Pages

Friday, May 4, 2012

ट्रमा सेन्टर मन्त्रालय मातहत

-प्रवीण ढकाल
काठमाडौँ, २२ वैशाख । वीर अस्पताल परिसरमा रहेको दुई सय शैय्याको अत्याधुनिक ‘इमर्जेन्सी एन्ड ट्रमा सेन्टर’ (आकस्मिक एवं दुर्घटना सेवा केन्द्र) सरकारले केन्द्रीय स्वास्थ्य संस्थाका रुपमा सञ्चालन गर्ने भएको छ । दुर्घटनाबाट घाइते भएकाको उपचारका लागि भारतले बनाइदिएको ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत नभई केन्द्रीय संस्थाकै रुपमा सरकारले सञ्चालन गर्न लागेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमातहत केन्द्रीय संस्थाका रुपमा ट्रमा सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । निर्माण भए पनि विभिन्न समस्याका कारण चार वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर न्याम्सअन्तर्गत सञ्चालनको तयारी भएको थियो । मन्त्रालयले न्याम्सअन्तर्गतको वीर अस्पताल राजनीतिक समस्याका कारण धराशायी हुँदै गएको भन्दै ट्रमा सेन्टरको अवस्था पनि त्यस्तै हुने भन्दै छुट्टै संस्थाका रुपमा चलाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले ट्रमा सेन्टर निर्माण भएको समयमा न्याम्स नै नभएकाले सेन्टरलाई तत्कालका लागि मन्त्रालय अन्तर्गतको संस्थाका रुपमा सञ्चालन गर्न लागिएको बताए । पहिलो चरणमा ५० शैय्याको सेन्टरमात्र सञ्चालन गर्ने तयारी मन्त्रालयको छ । डा. बुर्लाकोटीका अनुसार भारत सरकारले हस्तान्तरण गरेलगत्तै सेन्टर सञ्चालन गर्नुपर्ने भएकाले आवश्यक कर्मचारीलाई तालिम दिनेलगायतका व्यवस्था अन्तिम चरणमा पुगिसकेको छ । उनले सेन्टरको निर्देशक वैशाखको सुरुमै नियुक्ति गरिसकेको जानकारी पनि दिए ।
जग्गा विवाद र राजनीतिक समस्याका कारण सञ्चालनमा ढिलाइ भएको सेन्टर पछिल्लो समय कसको स्वामित्वमा रहने भन्ने विवादले सञ्चालनमा आउन सकेको थिएन । गत पुसदेखि नै सेन्टर सञ्चालनमा आउने भनिए पनि न्याम्सअन्तर्गत सञ्चालन गर्ने कि मन्त्रालयले सञ्चालन गर्ने भन्ने विवाद थियो । न्याम्सले पुसदेखि नै सेन्टर सञ्चालन गर्ने प्रक्रिया पूरा गरेको थियो । उसले पहिलो चरणमा १४ डाक्टर र १५ जना नर्सलाई तालिमका लागि भारत पठाउन भनेर मन्त्रालयमा गत कात्तिकमै नामावली पठाएको थियो ।
त्यस्तै ट्रमा सञ्चालनका लागि आवश्यक पाँच सय ९८ कर्मचारीमध्ये सुरुमा दुई सय ६० जना भर्ना गर्न आवश्यक तयारीसमेत गरे पनि मन्त्रालयले सेन्टरको स्वामित्व टुंगो नलागेको भन्दै २८ मंसिरमा पहिलोपटक र २० पुसमा दोस्रो पटक पत्र पठाएर कुनै नियुक्ति नगर्न निर्देशन दिएको थियो ।
गत वैशाखमा भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणका क्रममा दुवै देशका अधिकारी बसेर ट्रमा सेन्टर हस्तान्तरणको मिति तय गर्ने सहमति भएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले १८ वर्षअघि शिलान्यास गरेको सेन्टर एक अर्ब २५ करोड रुपियाँमा निर्माण गरिएको हो ।

