल्क रगत दिने कार्यक्रम गर्न लागिएको बताइन् । उनका अनुसार रगत वितरणका लागि आगामी वर्षमा २० लाख रुपियाँ छुट्टाइएको छ । नि:शुल्क प्रसूति कार्यक्रममा वार्षिक ९ करोडभन्दा बढी खर्च हुँदै आएको छ । ‘सरकारी र सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने सबैमा रगत दिनुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘आवश्यक पर्नेलाई मात्र दिइने भएकाले यो वर्ष २० लाख रुपियाँ छुट्टयाइएको हो ।’ उनका अनुसार पहिलो वर्षको अनुभवका आधारमा आगामी वर्षमा बजेट थप गरिनेछ ।
सरकारले घरमा सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने बताउँदै माघ ०६४ देखि देशभरका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क प्रसूति गराउने व्यवस्था गरेको थियो । यसका साथै सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा वृद्धि गर्न नि:शुल्क सुविधासहित स्वास्थ्य संस्थामा सुत्केरी गराए महिलालाई प्रोत्साहनस्वरूप भत्ता दिने व्यवस्था गरेको छ । महाशाखाका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत महिलाले तराईमा पाँच सय, पहाडमा एक हजार र हिमालमा एक हजार पाँच सय रुपियाँ यातायात भत्ताबापत पाउने
गरेका छन् ।
डा. अर्यालका अनुसार नि:शुल्क प्रसूति सेवा दिने ५४ निजी संस्थालाई समेत विभागले सूचीकृत गरेको छ । सरकारले २५ बेडसम्मका अस्पताललाई नि:शुल्क प्रसूति सेवा दिएबापत प्रतिमहिला एक हजार पाँच सय, जटिलखालका प्रसूतिको सुत्केरी गराउने अस्पताललाई प्रतिमहिला तीन हजार र शल्यक्रिया गर्ने स्वास्थ्य संस्थालाई सात हजार रुपियाँका दरले रकम उपलब्ध गराउँदै आएको छ । आगामी आर्थिक वर्षबाट दिइन लागिएको नि:शुल्क रगत विभागले नेपाल रेडक्रस सोसाइटीमार्फत प्रदान गर्न लागेको हो । डा. अर्यालका अनुसार रगतको ब्याग, रगत र क्रसम्याचका कुरा आउने भएकाले रेडक्रसमार्फत जान लागिएको हो ।
सरकारले मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले आमासुरक्षा कार्यक्रम सञ्चालन गरेपछि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको विभागले जनाएको छ । डा. अर्यालका अनुसार नि:शुल्क कार्यक्रमले आमा र बच्चाको मृत्युमा समेत उल्लेख्य रूपमा कमी आएको छ ।

जोखिम जापानिज इन्सेफलाइटिसको

-प्रवीण ढकाल
एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य जनार्दन शर्मालाई जापानिज इन्सेफलाइटिसले सिकिस्तै बनायो । नेपालमा उपचार सम्भव नभएपछि वैशाखको पहिलो साता भारतको गुडगाउँस्थित मेदान्त अस्पताल लैजानुपरेको थियो । बढी नै सिकिस्त अवस्थामा पुगेपछि उनलाई भारतबाट नै एयर एम्बुलेन्स मगाएर उपचार गर्न लगिएको थियो । त्यहाँको दुई साता लामो उपचारपछि मात्रै उनलाई निको भयो ।
लामखुट्टेको टोकाइका कारण लाग्ने यो रोग गर्मी मौसमको सुरुआतसँगै तराईका विभिन्न स्थानमा देखिन थालेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तराईमा हरेक वर्ष तीनदेखि पाँच सय मानिस इन्सेफलाइटिसकै कारण मर्ने गरेका छन् । सामान्यतया वैशाखदेखि जापनिज इन्सेफलाइटिसको प्रकोप सुरु हुन्छ र असोज महिनासम्म रहन्छ । महाशाखाले यस वर्ष यसबाट हुन सक्ने मृत्यु रोक्न सुरुदेखि नै आवश्यक तयारी गरिसकेको जनाएको छ ।
