'कलेजले एउटा साइज भनेको हुन्थ्यो, तर केटीहरूले भने त्योभन्दा पनि छोटो बनाएर आउने गर्दथे'
'हे त्यो कलेजमा त के पढ्ने स्कर्ट नै लगाउन पाइँदैन रे ! कलेज पढ्दा पनिस्कुलको जस्तो घुँडाभन्दा तलसम्म ड्रेस लगाउनुपर्ने कलेजमा के पढ्नु ? अब त टिमिक्क परेको मिनिस्कर्ट लगाउन पाइने कलेजमा पढ्नुपर्छ ।' भर्खरै एसएलसी उत्तीर्ण गरेकी सुष्मा प्रधानले सँगैकी साथी सुमिना केसीलाई कलेजको खोजी गर्ने सिलसिलामा कलेजको पहिलो विशेषताबारे भनिन् । सुमिनाले पनि बोलिहालिन्, 'अनि त्यस्तो कुन कलेज छ त जहाँ हामीले मिनिस्कर्ट, टाइट सर्ट लगाएर जान सक्ने ?' सुमिनाको जिज्ञासालाई समाधान गर्दै सुष्माले भनिन्, 'यति धेरै कलेजहरूमा त्यस्ता कलेज त भेटिहालिन्छ नि । पल्लो घरमा पढ्ने दिदीका अनुसार अहिले त राजधानीमा यस्ता कलेज धेरै छन् रे । चार-पाँचवटा कलेजमा गएर हेरौँ जुनमा छोटो स्कर्ट लाउन पाइन्छ त्यसमा नै गएर पढौँ हुन्न ।' सुष्माको कुरामा सहमति जनाउँदै सुमिनाले कलेजको खोजी गर्ने सहमति जनाइहलिन् ।
राजधानीको नयाँ बानेश्वरमा कुराकानी गरिरहेका यी दुई छात्राको कुराकानीबाट पनि प्रस्ट हुन्छ कि पछिल्ला समयमा विद्यार्थीको कलेज रोजाइ गुणस्तरीय शिक्षा, पठनपाठनको शैलीभन्दा पनि कलेजमा राखिएका ड्रेस तथा त्यहा फेसनेबल भएर जान पाइन्छ वा पाइँदैन भन्नेमा केन्दि्रत देखिन्छ । वर्षेनी बढेका प्लस टुसँगै कलेजहरूमा बढेको फेसनको शैलीले पनि पछिल्ला पुस्ताका विद्यार्थीलाई पढाइभन्दा पनि फेसनतिर आकषिर्त गर्ने गरेको प्रस्ट देखिन थालेको छ । राजधानीमा च्याउसरी उम्रेका प्लस टु र उमाविहरूमा यतिखेर शिक्षामा भन्दा पनि फेसनमा प्रतिस्पर्धा हुने गरेको समाजशास्त्रीहरूको भनाइ छ ।
'कलेज जाँदा छोटो मिनिस्कर्ट, फिटिङ सर्ट अनि टाई, जुत्ता पनि स्टाइलिस र कपालको स्टाइल पनि समयअनुसार परिवर्तन गर्दै स्मार्ट बनेर हिँड्दा त सान नै बेग्लै हुन्थ्यो नि,' भर्खरै १२ कक्षाको परीक्षा सकेर बसेकी जोरपाटीकी एन्जिला श्रेष्ठले भनिन्, 'झन् केटाहरूले हेर्दै जिब्रो पट्काउँदा त निकै खुसी लाग्थ्यो ।' उनका अनुसार प्लस टुमा अध्ययन गर्ने अधिकांश केटीहरूले हलिउड र बलिउडका हिरोइनहरू तथा त्यहा चलेको फेसन र स्टाइललाई कपी गर्दै आउने गर्दथे ।
प्लस टुमा अध्ययन गर्दा अधिकांश केटी साथीहरू छोटो स्कर्ट र टाइट सर्टमा अध्ययन गर्न आएको अनुभव सुनाउँछिन् पि्रमियर कलेजबाट प्लस टु सकेकी समता नेपाल । उनका अनुसार केटीहरूले कलेजले तोकिएको स्कर्टको साइजभन्दा दुई इन्च छोटोसम्म स्कर्ट लगाएर आउने गर्दथे । 'कलेजले एउटा साइज भनेको हुन्थ्यो, तर केटीहरूले भने त्योभन्दा पनि छोटो बनाएर आउने गर्दथे,' उनले भनिन्, 'स्कर्ट नलगाउने तर पाइन्ट लगाउनेहरू पनि त्यस्तै फेसेनेबल बनेर आउँदथे । पाइन्ट लगाउनेहरूले पाइन्टलाई एकदम टाइट र चुज बनाएर लगाउँथे कि पाइन्ट हो कि स्टकिङ हो छुट्याउन मुस्किल हुन्थ्यो ।'
समताका अनुसार केटीहरू ड्रेसमा मात्र होइन मेकअपमा पनि त्यस्तै फेसेनेबल हुन्थे । 'आफ्नो रोजाइका कलाकारले जस्तो हेयर स्टाइल बनायो कलेजमा त्यस्तै बनाएर आउँथे,' उनले भनिन्, 'मेकअपको त झन् कुरै नगरौँ । डिस्कोमा जानेवेलाको जस्तो लाउड मेकअप हुन्थ्यो ।'