वीर अस्पतालभित्रै कर्मचारीको सहकारी

-प्रवीण ढकाल

काठमाडौं, १९ वैशाख । देशकै सबैभन्दा पुरानो सरकारी अस्पताल वीरका केही कर्मचारीले अनधिकृत रूपमा अस्पतालकै एउटा कोठा कब्जा गरी सहकारी सञ्चालन गरेका छन् । सहकारीको नामसमेत वीर अस्पताललाई जोडेर राखिएको छ ।
सरकारी नियमानुसार सरकारी कर्मचारीले कार्यालय हाताभित्र कार्यालयबाहिरको आर्थिक कारोबार गर्न पाउँदैनन् तर वीरका ५७ जना कर्मचारीले सोमबार ‘वीर अस्पताल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को उद्घाटन गरी सञ्चालनमा ल्याएका छन् । अस्पतालको एउटा कोठालाई कार्यालय बनाएर बाहिर हाकाहाकी सहकारीको बोर्ड झुन्डयाइएको छ ।
सरकारी भवनको दुरुपयोग गरी सहकारी सञ्चालन गरिएकोमा अस्पतालकै केही कर्मचारीले भने विरोध जनाएका छन् । सहकारीको नाममा वीर अस्पताललाई जोडिएको र अस्पतालको कोठालाई कार्यालय बनाइएकोमा उनीहरूको आपत्ति छ । विरोध भए पनि सहकारीको काम सुरु भइसकेको छ । ‘सहकारी खोल्नु नराम्रो होइन,’ विरोधमा रहेका अस्पतालका स्वास्थ्यकर्मी खुवराज आचार्यले भने, ‘हामीले सरकारी सम्पत्ति र अस्पतालको नामको दुरुपयोग गरेकामा विरोध गरेका हौँ ।’ उनले यसरी सरकारी कार्यालयका नाममा सहकारी राख्ने हो भने भोलि गृह मन्त्रालय सहकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहकारी, प्रधानमन्त्री कार्यालय सहकारी भनेर आउन सक्ने बताए ।
अस्पतालका निर्देशक डा. बुलन्द थापाले सहकारी सञ्चालनका लागि आफूले कुनै सहमति नदिएको बताएका छन् । उनले कर्मचारीले सहकारी सञ्चालनका लागि पत्र पठाएको भए पनि आफूले स्वीकृति नदिएको दाबी गरे तर अस्पताल प्रशासनले भने निर्देशक थापाले सहकारी सञ्चालन गर्न मिल्ने/नमिल्ने विषयमा जानकारी माग्न पठाएको पत्रलाई नै आधार मानेर सोझै उनीहरूलाई सहकारी सञ्चालनको स्वीकृति–पत्र दिएको देखिएको छ ।
‘मैले सञ्चालन स्वीकृति नदिएकाले आज (सोमबार) नै सहकारीका सबै कारोबार रोक्न पत्र पठाएको छु,’ निर्देशक थापाले भने, ‘यस विषयमा यथार्थ छानबिन गरी काम अगाडि बढाउनेछु ।’ उनका अनुसार सहकारी सञ्चालन गर्नेले पहिला अस्पताल प्रशासनमा अर्कै नाममा सहकारी स्वीकृति लिएर पछि नाम फेरेको देखिएको छ । निर्देशक थापाले सहकारीको काम रोक्न पत्र पठाएको भए पनि सहकारीले भने काम रोकेको छैन । सहकारीका सचिव नवराज धितालका अनुसार सेवा सुरु भएको पहिलो दिनमै तीन सय सदस्य भइसकेका छन् ।
कल्पना श्रेष्ठको अध्यक्षतामा ‘नेपाल वीर स्वास्थ्य सहकारी संस्था लिमिटेड’ नाम गरेको बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न स्वीकृतिका लागि अनुरोध गरिएको थियो । तर, पछि डिभिजन सहकारी कार्यालयबाट ‘वीर अस्पताल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ दर्ता गराएर सेवा सुरु गरिएको हो । सहकारीका सचिव नवराज धितालले सहकारी डिभिजिन कार्यालयबाट नै नाम परिवर्तन भएर दर्ता भएको दाबी गरे ।
सहकारीको कार्यालय रहेको कोठा निर्देशककै सहमतिमा लिएको भन्दै उनले कब्जा गरिएको आरोप अस्वीकार गरे । ‘हामीले अस्पतालका सबै साथीलाई सहकारीमा समेट्न खोजेका छौँ,’ उनले भने, ‘सबैको हितका लागि कानुनी रूपमा नै दर्ता गरी सहकारी चलाइएकोले अस्पतालका सबै साथीले सहयोग गर्छन् भन्ने मलाई विश्वास छ ।’

