Pages

Friday, June 26, 2015

हिमाली क्षेत्रमा पनि औलोका बिरामी

नागरिक संवाददाता
काठमाडौं– अहिले धेरैले औलोलाई तराईको रोग भन्ने ठान्छन्। तापक्रम वृद्धिसँगै तराईमा बढी भेटिने औलोका बिरामी पहाडी र हिमाली क्षेत्रमा समेत देखिन थालेका छन्। 'पहाडको माथिल्लो भाग र केही हिमाली क्षेत्रमा समेत औलोका बिरामी भेटिन थालेका छन्, ' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरले भने, 'तापक्रम बढ्दै गएकाले असोज अन्तिमसम्म पनि औलो देखिन थालेको छ।'

महाशाखाका अनुसार विगत वर्षहरूमा औलो चैतदेखि भदौसम्म धेरै मात्रामा देखिने गरेका थियो। औलो सार्ने परजीवी नभेटिएका जिल्लामा पनि संक्रमित भेटिनुले रोगको दायरा बढ्दै गएको देखिएको छ। प्रयोगशालाबाट प्रमाणित औलो रोगीको संख्या ३ हजार हाराहारीमा रहेको र शंकास्पद औलो रोगीको संख्या अप्रत्याशित रूपमा बढ्दै गएको ठाकुरले बताए। 
महाशाखाका अनुसार समुद्र सतहबाट १ हजार ५ सय मिटरमाथिका १० जिल्लाबाहेक ६५ वटा जिल्लामा औलोको संक्रमण छ। यही आधारमा नेपालको करिब असी प्रतिशत जनसंख्या औलोका जोखिममा रहेको सरकारी अनुमान छ। हालसम्म हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बु, भक्तपुर र काठमाडांैमा औलोको संक्रमण देखापरेको छैन। अहिले ती जिल्लामा लामखुट्टे भेटिए पनि औलो सार्ने प्यारासाइट भने भेटिएका छैनन्। भक्तपुर र काठमाडौंमा चाहिँ रोगी भेटिइसकेका छन्। 
सरकारले अहिले औलोका उच्चजोखिम रहेका ३१ जिल्लामा गर्मी मौसमको सुरूआतसँगै विषादीयुक्त झुल वितरण र विषादी छर्ने कार्यक्रम राखेको छ। 'हामी उच्चजोखिम भएका भन्दै तराईमाकेन्द्रित छौं, औलो पहाड र हिमाल चढ्दैछ,' महाशाखाका एक अधिकारीले भने। सरकारले रणनीतिक योजना तर्जुमा गरेर औलोका प्रमुख सूचक मानिने वार्षिक परजीवी दर प्रति हजारमा एकभन्दा कमबाट बढ्न नदिने लक्ष्य लिएको ठाकुरले बताए।
सन् २०१६ सम्ममा नेपालका औलोग्रस्त क्षेत्रका कम्तीमा ९० प्रतिशत स्थानमा लामखुट्टे नियन्त्रणका उपाय अवलम्वन गरिने उनले बताए। '९० प्रतिशत शंकास्पद औलो रोगीहरूको प्रयोगशालाबाट यकिन निदान गरी शतप्रतिशतलाई प्रभावकारी उपचार गरिनेछ,' निर्देशक ठाकुरले भने।
६५ जिल्लामा औलोको जोखिम भए पनि तीमध्ये सरकारले भारतीय सिमानास"ग जोडिएका तराईका १३ जिल्लालाई औलोको उच्चजोखिममा राखेको छ, जसमा झापा, इलाम, मोरङ, महोत्तरी, धनकुटा, सिन्धुली, काभ्रे, नवलपरासी, बर्दिया कैलाली, कन्चनपुर, डडेलधुरा र बा"के छन्। यो रोग लामखुट्टेको टोकाइबाट मात्रै सर्ने भएकोले औलो सम्भावित ठाउँमा झुल प्रयोग, लामखुट्टेले टोक्न नसक्ने क्रीम प्रयोग, घर वरिपरि सरसफाइ, विषादी छरेर रोगको जोखिमबाट बच्न सकिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २००८ मा विश्वव्यापी रूपमा २४ करोड ७० लाख औलो रोगी देखिएकामा १० लाखको मृत्यु भएको थियो।