छात्राहरू मात्र होइन पछिल्ला समयमा छात्रहरू पनि रफ एन्ड टप भएर कलेजमा जाने गरेको दृश्यहरू देख्न सकिन्छ । हेर्दामा जिकज्याक अनि रफ एन्ड टफ भएर तीव्र गतिमा मोटरसाइकल हुइक्याउँदै कलेज गइरहेका केटा देख्दा प्लस टुमा फेसनको प्रदर्शनी हुने गरेकोजस्तो भान हुने अभिभावकहरूको गुनासो छ । 'केटाहरूको कपालको स्टाइल हेनुपर्छ कसैको ठडाइएको, कसैको तेर्साएको, कसैको लामो बनाएको अनि कसैको रंगाएको,' चाबहिलका एक अभिभावक रुद्र भण्डारीले भने, 'पाइन्ट लगाएको हेर्दा त कसैको पाइन्ट खस्छ कि जस्तो लाग्छ, कसैले पाइन्टलाई चुज बनाएर सुरुवालजस्तो बनाएका हुन्छन् ।' केटीहरू त हेर्दै लाज मर्नेगरी कलेज जाने गरेकोमा केटाहरू पनि उत्ताउला हुँदै गएको उनले सुनाए । उनका अनुसार प्लस टु पढ्ने विद्यार्थीको बोक्ने झोलादेखि, सर्ट, पाइन्ट, जुत्ता, कपाल, नङदेखि लिएर टाईसम्म फेसनको छाँट देखिने गरेको छ ।
'कलेज आइसकेपछि पनि स्कुलको जस्तो सोझो अनि झुम्रे बनेर भएन नि,' सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा अध्ययनरत हरि गौतमले भने, 'समयअनुसारको ड्रेसअप अनि गेटअप त दिनै पर्यो नि ।' उनका अनुसार केटाहरू कपाललाई महिना-महिनामा स्टाइल चेन्ज गरेर अरूभन्दा फरक देखिने गर्छन् भने पाइन्ट तथा सर्टलाई जीउसुहाउँदो बनाएर स्मार्ट बनेर आउने गर्छन् । 'कलेजका ७० प्रतिशतभन्दा बढी केटाहरू त हातको नङमा विभिन्न रङका पोलिस लगाएर आउने गरेका हुन्छन्,' उनले सुनाए, 'झोलामा अनेकथरीका ब्याच टाँस्ने, चित्र कोर्ने, अनि लेख्ने त सबैले गर्छन् ।' उनका अनुसार अहिले त झन् केटाहरूमा कसको बाइकको सक बढी उठाइएको र कसले बढी कुदाउने होडबाजी नै चल्ने गरेको छ ।
काठमाडौंका ट्राफिक प्रहरीका अनुसार बाइक कुदाउने मामलामा केटाहरूसँगै केटीहरू पनि पर्न थालेका छन् । केटाहरूले त डरलाग्ने गरी हुइँकाउँछन्-हुइँकाउँछन् केटीहरू पनि स्कुटीलाई तीव्र गतिमा कुदाउन थालेका छन् । प्लस टुमा अध्ययनरत विद्यार्थीहरूको मोटरसाइकल र स्कुटीको कुदाइका कारण धेरै दुर्घटना बढ्न थालेको भन्दै केही कलेजले विद्यार्थीलाई मोटरसाइकल र स्कुटी ल्याउन बन्देजसमेत गर्ने तयारी गरिरहेका छन् । केही कलेजले भने पूरै बन्देज नै गरिसकेका छन् ।
कलेजमा पढ्ने विद्यार्थीको रोजाइमा मुजा नराखिएका फिटिङ स्कर्ट, दोहोरो मुजा पारिएका डबल बक्स स्कर्ट, साँघुरो मुजा पारिएका स्कर्ट, मुजा नपारिएको टाइट स्कर्ट, कट्टुजस्तो देखिने स्कर्टदेखि र्यापर स्कर्ट छात्राहरूबीच निकै लोकपि्रय डिजाइन हुन् । पाइन्टमा क्रिज नराखिएको चुज, चौडाइ कम भएको स्ट्रेट र चौडाइ बढी भएको बेलीबटन, तलदेखि माथिसम्म एउटै चौडाइ भएका, सुरुवाल आकारका तथा असाध्यै टाइट बनाएर स्टकिङजस्तो देखिने खालका पाइन्ट चल्तीमा छन् । सर्टमा पनि साना-साना खल्ती भएका, अगाडि क्रिज नराखिएका, टिसर्टजस्तो गोलो कटाइ भएका र छेउमा चिरेका, हाफ, फुल अनि फोल्ड गरेका डिजाइनको माग बढ्न थालेको युनिर्फम डिजाइनरहरू बताउँछन् ।