तनाबैतनाबको परिणति मास हिस्टेरिया

-प्रवीण ढकाल
सिन्धुलीको बितिजोर गाविस–७ स्थित बाल माविका कक्षा ९ र १० मा अध्ययनरत छात्रा केही समयअगाडि एकाएक अस्वाभाविक देखिए । अध्ययन गरिरहेका ११ छात्रा अचानक बेहोस हुने, रुने, कराउने, काम्ने, आफ्नै छातीमा मुड्कीले हान्नेजस्ता क्रियाकलाप देखाउन थाले । उनीहरूलाई चिकित्सककोमा पुर्‍याइयो । चिकित्सकले उनीहरूलाई मास हिस्टेरिया भएको जनाए ।
सिन्धुलीजस्तै कास्की, तनहुँ, सुर्खेत, झापा, धादिङलगायत जिल्लामा पनि फागुन–चैतमा विद्यार्थीहरूमा एकैपटक मास हिस्टेरियाको समस्या देखिएको थियो । यो समस्या धेरैजसो किशोरीहरूमा देखिने चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मनोचिकित्सक डा. सरोजप्रसाद ओझाले लगातारका यस्ता घटनाले कतिपय अवस्थामा विद्यालय बन्द पनि गरिएको उल्लेख गरे । उनका अनुसार हिस्टेरिया पीडितहरूमा बेहोस हुने मात्र नभई केही समयसम्म देख्न र सुन्न नसक्ने, मुखबाट आवाज ननिस्कने, हात–खुट्टा काम्ने, शरीरको कुनै खण्ड संवेदनहीन हुनेजस्ता समस्या देखिन्छन् ।
डा. ओझाका अनुसार हिस्टेरियाको मुख्य कारण मानसिक समस्या हो । एकैपटक एउटा समूहमा देखिएपछि यसलाई सामूहिक (मास) हिस्टेरिया भनिन्छ । ‘हिस्टेरिया ‘न्युरोसिस’ कै एउटा किसिम हो, त्यसैले यसलाई मानसिक रोग भनिन्छ,’ डा. ओझाले भने, ‘हिस्टेरिया केही कम प्रकारको मानसिक रोगको समूहमा पर्ने समस्या हो ।’ उनका अनुसार हिस्टेरियालाई यौन एवं विवाहसँग सम्बन्धित रोगका रूपमा पनि हेरिन्छ तर यसको सम्बन्ध मुख्य गरी मानसिक तनाबसँग जोडिएको हुन्छ ।
डा. ओझा भन्छन्– ‘तनाब नभई हिस्टेरिया हुँदैन, तनाबको प्रकारचाहिँ जस्तो पनि हुन सक्छ– पढाइको तनाब, नाता–सम्बन्धको तनाब, आर्थिक तनाब, इज्जतको तनाब वा अरू केही ।’ यीबाहेक हाम्रो जस्तो समाजमा यौनसम्बन्धी तनाबले पनि मानसिक समस्या उत्पन्न गराउन सक्छ । ‘हिस्टेरिया विशेषत: अव्यक्त मानसिक तनाबले गर्दा नै हुन्छ’, डा. ओझाले भने, ‘यस्तो तनाबलाई मानव शरीरले शारीरिक लक्षणका रूपमा देखाउने हुनाले आजकल यो समस्या ‘कन्भर्जन डिसअर्डर’ भनेर चिनिन्छ ।’