यसरी सर्छ औलो

बोलचालको भाषामा कामज्वरो भनिने औलो पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइले सर्छ। औलो सर्न दुई वटा चक्र पूरा हुनुपर्छ। पहिलो चक्रअनुसार संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेपछि र्याईलस"गै व्यक्तिको रगतमा औलाकोे परजीवीलाई पुग्छ। संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलोको लक्षण देखापर्छ। दोस्रो चक्रअनुसार औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले पनि स्वस्थ व्यक्तिमा औलो सार्न सक्छ। यस्तो लामखुट्टेले औलो रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टले बिरामीको रगतस"गै औलोको परजीवीलाई समेत लिन्छ। त्यसको १२ देखि १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सक्षम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ उनीहरूलाई औलो सार्दै जान्छ। 
चार किसिमका परजीवीले औलो गराउने भए पनि नेपालमा प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिफेरमले औलो सार्छ। यी दुई परजीवीमध्ये भाइभेक्सभन्दा फाल्सिफेरमले कडा खालको औलो गराउँछ। कडा खालको औलो रोग लाग्यो भने बिरामीको अवस्था गम्भीर हुने र मस्तिष्कमा रक्तस्राव भई मृत्यु पनि हुनसक्ने ठाकुर बताउँछन्। 

औलोको लक्षण

लामखुट्टेले टोकेका दसदेखि १२ दिनभित्र एक्कासि कामज्वरो आउने, अगाडि टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्पन छुट्ने र नरम वा मन्द ज्वरो आउने लक्षण देखिन्छ। सुरुमा जाडो हुने, ज्वरो आउने र पसिना छुट्ने तीन चरण औलोको पहिचान गर्न सकिने प्रमुख लक्षण हो। यसले असर बढाउँदै जाँदा रक्तअल्पता भई अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने, ठूलो हुने र थिच्दा दुख्ने हुन्छ। महाशाखाकै अर्का चिकित्सक विश्वराज खनालका अनुसार औलो हुँदा निश्चित समयसम्म जाडो हुने, गर्मी हुने र पसिनापछि केही हल्का र कम्जोर भएको महसुस हुन्छ। खासगरी बालबालिका र गर्भवती महिलालाई औलोरोग लागेमा अवस्था जटिल भई मृत्यु हुने सम्भावना बढी हुन्छ। 'रोग प्रतिरोधात्मक क्षमता अन्य उमेरका व्यक्तिमा भन्दा कम हुने भएकाले मृत्युको सम्भावना बढी हुन्छ,' उनले भने।