महाशाखा प्रमुख डा. जिडी ठाकुरका अनुसार जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमित घोडा, सुँगुर, हाँसलगायतलाई टोकेको क्युलेक्सले आफूसँगै यसका जीवाणु बोकेर ल्याउने अनि स्वस्थ मानिसलाई टोक्ने क्रममा यो जीवाणु मानव शरीरमा सारिदिने गर्छ । तर, पशुपक्षीलई टोक्दा सरेको जीवाण्ुाले लामखुट्टेलाई भने कुनै असर गर्दैन । ‘लामखुट्टेको टोकाइबाट सर्ने जीवाण्ुाले मानिसको मस्तिष्कमा असर पुर्‍याउँछ अनि बेस्सरी ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन्,’ डा. ठाकुरले भने, ‘यो रोग लागेपछि बिरामीलाई पक्षघात हुने, अपांग हुने र अन्त्यमा मृत्युसमेत हुने जोखिम रहन्छ  । ’
त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. शशी शर्माका अनुसार जापानिज इन्सेफलाइटिस फ्लेभी भाइरसको संक्रमणबाट लाग्ने गर्दछ । सरेपछि सिधै दिमागमा असर गर्दछ । ‘संक्रमित लामखुट्टेको टोकाइ नै यो रोग लाग्नुको मुख्य कारण हो,’ डा. शर्माले भने, ‘संक्रमित सुँगुर, बंगुर, हाँस आदिलाई टोकेर संक्रमित भएको क्युलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा यो रोग लाग्छ ।’ उनका अनुसार यो रोग लाग्नबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेबाट बच्नु नै हो । यसका लागि सधैँ झुल टाँगेर सुत्ने, लामखुट्टे भगाउने धूप तथा मल्हमको प्रयोग गर्ने, घरबाहिर नसुत्ने, साँझपख बाहिर निस्कँदा पूरा बाहुला भएको लुगा तथा सुरुवाल लगाउने गर्नुपर्छ ।
डा. ठाकुरका अनुसार यो रोगको लक्षण देख्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनुपर्छ । यसो गर्दा बिरामीलाई अपांग हुन वा मृत्यु हुनबाट बचाउन सकिन्छ । राम्रोसँग स्याहार–सुसार गर्नुपर्छ । ‘इन्सेफलाइटिसले आक्रमण गरेपछि तत्काल उपचार भएन भने मानिसको मृत्युसमेत हुन सक्छ,’ डा. ठाकुरले भने, ‘चाँडोभन्दा चाँडो स्वास्थ्यसंस्थामा लगिहाल्नुपर्छ ।’
रोगका लक्षणहरू
– बेस्सरी टाउको दुख्ने
– बेस्सरी ज्वरो आउने
– बान्ता हुने
– बेहोस हुने
– घाँटी कडा हुने
– कम्पन हुने
– पक्षघात हुने
बच्ने उपाय
– लामखुट्टेको नियन्त्रण गर्ने तथा टोकाइबाट बच्ने ।
– लामखुट्टे नियन्त्रणका लागि घरवरिपरिको वातावरण सफा राख्ने । पानी जम्ने खाल्टाखुल्टी पुर्ने ।
– बढी प्रभावित हुने १५ वर्षमुनिका बालबालिकालाई यो रोगविरुद्ध खोप दिने ।
– पानी जम्ने ठाउँमा कीटनाशक औषधि छर्ने वा मट्टीतेल, मोबिल आदि हाल्ने ।
– सुँगुर, बंगुर, हाँस, घोडा आदि पशुपक्षी व्यवस्थित ढंगले पाल्ने र सम्भव भए सुँगुर, बंगुरलाई यस रोगविरुद्धको खोप दिने ।
– पशुपक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्ने ।
– सम्भव भएसम्म घर तथा सुँगुर, बंगुरको खोरको झ्याल–ढोकामा मसिनो जाली राख्ने ।

स्पष्टीकरण लिएर छाड्दा समस्या ज्यूँका त्यूँ

-प्रवीण ढकाल