कलेजमा छात्राले स्कर्ट लगाउनु राम्रो ठान्छन् सेन्ट लरेन्स कलेजका पि्रन्सिपल कृष्णप्रसाद डोटेल । अनका अनुसार विद्यार्थीले कलेजले तोकिएको साइजमा स्कर्टसहित अन्य ड्रेस लगाउनुपर्छ । 'हामीले ०६४ मा एउटा सर्भे गरेका थियौँ, स्कर्टलाई कति रुचाउँदा रहेछन् छात्राहरूले भन्ने,' उनले भने, 'सुरुका वर्षमा ९० प्रतिशत केटीहरूले स्कर्ट लगाए । १६ इन्चको लगाउनुपर्ने नियम बनाएका थियौँ । केहीले १४ इन्चको छोटो लगाए । हामीले त्यसलाई लम्ब्याइदियौँ ।' उनका अनुसार स्कर्ट आफैँमा नराम्रो होइन । कलेजमा लाउनै नपाउने भन्ने पनि हुँदैन । विद्यार्थीले घुँडासम्म आउनेगरी लगाउनुपर्छ । राम्रो तरिकाले लगाउँदा फरक नपर्ने उनको भनाइ छ । 'छोटो लुगा लगाउने विद्यार्थीलाई धम्क्याउने, गाली गर्नेभन्दा पनि सम्झाउनुपर्छ,' उनले भने, 'हाम्रो पहिलो प्राथमिकता भनेको पढाइ हो । उनीहरूको सोचाइमा परिवर्तन ल्याउन खोज्नुपर्छ ।'
कलेजले नै विद्यार्थीलाई फेसेनेबल बनाउन अनेकथरीका ड्रेस तथा स्कर्टको व्यवस्था गर्न थालेको जेभिएर इन्टरनेसल कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताए । उनका अनुसार विद्यार्थीलाई स्कर्ट तथा जथाभावी ड्रेस लगाउन छुट दिँदा विकृति बढ्ने गरेको छ । '११ र १२ कक्षामा पढ्ने विद्यार्थीलाई पढाइमा नै बढी जोड दिने गर्नुपर्छ,' उनले भने, 'कलेज उच्च शिक्षा अध्ययन गर्ने थलो हो । कलेजबाट नै व्यक्तिको क्यारियर निर्धारण हुने गर्दछ । तर, पछिल्ला वर्षमा कलेजमा बढेको फेसन शैलीले विभिन्न विकृति मौलाएकाले हामीले यसमा कडाइ गरेका छौँ ।' उनका अनुसार ड्रेसका नाममा केही कलेजले विद्यार्थीलाई बढी नै छुट दिने गर्दा प्लस टु कलेज आजकाल फेसन गर्ने स्थानका रूपमा नयाँ परिचय बनाउँदै छन् ।
स्कर्ट लगाउन छुट दिँदा विकृति बढेकै कारण नयाँ बानेश्वरस्थित केएन्डके कलेजले गत वर्षदेखि स्कर्ट लगाउन नपाइने नियम बनाएको छ । कलेजका कोअर्डिनेटर खेम भण्डारीका अनुसार विद्यार्थीको रुचि पढाइमा भन्दा बढी फेसनतिर हुन थालेपछि नियम परिवर्तन गरिएको हो ।
ड्रेस तथा अनेकथरीका फेसनशैलीका कारण कलेजहरूमा विकृति बढेको गुनासो बढेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले प्लस टुहरूको ड्रेसमा एकरूपता ल्याउन कलेजहरूमा स्कर्ट बन्द गर्ने निर्णय गरेको थियो । तर, हालसम्म पनि सो निर्णय कार्यान्वयनमा आउन सकेको छैन । कतिपय कलेजले आफ्नै स्वइच्छाले स्कर्ट बन्द गरिसकेका छन् भने कतिपयमा पाइन्ट र स्कर्ट दुवै लगाउन पाउने व्यवस्था छ । फेसनको मामलामा कलेजहरू स्कुलहरूभन्दा उदार भए पनि अनुशासन र बजारमा आफ्नो राम्रो छविका लागि कलेजहरूले केही न केही नियन्त्रण भने गरिरहेका अभिभावकहरूको ठम्याइ छ । राजधानीका कतिपय कलेजले केटीहरूलाई स्कर्टको सट्टा पाइन्ट अनिवार्य गर्ने, केटाहरूलाई कपाल पाल्न, रंगाउन र मुन्द्रा लगाउन नदिने, पाइन्टको मोटाको चौडाइ र स्कर्ट भएकाहरूमा पनि लम्बाइ तोकिदिने, कलेजमा मोबाइल बोक्न नदिने, बाइक ल्याउन नदिनेजस्ता निर्णयहरू गरिरहेका जेभिएर इन्टरनेसलका कार्यकारी अधिकृत भण्डारीले बताए ।