उच्च रक्तचाप छ? कारण पत्ता लगाउनुस्

काठमाडौं ।
तीन वर्षदेखि उच्च रक्तचापको औषधी सेवन गरिरहेका एक युवक केही दिनअघि खुट्टा सुन्निएको अवस्थामा राजधानीको वीर अस्पताल पुगे। मुटुरोग विशेषज्ञको निगरानीमा औषधी खाइरहेका उनी उच्च रक्तचापले मिर्गौला हानिसकेको आशंकामा अस्पताल पुगेका थिए।
मिर्गौलाको वायस्पी (टुक्राको जाँच) गर्दा मिर्गौलामा खराबी देखियो। तर, त्यो खराबी उच्च रक्तचापले गर्दा भएको थिएन। परीक्षणबाट पत्ता लागेको मेम्ब्रेन नेफ्रोप्याथी भनिने रोगको कारणले पो उच्च रक्तचाप देखिएको रहेछ। मिर्गौलासम्बन्धी रोगको उपचारसँगै उनले उच्च रक्तचापको औषधी छाड्न पाउनेछन्। तर, मिर्गौलासम्बन्धी रोगको औषधि भने जीवनभर खानुपर्ने अवस्था छ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. अनिल बरालका अनुभवमा लामो समयदेखि रक्तचापको औषधी खाइरहेकाहरूमा पनि पछि मात्र उच्च रक्तचापको कारण अन्य नै भएको पाइएको छ। जाँचका क्रममा उच्चरक्तचाप एकदमै बढेको पाइएपछि चिकित्सकले पनि तत्कालै औषधी सुरु गरिदिने प्रवृत्ति हाबी छ। उच्चरक्तचापको कारण नै पत्ता नलगाई औषधी सुरु गर्नाले समस्या बढ्दै गएको छ।
डा. बरालका अनुसार पछिल्ला दिनमा अस्पताल आउने अधिकांश युवाहरूमा उच्च रक्तचापको समस्या देखिएको छ।
त्यसको प्रमुख कारण अन्य कारणले रक्तचाप बढ्ने (सेकेन्डरी हाइपरटेन्सन) हो। तर, अधिकांश अवस्थामा बिरामी पनि मुटुरोग विशेषज्ञकहाँ जाने र विशेषज्ञले पनि रक्तचापले गर्ने असरबाट बचाउन तत्काल औषधी चलाइहाल्छन् ।
मुटुको मुख्य नसा एर्आेटा साँघुरिने समस्या, ग्रन्थीका रोगहरू (कुसिन सिम्ड्रोम) मधुमेह, इन्डोक्राइन, थाइरोइड, स्टेरोयड औषधी, ग्रोथहर्मन वृद्धि, पेनकिलर, मिगौलीसम्बन्धी समस्यामा पिसाबबाट पोट्रीन खेर जाने रोग, मिर्गौलामा फोका देखिने रोग र मिर्गौलाको रगतको नसा सानो हुनेरोग र क्रोनिक मिर्गौला फेलियरले पनि रक्तचाप बढ्न सक्छ।
धेरैजसो युवामा हुने उच्च रक्तचाप स्वयंमा रोग नभई अन्य रोगका कारण उत्पन्न भएको समस्या हो। यस्तो अवस्थामा अन्य रोगको सही परीक्षण र उपचारले रक्तचाप घट्छ। अन्य कारणले रक्तचाप भए पनि ती रोग पालेरै उच्च रक्तचापको औषधी खाइरहेका बिरामी अहिले वीरमा सातामा २-३ जना भेटिने गरेका छन् । 
मुटुको मुख्य नसा एर्आेटा साँघुरिने समस्या, ग्रन्थीका रोगहरू (कुसिन सिम्ड्रोम) मधुमेह, इन्डोक्राइन, थाइरोइड, स्टेरोयड औषधी, ग्रोथहर्मन वृद्धि, पेनकिलर, मिगौलीसम्बन्धी समस्यामा पिसाबबाट पोट्रीन खेर जाने रोग, मिर्गौलामा फोका देखिने रोग र मिर्गौलाको रगतको नसा सानो हुनेरोग र क्रोनिक मिर्गौला फेलियरले पनि रक्तचाप बढ्न सक्छ।
मिर्गौलासम्बन्धी विषयमा सुपरस्पेसियालिटी अध्ययनरत डा. बरालका अनुसार अधिकांश अवस्थामा उच्च रक्तचापको कारण यकिन गर्न नसकिए पनि उच्च रक्तचापका प्राइमरी कारणमा शरीरमा नुनको मात्रा बढी भएपछि नुनको भार घटाउन मिर्गौला पूरै फाल्नुपर्ने र त्यसका लागि रक्तचाप बढाउनुपर्छ। प्राइमरी रक्तचापको अर्को कारण शरीरमा एक प्रकारको मिर्गौलाबाट उत्पादन हुने रेनिन हर्मोनले कलेजोबाट उत्पादन हुने एन्जियोटेन्सिन सक्रिया गराइदिन्छ, जसले एड्रिनल ग्रन्थीबाट उत्पादन हुने अल्डोस्टेरोन नामक हर्मोनलाई सक्रिय बनाउँछ। उक्त हर्मोनले मिर्गौलाबाट नुन र पानी शरीरमा सोसेर राख्छ र रगतमा मात्रा बढाउँछ, जसले गर्दा रक्तचाप पनि बढ्छ। सिम्प्याथेटिक सिस्टमले एड्रिनलिन र नरएड्रिनलिन नामक हर्मोन उत्पादन गर्छ, जसले गर्दा मुटको गति बढाउँछ र रगतको नसा साँघुरो बनाइदिन्छ। यसले गर्दा प्रेसर बढ्छ। यी तीनवटै अवस्थामा औषधी खानुपर्छ।
संसारभर नेफ्रोप्याथी एन्ड हाइरपटेन्सन भनेर उच्चरक्तचापमा मिर्गौला रोग विशेषज्ञबाट जाँच सुरु गरे पनि नेपालमा मुटुरोग विशेषज्ञलाई देखाइन्छ। चिकित्सकहरूसमेत अन्य कारणको खोजी नगरी औषधि सुरु गर्न हतारिने गरेको डा. बराल सुनाउँछन्। 'तीन वर्षदेखि उच्च रक्तचापको औषधी खाइरहेका मानिसले बीचमा खुट्टा सुन्नियो भनेर जाँदा पनि ती मुटुरोग विशेषज्ञले किड्नीको जाँच नगराई औषधीले होला भनेर औषधि चेन्ज गरेर पठाएछन्,' डा.बराल भन्छन्, '८० प्रतिशतभन्दा बढी रक्तचापको सम्बन्ध मिर्गौलासँग हुन्छ, तर बिरामी रक्तनसा पनि जोडिने र मुटुमा असर गर्ला भन्ने डरले कार्डियोलोजिस्टलाई देखाउँछन्।' 