काठमाडौँ, २४ वैशाख । सरकारले नि:शुल्क स्वास्थ्योपचारका लागि पठाएको अत्यावश्क औषधि बजारमा छ्यापछ्याप्ती भेटिएका छन् । गरिब जनतालाई नि:शुल्क उपलब्ध गराउन सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य संस्थामा पठाइएका ती औषधि खुलेआम बिक्री भइरहेका छन् ।
औषधि व्यवस्था विभागले चालू आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकमा गरेको अनुगमनमा काठमाडौंलगायत ११ भन्दा बढी जिल्लामा त्यस्ता औषधिको बिक्री भइरहेको भेटिएको हो । नि:शुल्क औषधि जिल्ला सदरमुकामदेखि दुर्गम गाउँका पसलमा समेत बिक्री भइरहेको पाइएको विभागले जनाएको छ ।
विभागका फार्मेसी निरीक्षकहरूले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, कपिलवस्तु, रूपन्देही, दोलखा, सिन्धुपाल्चोक, पर्वत र बाग्लुङ जिल्लाका औषधि पसलमा नि:शुल्क औषधि बिक्री भइरहेको फेला परेको हो । बजारमा भेटिएका नि:शुल्क औषधिमा टिटी सुई, एन्टिबायोटिक, एमजिट, अस्थायी बन्ध्याकरणका साधनलगायत छन् ।
विभागले गत आवमा पनि बिक्रीमा राखिएका नि:शुल्क औषधि जफत गरेको थियो । त्यसको जानकारी मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति महाशाखा र सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए । चालु आवको सम्पूर्ण विवरण तयार भइरहेकाले त्यसको जानकारी मन्त्रालय र आपूर्ति महाशाखामा पठाउन बाँकी रहेको अधिकारी बताउँछन् । ‘औषधि पसललाई त हामीले आफ्नो ढंगले कारबाही गरेका छौँ, थप कारबाही कसरी गर्ने भन्नेमा हामी छलफल गर्दै छौँ,’ उनले भने । उनका अनुसार केही औषधि पसललाई बन्द गर्न सम्बन्धित जिल्ला प्रशासनमा पत्र पठाइसकिएको छ ।
मन्त्रालयका प्रमुख औषधि व्यवस्थापक भूपेन्द्रबहादुर थापाले नि:शुल्क औषधि बजारमा पुगेको जानकारी मन्त्रालयमा आएको बताए । बजारमा नि:शुल्क औषधिको बिक्री भइरहेको गुनासो आएकाले विभागबाट त्यस्ता औषधि पसलको नामावली माग गरेर कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पाले नि:शुल्क औषधि बजारमा पुग्नबाट रोक्न पाँचै विकास क्षेत्रमा पत्राचार गरिएको जानकारी दिए । ‘केन्द्रबाट त नियन्त्रण गर्न सकिँदैन, सम्बन्धित जिल्ला जनस्वास्थ्यले नै त्यस्ता कार्य रोक्ने पहल गर्नुपर्छ,’ शेर्पाले भने ।
सरकारले नि:शुल्क वितरण गर्न पठाएको औषधि बिक्री रोक्न विभागलाई टाउको दुखाइको विषय बनेको उनको भनाइ छ । ‘नि:शुल्क बाँड्न दिइएको हो, लगेर बेचिदिन्छन् के गर्नु † सबै क्षेत्रबाट सहयोग भएमात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने । दोषीलाई कारबाही गर्ने निकाय कुन हो भन्नेमै अन्योल रहेको उनको भनाइ छ ।
औषधि व्यवस्था विभागले नि:शुल्क औषधि बेच्नेलाई स्पष्टीकरण सोधेर छाड्नाले समस्या दोहोरिइरहेको एक कर्मचारीले बताए । ‘औषधि पसलमा हरेक वर्ष नि:शुल्क औषधि बिक्री गरिएको भेटिए पनि विभागले अब आइन्दा यस्तो नगर्नु मात्र भनेर छाड्छ,’ ती कर्मचारीले भने ‘नि:शुल्क औषधि बिक्री गर्ने पसललाई बन्द नै गर्ने र व्यापारीको लाइसेन्स खारेज नगरेसम्म यस्ता समस्या समाधान हुँदैन ।’