यसको मतलब कुनै पनि व्यक्तिमा हिस्टेरियाका लक्षण देखिए उक्त व्यक्ति केही न केही मानसिक तनाबबाट गुज्रिरहेको बुझ्नुपर्ने हुन्छ । आठ कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोरीमा यो बढी देखिएको छ । किशोरीहरूमा आफूमाथि आइपरेका समस्या सकेसम्म कसैलाई नभन्ने र लुकाउने, कसैले यौनकै विषयमा मनोवैज्ञानिक दबाब दिने, यौनसमस्या नै हुनेजस्ता कारणले तनाब बढाइरहने चिकित्सकहरू सुनाउँछन् ।
डा. ओझाका अनुसार यो समस्या पुरुषमा चाहिँ थोरै मात्रामा हुन्छ । विद्यालय, छात्रावासजस्ता समूहगत रूपमा रहेका किशोर–किशोरीमा यस्ता समस्या बढी हुन्छन् । ‘किशोरीहरू पहिल्यैदेखि तनाबमा हुन्छन्, त्यसमाथि एउटालाई हिस्टेरियाले सताउनेबित्तिकै अरू किशोरी पनि डराएर थप तनाबमा पर्छन् र सबैले एकै खालको व्यवहार देखाउन थाल्छन्’ –डा. ओझाले भने ।
लक्षण : हिस्टेरियाका लक्षण अनेकौँ हुन सक्छन् । सामान्यतया यस्ता बिरामीमा मूच्र्छा पर्ने, बिर्सिने, घरबाट टाढा भाग्ने, रुने, कराउने, काम्ने, फिँज काढ्ने, उत्तेजित हुने, बर्बराउनेजस्ता विभिन्न असामान्य व्यवहार देखिन्छन् ।
समाधान : लक्षण देखिनासाथ छेउछाउमा रहने स्वस्थ मानिसले बिरामीलाई हौसला दिनुपर्छ, तनाबबाट निकाल्ने प्रयास गर्नुपर्छ । त्रास, भय, हल्लाजस्ता उसलाई समस्या पारिरहेका पक्ष हटाउनेतर्फ ध्यान दिनुपर्छ । यस्तो बेलामा शिक्षक अनि अभिभावकको आत्मीय परामर्शले ठूलो भूमिका खेल्न सक्छ । चिकित्सकहरूका अनुसार हिस्टेरियामा कुनै पनि औषधि आवश्यक पर्दैन । अहिलेसम्म यसको रोकथामका लागि भनेर कुनै ट्याब्लेट वा इन्जेक्सन बनेका छैनन् । तनाबको पहिचान र त्यसपछिको उपयुक्त निदान नै हिस्टेरियाको वास्तविक समाधान हो । तनाबका कारण पहिल्याएर नहटाए यो समस्या फेरि पनि बल्झिन सक्छ । तर, तनाबको कारण पहिल्याउन उति सजिलो भने हुँदैन । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिको सहयोग लिनुपर्छ । त्यसैले हिस्टेरिया केवल महिलामा मात्र हुने, विवाहपश्चात् ठीक हुन्छ र यौनजन्य समस्या हो भन्नु गलत हुन्छ । ‘मानिसको मनमा गडेर बसेको त्रासद पक्षको समाधान गर्नु नै हिस्टेरियाको सबैभन्दा ठूलो उपचार हो,’ डा. ओझाले भने । उनका अनुसार ‘हिस्टेरिया’ निदान भइसकेको अवस्थामा बेहोस व्यक्तिलाई आराम गर्न दिनुपर्छ । चोट नलाग्ने आरामदायी ठाउँमा थप तनाब हुन नदिने वातावरण उपलब्ध गराउने हो भने बिरामी बिस्तारै आफैँ होसमा आउँछ । बेहोसीको अवस्थामा जबरजस्ती मुख खोलेर पानी खुवाउने तथा जबरजस्ती हातखुट्टा चलाउन खोज्नुले बिरामीलाई चोट लाग्न सक्छ ।