ग्रामीण क्षेत्रमा २० प्रतिशत, सहरी क्षेत्रमा ३५ प्रतिशत पीडित

विभिन्न अध्ययनले नेपालमा १८ वर्षमाथिका जनसंख्यामध्ये ग्रामीण क्षेत्रमा २० प्रतिशत र सहरी क्षेत्रमा ३५ प्रतिशत उच्च रक्तचापबाट पीडित छन्। एक अध्ययनअनुसार काठमाडौंमा ३० वर्षमाथिका सम्पूर्ण जनसंख्याको १० प्रतिशतमा उच्च रक्तचाप छ। शहिद गंगालाल हृृदय केन्द्रको अध्ययन अनुसार १८ वर्ष माथिका वयस्कमा उच्च रक्तचाप २० प्रतिशत पाइएको छ। डा. बरालका अनुसार युवा अवस्थामा देखिने उच्च रक्तचापको कारण जहिले पनि 'सेकेन्डरी' हुन्छ।
बिनालक्षण शरीरका विभिन्न अंगमा गम्भीर असर पार्नसक्ने भएकाले उच्च रक्तचापलाई सुषुप्त हत्यारा (साइलेन्स किलर) भनिन्छ। जीवनशैली उच्च रक्तचापको प्रमुख कारण हो। सामान्य अवस्था रक्तचाप उच्च हुनेबित्तिकै औषधि सेवन थालिहाल्नुभन्दा पहिले सकेसम्म कारण पत्ता लगाउन खोज्ने र जीवनशैली परिवर्तन गरेर हेर्न चिकित्सकहरू सल्लाह दिन्छन्। 'नुन कम खाने, मोटोपन घटाउने, रक्सी, चुरोट सेवन नगर्ने, तनाव कम गर्दा रक्तचाप नियन्त्रणमा आउन सक्छ,' डा.बराल भन्छन्, 'माथि १५० सम्म औषधी थालिहाल्नु पर्दैन, तर औषधि थाल्ने र छाड्ने निर्णय डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ।'

मष्तिस्कघातको जोखिम

अधिकांश अवस्थामा औषधी खान थालेपछि छाड्न नहुने भएकाले होसियारीपूर्वक जाँच गराउनुपर्छ। उच्च रक्तचाप घट्यो भनेर औषधि छाड्दा ब्रेनको नसा फुटेर हुने स्ट्रोक (मष्तिस्कघात) को जोखिम हुन्छ।
आधुनिक जीवनशैली, मानसिक तनाव, धुम्रपान उच्च रक्तचापको प्रमुख कारण हो। मधुमेह बुढ्यौली, नुनको अतिसेवन र वंशाणुगत पनि उच्च रक्तचापको कारण हुने चिकित्सक बताउँछन्। जे कारणले भए पनि रक्तचाप नियन्त्रणमा नराखे हृदयघात, मिर्गौला फेलियर, मष्तिस्कघात (स्ट्रोक), आँखाको ज्योति गुम्ने पक्षघातको जोखिम हुन्छ।
स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मिमिदेखि १४० मिमिसम्म र डायस्टोलिक रक्तचाप ६० मिमि देखि ९० मिमिसम्म हुन्छ। विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १६० मिमि (माथि) वा बढी भएमा र डायस्टोलिक रक्तचाप (तल) ९५ मिमि वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप मानिन्छ।।

कारक तत्व
मानसिक तनाव
वंशानुगत तत्व
मोटोपन
अत्यधिक नुनको सेवन
रक्तनलीमा आउने कडापन

रक्तचाप बढेको लक्षण
टाउको दुख्नु र चक्कर लाग्नु
छाती दुख्नु
दम फुल्नु
नाथ्री फुट्नु (नाकबाट रगत आउनु)

--नागरिक

कुर्सीमा धेरै बस्ने काम छ, कोलेस्टोरेल र युरिक एसिड बढ्यो, के गर्ने ?

मेरो कोलेस्टोरेल र युरिक एसिड बढेको छ। म बिहान ७ बजेदेखि राति ९ बजेसम्म व्यस्त हुन्छु। बैंकमा काम गर्ने भएकाले कुर्सीमै बढी बस्नुपर्छ। मेरो परिवारमा कसैलाई यस्तो समस्या छैन्। यो समस्या कसरी घटाउन सकिएला? -अमितकुमार 

- युरिक एसिड बढेको छ मात्रै भन्नु भएको छ। कति बढेको हो? युरिक एसिडको कारण प्रोटीनयुक्त खाना बढी हुँदा बढ्छ। गेडागुडी रातो मासुको मात्रा कम गर्नु युरिक एसिड घटाउने उपयुक्त विधि हो। अरु लक्षण कस्तो छ भन्ने खुलेको छैन। अतिदुखाइ छ भने औषधी खानुपर्छ। उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीसेवन, पिसाब बढी लगाउने औषधी प्रयोगजस्ता कारणले असर पर्न सक्छ। युरिक एसिडको मात्रा रगतमा उच्च हुनेले माछा-मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाइ मिल्दोजुल्दो मात्र राख्नुपर्छ। मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्त्याउने समस्याबाट जोगिनु हो।
यूरिक एसिडजस्तै कालेस्टेरोल पनि शरीरका लागि निकै हानिकारक हुन्छ। खानाको सन्तुलन मिलाएर खाने र कोलेस्टोरेल धेरै बढेको छ भने औषधी नै खानुपर्छ। सामान्यतः हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने, चिल्लो र मासु कम प्रयोग गर्नाले तौलका साथै कोलेस्टेरोल पनि घट्छ।

पोलिस्यचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक ) राम्रो मानिन्छ। यद्यपि काँचै खान मिल्ने तरकारी खानेतेल, घिउ, मखन, मासुको बोसो कम गर्ने, घिउमा बनाइएका खाना कम खाने, लसुन सेवन गर्ने, कलेजो, गिदी, मिर्गौला, चकलेट तथा आइसक्रीम नखाने, बढी नुन­चिनी भएका खाना नखाने, रातो मासु नखाने, मकै, भटमास एवं जैतुनको तेल सेवन गर्नाले कोलेस्टेरोल घट्छ।
-डा.ध्रुवप्रसाद सिंह, फेमेली फिजिसियन एवं विभागीय प्रमुख, आकस्मिक विभाग, वीर अस्पतालको जवाफ

-नागरिक